नर्सिङ संघ निवार्चनमा चन्द्रकला शर्माको समूहको उम्मेदवारी घोषणा, यस्ता छन् २८ बुँदे प्रतिबद्धता
काठमाडौं । नेपाल नर्सिङ संघको २० औं केन्द्रीय कार्यसमिति निर्वाचन यही मंसिर २८ गते हुने भएको छ । निर्वाचनमा भाग लिने उम्मेदवारको नामावलीसहित संयुक्त प्रगतिशील समूहले २८ बुँदे प्रतिबद्धता सार्वजनिक गरेको छ । बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै प्राध्यापक चन्द्रकला शर्माको समूहले प्रतिवद्धता सार्वजनिक गरेको हो । ३३ वर्षदेखि स्वास्थ्य क्षेत्रमा सेवा गर्दै आएकी शर्माले लामो समयदेखि बटुलेको अनुभव काममा लगाउन अध्यक्षको उम्मेद्ववारी दिएको बताइन् । उनले अझै पनि नेपाली नर्समाथि विभिन्न किसिमका विभेद श्रम शोषण भइरहेको बताउँदै दरिलो नीति बनाएर कार्यान्वयन गर्ने बताइन् । विसं २०१८ सालमा स्थापना भई संयुक्त प्रगतिशील समूहले नर्सहरूको पक्षमा वकालत गर्दै आइरहेकाे उल्लेख गरिन् । उनले नर्सिङ पेशामा आबद्ध नर्सहरूको पेशागत हकहित, अधिकार, वृति विकास, स्वच्छ शैक्षिक वातावरण निर्माणका लागि काम गर्नुपर्ने बताइन् । शर्माको समूहमा वरिष्ठ उपाध्यक्षमा प्रा. रमेश सुब्बा, उपाध्यक्षमा बबिता घिमिरे, महासचिवमा डा. देवकाकुमारी आचार्य, सचिवमा बेली पौडेल, कोषाध्यक्षमा तुलसादेवी आचार्यको नाम रहेको छ । यस्तै, खुला सदस्यमा मेनुका पोख्रेल, जनजाति सदस्यमा हरिप्रसाद कोजु, आदिवासी सदस्य कला बस्याल गुरुङ, दलित सदस्यमा कोपिला विश्वकर्मा, सदस्य मधेसीमा पासपति जयसवाल, मुस्लिममा सेवनाज वेगम, अनमीमा जानुका मोक्तान र शान्तिकुमारी विश्वकर्मा रहेका छन् । यस्तै, नेपाल नर्सिङ परिषद सदस्यको लागि राधिका आचार्य, सुमिता पाठक र राजदेवी अधिकारीको उम्मेदवारी रहेको छ । शर्मा समूहको प्रतिबद्धता १. निजी स्वास्थ्य संस्था र शिक्षण संस्थामा कार्यरत नर्सहरूलाई नेपाल सरकारले तोके बमोजिमको तलब र सुविधा को व्यवस्था गर्न सरोकारवाला निकायहरूसँग पैरवी गर्ने। २. रात्रिकालीन सेवाको एक दिनको तलब बराबर र सार्वजनिक बिदा तथा चाड पर्व बिदाका दिनहरूमा सेवा गरे बापत यथोचित भत्ताको व्यवस्थाका लागि पहल गर्ने। ३ सेवा केन्द्र र सेवा प्रवाहको प्रकृति अनुसार जोखिम भत्ता तथा सुरक्षाको सुनिश्चितताको लागि पहल गर्ने। ४. नर्स/ महिला कार्यरत सबै संस्थाहरूमा स्तनपान कक्ष र शिशु स्याहार केन्द्र बनाउन पहल गर्ने। ५. सम्पूर्ण नर्सिङ क्याम्पसमा सम्बन्धित विश्वविद्यालयको मापदण्ड अनुसार Nursing Faculties को व्यवस्था र वृत्ति विकास गर्न पहल गर्ने । ६. स्कूल हेल्थ नर्स प्राेगामलाई सम्पूर्ण विद्यालयहरूमा दरबन्दी विस्तार र विद्यालय नर्सको स्थायी व्यवस्था, क्षमता र वृत्ति विकासको लागि पहल गर्ने। ७. पचास जना भन्दा बढी कामदार भएका उद्योगहरूमा औद्योगिक नर्सको व्यवस्थाका लागि पहल गर्ने। ८. सुत्केरी भएको २ वर्ष सम्म र ५० वर्ष नाघेका नर्सहरूलाई नाइट ड्युटी गर्न नलगाउने नीतिगत व्यवस्थाको लागि पहल गर्ने। ९. मिनिमम सर्भिस स्ट्यान्डर्डअनुसार नर्स बिरामीको अनुपात कायम गर्न सरोकारवाला निकायहरूसँग पैरवी गर्ने । १०. शिक्षक विद्यार्थीको अनुपात, शैक्षिक क्यालेण्डर, अभ्यास तालिका र त्यसको कार्यान्वयन, अनुगमन तथा मूल्याङ्कनमा जोड दिने । नर्सिङका पाठ्यक्रमलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय आवश्यकता अनुसार पूनः परिमार्जित गराउन पहल गर्ने । ११. अवकाश प्राप्त नर्सहरूको क्षमता र अनुभवलाई कदर गर्दै सृजनात्मक कार्यमा सहभागी गराउन पहल गर्ने । १२. आन्तरिक तथा अन्तर्राष्ट्रिय तालिम र अध्ययनका अवसरहरू वृद्धिका लागि पहल र अवसरहरूको वितरणको सुनिश्चितताको लागि पहल गर्ने। १३. नर्सहरूको दरबन्दी माग र परिपूर्ति गर्ने कुराको सुनिश्चितता गराउन दरबन्दी सृजना गर्न पैरवी गर्ने। १४. विशिष्टीकृत योग्यता भएका नर्सहरूलाई योग्यता अनुसार दरबन्दी सृजना गरि जिम्मेवारी सहित उपयुक्त स्वास्थ्य संस्थामा पदस्थापनका लागि पहल गर्ने। १५. सेवा प्रवेशको निश्चित समय पछि योग्यता र अनुभवको आधारमा सबैको पेशागत सुनिश्चितताका लागि विशेष पहल गर्ने। दुर्गमको कारणले रोकिएको वृत्ति विकासलाई सहजीकरण गर्न पहल गर्ने। १६. नर्सिङ शिक्षा विस्तार गर्दै नर्स प्रायाक्टिसनर विधाहरू सुरुवात गर्ने १७. अ.