विकासन्युज

खुला रूपमा फोहोर मैला बाले महानगरले कारबाही गर्ने

काठमाडौं । काठमाडौं महानगरपालिकाले खुला रूपमा फोहोर मैला बाल्न निषेध गरेको छ । महानगरपालिकाले सोमबार एक सूचना जारी गर्दै यदि कसैले खुला रूपमा फोहोरमैला बालेर वायु प्रदूषण गरे वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन तथा आर्थिक ऐन बमोजिम कारबाही हुने जनाइएको छ । महानगरपालिका क्षेत्रमा खुला रूपमा प्लास्टिकजन्य फोहोर मैला तथा अन्य फोहोर जलाउने जस्ता कार्यले वायु प्रदूषण वृद्धि हुने तथा जनस्वास्थ्यमा समेत प्रतिकुल असर पर्ने हुँदा यस्ता कार्यलाई प्रतिबन्ध लगाइएको महानगरपालिकाको सूचनामा उल्लेख छ ।

मंगलबार सार्वजनिक बिदा

काठमाडौं । काठमाडौंको कीर्तिपुर नगरपालिकामा मंगलबार सार्वजनिक बिदा दिइएको छ । मंगलबारको दिन कीर्तिपुरमा स्थानीय परम्पराअनुसार सातगाउँले (न्हेगाँ) जात्रा लाग्ने गर्दछ । त्यसकै अवसरमा नगरपालिकाले सार्वजनिक बिदा दिएको हो । नगरपालिकाको आइतबार बसेको २३ गतेको बैठकले मंगलबार नगरपालिकामा बिदा दिने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत माधवप्रसाद ढकालले जानकारी दिए ।

सिटिजन्स बैंकद्वारा दृष्टिविहीन बालबालिकाका लागि ब्रेल शैक्षिक सामग्री सहयोग

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले दृष्टिविहीन बालबालिकाका लागि ब्रेल शैक्षिक सामग्री सहयोग गरेको छ । संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक आदि जस्ता क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनका निम्ति विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको बैंकले वीरेन्द्रनगर सुर्खेतमा अवस्थित श्री कृष्ण संस्कृत तथा साधारण माविमा अध्ययनरत दृष्टिविहीन बालबालिकाहरूलाई विद्यालयमा आयोजित एक समारोहका बीच शैक्षिक सामग्री हस्तान्तरण गरेको हो । विभिन्न किसिमका अपांगता भएका बालबालिका र युवाका लागि काम गर्दै आएको मैत्री समाज नेपालसँगको सहकार्यमा बैंकले सो विद्यालयका विद्यार्थीलाई ब्रेल शैक्षिक सामग्री सहयोग गरेको हो । दृष्टिविहीन तथा अन्य अपांगता भएका बालबालिकाहरुसँग पर्याप्त शैक्षिक सामग्री उपलब्ध नहुने र आवश्यक शैक्षिक सुविधाहरुबाट वञ्चित हुने भएकाले ब्रेल पेपर र अन्य ब्रेल शैक्षिक सामग्रीहरुले उनीहरुको अध्ययनमा सहजता प्राप्ति होस भन्ने अभिप्रायका साथ बैंकले सो सामग्रीहरु प्रदान गरेको जनाएको छ । सिटिजन्स बैंकले हालैमात्र फोनपेसँगको सहकार्यमा नेपालमै पहिलोपटक ‘सिटिजन्स फोनपे क्रेडिट कार्ड’ सञ्चालनमा ल्याएको जनाएको छ । भौतिक कार्डबिना नै मोबाइलको माध्यमबाट स्क्यान गरी क्रेडिट कार्डको सुविधा उपभोग गर्न सकिने विशेषता यस भर्चुअल क्रेडिट कार्डमा रहेको छ ।

