भीआईपी व्यवसायीको हायर पर्चेज व्यापार : कसलाई नाफा, कसलाई घाटा ?
काठमाडौं । नेपाल राष्ट्र बैंकबाट अनुमति पत्रप्राप्त हायर पर्चेज कर्जा दिने कम्पनीको लागि सम्पत्ति शुद्धीकरण तथा आतङ्ककारी कार्यमा वित्तीय लगानी निवारण सम्बन्धी व्यवस्था गरेको छ । हायर पर्चेज कम्पनीमा पनि ठूलो परिमाणको कारोबार तथा लेनदेन हुने भएकोले राष्ट्र बैंकले हायर पर्चेज कम्पनीका लागि यस्तो व्यवस्था गरेको हो । आज हामीले हायर पर्चेज कम्पनीमा आवद्ध व्यवसायी र ती कम्पनीको आम्दानी तथा नाफा केलाउने प्रयास गरेका छौं । नेपाल राष्ट्र बैंकका अनुसार १० वटा हायर पर्चेज कम्पनीले नेपाल राष्ट्र बैंकबाट अनुमति लिएका छन् । त्यसमध्ये हामीले सात वटा हायर पर्चेज कम्पनीको आम्दानी तथा व्यापार प्रस्तुत गरेका छौं । अग्नी हायर पर्चेज प्रा.लि सन् २०१४ मा स्थापित अग्नी हायर पर्चेज कम्पनीको आम्दानी ८३ प्रतिशतले वृद्धि भएको छ । कम्पनीले सन् २०२३ मा ६ करोड ५० लाख रुपैयाँ आम्दानी गरेकोमा सन् २०२४ मा ११ करोड ९० लाख रुपैयाँ आम्दानी गरेको छ । सन् २०२१ मा १ करोड ५० लाख आम्दानी गरेको यस कम्पनीले सन् २०२२ मा ३ करोड १० लाख रुपैयाँ आम्दानी गरेको थियो । कम्पनीले १ अर्ब ५० करोड ऋणका लागि रेटिङ गराएको थियो । कम्पनीको नेटवर्थ पनि वृद्धि भएको छ । सन् २०२३ मा ३७ करोड ९० लाख रुपैयाँ नेटवर्थ रहेको कम्पनीको सन् २०२४ मा ४१ करोड ४० लाख रुपैयाँ रहेको पुगेको छ । क्याबिनेट श्रेष्ठ । यस कम्पनीका अध्यक्ष क्याबिनेट श्रेष्ठ हुन् । यस कम्पनीमा उनको ४५ प्रतिशत, सुसन वैद्य श्रेष्ठको ३३ प्रतिशत र अर्जुन प्रसाद शर्माको २२ प्रतिशत सेयर स्वामित्व छ । अध्यक्ष श्रेष्ठ अग्नी ग्रुपका प्रबन्ध निर्देशक पनि हुन् । भेन्चर हायर पर्चेज प्रालि भेन्चर हायर पर्चेज प्रालिको कुल सञ्चालन आम्दानी ५६.४७ प्रतिशतले वृद्धि भएको छ । कम्पनीले सन् २०२३ मा १७ करोड रुपैयाँ कुल आम्दानी गरेकोमा सन् २०२४ मा २६ करोड ६० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको छ । सन् २०२१ मा ३ करोड ६० लाख रुपैयाँ कुल आम्दानी गरेको यस कम्पनीले सन् २०२२ मा ६ करोड ९० लाख रुपैयाँ आम्दानी गरेको थियो । कुल ४३ करोड ३० लाख रुपैयाँ नेटवर्थ रहेको यस कम्पनीले १ अर्ब ५० करोड रुपैयाँ ऋणका लागि रेटिङ गराएको छ । चन्द्रप्रसाद ढकाल । सन् २०१७ मा स्थापित भेन्चर हायर पर्चेज प्राइभेट लिमिटेडले सन् २०१९ मा नेपाल राष्ट्र बैंकबाट सञ्चालन इजाजतपत्र प्राप्त गरेको थियो । यस कम्पनीमा आइएमई ग्रुपको लगानी छ । सो ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकाल हुन् । हुलास फिनसर्भ हायर पर्चेज हुलास फिनसर्भ हायर पर्चेजको सञ्चालन आम्दानी पनि सामान्य वृद्धि भएको छ । कम्पनीले सन् २०२३ मा ४८ करोड ८० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेकोमा सन् २०२४ मा ५३ करोड २० लाख रुपैयाँ आम्दानी गरेको छ । सन् २०२१ र २०२२ मा कम्पनीको सञ्चालन आम्दानी क्रमशः ६१ करोड ३० लाख र ५२ करोड १० लाख रुपैयाँ थियो । कम्पनीको नेटवर्थ पनि वृद्धि भएको छ । सन् २०२३ मा १ अर्ब १९ करोड १० लाख रुपैयाँ नेटवर्थ थियो । सन् २०२४ मा १ अर्ब २४ करोड ७० लाख र सन् २०२५ को सुरुवातमा कम्पनीको नेटवर्थ १ अर्ब २९ करोड ७० लाख रुपैयाँ पुगेको छ । हुलास फिनसर्भ हायर पर्चेजमा गोल्छा समूहको लगानी छ । जसको स्थापना सन् २०१२ मा भएको थियो । शेखर गोल्छा । सुरुमा हुलास इन्भेस्टमेन्ट प्राइभेट लिमिटेडको नाममा स्थापना भएको कम्पनी सन् २०२१ मा नाम परिवर्तन भएर हुलास फिनसर्भ हायर पर्चेज प्रालि राखेको थियो । कम्पनीमा हंसराज हुलासचन्द एण्ड कम्पनी प्राइभेट लिमिटेडको ८५ प्रतिशत सेयर रहको छ । बाँकी १५ प्रतिशत सेयर अन्य ६ वटा सेयरधनीको नाममा छ । कम्पनीको प्रबन्ध निर्देशक शेखर गोल्छा रहेका छन् । एमएडब्लू हायर पर्चेज एमएडब्लू हायर पर्चेजले सन् २०२४ मा ४३ करोड ९० लाख रुपैयाँ कुल आम्दानी गरेको छ भने सन् २०२३ मा ४४ करोड रुपैयाँ आम्दानी गरेको थियो । यो एक वर्षको अवधिमा यस कम्पनीको आम्दानी १० लाख अर्थात् ०.२२ प्रतिशतले घटेको देखिन्छ । २०२५ को पहिलो त्रैमासमा भने यस कम्पनीले १० करोड रुपैयाँ आम्दानी गरेको देखिएको हो । यस्तै, सन् २०२२ मा कम्पनीले कुल ३८ करोड ७० लाख रुपैयाँ कुल आम्दानी गरेको थियो । कम्पनीको नेटवर्थ भने बढ्दै गएको देखिएको छ । सन् २०२३ मा ४९ करोड ४० लाख रुपैयाँको खुद नेटवर्थ रहेको यस कम्पनीको नेटवथृ सन् २०२५ सम्म आइपुग्दा ५८ करोड ८० लाख रुपैयाँ पुगेको छ । कम्पनीले २ अर्ब ७९ करोड रुपैयाँ ऋणका लागि रेटिङ गराएको छ । सन् २०११ मा स्थापना भएकोको कम्पनीको मुख्य कार्यालय मोरङमा रहेको छ भने मुख्य शाखा काठमाडौंको त्रिपुरेश्वरमा छ, जहाँबाट यसको सम्पूर्ण कामहरु भइरहेका छन् । यो कम्पनीले दुई पाँग्रे सवारी साधन र व्यावसायिक सवारी साधन बिक्री गर्दै आएको छ । विष्णुकुमार अग्रवाल । यस कम्पनीमा एमएडब्लू प्राइभेट लिमिटेडको ४० प्रतिशत, एमएडब्लू अर्थमोभर्स प्राइभेटको ३० प्रतिशत, विष्णुकुमार अग्रवालको २९.५ प्रतिशत र प्रणनाथ भट्टराईको ०.५ प्रतिशत सेयर स्वामित्व रहेको छ । जसको नेतृत्व अग्रवालले नै गरिरहेका छन् । ओम्नी हायर पर्चेज प्रालि ओम्नी हायर पर्चेज प्रालिको कुल आम्दानी १८ प्रतिशतले घटेको छ । सन् २०२३ मा ३० करोड ९० लाख कुल आम्दानी आर्जन गरेको कम्पनीले सन् २०२४ मा २५ करोड ४० लाख मात्र आम्दानी गरेको छ । सन् २०२१ र २०२२ मा कम्पनीले क्रमशः ३३ करोड र ३२ करोड ५० लाख आम्दानी गरेको थियो । कम्पनीको नेटवर्थ पनि घटेको छ । सन् २०२३ मा ८४ करोड ५० लाख