कार्कीको नेतृत्वमा नाफिजमा नयाँ कार्य समिति निर्वाचित
काठमाडौं । नेपाल आर्थिक पत्रकार संघ (नाफिज)मा मेनुका कार्कीको नेतृत्वमा नयाँ कार्य समिति निर्वाचित भएको छ । शनिबार सम्पन्न नाफिजको १५ औँ वार्षिक साधारण सभा तथा सातौँ महासभा (निर्वाचन)ले मेनुका कार्कीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । यसअघि नाफिजको उपाध्यक्ष रहेकी कार्कीले १०० मत पाउँदा उनका प्रत्यासी इन्द्र बानियाँले ८७ मत प्राप्त गरेका थिए । नाफिज कार्य समिति १३ सदस्यीय हुनेछ । त्यसमा शनिबारको महासभाले एक अध्यक्ष, दुई उपाध्यक्ष, एक महासचिव, एक सचिव, एक कोषाध्यक्ष र चार सदस्य गरि १० सदस्य निर्वाचित गरेको छ । निर्वाचन समिति संयोजक कपिलदेव ढकालकाअनुसार उपाध्यक्षमा पिताम्बरी खतिवडा (प्रमिला) र निरोजकुमार थापा निर्वाचित भएका छन् । खतिवडाले १०४ र थापाले ९३ मत प्राप्त गरेका थिए । उनीहरुको प्रतिस्पर्धी प्रमेश्वर अधिकारीले ९२ र विजय दमासेले ६५ मत प्राप्त गरेका थिए । त्यस्तै, महासचिवमा निकेश खत्रीले ११२ मत प्राप्त गरि बिजयी भएका छन् । उनका प्रतिस्पर्धी नविन ढुंगानाले ६६ मत प्राप्त गरेका थिए । सचिवमा भने राजाराम न्यौपाने निर्वाचित भएका छन् । उनले १२६ भोट ल्याउँदा उनका प्रतिस्पर्धी चेतनारायण पाण्डले भने ५७ मत प्राप्त गरेका थिए । कोषाध्यक्षमा भने मिलन विश्वकर्मा निर्वाचित भएका छन् । विश्वकर्माले १०२ मत ल्याउँदा उनका प्रतिस्पर्धी भोला देवकोटा (परिवर्तन)ले ८३ मत ल्याएका थिए । यसैगरी, सदस्यमा अनिस मिजारले १२०, अनुप आचार्यले ११८, चित्रराज भण्डारीले ११६ र शुक्र गिरीले १०७ मत ल्याएर बिजयी भएका छन् । अर्का प्रतिस्पर्धी आशुतोष अर्यालले ९२ मत ल्याएका थिए । नाफिजको विधानअनुसार यसअघिका अध्यक्ष मोदनाथ ढकाल निवर्तमान अध्यक्षको रूपमा कार्य समितिमा रहनेछन् । बाँकी दुई सदस्य भने नयाँ कार्य समितिले मनोनित गर्नेछ ।
गलैँचा र मुढा बेचेको रकम घर पठाउँदै कैदीबन्दी
घोराही । यहाँस्थित कारागारमा रहेका कैदीबन्दीले गलैँचा र मुढा बनाएर आयआजर्न गर्दै आएका छन् भने केहीले परिवारलाई खर्चसमत पठाउने गरेका छन् । घोराही कारागारका प्रमुख लक्ष्मणसिंह राठौरका अनुसार एक जना बन्दीले एउटा गलैँचा बुनेबवापत पाँचदेखि आठ सय रुपैयाँ र मुढा बनाएर मासिक चारदेखि पाँच हजार रुपैयाँसम्म आम्दानी गर्ने गरेका छन् । उनीहरूले माछामार्ने जाल, ढकी, खेलौनालगायत सामग्री बनाउने गरेका छन् । घरलु तथा साना उद्योग कार्यालयबाट गलैँचा बुन्न ४५ दिने तालिम लिएका बन्दीले तयार पारेका गलैँचा उनीहरुलाई भेट्न आउने आफन्ती तथा अन्यले खरिद गर्ने गरेका छन् । घरेलुले पनि बिक्रीको व्यवस्था गरेको छ । साथै उक्त कार्यालयले सीप सिक्न चाहनेलाई तालिमको व्यवस्था पनि गर्दै आएको छ । ‘उत्पादित सामग्रीको किनबेचको व्यवस्था यहीँबाट मिलाइन्छ, भेट्न आउने आफन्त तथा अन्यले किन्ने गरेका छन्’, कार्यालय प्रमुख राठौरले भने । हरेक आइतबार, मङ्गलबार र बिहीबार कारागार बाहिर ‘स्टल’ नै राखेर बिक्रीको व्यवस्था मिलाइएको छ । एक सय जना क्षमताको कारागारमा चार सय १५ जना बन्दी छन् ।
