सेयर बजारमा ४ अर्ब बढीको कारोबार, ५ कम्पनीमा सकारात्मक सर्किट
काठमाडौं । साताको पहिलो कारोबारको दिन अर्थात आइतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा दोहोरो अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक १३.५३ अंकले घटेर २५८३.२९ बिन्दुमा झरेको छ । नेप्सेका अनुसार आइतबार सेयर बजारमा ८५ कम्पनीको सेयर मूल्य बढ्दा १५३ कम्पनीको सेयर मूल्य घटेको छ । ६ कम्पनीको सेयर मूल्यमा कुनै परिवर्तन आएको छैन । पछिल्ला दिनहरूमा सेयर बजार घटिरहेको छ । आज ३१९ कम्पनीको ९१ लाख ८० हजार कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ५१ करोड रुपैयाँ बढीको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार रिभर फल्स पावरको भएको छ । रिभर फल्सको २२ करोड ३ लाख रुपैयाँ बढीको कारोबार भएको छ । यस्तै, जानकी फाइनान्स कम्पनीको १२ करोड ९९ लाख, पीपुल्स पावरको ९ करोड १२ लाख, नेपाल फाइनान्सको ८ करोड २९ लाख र भुगोल इनर्जी डेभलपमेन्टको ७ करोड ५४ लाख रुपैयाँ बढीको कारोबार भएको छ । आज ५ वटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सर्पोट माइक्रोफाइनान्स, बाराही हाइड्रोपावर, न्यादी हाइड्रोपावर, सुपर म्यादी हाइड्रोपावर र पीपुल्स पावर लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । २ वटा उपसूचकबाहेक बाँकी सबै उपसूचक राताम्मे रहेको नेप्सेले जनाएको छ ।
क्लोजआउटमा जरिवाना तिर्नेको संख्या बढ्दै, कहाँ पुग्यो अक्सन मार्केट सञ्चालन गर्ने विषय ?
काठमाडौं । पछिल्लो समय लगानीकर्तामा वित्तीय साक्षरताको ज्ञान बढ्दै गएको भएपनि क्लोजआउटमा परी जरिवाना तिर्ने संख्यामा भने कमी आउन सकेको छैन । सिडिएस एण्ड क्लियरिङ लिमिटेडको तथ्याङ्क अनुसार चालु आर्थिक वर्ष २०८१/८२ को मंसिरसम्म ३४ करोड ९३ लाख ७ हजार ५३४ रुपैयाँ बराबरको सेयर क्लोजआउटमा परेको छ । उक्त रकम बराबरको सेयर क्लोजआउटमा पर्दा लगानीकर्ताबाट ६ करोड ९८ लाख ६१ हजार रुपैयाँ पेनाल्टी (जरिवना) संकलन गरेको सिडिएससीले जनाएको छ । पछिल्लो समय वित्तीय सचेतनाका गतिविधि बढेको भएपनि क्लोजआउटमा परी जरिवानामा भने घटेको देखिदैँन । पाँच महिनामै क्लोजआउटमा पर्नेको संख्यामा उच्च वृद्धि भएको सिडिएससीको भनाइ छ । पाँच महिनाको तथ्यांक हेर्ने हो भने चालु आवको अन्त्यसम्ममा क्लोजआउटमा परी जरिवाना तिर्नेको संख्या बढदै जाने देखिन्छ । जबकी गत आर्थिक वर्ष २०८०/८१ भरीमा ३३ करोड २६ लाख ३५ हजार ६३८ रुपैयाँ बराबरको सेयर क्लोजआउटमा परेको थियो भने सिडिएससीले लगानीकर्ताबाट ६ करोड ६५ लाख २७ हजार रुपैयाँ जरिवना उठाएको थियो । यस्तै, आर्थिक वर्ष २०७८/७९ मा लगानीकर्ताहरूको ४८ करोड ९४ लाख ७४ हजार रुपैयाँको सेयर क्लोजआउटमा पर्दा ९ करोड ७८ लाख ९४ हजार रुपैयाँ जरिवाना तिरेको सिडिएसीको तथ्यांक छ । त्यसअघि आर्थिक वर्ष २०७९/८० मा लगानीकर्ताले ४ करोड १७ हजार रुपैयाँ बराबरको पेनाल्टी तिरेका थिए । उक्त वर्ष २० करोड ८९ लाख २८६ रुपैयाँ बरारको सेयर क्लोजआउटमा परेको थियो । के हो क्लोजआउट ? सेयर