विकासन्युज

नबिल बैंकद्वारा जाजरकोट र रुकुम पश्चिमका भूकम्प पीडिलाई अस्थायी आवास हस्तान्तरण

काठमाडौं । नबिल बैंकले जाजरकोट र रुकुम पश्चिमका भूकम्प प्रभावितलाई अस्थायी आवास हस्तान्तरण गरेको छ । आइतबार एक कार्यक्रम बीच नबिल बैंकका अध्यक्ष उपेन्द्रप्रसाद पौडेलले नलगाड नगरपालिकाका मेयर डम्बरबहादुर रावत र चौरजहारी नगरपालिकाका मेयर पुष्प वादीलाई ९६ वटा अस्थायी आवास हस्तान्तरण गरेका हुन् । बैंकले निर्माण गरिदिएको अस्थायी आवास हस्तान्तरण कार्यक्रममा नबिल बैंकका अध्यक्ष पौडेलले बैंक समाजमा सकारात्मक प्रभाव पार्न सधैं प्रतिबद्ध रहेको बताए । प्राकृतिक प्रकोपबाट प्रभावितलाई सहयोग पुर्‍याउने उद्देश्यले सामाजिक उत्तरदायित्व अन्तर्गत बैंकले यो परियोजना अघि बढाएको उनले बताए । नबिलले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत अस्थायी आवास निर्माण गरेको हो । बैंकले स्थानीय सरकारसँगको साझेदारीमा जाजरकोटको नलगाड नगरपालिका- १ मा ४७ र रुकुम पश्चिमको चौरजहारी नगरपालिका- १ मा ४९ अस्थायी आवास निर्माण गरेको थियो । बैंकले अस्थायी आवास बनाउन आवश्यक जस्तापाता, बाँस, सिमेन्ट, रंगरोगन, किल्लाकाँटीजस्ता निर्माण सामग्री उपलब्ध गराएको थियो । कार्यक्रममा नलगाड नगरपालिकाका मेयर डम्बरबहादुर रावत र चौरजहारी नगरपालिकाका मेयर वादीले भूकम्प प्रभावितलाई सुरक्षित ओत लाग्ने ठाउँ उपलब्ध गराएकोमा नबिल बैंकलाई धन्यवाद दिए । कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगाना, बैंकका सञ्चालक निर्वाण चौधरी लगायत उपस्थिति थिए । १७ कात्तिक २०८० मा जाजरकोटको बारेकोट गाउँपालिका-१, रामीडाँडा केन्द्रबिन्दु भएर गएको ६.४ रेक्टर स्केलको भूकम्पले जाजरकोट र रुकुम पश्चिममा ठूलो क्षति पुर्‍याएको थियो । नबिल बैंकले प्रभावित क्षेत्रको जनताको सहयोगका लागि एक करोड रुपैयाँको बराबरको सहयोगको घोषणा गरेको थियो । सोही अनुरूप तत्काल राहत सामाग्री वितरण गर्नुका साथै अस्थायी आवास निर्माण गरिदिने घोषणा बै‌ंकले गरेको थियो ।

नेपाल बैंकर्स एसोसिएसन लुम्बिनी प्रदेश समिति गठन, संयोजकमा नेपाल बैंकका कँडेल

काठमाडौं । नेपाल बैंकर्स एसोसिएसन लुम्बिनी प्रदेश समिति गठन भएको छ । लुम्बिनी प्रदेशमा रहेका वाणिज्य बैंकहरुमा आबद्ध प्रदेश प्रमुखहरुको भेलाले नेपाल बैंक लिमिटेडका प्रदेश प्रमुख अर्जुन कँडेलको संयोजकत्वमा समिति गठन गरेको हो । नवगठित समितिमा एक संयोजक, दुई सह–संयोजक र १७ जना सदस्य रहने गरी समिति बनाइएको छ । समितिको सह–संयोजकमा प्राइम कमर्सियल बैंक लिमिटेडका प्रदेश प्रमुख कुश सुदन सिंह र नबिल बैंकका प्रदेश प्रमुख अमित केसी चयन भएका छन् । वित्तीय साक्षरता, सामाजिक उत्तरदायित्व तथा सेवामूलक कार्यहरु गर्ने उद्देश्यले गठन भएको बैंकर्स एसोसिएसन लुम्बिनी प्रदेश समितिले वित्तीय क्षेत्रमा काम गर्ने सेवारत कर्मचारीहरूको क्षमता विकासका कार्यक्रम गर्ने सह–संयोजक कुश सुदन सिंहले बताए । उनका अनुसार समितिमा प्रदेशका २० वटा वाणिज्य बैंकहरुका प्रदेश प्रमुखहरू सदस्य छन् । समितिले वित्तीय अनुशासन, वित्तीय साक्षरता र सामाजिक उत्तरदायित्व लगायतका विषयलाई विशेष जोड दिने प्रदेश संयोजक अर्जुन कँडेलले बताए । उनले वित्तीय क्षेत्रमा काम गर्नेहरूको क्षमता, दक्षता विकाससँगै अवसर र चुनौतीका विषयमा कार्यक्रम गर्ने जानकारी दिए ।

