
फाइल तस्बिर ।
काठमाडौं । निर्माणको अन्तिम चरणमा रहेको नागढुंगा-नौबिसे सुरुङमार्ग निर्माण फेरि बन्द भएको छ । खानेपानी आयोजनामा स्थानीयलाई प्राथमिकतामा राखेर रोजगारी दिनुपर्ने मागसहित चन्द्रागिरी नगरपालिका- २ का स्थानीयले आइतबारदेखि निर्माणको कार्य बन्द गरेका हुन् ।
नागढुंगा-नौबिसे सुरुङमार्ग आयोजनाका अनुसार हाल काठमाडौं र धादिङतर्फको कार्य बन्द भएको हो ।
स्थानीयले पटक-पटकको अवरोधले गरी रहँदा आयोजना निर्माणले गति लिन नसकेको आयोजनाका प्रमुख तथा सिनियर डिभिजनल सञ्जिय पन्थीले जानकारी दिए।
उनले भने, ‘स्थानीयहरूले बारम्बार अवरोध गर्दै आएका छन् । खानेपानी स्रोत र व्यवस्थापन गरिदिनुपर्ने र निर्माण कार्यमा हामीलाई पनि सहभागिता गराउपर्छ भनेर उनीहरूले अवरोध गरिरहेका छन् । आज दिउँसो ४ बजे उनीहरूलाई छलफलका लागि हामीले अफिसमै बोलाएका थियौं तर, उहाँहरू आउनु भएन ।’
हालसम्म स्थानीयहरूको खानेपानी व्यवस्थापन गर्दै आएको प्रमुख पन्थीले बताए ।
उनले भने, ‘निर्माण कार्य अन्तिम चरणमा रहेकाले त्यसपछि कसले जिम्मा लिने अत्तोपत्तो छैन । त्यसैले स्थानीयहरूले अवरोध गरिरहेका छन् । यसको जिम्मा चन्द्रागिरी नगरपालिकाले लिने भन्ने बारेमा कुनै छलफल भएको छैन । यहाँ पानीको मुल नै सुकेको अवस्था छ । त्यसैले पानीको व्यवस्थापन गर्नुपर्छ भनेर उनीहरुले अवरोध गरिरहेका छन् ।’
यसबारेमा स्थानीयहरूसँग थप छलफल गरेर अगाडि बढ्ने उनले बताए ।
प्रमुख पन्थीले यदि स्थानीयहरूले निर्माण कार्यमा कुनै बाधा अवरोध नगरे असारसम्ममा सम्पन्न गरिसक्नेसमेत दाबी गरे ।
आयोजनाको हाल ८७ प्रतिशत काम सकिएको उनको भनाइ छ । सुरुङमार्गमा पहिरोको कामलगायत बाँकी रहेको बताइएको छ ।
यता स्थानीयहरूले भने मागहरू सम्बोधन नभए निर्माण कार्य ठप्प नै रहने बताउँदै आएका छन् ।
चन्द्रागिरी नगरपालिका २ का स्थानीय तथा पूर्ववडाध्यक्ष गोपी सुरखेतीका अनुसार उक्त आयोजना सुरु गर्दैगर्दा सिस्नेखोलाको पनि सुकेको थियो । पानी सुकेपछि आयोजनाले पानीको पुरै जिम्मा लिएको थियो । जसमा त्यो खानेपानी आयोजनाको छुट्टै समिति बनाएर काम अघि बढाइएको थियो ।
उनले भने, ‘निर्माणको काम अन्तिम चरणमा पुगेको छ । अब काम सकेपछि आयोजनाले सुरुङमार्ग हस्तान्तरण गर्ने भएको छ । खानेपानीको यसको जिम्मा आयोजनाले नै लिनुपर्ने हाम्रो माग हो ।’
चर्केका घरहरूको निरीक्षण गरी क्षतिपूर्ति दिनुपर्ने, सिँचाइको समस्या समाधान गर्नुपर्नेलगायत मागहरू आफूहरूले राखेको विकासन्युजलाई जानकारी दिए ।
उनले मागहरू छिट्टै सम्बोधन नभए थप आन्दोलन गर्ने चेतावनीसमेत दिए ।