पोखरामा दोस्रो नेपाल-चीन ड्रागन बोट रेस आयोजना हुने
काठमाडौं । पोखरामा दोस्रो नेपाल चीन मैत्रीपूर्ण ड्रागन बोट रेस आयोजना हुने भएको छ । नेपालको पर्यटन प्रर्वद्धन गर्ने उद्देश्यका साथ गण्डकी प्रदेश सरकार, पोखरा महानगरपालिका, नेपालस्थित चिनियाँ दूतावास र नेपाल पर्यटन बोर्डको संयुक्त आयोजनामा पोखरामा दोस्रो नेपाल(चीन मैत्रीपूर्ण ड्रागन बोट रेस आयोजना हुने भएको हो । आगामी पुस १४ र १५ गते आयोजना हुन लागेको ड्रागन बोट प्रतियोगिताको दोस्रो संस्करणमा नेपालका ११, चीनका ८ र सिंगापुरका एक गरी २० वटा समूहको सहभागिता रहने आइतबार पर्यटन बोर्डमा आयोजित पत्रकार सम्मलेनमा जानकारी दिइएको छ । २ सय मिटर र ५ सय मिटर दुरीमा आयोजना गरिने प्रतियोगितामा दुवै दुरीका प्रथम हुने विजेता समूहले पाँच हजार डलर, उपविजेताले दुई हजार डलर, तृतीयले १ हजार २०० सय डलर पुरस्कार प्राप्त गर्नेछन् । त्यसैगरी, सहभागी बाँकी १७ वटा समूहलाई प्रति समूह पाँच सय डलर पनि प्रदान गरिनेछ । ड्रागन बोटको दोस्रो संस्करण पनि फेवातालमै हुनेछ । चीन सरकारकै अगुवाइमा नेपालमा पहिलो पटक सन् २०२३ मा ड्रागन बोट फेस्टिवल पटक सफलतापूर्वक आयोजना गरिएको थियो । चीनले यस खालका प्रतियोगिता विश्वका ५० वटा देशमा आयोजना गर्ने गरेको छ । सो अवसरमा बोल्दै नेपालका लागि चिनीया राजदुतावासमा डेपुटी चप्फ अफ मिशन वाङ सिनले प्रतियोगिताले नेपाल र चीनका नागरिकबीच सुमधुर सम्बन्ध स्थापित हुनाको साथै नेपालको पर्यटन प्रर्वद्धन हुने अपेक्षा राखिएको बताए । उनले नेपालको पर्यटन प्रर्वद्धन गर्न चीन सधैं सकारात्मक रहेको उल्लेख गरे । नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख दीपकराज जोशीले चीन नेपालको प्रमुख पर्यटकीय स्रोत बजार पनि भएको उल्लेख गर्दै ड्रागन बोट रेसले पोखराको पर्यटन प्रर्वद्धनमा सहयोग पुग्ने बताए । उनले ड्रागन बोट रेसले पोखराको पर्यटनमा नयाँ आर्कषण समेत थपेको बताए । चिनियाँले मनाउने यस पर्वलाई सन् २००९ देखि युनेस्कोले मानवताको अमूर्त सांस्कृतिक सम्पदा मानेको छ । चीनमा प्रचलित लुनार क्यालेण्डरको पाँचौं महिनाको पाँच गते चीनमा ड्रागन बोट फेष्टिभल आयोजना हुन्छ । चीनका विभिन्न प्रान्तमा ३ देखि ७ दिनसम्म यस चाड मनाउने परम्परा रहेको छ । यस चाड मनाउन चीन सरकारले सार्वजनिक विदा दिएको हुन्छ । चीनमा बालबालिकादेखि बुढाबुढीसम्मले हर्षोल्लासपूर्वक यस चाड मनाउने गर्दछन् । चिनियाँ भाषामा ‘डुआन्वु जी’ भनिने ड्रागन बोट फेष्टिभल चीनको चारवटा ठूला चाडमध्ये एक हो । चीनमा ड्रागनलाई सकारात्मक शक्तिको रूपमा लिइने गरिन्छ । सन् २०१९ मा चीनबाट १ लाख ६९ हजार ५३४ जना र २०२३ मा ६० हजार ८७४ पर्यटकले नेपाल भ्रमण गरेका थिए । सन् २०२४ को जनवरीदेखि नोभेम्बरसम्म ९२ हजार ८४८ जना चिनीयाँ पर्यटकले नेपाल भ्रमण गरेका छन् ।