लायन्स क्लबले डोलभन्ञ्याङ माध्यमिक विद्यालयलाई गर्‍यो २ लाख सहयोग

काठमाडौं । लायन्स क्लब अफ काठमाडौं सिद्धार्थ एभरग्रीनले धादिङको गजुरी–५, च्याङ्गलीस्थित डोलभन्ज्याङ माध्यमिक विद्यालयलाई  २ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ । विद्यालयको भौतिक संरचना र शैक्षिक गुणस्तर सुधारका लागि प्रदान गरिएको यो सहयोगले विद्यालयलाई नयाँ उचाइमा पुर्याउने विश्वास गरिएको छ । यस विद्यालयमा करिब ५०० विद्यार्थी अध्ययनरत छन् । विद्यालयमा आयोजित विशेष कार्यक्रममा प्रमुख अतिथि लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ आई का फस्ट भाइस डिस्ट्रिक्ट गभर्नर पार्वती खरेलले विद्यालयलाई प्रदान गरिएको सहयोगले शैक्षिक सुधारमा ठूलो भूमिका खेल्ने बताइन् । उनले भनिन्, ‘विद्यार्थीहरूले उज्ज्वल भविष्य निर्माण गर्न सजिलो होस् भन्ने हाम्रो प्रयास हो ।’ लायन्स क्लब अफ काठमाडौं सिद्धार्थ एभरग्रीनकी अध्यक्ष कल्पना बस्नेतले विद्यालयप्रति आफ्नो क्लबको प्रतिबद्धता प्रस्ट्याउँदै भनिन्, ‘विकट क्षेत्रका विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई सहयोग गर्नु हाम्रो प्राथमिकता हो । यस विद्यालयलाई प्रदान गरिएको यो सहयोगले शैक्षिक वातावरणलाई सुधार्नेछ ।’ विद्यालयका प्रधानाध्यापक अशोक कुमार घिमिरेले विद्यालयको समग्र विकासका लागि लायन्स क्लबले गरेको योगदानलाई धन्यवाद दिए । उनले भने, ‘यो सहयोगले विद्यार्थीहरूको शैक्षिक गतिविधिमा नयाँ उत्साह थप्नेछ। विद्यालयको भौतिक सुधारका लागि यो सहयोग अति नै आवश्यक थियो ।’ कार्यक्रमका विशेष अतिथि जोन २६ का जोन अध्यक्ष इन्जिनियर गणेश बहादुर सुनाम र लायन्स क्लब अफ काठमाडौं बिष्णुमतीका अध्यक्ष डा. रोमन बोगटीको अतिथिको रूपमा उपस्थिति थियो । कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रमोद रुपाखेतीको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा लायन्स क्लब अफ काठमाडौं सिद्धार्थ एभरग्रीनका सचिव सुष्मा आचार्य र कोषाध्यक्ष निरुपमा महर्जनको सक्रिय सहभागिता रहेको थियो ।

राष्ट्रिय सहकारी बैंकको ब्याजदर १ प्रतिशत, ६.७५ प्रतिशतमै कर्जा

काठमाडौं । राष्ट्रिय सहकारी बैंकले नयाँ ब्याजदर सार्वजनिक गरेको छ । सहकारी बैंकले पुस ८ गतेदेखि लागू हुने गरी बचत तथा कर्जामा नयाँ ब्याजदर निर्धारण गरेको हो । बैंकले बचततर्फ न्यूनतम १ प्रतिशतदेखि अधिकतम ५ प्रतिशतसम्म ब्याजदर तोकेको छ । जसमा साधारण बचत खातामा १ प्रतिशत, विशेष बचतमा १.२५ प्रतिशत, सुपर बचतमा १.५० प्रतिशतदेखि १.७५ प्रतिशत तोकिएको छ । यस्तै, एनसिबिएल समुन्नत बचच खातामा न्यूनतम १.२५ प्रतिशतदेखि अधिकतम १.७५ प्रतिशत, एनसिबिएल प्रिमियम बचतमा १.७५ प्रतिशत, अनिवार्य नियमित बचतमा ५.५० प्रतिशत र क्रमिक बचतमा ५ प्रतिशतदेखि ५.२५ प्रतिशतसम्म ब्याजदर निर्धारण गरेको बैंकले जनाएको छ । यस्तै, बैंकको मुद्दती निक्षेपमा न्यूनतम २.७५ प्रतिशतदेखि अधिकतम ४ प्रतिशतसम्म ब्याजदर तोकिएको छ । बैंकका अनुसार कर्जा तर्फ विभिन्न विभिन्न शिर्षकमा ६.२५ प्रतिशतदेखि ८.९९ प्रतिशतसम्म ब्याजदर निर्धारण गरिएको छ । बैंकका अनुसार घर घडेरी खरिद तथा भवन निर्माण कर्जाको स्वः लगानी नियमानुसार हुनेछ । मुद्दती निक्षेपको बिड रेट ४ प्रतिशतसम्म प्रस्ताव गर्न सकिने बैंकले जनाएको छ । अपाङ्ग, दलित र महिलाद्वारा संचालित संस्थालाई प्रकाशित ब्याजदरमा ०.५ प्रतिशतसम्म थपघट गर्न सकिने छ । यस्तो सुविधा दोहोरो हुनेगरी प्रदान गरिने छैन ।

