विकासन्युज

मादक पदार्थ सेवन गरी उपप्राध्यापकले मरणासन्न हुने गरी पिटे श्रीमती

काठमाडौं । सुदूरपश्चिम विश्वविद्यालयका उपप्राध्यापक पृथ्वीराज भट्टले मादक पदार्थ सेवन गरी श्रीमतीलाई मरणासन्न हुने गरी कुटपिट गरेका छन् । घाइते  श्रीमतीको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचार भइरहेको छ । श्रीमती जयन्ती भट्ट कञ्चनपुरको भीमदत्त नगरपालिका १८ मा  रहेका महेन्द्रनगर माध्यमिक विद्यालयमा कार्यरत अङ्ग्रेजी विषयकी शिक्षिका हुन् । देशभर लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान चलिरहेको बेला उपप्राध्यापकले नै श्रीमती कुटेका हुन् ।   उपप्राध्यापक भट्टलाई प्रहरीले नियन्त्रणमा लिएको छ । श्रीमती कुटपिट गरेका उपप्राध्यापकमाथि ज्यान मार्ने उद्योगमा किटानी  जाहेरी परेपछि पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय, कैलालीले जनाएको छ । यसैबीच यो घटनालाई लिएर सुदूरपश्चिम विश्वविद्यालयका विद्यार्थी संघसंगठनले घटनाको भर्त्सना गरेका छन् । अनेरास्ववियु, अखिल क्रान्तिकारी लगायतका विभिन्न विद्यार्थी सङ्गठनले प्रेस विज्ञप्ति निकाल्दै घटनाको घोर भर्त्सना गरेका हुन् । उनीहरूले दोषी शिक्षकलाई कानुनअनुसार कारवाही गर्न पनि माग गरेका छन् ।   ‘सबैखाले हिंसा न्यूनीकरण गर्न अग्रणी भूमिका निर्वाह गर्नुपर्ने उपप्रध्यापक जस्तो जिम्मेवार र गरिमामय पदमा बसेको व्यक्तिबाट नै यसरी मदिरा सेवन गरी आफ्नै श्रीमतीलाई मरणासन्न हुने गरी कुटपिट गर्ने कार्य एकदमै निन्दनीय छ,’ विज्ञप्तिमा भनिएको छ, ‘यस घटनामा संलग्न दोषीलाई यथाशीघ्र पक्राउ गरी कानुनी कारबाही प्रक्रिया अगाडि बढाउन हुन सम्बन्धित सबै पक्षहरूसँग यसै प्रेस विज्ञप्तिमार्फत जोडदार अपील गरिन्छ ।’

नेपाल लाइफले समता एजुकेसन फाउन्डेसनलाई दियो १० लाख रुपैयाँ

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत समता एजुकेसन फाउन्डेसनलाई १० लाख रुपैयाँ रकम प्रदान गरेको छ । कम्पनीका सञ्चालक कमलेशकुमार अग्रवाल र प्रमुख कार्यकारी अधिकृत (सीई‌ओ)  प्रवीण रमण पराजुलीले समता एजुकेसन फाउन्डेसनका अध्यक्ष दिपक सन्जेललाई एक समारोहका बीच १० लाख नगदको चेक हस्तान्तरण गरेका छन् । कार्यक्रममा नेपाल लाइफका सञ्चालक अग्रवालले मासिक १०० शुल्क लिएर आर्थिक अवस्था कमजोर भएका बालबालिकाहरूलाई नर्सरीदेखि स्नाकोत्तर तहसम्म अङ्ग्रेजी माध्यमबाट गुणस्तरीय शिक्षा प्रदान गरिरहेको समता एजुकेसन फाउन्डेसनको संस्थापक लगायत व्यवस्थापनलाई धन्यवाद दिए । त्यसैगरी, कम्पनीका सीईओ पराजुलीले देशको कर्णधार विद्यार्थीहरूलाई गुणस्तरीय शिक्षा प्रदानगर्न सके राष्ट्रले दक्ष जनशक्ति प्राप्त गर्ने बताउँदै कम्पनीको संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत समता एजुकेसन फाउन्डेसनलाई सहयोग पुर्‍याउन १० लाख प्रदान गरिएको र आगामी दिनमा पनि शिक्षाको विकास हेतु सहयोग गर्न कम्पनी तयार रहेको बताए । कार्यक्रममा बोल्दै समता एजुकेसन फाउन्डेसनका अध्यक्ष सन्जेलले २३ वर्षको इतिहास बोकेको समतामा आजको दिनमा देशको ७७ वटै जिल्लामा करिब ३० हजार विद्यार्थीहरू अध्ययनगर्दै आएको कुरा जानकारी गराए । हालसम्म विभिन्न संघसंस्थाको सहयोगबाट विद्यालय चलिरहेको र सहयोगबाट मात्र सञ्चालन दीर्घकालीन नहुने हुँदा अक्षयकोषको निर्माण गर्दै अनवरत रूपले अध्ययन अध्यापनको कार्यलाई निरन्तरता दिने बताउँदै नेपाल लाइफले प्रदान गरेको रकम अक्षयकोषमा रहने र त्यसको आम्दानीबाट विद्यालयहरू सञ्चालन गरिने बताए ।

बेलायतले सबैभन्दा धेरै आयात जर्मनीबाट गर्दै, अन्य कुन-कुन देशबाट कति हुन्छ आयात ?

काठमाडौं । बेलायत संसारको शीर्ष अर्थतन्त्रमध्येको एक हो । दोस्रो विश्वयुद्धअघि बेलायत संसारभर प्रसिद्ध थियो र यसको मुद्रा पाउन्ड संसारको सबैभन्दा शक्तिशाली मुद्रा थियो । तर दोस्रो विश्वयुद्धपछि परिस्थिति बदलियो । आज विश्वका धेरै देशले बेलायतलाई पछि पारेका छन् । फोर्ब्सका अनुसार यस देशको अर्थतन्त्र ३.५९ ट्रिलियन अमेरिकी डलर छ र यो विश्वको छैठौं ठूलो अर्थतन्त्र हो । यसभन्दा अगाडि अमेरिका, चीन, जर्मनी, जापान र भारत छन् । बेलायतले धेरै आयात जर्मनीबाट गर्छ । जर्मनी विश्व र युरोपको चौथो ठूलो अर्थतन्त्र हो । सन् २०२३ मा बेलायतले जर्मनीबाट ७३.८ बिलियन पाउण्डको सामग्री आयात गरेको थियो । जर्मनीपछि बेलायतले सबैभन्दा धेरै सामान अमेरिकाबाट आयात गर्छ । गत वर्ष बेलायतले अमेरिकाबाट ५७.९ बिलियन पाउण्ड आयात गरेको थियो । त्यसपछि चीनको नम्बर छ । विश्वको दोस्रो ठूलो अर्थतन्त्र भएको यो देशबाट बेलायतले गत वर्ष ५६.२ अर्ब पाउण्ड आयात गरेको थियो । त्यस्तै, बेलायतले गत वर्ष नेदरल्याण्ड्सबाट ५३.२ अर्ब पाउण्ड आयात गरेको थियो । फ्रान्सबाट बेलायतको आयात ४१.३ बिलियन पाउण्ड रहेको छ । यसले बेल्जियमबाट २९.२ बिलियन पाउण्ड आयात गरेको थियो । बेलायतले सन् २०२३ मा नर्वेबाट २७.२ बिलियन पाउण्ड आयात गरेको थियो । यसपछि इटालीबाट २३ अर्ब पाउण्डको सामान आयात गरेको थियो । बेलायतले स्पेनबाट १९.९ अर्ब पाउण्ड, आयरल्याण्डबाट १९.५ बिलियन पाउण्ड, पोल्याण्डबाट १३.८ बिलियन पाउण्ड, टर्कीबाट ११.३ बिलियन पाउण्ड र भारतबाट ९.७ बिलियन पाउण्ड आयात गरेको थियो । बेलायतले भारतबाट ९. ७ बिलियन पाउण्डको आयात गरेको थियो । बेलायतले भारतबाट खनिज इन्धन, तेल र आसवन उत्पादन, मेसिनरी, आणविक रिएक्टर, बॉयलर, औषधि, बहुमूल्य धातु र कपडा आयात गर्छ ।

इसेवाको ब्राण्ड प्रर्वद्धकको रूपमा रोहितकुमार पौडेलको निरन्तरता

काठमाडौं । इसेवाले आफ्नो ब्राण्ड प्रर्वद्धकको रूपमा गत वर्ष अनुबन्धित नेपाल राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेललाई यस वर्ष पनि पुनः अनुबन्ध गरेको छ । विगत एक वर्षदेखि इसेवाको ब्राण्ड प्रर्वद्धकका रूपमा अनुबन्धित भएका पौडेलसँगको सम्झौताको अवधि पुनः थप गरिएको हो । गत आइतबार पुल्चोक ललितपुरमा अवस्थित इसेवाको प्रधान कार्यालयमा इसेवाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) जगदीश खड्का र रोहित कुमार पौडेल बिच सम्झौतापत्रमा हस्ताक्षर भएको थियो । ब्राण्ड प्रवर्द्धकको यात्रालाई निरन्तरता दिन पाउँदा कप्तान पौडेलले खुसी व्यक्त गर्दै यो साझेदारीलाई एउटा नयाँ आयाम दिनेबारे विश्वस्त रहेको बताए । इसेवाका सीईओ जगदीश खड्काले नेपाली क्रिकेटलाई अगाडि बढाउनमा महत्त्वपूर्ण योगदान दिँदै आएका नेपालको राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित कुमार पौडेलजस्ता प्रतिभाशाली व्यक्तित्वलाई ब्राण्ड प्रर्वद्धकका रूपमा निरन्तरता दिन पाउनु आफैमा गर्वको विषय भएको बताए ।  