रुपैयाँ नेटवर्थ रहेकोमा सन् २०२४ मा ८२ करोड ३० लाख रुपैयाँमा सीमित भएको छ । कम्पनीले २ अर्ब ९५ करोड ५० लाख रुपैयाँ ऋणका लागि रेटिङ गराएको छ । सन् १९९१ मा ओम्नी प्राइभेट लिमिटेडको रूपमा स्थापित यस कम्पनीले सन् २०२३ मा नाम परिवर्तन गरेर ओम्नी हायर पर्चेज प्राइभेट लिमिटेड राखेको थियो । यो कम्पनी ओम्नी ग्रुपको हो । कम्पनीमा तीन वटा सेयरधनीको लगानी छ । आत्मा राम काबरा ४५ प्रतिशत, हरी नारायण काबराको ४५ प्रतिशत र सन्दीप कुमार मोहतको१० प्रतिशत सेयर स्वामित्व यस कम्पनीमा छ । सिप्रदी हायर पर्चेज सिप्रदी हायर पर्चेज प्रालिले सन् २०२४ को ९ महिनासम्म ४० करोड ७० लाख रुपैयाँ कुल आम्दानी गरेको देखिएको छ । सन् २०२३ मा कम्पनीको यस्तो आम्दानी ५२ करोड ८० लाख रुपैयाँ थियो । सन् २०२१ र सन् २०२२ मा कम्पनीको कुल आम्दानी क्रमशः ७७ करोड १० लाख र ६७ करोड ८० लाख रुपैयाँ थियो । कम्पनीको नेटवर्थ भने वृद्धि भएको छ । सन् २०२० मा ७३ करोड, सन् २०२१ मा ७८ करोड ४० लाख, सन् २०२२ मा ९२ करोड ३० लाख, सन् २०२३ मा ९४ करोड र सन् २०२५ मा ९६ करोड आम्दानी कम्पनीले गरेको छ । सिद्धार्थ राणा । ४ अर्ब १० करोड ऋणका लागि कम्पनीले रेटिङ गराएको छ । सन् २०१४ मा स्थापित यो कम्पनी सिप्रदी ट्रेडिङ प्रालिको सहायक कम्पनी हो । सिप्रदी ट्रेडिङ टाटा मोटर्सको नेपालको लागि आधिकारित डिलर हो । कम्पनीको अध्यक्ष सिद्धार्थ राणा हुन् । स्याकर हायर पर्चेज कम्पनी ज्योति ग्रपको लगानी रहेको स्याकर हायर पर्चेजले स्याकर ट्रेडिङ कम्पनीमार्फत् काम गरिरहेको छ । स्याकर हायर पर्चेजको मात्रै आम्दानी सार्वजनिक नभए पनि स्याकर ट्रेडिङको भने आम्दानी सार्वजनिक भएको छ । रेटिङ एजेन्सी इक्रा नेपालका अनुसार स्याकर ट्रेडिङ कम्पनीले सन् २०२४ मा ४ अर्ब ९५ करोड ८० लाख रुपौयाँको सञ्चालन आम्दानी गरेको छ भने सन् २०२३ मा ९ अर्ब ७१ करोड ८० लाखर सन् २०२२ मा १५ अर्ब ३५ करोड ७० लाख रुपैयाँको सञ्चालन आम्दानी गरेको थियो । सौरभ ज्योति । तर, यो आम्दानी स्याकर हायर पर्चेजको मात्रै होइन । यो समग्र स्याकर ट्रेडिङको हो । जसले होण्डाका मोटरसाइकल बिक्री गर्दै आएको छ । यस कम्पनीको नेतृत्व सौरभ ज्योतिले गरिरहेका छन् । हायर पर्चेज कम्पनीको व्यापार विगतको तुलनामा औसतमा केही सुधार देखिएको छ । हुलास फिनसर्भ हायर पर्चेज प्रालिका महाप्रबन्धक समिर ठाकुर अटोमोबाइल्स क्षेत्रमा पछिल्लो वर्षमा केही सुधार देखिएकाले हायर पर्चेजको आम्दानी पनि वृद्धि हुन पुगेको बताउँछन् । हुलास हायर पर्चेजको हकमा कम्पनीले रेट र फोर्टफोलियो पनि वृद्धि गरेकाले आम्दानी वृद्धि हुन पुगेको उनको भनाइ छ । उनका अनुसार कम्पनीले अघिल्ला वर्षहरुको तुलनामा धेरै सवारी साधनका लागि फाइनान्सिङ गरेको छ ।
सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको साधारण सभा सम्पन्न, ३० प्रतिशत नगद लाभांश पारित
काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले वार्षिक साधारण सभा सम्पन्न गरेको छ । इन्स्योरेन्सले फागुन १५ गते कम्पनीको ३१ औं वार्षिक साधारण सभा सम्पन्न गरेको हो । सभाले सञ्चालक सतितिले प्रस्ताव गरे बमोजिम चुक्ता पूँजीको ३० प्रतिशत नगद लाभांश (कर सहित) वितरणको प्रस्ताव पारित गरेको छ । उक्त साधारण सभामा सञ्चालक समितिका तर्फबाट कम्पनीका अध्यक्ष सुरेश लाल श्रेष्ठले कम्पनीको वार्षिक प्रतिवेदन तथा वित्तीय विवरण प्रस्तुत गरेका थिए ।
मौद्रिक नीति समीक्षाबारे नाडा : ईभी प्रयोगमा कमी आउने, व्यवसायी मर्कामा पर्ने
काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले मौद्रिक नीतिका कारण विद्युतीय सवारी साधन (ईभी) को प्रयोगमा कमी आउने बताएको छ । नाडाले बिहीबार विज्ञप्ति जारी गर्दै नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा मार्फत ईभीको ऋण मूल्य अनुपातको सीमालाई ६० प्रतिशतमा झारेको बताएको छ । । समीक्षा अघि ईभीको ऋण मूल्य अनुपात सीमा ८० प्रतिशत थियो । ‘नेपाल राष्ट्र बैंकको यस नीतिबाट विद्युतीय सवारी साधनहरुको प्रयोगमा निश्चित रुपमा कमी आउने अवस्था आएको छ,’ नाडाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । सरकारले नीतिगत रुपमै ग्रिन इनर्जीलाई उच्च प्राथमिकता दिने निर्णय गरी सोही अनुरुप विगतको समय देखि नै विद्युतीय सवारी साधनहरुलाई विशेष सुविधा समेत प्रदान गर्दे आएकोमा वर्तमान मौद्रिक नीतिको अर्धवार्षिक समीक्षाले सरकारको सो नीतिलाई नै उपेक्षा गरेको देखिने नाडाले बताएको छ । सरकारको आफनो घोषित नीतिको पालना र विद्युतीय सवारी साधनहरुको हकमा व्यवसायीहरुको लगानीलाई सुरक्षित बनाउनका लागि यस अघिकै नीति अर्थात ऋण मूल्य अनुपातको सीमालाई ८० प्रतिशत नै कायम गर्न नाडाले माग गरेको छ । सुस्ताएको नेपालको अटोमोबाइल व्यवसायलाई गतिशील बनाउन नाडाले पेट्रोल र डिजेलबाट चल्ने सवारी साधनहरुको ऋण मूल्य अनुपातको सीमालाई ५० प्रतिशतबाट ७५ प्रतिशत पुर्याउनका लागि राष्ट्र बैंकलाई अनुरोध गर्दै आएको थियो । राष्ट्र बैंकको यस मौद्रिक नीतिको अर्धववार्षिक समीक्षामा व्यक्तिगत सवारी साधन र सवै प्रकारका विद्युतीय सवारी साधनहरुको ऋण मूल्य अनुपातको सीमालाई ६० प्रतिशत कायम गरेको छ । पेट्रोल र डिजेलबाट चल्ने सवारी साधनहरुको सन्दर्भमा सो व्यवस्था सराहनिय भए तापनि नाडाले थप अपेक्षा राखेको थियो । विद्युतीय सवारी साधनहरुको सम्बन्धमा पनि सोही व्यवस्था गरिदा विद्युतीय सवारी साधनहरुको व्यवसायमा लागेका व्यवसायीहरुलाई भने ठूलो मर्का पर्ने अवस्था सिर्जना भएको नाडाले बताएको छ ।
