विकासन्युज

सेयर बजारमा ५ अर्ब बढीको कारोबार, लघुवित्तमा लगानीकर्ताको आकर्षण

काठमाडौं । साताको पहिलो कारोबारको दिन आइतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा दोहोरो अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक २१.१२ अंकले घटेर २६०९.५८ बिन्दुमा झरेको छ । नेप्सेका अनुसार आइतबार ६९ कम्पनीको सेयर बढ्दा घट्दा १७२ कम्पनीको सेयर मूल्य घटेको छ । २ कम्पनीको सेयर मूल्यमा भने कुनै परिवर्तन आएको छैन । आज ३१६ कम्पनीको १ करोड १० लाख कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ४७ करोड रुपैयाँ बढीको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार प्रभु बैंकको भएको छ । प्रभुको २६ करोड १० लाख रुपैयाँ बढीको कारोबार भएको छ । साथै, जानकी फाइनान्सको १६ करोड ९ लाख, एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्टको १५ करोड ३४ लाख, एनएलजी इन्स्योरेन्सको १२ करोड १३ लाख र रिभर फल्स पावरको ११ करोड १८ लाख रुपैयाँ बढीको कारोबार भएको छ । आज २ वटा कम्पनीको सेयर मूल्यमा सकारात्मक लागेको छ । महिला लघुवित्त १० प्रतिशत र आत्मनिर्भर लघुवित्त ९.९८ प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको हो । साथै, ५ वटा कम्पनीको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । सपोर्ट माईक्रोफाइनान्स वित्तीय संस्था लिमिटेड, नारायणी डेभलपमेन्ट बैंक लिमिटेड, सप्तकोशी डेभलपमेन्ट बैंक लिमिटेड, जानकी फाईनान्स कम्पनी लिमिटेड र सिन्धु विकास बैंक लिमिटेडको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको हो । यस्तै, ३ वटा उपसूचकबाहेक अरू सबै उपसूचक राताम्मे रहेका छन् । उपसूचकमा माइक्रोफाइनान्स १.१२ प्रतिशत, म्युचल फन्ड ०.१८ प्रतिशत र अन्य ०.२९ प्रतिशतले बढेको छ ।

