एनसीएचलएल अफर : पुस १६ सम्म नेपालपे इन्स्टन्टमार्फत् निःशुल्क फण्ड ट्रान्सफर
काठमाडौं । नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) ले डिजिटल कारोबारलाई प्रवर्द्धन गर्न मोबाइल नम्बरको आधारमा हुने नेपालपे इन्स्टन्टको फण्ड ट्रान्सफर निःशुल्क गरेको छ । एनसीएचएल डिजिटल भुक्तानी पूर्वाधार स्थापना तथा प्रवर्द्धनमा लागि परेको १६ वर्ष हुँदै गरेको उपलक्ष्यमा ट्रान्सफर नि: शुल्क गरिएको हो । अब नेपालपे इन्स्टन्टको सुविधा उपलब्ध रहेको बैंक वित्तीय संस्थाका मोबाइल बैंकिङ ग्राहकहरू तथा कनेक्टआइपीएस प्रयोगकर्ताहरूले पौष १६ गतेसम्मका लागि नेपालपे इन्स्टन्टमार्फत बिना शुल्क ३१ बैंक वित्तीय संस्थाहरूमा फण्ड ट्रान्स्फर गर्न सक्नेछन्। नेपालपे इन्स्टन्टमार्फत एक प्रोक्सीको आधारमा डाइरेक्ट क्रेडिट उपकरण हो, जसमा लाभग्राहीको भर्जुअल प्राइभेट एड्रेस (भीपीए)को आधारमा फण्ड ट्रान्सफर गर्न सकिन्छ, जुन लाभग्राहीको मोबाइल नम्बर रहेको छ । हाल नेपालपे इन्स्टन्टको सुविधा कनेक्ट आइपीएस तथा कृषि विकास बैंक, सानिमा बैंक, ग्लोबल आईएमई बैंक, नेपाल एसबीआई बैंक, गरिमा विकास बैंक तथा साग्रिंला विकास बैंकका मोबाइल बैंकिङ एपहरूमा उपलब्ध रहेको छ ।
नेपालमा ब्रिटिश काउन्सिल आईएलटीएस उपहार २०२४ को विजेता घोषणा
काठमाडौं । ब्रिटिश काउन्सिलको आईएलटीएस उपहार सिजन २.० का विजेताहरू १० डिसेम्बर २०२४ मा एक कार्यक्रममा पुरस्कारहरूद्वारा सम्मानित गरिएको छ । सन् २०२३ मा आयोजित आईएलटीएस उपहारको सफलताको आधारमा, ब्रिटिश काउन्सिलले आईएलटीएस उपहार सिजन २.० यस पटकको दोस्रो संस्करणमा आएलटिस परीक्षा दिनेहरूलाई धेरै ठूला र आर्कषक पुरस्कारहरू प्रदान गरेको छ । सेप्टेम्बर २६ देखि नोभेम्बर ३० बीचको कुनै पनि आएलटिस परीक्षा दिने र अक्टोबर २०२४ पछि कम्प्युटर परीक्षण मितिहरूमा आईएलटीएसको लागि दर्ता गरी भुक्तानी पूरा गर्ने प्रशिक्षार्थीहरू यस वर्षको प्रस्तावको लागि योग्य थिए । ब्रिटिश काउन्सिल फेसबुक च्यानल मार्फत लक्की ड्र प्रक्रिया अन्तर्गत कुल पाँच विजेताहरूको चयन गरिएको थियो । यस वर्ष दुई मासिक पुरस्कार विजेता र तीन बम्पर पुरस्कार विजेताहरू चयन गरिएको थियो। सेप्टेम्बर र अक्टोबरमा दर्ता भएका दुई भाग्यशाली मासिक विजेताहरूले एप्पल म्याकबुक एर प्राप्त गरेका छन् । दुई भाग्यशाली विजेताले टर्किस एयरलाइन्स प्रायोजित युके र अमेरिकाको एकतर्फी टिकट जितेका छन् भने तेस्रो विजेताले ब्रिटिश काउन्सिलद्वारा प्रायोजित अस्ट्रेलियाको एकतर्फी टिकट जितेका छन् । एप्पल म्याकबुक एर विजेताहरू मिनर्भा चुनी ओङ्मु कार्की र केशव थापा युके