पूर्वी क्षेत्रको सफल यात्रापछि प्रोटन इमास ७ अभियान पश्चिमतर्फ बढ्दै
काठमाडौं । नेपालको पूर्वी क्षेत्रको सफल भ्रमणपछि, प्रोटन इमास ७ अब नेपालका सात प्रदेशको आफ्नो भ्रमण जारी राख्दै पश्चिमतर्फको यात्रा सुरु गरेको छ । अत्याधुनिक विद्युतीय सवारी साधन, प्रोटन इमास ७ ले पूर्वका दर्शकहरूलाई मोहित पारेको कम्पनीले जनाएकाे छ । कम्पनीका अनुसार विविध भू–भागहरूमा आफ्नो दक्षता, स्थायित्व र अनुकूलन क्षमता प्रदर्शन गर्दै, प्रोटन इमास ७ ले नेपालको अटोमोटिभ उद्योगमा गेम चेन्जरको रूपमा आफ्नो बलियो स्थान बनाउदैछ । पूर्वी नेपालमा प्रोटन इमास ७ को यस अभियानले चुनौतीपूर्ण सडकहरू, फरक उचाइहरू र अप्रत्याशित मौसमी अवस्थाहरूमा उल्लेखनीय प्रदर्शन गरेको छ । यात्राभरि, गाडीले प्रयोगकर्ता, वातावरणविद र उद्योग विशेषज्ञबाट उत्साहजनक प्रतिक्रिया प्राप्त गरेको छ, जसमध्ये सबैले यसको पर्यावरण-मैत्री प्रविधि र प्रभावशाली दायराको प्रशंसा गरेका छन् । दिगो यातायातको बढ्दो मागसँगै, प्रोटन इमास ७ पश्चिम नेपालभर आफ्नो उपस्थिति विस्तार गर्न तयार छ । भ्रमणका क्रममा धेरै भन्दा धेरै इभीका पारखीले प्रत्यक्ष रूपमा गाडीको अनुभव गर्न पाउने छन्, जसले नवीनता र दिगोपनमार्फत नेपालको अटोमोटिभ परिदृश्यमा क्रान्तिकारी परिवर्तन गर्ने प्रोटोनको प्रतिबद्धतालाई बल पुर्याउछ।
नागरिक लगानी कोषका सहभागीलाई शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा छुट
काठमाडौं । नागरिक लगानी कोषका सहभागीलाई शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा छुट हुने भएको छ । कोषका सहभागी, सेयरधनी र कर्मचारीहरूलाई शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको पेइङ क्लिनिक, शिल्भर, गोल्डन र प्लेटेनियम कर्पोरेट कार्डियक प्याकेजमा १० प्रतिशत छुट उपलब्ध हुने भएको छ । सो छुट सम्बन्धी सम्झौतामा आइतबार कोषका कार्यकारी निर्देशक पर्वत कुमार कार्की र केन्द्रका कार्यकारी निर्देशक डा.रबी मल्लले हस्ताक्षर गरेका छन् । सम्झौतासँगै अब कोषका सदस्य, सहभागी, सेयरधनी, कर्मचारीले उक्त छुट पाउने कम्पनीले जनाएकाे छ । छुटको लागि कोषको परिचय पत्र वा सहभागी परिचय पत्र अनिवार्य पेश गर्नुपर्ने व्यवस्था गरिएको छ ।
सतुंगलमा कजारियाको नयाँ सोरुम, बढ्दो मागलाई पूरा गर्ने लक्ष्य
