केही व्यक्तिको कमजोरीले गर्दा सिङ्गो सहकारी क्षेत्र बदनाम भयो : मुख्यमन्त्री पाण्डे
गण्डकी । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले केही व्यक्तिको कमजोरीले गर्दा सिङ्गो सहकारी क्षेत्र बदनाम भएको बताएका छन् । जिल्ला सहकारी सङ्घ लिमिटेड कास्कीको नवनिर्मित भवनको शुक्रबार उद्घाटन गर्दै उनले पछिल्लो समय सहकारीभन्दा तर्सिने अवस्था सिर्जना भएको बताएका हुन् । ‘सहकारीको उद्देश्य, मर्म र भावनाविपरीत सहकारी सञ्चालन गर्दा समस्या आएको हो,’ मुख्यमन्त्री पाण्डेले भने, ‘सहकारी संस्थाका नियमनकारी निकाय पनि कमजोर देखिएका छन् ।’ जतिसक्दो चाँडो सहकारीमा देखिएको समस्याको समाधान गरी सहकारी क्षेत्रको गुमेको साख फिर्ता ल्याउनुपर्ने उनको भनाइ छ । मुख्यमन्त्री पाण्डेले सहकारी बचत रकम अपचलनमा संलग्न भएको तथ्य प्रमाण भेटिए जुनसुकै व्यक्ति भए पनि कारबाहीको दायरामा आउने बताए । ‘सरकारले विनातथ्य प्रमाण कसैलाई पनि केही गर्दैन, दोषी भए कारबाही हुन्छ, निर्दोष भए सोहीअनुसार हुन्छ, यसमा अन्यथा सोच्नुपर्ने विषय केही छैन,’उनले भने। प्रदेश सरकारले सहकारीमार्फत कृषि उत्पादनमा लागेका किसानलाई अनुदान दिँदै आएको बताए । गण्डकी प्रदेशका सहकारी रजिस्टार भेषराज रिजालले निष्क्रय रहेका सहकारी संस्था खोरजीको प्रक्रियमा रहेको बताए । सहकारी संस्था धेरै हुँदा न्यून जनशक्ति र संरचनाबाट प्रभावकारी नियमनमा जटिलता रहेको उनको भनाइ छ । डेरी उद्योगसमेत सञ्चालन गर्दै आएको उक्त सहकारी सङ्घले झण्डै रु दुई करोडको लागतमा भवन निर्माण गरेको सङ्घका अध्यक्ष सावित्रा कोइरालालले जानकारी दिइन् ।
स्वास्थ्य सेवा ऐन ल्याउने मन्त्री पौडेलको तयारी, ५८ हजार बढी कर्मचारी लाभान्वित हुने
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले तीनै तहमा समायोजन भएका स्वास्थ्य सेवाका कर्मचारीहरूको समस्या सम्बोधन गर्ने गरी स्वास्थ्य सेवा ऐन ल्याउन प्रक्रिया अघि बढाएका छन् । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले संघीयताअनुरूपको स्वास्थ्य सेवा ऐन अघि बढाउन सैद्धान्तिक स्वीकृति प्रदान गरेको छ । हालसम्म नेपाल स्वास्थ्य सेवा ऐन २०५३ नै अस्तित्वमा रहेकामा यसले संघीयताअनुरूप कर्मचारीको व्यवस्थापन गर्न नसकेको भन्दै मन्त्री पौडेलले ऐन ल्याउनका लागि प्रक्रिया अघि बढाउने उद्देश्यका साथ मन्त्रिपरिषद बैठकमा प्रस्ताव लगेका थिए । हालसम्म अघि बढ्नै नसकेको नयाँ ऐन ल्याउने प्रक्रिया मन्त्री पौडेल नेतृत्वमा आए पछि अघि बढेको हो । हाल संघीयताअनुरूपको नयाँ ऐन नआउँदा समायोजन भएका कर्मचारीको वृत्तिविकास तथा बढुवा आदिमा समस्या परेको छ । मन्त्रालयले तीनै तहका कर्मचारीबीच अन्तरम्बन्ध कायम गर्ने तथा स्वास्थ्य सेवामा रहने पदबारे आवश्यक व्यवस्था गर्ने गरी नयाँ ऐनको प्रस्ताव गर्नेछ । अहिले