र अमेरिकाका लागि एकतर्फी टर्किस एयरलाइन्स टिकट विजेताहरू- क्रमशः कनिस्का पौडेल र प्रणय शाक्य, अस्ट्रेलियाको एकतर्फी टिकट विजेता अनमोल खड्का, अभियान अवधिमा सबैभन्दा धेरै दर्ता गर्न योगदान दिने तीन शीर्ष आईएलटीएस साझेदारहरूको उत्कृष्ट प्रयासलाई पनि सम्मान गरिएको छ । प्रत्येक साझेदारलाई उनीहरूको समर्थन र आईएलटीएस प्रवर्द्धन गर्न प्रतिबद्धताको लागि प्रशंसाको प्रतीकको रूपमा आईप्याड प्रदान गरिएको थियो । अर्बिट मेडिकल एन्ट्रेंस (ओएमई), नेपाल शैक्षिक परामर्श संघ (इक्यान), केआइसी लर्निङ सेन्टर, कार्यक्रममा ब्रिटिस काउन्सिल नेपालका कन्ट्री डाइरेक्टर रुस्तम मोदीले भने, ‘परीक्षा दिन चाहनेहरुका लागि आगामी अवसरहरु मनाउन पाउनु सौभाग्यको कुरा हो । सरल भाषामा भन्नुपर्दा, आईएलटीएस परीक्षा मात्र होइन । यो विश्वव्यापी शिक्षा, विशेष प्रशिक्षण, र आशाजनक क्यारियरको लागी एक प्रवेश द्वारको रुपमा रहेको छ। धेरै वर्षदेखि, ब्रिटिस काउन्सिलले हाम्रा विश्वसनीय साझेदारहरू र एजेन्टहरूद्वारा समर्थित नेपालभर परीक्षाहरू गर्वका साथ प्रदान गर्दै आएको छ । सँगै, हामी युवाहरूलाई थप अध्ययन, व्यावसायिक प्रशिक्षण, वा विदेशमा क्यारियरहरू पछ्याउन सशक्त गर्दैछौं। आएलटिस उपहार अभियानका विजेताहरूलाई बधाइ छ, र तपाईंले गुणस्तरीय शिक्षातर्फको यात्रामा अघि बढिरहनु भएकोमा शुभकामना ।’ प्रतिष्ठा थापा रायमाझी, परीक्षा निर्देशक, ब्रिटिस काउन्सिल नेपालले कार्यक्रममा टिप्पणी गर्दै भनिन् ‘आईएलटीएस उपहार अभियानका सबै विजेताहरूलाई बधाई! हामी आशा गर्दछौं कि यी पुरस्कारहरूले तपाईंलाई थप शिक्षाको तपाईंको सपनाहरू प्राप्त गर्न नजिक ल्याउनेछन् । नेपालमा आईईएलटीएस लाई अझ किफायती र पहुँचयोग्य बनाउन प्रतिबद्ध छौं, त्यसै अनुरुप हामीले चितवन र बुटवलमा कम्प्युटर सुविधाहरू सहित हाम्रा परीक्षा केन्द्रहरू विस्तार गर्दैछौं। आजको डिजिटल संसारमा, हामी परीक्षार्थीहरूलाई कम्प्युटरमा आईएलटीएस को लागि फाइदा लिन अनुरोध गर्छौं। हाम्रा आईएलटीएस साझेदारहरूलाई यहांहरूको निरन्तर सहयोगको लागि धन्यवाद।’
वैदेशिक लगानीको सुरक्षाका लागि नेपाल सरकार प्रतिबद्ध छ : मन्त्री भण्डारी
काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपालमा गरिएको वैदेशिक लगानीको सुरक्षाका लागि नेपाल सरकार प्रतिबद्ध रहेको बताएका छन् । पाँचदिने औपचारिक भ्रमणका लागि दक्षिण कोरियामा रहेका मन्त्री भण्डारीले नेपाल र गणतन्त्र कोरियाबीच कूटनीतिक सम्बन्ध विस्तारको ५० वर्ष पुगेको अवसरमा बुसान चेम्बर अफ कमर्सको सहयोग एवं कोरियास्थित नेपाली दूतावास कोरिया र कोरिया नेपाल इन्टरनेसनल