न.मी. हरुलाई विशेष कार्यक्रम अन्तरगत स्टाफ नर्स/मिडवाइफमा अध्यापन गराउन छात्रवृत्तिको व्यवस्था गर्न पहल गर्ने र स्टाफ नर्स पास गरी सकेका अ.न.मी. हरुलाई स्टाफ नर्समा पदस्थपाना गराउन पहल गर्ने। १८. नर्सिङ संघलाई सबै प्रदेशमा विस्तार गरी प्रादेशिक नर्सिङ संघ, ७७ वटै जिल्लामा जिल्ला नर्सिङ समिती र स्थानीय तहमा नर्सिङ संघको एकाई निर्माण गर्ने। १९. समय सापेक्ष प्रविधिको प्रयोग गरी इलष्लिभ क्थकतझ बाट सदस्यता लिन सकिने व्यवस्था गर्ने। स्थानीय तहसम्मनै मतदान गर्न पाउने गरी मतदान कन्द्रको विस्तार गर्ने र भ–खयतष्लन कथकतझ लागू गर्ने। २०. सम्बन्धित कानून्, नीति निर्माणमा सम्बन्धित संस्थाका नर्सिङ पदाधिकारीको अनिवार्य सहभागिताको लागि पहल गर्ने। २१. चिकित्शा शिक्षा आयोगमा कम्तिमा एक महाशाखा नर्सिङ निर्देशकको नेतृत्वमा हुनु पर्ने व्यवस्थाका लागि पहल गर्ने। २२. राष्ट्रिय स्वास्थ्य अनुसन्धान केन्द्र तथा प्रतिष्ठानहरुमा कम्तिमा एकजना नर्सिङ पदाधिकारी रहने व्यवस्थाका लागि पहल पर्ने। २३. अनुसन्धान कार्यमा नर्सहरूको क्षमता अभिवृद्धि गरी क्लिनिकल सेवा क्षेत्रमा अनुसन्धानात्मक कार्यका लागि बजेट सुनिश्चितताका लागि पहल गर्ने। २४. नर्सिङ कर्मचारीको आन्तरिक/बाहृय सरुवा व्यवस्थापन नर्सिङ महाशाखाको अनिवार्य संलग्नता हुनु पर्ने विषयमा पहल गर्ने। २५. नेपाल नर्सिङ संघको केन्द्रीय कार्यालय, लाजिम्पाट काठमाण्डौको भवन निर्माण कार्य सम्पन्न गर्ने । २६. कार्य क्षेत्रमा नर्सहरु माथि दुव्यवहार र हातपात भएमा ऐन बमोजिम कानुनी र पेशागत उपचारको लागि पहल गरिनेछ । २७. स्वास्थ्य सेवा ऐन् २०५३ अनुसार नर्सहरूको वृत्ति विकास (स्तर वृद्दि) सम्बन्धि भएका विबेधकारी र अस्पष्ट व्यवस्थाहरुलाई संशोधन गर्नका लागि तुरुन्त पहल गर्ने । २८. स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, लोक सेवा आयोग र सो अन्तर्गतका सम्बन्धित निकायहरुलाई शैक्षिक योग्यता अनुसार मात्र विज्ञापन गराउन र गर्नका लागि पैरवी गर्ने ।
ब्रोकर एसोसिएसनको अध्यक्षका लागि सागर ढकालको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता
काठमाडौं । स्टक ब्रोकर एसोसिएसन अफ नेपालको अध्यक्ष पदका लागि सागर ढकालले उम्मेदवारी दिने घोषणा गरेका छन् । ढकालले बुधबार आफ्नो समूहबाट अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका हुन् । यसैगरी, ढकालको समूहबाट उपाध्यक्षमा नितेशकुमार अग्रवाल, महासचिवमा भक्तिराम घिमिरे, कोषाध्यक्षमा मदन पौडेल, सचिवमा कृष्ण गिरिले उम्मेदवारी घोषणा गरेका छन् । यस्तै, सदस्यमा जयन्त श्रीवास्तव, अतितलाल श्रेष्ठ, हरिप्रसाद वाग्लेले उम्मेदवारी घोषणा गरेका छन् । स्टक ब्रोकर एसोसिएसनको ३० औं वार्षिक साधारणसभा मंसिर २० गते हुँदै छ । उक्त साधारणसभाले नयाँ नेतृत्व चयन गर्नेछ । यी हुन् ढकाल समूहका प्रतिबद्धता १. पूँजी बजारमा अत्यावश्यक रहेका विभिन्न वित्तीय औजार तथा कारोबार औजारहरु जस्तै मार्जिन ट्रेडिङ, इन्ट्रा डे तथा सर्ट सेलिङ एवं इक्विटि डेरिभेटिभ आदिको विकास गरी सञ्चालन गर्न पहल गर्ने। २. धितोपत्र दलाल व्यवसायीहरुले प्रदान गर्न सकिने विभिन्न सेवाहरु जस्तैः लगानी व्यवस्थापन सेवा, लगानी एड्भाइजरी सेवा, मार्जिन लेण्डिङ्ग सेवा, प्रत्याभूति सेवाका साथै योग्य संस्थागत लगानीकर्ताको रुपमा कार्य गर्न पाउने सेवाहरु प्राप्तिका लागि आवश्यक कार्य गर्ने । ३. हाल २ वटा मात्र डिम्याट खाता खोली शेयर कारोबार गर्न पाउने सम्बन्धी व्यवस्थाका कारण शेयर कारोबारमा जोखिम बढेको हुँदा यसलाई खुला गर्न पहल गर्ने । ४. नेपाल धितोपत्र बोर्डबाट अनुपालना कायम नगर्ने धितोपत्र दलाल व्यवसायीलाई कारोबार निलम्बन गर्दा यसले सो धितोपत्र दलाल व्यवसायीसँग आबद्ध ग्राहकहरुलाई मार पर्ने भएको कारण कारोबार निलम्बन गर्नुका सट्टा कम्पनीलाई आर्थिक जरिवाना गरी कारबाही गर्ने व्यवस्था गर्ने। ५. हाल धितोपत्र दलाल व्यवसायी कम्पनीहरुले नेपाल स्टक एक्सचेन्ज समक्ष बैंक ग्यारेन्टी राखी सोको २५ गुणा सम्म कारोबार लिमिट प्राप्त गरिरहेकोमा यस्तो सीमा ५० गुणा सम्म बनाउन पहल गर्ने । ६. २० करोड पूँजी भएका धितोपत्र ब्रोकर्शहरुले मार्जिन लेण्डिंग तथा लगानी व्यवस्थापन सेवा प्रदान गर्ने सम्बन्धी नियमावलीमा आवश्यक संशोधन गर्न पहल गर्ने । ७. सञ्चालनमा रहेका धितोपत्र दलाल व्यावसायी कम्पनीका शेयरधनीहरुलाई आफ्नै संस्थाबाट शेयर खरि दबिक्री गर्न पहल गर्ने। ८. खरिद गरी तोकिएको समय सीमाभित्र खरिद वापतको रकम भुक्तानी गर्न अटेर गर्ने ग्राहकहरुको शेयर बिक्री गरी राफसाफ गर्ने हालको व्यवस्थालाई संशोधन गरी सहज बनाउन पहल गर्ने । ९ हाल सञ्चालनमा रहेको धितोपत्र ऐन तथा यस अन्तरगतका विभिन्न नियमावली, विनियमावली लगायत समग्र पूँजी बजारको विकास, विस्तार र आधुनिकीकरणका लागि आवश्यक नीति नियमहरुको विकास गर्ने तथा हाल सञ्चालनमा रहेका कानूनी व्यवस्था तथा नीतिहरुलाई संशोधन गर्न आवश्यक नेतृत्व प्रदान गर्ने । १०. धितोपत्र दलाल व्यवसायी कम्पनीहरुबीच एक आपसमा मर्जर तथा प्राप्ति गर्न सकिने गरी कार्यविधिको विकास गरी लागू गर्ने। ११. धितोपत्र दलाल व्यवसायी कम्पनीहरुको आइपिओ निष्काशन गर्नका लागि आवश्यक नीतिगत व्यवस्था गराई यसको माध्यमबाट आगामी दिनमा धितोपत्र दलाल व्यवसायी कम्पनीको पूँजी वृद्धि गर्न मिल्ने व्यवस्था मिलाउने । १२. धितोपत्र दलाल व्यवसायीहरुको पूँजीवृद्धि सम्बन्धी व्यवस्था हाल २०८२ असार मसान्त सम्म रहेकोमा सो समयावधि कम्तीमा ६ महिना देखि १२ महिनासम्म थप गर्न व्यवस्था मिलाउने । १३. पूँजी बजार अन्तरगत हुने कारोबारमा देखिएको विकृति तथा विसंगतिहरुको न्यूनीकरण तथा पूँजी बजार को आधुनिकीकरणका लागि नियामक निकाय, स्टक एक्सचेन्ज तथा सिडिएससिलाई आवश्यक पर्ने विभिन्न प्रणालीहरु जस्तै सर्भेलियन्स सिस्टम, म्याचिंग इन्जिन, मार्केट इन्फरमेसन सिस्टम आदिलाई अपग्रेड गरी सञ्चालन गर्न सम्बन्धित निकायसँग पहल गर्ने। १४. अक्सन बजारलाई सञ्चालन गरी हाल ग्राहक क्लोज आउट हुने व्यवस्थालाई हटाउन नीतिगत व्यवस्था गरी अक्सन मार्केट सञ्चालनमा ल्याइन पहल गर्ने । १५. सेटलमेन्ट ग्यारेण्टि फण्डको सञ्चालनका लागि कार्यविधि संशोधन गरी सञ्चालनमा ल्याइने तथा सो फण्डमा विभिन्न सरकारी निकायमा रहेको आइडल फण्डहरु थप गरी फण्डको आकार बढाउन पहल गर्ने । १६. नेपाल स्टक एक्सचेन्ज, सिडिएससि तथा नेपाल धितोपत्र बोर्डको बेवसाइटमार्फत सम्पूर्ण सूचिकृत कम्पनीको वित्तिय तथ्यांक, त्रैमासिक विवरण, वार्षिक प्रतिवेदन, सञ्चालक तथा व्यवस्थापन लगायत प्रमुख शेयरधनीहरुको विवरण लगायतका जानकारीहरु प्रकाशित हुने व्यवस्था मिलाउन आवश्यक पहल गरिने । १७. लगानीकर्ता सचेतना तथा शेयर लगानी सम्बन्धी जनचेतनाका लागि नेपाल धितोपत्र बोर्ड तथा स्टक एक्स्चेन्जसँगको सहकार्यमा तालिम, वर्कसप तथा सेमिनार कार्यक्रमहरु सञ्चालन गर्ने। साथै सबै धितोपत्र दलाल व्यवसायी कम्पनीहरुलाई डिजिटल माध्यमबाट पढ्न तथा हेर्न सकिने गरी शेयर लगानी तथा सचेतना सम्बन्धी सामाग्रीहरु तयार गरी प्रकाशन गर्ने व्यवस्था गरिने । १८. धितोपत्र दलाल व्यवसायीहरुले आफैले धितोपत्र कारोबार प्रणालीको विकास गरी सञ्चालनमा ल्याउने व्यवस्था मिलाउन हालको नीतिगत व्यवस्थालाई संशोधन गर्न पहल गर्ने । १९. ग्राहकले बिक्री गरेको शेयरको स्वचालित रुपमा इडीआईएस हुने व्यवस्था मिलाउन पहल गर्ने । २०. पूँजी बजारमा लगानी गर्ने लगानीकर्ताहरुको लागि सदैव तरबारको रुपमा रहेको पूँजीगत लाभकरको व्यवस्थालाई नीतिगत रुपमै अन्तिम कर घोषणा गर्न आवश्यक पहल गर्ने। २१. सूचिकृत कम्पनीहरु मर्जर तथा प्राप्तिका कारण पूँजीगत लाभकरमा देखिएको समस्यालाई समाधान गर्न सम्बन्धित निकायसँग पहल गर्ने । २२. सिडिएससि मार्फत हाल नेपाल स्टक एक्सचेन्जबाट भएको कारोबारमात्रै राफसाफ हुने व्यवस्था रहेकोमा आगामी दिनमा बजार समय भन्दा अगावै वा बजार समय पछि धितोपत्र दलाल व्यवसायी कम्पनीको मध्यस्थतामा भएको अफ मार्केट कारोबारलाई समेत सिडिएसिबाट राफसाफ हुने व्यवस्था मिलाइने । २३. स्टक ब्रोकर एशोसिएसन अफ नेपालले जारी गरेको आइडी कार्डबाट सिंहदरबार लगायतका सरकारी निकायहरुमा सहज प्रवेश गर्न पाउने व्यवस्था मिलाउने ।
माइक्रोसफ्टविरुद्ध १.२७ अर्ब डलरको मुद्दा, ग्राहकलाई महँगो शुल्क लिएको आरोप
काठमाडौं । माइक्रोसफ्टविरुद्ध मंगलबार १.२७ अर्ब डलरभन्दा बढी क्षतिपूर्ति दाबी गर्दै मुद्दा दायर भएको छ । माइक्रोसफ्टमाथि प्रतिस्पर्धी क्लाउड कम्पनीका ग्राहकलाई अनुचित रूपमा महँगो शुल्क लगाएको आरोप छ । माइक्रोसफ्ट एक अमेरिकी बहुराष्ट्रिय प्रविधि कम्पनी हो, जसले कम्प्युटर सफ्टवेयर, उपभोक्ता इलेक्ट्रोनिक्स, व्यक्तिगत कम्प्युटर र सम्बन्धित सेवाहरू दिँदै आइरहेको छ । यसको प्रधान कार्यालय संयुक्त राज्य अमेरिकाको रेडमन्ड, वासिङ्टनमा अवस्थित छ । अमेजन वेब सर्भिसेज (एडब्ल्यूएस), गुगल क्याउड प्लेटफर्म वा अलिबाबा क्याउड माइक्रोसफ्ट अजुरक्लाउडका प्रतिस्पर्धीहरू हुन् । यिनका ग्राहकहरूले विन्डोज सर्भर सफ्टवेयर लाइसेन्सका लागि बढी शुल्क तिर्नुपरेको मुद्दामा बताइएको छ । माइक्रोसफ्टले आफ्नो अजुर प्लेटफर्ममा विन्डोज सर्भर चलाउने कम्पनीलाई सस्तो शुल्क प्रदान गर्छ, जबकि एडब्ल्यूएस, गुगल क्लाउड वा अलिबाबा क्लाउडमा चलाउँदा महँगो शुल्क लिन्छ । माइक्रोसफ्टले आफ्नो प्रभुत्व जमाएर उच्च शुल्क असुल गर्ने र ग्राहकलाई अजुरतर्फ आकर्षित गर्ने गरेको दाबी मुद्दामा गरिएको छ । प्रतिवादी मारिया लुइसा स्टासी जो कानुन व्यवसायी हुन्, प्रभावित कम्पनीहरूका लागि १.२७ अर्ब डलरभन्दा बढी क्षतिपूर्ति खोज्दै छिन् । यता माइक्रोसफ्टले यो मुद्दामा कुनै टिप्पणी गर्न अस्वीकार गरेको छ । ‘माइक्रोसफ्टले युकेका व्यवसाय र संस्थाहरूलाई गुगल, अमेजन र अलिबाबाजस्ता क्लाउड सेवा प्रयोग गरेकोमा थप शुल्क लगाएर सजाय दिइरहेको छ,’आर्टिकल १९ की मारिया लुइसा स्टासीले बताइन् । ‘यसै गरेर माइक्रोसफ्टले ग्राहकहरूलाई अजुरमा तान्न खाेजी उसले यो क्षेत्रमा प्रतिस्पर्धा शून्य बनाउन चाहन्छ,’ उनले थपिन् । यो मुद्दाले माइक्रोसफ्टको प्रतिस्पर्धाविरोधी व्यवहारलाई चुनौती दिन, अवैध रूपमा कति रकम असुल गरिएको छ भन्ने खुलासा गर्न र अन्यायपूर्वक धेरै शुल्क तिर्न बाध्य परेका संस्थाहरूलाई पैसा फिर्ता गर्न प्रयास गर्ने स्टासी बताउँछिन् । हजारौं बेलायती व्यवसाय र संगठनहरू यस मुद्दामा प्रतिनिधित्व गरिएको छ, जुन ‘अप्ट-आउट’ सामूहिक कारबाही हो । यसको अर्थ प्रभावित हुन सक्ने कुनै पनि कम्पनी स्वचालित रूपमा गणना गरिन्छ र माइक्रोसफ्टले मुद्दा हारे क्षतिपूर्ति प्राप्त गर्न सक्नेछ । युरोपेली क्लाउड कम्पनीहरूको बजार खस्कियो बेलायतको प्रतिस्पर्धा र बजार प्राधिकरण (सीएमए) क्लाउड उद्योगमा प्रतिस्पर्धा-विरोधी अभ्यासहरूको समाधान गर्न ‘व्यावहारिक’ उपायहरू तयार गर्दैछ । यस वर्षको सुरुवातमा माइक्रोसफ्टले क्लाउड व्यापार संघ (सीआईएसपीई) र यसको सदस्यहरूसँग २१ मिलियन अमेरिकी डलरको सम्झौता गरेको थियाे । यो सम्झौताले युरोपियन युनियनको प्रतिस्पर्धा-विरोधी उजुरीलाई समाप्त गर्न मद्दत गरेको थियाे । यस सम्झौताले