लगानीकर्ताले सामान्यभन्दा सामान्य कुरामा ध्यान नपु¥याउँदा ठूलो घाटा व्योहोर्नुपर्ने हुन्छ । जान÷अञ्जान र आफ्नै हेलचक्राईँले गर्दा लगानीकर्ताले जरिवानासमेत तिर्नुपर्ने हुन्छ । जसलाई क्लोजआउट भनिन्छ । धितोपत्र कारोबारको राफसाफ तथा पछ्र्यौट विनियमाली, २०६९ अनुसार सेयर बिक्रेताले आफूले बिक्री गरेको सेयर समयमै ईडीआईएस (ट्रान्सफर) गर्नुपर्ने हुन्छ । यदि समयमै सेयर ट्रान्सफर नगरे क्लोजआउटमा परिन्छ । कुनै सेयर राफसाफ समयमै बुुझाउन सकेन भने त्यसको २० प्रतिशत पेनाल्टी क्लोजआउटवापत् तिनुपर्ने हुन्छ । सिडिएसका कामुमुकायम प्रमुख कार्यकारी अधिकृत कञ्चन सापकोटा लगानीकर्ताले सेयर कारोबारपछि समयमै सेटलमेन्ट नगर्दा क्लोजआउटमा पर्ने गरेको बताउँछिन् । ‘कति लगानीकर्तालाई सेयर कारोबारपछि सेटलमेन्ट गर्नुपर्र्छ भन्ने ज्ञान हुँदैन, कतिले विर्सेका हुन्छन्, यी कारणले क्लोजआउटमा परिन्छ, उनले भनिन् ।’ यसबाहेक बिक्रेताले आफ्नो टिएमएस सिस्टममा कति सेयर छ भन्ने हेक्का नराखी सेयर बिक्री गर्दा क्लोजआउटमा परिन्छ । सिडिएसका अनुसार पुराना भन्दा नयाँ लगानीकर्ताहरु बढी क्लोजआउटमा पर्ने गरिन्छ । धितोपत्र कारोबारको राफसाफ तथा पछ्र्यौट विनियमालीमा क्लोजआउटबारे स्पष्टसँग व्याख्या गरिएको छ । उक्त विनियमालीको परिच्छेद ४ को १९ र २० मा यसबारे व्याखा गरिएको छ । जसअनुसार सिडिएएसले नै क्लोजआउट गर्न सक्ने व्यवस्था गरिएको छ । क्लोजआउट समाधानका लागि अक्सन मार्केट क्लोजआउट समस्याको उपयुक्त विकल्पको रुपमा अक्सन मार्केटलाई लिने गरेको छ । विकसित मूलुकहरुमा यो मार्केट सञ्चालनमा भएपनि नेपालमा भने यो अभ्यासमा आइसकेको छैन । क्लोजआउटको समस्या समाधानको लागि अक्सन मार्केट चाहिने र त्यसको सेटलमेन्टको लागि विनियम संशोधन गरेर नेपाल धितोपत्र बोर्डमा पठाएको लामो समय बित्दा पनि यसमा कुनै कदम अघि बढ्न सकेको छैन । नेप्सेले अक्सन मार्केट सञ्चालनको लागि पाँच वर्षभन्दा अघि कार्यविधिको मस्यौदा तयार गरी नेपाल धितोपत्र बोर्डमा स्वीकृतिको लागि पठाएको थियो । तर आजको मितिसम्म स्वीकृत हुन सकेको छैन । सिडिएसका कामुमुकायम अनुसार अक्सन मार्केटसम्बन्धमा पछिल्लो समय केही पनि काम अघि बढ्न सकेको छैन । यस्तै नेपाल स्टक एक्सचेञ्ज नेप्सेका प्रवक्ता मुराहरि पराजुलीले पनि अहिलेसम्म कुनै प्रगति नभएको बताए । बोर्डले स्वीकृत दिएको अवस्थामा जतिबेला पनि अक्सन मार्केट सञ्चालनको लागि नेप्से तयारी अवस्थामा रहेको उनले बताए । अक्सन मार्केट सम्बन्धमा नियामक निकाय नेपाल धितोपत्र बोर्डले वेवास्ता गर्दै आइरहेको छ । बोर्डका प्रवक्ता निरञ्जय घिमिरे अक्सन मार्केट स्वीकृति दिने सम्बन्धमा छिट्टै नै प्रक्रिया अघि बढाउने बताए । ‘भर्खरै मात्रै बोर्डमा नयाँ अध्यक्ष नियुक्त हुनुभएको छ । अध्यक्ष नहुँदा ठप्प कामहरु अब विस्तारै सुचारु हुने क्रममा छन् । अक्सन मार्केटको सन्र्दभमा पहिला धेरै काम भइसकेको छ, अब स्वीकृति दिने कि नदिने भन्ने बारेमा भने पछि नै थाहा हुन्छ ।’ के हो अक्सन मार्केट ? दोस्रो बजारमा लिलामीमार्फत सेयर किन्न पाइने विधि नै अक्सन मार्केट हो । अर्थात सेयर बजारमा कारोबारकै दिन आफ्नो धितोपत्र हस्तान्तरण गर्न नसकिएको अवस्थामा वा सेटलमेन्ट गर्न विर्सिएको बेलामा अक्सन मार्केटबाट खरिद गरी शेयर हस्तान्तरण गर्ने नैे अक्सन मार्केट हो । अक्सन मार्केटमा सामान्यतया लगानीकर्ता सहभागी हुँदैनन् । यसमा कारोबारी सदस्य सहभागी हुन्छन् । अक्सन मार्केट सञ्चालनको लागि नेप्सेले निश्चित मापदण्ड तोकेको हुन्छ । अक्सन मार्केटमा भएको कारोबारको राफसाफ टि प्लस एक दिनमभित्रै गर्नुपर्ने कार्यविधिमा उल्लेख छ । यसबाहेक अक्सन मार्केट सञ्चालनमा आउँदा लगानीकर्ताले बेचेको सेयरको पैसा ढिला पाउने समस्याको पनि समाधान हुन्छ ।
रविविरुद्ध तीनवटा बेग्लाबेग्लै कसूरमा मुद्दा दर्ता, करिब २८ करोड बिगो दाबी
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध जिल्ला अदालत, कास्कीमा मुद्दा दर्ता भएको छ । उनीविरुद्ध सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणमा मुद्दा दायर भएको हो । जिल्ला सरकारी वकिलको कार्यालय, कास्कीले सम्पत्ति शुद्धीकरणमा २७ करोड ८९ लाख ४४ हजार ७०५ रुपैयाँ जरिबानासहित बिगो दाबी गरिएको जनाएको छ । यसैगरी, सहकारी ठगीमा लामिछानेसहित पूर्वडीआईजी छविलाल बन्जाडे जोशी र गोरखा मिडिया नेटवर्क प्रालिका अध्यक्ष गितेन्द्रबाबुर राई जीबीविरुद्ध पनि मुद्दा दायर भएको छ । जिल्ला सरकारी वकिल कार्यालय कास्कीले आइतबार ४४ जनालाई प्रतिवादी बनाउँदै सम्पत्ति शुद्धीकरण र संगठित अपराधको पनि अभियोग दाबी गर्दै मुद्दा दायर गरेको हो । मुद्दामा कसुरको सम्पत्ति जफत प्रयोजनका लागि रवि लामिछाने पत्नी निकिता पौडेलसहित पाँच जनालाई पनि प्रतिवादी बनाइएको छ । सोमबारबाट बयान सुरु हुने जिल्ला अदालत कास्कीले जनाएको छ। पोखराको सूयदर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेडको बचत रकम अपचलन गरेको आरोपमा लामिछाने गत कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका थिए । उनीमाथि कास्कीसहित अन्य जिल्लासमेत सहकारी ठगीको आरोपमा अनुसन्धान भइरहेको छ ।
छिमेक लघुवित्तले बोलायो साधारण सभा, लाभांश प्रस्ताव पारित गर्दै
काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरूलाई वितरण गर्ने लाभांश प्रस्ताव पारित गर्न साधारण सभा बोलाएको छ । कम्पनीले पुस २९ गते २३ औं वार्षिक साधारण सभा गर्ने भएको छ । सो सभा बिहान ११ बजे होटल सामनाको सभाहल मकवानपुर, हेटौडामा आयोजना गर्ने जनाएको छ । सभाले हाल कायम चुक्ता पूँजीको ८ प्रतिशतका दरले बोनस सेयर र सोको कर प्रयोजनार्थसहित ७ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। साथै सभाले मर्जर तथा एक्विजिशनसम्बन्धि कार्य गर्न र प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, सर्वसाधारण सेयरधनीहरूको तर्फबाट प्रतिनिधित्व गर्ने २ जना सञ्चालकहरूको निर्वाचन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरू पनि पारित गर्नेछ । कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि पुस १६ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ । जस अनुसार पुस १४ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरूले लघुवित्तको साधारण सभामा सहभागिता जनाउन तथा लघुवित्तले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन् ।