एक्सचेन्ज एसोसिएनको आयोजनामा आज आयोजित कार्यक्रमलाई सम्बोधन गदै यस्तो बताएका हुन् । ‘वैदेशिक लगानीको सुरक्षाका लागि नेपाल सरकार प्रतिबद्ध छ । ढुक्कका साथ लगानी गर्न कोरियन लगानीकर्तालाई म आग्रह गर्दछु’, मन्त्री भण्डारीले भने । उनले कोरियाले अपर त्रिशूलीमा गरेको लगानीले यस क्षेत्रको विकासमा महत्वपूर्ण योगदान पुगेको भन्दै प्रशंसा गरेका थिए । कोरियाको पुँजी र प्रविधि नेपाल भित्र्याउन चाहेको र आगामी दिनमा नेपाल र कोरियाबीचको आपसी सम्बन्ध थप उचाइमा पुर्याउनुपर्ने भन्दै मन्त्री भण्डारीले नेपालको उद्योग, व्यापार तथा पर्यटन क्षेत्रको विकासमा लगानी गर्न आग्रह गेको उनका प्रमुख स्वकीय सचिव आनन्द भट्टले जानकारी दिए । उनका अनुसार मन्त्री भण्डारीले महत्वपूर्ण व्यापार साझेदारका रूपमा रहेको कोरियाको भौतिक विकास, ज्ञान, सीप र प्रविधिलाई नजिकबाट नियाली रहेको र कोरियामा भइरहेको विकासबाट नेपालीहरूलाई थप लाभान्वित गर्न चाहेको समेत मन्त्री भण्डारीले बताएका थिए । नेपालमा युवा जनशक्ति, कच्चापदार्थको उपलब्धता, भौगोलिक विविधताले समेत लगानीको प्रतिफल प्राप्त हुने भएकाले यहाँ लगानी गर्न उनले आग्रह गरे । ‘भारत, चीन, बङ्गलादेशलगायत छिमेकी मुलुकको बजारका कारणले समेत नेपाल लगानीको उपयुक्त सम्भावना छ । नेपालमा लगानी गरी व्यवसाय प्रवर्द्धन र थप रोजगारी सृजना गर्न कोरियन लगानीकर्ताहरुलाई सरकारका तर्फबाट गर्नुपर्ने सबै किसिमको सहजीकरण गर्ने प्रतिबद्धता व्यक्त गर्दछु’, मन्त्री भण्डारीको भनाइ थियो । यसैगरी उनले नेपाली युवालाई रोजगारी प्रदान गरेकामा इपियस कोरिया र कोरिया सरकारलाई धन्यवादसमेत व्यक्त गरेका थिए ।भ्रमणका क्रममा कोरिया सरकारका मन्त्रीसँग आफूले व्यापार तथा लगानी सम्झौता गर्न लागेको मन्त्री भण्डारीले बताएको उनका प्रमुख स्वकीय सचिव भट्टले जानकारी दिए ।
लोडसेडिङ हुन नदिन भारतबाट साढे ६ सय मेगावट विद्युत आयात हुन्छ : उर्जामन्त्री
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले भारतबाट साढे ६ सय मेगावट विद्युत आयात गर्न लागिएको बताएका छन् । मन्त्री खड्काले नेपाल भित्रको आन्तरिक विद्युत आपूर्तिलाई सहज बनाउनको लागि भारतसँग साढे ६ सय मेगावट विद्युत खरिद गर्न लागिएको बताए । मन्त्री खड्काले हिँउदमा विद्युत आपूर्ति सहज बनाउनको लागि भारतसँग साढे ६ सय मेगावट विद्युत आयात गर्ने सहमति भएअनुरुप पुस महिनादेखि नै खरिद गरिने बताए । उनले गत वर्षको बाढीले जलविद्युत आयोजनाहरुमा धेरै क्षति भएर उत्पादनमा देखिएको कमीको कारण लोडसेडिङ हुन नदिनको लागि भारतसँग विद्युत पुस महिनाबाट खरिद गर्न