नेपालमा वित्तीय दुरुपयोग समाधान गर्न लक्ष्मी सनराइज बैंक र आएफसीबीच सम्झौता
काठमाडौं । लक्ष्मी सनराइज बैंकले नेपालमा वित्तीय दुरुपयोग समाधान गर्न अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) सँगको साझेदारीमा ‘एम्पावर फाइनान्स एलायन्स’ अन्तर्गत सम्झौतामा हस्ताक्षर गरेको छ । नेपालमा यसप्रकारको पहिलो पहलको रूपमा गरिएको यो सम्झौताले वित्तीय दुरुपयोगलाई सम्बोधन गर्दै यसलाई समाधान गर्न कदमहरू चाल्ने विश्वास बैंकले लिएको छ । अष्ट्रेलिया सरकारको विदेश मामिला तथा व्यापार विभागको समर्थन प्राप्त यस साझेदारीले वित्तीय सुरक्षा सुधार र समावेशी आर्थिक वृद्धिलाई टेवा पुर्याउने जनाइएको छ । पति-पत्नि, वृद्ध आफन्त वा घरपरिवारका अन्य सदस्यहरूमाथि नियन्त्रण जमाउँदै हुने वित्तीय स्रोतहरूको दुरुपयोग वित्तीय दुरुपयोग हो । यसमा परिवारका सदस्यहरूको बैंक खाता र कर्जाजस्ता वित्तीय साधनहरूको दुरुपयोग जस्तै- आफ्नो बैंक खाता आफ्नो नभई अरूको नियन्त्रणमा हुनु, वित्तीय संस्थाहरूबाट आफ्नो लागि नभई अरूका लागि ॠण लिन बाध्य बनाइनुजस्ता क्रियाकलापहरू पर्दछन् । यसले वित्तीय समावेशीकरणका प्रयासलाई कमजोर बनाउनुका साथै वित्तीय नोक्सान, क्रेडिट रेटिङ तथा प्रतिष्ठानमा नकारात्मक असर र वित्तीय संस्थाप्रतिको विश्वासको संकट निम्त्याउने जस्ता गम्भीर प्रभाव पार्न पनि सक्छ । ‘वित्तीय दुरुपयोगले जनजीवनमा विभिन्न अवरोध पुर्याउनुका साथै वित्तीय प्रणालीप्रतिको विश्वासलाई पनि घटाउँछ । यस साझेदारीमार्फत हामी वित्तीय दुरुपयोगलाई पहिचान र रोकथाम गर्न वित्तीय संस्थाहरूमा नै मानकहरू लागू गरी प्रणालीगत सुधार ल्याउन र वित्तीय गतिविधिहरूका लागि सुरक्षित वातावरण सिर्जना गर्न चाहन्छौं,’ आईएफसीका बङ्गलादेश, भुटान र नेपालको देशीय प्रबन्धक मार्टिन होल्टमानले भने । ‘एम्पावर फाइनान्स एलायन्स’ मार्फत आईएफसीले लक्ष्मी सनराइज बैंकलाई सुरक्षित बैंकिङ सेवाहरू विकास गर्न आवश्यक मार्गनिर्देशन दिनेछ । यसले बैंकलाई वित्तीय दुरुपयोग रोकथाम र समाधानमा आफ्नो भूमिका परिभाषित गर्न र कार्यान्वयनको अवस्था जानकारीका लागि आन्तरिक परीक्षण गर्न सहयोग पुर्याउने विश्वास लिइएको छ । ‘यो साझेदारी बैंकिङ क्षेत्रमा वित्तीय दुरुपयोग जस्तो महत्त्वपूर्ण तर प्रायः बेवास्ता गरिने समस्यालाई समाधान गर्नेतर्फ एक महत्त्वपूर्ण कदम हो,’ लक्ष्मी सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अजय विक्रम शाहले भने, ‘आईएफसीसँगको सहकार्यमा हामी वित्तीय सेवाहरूमा सुरक्षा र समावेशीतालाई पुनःपरिभाषित गर्दै नयाँ मापदण्डहरू स्थापना गर्ने र संवेदनशील समूहहरूका लागि सुरक्षित वातावरण सिर्जना गर्ने लक्ष्य राखेका छौं ।’ गत अगस्ट महिनामा आईएफसीद्वारा अष्ट्रेलिया सरकारको समर्थनमा सुरु गरिएको ‘एम्पावर फाइनान्स एलायन्स’ मा नेपाल, पपुआ न्यु गिनी, श्रीलंका, भानुआतु, र भियतनामका नौ वित्तीय संस्थाहरू समावेश छन्, जसले सामूहिक रूपमा ३ करोडभन्दा बढी ग्राहकहरूलाई सेवा प्रदान गर्दछन् । हरेक बैंकसँग सहकार्य गर्दै यस एलायन्सले वित्तीय दुरुपयोगको जोखिम घटाउन सुरक्षित बैंकिङ सेवाहरूको मूल्याङ्कन, डिजाइन र विकास गर्न मार्गनिर्देशन प्रदान गर्दछ । यो सहकार्यले लक्ष्मी सनराइज बैंक र आईएफसीको समावेशीतालाई प्राथमिकता दिँदै सुरक्षित र न्यायसंगत वित्तीय प्रणाली सिर्जना गर्ने साझा दृष्टिकोणलाई पुष्टि गर्दछ । ‘एम्पावर फाइनान्स एलायन्स’ कार्यक्रम वित्तीय दुरुपयोग समाधान गर्न र उपेक्षित समुदायहरूको समर्थन गर्न बैंकिङ क्षेत्रका लागि नयाँ र उदाहरणीय पहल हो ।
रवि लामिछानेको सांसद पद स्वत: निलम्बनमा पर्ने
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको सांसद पद स्वत: निलम्बनमा पर्ने भएको छ । सम्पत्ति शुद्धिकरण (मनी लाउण्डरिङ) निवारण ऐन, २०६४ (संशोधनसहित)को दफा (२७) बमोजिम उनको सांसद स्वतः निलम्बन हुने भएको हो । लामिछानेउपर दफा २२ बमोजिम मुद्दा दायर भएकोमा सो मुद्दाको किनारा नभएसम्म सांसद पद निलम्बन भएको हो । ‘प्रचलित कानून बमोजिम स्थापित संगठित संस्थाको कुनै पदाधिकारी वा कर्मचारी वा कुनै राष्ट्र सेवक यस ऐन बमोजिम थुनामा रहेकोमा त्यसरी थुनामा रहेको अवधिभर र निज उपर दफा २२ बमोजिम मुद्दा दायर भएकोमा सो मुद्दाको किनारा नभएसम्म त्यस्तो कर्मचारी, पदाधिकारी वा राष्ट्र सेवक स्वतः निलम्बन भएको मानिनेछ,’ ऐनमा भनिएको छ । रास्वपाका सभापति लामिछानेविरुद्ध आइतबार जिल्ला अदालत, कास्कीमा मुद्दा दर्ता भएको छ । उनीविरुद्ध सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणमा मुद्दा दायर भएको हो । जिल्ला सरकारी वकिलको कार्यालय, कास्कीले सम्पत्ति शुद्धीकरणमा २७ करोड ८९ लाख ४४ हजार ७०५ रुपैयाँ जरिबानासहित बिगो दाबी गरिएको जनाएको छ ।