सामाजिक उत्तरदायित्वअन्तर्गतका कार्यक्रममा निरन्तर टेलिकम

काठमाडौं । नेपाल टेलिकमले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विगत लामो समयदेखि विविध कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ । व्यावसायिक क्रियाकलापहरू सञ्चालन गर्दा कम्पनीले सदैव सामाजिक उत्तरदायित्व प्रतिको प्रतिवद्धता व्यक्त गरेको छ । कम्पनीले सामाजिक उत्तरदायित्वका पुराना कार्यक्रमहरूलाई निरन्तरता दिनुका साथै थप नयाँ कार्यहरू समेत गर्दै आएको छ । हाल कम्पनीले गरेको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गतका मुख्य कार्यहरू निम्न छन् । हरियाली संरक्षण तथा वृक्षरोपण नेपाल टेलिकमले काठमाडौंको माइतीघरदेखि तीनकुनेसम्मको सडकखण्डमा हरियाली संरक्षण तथा वृक्षरोपण कार्यक्रम सञ्चालन गरेको थियो । यसअन्तर्गत मौसमी फूलका बिरुवा रोप्ने, रुख तथा दुबो रोप्ने, गोडमेल गर्ने र काँटछाँट गर्ने लगायतका सुन्दरता अभिवृद्धि गर्ने क्रियाकलापहरू सञ्चालन गरिएका थिए । विद्यालयमा विभिन्न भौतिक तथा शैक्षिक सामग्री वितरण नेपाल टेलिकमले निरन्तर रूपमा नेपालभरिका विभिन्न सरकारी तथा सामुदायिक विद्यालयमा फर्निचर, कम्प्युटर, झोला, ट्र्याकसुट लगायतका विभिन्न भौतिक तथा शैक्षिक सामग्रीहरू उपलब्ध गराएको छ । साथै देशभरका २० जिल्लाका १/१ सरकारी र सामुदायिक विद्यालयमा महिला स्वास्थ्यमा सहयोग पुग्ने गरी महिला स्वास्थ्य सामग्री (स्यानिटरी प्याड भेन्डिङ मेसिन) उपलब्ध गराइएको छ । वातावरण सरसफाइ धार्मिक मठ मन्दिर, पुरातात्विक एवम् पर्यटकीय स्थल, बसपार्क, सार्वजनिक पार्क तथा बगैंचालगायतका महत्त्वपूर्ण सार्वजनिक स्थलमा आवश्यकताबमोजिम डस्टविन वितरण गरिएको छ । वृद्धाश्रम, बाल आश्रम लगायतका संरक्षणस्थलमा सहयोग सातवटै प्रदेशका वृद्धाश्रम, बाल आश्रम, फरक क्षमता भएका व्यक्तिहरूलाई संरक्षण गर्ने संस्था तथा सामुदायिक केन्द्रहरूमा भोजन एवम न्यानो कपडा र ब्ल्याङ्केट सहयोग गरिएको छ । अस्पतालमा बेड कम चेयर वितरण नेपाल टेलिकमले नेपालको सबैभन्दा पुरानो अस्पताल वीर अस्पताल लगायत अन्य सरकारी तथा सामुदायिक अस्पतालमा आउने बिरामीका कुरुवाहरूले आराम गर्न सहज होस् भन्ने उद्देश्यले बेड कम चेयर उपलब्ध गराएको छ । विद्यालयमा इन्टरनेट सेवा नेपाल टेलिकमले विद्यालयहरूमा पटनपाठन कार्य सहज होस् र विद्यार्थीले इन्टरनेटको सहज प्रयोग गर्न सकुन् भन्ने उद्देश्यले एफटीटीएच सेवा पुगेका देशभरका विभिन्न सयवटा सरकारी तथा सामुदायिक विद्यालयहरुमा ५० एमबीपीएस गतिको एफटीटीएच इन्टरनेट १ वर्ष सम्मका लागि निःशुल्क उपलब्ध गराएको छ । त्यसैगरी एफटीटीएच सेवा नपुगेका ७ वटै प्रदेशका विभिन्न ५० ओटा सरकारी तथा सामुदायिक विद्यालयमा १ वर्ष सम्मका लागि नमस्ते वाईफाई राउटरसहितको फोरजी इन्टरनेट प्याकेज निःशुल्क उपलब्ध गराएको छ । एसईई तयारी गरिरहेका विद्यार्थीलाई सहयोग: नेपाल टेलिकमले आउँदै गरेको माध्यमिक शिक्षा परीक्षा (एसईई) परीक्षा तयारी गरिरहेका विद्यार्थीहरुलाई अनलाइन माध्यमबाट नि:शुल्क रूपमा पढ्न पाउने व्यवस्था मिलाएको छ । सामाजिक उत्तरदायित्वअन्तर्गतका अन्य कार्यक्रमहरू फरक क्षमता भएका व्यक्तिहरूलाई छुट्टै प्याकेजसहितको नि:शुल्क प्रिपेड सिमकार्ड वितरण नेपाल सरकार, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, नेपाल दूरसञ्चार प्राधिकरण लगायतका संस्थाहरुको सिफारिसमा विभिन्न पर्व, अवसर तथा विपत्तिको समयमा नि:शुल्क कलर रिङ्गटोनको प्रसारण गणतन्त्र दिवस, संविधान दिवस लगायतका पर्व, अभियान, सम्मेलन तथा प्राकृतिक विपद्का समयमा सूचना तथा अन्य जानकारीमूलक सन्देशहरू नि:शुल्क गत वर्षको जाजरकोट भूकम्पबाट प्रभावित जनसमुदायको लागि ब्ल्याङ्केट, टेन्ट लगायतका राहत सामग्री उपलब्ध गत असोजको पहिरो तथा डुबान पीडितहरूलाई राहत वितरण कार्यमा सहयोग पुगोस् भन्ने उद्देश्यले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग

सहकारीसम्बन्धी अध्यादेश जारी, बचत र ऋणमा सीमा, अन्य व्यवस्था के-के छन् ?