माइक्रोसफ्टलाई साना क्लाउड कम्पनीहरूको प्रणालीमा आफ्नो सफ्टवेयर चलाउनका लागि उही मूल्य लिन सहमत गराएको थियाे । तर सेप्टेम्बरमा गुगलले युरोपियन कमिसनको कार्यकारी निकायसँग माइक्रोसफ्टविरुद्ध नयाँ प्रतिस्पर्धा-विरोधी उजुरी दायर गरेको थियो । उक्त उजुरीले आरोप लगायो कि माइक्रोसफ्टका सफ्टवेयर लाइसेन्सिङ सर्तहरूले व्यवसायीहरूलाई अन्य क्लाउड सेवाहरूमा स्विच गर्न कठिन बनाउँछ, जसले क्लाउड बजारमा नियन्त्रण जमाउँछ । सिनर्जी रिसर्च ग्रुपका अनुसार २०१७ देखि २०२२ सम्म युरोपेली क्लाउड कम्पनीहरूको बजार हिस्सेदारी २७ प्रतिशतबाट घटेर १३ प्रतिशतमा झर्यो, जबकि युरोपेली क्लाउड बजार पाँच गुणा बढेर ११ बिलियन डलर पुगेको थियो ।
हुन्डाईको नयाँ क्रेटामा बढ्दाे आकर्षण : ४ महिनामा ३५० युनिट बिक्री
काठमाडौं । नेपालमा हुन्डाईको नयाँ क्रेटामा ग्राहकको आकर्षण बढ्दै गएको देखिएको छ । नेपालका लागि हुन्डाईका आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलका अनुसार चालु आर्थिक वर्षको ४ महिनामै ३५० युनिट नयाँ क्रेटा बिक्री भएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार हालसम्म ६०० युनिट बढी नयाँ क्रेटा बुकिङ भएको छ । बढ्दो मागका कारण नयाँ क्रेटाको वेटिङ पिरियड २ महिना पुगिसकेको छ । नयाँ क्रेटाकाे आकर्षण किन ? हुन्डाईले ल्याएको फेसलिफ्ट क्रेटा पछाडिको डिजाइन, अगाडिको लुक्स र इन्टेरियरमा आधुनिक ट्रेन्ड समातेर बनाइएको छ । स्टायन्डर्ड रूपमै ६ एयरब्यागको साथ आएको क्रेटाको अगाडि फेसिया र पछाडिको भागमा व्यापक परिमार्जन गरिएको छ । अगाडि एल आकारको एलइडी डे टाइम रनिङ लाइट र नयाँ हेडल्याम्पको प्रयोग उत्कृष्ट देखिन्छ । नयाँ र पृथक रियर लाइटमा यसलाई आकर्षक देख्न सकिन्छ । क्रेटामा उपलब्ध एडास फिचरभित्र लेन किप एण्ड फलोइङ असिस्ट, लेन डिपार्चर वार्निङ, एडाप्टिभ क्रुज कन्ट्रोल, फ्रन्ट कोलिसन एभाइडेन्स, ब्लाइन्ड स्पट भ्यू मनिटर र ड्राइभर अटेन्सन वार्निङजस्ता चालकलाई सहज बनाउने फिचर छन् । यसको ड्यासबोर्ड पूर्णतया नयाँ छ भने इन्फोटेनमेन्ट सिस्टम र डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर पहिलेकोभन्दा निकै आकर्षक छ । यसमा दुबै स्कृन समान १०.२५ इन्चका छन् ।
नेपाल चीन बिजनेस समिट : क्रेडिट रेटिङपछि ढुक्क भएर लगानी गर्ने वातावरण तयार
बेइजिङ । नेपालमा चिनियाँलगायत विदेशी लगानी आकर्षित गर्न निरन्तर सुधार गरिने सरकार र निजी क्षेत्रले प्रतिवद्धता जनाएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा नेपाल उद्योग वाणिज्य महासंघ, चाइना काउन्सिल फर प्रोमोसन अफ इन्टरनेसनल टेड (सिसिपिआइटी) र चीनस्थित नेपाली दूतावासले संयुक्त रूपमा आयोजना गरेको नेपाल चीन बिजनेस समिटमा प्रतिबद्धता जनाइएको हो । द्विपक्षीय व्यापार प्रवर्द्धन, पर्यटन क्षेत्रको विकास र नेपालमा चिनियाँ लगानी आकर्षित गर्ने उद्देश्यले आयोजित कार्यक्रममा प्रमुख अतिथि प्रधानमन्त्री ओलीले नेपालमा लगानीको वातावरण सुधार हुँदै गइरहेको बताए । उनले नेपालमा धेरै क्षेत्र अझै पनि लगानीका लागि आकर्षक रहेकोले लगानीका लागि आग्रह गरे । नेपाल र चीनको परम्परागत सम्बन्ध रहेको बताउँदै दुई देशको आपसी सम्बन्धले आर्थिक विकास सम्भव भएको बताए । प्रधानमन्त्री ओलीले कुनै पनि मुलुकको सरकार र निजी क्षेत्रको सहकार्यलाई प्राथमिकता दिइएको र सोही अनुसार व्यवसायिक वातावरण बनाउँदै लगिएको बताए । उनले निजी क्षेत्र अर्थतन्त्रको मेरुदण्ड भएको र स्वदेशी एवं विदेशी लगानीको संरक्षणमा सरकार सधै तत्पर रहेको जिकिर गरे । साथै उनले महासंघले लगानी, पर्यटन र निर्यात प्रवर्द्धनमा देश विदेशमा पहल गरिरहेकोमा महासंघको प्रशंसा पनि गरे । चीन नेपालमा सबैभन्दा धेरै लगानी गर्ने मुलुक रहेको र व्यापारमा दोस्रो ठूलो मुलुक भएपनि दुई देशबीचको व्यापार घाटा