पाँच महिनामा ६ खर्ब ६१ अर्बको आयात, ७३ अर्बको निर्यात
काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो पाँच महिनामा ६ खर्ब ६१ अर्ब ४८ करोड ८५ लाख रुपैयाँ बराबरको वस्तु आयात भएको छ । यो गत आवको सोही अवधिको तुलनामा तीन प्रतिशतले बढी हो । गत आवको सोही अवधिमा ६ खर्ब ४२ अर्ब २० करोड रुपैयाँ बराबरको वस्तु आयात भएको थियो । नेपालले पाँच महिनामा ६ खर्ब ६१ अर्ब रुपैयाँ बराबरको वस्तु आयात गर्दा एक खर्ब ८५ अर्ब २१ करोड राजश्व संकलन गरेको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आवको मंसिर मसान्तसम्ममा ७३ अर्ब ६५ करोड रुपैयाँ बराबरको निर्यात भएको छ । यो गत आवको सोही अवधिको तुलनामा १६.५४ प्रतिशतले बढी हो । गत आवको सोही अवधिमा ६३ अर्ब २० करोड रुपैयाँ बराबरको निर्यात भएको थियो । भन्सार विभागको तथ्यांकअनुसार पाँच महिनामा नेपालको विभिन्न देशसँगको व्यापारघाटा ५ खर्ब ८७ अर्ब ८२ करोड पुगेको छ ।
नागरिक लगानी कोष र म्याग्दी हाइड्रोपावरबीच सेयर प्रत्याभूति सम्झौता
काठमाडौं । नागरिक लगानी कोष र म्याग्दी हाइड्रोपावर लिमिटेडबीच सेयर प्रत्याभूति गर्ने सम्झौता भएको छ । सम्झौतामा कोषका कार्यकारी निर्देशक पर्वत कुमार कार्की र म्याग्दी हाइड्रोपावरका अध्यक्ष भरतप्रसाद नेपालले आइतबार हस्ताक्षर गरेका हुन् । म्याग्दी हाइड्रोले प्रति सेयर एक सय रुपैयाँका दरले ४७ लाख ४५ हजार कित्ता बापतको ४७ करोड ४५ लाख रुपैयाँ बराबरको सेयर निष्कासन गर्ने सम्बन्धमा कोषसँग प्रत्याभूति सम्झौता गरेको हो । सम्झौताको अवधि हस्ताक्षर भएको मितिले ६ महिनासम्म रहने छ ।
खर्च घटाउँदै टाटा समूह, अब त्रैमासिकको सट्टा हरेक महिना अनुगमन
काठमाडौं । टाटा सन्सको सबैभन्दा ठूलो सेयरहोल्डर टाटा ट्रस्टले सञ्चालन खर्चलाई कम गर्ने तयारी गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । टाटा ट्रस्टले राम्रोसँग व्यवस्थापन गर्न र आफ्नो कोषको अन-ग्राउन्ड प्रभावलाई बढाउन परियोजना अनुगमन प्रक्रियालाई कडा बनाएको हो । अहिले त्रैमासिकको सट्टा मासिक रूपमा समीक्षा भइरहेको स्रोतको भनाइ छ । टाटा सन्स टाटा समूहको होल्डिङ कम्पनी हो । टाटा समूह भारतको सबैभन्दा ठूलो औद्योगिक घराना हो । महँगो मूल्य संरचनाका कारण ट्रष्टीहरूले केही महिनाअघि आन्तरिक लेखापरीक्षण गरेको स्रोतले जनाएको छ । यसमा धेरै विसंगति भएको खुल्न आएको छ । यसका लागि ट्रस्टीहरूले अनुगमन प्रणालीलाई कडा बनाएका हुन् । साथै ट्रष्टको लेखापरीक्षण प्रणालीलाई सुदृढ गरिएको छ र अब यसले सिधै प्रमुख कार्यकारीलाई रिपोर्ट गर्नेछ । कार्यकारी समिति र बोर्ड अफ ट्रस्टीहरू अद्यावधिक गर्ने जिम्मेवारी प्रमुख कार्यकारीको हो । अधिकारीहरूका अनुसार स्वर्गीय रतन टाटाको नेतृत्वमा गठित कार्यकारी समितिले लागतको नजिकबाट अनुगमन गरिरहेको छ र त्यसलाई जारी राख्नेछ । मेनपावर लागत निर्णय प्रक्रियालाई व्यापक बनाउन ट्रस्टहरूको प्रबन्धन एक व्यक्तिको सट्टा सामूहिक रूपमा गरिएको हो । हालका चार ट्रस्टीहरू नोएल टाटा, मेहली मिस्त्री, वेणु श्रीनिवासन र विजय सिंह हुन् । टाटा सन्सको इक्विटी पुँजीको झन्डै ६६ प्रतिशत परोपकारी ट्रस्टहरूको नियन्त्रणमा छ । यी ट्रस्टहरूले टाटा सन्सबाट लाभांश प्राप्त गरेर आफ्नो कोष जुटाउँछन् । पछिल्ला वर्षहरूमा, टाटा ट्रस्टले धेरै डाइरेक्ट इम्प्लिमेण्टेशन (डीआई) परियोजनामा संलग्न हुँदा यसको मेनपावर लागत बढेको छ । यी परियोजनाहरू ठेकेदारमार्फत ट्रस्टको दानको हिस्साको रूपमा लागू गरिएका थिए । ट्रस्टहरूले कर सम्बन्धी उद्देश्यका लागि डीआई परियोजनाहरूमा आफ्नो कोषको सानो हिस्सा खर्च गर्नु आवश्यक छ । यद्यपि टाटा ट्रस्टले यसबारे कुनै टिप्पणी गरेको छैन । छानबिनको दायरमा परिचालित लागत टाटा ट्रस्टले परम्परागत रूपमा शिक्षा, स्वास्थ्य, ग्रामीण विकास र अन्य क्षेत्रमा अनुदान दिने गरेको छ । यद्यपि, परिचालन लागतहरू छानबिनको दायरामा आएका छन् । टाटा ट्रस्टले अक्टोबर ११ मा समूहलाई नियन्त्रण गर्ने परोपकारी संस्थाहरूको नेतृत्व गर्न नोएल टाटालाई अध्यक्षको रूपमा नियुक्त गरेको थियो । उनी पहिले नै दुई मुख्य निकाय, सर दोराबजी टाटा ट्रस्ट र सर रतन टाटा ट्रस्टको ट्रस्टी थिए ।
पाथीभरालाई विश्व सम्पदा सूचीमा समावेश गर्न पहल गरिने
ताप्लेजुङ । ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरलाई विश्व सम्पदा सूचीमा समावेश गर्नका लागि पाथीभरा क्षेत्र विकास समितिले पहल गर्ने निर्णय लिएको छ । पाथीभरा क्षेत्र विकास समितिको बैठकले पाथीभरालाई विश्व सम्पदा सूचीमा समावेश गर्न र एक अन्तर्राष्ट्रिय सम्पदाको रूपमा विकास गर्न महत्वपूर्ण कदम चाल्ने निर्णय गरेको समितिका कार्यकारी निर्देशक प्रजिन हाङबाङले बताए । यसका लागि पाथीभरा क्षेत्र विकास समितिले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गतको पुरातत्व विभागसँग समन्वय गर्दै पाथीभरालाई विश्व सम्पदा सूचीमा सूचीकरण गर्नका लागि औपचारिक अनुरोध गर्ने निर्णय गरेको हाङ्बाङले जानकारी दिए । पाथीभरा मन्दिर नेपालका प्रमुख शक्तिपीठमध्ये एक