यस्तो बन्यो टिम अञ्जन
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको बैशाख २२ गते भएको निर्वाचनको मत परिणाम सार्वजनिक भएसँगै नवनिर्वाचित टिमले विजयी प्रमाणपत्र पनि प्राप्त गरिसकेका छन् । महासंघको विधान अनुसार वर्तमान वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठ स्वतः अध्यक्ष बनेका छन् । उनीसँगै अन्य पदाधिकारीको पनि टुङ्गो लागेको छ । महासंघको एसोसिएट उपाधयक्षमा प्रवलजंग पाण्डे विजयी भएका छन् । उनले १ हजार ७९ मत ल्याउँदै विजयी भएका हुन् । उनका प्रतिस्पर्धी ज्योत्सना श्रेष्ठले ७५० मत ल्याइन् । पाण्डे लोमस फर्मास्युटिकल्स र कसमस सिमेन्टका सञ्चालक हुन् । उनी सिटिजन्स बैंकको अध्यक्षको रुपमा पनि कार्यरत छन् । प्रवलजंग पाण्डे । एसोसिएट तर्फ १७ सदस्य निर्वाचित भएका छन् । निर्वाचनमा सचिन ढकालले सर्वाधिक १३१८ मत प्राप्त गर्दै शीर्ष स्थान हासिल गरेका छन् । यसैगरी, हेमन्त गोल्छाले १ हजार २०२ मत, अम्बिकाप्रसाद पौडेलले १ हजार १८३ मत, उज्ज्वल कुमार श्रेष्ठले १ हजार १५६ मत, शक्ति कुमार वेगानीले १ हजार १४२ मत, ऋषि अग्रवालले १ हजार १२२ मत र सुशिल थापाले १ हजार ९४ मत प्राप्त गरी विजयी भएका छन् । त्यस्तै, राजेश कुमार अग्रवालले १ हजार ८२ मत, सुयस प्याकुरेलले १ हजार ६९ मत, रामशरण भण्डारीले १ हजार ४३ मत, बाबु काजी कार्कीले १ हजार ६ मत, दिवश न्यौपानेले ९९१ मत, कृष्णलाल महर्जनले ९७४ मत, प्रियराज रेग्मीले ९५४ मत, इश्वरबहादुर जीसीले ९४९ मत, सुरज उप्रेतीले ९०७ मत र बटु लामिछानेले ८६० मत प्राप्त गर्दै विजयी भएका छन् । एसोसिएटतर्फ प्रबल जंग पाण्डे र ज्योत्सना श्रेष्ठ समूहबीच प्रतिस्पर्धा भएको थियो । जसमा पाण्डे समूहबाट अधिकांश उम्मेदवार विजयी भएका छन् । यस्तै, महासंघको वस्तुगत उपाध्यक्ष पदमा नरेशलाल श्रेष्ठ विजयी भएका छन् । महासंघको निर्वाचन समितिका अनुसार श्रेष्ठले ६३ मत प्राप्त गर्दै प्रतिस्पर्धी शिवप्रसाद घिमिरेलाई ३ मतको झिनो अन्तरले पराजित गरेका हुन् । घिमिरेले ६० मत प्राप्त गरेका थिए । नरेशलाल श्रेष्ठ । वस्तुगततर्फ १६ कार्यकारिणी सदस्य पदका लागि मंगलबार सम्पन्न निर्वाचनमा १३ जना निर्वाचित भएका छन् भने बाँकी ३ जनाबीच गोलाप्रथाबाट टुंगो लगाइने भएको छ । निर्वाचन परिणामअनुसार अरनिको राजभण्डारीले सर्वाधिक ७० मत प्राप्त गरी विजयी भएका छन् । यस्तै, विदुर धमलाले ६८ मत, सागर ढकालले ६८ मत, रवीन पुरीले ६६ मत, राजकुमार कार्कीले ६३ मत, पशुपतिदेव पाण्डेले ६२ मत, लिलेन्द्र प्रधानले ६२ मत, भक्तबहादुर हमालले ५६ मत, नानिराज घिमिरेले ५२ मत, संघर्ष बिष्टले ५१ मत र होमप्रसाद घिमिरेले ५१ मत प्राप्त गरी निर्वाचित