एपेक्स कलेजको दीक्षान्त समारोह सम्पन्न

काठमाडौं । एपेक्स कलेजले क्लास अफ २०२४ को सम्मानमा विशेष दीक्षान्त समारोह आयोजना गरेको छ ।  वार्षिक दीक्षान्त समारोहले उत्कृष्ट विद्यार्थीहरूलाई प्रतिष्ठित इनोभेट नेपाल ग्रुप पोस्टग्राजुएट छात्रवृत्ति प्रदान गरेर सम्मान गर्ने परम्परालाई निरन्तरता दिएको छ । यस वर्ष, कलेजबाट कूल २५८ विद्यार्थीहरू दीक्षित हुँदैछन्, जसमा १५० स्नातक ( ब्याचलर्स) डिग्री प्राप्त गर्ने र १०८ स्नातकोत्तर (मास्टर्स) डिग्री प्राप्त गर्ने विद्यार्थीहरू छन् । यी विद्यार्थीहरूले आफ्नो उत्कृष्ट उपलब्धि र उज्ज्वल भविष्यको सम्भावनालाई मद्दत पुर्‍याउँदै इनोभेट नेपाल ग्रुपका कलेजहरूमा आफ्नो स्नातकोत्तर शिक्षा जारी राख्नेछन् । यस वर्षको छात्रवृत्ति एपेक्स कलेज बिबिए – बैंकिङ र इन्स्योरेन्सका विद्यार्थी यादव प्रसाद पाण्डेलाई प्रदान गरिएको छ । एपेक्स कलेजका १५० विद्यार्थीहरूमध्येबाट उनी छानिएका हुन् । उनले एपेक्स कलेजमै एमबीए अध्ययनलाई निरन्तरता दिने छन् । यो अवार्डसँगै इनोभेट नेपाल ग्रुप अन्तर्गतकै कुनै संस्थामा काम गर्ने अवसर पनि प्राप्त गर्नेछन् ।

जनकपुर बोल्टको रोमाञ्चित जीत, टेक्नोले बोल्टस् टीमलाई चीन भ्रमणमा लैजाने

काठमाडौं । नेपाल प्रिमियर लिग क्रिकेट (एनपीएल) मा लुम्बिनी लायन्सले लगातार चौथो हार व्यहोरेको छ । त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा जनकपुर बोल्टस्ले लुम्बिनी लायन्सलाई १ रनले पराजित गर्दै नेपाल प्रिमियर लिग, एनपीएलको शीर्ष स्थानमा उक्लिएको छ । ४ खेलबाट ८ अंकसहित बोल्टले अटल जोस, दृढ संकल्प र अटुट गति देखाएर सबै नेपालीको मन जितीरहेको छ ।आइतबार भएको खेलमा जनकपुर बोल्ट्सले लुम्बिनीलाई १ रनको झिनो अन्तरले हराएको हो । जनकपुरले दिएको १३७ रन दिएको थियो । तर लुम्बिानीले २० ओभर खेल्दै ८ विकेटको क्षतिमा १३५ रन मात्र बनायो । जनकपुरले ९ विकेटको क्षतिमा पूरै २० ओभर खेल्दै १३६ रन बनाएको थियो । लुम्बिनीका लागि अन्तिम ओभरको अन्तिम बलमा २ रन आवश्यक थियो । तर सन्दीप जोराले बाउन्ड्री हान्ने क्रममा क्याच आउट हुन पुग्दा चौथो खेलमा पनि लुम्बिनी हार व्यहोरेको हो । लुम्बिनीका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ३५ रन बनाएका थिए भने टोम मुरेले ३१ रन रह्यो । यस्तै अर्जुन साउदले २० र सन्दीप जोराले १६ रन बनाए ।लुम्बिनीलाई चौथो हार चखाउने क्रममा जनकपुरका लागि हर्ष थकेर एक्लैले ५ विकेट लिन सफल भए । किशोर महतो, ललित राजवंशी र शेर मल्लले १÷१ विकेट लिए । पहिले ब्याटिङ गरेको जनकपुरका लागि कप्तान अनिल शाह ५ रनले अर्धशतक बनाउन चुके। उनले एक चौका र चार छक्का हिर्काएर ४५ रन जोडे । उनी सन्दीप जोराको बलमा क्याच आउट भए । जनकपुरका अर्का ओपनर आशिफ शेख १० बलमा १६ रन बनाएर आउट भएका थिए । जनकपुर बोल्टस्को गोल्ड पार्टनर, टेक्नोले जीतको उत्साहलाई अझै उच्च बनाउँदै टीमका लागि चीनको रोमाञ्चक यात्राको योजना बनाएको छ । टेक्नोले जनकपुर बोल्टससंगै विभिन्न अवरोधहरु सामना गरी अवसरहरुको सिर्जना गर्ने र क्रिकेटसँगै च्याम्पियनहरूको अर्को पुस्तालाई सशक्त बनाउने प्रतिवद्धता व्यक्त गरेको छ।

