अमेरिकाका पूर्वराष्ट्रपति जिमी कार्टरको १ सय वर्षको उमेरमा निधन
काठमाडौं । अमेरिकाका ३९औँ राष्ट्रपति जिमी कार्टरको १ सय वर्षको उमेरमा निधन भएको छ । वाटरगेट काण्ड र भियतनाम युद्धपछि राष्ट्रपति पद जित्ने बदाम किसान जिम्मी कार्टरले ह्वाइट हाउसको कार्यकालपछि विश्वव्यापी मानवतावादीको रूपमा जीवनलाई पुनः परिभाषित गरेका थिए । सबैभन्दा लामो समयसम्म बाँचेका अमेरिकी राष्ट्रपतिको आइतबार जर्जियाको सानो शहर प्लेन्समा रहेको आफ्नो घर होस्पिस केयरमा प्रवेश गरेको लगभग २२ महिनापछि निधन भएको हो । त्यहाँ उनी र उनकी श्रीमती रोजालिनले आफ्नो जीवनको अधिकांश समय बिताएका थिए । रोजालिनको सन् २०२३ नोभेम्बरमा ९६ वर्षको उमेरमा निधन भएको थियो ।
रुग्ण उद्योग सञ्चालन र केरुङ रसुवागढी द्रुुतमार्गलाई ट्रेडिङ हब बनाउनुपर्ने
काठमाडौं । नवलपरासी (बर्दघाट-सुस्तापूर्व)को गैँडाकोटमा भेला भएका उद्योग व्यवसायीले देशभरका रुग्ण उद्योग पुनःसञ्चालनमा ल्याउन सरकारसँग आग्रह गरेका छन् । दुई दिनसम्म सञ्चालन भएको नेपाल उद्योग तथा व्यवसाय महासङ्घको राष्ट्रिय विस्तारित बैठकले उत्पादन बन्द भई रुग्ण अवस्थाका उद्योग सञ्चालन गर्न सरकारसँग आग्रह गरेको हो । भेलाले तयार पारेको ९ बुँदे ‘नवलपुर चितवन घोषणापत्र’ आइतबार सार्वजनिक गर्दै राष्ट्रिय भेला संयोजक डा तिलचन्द्र भट्टराईले गैँडाकोटको भृकुटी कागज कारखानालगायत देशभर बन्द अवस्थाका सबै उद्योगलाई सरकार र निजी क्षेत्रको साझेदारी अवधारणामा पुनः सञ्चालनमा ल्याउन सरकारसँग अनुरोध गरे । उद्योग व्यवसायीले राष्ट्रिय पुँजी निर्माण गर्न उत्पादन र उत्पादकत्वमा वृद्धि गर्दै कानुनसम्मत रुपलले व्यवसाय सञ्चालन गर्न चाहे पनि ऐन, कानुन र नियमावलीका कारण समस्या भएकाले राज्यले सहज किसिमले समस्या समाधान गरिदिन भट्टराईले आग्रह गरे । राष्ट्रिय पुँजी निर्माण गरी ‘समृद्ध नेपाल सुखी नेपाली’को परिकल्पना सार्थक बनाउन नेपालका आर्थिक समृद्धिका प्रमुख स्रोतहरु कृषि, पर्यटन, जलस्रोत, आइटी र खनिज क्षेत्रको विकास र न्यायोचित वितरण गर्नुपर्ने बताए । नेपालको धार्मिक पर्यटनको सम्भावना बोकेको देवघाटधाम, नारायणी नदी, त्रिवेणीधामसँगै अयोध्यापुरी र राम जन्मभूमिलगायत क्षेत्रलाई समेटी राष्ट्रिय गौरवको आयोजना सञ्चालन गर्नुपर्ने घोषणापत्रमा उल्लेख गरिएको छ । महत्वपूर्ण धार्मिक पर्यटकीय र ऐतिहासिक क्षेत्रमा कुनै पनि फोहरजन्य पदार्थ विसर्जन नगर्ने गरी यसको शुद्धता कायम गर्दै