भएका छन् । महिला सदस्यतर्फ सुनिता नेहाफुकीले ५४ मतसहित विजय हासिल गरेकी छिन् । यसैगरी, निराजन चलाउने, रघुनन्दन मारु, विप्लव अधिकारी र सुरज बन्जाडेले समान ५०–५० मत प्राप्त गरेका छन् । उनीहरूबीच गोलाप्रथामार्फत कार्यकाल निर्धारण गरिने भएको छ । यी ४ मध्येबाट २ जनाले गोलाप्रथाबाट जित्ने छन् । यस्तै, महासंघको जिल्लानगर उपाध्यक्षमा कृष्णप्रसाद शर्मा र दिलसुन्दर श्रेष्ठ विजयी भएका छन् । निर्वाचन परिणामअनुसार शर्माले ८७ मत र श्रेष्ठले ८० मत प्राप्त गर्दै विजयी भएका हुन् । शर्मा र श्रेष्ठ महासंघको स्वतः अध्यक्ष हुने अञ्जन श्रेष्ठ समूहका उम्मेदवार थिए । कृष्णप्रसाद शर्मा र दिलसुन्दर श्रेष्ठ । वरिष्ठ उपाध्यक्ष पदका उम्मेदवार हेमराज ढकाल समूहबाट जिल्ला–नगर उपाध्यक्षतर्फ उमेश डालमिया र कल्पना गैरे उम्मेदवार थिए । डालमियाले ५० र गैरेले ३० मत मात्रै ल्याए । जिल्ला–नगर खुल्लातर्फ सदस्यमा अर्जुनकुमार श्रेष्ठ, प्रयास कार्की, कृष्ण कातुवाल, लक्ष्मणराज पौडेल, छत्रधर आत्रेय, मोहनप्रसाद श्रेष्ठ, सन्तोष खड्का, दीपक नेपाल, केशवप्रसाद भण्डारी, हरिप्रसाद अर्याल, ताराबहादुर कार्की, शंकर गिरी, उज्ज्वलप्रसाद कसजु र सुदर्शन कार्की विजयी भएका छन् । यस्तै, गीता अमात्य र हिरा भट्टराई निर्वाचित भएक छन् ।
६२४ करोडको विजय साम्राज्य, एकै खातामा २ अर्ब भारू
दिल्ली । तमिनाडु विधानसभा चुनाव २०२६ मा फिल्मस्टारबाट राजनीतिज्ञ बनेका सी. जोसेफ विजय (थलापति विजय) को पार्टी ‘टीभीके’ ठूलो शक्तिका रूपमा उदाएको छ । चुनावका क्रममा निर्वाचन आयोगमा बुझाइएको २७ पानाको शपथपत्र अनुसार विजयको आर्थिक प्रोफाइल निकै रोचक देखिएको छ । उनको कुल सम्पत्ति विवरणमा कुल सम्पत्ति ६२४ करोड भारु रहेको उल्लेख छ । जहाँ चल सम्पत्ति ४०४ करोड भारु र अचल सम्पत्ति २२० करोड भारु रहेको छ । आर्थिक वर्ष २०२४/२५ उनको आय १८४.५३ करोड भारु छ, जसमा स्वरोजगार, भाडा र ब्याजबाट आम्दानी भएको उल्लेख गरिएको छ । सुरक्षित लगानी : बैंक ब्यालेन्स र मुद्दती निक्षेप विजय एक कन्जरभेटिभ इन्भेस्टर (सुरक्षित लगानीकर्ता) का रूपमा देखिएका छन् । उनले जोखिमपूर्ण सेयर बजारभन्दा बैंक निक्षेपलाई बढी प्राथमिकता दिएका छन् । इन्डियन ओभरसीज बैंक (सालिग्रामम शाखा) को एउटै बचत खातामा २१३.३६ करोड भारु नगद रहेको छ । यो उनको कुल सम्पत्तिको एक तिहाइभन्दा बढी हो। विभिन्न ४ बैंकमा कुल १०० करोड भारु मुद्दती निक्षेप रहेको उनले उल्लेख गरेका छन् । त्यसमध्ये एक्सिस बैंकमा ४० करोड, इन्डियन ओभरसीज बैंकमा २५ करोड, एचडीएफसी बैंकमा २० करोड र भारतीय स्टेट बैंकमा १५ करोड भारू रहेको उल्लेख छ । सेयर बजारमा न्यून लगानी सेयर बजारमा उनको उपस्थिति नगण्य छ । उनले जम्मा १९.