म्याग्दीको मुनामा सङ्कटापन्न रेडपाण्डा भेटियो

म्याग्दी । धौलागिरि गाउँपालिका–३ मुनाको बञ्चरेडाँडा जङ्गलमा सङ्कटापन्न जङ्गली जनावर रेडपाण्डा (हाब्रे) भेटिएको छ । समुद्री सतहबाट दुई हजारदेखि चार हजार आठ सय मिटरको उचाइमा बसोबास गर्ने रेडपाण्डालाई सरकारले सङ्कटापन्न वन्यजन्तुको सूचीमा राखेको छ । मुना मालिका पुगेर फर्कने क्रममा आइतबार धौलागिरि गाउँपालिका जनप्रतिनिधि र कर्मचारीको टोलीले समुुद्री सतहदेखि तीन हजार एक सय मिटर उचाइमा रेडपाण्ड भेटाएका हुन् । धौलागिरि गाउँपालिकाका कर्मचारी तेजिन्द्र पुनले रेडपाण्डाको तस्वीर र भिडियो खिचेर वन प्राविधिकलाई उपलब्ध गराउनुका साथै सार्वजनिक गर्नुभएको थियो । साविक मुना गाविसको जङ्गलमा पहिलोपटक रेडपाण्डा भेटिएको स्थानीय पुनले जानकारी दिए । डिभिजन वन कार्यालय म्याग्दीका प्रमुख विष्णुप्रसाद अधिकारीले बञ्चेडाँडामा भेटिएको उक्त जनावर रेडपाण्डा भएको पुष्टि गरे । ‘भिडियो र तस्वीरका साथै त्यहाँ भेटिएको दिसाका आधारमा म्याग्दीको धौलागिरि क्षेत्रमा रेडपाण्डाको बासस्थान रहेको पुष्टि भएको छ’, उनले भने, ‘रेडपाण्डा संरक्षणका लागि मन्त्रालय र दातृ निकायका परियोजनामा कार्यक्रम प्रस्ताव गर्छौं ।’ विसं २०७३ मा विश्व वन्यजन्तु कोषको सहयोग तथा हरियो वन कार्यक्रमको आर्थिक सहयोगमार्फत रेडपाण्डा नेटवर्क र हिमाली संरक्षण मञ्चले खोजी अभियान सञ्चालन गरेको थियो । रेडपाण्डा नेटवर्कका अनुसन्धानकर्ता बद्री बरालका अनुुसार यसअघि रेडपाण्डाको बासस्थान फेला पारे पनि प्रत्यक्ष देखिएको थिएन । ‘आठ वर्षअघि लुलाङको मरेनी सामुदायिक वन, ढोरपाटन सिकार आरक्षको जलजला, गुर्जा र मुदीको जङ्गलमा हलुका रातो, सेतो र कालो रङको रेडपाण्डाको वासस्थान फेला पारे पनि प्रत्यक्ष देखिएको थिएन’, उनले भने, ‘संरक्षणका लागि जनचेतनामूलक कार्यक्रमको प्रभावका कारण रेडपाण्डाको सङ्ख्या वृद्धि भएर देखिन थालेका हुन् ।’ रेडपाण्डाका बासस्थान पहिचान गरेपछि तत्कालीन समयमा जिल्ला वन कार्यालय तथा स्थानीयसँगको सहकार्यमा गुर्जा र लुलाङका विद्यार्थी, समुदायलाई समेत सचेतनामूलक कार्यक्रमसहित रेडपाण्डाको महत्वबारेमा जानकारी गराइएको थियो । रातका समयमा रूखको टोड्कामा बास लिने र दिउँसो रूखका हाँगा बसी आराम गर्ने, भोक लागेको बेला निगालोको टुसालगायत झारपात खान भुइँमा झर्ने रेडपाण्डाको महत्वबारेमा जानकारी पाएपछि समुदाय स्तरमा पनि संरक्षणमा चासो बढेको छ । गुर्जा, लुलाङ र मुनाको जङ्गलमा रहेका रेडपाण्डाको गणना नभए पनि प्रशस्तै रहेको अनुमान गरिएको छ । विश्व वन्यजन्तु कोषको सहयोगमा हरियो वन कार्यक्रम र रेडपाण्डा नेटवर्कले धाौलागिरि गाउँपालिकाको गुर्जा, लुलाङ र मुदीमा हाब्रेको वासस्थानको विषयमा अध्ययन भएको थियो । धौलागिरि गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनले रेडपाण्डाको संरक्षणमा डिभिजन वन कार्यालय र सङ्घ संस्थासँग समन्वय गरेर सचेतनामूलक अभियान सञ्चालन गरिने बताए । ‘रेडपाण्डा जोगाउन समुदायलाई नै थप सक्रिय बनाउँछौ,’ उनले भने, ‘रेडपाण्डा अवलोकनका लागि पर्यटक भित्र्याउने सम्भावना पनि छ ।’ रेडपाण्डाका लागि आवश्यक आहारा निगालो तथा पालिङ्गो र टोट्का परेका रुख गूर्जा, लुलाङ र मुनाको जङ्गलमा पर्याप्त छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ अन्तर्गत रेडपाण्डालाई संरक्षितको सूचीमा राखिएको हो । रेडपाण्डा संरक्षण गर्न नेपाल सरकारले सन् २०१९ देखि २०२३ सम्म रेडपाण्डालाई पर्यटनसँगै जोडेर विशेष संरक्षण गर्ने नीति लिएको छ । रेडपाण्डाको चोरी सिकारमा संलग्नलाई एक वर्षदेखि १० वर्ष कैद र रु एक लाखदेखि रु पाँच लाखसम्म जरिवाना वा दुवै सजाय हुने कानुनी व्यवस्था छ । पछिल्लो अध्ययनअनुसार हाब्रेको सङ्ख्या नेपालमा पाँच सयदेखि एक हजार वटा रहेको अनुमान गरिए पनि दुई सय ३७ वटाको मात्र यकिन भएको छ । विश्वमा नेपाल, चीन, भारत, भुटान र म्यानमारमा मात्र हाब्रेको बासस्थान छ । नेपालमा एलुरेन्स फ्युजन्स जातको हाब्रे रहेको छ । नेपालको २४ वटा जिल्लामा हाब्रे पाइने रेडपाण्डा नेटवर्कले जनाएको छ ।

चलचित्र भवन गैरकानुनी रुपमा सञ्चालन रहेको भन्दै बोर्डले पठायो सीडीओ र कर कार्यालयलाई पत्र