लागिएको बताए । उनले सरकारले क्षति भएका आयोजनाहरुको निर्माणमा तिब्रता दिएको भन्दै विद्युत माग र आपूर्ति सहज बनाउने विषयमा गम्भीर रहेको बताए । मन्त्री खड्काले गत वर्षको भन्दा साढे ३ सय मेगावट जति यस वर्ष उत्पादन थप हुने र हिउँदामा ४० प्रतिशत उत्पादन हुने भएकाले पिक आवरमा समस्या पर्ने भएकाले सकेसम्म लोडसेडिङ हुन नदिने योजनाका साथ कार्यतालिका बनाएको बताए । उनले बेलुका साँझको बेला भारतले चार घण्टा दिनसक्ने बताए पनि भारतसँग थप छलफल गर्ने तयारी रहेको बताए । मन्त्री खड्काले भारतका ऊर्जामन्त्री नेपालमा आउने तयारी रहेको भन्दै भारतका ऊर्जामन्त्री नेपाल आएको बेलामा छलफल गरिने बताए । उनले केही घण्टा बेलुकाको समयमा कुनै ठाउँमा लोडसेडिङ हुने अनुमान भएपनि सकेसम्म हुन नदिने योजना रहेको बताए । उनले भारतबाट नेपालले ९ सय मेगावटसम्म आपूर्ति गर्ने गरेको भन्दै यो वर्ष साढे ६ सय मेगावट आपूर्ति गरिने बताए । उनले नेपालभित्रै साढे ३ सय मेगावट थप हुने देखिएकाले कम आपूर्ति गर्न लागिएको बताए ।
ईसेवा महाउत्सवः रवि बोमजनले जिते नामी कार
काठमाडौं । भुक्तानी सेवाप्रदायक कम्पनी ईसेवाको दशैं-तिहार र छठ पर्व लक्षित ‘ईसेवा महाउत्सव’मा रवि बोमजनले नामी कार जितेका छन् । गत असोज १ गते ईसेवाले ईसेवा महाउत्सव घोषणा गरेको थियो । सोही घोषणाबमोजिम मकवानपुरनिवासी बोमजङले नामी कार जितेका हुन् । गोलाप्रथाको माध्यमबाट उनी चुनिएका हुन् । ललितपुरको पुल्चोकस्थित एलिस कन्फ्रेन्समा आयोजित एक औपचारिक कार्यक्रमबीच उपहार विजेता घोषणा गरिएको हो । घोषणा कार्यक्रममा नेपाल क्रिकेट टीमका कप्तान रोहित पौडेल, ईसेवाका कार्यकारी अधिकृतहरू, प्रेस प्रतिनिधि, सेलिब्रेटी र कन्टेन्ट क्रिएटरलगायतकाे उपस्थिति थियो । २०८१ साल असोज १ देखि कात्तिक ३० गतेसम्म चलेको ईसेवा महा-उत्सव चलेको थियो । ईसेवा महा-उत्सवका अन्य विजेताहरूको नाम सोमबार नै इसेवाको फेसबुक पेजमा सार्वजनिक गरिएको थियो । सरोजकुमार पाण्डे र अविन गुरुअचार्यले आईफोन १६ जितेका थिए । उनीहरूले १०० रुपैयाँको खेलमा सहभागी भई आईफोन जितेका हुन् । यसैगरी, अनिल चालिसे, दीपक महतो र अनिल सिंहले ईसेवा टिकटक प्रतियोगितामा सहभागी भई क्रमशः ५० हजार, २५ हजार र १५ हजार रुपैयाँ हात पारे ।