तीन तहको कर्मचारीसम्बन्धमा अन्तरसम्बन्ध कायम गर्न जटिलता देखिएको छ । यसका अलावा स्वास्थ्य सेवामा रहने पद र वृत्तिविकासको सम्बन्धमा समेत अन्यौल रहेकाले ऐनले त्यो विषय चिर्ने विश्वास लिइएको छ । अब मन्त्रालयले ऐनको मस्यौदा तयार पारेर संसदमा लैजानुअघि मन्त्रिपरिषदमा पुनः स्वीकृतिका लागि लैजानेछ । त्यसपश्चात नयाँ ऐन संसदमा टेबुल हुनेछ । ऐन कार्यान्वयनमा आएमा संघीय स्वास्थ्य सेवामा रहेका २८ हजारका अलावा विभिन्न तहमा समायोजनमा रहेका गरी कुल ५८ हजार बढी स्वास्थ्य कर्मचारी लाभान्वित हुने मन्त्री पौडेलको सचिवालयले जनाएको छ ।
१७ प्रतिशत राजश्व वृद्धि हुँदा पुँजीगत खर्च १० प्रतिशतमात्रै, अर्थतन्त्र लयमा भए पनि गति भने सुस्त
अर्थ मन्त्रालयका प्रवक्ता महेश भट्टराई । काठमाडौं । चालु आर्थिक वर्षको चार महिनामा पुँजीगत खर्च १० प्रतिशत पुगेको छ। बिहीबार अर्थ मन्त्रालय उच्च व्यवस्थापन समितिको बैठकमा चालु आवको पहिलो चार महिनाको समीक्षामा गत आर्थिक वर्षको यसै अवधिको तुलनामा करिव १७ प्रतिशतले राजश्व वृद्धि हुँदा पुँजीगत खर्च १० प्रतिशतमा सीमित भएको देखिएको छ । गत आवको पहिलो चार महिनामा पुँजीगत करिव १० प्रतिशत भएको थियो । चालु आवमा पनि पुँजीगत खर्च बढ्न सकेको देखिएन । त्यस्तै, चालु आवको चार महिनामा सार्वजनिक खर्चतर्फ पनि चालु खर्च २६ प्रतिशत, पुँजीगत खर्च १० प्रतिशत र वित्तीय व्यवस्थापनतर्फ २४ प्रतिशत गरी समग्र खर्च हेर्दा २२ प्रतिशत पुगेको अर्थ मन्त्रालयमा प्रवक्ता महेश भट्टराईले जानकारी दिए । उनले गत वर्ष सोही अवधिमा समग्र खर्च २० प्रतिशत खर्चमात्रै रहेकोमा यस वर्ष थोरै भएपनि वृद्धि भएकाले यसलाई सरकारले मार्जिनल रिफर्मको रूपमा लिएको उल्लेख गरे । उनले सरकारको चालु आवको पहिलो चार महिनामा १७ प्रतिशतले राजश्व संकलनमा वृद्धि गरेको बताए । प्रवक्ता भट्टराईले गत वर्ष यही अवधिमा २ खर्ब ७६ अर्ब राजश्व सङ्कलन भएकोमा चालु आवको चार महिनामा ३ खर्ब २३ अर्ब २४ करोड रुपैयाँ राजस्व सङ्कलन भएको बताए । उनले चालु आवमा सरकारले १४ खर्ब १९ अर्ब ३० करोड संकलन गर्ने लक्ष्य राखेको भन्दै अहिलेकै अनुपातमा राजश्व संकलन हुँदा १४ खर्ब १९ अर्बको राजश्व संकलनको लक्ष्य पूरा गर्न चुनौति रहेको बताए । उनले मुलुकको अर्थतन्त्र लयमा नै रहेको भएपनि गति भने सुस्त रहेको उल्लेख गरे । उनले विगतको तुलनामा राजश्व सङ्कलन वृद्धि भएपनि चालु आर्थिक वर्षको लक्ष्य पूरा गर्न कर प्रशासनसँग सम्बन्धित सबै पक्षबीच समन्वय तथा सहयोग जरुरी रहेको र त्यसलाई मन्त्रालयले प्राथमिकता दिएर काम गरिरहेको पनि बताए । उनले राजश्व सङ्कलनका क्षेत्रमा देखापरेका अवसर र कमजोरीहरूलाई ख्याल गर्दै राजश्व सङ्कलनको लक्ष्य पूरा गर्न सरकार लाग्ने दावी पनि गरे ।
बीस वर्षदेखि सुकुम्बासीको प्रश्न : जग्गा कहिले पाइन्छ ?