स्रोतको चापमा १९ खर्बको बजेट ल्याउने गृहकार्यमा अर्थमन्त्री, अनुदान कटौतीपछि विकल्प खोज्दै
काठमाडौं । स्रोतको चर्को चापका बीच सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेट निर्माणको तयारी तिब्र पारेको छ। अर्थ मन्त्रालयकाअनुसार वैदेशिक सहायतामा पछिल्लो समय उल्लेखनीय कटौतीदेखि राजस्व समेत प्रभावकारी रुपमा उठ्न सकिरहेको छैन । राष्ट्रिय योजना आयोगले दिएको करिब १९ खर्ब हराहारीको सिलिङमा राखेर बजेट निर्माणको तयारीलाई सरकारी अधिकारीहरुले तिब्र पारेका छन् । यद्यपी यो बजेट सिलिङ चालु बजेटभन्दा ठूलो हो । सरकारले यो आर्थिक वर्षका १८ खर्ब ६० अर्ब रुपैयाँको बजेट ल्याएको थियो । यसलाई वर्तमान अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मध्यावधि समीक्षामार्फत झण्डै २ खर्ब रुपैयाँले घटाएका थिए । चालु बजेट अहिलेसम्म ७ खर्ब ९० अर्ब रुपैयाँ मात्रै खर्च भएको महालेखा नियन्त्रक कार्यालयको तथ्यांकले देखाउँछ । अहिले बजेट घाटा १ खर्ब २२ अर्ब रुपैयाँ माथि पुगेको छ । सरकारले ७ खर्ब ९० खर्च रुपैयाँ गर्दा फागुन १३ गतेसम्म जम्मा ६ खर्ब ६८ अर्ब रुपैयाँ आम्दानी गरेको छ । यसरी सरकारी खर्च र आम्दानीको अन्तर ठूलो मात्रमा बढ्दै जाँदा सरकारलाई आगामी बजेट बनाउन समेत चुनौतिपूर्ण बन्दै गएको हो । अधिकारीहरुकाअनुसार आगामी बजेट निर्माणको तयारीमा जुटेका अर्थ मन्त्रालयका अधिकारीहरुअनुसार यसपटक पनि सरकारले मनशुनजन्य प्रभावमा ठूलो बजेट छुट्याउनुपर्ने स्थिति छ । अनिवार्य दायित्व अन्तगर्त पेन्सन, वृद्ध भत्ताजस्ता सामाजिक सुरक्षाका कार्यक्रम, वैदेशिक ऋणको दायित्वमा ठूलो बजेट जाँदैछ । लामोसमयदेखि निर्माण पूरा हुन नसकेका रुपान्तरणकारी योजनादेखि राष्ट्रिय गौरवका आयोजनामा बजेटको ठूलो अंश जाँदैछ । सामाजिक सुरक्षातर्फको मात्रै हेर्ने हो भने प्रत्येक वर्ष विकास खर्चभन्दा बढी सामाजिक सुरक्षामा खर्च हुने गरेको छ । बजेटका सामाजिक सुरक्षाको हिस्सा करिव २० प्रतिशत पुगिसकेको छ । त्यसलाई बजेटले सम्बोधन गर्नुपर्नेछ । अर्थ मन्त्रालयका प्रवक्ता श्यामप्रसाद भण्डारीले योजना आयोगबाट आएको सिलिङ मन्त्रालयगत रुपमा बाँडेर बजेटको तयारीमा लागेको बताए । ‘बजेटको तयारीमा लागेका छौं, योजना आयोगबाट आएको सिलिङ मन्त्रालयगत रुपमै बाँडफाँट भइसकेको छ । अब मन्त्रालयहरुले त्यही सिलिङमा रहेर आ-आफ्नो मन्त्रालयको योजना तथा कार्यक्रमहरु तयार गर्नुपर्ने हुन्छ,’ उनले भने । अमेरिकाले दिने अनुदान कटौती गरिरहे बजेटमा झन् ठूलो स्रोतको चाप पर्ने उनको भनाइ छ । यद्यपि, अर्थ मन्त्रालयले अमेरिकी त्यस्तो सहायताको विकल्प भने खोज्ने नै छ । आगामी वर्षका लागि योजना आयोगले दिएको १९ खर्ब सिलिङको बजेटका लागि वैदेशिक अनुदान २२ प्रतिशत र वैदेशिक ऋण ३० प्रतिशतले वृद्धि गर्ने सरकारको