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सहकारीसम्बन्धी अध्यादेश जारी गरेका छन् । सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले ‘सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’ जारी गरेका हुन् । उनले आज नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम अध्यादेश जारी गरेका हुन् । ‘राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा अध्यादेश जारी गरेका छन्,’ राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । पछिल्लो समय सहकारी क्षेत्रमा देखिएको समस्या समाधानका लागि संसद्को अधिवेशन नभएको अवस्थामा  सरकारले उक्त अध्यादेश ल्याएको हो । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले सहकारी ऐनको संशोधन अध्यादेश पारित गरी स्वीकृतका लागि राष्ट्रपतिसमक्ष पेस गर्ने निर्णय गरेको थियो । राष्ट्रपतिले प्रमाणीकरण गरेसँगै अध्यादेश कार्यान्वयनमा आउने भएको छ । अध्यादेशमा बचत तथा ऋण कारोबार गर्ने सहकारीको नियमन गर्न शक्तिशाली राष्ट्रिय सहकारी नियमन प्राधिकरण स्थापना गर्ने उल्लेख छ । सरकारले समस्यामा परेका सहकारीको बचत फिर्ताको विषय पनि अध्यादेशमा समेटेकाे छ । समस्याग्रस्त सहकारी संस्थाको सम्पत्ति वा ऋण प्रदान गर्दा लिएको धितो सुरक्षण बिक्री गरेर बचतकर्ताको पाँच लाख रुपैयाँसम्मको बचत फिर्ताका लागि फाष्टट्र्याकमा काम गर्ने अध्यादेशमा उल्लेख छ । यस्तै, अध्यादेशमा सहकारी संस्थामा व्यक्तिगत बचत तथा ऋणको सीमा पनि तोकिएको छ । एक प्रदेशभन्दा बढी कार्यक्षेत्र रहेको बचत तथा ऋणको कारोबार गर्ने सहकारी संस्थामा ५० लाख रुपैयाँसम्म, एक जिल्लाभन्दा बढी कार्यक्षेत्र रहेकोसंस्थामा २५ लाख रुपैयाँसम्म, बढीमा एक जिल्लाभित्र कार्यक्षेत्र रहेको बचत तथा ऋणको कारोबार गर्नेसंस्थामा १० लाख रुपैयाँसम्मको सीमा तोकिएको छ । अध्यादेशमा सहकारी प्राधिकरणको अध्यक्ष नियुक्तीका लागि लोकसेवा आयोगका अध्यक्षको संयोजकत्वमा समिति बन्नेछ । सोही समितिले सिफारिस गरेको तीन जनामध्येबाट मन्त्रिपरिषद् बैठकले एक जनालाई प्राधिकरणको अध्यक्षमा नियुक्त गर्नेछ । सहकारीमा पनि बैंकजस्तै वर्गीकरणको व्यवस्था, गाडी किन्न ऋण दिन पाउने, यस्तो बन्यो प्राधिकरणको मस्यौदा सहकारीको ब्याजदर प्राधिकरणले नै तोकिदिने, मर्जरमा प्रोत्साहन, सञ्चालकलाई १० लाख जरिवानादेखि ५ वर्ष कैद सहकारीको नियमनका लागि प्राधिकरण बन्ने

लुक्लाबाट उडेको हेलिकप्टरमा चरा ठोक्कि‍एपछि आकस्मिक अवतरण, प्राविधिक परीक्षण जारी

काठमाडौं । सोलुखुम्बुको लुक्ला विमानस्थलबाट ६ यात्रु बोकेर काठमाडौंका लागि उडेको हेली एभरेस्टको हेलिकप्टरमा चरा ठोक्किएको छ । हेली एभरेस्टको ९ एन-एकेजी कलसाइनको हेलिकोप्टरमा आइतबार चरो ठोक्किएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रवक्ता रन्जी शेर्पाले बताए । उनले भने, ‘हेली एभरेस्टको ९ एन-एकेजी कलसाइनको हेलिकप्टरमा चरा ठोक्किएको छ । हेलिकप्टरमा त्यस्तो समस्या त केही थिएन । एक्कासि आकासमा उडिरहेको चरासँग हेलिकप्टर ठोकिन पुग्यो । कुनै ठूलो क्षति भएको देखिएको छैन ।’ प्रवक्ता शेर्पाका अनुसार हेलिकप्टर चरासँग ठोकिएपछि पाइलटले थप जोखिम नलिई सुरक्षित रूपमा काभ्रेपलाञ्चोकको साँगामा आकस्मिक अवतरण गराएका छन् । हेलिकप्टरमा चालकसहित ६ जना यात्रु सवार थिए। सबै यात्रु सुरक्षित रहेको जनाइएको छ । अहिले हेलिकोप्टरमा प्राविधिक परीक्षण जारी रहेको प्रवक्ता शेर्पाको भनाइ छ ।  