३७ लाख भारु मात्र सेयरमा लगानी गरेका छन्, जुन उनको कुल सम्पत्तिको ०.०४ प्रतिशतभन्दा पनि कम हो । उनले कुनै पनि म्युचुअल फन्ड वा बन्डमा लगानी गरेका छैनन् । घरजग्गा र रियल एस्टेट (२२० करोड) उनको अचल सम्पत्ति मुख्यतया चार भागमा बाँडिएको छ । चेन्नईका विभिन्न ठाउँमा रहेका १० वटा घरहरूको मूल्य ११५ करोड भएको जनाएका छन् । कोप्पूर, पोरूर लगायतका स्थानमा व्यापारिक भवन र जग्गाको मूल्य ८२.८ करोड रहेको उल्लेख छ । त्यस्तै, गैर-कृषि जग्गा २२ करोड बराबरको रहेको, कोडाइकनालस्थित कृषि जग्गा सानो प्लट रहेको र त्यसको हालको मूल्य २० लाख रुपैयाँ रहेको उनले खुलाएका छन् । विलासी गाडीहरूको मोह (१३.५२ करोड) विजयसँग लक्जरी गाडी र भ्यानहरूको ठूलो संग्रह छ । २०२४ टोयोटा लेक्सस ३५०: ३.१ करोड २०१५ टाटा कारभान (भ्यान): ६ करोड २०२४ बीएमडब्लू आई सेभेन : २ करोड २०१४ टोयोटा वेलफायर : १.६३ करोड २०२५ टीभीएस एक्सएल सुपर (स्कुटर): ६७,४०० भारु सुन, चाँदी र हीरा विजयको नाममा ८८३ ग्राम सुन (१.२० करोड) र १५ लाखको चाँदी रहेको र श्रीमती संगीताको नाममा ३,१३२ ग्राम सुन (४.०७ करोड), २ किलो चाँदी र १३४.९ क्यारेटको हीरा (१ करोड) रहेको उनले खुलाएका छन् । ऋण र लगानी विजयले अरूलाई कुल ७५.५ करोड रुपैयाँ ऋण वा सापटी दिएका छन् । यसमा आफ्नै श्रीमती संगीतालाई १२.६० करोड र विभिन्न शैक्षिक ट्रस्ट तथा व्यक्तिहरूलाई दिएको रकम सामेल छ । श्रीमती संगीता विजयको सम्पत्ति संगीतासँग छुट्टै १५.७६ करोड रुपैयाँ बराबरको सम्पत्ति छ, जसमा १० करोडको मुद्दती निक्षेप मुख्य छ । आयकर सम्बन्धी विवाद शपथपत्रका अनुसार विजयका केही पुराना आयकर विवादहरू अझै बाँकी छन् । सन् २०१५ मा भएको आयकर छापापछि र पुली फिल्मको आम्दानी लुकाएको आरोपमा उनलाई केही जरिवाना र माग दाबी गरिएको छ जुन हाल अदालत र न्यायाधिकरणमा विचाराधीन छन् ।
वर्षासँगै घट्यो उपत्यकाको प्रदूषण
काठमाडौं । वर्षा र हावाहुरीका कारण काठमाडौं उपत्यकाको वायु गुणस्तरमा उल्लेख्य सुधार आएको छ । एयर क्वालिटी इन्डेक्स (एक्युआइ) को पछिल्लो तथ्याङ्कअनुसार बुधबार बिहान ११ः०० बजेसम्म उपत्यकाको वायु गुणस्तर सूचकाङ्क ४७ मा झरेको छ, जुन ‘राम्रो’ अर्थात् स्वस्थ श्रेणीमा पर्दछ । केही साताअघि विश्वकै सबैभन्दा प्रदूषित सहरको सूचीमा पहिलो स्थानमा रहेको काठमाडौं हाल सुधार हुँदै ६६औँ स्थानमा झरेको छ । एक्युआई मापदण्डअनुसार ०–५० सम्म ‘राम्रो’, ५१–१०० ‘मध्यम’, १०१–१५० ‘अस्वस्थ’, १५१–२०० ‘सबैका लागि अस्वस्थ’, २०१–३०० ‘धेरै अस्वस्थ’ र ३०० भन्दा माथि ‘अत्यन्त खतरनाक’ मानिन्छ । गत वैशाख १० गते