दुर्गा प्रसाईंलाई थप ४ दिन हिरासतमा राख्न अनुमति

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थप चार दिन हिरासतमा राख्‍न जिल्ला अदालत, काठमाडौंले अनुमति दिएको छ । मंगलबार अदालतका न्यायाधीश ईश्वरीप्रसाद भण्डारीको इजलासले उनलाई चार दिन हिरासतमा राख्न अनुमति दिएको सूचना अधिकारी मेलिस बाँस्कोटाले जानकारी दिए । प्रसाईंमाथि साइबर ब्युरोले विद्युतीय कारोबार ऐन, २०६३ अनुसार अनुसन्धान गरिरहेको छ । उनले कम्बोडियाको टेलिकममा प्रधानमन्त्री केपी शर्मा ओलीले लगानी गरेको भन्दै विभिन्न अपुष्ट कागजात सार्वजनिक गरेका थिए । त्यसपछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी)ले उनलाई भक्तपुरस्थित निवासबाटै मंसिर ४ गते पक्राउ गरेको थियो ।

बालेनले गराए रास्वपाबाट निर्वाचित रोजिनालाई शपथ

काठमाडौं । काठमाडौं महानगरपालिका वडा नम्बर १६ मा आइतबार सम्पन्न उपनिर्वाचनबाट निर्वाचित वडाध्यक्षले पद तथा गोपनीयताको शपथ लिएकी छन् । मंगलबार काठमाडौं महानगरका मेयर बालेन्द्र शाहले नवनिर्वाचित वडाध्यक्ष रोजिना श्रेष्ठलाई शपथ गराएका हुन् । शपथ ग्रहण कार्यक्रममा उपमेयर सुनिता डंगोललगायतको सहभागिता थियो । वडा नम्बर १६ का अध्यक्ष मुकुन्द रिजालको निधनपछि त्यहाँ आइतबार उपनिर्वाचन भएको थियो । उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की उम्मेदवार श्रेष्ठ विजयी भएकी थिइन् ।

कतार एयरवेजले रोक्यो गौतमबुद्ध विमानस्थलमा उडान

काठमाडौं । कतार एयरवेजले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट गर्दै आएको नियमित उडान १९ दिनमै रोकेको छ । कतार एयरवेजले १५ मंसिरबाट गौतमबुद्ध विमानस्थलमा उडान रोकेको विमानस्थलका सूचना अधिकृत विनोदकुमार रावतले जानकारी दिए । कात्तिक २७ गतेदेखि भैरहवामा वाइडबडी विमान एयरबस ३३० मार्फत दोहा–भैरहवा–काठमाडौं–दोहा रूटमा दैनिक एउटा व्यवसायिक उडान गर्दै आएको कतार एयरवेजले मंसिर १५ गतेबाट उडान रोकेको हो । १९ दिनमा एयरवेजले ३८ वटा उडान तथा अवतरण गरेको थियो । सूचना अधिकृत रावतले विमान कम्पनीले कात्तिक २७ गतेदेखि मंसिर १५ गतेसम्म मात्र भैरहवामा उडान तथा अवतरणका लागि अनुमति लिएकाले त्यसपछि उडान स्थगित गरेको जानकारी दिए । उसले थप उडान अनुमति नलिएको उनले बताए । उडानको अनुमति केन्द्रबाटै हुने कानुनी प्रावधान छ । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल एयरलाइन्स, जजिरा एयरवेज, फ्लाई दुबई र थाई एयर एसियाले भने नियमित उडान गर्दै आएका छन् ।

एनपीएलमा छिरे करोडौंको बेटिङ गर्ने भारतीय सट्टेबाज, यी चार जना पक्राउ

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा सट्टेबाजी गरेको आरोपमा चारजना भारतीय नागरिक पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले भारतीय चार जनालाई पक्राउ गरेको हो । आईपीएल प्रतियोगितामा स्पोर्टस् बाजी र  प्रोबो लगायतका अनलाइन बेटिङ एप्सबाट पैसाको हारजित हुनेगरी क्रिकेट मैदान भित्रैबाट सट्टेबाजी खेल्ने, खेलाउने कार्यमा संलग्न चार जनालई प्रहरीले पक्राउ गरेको हो । पक्राउ हुनेमा भारत कोलकत्ताका सुमन धोष, उत्तर प्रदेशका अमित यादव, बिहारका सुमन्त कुमार र ब्रजेश कुमार रहेको सीआईबीले जानकारी दिएको छ । उनीहरूमाथि सट्टाबाजी गर्नु नहुने कसुरमा थप अनुसन्धान कार्य भइरहेको सीआईबीले बताएको छ । बेटिङ सञ्चालन गर्ने कुनै व्यक्ति वा समूहको बारेको कुनै माध्यमबाट सूचना वा जानकारी पाएमा नजिकको प्रहरी कार्यालय वा यस नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्यूरोमा जानकारी गराउनसमेत सीआईबीले आग्रह गरेको छ ।