पर्यटकीय आर्थिक क्षेत्रको रुपमा विकास गर्न माग गरिएिको छ । त्यस्तै, कोरोला नाकासहित गण्डकी करिडोरलाई व्यवस्थित गर्न तीन तहकै सरकारसँग आग्रह गरिएको छ । नेपालको उत्तर दक्षिणमा रहेका दुई छिमेकीमूलुक भारत र चीन जोड्ने सबैभन्दा छोटो दूरीमा पर्ने केरुङ रसुवागढी हुँदै माडी ठोरीसम्मको द्रुुतमार्ग निर्माण गरी यो क्षेत्रलाई आन्तरिक र बाह्य व्यापारको प्रमुख व्यापारिक केन्द्र (ट्रेडिङ हब) बनाउन घोषणापत्रमार्फत अपिल गरिएको छ । दुई ठूला प्रमुख राजनीतिक दल सहभागी भई निर्माण भएको सरकारले छोटो समयमा नै आर्थिक क्षेत्रमा देखिएको अन्योलग्रस्त अवस्थालाई सकारात्मक दिशातर्फ उन्मुख गराउने गरी आशाका किरण प्रवाह गर्न थालेकोप्रति उद्योग व्यवसायीले खुसी व्यक्त गरेका छन् । अझै पनि लगानीको वातावरण निर्माण नभइसकेको भन्दै राष्ट्रिय भेलाले आर्थिक गतिविधिमा अवरोध ल्याउने विरोधाभासपूर्ण ऐन कानुन र नियमावली संशोधन गर्दै व्यवसायमैत्री कर प्रशासन ल्याउन माग गरेको छ । दुई दिनसम्म चलेको भेलाले उद्योग व्यवसायीका वर्तमानका चुनौतीलाई सामना गर्दै अवसरको रुपमा विकास गर्नसक्ने चुस्तदुरुस्त सङ्गठन निर्माण गर्न विधान परिमार्जन गरिएको महासङ्घका संयोजक भागिरथ सापकोटाले बताए ।
फर्स्ट माइक्रोफाइनान्सको ४ करोडको सेयर बिक्रीमा, मूल्य २८० रुपैयाँ
काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको ४ करोड रुपैयाँ बराबरको संस्थापक सेयर बिक्रीमा राखिएको छ । लघुवित्त संस्थाका केही संस्थापक सेयरधनीहरूले आफ्नो स्वामित्वको सेयर बिक्रीमा राखेका हुन् । लघुवित्तका अनुसार केही संस्थापक सेयरधनीहरूले १ लाख ४० हजार कित्ता सेयर बिक्रीमा राखेका हुन् । जसको मूल्य प्रतिकित्ता २८० रुपैयाँ तोकिएको छ । यस आधारमा लघुवित्तको ३ करोड ९२ लाख रुपैयाँ बराबरको सेयर बिक्रीमा राखिएको हो । लघुवित्तको उक्त सेयरमा विद्यमान संस्थापक सेयरधनीहरूले मात्रै आवेदन दिन पाउनेछन् । यदि ३५ दिनभित्र संस्थापक सेयरधनीले आवेदन नदिएमा सर्वसाधारण लगानीकर्ताका लागि बिक्री खुला गरिने लघुवित्तले जनाएको छ ।
आज सोमबारे औँसी, बिहानै नबोली स्नान गरिँदै