दुई नायब सुब्बाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दुई नायब सुब्बाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। सेवाग्राहीसँग घुस लिई भ्रष्टाचार गरेको आरोपमा जिल्ला प्रशासन कार्यालय, महोत्तरीको मुद्दा फाँटमा कार्यरत नायब सुब्बाद्वय अशोककुमार यादव र दिनेशप्रसाद साहविरुद्ध सोमबार विशेष अदालत, काठमाडौंमा मुद्दा दायर गरिएको हो । आयोगका प्रवक्ता नरहरि घिमिरेका अनुसार यादवले सवारी ज्यान कसुर मुद्दामा मृतकको नजिकको हकदार (पीडित पक्ष)ले पाउनुपर्ने किरिया खर्च तथा क्षतिपूर्ति बापतको रकम उपलब्ध गराउन सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग घुस मागेका थिए । उक्त सूचनापछि आयोगको कार्यालय, बर्दिबासबाट खटिएको टोलीले यादवलाई सेवाग्राहीबाट २० हजार रुपैयाँ घुससहित पक्राउ गरेको थियो । अनुसन्धानका क्रममा यादव र साहको आपसी मिलोमतोमा घुस लिएको पुष्टि भएको थियो । २० हजार रुपैयाँ बिगो कायम गरी कैद र बिगो बमोजिम जरिवानाको मागदाबी आयोगले गरेको छ ।
गरिब किसानको छोराले बनाएको ‘हुन्डाई’, विश्वको तेस्रो ठूलो कार कम्पनी
काठमाडौं । दक्षिण कोरियाको अटो कम्पनी ‘हुन्डाई’ सवारी उत्पादनका हिसाबले विश्वको तेस्रो ठूलो कम्पनी र बजार पुँजीको हिसाबले १६औं ठूलो कम्पनी हो । हुन्डाईको व्यवसाय अटो र निर्माणलगायत धेरै क्षेत्रमा फैलिएको छ । तर संसारमा यो कम्पनी केवल आफ्नो गाडीको लागि धेरै परिचित छ । हुन्डाईको स्थापना चुङ जु-युङले गरेका थिए, जसलाई लिएर आज दक्षिण कोरियाका हरेक नागरिक गर्व गर्दछन् । उनी धेरै वर्षसम्म दक्षिण कोरियाको सबैभन्दा धनी थिए । यद्यपि चुङ जु-युङको जीवन संघर्षले भरिएको थियो । धेरै पटक उनको व्यवसाय ध्वस्त भयो तर उनले कहिल्यै हार मानेनन् । आज हामीले यिनै चुङ जु-युङको बारेमा यहाँ उल्लेख गर्दैछाैं । चुङको जन्म उत्तर कोरियाको कानवोन प्रान्तको एउटा सानो गाउँ टोन्चोनमा सन् १९१५ मा गरिब किसानको घरमा भएको थियो । उनी ७ दाजुभाइमध्ये जेठा थिए । उनका बुवा धानखेती गर्दथे । चुङ शिक्षक बन्न चाहन्थे तर उनको परिवारसँग पढाइका लागि पैसा थिएन । उनका बुबाले खेतीपाती गरून् भन्ने चाहन्थे तर खेतीपातीमा उनको रुचि थिएन । एक दिन मौका छाेपी चुङ घरबाट भागे अनि एउटा निर्माण कम्पनीमा काम गर्न सुरु गरे । त्यतिबेला उनी १६ वर्षका थिए । तर दुई महिनापछि उनका बुवाले उनलाई फेला पारे र फर्काए । चुङको मन घरमा थिएन । उनी फेरि भागे र फेरि पनि समातिए । यो क्रम धेरै पटक जारी रह्यो । सुरुवाती संघर्ष अन्ततः १९३४ मा चुङ घरबाट भाग्न सफल भए । उनी भागेर दक्षिण कोरिया पुगेका हुन् । त्यहाँ उनले चामल पसलमा डेलिभरी ब्वाईको रूपमा काम गर्न थाले । उनको इमानदारी र लगनशीलता देखेर पसल साहुले उनलाई मेनेजर बनाए । सन् १९३७ मा पसलका मालिक बिरामी परे र आफ्नो पसल चुङलाई सुम्पिए । यसरी २२ वर्षको उमेरमा चुङ पसलको मालिक बने । तर १९३९ मा जापानीहरूले उनको पसल बन्द गरे । यसपछि चुङले साथीबाट ऋण लिएर अटो मर्मत