शिक्षकलाई तलब खुवाउन गाह्रो

ढोरपाटन । जिल्लाको ढोरपाटन नगरपालिका–१ खप्तरीबाङस्थित निसीभूजी जनता क्याम्पस सञ्चालनमा समस्या भएको छ । पश्चिम बागलुङको एक मात्र क्यापसका रूपमा रहेको निसीभूजी आर्थिक अभावका कारण सञ्चालनमा समस्या भएको हो । दूरदराजका विद्यार्थीलाई उच्च शिक्षा प्रदान गर्ने उद्देश्यले विसं २०४८ मा स्थापना भएको क्याम्पसको आन्तारिक स्रोत कम हुनु, सरकारी निकायबाट सहयोग नहुनु, जनशक्ति व्यवस्थामा खर्च हुनुलगायत कारणले सञ्चालनमा समस्या भएको क्याम्पस प्रमुख कृष्णकान्त आचार्यले बताए । क्याम्पस सञ्चालनका लागि मासिक चार लाख रुपैयाँ खर्च हुने भन्दै आम्दानी न्यून हुँदा खर्च व्यवस्थापनमा समस्या भइरहेको उनको भनाइ छ । प्रमुख आचार्यले क्याम्पसको आम्दानी विद्यार्थीबाट उठाउने शुल्क मात्र रहेको बताउँदै अहिलेसम्म सरकारी निकायबाट कुनै पनि सहयोग प्राप्त नभएको उनले गुनासो गरे । अहिले क्याम्पसमा शिक्षा, समाज शास्त्र र व्यवस्थापन सङ्कायमा गरी एक सय १९ विद्यार्थी अध्ययनरत रहेका जनाउँदै प्रमुख आचार्यले विद्यार्थीबाट उठाउने शुल्कबाहेक आम्दानीको कुनै स्रोत नभएको उल्लेख गरे । हाल आंशिक शिक्षक २२ र पूर्णकालीन दुई जना गरी २४ जना प्राध्यापक कार्यरत रहेका छन् । शिक्षकलाई तलब दिन समस्या हुँदै आएको क्याम्पस प्रमुख आचार्यले बताए । क्याम्पसको मासिक मासिक खर्च चार लाख ५० हजार रुपैयाँ हुने गरेको भन्दै आम्दानी दुई लाख रुपैयाँ रहेको उनले जानकारी दिए । क्याम्पस प्रमुख आचार्यले भने, ‘यहाँ पढ्न आउने विद्यार्थीको सङ्ख्या उल्लेख्य छ, तर सञ्चालन खर्च व्यवस्थापन गर्न र शिक्षकलाई तलब खुवाउन निकै गाह्रो भइरहेको छ । यस क्षेत्रको एक मात्र सामुदायिक क्याम्पस भएकाले समुदायसँग सहयोग लिएर अहिलेसम्म सञ्चालन गरिरहेका छौँ ।’ क्याम्पस सञ्चालक समितिका सदस्य तारानाथ पौडेलले सरकारले दरबन्दी व्यवस्थापन गर्न सके केही मात्रामा समस्या समाधान हुने बताए । क्याम्पस सञ्चालन गन आवश्यक मापदण्डभन्दा बढी विद्यार्थी भए पनि प्राध्यापकको दरबन्दी कम रहेको उनले उल्लेख गरे । पूर्णकालीन सात जना दरबन्दीसहितको प्राध्यापक हुनुपर्ने जनाउँदै दुई जना मात्रै रहेको पौडेलले बताए । गण्डकी प्रदेशसभा सदस्य दोर्णकुमार कुँवर यसलाई आङ्गिक क्याम्पसका रूपमा विकास गर्नुपर्ने बताए । क्याम्पसको शैक्षिक गुणस्तर बढाउन र प्राविधिक शिक्षा सञ्चालन गरी भौतिक संरचना निर्माण गर्न प्रदेश र केन्द्र सरकारको ध्यानाकर्षण गराइरहेको उनले जानकारी दिए । क्याम्पस न्यून वर्गका विद्यार्थीले मात्रै पढ्ने थलो बनेको भन्दै अब यहाँ सबैको आकर्षण बढ्ने खालको बनाउन जरुरी रहेको कुँवरले बताए । रासस