उपत्यकाको वायु गुणस्तर सूचकाङ्क २४७ सम्म पुगेको थियो, जुन ‘धेरै अस्वस्थ’ श्रेणीमा पर्ने भएकाले सर्वसाधारणको स्वास्थ्यमा गम्भीर जोखिम देखिएको थियो । विज्ञहरूले त्यसबेला प्रदूषणको उच्चस्तरले श्वासप्रश्वाससम्बन्धी समस्या बढाउने चेतावनी दिएका थिए । वातावरण विभागका महानिर्देशक ज्ञानराज सुवेदीका अनुसार लामो समयसम्म वर्षा नहुँदा धुलो, धुवाँ र डढेलोबाट उत्पन्न प्रदूषण वायुमण्डलमा थुप्रिने गर्दछ । 'सुक्खा मौसममा वन डढेलो बढ्ने र त्यसबाट निस्किएको धुवाँ उपत्यकामा थुनिने भएकाले प्रदूषण उच्च हुन्छ', उनले भने, 'छिमेकी मुलुक भारतबाट आउने प्रदूषित हावाले पनि काठमाडौंको वायु गुणस्तरमा असर पार्ने गरेको छ ।' उनले वर्षासँगै धुलो र धुवाँ पखालिने तथा हावाको बहाव बढ्ने भएकाले वायु गुणस्तर सुधार हुने बताए । साथै, दीर्घकालीन रूपमा प्रदूषण नियन्त्रण गर्न दिगो र वातावरणमैत्री विकासका उपायहरू प्रभावकारी रूपमा कार्यान्वयन गर्न आवश्यक रहेको उनको जोड छ । हालको सुधारले उपत्यकावासीलाई केही राहत दिएको भए पनि विज्ञहरूले प्रदूषण नियन्त्रणका स्थायी उपायमा ध्यान दिनुपर्ने आवश्यकता औँल्याएका छन् । रासस
नेपाल उद्योग वाणिज्य महासंघ एसोसिएट सदस्यमा भण्डारी निर्वाचित
काठमाडौं । ह्याम्स अस्पतालका अध्यक्ष रामशरण भण्डारी नेपाल उद्योग वाणिज्य महासंघको एसोसिएट सदस्यमा विजयी भएका छन् । १ हजार ४३ मत प्राप्त गर्दै उनी विजयी भएका हुन् । तीन दशकदेखि स्वास्थ्य व्यवसायीको क्षेत्रमा सक्रिय भण्डारी स्वास्थ्य क्षेत्रका व्यवसायी व्यवस्थापक हुन् । आजभन्दा करिब तीन दशक अघि सिन्धुपाल्चोकबाट काठमाडौं आएका भण्डारी स्वास्थ्य क्षेत्रका उपकरण व्यवसायीका रूपमा यो क्षेत्रमा छिरेका थिए । करिब १९ वर्षसम्म मेडिकल उपकरणको व्यवसाय गरेका उनी हाल काठमाडौंको धुम्बाराहीमा रहेको ह्याम्स अस्पतालको नेतृत्व गरिरहेका छन् भने उनैको नेतृत्वमा भक्तपुरको गठ्ठाघरमा रहेको नागरिक अस्पताल पनि सञ्चालन भइरहेको छ । ह्याम्सलाई अन्तर्राष्ट्रियस्तरको अस्पताल बनाएका भण्डारीले नागरिक अस्पताललाई पनि ह्याम्स जस्तै अन्तर्राष्ट्रियस्तरको अस्पताल बनाउने क्रममा छन् । भण्डारीले स्वास्थ्य क्षेत्रलाई व्यवसायका रूपमा मात्र नभइ सेवा र जिम्मेवारीका रूपमा लिइरहेका छन् । अस्पतालमा दक्ष जनशक्ति, अत्याधुनिक उपकरण र प्रभावकारी व्यवस्थापन प्रणालीमार्फत बिरामीलाई सहज र गुणस्तरीय सेवा उपलब्ध गराउने काममा अग्रसर छन् ।
युरोपेली बजार लक्षित गर्दै डोंगफेङले जर्मनीमा खोल्यो नयाँ डिजाइन हब