लक्ष्य छ । पछिल्लो समय बजेट घाटा चर्किंदै गएको र वाह्य सहायता लामोसमय कटौती भए स्रोतको पूर्ति गर्नसक्ने सामर्थ्य अहिलेको नेतृत्वले राख्न नसक्ने नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक नरबहादुर थापा बताउँछन् । उनले भने,’ रिङरोड चाइनाले बनाइदियो, मलेरिया उन्मुलन पनि अमेरिकाले गरिदियो । सामाजिक क्षेत्रमा नेपालले धेरै ठूलो प्रगति गर्यो त्यो सबै वैदेशिक अनुदानबाट सम्भव भएको हो । अमेरिकी सहयोगले हाम्रा स्कुल, स्वास्थ्य केन्द्रहरु चलेका छन् । हाम्रा खोपहरुका कार्यक्रम सञ्चालन भइरहेका छन् । तर हामीहरुले बुझिरहेका छैनौं ।’ नेपाललमा रहेको वित्तीय स्रोत पूर्तिका लागि पर्याप्त मात्रमा सहुलियतपूर्ण ऋण लिनुपर्ने उनको भनाइ छ । त्यसबाट पूर्वाधार बनाउनेदेखि जलवायु परिवर्तनबाट सिर्जित प्रकोपबाट जुध्न सक्नुपर्छ । छिमेकी मुलुक चीनसँग आवश्यक छलफल गरेर थप सहायतका लागि लर्विङ गर्नुपर्ने उनको भनाइ छ ।
विमानस्थलबाट ४ विदेशी पक्राउ, मलद्वारमा लुकाएर ल्याए झण्डै ४ किलो सुन
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारबाट जाँचपास गरी बाहिरिने क्रममा प्रहरीले उज्वेकिस्तानका चार नागरिकबाट तीन किलोभन्दा बढी तौलको सुन बरामद गरेको छ । बुधबार भन्सार जाँच सकेर निस्कन लाग्दा शंका लागेपछि गरिएको खानतलासीमा उनीहरूले मलद्वारमा लुकाएर ल्याएको ३ किलो ७४५ ग्राम सुन फेला परेको हो । विमानस्थल भन्सार सुरक्षाका लागि खटिएका वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) सोमेन्द्र राठौरका अनुसार दुबईबाट काठमाडौं आएको फ्लाइट एफजेएड ५७५ मार्फत नेपाल आएका तीन महिला र एक पुरुषबाट उक्त परिमाणमा सुन फेला परेको हो । प्रारम्भिक अनुसन्धानमा तस्करी समूहले उनीहरूलाई भरियाका रूपमा प्रयोग गरेको हुनसक्ने अनुमान गरिएको छ ।
२ जीवन बीमाको व्यवसाय घट्दा १२ कम्पनीले बढाए, यस्तो छ १४ कम्पनीको व्यवसाय
काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को माघ महिनासम्ममा जीवन बीमा कम्पनीहरूले कुल ९५ अर्ब बढीको व्यापार गरेका छन् । बीमा प्राधिकरणको तथ्यांकअनुसार सञ्चालनमा रहेका १४ जीवन बीमा कम्पनीहरूले माघ महिनासम्ममा १ करोड ३४ लाख ७ हजार ४८ वटा बीमा लेख बिक्री गरी कुल ९५ अर्ब ३८ करोड ६६ लाख रुपैयाँको व्यवसाय गरेका हुन् । सात महिनाको अवधिमा संकलन गरेको बीमा शुल्क गत आवको माघ महिनाको तुलनामा ९.७९ प्रतिशत अर्थात् ८ अर्ब ५० करोड ७८ लाख रुपैयाँले बढी हो । गत आवको माघसम्ममा कम्पनीहरूले विभिन्न बीमा लेखबाट ८६ अर्ब ८८ करोड ८ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेका थिए । यस अवधिमा सबैभन्दा धेरै बीमाशुल्क नेपाल लाइफले संकलन गरेको छ । कम्पनीले माघसम्ममा २६ अर्ब ५४ लाख रुपैयाँको व्यापार गरेको छ । प्राधिकरणको तथ्यांकअनुसार नेपाल लाइफको व्यापार १२.