हो । धार्मिक, ऐतिहासिक र सांस्कृतिक रूपमा महत्वपूर्ण मानिने पाथीभरालाई विश्व सम्पदा सूचीमा समावेश गर्नु महत्वपूर्ण कार्य भएकाले यसका लागि पहल सुरु गरिएको समितिका अध्यक्ष रक्की थेबेले बताए । पाथीभरा मन्दिरमा वार्षिक स्वदेशी तथा विदेशी गरि लाखौँको सङ्ख्यामा भक्तजन आउने गरेका छन् । पाथीभराको दर्शन गरे मनोकामना पूरा हुने जनविश्वास रहेकाले हरेक वर्ष यहाँ आउने भक्तजनको दर बढ्दै गएको समितिले जनाएको छ ।
१० ठूला वाणिज्य बैंकको लेखापरीक्षण गराउन राष्ट्र बैंकले फेरि अघि बढायो प्रक्रिया
काठमाडौं । नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरूको लेखापरीक्षण गर्ने प्रक्रिया पुनः अगाडि बढाएको छ । अन्तर्राष्ट्रिय लेखापरीक्षक फर्मबाट विभिन्न १० ठूला वाणिज्य बैंकको लेखापरीक्षण गराउन नेपाल राष्ट्र बैंकले पुनः बोलपत्र आह्वान गरेको हो । राष्ट्र बैंकले बैंकहरूको लेखापरीक्षण गराउन इच्छुक विदेशी लेखापरीक्षक कम्पनीलाई बोलपत्र पेश गर्न आह्वान गरेको हो । यसअघि बैंकहरूको लेखापरीक्षण गर्न छनोट भारतको केपीएमजी एसुरेन्स एण्ड कन्सल्टिङ सर्भिसेज प्रालि छनोट भएको थियो । लागत अनुमान र उपलब्ध बजेटभन्दा छनौट भएको प्रस्तावदाताको लागत सारभूत रूपमा बढी भएकाले छनोट प्रक्रिया रद्द गरेको राष्ट्र बैंकको भनाइ छ । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)सँगको शर्तअनुसार १० वटा ठूला बैंकको लेखापरीक्षण गर्न लागेको हो । आईएमएफसँगको शर्तअनुसार बैंकहरूले कुन क्षेत्रमा कति कर्जा प्रवाह गरेका छन् र लोन पोर्टफोलियो रिभ्यूको अध्ययन गर्न लेखापरीक्षण गर्न लागिएको राष्ट्र बैंकले जनाएको छ । इच्छुक योग्यता, अनुभव र क्षमता भएका लेखापरीक्षक कम्पनीले पुस २२ गतेभित्र बोलपत्र पेश गरिसक्नुपर्ने राष्ट्र बैंकले जनाएको छ । छनोट गर्दा व्यक्ति वा संस्थाको योग्यतालाई ५० प्रतिशत, अनभुवलाई ४० प्रतिशत र क्षमतामा १० प्रतिशतसम्म अंक प्रदान गर्ने राष्ट्र बैंकले जनाएको छ । साथै, सर्टलिष्टमा पर्न भने ६० अंक ल्याउनुपर्ने हुन्छ । राष्ट्र बैंकले यअसघि बोलपत्र आह्वान गर्दा नेदरल्याण्ड, भारत र पाकिस्तानका लेखापरीक्षक प्रारम्भिक छनोटमा परेका थिए । नेदरल्याण्ड्सको डिलोइट फाइनान्सियल एड्भाइजरी, ज्वाइन्टभेन्चर कम्पनी सीएसी (प्राइस वाटरहाउस कुपर), एसआरबिए एण्ड बिके अग्रवाल चार्टर्ड एकाउन्टेन्ट्स (एसआर ब्याट्लीबोइ एण्ड एसोसिएट), भारतको केपीएमजी एसुरेन्स एण्ड कन्सल्टिङ र पाकिस्तानको केपीएमजी इस्लामाबाद लेखापरीक्षण सर्टलिष्ट भएका थिए ।