काठमाडौं । टाइल निर्माता कजारियाले काठमाडौंको सतुंगलमा अत्याधुनिक सोरुम उद्घाटन गरेको छ । श्री साई इन्टरप्राइजेजद्वारा सञ्चालित यो सोरुमले उच्च गुणस्तरका टायलहरूको बढ्दो मागलाई पूरा गर्ने लक्ष्य राखेको कम्पनीको भनाइ छ । उद्घाटन समारोहमा प्रमुख अतिथिको रुपमा चन्द्रागिरी नगरपालिकाका मेयर घनश्याम गिरी र चन्द्रागिरी नगरपालिका वार्ड नं. ११ का अध्यक्ष नरेद्र राज श्रेष्ठको उपस्थिति रहेको थियो । यस अवसरलाई विशेष बनाउन, दुबै अतिथिहरूले रिबन काटेर सोरुम विस्तारको आरम्भ गरेका हुन् । समारोहलाई सम्बोधन गर्दै कजारियाको राष्ट्रिय सेल्स प्रमुख प्रवीन सिंहले नयाँ सोरुमको उद्घाटनप्रति आफ्नो उत्साह व्यक्त गरे । उनले भने, ‘काठमाडौं कजारियाका लागि एक प्रमुख बजार रहिआएको छ, र यो सोरुम हाम्रो प्रतिबद्धताको प्रमाण हो जसले घरधनीहरू, आर्किटेक्ट र निर्माणकर्ताहरू सामु उच्च गुणस्तरका टायलहरू पुर्याउने काम गर्दछ।’ कम्पनीका अनुसार काठमाडौंको यो नयाँ सोरुमले प्रिमियम टायलहरूको विस्तृत संग्रह प्रदान गर्दछ, जसले ग्राहकहरूलाई सजिलो पहुँच र सुविधा सुनिश्चित गर्दछ । यसको विस्तारसँगै, कजारिया उच्च गुणस्तर र डिजाइनका नयाँ मापदण्डहरू सेट गर्ने आफ्नो मिशनलाई निरन्तर अघि बढाउँदै नेपालका निर्माण सामग्रीहरूको क्षेत्रमा आफ्नो नेतृत्वलाई बलियो बनाउँदै छ ।
बीमा प्राधिकरणका निवर्तमान अध्यक्ष सिलवालले पाए सफाई
काठमाडौं । नेपाल बीमा प्राधिकरणका निवर्तमान अध्यक्ष सूर्यप्रसाद सिलवालले भ्रष्टाचारको आरोपबाट सफाई पाएका छन् । विशेष अदालतले निवर्तमान अध्यक्ष सिलवाललाई सफाइ दिएको छ । विशेष अदालतका सदस्यहरू तेजनारायण सिंह राई, रामबहादुर थापा र मुरारीबाबु श्रेष्ठको इजलासले सिलवालमाथिको आरोप पुष्टि हुन नसक्ने फैसला गरेको हो । यसअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कीर्ते र भ्रष्टचार मुद्धामा सिलवालविरुद्ध अदालतमा मुद्धा दायर गरेका थिए । अख्तियारमा मुद्धा दायर भएसँगै उनी पदबाट स्वत निलम्बन भएका थिए । पटक पटक नागरिकताको विवरण हेरफेर गरी व्यक्तिगत लाभ लिएको आरोपमा उनीलाई मंसिरमा अख्तियारले मुद्धा दायर गरेको थियो ।
महालक्ष्मी विकास बैंकद्वारा सम्पदा संरक्षण तथा दिगो बैंकिङका लागि वाकाथन सम्पन्न
काठमाडौं । महालक्ष्मी विकास बैंकले वातावरण र संस्कृति, सम्पदा संरक्षण तथा दिगो बैंकिङका लागि वाकाथन सम्पन्न गरेको छ । बैंकले फागुन १५—१६ गते बैंकको वार्षिक कार्यक्रम तथा दुइदिने कार्यशाला अन्तर्गत दिगो बैंकिङ, संस्कृति तथा सम्पदा संरक्षणको नारा आत्मसात गर्दै बुढानिलकण्ठ नगरपालिका वडा नं. १ तथा बुढानिलकण्ठ मन्दिर क्षेत्रमा वातावरणीय तथा सांस्कृतिक सम्पदा संरक्षण वाकाथन को सफल आयोजना गर्दै दिगो बैंकिङप्रति आफ्नो प्रतिबद्धता जाहेर गरेको छ । बैंकका उच्च अधिकारी, कर्मचारी, र सरोकारवालाहरूको सक्रिय सहभागितामा सम्पन्न यस वाकाथनले वातावरणीय उत्तरदायित्व र सांस्कृतिक सम्पदाको सुरक्षा जस्ता महत्त्वपूर्ण विषयहरूलाई प्राथमिकतामा राख्दै यस विशेर्ष यालीको आयोजना गरिएको हो । बैंकिङ क्षेत्रले दिगो वित्तीय अभ्यासहरू अपनाउनुपर्छ भन्ने सन्देश प्रवाह गर्न वाकाथनका सहभागीहरू ऐतिहासिक तथा पर्यावरणीय दृष्टिले संवेदनशील मार्गहरू हुँदै अघि बढे। यस अवसरमा, हरित बैंकिङ र दिगो वित्तीय रणनीति को आवश्यकतामाथि विशेष जोड दिइयो।
कृषि विकास बैंकको सञ्चालकमा सेवन्तक पोखरेल
काठमाडौं । कृषि विकास बैंक सञ्चालक समितिको सदस्यमा सेवन्तक पोखरेल नियुक्त भएका छन् । नेपाल सरकारको निर्णयानुसार बैंक सञ्चालक समितिको सञ्चालक सदस्यमा पोखरेल मनोनयन भएका हुन् । नवनियूक्त सञ्चालक सदस्य सरकारी सेवाको लामो अनुभव हुनुका साथै हाल अर्थ मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखाको सहसचिव पदमा कार्यरत छन् । बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन अनुसार नवनियूक्त सञ्चालक सदस्य पोखरेललाई बैंक सञ्चालक समितिका अध्यक्षरामशरण पुडासैनीले सपथ ग्रहण गराएका थिए । उक्त अवसरमा कृषि विकास बैंक सञ्चालक सदस्यहरु डा.हरि बहादुर के.सी, गोविन्द प्रसाद भट्टराई संजिव पौडेल, विनोद कुमार गुरांगाई, श्रीमती रीता सुवेदी बैंक प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ , बैंकका कम्पनी सचिव हिमलाल पौडेलसमेतको उपस्थिती रहेको थियो ।
सिटिजन लाइफको एमडीआरटी सम्मान कार्यक्रम सम्पन्न
काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले मिलियन डलर राउन्ड टेबल कार्यक्रम सम्पन्न गरेको छ । भरतपुरको चितवनस्थित सिराइचुली होटेलमा दुई दिनसम्म भएको कार्यक्रममा आगामी दिनमा आवश्यक व्यापार रणनीतिबारे छलफल तथा प्रशिक्षण प्रदान गरिएको छ । कम्पनीले हरेक वर्ष अघिल्लो आर्थिक वर्षमा उत्कृष्ट कार्य गरेकोे आधारमा कम्पनीमा कार्यरत सिनियर एजेन्सी मेनेजरलाई कार्यक्रममा सहभागी गराउँदै आएको छ । कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत पोषकराज पौडेल, नायब प्रमुख कार्यकारी अधिकृत दिबहादुर बि.सी., प्रमुख बजार व्यवस्थापन अधिकृत भुषण रिमाल, प्रमुख वित्तीय अधिकृत गोपाल पंगेनी, शाखा प्रमुख र केही विभागिय प्रमुख गरी ७० जना सहभागी थिए । कार्यक्रममा ४२ जना एमडी.आर.टी. क्वालिफायर र ३ जना सि.ओ.