भजनी । अछाम रामारोशनका बुदे टमटा १९ वर्ष पहिले अछामबाट कैलालीको टीकापुर झरे । २०६२ सालमा टीकापुरमा जग्गा पाइन्छ भन्ने सुनेर टीकापुर झरेका उनी टीकापुर बहुमुखी क्याम्पसको नाममा भएको जग्गा अतिक्रमण भइरहेको क्षेत्रमा आएर बसे । सरकारले गरिबलाई जग्गा वितरण गरिरहेको छ भन्ने लागेर उनी टीकापुर झरेका थिए । टीकापुर पुग्दा बुदेले सोचे जस्तो भएन । अछाममा हुँदा पनि अरुको काम गरेर दैनिकी गुजारा गर्ने बुदे टीकापुर झरेपछि अछाम फर्केनन् । ‘अछाममा पनि केही थिएन, यता पनि केही छैन । जता बसे पनि सुकुम्वासी’, उनले भने, ‘१९ वर्षदेखि सरकारले व्यवस्थापन गर्छ कि भन्ने आशामा छौँ । आशा गर्दागर्दै मर्ने बेला भइसक्यो ।’ अछामकै तडिगैराबाट ५० वर्षको उमेरमा टीकापुर पुगेका नन्दे लुहारलाई बुढ्यौलीले छोइसकेको छ । जग्गा पाइएला भन्ने आशामा बस्दा बस्दै लुहार सामाजिक सुरक्षा भत्ता पाउने उमेरको भइसके । उनी भन्छन्, ‘अब त मलाई त्यो जग्गाको आशा पनि छैन । २० वर्ष जग्गाको आशामा बित्यो ।’ २० वर्षदेखि टीकापुर बहुमुखी क्याम्पस र वीरेन्द्र विद्यामन्दिर शैक्षिक गुठीको नाममा रहेको सयौंँ बिघा जग्गा सुकुम्बासी मुक्तकमैयाको अतिक्रमणमा छ । उक्त जग्गा खाली गराउन क्याम्पसले पटक–पटक पहल गर्दा पनि राजनीतिक संरक्षणमा बसेका मुक्तकमैया सुकुम्बासीलाई सहजै स्थानान्तरण गर्न सकिने अवस्था छैन । यस क्षेत्रमा नौ वटा शिविर छन् । शिविरमा पाँच हजार घरपरिवार बसोबास गर्दै आएका छन् । यहाँ करिब २० हजार जनसङ्ख्या रहेको अनुमान छ । यहाँ मुक्तकमैया सुकुम्वासी मात्रै नभइ तत्कालीन टीकापुर विकास समितिका कर्मचारी पनि उचित व्यवस्थापनको आशामा यहीँ बसोबास गर्दै आएका छन् । ‘मैले विकास समितिमार्फत आठ वर्ष कमैया काम गरेँ । त्यो बेला उचित बसोबाससहित कम्तीमा एक बिघा जग्गा दिनेसम्म कुरा थियो’, भूपु कमैया शिविरमा बस्दै आएका घनश्याम चौधरीले भने, ‘आज न विकास समितिको जागिर छ, न खान बस्नलाई बास गाँस ।’ भूपु कमैया शिविरमा बस्दै आएका कुलुराम चौधरी ६८ वर्षको पुगे । जीवनको उर्जावान समय टीकापुर विकास समितिमा बिताउनु भएका कुलुराम अहिले शिविरमै बस्छन् । उनी हाल अरुको सहारामा छन् । टीकापुर बहुमुखी क्याम्पस र वीरेन्द्र विद्यामन्दिर सार्वजनिक शैक्षिक गुठीले आफ्नो जग्गा अतिक्रमण भएको भन्दै मुद्दा दायर गरेको छ । यहाँका नागरिक राजनीतिक रुपमा प्रयोग हुने गरेका छन् । विभिन्न राजनीतिक दलको सभा समारोहमा भीड चाहियो भने शिविरकै नागरिक लैजाने गरिन्छ । ‘जहाँबाट आश्वासन आउँछ, त्यहाँ आशा पनि हुन्छ । हिजो शिविर बस्दा प्रत्यक्ष अप्रत्यक्ष सहयोग गरेका राजनीतिक दलले आज जग्गा दिने कुरा गर्छन् कि भनेर सबैका सभामा पुग्ने गरेका छौँ’, विशालनगर शिविरमा बस्दै आएकी सुनिता चौधरी भन्छिन्, ‘आश्वासन आज पनि त्यही छ । जग्गा पाउनुपर्छ र पाइन्छ भन्ने । कहिले पाइने हो भन्ने टुङ्गो छैन ।’ रासस