आज सार्वजनिक बिदा, सेयर बजार बन्द रहने
काठमाडौं । सरकारले आज आइतबार सार्वजनिक बिदा दिएको छ । सरकारले उघौली पर्वको अवसरमा सार्वजनिक बिदा दिएको हो । सरकारले बिदा दिएकाले आज सरकारी कार्यालका साथै बैंक तथा वित्तीय संस्था बन्द, सेयर बजार बन्द हुनेछ ।
आज देशभरको मौसम सफा रहने
काठमाडौं । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको तथा देशभर आंशिक बदली रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । साथै तराईका केही स्थानमा हुस्सु लागेको छ । विभागका अनुसार आज दिउँसो र राति मुख्यतया मौसम सफा रहने छ । सोमबार बिहान तराई तथा उपत्यका धेरै स्थानमा हुस्सुको सम्भावना रहेकाले दैनिक जनजीवन, यातायात तथा हवाई उड्डयनमा क्षणिक असर पर्नसक्ने हुनाले सतर्कता अपनाउन विभागले सम्बद्ध सबैमा अनुरोध गरेको छ । यसैबीच, काठमाडौं उपत्यकामा शनिबार बिहानको तुलनामा आज चिसो केही घटेको छ । हिजो काठमाडौंको तापक्रम दुई डिग्री सेल्सियस मापन गरिएकामा आज बिहान त्यो चार दशमलव पाँच डिग्री पुगेको छ । आज उपत्यकाको अधिकतम तापक्रम १६देखि १८ डिग्री सेल्सियसका बीच रहने विभागको पूर्वानुमान छ । आज काठमाडौंमा सूर्योदय ६ः४७ मा तथा सूर्यास्त ५ः१११ मा हुनेछ ।
आज मार्गशीर्ष शुक्ल पूर्णिमा : योमरी पूर्णिमा (योमरी पुन्हि) मनाईदै
काठमाडौं । नयाँ धान भित्र्याएको खुसीयालीमा नेवार समुदायले आज योमरी पूर्णिमा पर्व हर्षोल्लासका साथ मनाउँदैछन् । मार्गशीर्ष शुक्ल पूर्णिमाका दिनमा मनाइने योमरी पूर्णिमालाई योमरी पुन्हि पनि भनिन्छ । नेवार समुदायको ठूलो चाडका रूपमा मनाइने यस चाडलाई खाद्य पदार्थको रसिलो चाडका रूपमा लिइन्छ । योमरी नयाँ धानबाट बनेको चामलको पीठो, चाकु र तिलबाट बनाइन्छ । योमरी बनाउन आज बिहान सबेरैदेखि घरका महिला व्यस्त हुने गर्छन् । नुहाइधुवाइ सकी घरमा लिपपोत गरेर योमरी पकाउने प्रचलन छ । यो पर्वलाई नेवार समुदायले नवअन्नप्राशनका रूपमा मनाउने संस्कृतिविद् तेजेश्वरबाबु ग्वँगले बताए । योमरीमा दूधबाट बनेको खुवा र चाकु तथा तिलसमेत राखेर डल्लो बनाइन्छ । नेवार समुदायले धान राख्ने भकारी वा कोठीमा पूजा आराधना गरेर योमरी पूर्णिमा मनाउँछन् । चेलीबेटीको गर्भ रहँदा गर्भमै बालकको पूर्ण स्वास्थ्यको कामना गर्दै माइतीबाट उनीहरूको घरमा तिल र चाकु भरिएको योमरी सगुनका रूपमा उपहार पठाउने चलन पनि नेवार समुदायमा छ । धानको पूजा गरी मनाइँदै धान्य पूर्णिमा आजैका धानको विधिपूर्वक पूजाआजा एवं दान गरी धान्य पूर्णिमा पर्व पनि मनाइँदै छ । मङ्सिरमा धान भित्र्याएपछि शुक्ल पूर्णिमामा धान, गणेश, कूलदेवता, गैडु देवता, गोठ देवता, महारुद्र, महालक्ष्मीलगायत देवताको पूजा गरी नयाँ भित्रिएको धान कुटेर चामल बनाउने त्यसबाट पीठो पिँधेर सेल, बाबर, पुरी मालपुवा बनाएर चढाउने परम्परा छ । यसअघि नवान्नप्राशन नगरेकाले आजै गर्नुपर्ने धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतमले राससलाई जानकारी दिए । यस अवसरमा काभ्रेपलाञ्चोकको धनेश्वर, भक्तपुरको अनन्तलिङ्गेश्वर, काठमाडौँको चम्पादेवी, नुवाकोटको शिखरबेँसी र दुप्चेश्वरलगायत स्थानमा मेला लाग्ने गर्दछ ।