सिटिजन्स बैंकद्वारा सुदूरपश्चिमका विद्यार्थीलाई न्यानो कपडा वितरण

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत सुदूरपश्चिम प्रदेश बाजुरा जिल्लाको हिमाली गाउँपालिका १ विच्छयाँमा अवस्थित विच्छयाँ माध्यमिक विद्यालयका विद्यार्थीहरुलाई न्यानो कपडा सहयोग प्रदान गरेको छ । विद्यालयमा अध्ययनरत अधिकांश विद्यार्थीहरु विपन्न परिवारबाट रहेका र उनिहरुको आर्थिक अवस्था सबल नभएको कारण जाडो मौसममा न्यानो कपडा खरिद गर्न कठिनाइ हुने भएकाले ती बालबालिकाहरुलाई न्यानो स्वेटर प्रदान गरिएको हो । विद्यालयमा अयोजित एक कार्यक्रमका बीच इसिडी र कक्षा १ देखि कक्षा १० सम्म अध्ययनरत २११ विद्यार्थीहरुलाई बैंकले स्वेटर प्रदान गरेको हो । विकट हिमाली भेगका न्यून आय आर्जन भएका परिवारका विद्यार्थीलाई जाडो महिनामा न्यानो स्वेटर उपलब्ध गराउनाले उनीहरुको पठनपाठनमा सहजता आउने विश्वास बैंकले लिएको छ । आगामी दिनमा पनि बैंकले संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक आदि जस्ता क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनका निम्ति विभिन्न कार्यक्रम संचालन गर्ने योजना रहेको विषय जानकारी गराएको छ । हालसालै मात्र विश्वकै प्रतिष्ठित अवार्ड ‘बैंक अफ द ईयर २०२४’ को उपाधि प्राप्त गर्न सफल भएको बैंकले केही समय अघि मात्र फोनपेसँगको सहकार्यमा नेपालमै पहिलो पटक ‘सिटिजन्स फोनपे क्रेडिट कार्ड ‘ सञ्चालनमा ल्याएको छ साथै मोबाइल बैंकिङ एप मार्फत नै सेयर आवेदन र सीआरएन नम्बर सेवा लिन सकिने सुबिधा पनि ल्याएको छ ।

ललितपुरमा सबै ब्राण्डका स्कुटर पाइने इभी मार्ट खुल्यो

काठमाडौं । ललितपुरको सातदोबाटोस्थित मेनरोडमा सबै ब्राण्डका (प्रिमियम मोडलहरु) स्कुटरहरु पाइने इभी मार्ट खुलेको छ। श्री अटो इन्कर्पोरेट प्रालिले बजारमा उपलब्ध, राम्रो सर्भिस सेवाहरु भएको ब्राण्डहरुको मात्र बिक्री वितरण गर्ने कम्पनीका डाइरेक्टर रोशनकुमार श्रेष्ठले बताए । ‘अहिले बजारमा इण्डियन र चाइनिज गरी लगभग ७०–८० ब्राण्डका कारण उपभोक्ताहरु अन्योलमा परेका छन् । त्यसैले हामीले सर्भिसलाई फोकस गरेर राम्रो तथा छिटो सुविधा दिने उद्देश्यले यो शोरुम खोलेका छौं,’ उनले भने । यहाँ विक्री वितरण मात्र हैन, स्कुटर सम्बन्धी जानकारी, परामर्श तथा सर्भिसमा समस्या भएका ग्राहकहरुले पनि सम्पर्क गर्न सक्ने उनले बताए । शोरुम खुलेकै दिन १ युनिट डेलिभरी गर्नुका साथै अन्य ५ युनिट बुकिङ भएको कम्पनीका जनरल म्यानेजर दिपक लम्सालले जानकारी दिए । ललितपुरमा ईभी स्कुटरहरुको ग्राहकहरु धेरै रहेको र शोरुममा विभिन्न ब्राण्डका र ग्राहकहरुको माग अनुसारको जुनसुकै मोडलका सवारीसाधनहरु विक्री गर्ने कम्पनीका प्रबन्ध निर्देशक क्रिष्टिना ताम्राकारको भनाइ छ ।