चिन्ताको विषय रहेको बताए । नेपालका कृषिजन्य उत्पादनहरूको चीनमा बजार रहेकाले व्यापार सहजीकरणका लागि प्रयत्न गर्नुपर्ने बताए । सिसिपिआइटीको मुख्यालय बेइजिंगमा बुधबार आयोजित समिटलाई सम्बोधन गर्दै चिनियाँ वाणिज्य उपमन्त्री लिंग जीले चीन र नेपालबीचको सम्बन्ध निकै पुरानो रहेको एवं आर्थिक गतिविधि पनि बढिरहेको बताए । साथै नेपालमा चिनियाँले लगानी बढाइरहेको र आगामी दिनमा पनि लगानी बिस्तार हुने बताए । चीन नेपालको दोस्रो ठूलो व्यापारिक साझेदार रहेको बताउँदै उपमन्त्री जीले चीनको बाटो भएर अन्य मुलुकमा पनि व्यापार बढाउन पारवहन सहजीकरण गरिने बताए । चीनले यही डिसेम्बरबाट अतिकम विकसित मुलुकका उत्पादनलाई दिएको भन्साररहित सुविधाले नेपाल लाभान्वित हुने पनि बताए । चीन नेपालमा सबैभन्दा बढी लगानीको प्रतिवद्धता जनाउने मुलुक हो भने वास्तविक लगानीमा दोस्रो ठूलो मुलुक हो । यो समिटको दोस्रो संस्करण हो । महासंघ र सीसीपीआईटीले २०२३ सेप्टेम्बरमा पनि यस्तै सम्मेलन आयोजना गरेको थियो । समिटमा महासंघ अध्यक्ष चन्द्रप्रसाद ढकालले यो एक वर्षको अवधिमा व्यवसायिक वातावरण बनाउन भएको पहलबारे जानकारी गराए । महासंघको आग्रहमा सरकारले लगानीसम्बन्धी आठवटा कानुन संशोधन गरेको छ । यसैगरी, द्विपक्षीय लागनी सम्झौताको खाका पनि तयार भएको छ । यसैगरी, पहिलोपटक नेपालको क्रेडिट रेटिङ भएको र उक्त रेटिङ दक्षिण एसियामा भारतपछि सबैभन्दा राम्रो आएको जानकारी पनि गराए । यसले लगानीकर्ताहरू ढुक्क भएर लगानी गर्ने वातावरण तयार भएको उनले बताए । साथै उनले सीमा क्षेत्रको पूर्वाधार लगायतको स्तरोन्नति एवं भैरहवा र पोखरा विमानस्थलमा चीनबाट सिधा उडानका लागि दुवै देशका सरकार र निजी क्षेत्रले सक्रियतापूर्वक पहल गर्नुपर्नेमा जोड दिए । कार्यक्रममा महासंघ अध्यक्ष ढकालले जलविद्युत, पर्यटन, उत्पादनमूलक क्षेत्र र सूचना प्रविधिलगायतका सेवा क्षेत्रमा प्रसस्त सम्भावना रहेको बताए । पछिल्लो समय पर्यटन पूर्वाधारहरू जस्तै केवलकार, थिम पार्क, रिसोर्टलगायतमा विदेशी लगानीको बढी सम्भावना देखिएको उनले बताए । नेपाल चिनियाँ पर्यटकका लागि आकर्षक गन्तव्य भएको बताउँदै अध्यक्ष ढकालले चीन सरकारले नेपाललाई प्राथमिकतामा राख्न पनि आग्रह गरे । लगानीको वातावरण थप सुधार गर्न महासंघको आग्रहमा सरकारले उच्चस्तरीय आर्थिक क्षेत्र सुधार आयोग गठन गरेको र त्यसको एक जना सदस्यका नाताले मुलकभित्र व्यवसायिक वातावरण बनाउन पहल गर्ने प्रतिवद्धता पनि अध्यक्ष ढकालले जनाए । उनले महासंघमा रहेको एफडीआई सहायता कक्षले निरन्तर लगानीकर्तालाई सघाउने प्रतिवद्धता पनि जनाए । चीनले यही डिसेम्बर एकदेखि आफ्नो कुटनीतिक सम्बन्ध भएका अतिकम विकसित देशहरूलाई दिने घोषणा गरेको भन्साररहित सुविधाको अध्यक्ष ढकालले स्वागत गरे । सीसीपीआईटीका उपाध्यक्ष झांग साओगांगले महासंघ पुरानो साझेदार संस्था रहेको बताउदै समिट द्धिपक्षीय व्यापार अभिवृद्धिमा महत्त्वपूर्ण हुने बताए । उनले सीसीपीआईटीले नेपालमा लगानी बढाउन र नेपालका उत्पादन आयात गर्न सहयोग गर्ने बताए । उनले महासंघ र सीसीपीआईटीको सहकार्यमा आगामी दिनमा आर्थिक साझेदारीका विविध कार्यक्रम सञ्चालन गरिने पनि जानकारी गराए । लगानी बोर्ड नेपालका प्रमुख कार्यकारी अधिकृत शुशिल ज्ञवालीले नेपालमा लगानीको सम्भावनाबारे बताउँदै नेपालमा चिनिया लगानी भित्र्याउन बोर्डले सहजीकरण गर्ने बताए । महासंघको वैदेशिक लगानी एवं अन्तर्राष्ट्रिय सम्बन्ध फोरमका सभापति मनोज पौडेलले नेपालमा जलविद्युत, पर्यटन पूर्वाधार, उत्पादनमूलक क्षेत्र तथा सेवा क्षेत्रमा रहेका सम्भावनाबारे उल्लेख गरेका थिए । नेपालमा प्राकृतिक स्रोतसँगै युवा जनशक्ति पनि नेपालको तुलनात्मक लाभ रहेको उनले बताए । समिटमा १२० जना चिनिया व्यवसायीहरूको सहभागिता रहेको थियो । नेपालका तर्फबाट महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्शसहित करिब ५० जना उद्यमी व्यवसायीले समिटमा सहभागिता रह्यो । समिटमा चीन सरकारका उच्च पदस्थ अधिकारी र प्रधानमन्त्रीको भ्रमण दलमा सहभागी नेपाली उच्च अधिकारीहरुको समेत सहभागिता थियो । उक्त समिटभन्दा पहिले बिजनेस टु बिजनेस वैठक पनि राखिएको थियो । महासंघले पछिल्लो डेढ वर्षमा देशबाहिर आयोजना गरेको यो चौथो समिट हो । यस अघि बेइजिङ, नयाँ दिल्ली र दुबईमा महासंघका साझेदार संस्था सिसिपिआइटी, कन्फिडरेसन अफ इन्डियन इण्डष्ट्रिज दुवई चेम्बर्ससँगको सहकार्यमा सम्मेलन आयोजना गरिएको थियो । यो पनि पढ्नूहोस् : बीआरआईमा ‘एड असिस्टेन्स फाइनान्सिङ’ लेखिएपछि कुरो मिल्यो, यी १० परियोजना समेटिए
सूर्यज्योति लाइफका बिमितले अनलाइन प्रिमियम भुक्तानी गर्दा उपहारै उपहार जित्ने अवसर
काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले अनलाइनमार्फत बिमालेख नविकरण गर्ने आफ्ना बिमितहरुको लागि पेमेन्ट गेटवे खल्ती सँगको सहकार्यमा उपहारै उपहार सहितको आकर्षक योजना ल्याएको छ । यो योजना अन्तर्गत खल्ती एप मार्फत मिति २०८१ मंसिर १८ गते देखि पौष २९ गते सम्मका बीमाशुल्क भुक्तानी गर्ने जुनसुकै बिमितले थुप्रै उपहार प्राप्त गर्न सक्नेछन् । सूर्यज्योतिका बिमितहरुले खल्ती एप प्रयोग गरी आफ्नो प्रिमियम तिर्दा ३०० रुपैयाँदेखि ५०० रुपैयाँसम्म नगद फिर्ता प्राप्त गर्न सक्नेछन जसअन्तर्गत बीमा नविकरण मिति अगावै भुक्तानी गरेमा ५०० रुपैयाँ र तोकिएको नविकरण मितिको ७ दिन भित्रमै भुक्तानी गरेमा ३०० रुपैयाँ प्राप्त गर्न सक्नेछन् । साथै साप्ताहिक योजनामा प्रत्येक हप्ता छानिने भाग्यशाली एक जना बिमितले दुईवटा सिनेमाको टिकेट, प्रत्येक १५ दिनमा छानिने एक भाग्यशाली बिजेताले इएर बड जित्ने अवसर प्राप्त गर्नेछन भने सूर्यज्योति मोबाइल एप रजिस्ट्रेशन गरी आफ्नो बीमाशुल्क तिर्ने हरेकले ५० बराबरको मोबाइल टपअप प्राप्त गर्नेछन् । यसै योजनाको बम्पर उपहार अन्तर्गत अन्त्यमा एक जना भाग्यशाली बिजेताले स्मार्ट मोबाइल फोन जित्ने सुनौलो अवसर प्राप्त गर्नेछन् । यस्ता किसिमका योजनाद्वारा मोबाइल एप प्रयोगकर्ताहरुमा वृद्धि हुनुका साथै डिजिटल प्रविधिको प्रयोग गरी बिमित तथा अभिकर्ताहरुले सूर्यज्योति लाइफका विभिन्न सेवाहरु सहज र सरल तरिकाले घरमै बसेर उपयोग गर्न सक्ने र कम्पनीका हरेक सूचना र योजनाको तुरन्तै जानकारी प्राप्त गर्ने सक्ने हुनाले प्रबिधिको प्रबर्द्धनमा आफूले बिशेष जोड दिएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रकाश बिक्रम खत्रीले बताए।
नेप्सेमा १ कराेड ८० लाख कित्ता सेयर सूचीकृत
काठमाडाैं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा बुधबार ४ कम्पनीको बोनस सेयर सूचीकृत भएको छ। सीईडीबी होल्डिंग्स्, अपि पावर कम्पनी, कामना सेवा विकास बैंक र एभरेष्ट बैंकको बोनस सेयर सूचीकृत भएको हो । उक्त ४ कम्पनीको १ करोड ८० लाखभन्दा धेरै कित्ता सेयर सूचीकृत भएको हो । जसमध्ये सीईडीबी होल्डिंग्सको ११ प्रतिशतले हुन आउने १० लाख २४ हजार ९ सय १९ दशमलव ६१ कित्ता बोनस सेयर सूचीकृत भएको छ । यसैगरी, अपि पावर कम्पनीको ५ प्रतिशतले हुन आउने २९ लाख ९३ हजार २ सय ९८ दशमलव ९५६ कित्ता बोनस सेयर, कामना सेवा विकास बैंकको ७ प्रतिशतले हुन आउने २२ लाख ९६ हजार ८ सय १५ दशमलव २७ कित्ता बोनस सेयर र एभरेष्ट बैंकको १० प्रतिशतले हुन आउने १ करोड १७ लाख ६७ हजार ९ सय ३ दशमलव ८८ कित्ता बोनस सेयर सूचीकृत भएको हो । । सेयर सूचीकृत भएसँगै आफ्नो डिम्याट खातामा आएपछि लगानीकर्ताले यी सेयर खरिद बिक्री गर्न सक्ने छन् ।
माथिल्लो तामाकोशीबाट पुस १० भित्र विद्युत् उत्पादन गर्ने तालिका तय
