उन्नति सहकार्य लघुवित्तले लाभांश नदिने, सेयरधनीको हात खाली
काठमाडौं । उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश नदिने भएको छ । कम्पनीको मंसिर १८ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट सेयरधनीलाई कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको हो । संस्थाको सोही बैठकले २०८१ असार मसान्तसम्मको वासलात, आव २०८०/८१ को नाफा, नोक्सान, तथा नगद प्रवाह विवरण लगायतका वित्तीय विवरण माथि छलफल गरी सोलाई स्वीकृतका लागि नेपाल राष्ट्र बैंकमा पठाउने निर्णय गरेको छ ।
यूनाइटेड अजोड इन्स्योरेन्सको सीईओमा कमल गौतम नियुक्त
काठमाडौं । यूनाइटेड अजोड इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा कमल गौतम नियुक्त भएका छन् । इन्स्योरेन्स सञ्चालक समितिको मंसिर १८ गते मंगलबार बैठकले गौतमलाई कम्पनीको सीईओमा नियुक्त गरेको हो । उनको नियुक्तिलाई नेपाल बीमा प्राधिकरणले स्वीकृति दिन बाँकी रहेको छ । प्राधिकरणबाट स्वीकृति पाएपछि उनले कम्पनीको सीईओको पदभार सम्हाल्नेछन् । यसअघि साबिक एभरेष्ट इस्यारेन्समा सीईओको भूमिका निर्वाह गरिसकेका गौतम साविक एभरेष्ट र साविक हिमालयन इन्स्योरेन्स मर्जरपछि नायव प्रमुख कार्यकारी अधिकृत (सिनियर डीसीईओ) बनेका थिए । उनले गत २०८० फागुनमा हिमालयन एभरेष्टबाट राजीनामा दिएर बाहिरिएका थिए । साविक एभरेष्ट इन्स्योरेन्स समस्यामा थियो । तर, गौतमको व्यवस्थापकीय क्षमताले कम्पनीलाई सुधार गरी थप उचाइमा पुर्याएका थिए । नेपाल ग्रिन्डलेज बैंकबाट बैंकिङ करिअर सुरु गरेका गौतमसँग हिमालयन बैंक, एनआईसी एसिया बैंक, एनबि बैंक, सनराइज बैंक र इन्फ्रान्स्ट्रक्चर डेभलपमेन्ट बैंकमा काम गरेको अनुभव छ । बैंकिङ र बीमा गरी तीन दशक बढी अनुभवी गौतमले त्रिभुवन विश्वविद्यालयवाट व्यवस्थापन विषयमा स्नातकोत्तर गरेका छन् । गत कात्तिक ८ गते श्रवण रावलको निधन भएपछि यूनाइटेड अजोड इन्स्योरेन्समा सीईओ पद रिक्त थियो । रावलको हृदयघातका कारण निधन भएको थियो ।
नेपाल एसबीआई बैंकको लाभांश घोषणा, बोनस र नगद कति ?