काठमाडौं । चिनियाँ अटोमोबाइल कम्पनी डोंगफेङ मोटरले युरोपेली ग्राहकहरूको रुचि र प्राथमिकतालाई लक्षित गर्दै जर्मनीको म्युनिखमा नयाँ डिजाइन केन्द्र स्थापना गरेको छ । उक्त केन्द्रले एम हिरो र भोएज जस्ता ब्रान्डका लागि काम गर्दै कम्पनीको विश्वव्यापी विस्तारलाई थप बल पुर्याउने लक्ष्य राखेको छ । डोंगफेङको यस डिजाइन केन्द्रले कम्पनीको विश्वव्यापी अनुसन्धान तथा विकास सञ्जाल विस्तारमा महत्वपूर्ण योगदान दिने अपेक्षा गरिएको छ । जनवरी २९ मा सम्पन्न उद्घाटन समारोहले चिनियाँ अटोमोबाइल कम्पनीको युरोपतर्फको रणनीतिक विस्तारलाई स्पष्ट संकेत दिएको छ । यो नयाँ केन्द्र डोंगफेङको एकीकृत विश्वव्यापी प्लेटफर्मको हिस्सा हुनेछ । यससँगै कम्पनीले चीनका वुहान र सांघाईमा रहेका स्टुडियोहरूसँगै अब जर्मनीमा पनि आफ्नो उपस्थिति विस्तार गरेको छ । कम्पनीका अनुसार, म्युनिखस्थित स्टुडियोले एम हिरो र भोएज ब्रान्डका परियोजनामा केन्द्रित भई युरोपेली ग्राहकहरूको आवश्यकता अनुरूप डिजाइन विकास गर्नेछ । डोंगफेङका अनुसार म्युनिख छनोट गर्नुको विशेष कारण छ । बाभेरियाको राजधानी म्युनिख अटोमोबाइल डिजाइन र इन्जिनियरिङका लागि विश्वकै अग्रणी केन्द्रहरूमध्ये एक मानिन्छ । यस केन्द्रले क्लाउड सोलुसन, भर्चुअल प्रविधि तथा एआई टुलहरूको प्रयोगमार्फत सहकार्यलाई सहज बनाउँदै विकास प्रक्रियालाई तीव्र बनाउनेछ । डिजाइनबाहेक, म्युनिख स्टुडियोले विश्वव्यापी मार्केटिङ र ब्रान्ड रणनीतिमा पनि योगदान पुर्याउनेछ । यसले नयाँ बजारको मागअनुसार उत्पादनहरूलाई छिटो अनुकूल बनाउन सहयोग गर्ने विश्वास गरिएको छ । यस पहलले प्रिमियम सेग्मेन्टमा डोंगफेङको उपस्थितिलाई थप मजबुत बनाउनेछ । युरोपमा गुणस्तर र सौन्दर्यका उच्च मापदण्डलाई ध्यानमा राख्दै कम्पनीले आफ्नो स्थान सुदृढ गर्ने लक्ष्य लिएको छ । घरेलु बजार बाहिर विस्तार गर्ने रणनीति अनुरूप डोंगफेङले युरोपमा डिजाइन केन्द्र स्थापना गरेको हो । युरोपेली ट्रेण्डलाई ध्यानमा राखेर एम हिरो र भोएज मोडेल विकास गर्नु युरोपियन युनियनमा सफल विस्तारका लागि महत्वपूर्ण हुने अपेक्षा गरिएको छ ।
६५ घण्टापछि स्याङ्जामा बिजुली
काठमाडौं । चट्याङका कारण ट्रान्सफर्मरमा क्षति पुगेपछि अवरुद्ध भएको स्याङ्जाको वालिङ र भीरकोट नगरपालिका क्षेत्रको विद्युत् सेवा करिब ६५ घण्टापछि पुनः सुचारु भएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठको सचिवालयले सेवा पुनःस्थापनाका लागि समन्वयकारी भूमिका निर्वाह गरेको हो । आइतबार बिहानदेखि विद्युत् अवरुद्ध हुँदा करिब १३ हजार सेवाग्राही (घर, स्वास्थ्य, सञ्चार र अन्य अत्यावश्यक सेवाहरू) प्रभावित भएका थिए । उक्त सूचना मन्त्रालयमा प्राप्त भएसँगै सचिवालय सक्रिय भएको थियो । उक्त क्षेत्रमा बुटवल पावर कम्पनीको वितरण प्रणालीमार्फत विद्युत् आपूर्ति