जीवन विकास लघुवित्तको २१.३० लाख कित्ता सेयर बिक्रीमा, मूल्य ५२५ देखि ६ सय रुपैयाँसम्म

काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्थाको संस्थापक सेयर बिक्रीमा राखिएको छ । लघुवित्तका केही संस्थापक समूहका सेयरधनीहरूले सेयर बिक्रीमा राखेका हुन् । लघुवित्तका अनुसार १२ लगानीकर्ताले २१ लाख ३० हजार ८०५ कित्ता सेयर बिक्रीमा राखेका हुन् । बिक्रीकर्ता नम्बर १ देखि १२ सम्म उल्लेख गरी कोड नम्बर एदेखि एलसम्म राखेर सेयर बिक्रीमा राखेको हो । लघुवित्तको उक्त सेयरको मूल्य न्यूनतम प्रतिकित्ता ५२५ रुपैयाँदेखि अधिकतम ६ सय रुपैयाँसम्म तोकिएको छ । उक्त सेयर संस्थापक सेयरधनीले मात्रै खरिद गर्न पाउनेछन् । यदि ३५ दिनभित्र सेयर खरिद नगरेमा सर्वसाधारण लगानीकर्ताका लागि बिक्री खुला गरिनेछ ।

मुक्तिनाथ विकास बैंकले पुँजी वृद्धि गर्दै, मर्जरका लागि जोडि खोज्दै

काठमाडौं । मुक्तिनाथ विकास बैंकले पुँजी वृद्धि गर्ने भएको छ । बैंकले अविमोच्य असञ्चिति अग्राधिकार सेयर जारी गरी पुँजी वृद्धि गर्ने भएको हो । बैंकले प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका १ अर्बको मुक्तिनाथ ८.५ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार सेयर जारी गर्ने भएको हो । बैंकको हाल कायम अधिकृत पुँजी ८ अर्ब रुपैयाँबाट वृद्धि गरी १० अर्ब रुपैयाँ पुर्याउने, अग्राधिकार सेयर जारीपश्चात बैंकको हाल कायम जारी तथा चुक्ता पुँजी ७ अर्ब ४ करोड ६९ लाख ३८ हजार रुपैयाँलाई वृद्धि गरी ८ अर्ब ४ करोड ६९ लाख ३८ हजार रुपैयाँ पुर्याइने भएको छ । अग्राधिकार सेयर तथा अविमोच्य ऋणपत्र जारी गर्न प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्न बैंकले १८औँ वार्षिक साधारण सभा पुस २९ गते बोलाएको छ । बैंकको सभाले कुनै बैंक तथा वित्तीय संस्था एक आपसमा प्राप्ति तथा समाहितका लागि उपयुक्त बैंकको पहिचान गर्ने, सहमतिपत्रमा हस्ताक्षर गर्ने, सोको आधारमा सैद्धान्तिक स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकमा निवेदन दिने, सम्पत्ति दायित्वको मूल्याङ्कन गर्न परामर्शदाता, मूल्याङ्कनकर्ता, लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक तोक्ने लगायत आवश्यक कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिनेछ । वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन र आर्थिक वर्ष २०८१/८२ का लागि लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्नेछ । हालका लेखापरीक्षक श्री एपीएण्ड एशोसिएट्स, चाटर्ड एकाउण्टेन्ट्स पुनः नियुक्ति हुनका लागि योग्य रहेको बैंकले जनाएको छ । सभाले काठमाडौं महानगरपालिका-२८ कमलादीस्थित केन्द्रीय कार्यालयलाई महानगरपालिका–३ लाजिम्पाटमा स्थानान्तरण गर्न प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने र सञ्चालक समितिको बैठकबाट नियुक्त स्वतन्त्र सञ्चालकको नियुक्ति अनुमोदन गर्नेछ ।