एकै वर्षमा तीन करोड बढीको कृषि उपज बिक्री
म्याग्दी । बेनी नगरपालिका–४ सिङ्गामा सञ्चालित हरियाली कृषि फार्मले एक वर्षको अवधिमा तीन करोड रुपैयाँभन्दा बढी मूल्यको कृषि उपज बिक्री गरेको छ । गत आर्थिक वर्ष २०८०/८१ मा तीन करोड १६ लाख ६३ हजार चार सय ७८ मूल्य बराबरको अण्डा, सागसब्जी, माछा, फूल, मल आदि कृषिजन्य वस्तु बिक्री गरेको उक्त कम्पनीले जनाएको छ । कम्पनीले प्राकृतिक उपचारस्थलका रूपमा परिचित सिङ्गा तातोपानीमा स्नान र भ्रमणमा आउने पाहुनाका लागि सिङ्गामा रेष्टुरेष्ट र होटल पनि सञ्चालन गरेको कम्पनीका अध्यक्ष शेरबहादुर केसीले जानकारी दिए । गत वर्षको तुलनामा तरकारी तथा फलफूल, लेयर्स कुखुरा, लोकल कुखुरा, मल बिक्री र रेष्टुरेण्टतर्फको आम्दानी बढेको उनले जानकारी दिए । १२ करोड रुपैयाँ लगानी भएको हरियाली म्याग्दीको सबैभन्दा ठूलो कृषि फार्म हो । ६४ जना शेयर सदस्यको चार करोड ८३ लाख रुपैयाँ शेयर पुँजी रहेको कम्पनीमा राष्ट्रिय वाणिज्य बैंकले पाँच करोड रुपैयाँ सहुलियतपूर्ण ब्याज अनुदानको ऋण लगानी गरेको छ । सिङ्गामा १७ परिवार किसानको ८५ रोपनी, आङेबगरमा १९ परिवारको ८५ रोपनी र भकिम्लीमा १० दशमलव पाँच रोपनी जग्गाधनीसँग भाडा सम्झौता गरेर कृषि फार्म सञ्चालन गरिएको छ ।
यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर, कुन देशको कति?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । बैंकले तय गरेको मूल्यअनुसार आज अधिकांश विदेशी मुद्राको भाउ घटेको छ । बैंकले तोकेको विनिमयदर अनुसार आइतबारका लागि अमेरिकी डलर एकको खरिदर एक सय ३५ रुपैयाँ ३७ पैसा र बिक्रीदर एक सय ३५ रुपैयाँ ९७ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर एक सय ४२ रुपैयाँ ०२ पैसा र बिक्रीदर एक सय ४२ रुपैयाँ ६५ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर एक सय ७१ रुपैयाँ २८ पैसा र बिक्रीदर एक सय ७२ रुपैयाँ ०४ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर एक सय ५१ रुपैयाँ ४६ पैसा र बिक्रीदर एक सय ५२ रुपैयाँ १३ पैसा तोकिएको छ । केन्द्रीय बैंकले अष्ट्रेलियन डलर एकको खरिददर ८६ रुपैयाँ २५ पैसा र बिक्रीदर ८६ रुपैयाँ ६३ पैसा, क्यानेडियन डलर एकको खरिददर ९५ रुपैयाँ २१ पैसा र बिक्रीदर ९५ रुपैयाँ ६३ पैसा, सिङ्गापुर डलर एकको खरिददर एक सय रुपैयाँ ४१ पैसा र बिक्रीदर एक सय रुपैयाँ ८५ पैसा निर्धारण गरेको छ । त्यसैगरी जापानी येन १० को खरिददर आठ रुपैयाँ ८२ पैसा र बिक्रीदर आठ रुपैयाँ ८५ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ६१ पैसा र बिक्रीदर १८ रुपैयाँ ६९ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ ०२ पैसा र बिक्रीदर ३६ रुपैयाँ १८ पैसा, कतारी रियाल एकको खरिदर ३७ रुपैयाँ १३ पैसा र बिक्रीदर ३७ रुपैयाँ ३० पैसा कायम गरिएको छ । केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर तीन रुपैयाँ ९६ पैसा र बिक्रीदर तीन रुपैयाँ ९८ पैसा, युएई दिराम एकको खरिददर ३६ रुपैयाँ ८६ पैसा र बिक्रीदर ३७ रुपैयाँ ०२ पैसा, मलेसियन रिङ्गेट एकको खरिदर ३० रुपैयाँ ४२ पैसा र बिक्रीदर ३० रुपैयाँ ५६ पैसा, साउथ कोरियन वन एक सयकोे खरिदर नौ रुपैयाँ ४४ पैसा र बिक्रीदर नौ रुपैयाँ ४८ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ३३ पैसा र बिक्रीदर १२ रुपैयाँ ३९ पैसा र डेनिस क्रोनर एकको खरिदर १९ रुपैयाँ ०४ पैसा र बिक्रीदर १९ रुपैयाँ १३ पैसा तोकिएको छ । राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १७ रुपैयाँ ४१ पैसा र बिक्रीदर १७ रुपैयाँ ४९ पैसा र कुवेती दिनार एकको खरिददर चार सय ३९ रुपैयाँ ७१ पैसा र बिक्रीदर चार सय ४१ रुपैयाँ ६५ पैसा, बहराइन दिनार एकको खरिददर तीन सय ५८ रुपैयाँ ८८ पैसा र बिक्रीदर तीन सय ६० रुपैयाँ ४७ पैसा कायम गरेको छ । यस्तै ओमनी रियाल एकको खरिदर तीन सय ५१ रुपैयाँ ६१ पैसा, बिक्रीदर तीन सय ५३ रुपैयाँ १७ पैसा तोकिएको छ । यस्तै, भारतीय रुपैयाँ एक सयको खरिददर एक सय ६० रुपैयाँ र बिक्रीदर एक सय ६० रुपैयाँ १५ पैसा तोकेको छ । राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।
दक्षिण कोरियाका राष्ट्रपति युन महाभियोगपछि पदबाट निलम्बित
सियोल । दक्षिण कोरियाको संसद्ले राष्ट्रपति युन सुक योलमाथि लगाइएको महाभियोग प्रस्ताव शनिबार पारित गरेको छ । महाभियोग प्रस्ताव पारित भएपछि विपक्षीले ‘जनताको विजय’ भएको घोषणा गरेका छन् । यही डिसेम्बर ३ मा सैनिक शासन लागु गर्ने युनको असफल प्रयासपछि दक्षिण कोरियामा एक हप्ताभन्दा बढीे तीव्र राजनीतिक तनाव निम्त्याएको थियो । राष्ट्रपतिविरुद्धको महाभियोग प्रस्ताव संसद्बाट पारित भएसँगै सोलको सडकमा शनिबार युनको पक्ष र विपक्षमा हजारौँको संख्यामा र्याली निकालियो । मतदानपछि टेलिभिजनमा सम्बोधन गर्दै महाभियोग लागेका युनले आफू ‘पदबाट हट्ने’ तर सैनिक शासन लागु गर्ने असफल प्रयासका निम्ति माफी नमागेको बताएका छन् । कुल ३०० संसद् सदस्य रहेको कोरियाली संसद्मा २०४ सांसदले विद्रोहको आरोपमा राष्ट्रपतिविरुद्ध महाभियोग लगाउने पक्षमा मतदान गरे । ८५ जनाले महाभियोगको विपक्षमा मतदान गरे । मतदानमा तीन सांसद अनुपस्थित रहे । आठ मत बदर भएको थियो । महाभियोगसँगै युनलाई पदबाट निलम्बन गरिएको छ । दक्षिण कोरियाको संवैधानिक अदालतले मतदानपछिको अवस्थाबारे छलफल सुरु गरेको छ । अदालतलाई युनको भविष्यबारे फैसला गर्न १८० दिनको समय दिइएको छ । यदि, पदबाट हटाइए युन दक्षिण कोरियाको इतिहासमा सफलतापूर्वक महाभियोग लगाइने दोस्रो राष्ट्रपति बन्नेछन् । प्रधानमन्त्री हान डक सोले राष्ट्रपतिविरुद्धको महाभियोग प्रस्ताव पारित भएसँगै सञ्चारकर्मीसँग भने, ‘दक्षिण कोरियाली प्रधानमन्त्रीको रूपमा मेरो सम्पूर्ण शक्ति र प्रयास स्थिर शासन सुनिश्चित गर्न समर्पित हुनेछ ।’ महाभियोग पारित हुन २०० मत आवश्यक थियो । विपक्षी सांसदहरूले युनको कन्जरभेटिभ पिपुल पावर पार्टी (पीपीपी)का कम्तीमा आठ सांसदलाई दल बदल्न राजी गराउन आवश्यक थियो । ‘आजको महाभियोग जनताको ठूलो जित हो,’ विपक्षी डेमोर्क्र्याटिक पार्टीका नेता पार्क चान–डेले मतदानपछि भने । उनले अबको १८० दिनभित्र आउने अदालतको फैसलाले कोरियाली जनतालाई प्रजातन्त्र र स्वतन्त्रताप्रतिको आत्मसम्मानलाई प्रकट गर्ने बताए । रासस