०६ प्रतिशत बढेको छ । गत वर्षको माघ मसान्तसम्ममा २३ अर्ब २० करोड ७४ लाख बीमा शुल्क संकलन गरेको थियो । धेरै व्यापार गर्ने दोस्रो कम्पनीमा नेशनल लाइफ इन्स्योरेन्स कम्पनी रहेको छ । नेशनल लाइफले यस अवधिमा ११ अर्ब २३ करोड ६५ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । गत वर्षको तुलनामा यस वर्ष कम्पनीको व्यापार ११.७७ प्रतिशत बढेको देखिन्छ । गत आवको माघमा १० अर्ब ५ करोड २७ लाख व्यापार गरेको थियो । यस्तै, लाइफ इन्स्यारेन्स कर्पोरेशन (एलआइसी) नेपालले ११ अर्ब १७ करोड ९ रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । गत वर्षको तुलनामा कम्पनीको व्यवसाय १०.०९ प्रतिशत बढेको देखिन्छ । गत वर्षको माघमा कम्पनीले १० अर्ब १४ करोड ६९ लाख रुपैयाँ बिमाशुल्क संकलन गरेको थियो । गत वर्षको तुलनामा हिमालयन लाइफ इन्स्योरेन्सको व्यापार घटेपनि ९ अर्ब ९० करोड रुपैयाँ बराबरको व्यवसाय संकलन गरेको छ । गत वर्षको माघमा कम्पनीले ९ अर्ब ९० करोड रुपैयाँ बराबरको व्यवसाय संकलन गरेको थियो । यस्तै, सूर्याज्योति लाइफ इन्स्योरेन्सले ५ अर्ब ९५ करोड २२ लाख रुपैयाँ, एशियन लाइफ इन्स्योरेन्स ५ अर्ब ७ करोड ८७ लाख रुपैयाँ बराबरको बीमा शुल्क आर्जन गरेका छन् । प्राधिकरणका अनुसार सिटिजन्स लाइफले ३ अर्ब ९८ करोड ४७ लाख रुपैयाँ, राष्ट्रिय जीवन बीमा कम्पनीले ३ अर्ब ९२ करोड ५८ लाख रुपैयाँ, सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले ३ अर्ब ८० करोड ९६ लाख रुपैयाँ, मेट लाइफले ३ अर्ब ३७ करोड ५२ लाख रुपैयाँ बराबरको व्यापार गरेका छन् । आइएमई लाइफले २ अर्ब ९० करोड ८२ लाख रुपैयाँ, प्रभु महालक्ष्मी इन्स्यारेन्सले २ अर्ब ८५ करोड ८९ लाख, रिलायबल नेपाल लाइफले २ अर्ब ७९ करोड २५ लाख रुपैयाँ र सन नेपाल लाइफले २ अर्ब ३८ करोड ७२ लाख रुपैयाँको व्यापार गरेको प्राधिकरणको तथ्याङ्क छ ।
स्वास्थ्य मन्त्रालयको सचिवका लागि तीन जनाको नाम सिफारिस
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको रिक्त सचिव पदका लागि तीनजनाको नाम सिफारिस गरिएको छ । मन्त्रालयका सचिव डा. रोशन पोख्रेलको समयावधि सकिएपछि रिक्त रहेको पदका लागि डा. टंक बाराकोटी, डा. विकास देवकोटा र डा. संगीता कौशल मिश्रको नाम सिफारिस भएको हो । लोक सेवा आयोगका अध्यक्ष माधव शर्माको अध्यक्षतामा बसेको बढुवा समितिको बैठकले तीन जनाको नाम सिफारिस गर्ने निर्णय गरेको थियो । डा. संगीता कौशल मिश्र सचिव बन्दा स्वास्थ्य क्षत्रमा पहिलो महिला सचिव हुनेछिन् ।
अरनिको राजमार्ग : धुलिखेल-खावा सडकखण्डको ठेक्का रद्द