हुँदै आएको छ । कम्पनीको ट्रान्सफर्मर मर्मत गर्न तीन साताभन्दा बढी समय लाग्ने देखिएपछि वैकल्पिक उपाय अपनाइएको हो । समस्या समाधानका लागि नेपाल विद्युत प्राधिकरणको हेटौंडास्थित कार्यालयबाट ३ एमभीए क्षमताको ट्रान्सफर्मर झिकाएर स्याङ्जामा जडान गरिएको छ । कम्पनीको ट्रान्सफर्मर पूर्ण रूपमा मर्मत नहुन्जेलसम्मका लागि प्राधिकरणले उक्त ट्रान्सफर्मर भाडामा उपलब्ध गराएको हो । स्थानीयबासी, नेपाल विद्युत प्राधिकरणका सम्बन्धित शाखाका कर्मचारी तथा बुटवल पावर कम्पनीका प्राविधिक टोलीको सक्रियतासँगै आपतकालीन अवस्थामा छोटो अवधिमै अन्तरनिकायबीच समन्वय गरी सेवा सुचारु भएको हो ।
बुवाको पथ पछ्याउँदै प्रवलजंग
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको एसोसिएट उपाध्यक्षमा प्रवलजंग पाण्डे निर्वाचित भएका छन् । उनले ज्योत्सना श्रेष्ठलाई पराजित गर्दै एसोसिएट उपाध्यक्षमा विजयी हासिल गरेका हुन् । निजी क्षेत्रको नेतृत्वमा उनको आगमनले नयाँ पुस्ताको उपस्थिति अझ स्पष्ट बनाएको छ । हाल महासंघको कार्यकारिणी सदस्यका रूपमा रहेका उनी अब उपाध्यक्ष बनेका हुन् । महासंघभित्र उनको बढ्दो प्रभाव र लामो समयदेखि गरिएको संस्थागत अभ्यासलाई उपहारस्वरूप उनलाई उद्योगी व्यवसायीले मत दिएर जिताएका छन् । व्यावसायिक परिवारमा जन्मिएका पाण्डे महासंघका पूर्वअध्यक्ष प्रदीपजंग पाण्डेका छोरा हुन् । उनी बुवाको पथ पछ्याउँदै महासंघको पदाधिकारीमा पुगेका हुन् । उनले आफ्नो पहिचान केवल पारिवारिक विरासतमा सीमित नराखी दुई दशकभन्दा बढीको व्यावहारिक अनुभव र विविध क्षेत्रमा सक्रिय संलग्नतामार्फत आफूलाई एक सक्षम व्यवसायिक नेताका रूपमा स्थापित गरेका छन् । इन्जिनियरिङ पृष्ठभूमि भएका ५१ वर्षीय पाण्डेले आफ्नो करियरको सुरुआत नेपाल टेलिकमबाट गरेका थिए । त्यहाँ काम गर्दा उनले प्रविधि, संरचना र व्यवस्थापनका आधारभूत पक्षहरू नजिकबाट बुझ्ने अवसर पाए, जसले पछि व्यावसायिक यात्रामा विश्लेषणात्मक र प्रणालीगत सोच विकास गर्न सहयोग पुर्यायो । त्यसपछि उनी निजी क्षेत्रमा प्रवेश गर्दै सिमेन्ट, औषधि, बैंकिङ र बीमाजस्ता विविध क्षेत्रमा आफ्नो लगानी र संलग्नता विस्तार गर्दै गए । हाल उनी कसमस सिमेन्ट र इस्टर्न कसमसका निर्देशकका रूपमा कार्यरत छन् भने लोमस फर्मास्युटिकल्सका सञ्चालक पनि हुन् । यसका साथै, फर्चुना ग्रुपमार्फत औषधि प्याकेजिङ सामग्री उत्पादनमा उनको भूमिका छ । स्वास्थ्य उद्योगको आपूर्ति श्रृंखलामा समेत उनको योगदान छ । पाण्डेको संलग्नता केवल उत्पादन उद्योगमा मात्र सीमित छैन । उनी निजी क्षेत्रबाट सञ्चालित डाटा हबमा समेत आबद्ध छन्, जहाँ बैंक तथा वित्तीय क्षेत्रदेखि लिएर