सबैभन्दा बढी कर तिर्ने कैलाश हेलिकप्टर सम्मानित
काठमाडौं । आर्थिक वर्ष २०७९/८० मा सबैभन्दा बढी आयकर दाखिला गरेको कैलाश हेलिकप्टर सर्भिसेज सम्मानित भएको छ । कैलाश हेलिकप्टर १३ औं राष्ट्रिय कर दिवसको अवसरमा सम्मानित भएको हो । आन्तरिक राजस्व कार्यालय बत्तीसपुतलीको क्षेत्राधिकारका करदातामध्ये उक्त आवमा सबैभन्दा बढी आयकर दाखिला गरेकाले कैलाश हेलिकप्टर सम्मानित भएकाे हाे । उक्त अवसरमा प्रमुख कर अधिकृत युवराज श्रेष्ठले कैलाश हेलिकप्टर सर्भिसेजका प्रबन्ध र्निदेशक प्रतापजंग पाण्डेलाई सम्मानपत्रका साथ सम्मान गरे । साथै यसअघि ९ औं राष्ट्रिय कर दिवस २०७७ मा पनि सबैभन्दा बढी आयकर दाखीला गरेकोमा यस कम्पनी सम्मानित भएकाे थियाे ।
व्यवसाय दर्ता, नवीकरण र राजस्व बुझाउने प्रक्रियामा एकीकृत प्रणाली ल्याउनुपर्छ : अध्यक्ष ढकाल
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रलाई सम्मानपूर्वक काम गर्ने अवसर दिनुपर्नेमा जोड दिएका छन् । उनले यो धारणा नेपाली कांग्रेसले आयोजना गरेको शुक्रबारको एक कार्यक्रममा व्यक्त गरेका हुन् । अध्यक्ष ढकालले सुधारका लागि पहिलो सन्देश सबै राजनीतिक दलहरूले उद्यमी र व्यवसायीलाई प्रोत्साहन र समर्थन दिनुपर्ने रहेको बताए । सम्पत्ति निर्माण नगरी कुनै व्यक्ति, समाज वा देश धनी बन्न नसक्ने बताउँदै उनले यदि कुनै ठाउँमा बदमासी छ भने त्यसलाई नियन्त्रण गर्नुपर्नेमा जाेड दिए । अध्यक्ष ढकालले व्यवसाय दर्ता, नवीकरण वा राजस्व बुझाउने प्रक्रियामा एकीकृत प्रणाली ल्याउनुपर्नेमा पनि जोड दिए । साना उद्यमीलाई परियोजना धितोमा कर्जा दिनुपर्ने आवश्यकता औंल्याउँदै महासंघले यसको जोखिम न्यूनीकरण र सञ्चालनका लागि अध्ययन गरी सरकारलाई प्रतिवेदन बुझाइसकेको उनले ढकालले दिए । नेपाल दुई वर्षपछि विकासोन्मुख मुलुकमा स्तरोन्नति हुने कुरामा योजना आयोगको रणनीतिले जोखिम न्यूनीकरण गर्न सक्षम नभएको उनको टिप्पणी छ । अध्यक्ष ढकालले निजी क्षेत्र रणनीति बनाउन तयार रहेको बताउँदै २०२१ मै यस सम्बन्धी पहिलो प्रतिवेदन सार्वजनिक गरेको स्मरण गराए । अध्यक्ष ढकालले विगत दुई वर्षदेखि बजार नियन्त्रणका लागि अपनाइएका नीतिहरूले अर्थतन्त्रमा समस्या सिर्जना गरेको उल्लेख गरे । उनका अनुसार कम मागका कारण बजारमा चहलपहल छैन र उद्यमीहरू लगानी गर्न हतोत्साहित भएका छन् । महासंघले दशैं-तिहारलक्षित सर्वेक्षणबाट गत वर्षको तुलनामा बिक्री ४० प्रतिशत सम्म घटेको देखाएको जानकारी पनि उनले दिए । हिजो मात्रै सार्वजनिक भएको नेपालको पहिलो क्रेडिट रेटिंगले बीबी माइनस देखाएको छ, जसले अर्थतन्त्र अहिले स्थिर भए पनि सानो झट्काले जोखिम बढाउन सक्ने चेतावनी दिएको छ । नेपालमा लगानी गर्न चाहने लगानीकर्ताहरूका लागि यो सकारात्मक सन्देश रहेको उल्लेख गर्दै ढकालले महासंघको पहलमा नयाँ चरणको आर्थिक सुधारका लागि उच्चस्तरीय आयोग गठन भएको र यसले निजी क्षेत्रलाई पनि समावेश गरेकाे बताए ।