काठमाडौं । सोमबार औँशी परेका दिन बिहान नबोली स्नान गरी मनाइने सोमबारे औँशी आज बिहान मौन स्नान गरी मनाइँदै छ । आजका दिन बिहान उठेर नबोलीकन स्नान गरे मनोकाङ्क्षा पूरा हुने शास्त्रीय मान्यता छ । पौष कृष्ण औँशीका दिन आज परे जस्तै सोमबारे औँशी वर्षमा तीनदेखि चार वटासम्म पर्ने गरेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । यसरी स्नान गरेमा दाम्पत्य जीवन सुखमय हुने, अक्षय फल प्राप्त हुने विभिन्न ग्रन्थमा उल्लेख गरिएको धर्मशास्त्रका आचार्य तोयराज नेपालले बताउनुभयो । औँशी तिथि श्राद्ध, तर्पणका लागि पनि महत्वपूर्ण मानिन्छ । सोमबार औँशी परेका दिन माता, पिता हुने नहुने सबैले बिहान स्नान गर्नु शास्त्रीयरुपमा उचित रहेको जनाइएको छ । प्रत्येक महिनामा आउने औँशीलाई पनि विशेष पर्वका रुपमा मनाउने वैदिक परम्परा छ । माता, पिता नहुनेले औँशी पर्वका दिन श्राद्ध, तर्पण, सिदा दानलगायत गरी मनाउँछन् । यसका लागि सोमबार परेको औँशी विशेष मानिन्छ । आजै तीर्थ अर्थात् गया श्राद्ध गरिँदै त्यसैगरी आजै प्रत्येक वर्ष चान्द्रमासअनुसार पौष कृष्ण औँसीका दिन गरिने दर्श एवं तीर्थ वा गया श्राद्ध विधिपूर्वक गरिँदै छ । दक्षिणायनको अन्तिम औँसीमा आज पितृलाई श्रद्धापूर्वक तर्पण, सिदादान र पिण्डदान गरी श्राद्ध गरिन्छ । पितृलाई कृष्ण पक्ष प्यारो हुने भएकाले पक्षको अन्तिम दिन अर्थात् औँसीमा श्राद्ध गर्ने गरिएको नेपाल संस्कृत विश्वविद्यालय वाल्मीकि विद्यापीठका पूर्वसहप्राध्यापक श्रीराम सापकोटाले जानकारी दिए । सौरमास अनुसार माघे सङ्क्रान्तिदेखि र चान्द्रमासअनुसार माघ कृष्ण प्रतिपदादेखि उत्तरायण शुरु हुन्छ । उत्तरायण शुरु हुनुअघिको औँसी अर्थात् पौष कृष्ण औँसीमा पितृलाई विधिपूर्वक आह्वान गरी श्राद्ध गर्ने परम्परा छ । वैदिक सनातन धर्मावलम्बीले सके प्रत्येक वर्षमा नसके जीवनकालमा कम्तीमा पनि एकपटक तीर्थमा गई श्राद्ध गर्नुपर्ने नियम छ । आज राजधानीको गोकर्ण उत्तरगया, त्रिवेणीधाम, देवघाट, रिडी, नुवाकोट र रसुवाको सङ्गमस्थित वेत्रावतीलगायत तीर्थस्थलमा विधिपूर्वक श्राद्ध गर्ने भक्तजनको भीड लाग्छ । गयालगायत तीर्थमा गरिने श्राद्ध भएकाले आज गरिने श्राद्धलाई गया श्राद्ध भनिन्छ । दक्षिणायनको अन्तिम बिदाइका रुपमा आज श्राद्ध गर्ने गरिएको हो । दर्शश्राद्ध अर्थात् घरतिरका तीन पुस्ता र मामाघर तिरका तीन पुस्तालाई पिण्ड दिई गरिने श्राद्ध शास्त्रीय रुपमा गर्नुपर्ने दिन पौष कृष्ण औँसी हो ।
अखिल (क्रान्तिकारी) मा उम्मेदवारको उमेर हद ३२ वर्ष, माघ १२ गते निर्वाचन हुने