काठमाडौं । नेपाल एसबीआई बैंकले आर्थिक वर्ष २०८०/८१ का लागि लाभांश प्रस्ताव गरेको छ । बैंक सञ्चालक समितिको मंसिर १८ गते बसेको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्तापुँजी १० अर्ब ५० करोड १ लाख ५२ हजार २८२ रुपैयाँको कुल १०.६५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । प्रस्तावित लाभांशमा ३.८० प्रतिशत बोनस सेयर र ६.८५ प्रतिशत नगद लाभांश (करसहित) रहेका छन् । बैंकले प्रस्ताव गरेको उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात् सेयरधनीहरूलाई वितरण गरिने बैंकले जनाएको छ ।
बैंकिङ प्रणालीबाट आज फेरि ५० अर्ब तान्दै राष्ट्र बैंक
काठमाडौं । बैंकिङ प्रणालीमा अधिक तरलता थुप्रिएपछि नेपाल राष्ट्र बैंकले लगातार निक्षेप संकलन उपकरण प्रयोग गर्दै पैसा खिचिरहेको छ । केन्द्रीय बैंकले आज मंसिर १९ गते फेरि बैंकिङ प्रणालीबाट ५० अर्ब रुपैयाँ तान्ने भएको छ । अधिक तरलता व्यवस्थापन गर्न केन्द्रीय बैंकले निक्षेप संकलन उपकरणको प्रयोग गर्दै बैंकिङ प्रणालीबाट आज फेरि पैसा खिच्न लागेको हो । यसका लागि आज दिउँसो २ बजे बोलकबोल हुने राष्ट्र बैंकले जनाएको छ । निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सक्नेछन् । निक्षेप संकलनको बोलकबोल ब्याजदरमा गर्नुपर्नेछ भने बहुब्याजदरमा पनि बहुबोलकबोल गर्न सकिने राष्ट्र बैंकले जनाएको छ । निक्षेप संकलन उपकरणको बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउनेछन् । यो २१ दिने निक्षेप संकलन उपकरणको पुस ९ गते साँवा तथा ब्याज भुक्तानी गरिने राष्ट्र बैंकले जनाएको छ।
चुरेमा बाँस रोप्न दातृ निकाय खोज्दै सरकार, कार्बन उत्सर्जन न्यूनीकरणमा सहयोग
काठमाडौं । चुरे क्षेत्रको संरक्षण तथा अर्थतन्त्र सुधारका लागि बाँसका विरुवा रोप्ने योजनासहित प्रस्ताव गरिएका दातृ निकायहरु फर्किएपछि सरकार नयाँ दातृ निकायको खोजीमा छ । चुरेमा बाँस रोप्न आवश्यक वित्त सहयोग उपलब्ध गराउन इच्छुक देखिएका दातृ निकायहरु लामो समयसम्म सहमति पाउन नसकेपछि फर्किएका थिए । राष्ट्रपति चुरे–तराई मधेस संरक्षण विकास समितिले नै वन तथा वातावरण मन्त्रालयबाट समयमा सहमति नआएपछि दाताहरूले आफ्नो प्रस्ताव फिर्ता गरेको जानकारी गराएको छ । समितिका अनुसार बाँस रोप्नका लागि रु चार अर्ब ८८ करोड ४० लाख (३७ मिलियन अमेरिकी डलर) अनुदान दिन फ्रान्सको दाता ‘रिफरेस्ट एक्सन’ तयार थियो । तर लामो समयसम्म सहमति पाउन नसकेपछि अनुदान उपलब्ध नगराउने भन्दै सन्देश पठाएको समितिले जनाएको छ । समितिका अध्यक्ष डा किरण पौडेलले पुराना दाता फर्किए पनि नयाँ दातासँग थप पैरवी भइरहेको जानकारी दिए । ‘धेरै मेहनत गरेर हामीले बल्लबल्ल बाँस रोप्न लगानी गर्ने इच्छुक दाता भेटाएका थियौँ । परियोजनाको डिजाइन तयार भए पनि वन मन्त्रालयबाट परियोजना स्वीकृत नभएपछि लगानी नगर्ने भन्दै दाता फर्किएका हुन्’, उनले भने, ‘अब भने मन्त्रालय पनि चुरेमा बाँस रोप्न सकारात्मक छ, मन्त्रालयसँग सहकार्य गरेर हामीले नयाँ दाताको रुपमा एसियाली विकास बैंकसँग छलफल र पैरवी अगाडि बढाएका छौँ ।’ उनका अनुसार एसियाली विकास बैंक (एडिबी) सँग चुरेमा बाँस रोप्न ३० मिलियन अमेरिकी डलर (करिब चार अर्ब सात करोड) रुपैयाँ आर्थिक सहयोगका लागि प्रस्ताव गरिएको छ । ‘एडिबीले उपलब्ध गराउन लागेको उक्त रकममध्ये ५० प्रतिशत अनुदान र ५० प्रतिशत ऋण उपलब्ध गराउन खोजेको छ । कूल रकमको दुई तिहाइ अनुदान र एक तिहाइ मात्रै सहुलियत दरमा ऋण उपलब्ध गराउन हामीले पहल गरिरहेका छौँ’, अध्यक्ष पौडेलले भने, ‘नेपाल कार्बन व्यापारमा जाने तयारी गरिहेको छ । चुरेमा उत्पादन भएका बाँसले कार्बन उत्सर्जन न्यूनीकरण गरेवापत आर्थिक लाभ लिन सक्छ । कार्बन क्रेताको रुपमा विभिन्न निजी क्षेत्र इच्छुक देखिन सक्छन् ।’ पौडेलले मुलुकको पूर्वी क्षेत्रमा एक करोड बाँस र पश्चिम क्षेत्रमा एक करोड बाँस गरी दुई करोड बाँस राप्ने समितिको योजना रहेको बताए । उनका अनुसार उक्त बाँस रोप्ने परियोजनाका लागि आन्तरिक स्रोत पर्याप्त नहुने भएपछि वित्तीय सहयोगका लागि वैदेशिक दाताहरुसँग सहयोगको अपिल गरिएको हो । ‘चुरेको माटो संरक्षण गर्न, बाँसबाट स्थानीय रोजगारी वृद्धि तथा हरित अर्थतन्त्र सुधार गर्न, वातावरणीय संरक्षण तथा कार्बन उत्सर्जन कटौतीमा सहयोग गर्ने लक्ष्यका साथ समितिले बाँस रोप्ने तयारी गरेको हो’, उनले भने, ‘चुरेको माटो जोगाउन सकिएन भने भूक्षय तथा पहिरोका कारण त्यहाँ खानेपानीको स्रोत सुक्ने र चरम अभाव भोग्नुपर्ने समस्या उत्पन्न हुन सक्छ तसर्थ माटो बचाउन बाँसले सहयोग पुग्ने र बाँसले जमिनमुनि पानी रिचार्ज गरिरहन सहयोग पुग्ने छ ।’ बाँस रोपेपछि चुरेका खाली रहेका भूभागको सदुपयोग गर्दै अर्थतन्त्र विकासमा सहयोग पुग्ने उनले जानकारी दिए । पौडेलले दुई करोड बाँस रोप्नका लागि एक सय मिलियन अमेरिकी डलर आवश्यक रहेको जानकारी दिए । उनले भने, ‘बाँस रोपेर पाँच वर्षमा प्रतिफल प्राप्त हुने भएकाले हरित अर्थतन्त्रमा सुधार आउने छ ।’ चुरेमा बाँस रोप्दा हुने फाइदा समितिको बोर्ड सदस्य डा सुस्मिता ढकालले बाँसले चुरेको वातावरण संरक्षण, आर्थिक आयआर्जन सुधार, रोजगारी वृद्धिमा सहयोग पुग्ने बताए । ‘बाँस छिटोछिटो वृद्धि हुने वनस्पति भएकाले हरियाली बढाउन प्रभावकारी र यसले हावा शुद्ध पार्न तथा जलवायु परिवर्तन न्यूनीकरण तथा अनुकूलनमा सहयोग गर्छ’, उनले भने, ‘बाँसले विभिन्न प्रजातिका जनावरलाई वासस्थान प्रदान गर्छ, जसले जैविक विविधता जोगाउन र स्थानीय समुदायलाई रोजगारीका अवसर सिर्जना गर्दछ ।’ बाँसबाट टोकरी, कुचो, फर्निचर, ढोका, खाट, र अन्य दैनिक सामग्री बनाउन सकिन्छ । घर बनाउने, झोलुङ्गे पुल र ग्रीन हाउस निर्माणमा यसको प्रयोग गर्न सकिन्छ । चुरेमा बाँस उत्पादन : अभियान चलाउन आवश्यक बाँसको विषयमा विद्यावारिधि गरेका पूर्व वन सचिव डा अन्नपूर्णनन्द दासले चुरे बचाउन बाँस उत्पादनलाई अभियानकै रुपमा सञ्चालन गर्नुपर्नेमा जोड दिन्छन् । ‘चुरे क्षेत्रको संरक्षणमा बाँस निकै उपयोगी वनस्पति हो, बाँस छिटो बढ्ने र धेरै पटक कटान गर्न मिल्ने वनस्पति भएकाले यो पुनःनवीकरणीय तथा वातावरणमैत्री वनस्पतिको रुपमा लिने गरिन्छ’, उनले भने, ‘बाँस पानी कम हुँदा पनि बाँच्न र हुर्कन सक्छ । बाँसको तामा स्वादिष्ट तरकारी तथा अचार जस्ता खाद्यपदार्थका रूपमा प्रयोग गरिन्छ । बाँसबाट कागज, कपडा, फाइबर र जैविक प्लास्टिक बनाउन र बाँसले ठूलो मात्रामा कार्बन डाइअक्साइड सोस्ने क्षमता राख्दछ ।’ दासले नेपालमा बाँसबाट बनाइने सामग्रीको माग उच्च रहेको र ग्रामीण क्षेत्रमा घरायसी सामानका लागि व्यापक प्रयोग गरिने बाँसको फर्निचर, हस्तकलाका सामग्री र औद्योगिक उत्पादनका लागि अन्तर्राष्ट्रिय बजारमा ठूलो माग रहेको बताए । उनले सरकार, निजी क्षेत्र र समुदाय मिलेर बाँस खेती प्रवर्द्धन गरेमा दीर्घकालीन लाभ प्राप्त गर्न सकिने धारणा राखे। क्षयीकरण नियन्त्रण भौगर्भिक रुपमा चुरे संवेदनशील क्षेत्र रहेकाले बाँसले चुरेमा बढ्दो क्षयीकरण नियन्त्रणमा सहयोग पुग्ने बताउछन्, भू–गर्वविद् डा सुवोध ढकाल । ‘बाँसको जराले माटोलाई समातेर राख्ने हुनाले चुरेमा हुनसक्ने क्षयीकरण नियन्त्रणमा सहयोग पुग्ने, पानी जमाएर जलस्रोतलाई दीर्घकालीन रूपमा संरक्षण गर्ने, जमिनमा पानीको रिचार्ज गराएर पानीको स्रोत संरक्षण हुन्छ’, उनले भने, ‘बाँसको बहुआयामिक महत्व छ, तर जथाभावी बाँस रोपिनु उचित हुँदैन । विस्तृत अध्ययन गरेर रोप्न उचित हुन्छ ।’ जलवायु तथा विपद् व्यवस्थापनविद् डा धर्मराज उप्रेतीले बाढी पहिरोजस्ता प्राकृतिक विपद्को जोखिम न्यूनीकरणका लागि बाँसले सहयोग गर्ने बताए । ‘अरु भन्दा बाँस हलुका खालको वनस्पति हो । चुरेको माटो कमजोर रहेकाले ठूला बिरुवाले पहिरोको खतरा बढाउँछ । चुरेको माटो सुहाउँदो वनस्पति बाँस हो’, उनले भने, ‘साना मझौला उद्योग प्रवर्द्धनमा सहयोग गर्छ । चुरेमा बाँस र निगालो दुवै विरुवा रोपेमा हरियाली प्रवर्द्धन भइ पारिस्थतिकीय प्रणालीको सन्तुलन कायम गर्छ । जलवायु परिवर्तन न्यूनीकरणमा बाँसको भूमिका हुन्छ ।’ उप्रेतीका अनुसार चुरे क्षेत्रमा भूक्षयका कारण नदीहरूमा बालुवा र गिट्टी जम्मा हुने समस्याले नदीको बहाव परिवर्तन गरी बाढीको जोखिम बढाउँछ । बाँस रोप्दा भूक्षय कम हुने, नदीजन्य प्रकोप नियन्त्रण गर्न सहयोग मिल्ने उनको भनाइ छ । कार्बन उत्सर्जन न्यूनीकरणमा सहयोग जलवायुविद् मञ्जित ढकाल बाँस उत्पादन बढाउँदा कार्वन उत्सर्जन कटौती गरी पृथ्वीमा बढ्दो तापमान बृद्धि रोक्न सहयोग पुग्ने बताउछन् । ‘बाँस दिगो विकासको आधार हो । यसको उत्पादन, प्रशोधन र उपयोगले पर्यावरणमा नकारात्मक असर गर्दैन, वातावरण र आर्थिक लाभ दिन्छ’, उनले भने, ‘नेपालले लिएको जलवायु नीति कार्यान्वयनमा बाँस खेती प्रवर्द्धनले सहयोग गर्छ ।’ बाँस खेतीलाई दीर्घकालीन रूपमा प्रवर्द्धन गर्न तीनै सरकारबीच समन्वय, निजी क्षेत्र, र समुदायबीच सहकार्य अनिवार्य रहेको विज्ञहरुको सुझाव छ । रासस