टि. क्वालिफायरलाई प्रमाणपत्र र पुरस्कारसहित सम्मान गरिएको छ भने कम्पनीमा आबद्ध रही एमडीआरटी २०२५ का लागि छनोट भएका साथै कम्पनीले तोकेको व्यवसायिक लक्ष्य हासिल गर्न सफल, उत्कृष्ट लिडरलाई पनि सम्मान गरिएको छ । कार्यक्रमको सहजिकरण अन्तर्राष्ट्रिय प्रशिक्षक तथा बीमा विशेषज्ञ हिमांशु जोशीले गरेका हुन् । यस्ता कार्यक्रमले लिडर्सलाई उत्प्रेरणा मिल्नुका साथै काम गर्ने विषयमा नयाँ ढङ्गले सोँच्ने र नयाँ तरिका अपनाएर आफ्नो टिमलाई अझै सबल र प्रतिष्पर्धी बनाउन मद्धत मिल्ने विश्वास लिइएको छ । इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत पोषकराज पौडेलले नवीनताको अधारमा सिटिजन लाइफ अघि रहेको र कम्पनीले सफलता हासिल गर्नमा यस कम्पनीका सिटिजन लिडरको मुख्य भूमिका रहेको बताएका छन् ।
ग्यास उद्योगीको स्थगीत आन्दोलन फेरि सुरु
काठमाडौं । नेपाल एलपी ग्यास उद्योग संघले स्थगित गरेको आन्दोलनका कार्यक्रम फेरि अघि बढाउने भएको छ । ग्यास उद्योगीले अघि सारेका मागका विषयमा सुनवाइ नभएपछि आन्दोलन फेरि सुरु गर्ने संघले बताएको छ । संघले गत माघ २४ गते १९ बुँदे माग अघि सार्दै माग पूरा नभए माघ २९ गतेबाट चरणबद्ध रुपमा विरोध कार्यक्रम अघि बढाउने तालिका सार्वजनिक गरेको थियो । आन्दोलनका कार्यक्रम सार्वजनिक गर्दा माघ ३० गते उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीको उपस्थितिमा छलफल भएको थियो । छलफलका क्रममा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले जायज माग सम्बोधन हुने बताएका थिए । उनले यसको गृहकार्य गर्न १५ दिन समय लाग्ने आश्वासन बताएका थिए । तर, १५ दिनभित्र सरकार र आयल निगम कुनै निष्कर्षमा पुग्न नसकेपछि संघले विरोधका कार्यक्रम फेरि अगाडि बढाउने निर्णय गरेको हो । आन्दोलनका कार्यक्रम अन्तर्गत फागुन १८ देखि देशभरका ५९ वटै ग्यास उद्योगले नेपाल आयल निगमबाट प्रोडक्ट डेलिभरी अडर (पीडीओ) खरिद नगरेको संघका अध्यक्ष शिवप्रसाद घिमिरेले बताए । उनका अनुसार यति गर्दा पनि माग पूरा नभए ग्यास फागुन २४ गतेदेखि इन्डियन आयल कर्पोरेसनका रिफाइनरीबाट नेपालका लागि एलपी ग्यासको बुलेट लोड गराउन छाड्ने र चैत १ गतेदेखि भन्सारबाट बुलेट छुटाउन रोक्ने संघले जनाएको छ । चैत ६ गतेसम्म पनि माग पूरा नभए ७ गतेदेखि उद्योगहरूबाट ग्यासको बिक्रीवितरण बन्द गर्ने र चैत ११ गतेबाट डिलरले पनि ग्यासको बिक्री रोक्ने संघले जनाएको छ । संघले एलपी ग्यास उपभोक्ताले ग्यास उपभोग गर्दा अपनाउनुपर्ने सावधानी, प्रयोग गर्ने विधिबारे जनचेतना जगाउन सरकारले एलपी ग्यास आयातको १ प्रतिशत छुट्याउनु पर्ने, ६ वर्षदेखि डिलर कमिसन, ढुवानी, ओभरहेड खर्च वृद्धि तत्कालै वृद्धि हुनुपर्ने र हरेक वर्ष मुद्रास्फीति दर अनुसार समायोजन गर्ने व्यवस्था गर्नुपर्ने माग अघि सारेको छ ।