समग्र निजी क्षेत्रका तथ्यांकहरू संकलन र व्यवस्थापन गरिन्छ। यससँगै उनी सिटिजन्स बैंक इन्टरनेसनलका अध्यक्षका रूपमा पनि कार्यरत छन्, जसले वित्तीय क्षेत्रसँगको उनको गहिरो सम्बन्धलाई थप मजबुत बनाएको छ । महासंघमा उनले तीन कार्यकाल कार्यकारीणी सदस्यका रूपमा जिम्मेवारी सम्हालिसकेका छन्, जसले संगठनभित्रको प्रक्रियागत ज्ञान, नेटवर्क र नेतृत्व क्षमतालाई परिपक्व बनाएको छ । अघिल्लो निर्वाचनमा पनि उनले उपाध्यक्ष पदमा दाबी गरेका थिए । तर, टिम व्यवस्थापनको रणनीतिका कारण प्रतिस्पर्धाबाट पछि हटेका थिए । यसपटक भने उनले स्पष्ट तयारी र एजेन्डासहित मैदानमा उत्रिए र अन्ततः एसोसिएट उपाध्यक्ष बन्न सफल भए । अहिले निजी क्षेत्रको मनोबल निकै खस्किएको समय छ, लामो समयदेखि लगानीका लागि अनुकूल वातावरण बनेको छैन । उनी सरकार र निजी क्षेत्रको मध्येस्थता गरेर सुधार ल्याउने दाबी गर्दै आएका छन् । ‘यस बेलामा निजी क्षेत्रले आफ्नो धारणा स्पष्ट रूपमा लैजानु पर्ने हुन्छ । लामो समय यो क्षेत्रमा काम गरेको र महासंघमा विभिन्न भूमिका निभाएको कारण मैले यो पदको न्याय गर्छु,’ उनले भनेका छन्, ‘दोस्रो पटक म उपाध्यक्ष बन्दिनँ पनि ।’ उनका अनुसार मुलुकको अर्थतन्त्रलाई पुनः चलायमान बनाउन दोस्रो चरणको आर्थिक सुधार अपरिहार्य छ । उनी नीतिगत स्थिरतालाई लगानीको आधार मान्दै कर प्रणालीलाई वैज्ञानिक बनाउनु पर्ने, बहुदरको मूल्य अभिवृद्धि कर (भ्याट) लागू गर्नुपर्ने र कर चुहावट नियन्त्रणका लागि प्रभावकारी संयन्त्र आवश्यक रहेको बताउँछन् । आयकर दर घटाउने, उद्योगका लागि सहुलियत दरमा विद्युत उपलब्ध गराउने, उत्पादन लागत कम गर्ने र व्यवसायमैत्री वातावरण निर्माण गर्ने नीति आवश्यक रहेको उनको धारणा छ । उनले हवाई टिकटमा लगाइएको भ्याट खारेज गर्नुपर्ने, मुद्रास्फीतिका आधारमा श्रमिक र निजी क्षेत्रबीच सहकार्य गर्दै न्यूनतम तलब निर्धारण गर्नुपर्ने र भूतप्रवाही कर नलगाउने प्रतिबद्धता सुनिश्चित गर्नुपर्ने विषय उठाउँदै आएका छन् । प्रवलजंग पाण्डे एक यस्ता व्यवसायी हुन्, जसले इन्जिनियरिङ पृष्ठभूमि, विविध औद्योगिक अनुभव र संस्थागत संलग्नताको संयोजनमार्फत आफूलाई निजी क्षेत्रको उदीयमान नेताका रूपमा स्थापित गरेका छन् ।
महासंघको एसोसिएट उपाध्यक्षमा पाण्डे विजयी
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको एसोसिएट उपाध्यक्षमा प्रवलजंग पाण्डे विजयी भएका छन् । १ हजार ७९ मत ल्याउँदै उनी विजयी भएका हुन् । उनका प्रतिस्पर्धी ज्योत्सना श्रेष्ठले ७५० मत ल्याइन् । पाण्डे लोमस फर्मास्युटिकल्स र कसमस सिमेन्टका सञ्चालक हुन् । उनी सिटिजन्स बैंकको अध्यक्षको रूपमा पनि कार्यरत छन् ।