गैरबैंकिङ सम्पत्तिले थिचिँदै बैंक, धितो बिक्री नभएपछि आफै सकार्दै

काठमाडौं । ऋणीहरूले पैसा नतिरेपछि बैंकहरूले धितो लिलामी गर्नुपर्ने हुन्छ । लिलामीमा राखेको धितो कसैले नकिनेपछि बैंकहरू आफैले सकार्नुपर्छ । पछिल्लो समय दैनिक पत्रपत्रिका धितो लिलामीका सूचनाले भरिभराउ छन् । तर, बिक्रीमा राखेको धितो सहजै बिक्री हुन छाडेपछि बैंकरहरूमा यस्तो गैरबैंकिङ सम्पत्ति थुप्रिएको छ । चालु आर्थिक वर्ष २०८१/८२ को कात्तिकसम्म बैंकहरूमा ३२ अर्ब ३३ करोड ७४ लाख रुपैयाँ बराबरको गैरबैंकिङ सम्पत्ति रहेको छ । गत वर्षको कात्तिकको तुलनामा बैंकहरूको गैरबैंकिङ सम्पत्ति ७७.४९ प्रतिशत अर्थात् १४ अर्ब ११ करोड रुपैयाँ बढेको हो । गत वर्षको कात्तिकमा १८ अर्ब २१ करोड ८४ लाख रुपैयाँ बराबरको गैरबैंकिङ सम्पत्ति प्रणालीमा थियो । लिलामीमा राखेको धितो बिक्री नभएर आफै सकार्दा बैंकहरूमा गैरबैंकिङ सम्पत्ति बढेको बैंकरहरू बताउँछन् । धितो लिलामी नहुँदा बैंकहरूले आफै सकार्नुपर्ने बाध्यता छ । बैंकहरू कोरबैंकिङभन्दा पनि गैरबैंकिङ कारोबारमा केन्द्रित भएका देखिन्छन् । राष्ट्र बैंकको तथ्याङ्कअनुसार एभरेष्ट बैंकको गैरबैंकिङ सम्पत्तिमा सबैभन्दा धेरै वृद्धि भएको देखिन्छ । कात्तिकसम्म एभरेष्ट बैंकको गैर-बैंकिङ सम्पत्ति ७५३.३३ प्रतिशत बढेर ५१ करोड १२ लाख रुपैयाँ पुगेको छ । गत वर्षको कात्तिकमा यस बैंकको गैर-बैंकिङ सम्पत्ति ५ करोड ९९ लाख रुपैयाँ मात्रै थियो । यस्तै, नेपाल एसबीआई बैंकको ४३५.८२ प्रतिशत बढेर ३५ करोड ३९ लाख रुपैयाँ, कृषि विकास बैंकको ४२४.९२ प्रतिशत बढेर ९८ करोड ३३ लाख रुपैयाँ, हिमालयन बैंकको ३३९.२० प्रतिशत बढेर ३ अर्ब ६३ करोड ६० लाख रुपैयाँ बराबरको गैरबैंकिङ सम्पत्ति रहेको राष्ट्र बैंकले जनाएको छ । सानिमा बैंकको ३०८.५६ प्रतिशत बढेर ७० करोड ८५ लाख रुपैयाँ, सिटिजन्स बैंकको १९५.८३ प्रतिशत बढेर ८० करोड ९९ लाख रुपैयाँ, ग्लोबल आइएमई बैंकको १७९.३२ प्रतिशत बढेर ५ अर्ब १३ करोड १३ लाख रुपैयाँ, प्रभु बैंकको १०६.१८ प्रतिशत बढेर १ अर्ब ५ करोड ९१ लाख रुपैयाँ गैरबैंकिङ सम्पत्ति पुगेको छ । कुमारी बैंकको ७७.१० प्रतिशत बढेर २ अर्ब ६६ करोड ७३ लाख रुपैयाँ, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ६५.५० प्रतिशत बढेर ३ अर्ब ३ करोड ९४ लाख रुपैयाँ, राष्ट्रिय वाणिज्य बैंकको ५०.