पसल खोले । उनको यो काम पनि राम्रै चलिरहेको थियो तर १९४३ मा जापानीहरूले फेरि व्यापार बन्द गरिदिए । १९४५ मा दोस्रो विश्वयुद्ध समाप्त भएपछि चुङको भाग्यमा परिवर्तन आयो । १९४६ मा उनले हुण्डाई नामक इन्जिनियरिङ र निर्माण कम्पनी स्थापना गरे । तर १९५० मा उत्तर कोरियाको आक्रमणका कारण चुङले आफ्नो व्यवसाय छोडेर बुसान भाग्नुपर्यो । युद्ध समाप्त भएपछि चुङले आफ्नो व्यवसाय पुनः सुरु गरे । उनले अमेरिकी सेना र कोरियाली सरकारबाट धेरै ठेक्का पाए । तर उनको व्यवसाय १९६१ मा जनरल पार्क चुङ-ही सत्तामा आएपछि फस्टाउन सुरु भएको थियो । हुन्डाईले धेरै निर्माण परियोजनाहरू पायो । यस अवधिमा चुङले आफ्नो व्यवसायलाई धेरै क्षेत्रमा विस्तार गरे । हुन्डाईको बिजनेस हुन्डाई समूहमा ८६ कम्पनी थिए । यसले चिप्सदेखि जहाजसम्म सबै कुरा बनाउँथ्यो । यसैबीच, चुङले अटो क्षेत्रमा सम्भावना देखे र कारको डिजाइनमा काम गर्न थाले । उनी मध्यम वर्गका लागि गाडी बनाउन चाहन्थे । करिब ८ वर्षको कडा परिश्रमपछि कम्पनीले सन् १९७५ मा आफ्नो पहिलो स्व-निर्मित कार पोनी लन्च गर्यो । यो सस्तो र यसको डिजाइन पनि उत्कृष्ट थियो । पोनी यति सफल भयो कि यसले बजारको ६० प्रतिशत कब्जा गर्यो । हुन्डाई १९८२ मा बेलायती बजारमा प्रवेश गरेको थियो र पहिलो वर्ष नै कम्पनीले त्यहाँ करिब ३ हजार कार बिक्री गरेको थियो । वर्षमै १ लाख ७० हजार कार बिक्री १९८४ मा कम्पनीले क्यानडामा पोनी २ बिक्री गर्न थाल्यो, जुन राम्रो संख्यामा बिक्री भयो । १९८६ मा कम्पनीले अमेरिकामा एक्सेल कार लन्च गरेको थियो र पहिलो वर्षमै १ लाख ७० हजार कार बिक्री गरेर हलचल मच्चाएको थियो । यो धेरै वर्षको लागि अमेरिकामा सबैभन्दा राम्रो बिक्री कार थियो । आज हुन्डाई विश्वको शीर्ष १०० सबैभन्दा मूल्यवान ब्रान्डहरूमा पर्छ । साथै, यो टोयोटा र फक्सवागनपछि उत्पादनको हिसाबले तेस्रो ठूलो अटो कम्पनी हो । कम्पनीको व्यवसाय विश्वका १९३ देशमा फैलिएको छ । सन् २००१ मा चुङको निधन भएको थियो तर त्यतिन्जेलसम्म उनले हुन्डाईलाई निकै उचाइमा पुर्याइइसकेका थिए। (एजेन्सीहरूको सहयोगमा)
अर्थमन्त्री पौडेल थाइल्याण्ड प्रस्थान
काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल थाइल्याण्ड प्रस्थान गरेका छन् । एसिया र प्रशान्त क्षेत्रमा विकासका लागि वित्तसम्बन्धी उच्चस्तरीय क्षेत्रीय परामर्श बैठकमा भाग लिन अर्थमन्त्री थाइल्याण्ड गएका हुन् । एसिया र प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्र संघीय आर्थिक तथा सामाजिक आयोगले आयोजना गर्ने उच्चस्तरीय क्षेत्रीय परामर्श बैठक पुस २ देखि ३ गतेसम्म हुनेछ ।