काठमाडौं । चलचित्र विकास बोर्डले गैरकानुनी रुपमा सञ्चालनमा रहेका सिरहासहितका ८ वटा जिल्लाका चलचित्र भवनको विषयमा जिल्ला प्रशासन कार्यालय (सीडीओ) र कर कार्यालयलाई पत्र लेखेर जानकारी गराएपछि नवीकरण नभएका र बक्सअफिसमा जडान नभएका चलचित्र भवन कानुनी प्रक्रियामा आएको जनाएको छ । बोर्डका अध्यक्ष दिनेश डिसीले गण्डकी प्रदेशअन्तर्गतका चलचित्र भवनको अनुगमन सकिएको जानकारी दिँदै आफू र बोर्डको उद्देश्य चलचित्र भवन बन्द गर्नु नरहेको बताए। ‘पछिल्लो साता दिनदेखि म आफैँ चलचित्र भवनको अनुगमनमा थिएँ । बोर्डमा दर्ता नभएका, सरकारलाई कर नतिरिरहेका र त्यहाँ प्रदर्शन भएका चलचित्रको व्यापार बक्सअफिसमा नदेखिने चलचित्र भवनलाई कानुनी दायरामा ल्याउने हाम्रो उद्देश्य हो । प्रक्रियागत रुपमा ठीक नभए चलचित्र भवन बन्दको विकल्प छैन,’ उनले भने । अध्यक्ष डिसीले चलचित्र विकास शुल्क नतिरेको र लुकीछिपी चलाइएका केही चलचित्र भवनलाई कारबाही गरिएको जानकारी दिए । गत साता सिराहस्थित बुद्ध चलचित्र मन्दिरमा स्थानीय प्रशासनको सहयोगमा तालाबन्दी गरिएको छ । ‘हाम्रो उद्देश्य ती गैरकानुनी रुपमा रहेका चलचित्र भवन बन्द गर्नु नभई कानुनी प्रक्रियामा ल्याएर सञ्चालन गर्न दिनु हो । उहाँहरू अटेरी हुनुभयो भने हामी निर्विकल्प हुन्छौँ । यद्यपि यो सातासम्म सबै प्रक्रियामा आउने बताउनुभएको छ,’ अध्यक्ष डिसीले भने । सरकारलाई कर छली गरिरहेका र निर्मातालाई समेत व्यापारको विषयमा जानकारी नहुने चलचित्र भवनलाई कुनै बहानामा नछाड्ने र कानुनी दायरामा ल्याउने अध्यक्ष डिसीले बताए ।

१ सयमै सोपान फर्मास्युटिकल्सको सेयरधनी बन्ने मौका, बिक्रीमा राख्यो ३ लाख कित्ता सेयर

काठमाडौं । सोपान फर्मास्युटिकल्स लिमिटेड अवितरित हकप्रद सेयर बिक्री खुला गरेको छ । कम्पनीले आज मंसिर २४ गतेदेखि संस्थापक समूहको २ लाख ९६ हजार १२२ कित्ता अवितरित हकप्रद सेयर बिक्री खुला गरेको हो । गत भदौ २४ गते सम्पन्न १५औँ वार्षिक साधारण सभाले चुक्ता पुँजी ९९ करोड रुपैयाँको १ः०.३० अर्थात् ३० प्रतिशत हकप्रद सेयर पारित गरेको थियो । सोही बमोजिम कम्पनीले असोज १५ गतेदेखि कात्तिक ३० गतेससम्म अंकित मूल्य १ सय रुपैयाँ दरका २९ लाख ७० हजार कित्ता बिक्री खुला गरेको थियो । उक्त अवधिमा २६ लाख ७३ हजार ८७८ कित्ता हकप्रद सेयर खरीदका लागि आवेदन प्राप्त भएको र रितपूर्वक आवेदन दिएका संस्थापक सेयरधनीहरूमा माग गरे बमोजिम बाँडफाँड गरिएको कम्पनीले जनाएको छ । बाँकी रहेको पौने ३ लाख कित्ता हकप्रद सेयर सर्वसाधारण लगानीकर्ताका बिक्री खुला गरिएको कम्पनीले जनाएको छ । उक्त सेयर खरिद गर्न इच्छुक लगानीकर्ताले पुस ३ गतेभित्र आवेदन दिनुपर्नेछ । कम्पनीले उक्त सेयरको मूल्य प्रतिकित्ता १ सय रुपैयाँ तोकेको छ । लगानीकर्ताले न्यूनतम १ हजार कित्ता र अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सक्नेछन् ।