सोनापुर मिनरल्स्ले बैंकबाट लियो पुँजी र सञ्चित मुनाफाभन्दा बढी ऋण

काठमाडौं । सोनापुर मिनरल्स् एण्ड आयलले चुक्ता पुँजी र सञ्चित मुनाफा (फ्रि रिजर्भ) भन्दा बढी रकम बैंकबाट ऋण लिएको छ । नियमित व्यवसाय तथा कारोबार गर्न कम्पनीले हाल कायम चुक्ता पुँजी र सञ्चित मुनाफाको जम्मा रकम भन्दा बढीको विभिन्न बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएको जनाएको छ । गत असोजसम्ममा कम्पनीको चुक्ता पुँजी ३ अर्ब ७ करोड ५० लाख रुपैयाँ रहेको छ भने सञ्चित नाफा १ अर्ब ६५ करोड रुपैयाँ छ । बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋण अनुमोदन गर्न कम्पनीले १७औँ वार्षिक साधारण सभा पुस २९ गते काठमाडौंमा बोलाएको छ । सभाले संचालक समितिको प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन, आर्थिक वर्ष २०८१/८२ का लागि लेखापरीक्षक नियुक्त र निजको परिश्रमिक तोक्नेछ । कम्पनीका आधारभुत सेयरधनी वा सञ्चालक आवद्ध रहेको संस्थासँग तथा यसै संस्थासँग सम्बद्ध कम्पनीसँग गरेको कारोबारलाई अनुामोदन गर्नेछ । साथै, सञ्चालक समितिमा संस्थापक सेयरधनी समूहबाट प्रतिनिधित्व गर्ने ४ जनाको निर्वाचन गर्नेछ ।

हिमालयन बैंकले प्रिमियम मूल्यमा एफपीओ जारी गर्ने, कहिले खुल्छ सेयर ?

काठमाडौं । हिमालयन बैंकले प्रिमियम मूल्यमा थप सार्वजनिक निष्काशन (एफपीओ) जारी गर्ने भएको छ । बैंकको कुल सेयर पुँजीमा आवश्यक सर्वसाधारण सेयरधनी सेयर अनुपात कायम गर्न प्रिमियम मूल्यमा एफपीओ जारी गर्ने भएको हो । २०८० पुस २९ गते सम्पन्न बैंकको ३१औँ वार्षिक साधारण सभाले एफपीओ जारी प्रस्ताव पारित गरिसकेको र नियामकीय स्वीकृतिको प्रक्रियामा रहेको जनाएको छ । बैंकको गत असोज २० गते बसेको संचालक समितिको बैठकले संस्थापक तथा सर्वसाधारण सेयरधनीको सेयर अनुपात ७०ः३० कायम गर्न सेयर प्रिमियम सहित ९२ लाख ५० हजार ४६९ कित्ता सेयर बिक्री गर्ने निर्णय गरेको हो । साथै, उक्त निर्णय नेपाल राष्ट्र बैंकमा असोज १५ गते निवेदन पेश भई आवश्यक अनुमति प्राप्तिको प्रक्रियामा रहेको बैंकले जनाएको छ । राष्ट्र बैंकबाट अनुमति प्राप्त भएलगत्तै धितोपत्र वोर्ड लगायतका अन्य नियामक निकायको स्वीकृति पश्चात एफपीओ जारी हुने बैंकको भनाइ छ । एफपीओ जारीपश्चात जारी तथा चुक्ता पुँजीमा वृद्धि हुने भएकोले सोही बमोजिम कायम गर्ने र साधारण सेयरधनी समूहको स्वामित्व प्रतिशत वृद्धि हुने र संस्थागत सेयरधनी समूहको स्वामित्व प्रतिशत घट्ने भएकोले प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन पारित गर्ने र आवश्यक थप कार्य गर्न सम्पूर्ण अख्तियारी संचालक समितिलाई प्रदान गर्नेछ । बैंकले उक्त प्रस्ताव पारित गर्न पुस २९ गते ३२औँ वार्षिक साधारण सभा आह्वान गरेको छ । बैंकको सभाले गत वर्षमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शिक्षा, स्वास्थ्य, खेलकुद, वातावरण संरक्षण लगायत विभिन्न सामाजिक कार्यहरू र विभिन्न संघ संस्थाहरूलाई प्रदान गरेको कुल रकम रु. १ करोड ३० लाख ४० हजार रुपैयाँ अनुमोदन गर्नेछ । बैंकको सभाले संचालक समितिको प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन, आर्थिक वर्ष २०८१/८२ का लागि लेखापरीक्षक नियुक्त र निजको परिश्रमिक तोक्नेछ । यस्तै, जैसमीन हाडा बज्राचार्यलाई स्वतन्त्र संचालकमा नियुक्त गरेको निर्णय जानकारी गराउनेछ ।