सिभिल मलमा एससिटी-युपीआई कार्डधारकका लागि निःशुल्क पार्किङ सुविधा
काठमाडौं । नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त भुक्तानी प्रणाली सञ्चालक संस्था स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड (एससिटी) र काठमाडौंको सुन्धारास्थित सिभिल मलबीच एससिटी–युपीआई कार्डधाराकहरूका लागि निःशुल्क पार्किङ सेवा सुरु भएको छ । यस सेवा अन्तर्गत एससिटी युपीआई कार्डधाराकहरूले आफ्नो कार्ड देखाएर सिभिल मल, सुन्धाराको अन्डरग्राउन्ड पार्किङ क्षेत्रमा चार घण्टासम्म निःशुल्क पार्किङ सुविधा लिन सक्नेछन् । मंसिर १६ देखि सुरु भएको यो सेवा हाललाई ६ महिनासम्म लागू हुनेछ । एससिटी–युपीआई डेबिट कार्ड लिन इच्छुक ग्राहकहरूले एससिटीको कुनै पनि सदस्य बैंक तथा वित्तीय संस्थामा गएर सजिलै कार्डका लागि अनुरोध गर्न सक्ने कम्पनीले जनाएकाे छ ।
प्रभु महालक्ष्मी लाइफबाट एकैपटक ५ जना संस्थापक बाहिरिँदै
काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सका पाँच संस्थापक सेयरधनी बाहिरिने भएका छन् । कम्पनीका पाँच जना संस्थापक सेयरधनीहरूले करिब १ लाख कित्ता संस्थापक सेयर बिक्री गरेर बाहिरिने भएका हुन् । कम्पनीका अनुसार शशि रञ्जन कलवारको स्वामित्वमा रहेको ४५ हजार कित्ता, भिम बहादुर गौचनको १० हजार कित्ता, मोहनराज जोशीको २० हजार कित्ता, मोक्ष राज्यलक्ष्मी देवि प्रधानको १८ हजार कित्ता र गणेश कुमार घिमिरेको ५ हजार ४९० कित्ता गरी कुल ९८ हजार ४९० कित्ता सेयर बिक्रीमा राखेका हुन् । कम्पनीको उक्त सेयर विद्यमान संस्थापक सेयरधनीहरूले मात्रै आवेदन दिन पाउनेछन् । यदि संस्थापक सेयरधनीहरूले ३५ दिनभित्र उक्त सेयर खरिद नगरेमा सर्वसाधारणलाई बिक्री खुला गरिने कम्पनीले जनाएको छ ।
विशेषज्ञ अभावमा मुटु परीक्षण उपकरण उपयोगविहीन
बागमती । हेटौँडा अस्पतालमा मुटुरोग विशेषज्ञ नहुँदा मुटुरोगीको जाँचका लागि ल्याइएको उपकरण विगत डेढ वर्षदेखि थन्किएको छ । उपकरण प्रयोगविहीन हुँदा बिरामी अन्यत्र जानुपर्ने बाध्यता छ । बिरामीको चापलाई दृष्टिगत गरी मकवानपुर रोटरी क्लबले हेटौँडा उपमहानगरपालिकासँगको साझेदारीमा रु एक करोड मूल्य बराबरको मुटु परीक्षण उपकरण अस्पताललाई उपलब्ध गराएको थियो । अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा.रामचन्द्र सापकोटाका अनुसार उपकरण अस्पताललाई हस्तान्तरण भए पनि विशेषज्ञ नहुँदा उपकरण थन्किएका छन् । सुपरिटेन्डेन्ट डा सापकोटाले भने, ‘हामीले मुटुरोग विशेषज्ञका लागि विज्ञापन खुलायौँ, त्यसमा एक जनाले मात्र आवेदन भने। तर, उनलाई प्रदेश कार्यविधिले नियुक्त दिन मिलेन ।’ मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान र त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालबीच केही दिनअघि जनशक्ति व्यवस्थापनसम्बन्धी सम्झौता भएकाले शीघ्र समस्या समाधान हुने उनको विश्वास छ ।