५० औं वर्षमा प्रवेश गर्यो हिट्को प्रालि, इभीका लागि पनि आवश्यक सामग्री उपलब्ध गराउँदै
काठमाडौं । हिट्को प्रालि ५०औं वर्षमा प्रवेश गरेको छ । विसं २०३२ को मंसिर ७ गते स्थापना भएको हिट्को प्रालि ४९ वर्ष पुरा भएर ५० वर्षमा प्रवेश गरेको हिट्को प्रालिका म्यानेजिङ डाइरेक्टर प्रदिपमान प्रधानले जानकारी दिए । हिट्कोले सेल्स सर्भिसका लागि आवश्यक उपकरण उपलब्ध गराउँदै आएकाे छ । कम्पनील हाल टु ह्विलर, फोर ह्विलर, ट्रयाक्टर, हेभी इक्विपमेन्ट मर्मतका लागि आवश्यक टुल्स, पार्ट्सजस्ता उपकरण उपलब्ध गराउँदै आएको छ । त्यसैगरी, उद्योगका लागि एयर कम्प्रेसर र मेटरियल ह्यान्डलिङ उपकरण पनि उपलब्ध गराएकाे छ । हिट्कोले पछिल्लो समयमा इलेक्ट्रिक गाडीको सर्भिस सेन्टर निर्माणका लागि आवश्यक उपकरणसमेत उपलब्ध गराउँदै आएको प्रधानले बताए । उसले बीवाईडी, नेटा, एमजी, हुन्डाई, एसआरएम, एमएडब्लु आदिसँग सहकार्य गरिरहेको छ । सरकारी निर्माण कार्यमा प्रयोग हुने आवश्यक उपकरण आपूर्ति गर्ने उद्देश्यका साथ हिट्को प्रालिको स्थापना भएकाे भए पनि यसले अन्य प्रकारका उपकरणसमेत आयात गर्न थालेकाे थियाे । हिट्कोले सिजफायर ब्रान्डका फायर एक्स्टिङग्विसर पनि उपलब्ध गराइरहेको छ । पछिल्लो समय अटोबजार इलेक्ट्रिक भेइकलमा सिफ्ट भएसँगै कम्पनीले ईभीकै लागि भनेर विशेष प्रकारका उपकरण र अन्य सामग्रीको उत्पादनसमेत गरिरहेको छ । प्रदिपमान प्रधानका बुवा अक्षतमान प्रधानले कम्पनीको स्थापना गरेका थिए ।
एमाले जागरण सभाको र्याली भद्रकालीबाट प्रारम्भ, एक लाख मानिस उपस्थिति गराउने
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को शुक्रबार काठमाडौंमा हुन लागेको जागरणसभाको र्याली भद्रकालीबाट प्रारम्भ भएको छ । भद्रकालीबाट सुरु भएको र्याली शहिद गेट, सुनधारा, वीर अस्पताल, जमल हुँदै दरबारमार्गमा पुगेर जागरणसभामा परिणत हुने कार्यक्रम छ । कार्यक्रमलाई एमाले अध्यक्ष केपी शर्मा ओलीलगायतका नेताहरूले सम्बोधन गर्नेछन् । एमाले अध्यक्ष ओली कार्यक्रम स्थलमा दिउँसो १ः३० बजे पुग्ने कार्यक्रम रहेको छ । र्यालीको नेतृत्व नेकपा (एमाले) वाग्मती प्रदेश कमिटी अध्यक्ष कैलाश ढुङ्गेलले गरेका छन् । जागरणसभाको संयोजकको जिम्मेवारी पाएका एमाले स्थायी कमिटी सदस्य एवं वाग्मती प्रदेश इञ्चार्ज डा राजन भट्टराई पार्टी कामको सिलसिलामा देश बाहिर जानु परेकाले जिम्मेवारी ढुङ्गेलले सम्हालेका हुन् । र्यालीमा बाजागाजासहित पार्टीका नेता, कार्यकर्ता, शुभेच्छुक तथा शुभचिन्तकहरू छन् । एमालेले आजको सभामा एक लाखभन्दा बढीको मानिस उपस्थिति गराउने लक्ष्य लिएको छ ।