ईयूलाई ट्रम्पले दिए धम्की, अमेरिकाबाट तेल र ग्यास खरिद नगरे ट्यारिफ लगाउने
काठमाडौं । डोनाल्ड ट्रम्पले आफ्नो देशको भलाइका लागि अन्य देशलाई दबाब दिन थालेका छन् । राष्ट्रपतिमा निर्वाचित भएसँगै उनले धम्कीको भाषा प्रयोग गर्न थालेका हुन् । उनले युरोपेली संघ (ईयू) लाई धम्की दिँदै अमेरिकाबाट तेल र ग्यास खरिद गरेर अमेरिकासँगको व्यापार घाटा कम गर्न लगाएका छन् । यदि युरोपेली संघले त्यसो गरेन भने ट्यारिफ अर्थात् उच्च कर लगाइनेछ । अमेरिकी तथ्याङ्कअनुसार सन् २०२२ मा अमेरिका र ईयूबीचको व्यापार घाटा १३१.३ अर्ब डलर थियो । युरोपेली आयोगका प्रवक्ता ओलोफ गिलले सीएनबीसीलाई जवाफ दिँदै भनेका छन्, ‘युरोपियन युनियन र अमेरिकाको अर्थतन्त्र निकै गहिरो छ । यसमा व्यापार र लगानी सन्तुलित छ । हामी ट्रम्पसँग हाम्रो पहिलेदेखि नै बलियो सम्बन्धलाई कसरी अझ बलियो बनाउन सक्छौं भनेर छलफल गर्न तत्पर छौं । यसमा ऊर्जा क्षेत्रमा हाम्रा साझा चासोहरूबारे छलफल पनि समावेश छ ।’ ईयूले रुससँगको सम्बन्ध तोड्ने ! इकोनोमिक टाइम्सका अनुसार गिलले ईयूले रुसी ऊर्जा आयात अन्त्य गर्ने बताएका छन् । उनले आपूर्ति स्रोत विविधिकरण गर्न ईयूको प्रतिबद्धता पनि उल्लेख गरे । एक वरिष्ठ ईयू कूटनीतिज्ञले सीएनबीसीलाई उनले ट्रम्पको भनाइको अपेक्षा गरेको बताएका छन् । उनले अमेरिकी आयात बढाउन ऊर्जालाई उत्तम विकल्प मानेका थिए । के हो युरोपेली संघ ? युरोपेली संघ अर्थात ईयू २७ युरोपेली देशहरूको राजनीतिक र आर्थिक गठबन्धन हो । अधिकांश देशले यूरो मुद्रामा व्यापार गर्दै आइरहेका छन् । यो दोस्रो विश्वयुद्धपछि गठन भएको थियो । यसमा अस्ट्रिया, बेल्जियम, बुल्गेरिया, डेनमार्क, फ्रान्स, जर्मनी, इटाली, नेदरल्याण्ड, स्पेन, स्वीडेन आदि देशहरू समावेश छन् । ईयूले आफ्नो निर्यातको करिब पाँचौं भाग अमेरिकामा पठाउँछ । अमेरिका ईयू निर्यातको सबैभन्दा ठूलो उपभोक्ता हो । तेलमा किन ध्यान ? विश्व तेल उत्पादनमा अमेरिका अग्रणी छ । सन् २०२३ मा विश्वभरको आपूर्तिको २२ प्रतिशत अमेरिकाबाट भएको थियो । ईआईएले २०२४ मा रेकर्डको रूपमा कच्चा तेल उत्पादनको भविष्यवाणी गरेको छ । ईयूले पहिले अमेरिकी ऊर्जा खरिद बढाउने योजनाहरू संकेत गरेको छ । ट्रम्पको धम्कीले शुक्रबार बिहान युरोपेली बजारमा गिरावट आएको थियो । धम्कीको प्रभाव ? यदि ईयूले ट्रम्पको भनाइलाई स्वीकार गरेन भने त्यसमा कर लगाइनेछ । यसको सीधा अर्थ हो कि ईयू देशका कम्पनीहरूले अमेरिकामा चीजहरू बेच्न थप कर तिर्नुपर्नेछ । यदि यस्तो भयो भने यी चीजहरू अमेरिकामा महँगो बिक्री हुनेछ, जसले तिनीहरूको बिक्रीलाई असर गर्नेछ । ट्यारिफको धम्की राष्ट्रपतिमा निर्वाचित भएसँगै ट्रम्पले ट्यारिफ लगाउने धम्की दिँदै