७० प्रतिशत बढेर २९ करोड ७६ लाख रुपैयाँ बराबरको यस्तो सम्पत्ति रहेको राष्ट्र बैंकले जनाएको छ । एनएमबी बैंकको ४७.११ प्रतिशत बढेर १ अर्ब २ करोड ६४ लाख रुपैयाँ, नबिल बैंकको ४५.०५ प्रतिशत बढेर २ अर्ब ६४ करोड ९७ लाख रुपैयाँ, लक्ष्मी सनराइज बैंकको ३०.२५ प्रतिशत बढेर १ अर्ब ५९ करोड ८८ लाख रुपैयाँ, माछापुच्छ्रे बैंकको २५.९० प्रतिशत बढेर १ अर्ब ३ करोड ३२ लाख रुपैयाँ बराबरको गैर बैंकिङ सम्पत्ति रहेको छ । राष्ट्र बैंकका अनुसार एनआईसी एशिया बैंकको १९.२० प्रतिशत बढेर ४ अर्ब २२ करोड ६० लाख रुपैयाँ, सिद्धार्थ बैंकको १०.७८ प्रतिशत बढेर ७० करोड ३८ लाख रुपैयाँ, नेपाल बैंकको १०.०५ प्रतिशत बढेर २० करोड ४१ लाख रुपैयाँ बराबरको गैर बैंकिङ सम्पत्ति रहेको छ । तर, यसअवधिमा स्ट्याण्डर्ड चार्टर्ड बैंकको गैर बैंकिङ सम्पत्ति रहेको छ भने प्राइम बैंकको ५.७४ प्रतिशत घटेर १ अर्ब ६९ करोड ७१ लाख रुपैयाँ रहेको छ । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सीबीफीन) अध्यक्ष उपेन्द्र पौडेल गैरबैंकिङ सम्पत्तिमा भएको निरन्तरको वृद्धिले चुनौती थपेको बताउँछन् । खराब ऋण र बैंकहरूको गैर बैंकिङ सम्पत्ति हरेक वर्ष थुप्रिँदा प्रतिकूलता बढ्ने भएकाले दीर्घकालीनरूपमा समस्या समाधान गर्नुपर्ने उनको भनाइ छ । ‘बैंकिङ क्षेत्र सबैभन्दा पारदर्शी, गतिशील, सुशासित एवं जिम्मेवार क्षेत्र हो । विगतका कठिन परिस्थितिलाई समेत सहजै सामना गर्दै अगाडि बढिरहेको छ । तर, कतिपय बाध्यतावश र पछिल्लो समयमा नियतवश ऋण नतिर्नेहरूका कारण क्रमशः जोखिमपूर्ण बन्दै छ,’ उनले भने । नेपाल राष्ट्र बैंकका सहायक प्रवक्ता डा. डिल्लीराम पोखरेल बैंकहरूको निष्क्रिय तथा गैर बैंकिङ सम्पत्ति व्यवस्थापन गर्न सम्पत्ति व्यवस्थापन कम्पनी स्थापना गर्ने तयारीमा रहेको बताउँछन् । तर, कसरी सञ्चालन गर्ने भन्ने विषयमा कुनै प्रक्रिया अघि नबढेको उनको भनाइ छ । विगतको तुलनामा कर्जा डिफल्ट बढेकाले गैर बैंकिङ सम्पत्तिमा समेत वृद्धि भएको उनले बताए । ‘कर्जा डिफल्ट हुँदा समग्र आर्थिक प्रणालीमा नै प्रभाव पर्छ, कुनै समस्या काबु बाहिरका पनि हुन्छन्, ती समस्याले बैंकिङ क्षेत्रमा पनि दबाब पार्न सक्छ,’ प्रवक्ता पोखरेलले भने, ‘केन्द्रीय बैंकले यस्तो सम्पत्ति बढ्नुलाई राम्रो मान्दैन । यसलाई तत्काल घटाउन पनि मिल्दैन किनभने अर्थतन्त्र नै सुस्ताएको हुन्छ । अर्थतन्त्र सुधारमा आएपछि आफै सुधार हुन्छन् ।’