काठमाडौं । सञ्चालनमा रहेका जलविद्युत आयोजनाहरूमध्ये सबैभन्दा ठूलो ४५६ मेगावाटको माथिल्लो तामाकोशीबाट आगामी पुस १० गतेभित्र विद्युत् उत्पादन गर्ने गरी मर्मत सम्भार तालिका तय गरिएको छ । गत असोज ११ र १२ गतेको अविरल वर्षाका कारण आएको पहिरोले दोलखाको बिगु गाउँपालिका–१ लामाबगरस्थित माथिल्लो तामाकोशी जलविद्युतकेन्द्रको बाँध क्षेत्रका संरचना ( हेडवक्स)मा ठूलो क्षति पुर्याएको थियो । बाँधस्थलभन्दा केही तल दायाँतर्फ रहेको नियन्त्रण कक्ष (कन्ट्रोल रुम) भवन, बालुवा थिग्ग्रयाउने पोखरी (डिस्याण्डर) र बाँधबाट डिस्याण्डरसम्म पानी पुर्याउने भूमिगत नहर (कल्भर्ट)मा ठूलो क्षति पुगेको थियो । दुईवटा डिस्याण्डरमध्ये बायाँतर्फको डिस्याण्डरको मर्मतसम्भार आगामी पुस १० गतेभित्र सम्पन्न गरी विद्युत् उत्पादन सुरु गर्ने तालिका तय गरिएको हो । यसका लागि आंशिक रुपमा क्षति पुगेको डिस्याण्डरको पर्खालको पुरानो ढलानलाई भत्काएर मर्मत गरिने छ । यसैगरी, कल्र्भटको भित्ता र सिलिङमा देखिएका चिराहरुको ग्राउटिङ गर्ने काम समानान्तर रुपमा अगाडि बढाइनेछ । दायाँतर्फको अर्को डिस्याण्डर मर्मत र हाल सतहमा रहेको कन्ट्रोल रुमलाई भूमिगत बनाउन डिजाइन गरी पुनर्निर्माण प्रक्रिया तत्काल अगाडि बढाइने छ । यो काम आगामी वर्षायाम सुरु हुनुभन्दा अगाडि नै सक्ने लक्ष्य तय गरिएको छ । वर्षाले क्षति पुगेको आयोजनाको विद्युत् प्रवाह गर्ने प्रसारण लाइनको एउटा टावरको मर्मतसम्भार सकिएको छ । आयोजनाको प्रवद्र्धक कम्पनी अपर तामाकोशी हाइड्रोपावर लिमिटेड सञ्चालक समितिका अध्यक्षसमेत रहेका नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, कम्पनी सञ्चालक समितिका सदस्यहरु, प्रमुख कार्यकारी अधिकृत (सीईओ) सहितको टोलीले बुधबार आयोजनाको स्थलगत अनुगमन गरी हाल भइरहेको मर्मतसम्भारको जानकारी लिएको थियो । टोलीबाट आयोजना व्यवस्थापन, परामर्शदाता र निर्माण व्यवसायीसँग छलफल गरी पुस १० भित्र विद्युत् उत्पादन सुरु गर्ने र त्यसको १५ दिनभित्रमा विद्युत् बढी माग हुने पिक समयमा चलाउने गरी मर्मत सम्भार सम्पन्न गर्ने गरी समय तालिका तय गरिएको छ । विद्युत कम माग हुने समयमा पानी जम्मा गरी आयोजनालाई पिक समयका ४ घण्टा पूर्ण क्षमतामा चलाउन सकिन्छ । हिउँदयामा विद्युतगृह चलाउन नसकेमा आन्तरिक रुपमा विद्युत् माग र आपूर्ति व्यवस्थापन चुनौतीपूर्ण देखिएकाले सञ्चालक समितिको टोली जतिसक्दो छिट्टो विद्युतगृहलाई सञ्चालनमा ल्याउन अपनाउनु पर्ने उपायहरु तय गर्न स्थलगत अनुमगनमा गएको हो । कार्यकारी निर्देशक घिसिङले माथिल्लो तामाकोशीबाट तोकिएको समयमा विद्युत् उत्पादन गर्न नसकिएमा देशभित्रको मागबमोजिम विद्युत् आपूर्ति गर्न नसकी अप्ठ्यारो अवस्था आउने भएकाले मर्मतसम्भारमा सबै गम्भीर र संवेदनशील भएर लाग्न आग्रह गरे । ‘आगामी मार्चसम्म दिउँसो र राति मात्र भारतबाट विद्युत् आयात अनुमति पाएकाले आन्तरिक उत्पादनले हिउँदयामको साँझ र बिहान (पिक समय)को विद्युत् माग धान्न गाह्रो छ, मार्च र अप्रिलमा रातिमासमेत आयात गर्न अनुमति पाएका छैनौं, यस्तो अवस्थामा पिकिङ गर्न सकिने माथिल्लो तामाकोशी आएन भने अप्ठ्यारो अवस्था आउने छ’, घिसिङले भने, ‘दायाँतर्फको डिस्याण्डरको मर्मतसम्भार आगामी वर्षायाम सुरु हुनुभन्दा पहिले नै सक्ने गरी काम अगाडि बढाऔं, त्यसो गर्न सकिएन भने उत्पादन गर्न नससी वर्षायाममा विद्युत् खेर पाल्नु पर्ने अवस्था आउन सक्छ, यस्तो संवेदनशील अवस्थामा सबै गम्भीर भएर मर्मत सम्भारमा लागौं ।’ अविरल वर्षाका कारण तामाकोशी नदीमा पानीको बहाव उच्च भएपछि असोज ११ गते साँझ ७ बजेबाट विद्युत् उत्पादन उत्पादन बन्द गरिएको थियो । बाँधका सम्पूर्ण ढोका (गेट)हरु खुल्ला गरिएको थियो जसका कारण आयोजनाका संरचनाको सम्भावित क्षति रोकिएको थियो । कम्पनीका सीईओ मोहन प्रसाद गौतमले मर्मत सम्भारका हरसम्भव उपायहरू अबलम्बन गरी तय गरेको तालिका बमोजिम विद्युत् उत्पादन सुरु गर्ने गरी काम भइरहेको बताए।