आएका छन् । उनले सुरुमा चीन, क्यानडा र मेक्सिकोलाई ट्यारिफ लगाउने धम्की दिएका थिए । उनले ब्रिक्स राष्ट्रहरूलाई समेत ट्यारिफ लगाउने चेतावनी दिएका थिए । उनले यी देशहरूले डलरको विकल्पमा आफ्नै मुद्रा ल्याएमा शतप्रतिशत कर लगाउने चेतावनी दिएका हुन् । जनवरी २० मा ट्रम्पले राष्ट्रपतिको रूपमा पदभार ग्रहण गर्दैछन् । विशेषज्ञले दिइसके चेतावनी विज्ञहरूले अमेरिकी प्रशासनलाई ट्रम्पले यस प्रकारको कर लगाउने चेतावनी दिइसकेका छन् । यस्तो आयात करले आर्थिक वृद्धिमा मात्रै नभई मुद्रास्फीति पनि बढाउने विज्ञहरूको भनाइ छ । विज्ञहरूका अनुसार भन्सार बढाएर अमेरिकामा यी वस्तुहरू महँगो मूल्यमा बिक्री हुने भएकाले त्यसको असर आम मानिसलाई पनि पर्नेछ । (एजेन्सीको सहयोगमा)
नेपालले तिर्न बाँकी सार्वजनिक ऋण २५ खर्ब नजिक
काठमाडौं । नेपाल सरकारले चालु आर्थिक वर्ष २०८१/०८२ को ५ महिना (साउनदेखि मसिंरसम्म) मा करिब २ खर्ब रुपैयाँ सार्वजनिक ऋण लिएको छ । यो अवधिमा सरकारले १ खर्ब ९२ अर्ब २९ करोड ऋण लिएको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले जनाएको छ । कार्यालयका अनुसार आन्तरिकतर्फ १ खर्ब ६४ अर्ब र बाह्रतर्फबाट २८ अर्ब २९ करोड रुपैयाँ ऋण सरकारले लिएको हो । सरकारले चालु आवमा ५ खर्ब ४७ अर्ब रुपैयाँ सार्वजनिक ऋण परिचालन गर्ने लक्ष राखेको थियो । उक्त लक्ष्यको हालसम्म ३५.१५ प्रतिशत ऋण लिएको हो । मसिंर महिनामा मात्रै सरकारले ५८ अर्ब २४ करोड ऋण भुक्तानी गरेको छ भने २१ अर्ब ३३ करोड ऋण प्राप्ति भएको छ । विनिमय दरमा भएको घटबढका कारण मंसिर महिनामा २५ अर्ब ६४ करोड रुपैयाँ ऋण घटेको कार्यालयले जानकारी दिएको छ । यससँगै मंसिर मसान्तसम्म नेपालले तिर्न बाँकी ऋण २४ खर्ब ९२ अर्ब ४१ करोड रुपैयाँ पुगेको छ । यो कुल ग्राहस्थ उत्पादनको ४३.६९ प्रतिशत हो । नेपालले तिर्न बाँकी ऋणमध्ये १२ खर्ब १७ अर्ब ६६ करोड आन्तरिक र १२ खर्ब ७४ अर्ब ७४ करोड बाह्य ऋण रहेको छ । चालु आर्थिक वर्षको बजेटमा सरकारले ऋण भुक्तानीका लागि ४ खर्ब २ अर्ब २८ करोड रुपैयाँ छुट्याएको थियो । जसमध्ये १ खर्ब ७० अर्ब ४९ करोड रुपैयाँ भुक्तानी पनि गरिसकेको छ । अर्थात् विनिजोजित रकमको ४२.३५ प्रतिशत रकम सरकारले ऋण भुक्तानीमा खर्च गरिसकेको छ । चालु आर्थिक वर्षमा ऋण प्राप्ति र भुक्तानी गरेको विवरण (मासिकरूपमा)
‘अचम्मै पो भो ! हिउँ नै परेन’
मनाङ । हिउँदयाम लागेसँगै देशभर क्रमशः चिसो बढ्दै छ । हिमाली जिल्ला मनाङलगायत क्षेत्रमा त अत्यधिक चिसो बढिसकेको छ । यहाँका नदी, खोला, धाराका पानी जम्न थालेका छन् तर यसपटक हिउँ भने परेको छैन । मुख्य समयमै हिउँ नपरेपछि स्थानीय चकित छन् । स्थानीय हिमपात हुनुपर्ने समयमा हिउँ नै नपर्दा नियमित चक्र बिथोलिने र कृषि उत्पादन घट्ने चिन्तामा छन् । मनाङ ङिस्याङ गाउँपालिका–१ पिसाङका याङदुङ गुरुङ भन्छन्, ‘हामी खेती किसानी र पशुपालन गरेर जीविकोपार्जन गर्ने मान्छेलाई समस्या भएको छ । हिउँ नपरेपछि पानी हुँदैन, पानी नभए खेती । खै, के भएर होला आजकल समयमा हिउँ पर्न छोड्यो ।’ समयमा हिउँ नपर्दा सिँचाइको अभावमा मुख्यगरी किसानलाई समस्या भएको गुरुङको भनाइ छ । ‘हिउँ परेको भए खेती पनि सप्रिन्थ्यो, त पानी नै पुग्दैन । किसानलाई त प्रकृतिले पनि ठग्न थाल्यो’, उनले सुस्केरा हाल्दै भने। केही वर्ष पहिलेसम्म हिउँ परेर यहाँका हिमाल सेताम्मे हुन्थे । पर्याप्त पानी हुँदा किसान ‘मानो रोपी मुरी उब्जाउने’ काममा व्यस्त हुन्थे । अचेल भने न हिमाल सेता छन् न त किसानले सजह रूपमा कृषिकर्म गर्न पाएका छन् । प्रमुख जिल्ला अधिकारी मातृका आचार्य पनि पुस लागिसक्दासमेत हिउँ नपरेपछि चकित छन्। हिउँ नपरी चिसो अत्यधिक बढेकाले उनलाई प्राकृतिक नियम नै फेरिएजस्तो महसुस भइरहेको छ । ‘जिल्लाका अधिकांश ठाउँमा चिसोका कारण पिउने पानीसमेत जमेका छन् तर हिउँ भने परेको छैन । जसले प्रकृतिको भरमा खेती गर्नुपर्ने किसान निराश छन् । अरु मानिस नियमित प्राकृतिक चक्र नै बिथोलिन थालेकामा चिन्तित छौँ’, आचार्यले भने। पर्यटन व्यवसायी समिति मनाङका अध्यक्ष विनोद गुरुङ विगत केही वर्षदेखि हिउँ पर्ने समय बदलिँदै गएको बताउँछन् । यसले उत्पादन घट्दै गएको र खेतीबाली नै परिवर्तन गर्नुपर्ने अवस्था आउन थालेको उनको अनुभव छ । ‘हिउँकै पानीले सिँचाइ हुने यहाँ हिउँ नै नपरेपछि पानीको अभाव देखिने नै भयो । प्राकृतिक स्वभाव फेरियो, अब हामीले पो कसरी फेरिने होला ? यस्तो अवस्थासँग कसरी अनुकूलित हुने होला !’, उनले गुरुङले जिज्ञासा राखे । स्थानीय फुर्वा छिरिङ लामाले पनि यहाँको हावापानीमा परिवर्तन भएको अनुभव गरेका छन् । उनी भन्छन्, ‘यतिबेला हिउँले सेताम्मे भएर घर बाहिर निस्कन वा कामकाज गर्नै सकस हुन्थ्यो । खै ! अचेल त हिउँ नै नपरी चिसो मात्रै बढ्छ । यो त अचम्मै भयो ।’ रासस
लाभांश पारित गर्न श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सले डाक्यो साधारणसभा, बुक क्लोज कहिले ?
काठमाडौं । श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनी लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरूलाई वितरण गर्ने लाभांश प्रस्ताव पारित गर्न साधारण सभा बोलाएको छ । कम्पनीले पुस २९ गते सोमबार, ३० औं वार्षिक साधारण सभा गर्ने भएको छ । सो सभा रजिष्टर्ड कार्यालय, डिल्लीबजार, काठमाडौंमा बिहान १० बजे सुरु हुने जनाइएको छ । सभाले हाल कायम चुक्ता पूँजीको कर सहित १.६८ प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनार्थ ०.०९८२ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ । साथै सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने संस्थापक समूहतर्फ रिक्त रहेको १ जना सञ्चालक पदमा भएको नियुक्ति अनुमोदन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ। कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ फाइनान्सले पुस १९ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ । जस अनुसार पुस १८ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरूले सभामा सहभागिता जनाउन तथा प्रस्तावित लाभांश प्राप्त गर्न सक्नेछन् ।