काभ्रेपलाञ्चोक । सडक डिभिजन कार्यालय भक्तपुरले अरनिको राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकस्थित निर्माणाधीन धुलिखेल–खावा सडकखण्डको ठेक्का रद्द गरेको छ । आज कार्यालयले सार्वजनिक सूचनामार्फत विस्तारको क्रममा रहेको उक्त चार किलोमिटर दूरीको सडकको ठेक्का रद्द भएको जानकारी गराएको हो । कार्यालयको मङ्गलबार बसेको बैठकले उक्त सडकको ठेक्का रद्द गर्ने निर्यय गरेको थियो । जिल्ला सदरमुकाम धुलिखेलदेखि–खावासम्मको सडक विस्तारको गौरी पार्वती निर्माण सेवा प्रालि नामक कम्पनीले विसं २०७९ जेठ २० मा २०८० चैत १९ गतेभित्र बनाइसक्नुपर्ने गरी २० करोड १९ लाख ४६ हजार पाँच सय एकमा ठेक्का लिएको थियो । ठेकेदार कम्पनीले निर्माणमा आलटाल गर्दै आएका कारण समयसीमा सकिएको ११ महिना बितिसक्दा पनि निर्माण सकेको थिएन । पछिल्लो वर्षदेखि उक्त सडकखण्डको निर्माणको काम ठप्पप्राय नै थियो । सडक उपभोक्ताले पटकपटक गुनासो गरेपछि तथा यात्रुले सास्ती बेहोरेपछि संसद्को पूर्वाधार समितिले समेत अनुगमन गरेको थियो । सडक डिभिजनको ताकेतापछि पनि ठेकेदार कम्पनीले निर्माणमा आलटाल गरेपछि पछिल्लेपटक गत माघ १९ गते पुनः स्पष्टीकरण सोधिएको कार्यालयले जनाएको छ । कार्यालयका अनुसार कम्पनीले लिखित स्पष्टीकरण दिए पनि सन्तोषजक, भरपर्दो विश्वसनीय नदेखिएपछि ठेक्का रद्द गर्ने निष्कर्षमा पुगिएको हो । ‘अब प्रक्रिया पुर्याएर पुनः एक दुई हप्तामै पुनःठेक्का खोल्नेछौँ, भौतिक एवं वित्तीय प्रतिशतका आधारमा हेरफेरसमेत हुनेछ’, कार्यालयका प्रमुख सुमन योगेशले भने । उनका अनुसार हालसम्म २५ प्रतिशत वित्तिय प्रगति भएको छ । हालसम्म धुलिखेल बसपार्कदेखि जिपलाइनसम्म डाँडा कटिङको काम मात्रै भएको छ भने केही स्थानमा नाली तथा ड्रेन–वाल लगाउने काम गरिएको छ भने जिपलाइनदेखि तल खावासम्मको करिव सडकमात्रै भत्काइएको तर एक किलोमिटर भागमा कटिङ नै बाँकी रहेको छ । गत जेठमा धुलिखेलतर्फबाट बेस, सब–बेस हाल्ने काम सुरु गरिए पनि बर्षामा सबै बगाएर खण्डहरझैँ बनाएको थियो । समयमै निर्माण सम्पन्न नहुँदा यस राजमार्ग भएर गुड्ने सवारीका यात्रुले दुई वर्षदेखि निकै सास्ती खेप्दै आउनुपरेको छ । सडक निर्माणको काम समयमा नसकिँदा पुनःनिर्माणका लागि भत्काइएको सडकमा सयौँ दुर्घटना हुँदा यात्री घाइते भएका छन् । केही वर्षदेखि जीर्ण बन्दै आएको धुलिखेल–खावा सडकखण्डलाई १२ मिटरको फराकिलो बनाई कालोपत्रे गर्न लागिएको थियो । उक्त सडकमा गुड्ने मालवाहक सवारीको भारवहन क्षमतालाई मध्यनजर गर्दै बलियो बनाउन कार्यालयले नेपालमा नै पहिलोपटक ग्राभेलमाथि २० सेन्टिमिटर बाक्लो सिमेन्ट मिसाइएको बेस हाल्ने तथा दुई चरणको कालोपत्रे डिबिएम र आस्फाल कालोपत्रे गर्ने योजना बनाएको थियो । अरनिको राजमार्ग हुँदै नेपालको चिनसँगको उत्तरी नाकाअर्थात् सिन्धुपाल्चोकको तातोपानी तथा दोलखा, रामेछाप पुग्ने यही सडक हो । रासस