काठमाडौं । नेकपा (माओवादी केन्द्र) निकट अखिल (क्रान्तिकारी) को नेतृत्व चयनमा उमेर हद लाग्ने भएको छ । अखिल (क्रान्तिकारी) को प्रमुख निर्वाचन अधिकृत मुक्तिनारायण प्रधानका अनुसार, उमेर हद लगाउने पक्षमा ९ सय र खुला राख्ने पक्षमा ८ सय ७९ मत प्राप्त भएको छ । मतदानको अन्तिम नतिजाअनुसार अब क्रान्तिकारीमा ३२ बर्ष उमेर हद लाग्ने भएको हो । उमेर हद राख्ने कि नराख्ने भन्नेबारेमा क्रान्तिकारीमा फरक मत रहँदै आएको थियो । प्रमुख निर्वाचन अधिकृत प्रधानका अनुसार, अब ३२ वर्षमुनिबाट नेतृत्व चयन गर्न अखिल क्रान्तिकारीमा आगामी माघ १२ गते निर्वाचन हुने कार्यक्रम तय गरिएको छ ।
आज ‘तमु ल्होसार’ मनाइँदै, देशभर सार्वजनिक बिदा
काठमाडौं । गुरुङ समुदायले नयाँ वर्षलाई स्वागत गर्दै आज ‘तमु ल्होसार’ मनाउँदैछन् । ‘ल्हो’को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो । तमु ल्होसार गुरुङ समुदायले नयाँ वर्षका रुपमा भव्यरुपमा मनाउने गर्छन् । ‘तमु ल्होसार’ पर्व सूर्यको किरणसँग सम्बन्धित छ । गुरुङ बाहुल्यता रहेको लमजुङ, गोरखा, तनहुँ, स्याङ्जा, मनाङ, कास्की, पर्वतलगायतमा सूर्यको ताप पहिले आउने भएकाले पुस १५ मा यो पर्व मनाउने गरिएको किम्वदन्ती छ । यसपछि क्रमशः तामाङ र शेर्पा जातिको बसोवास भएको क्षेत्रमा सूर्यको ताप आउने भएकाले माघ र फागुनमा यो पर्व मनाइने विश्वास गरिन्छ । पुस १५ गतेको रात सबैभन्दा लामो हुने र यसपछिका रात घट्दै जाने भएकाले पनि यस पर्वको महत्व रहेको बताइन्छ । तमु ल्होसारका अवसरमा आज सरकारले सार्वजनिक बिदा दिएको छ । यस अवसरमा टुँडिखेलमा गुरुङ समुदायले विशेष कार्यक्रमको आयोजना गरेको छ ।
मनोज ज्ञवाली नबिल बैंकको सिनियर डीसीईओमा बढुवा
काठमाडौं । नबिल बैंकको वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत (सिनियर डीसीईओ) पदमा मनोज ज्ञवाली बढुवा भएका छन् । यसअघि डीसीईओ रुपमा काम गरिरहेका ज्ञवालीलाई बैंक सञ्चालक समिति बैठकले सिनियर डीसीईओमा बढुवा गर्ने निर्णय गरेको हो । ज्योति विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदबाट राजिनामा दिएका उनी नबिल बैंकमा नायव महाप्रबन्धक भएर प्रवेश गरेका थिए । चार्टर्ड एकाउण्टेण्ट समेत रहेका ज्ञवालीसँग बैंकिङ क्षेत्रमा राम्रो अनुभव रहेको छ । करिब ५ वर्ष अधिकृतस्तरमा नेपाल राष्ट्र बैंकमा विभिन्न विभाग अन्तर्गत कार्य गरेका ज्ञवालीले मर्चेन्ट बैंकिङ्ग कम्पनीमा प्रवन्ध निर्देशक रही २ वर्षको कार्य अनुभव संगालेका छन् । उनले ग्लोवल आईएमई बैंकमा पनि लामो समय काम गरेका थिए । त्यस्तै, उनको जलविद्युत क्षेत्रमा १ वर्ष कार्य गरेको अनुभव रहेको छ । सकारात्मक सोच भएका र प्रष्ट रुपमा विचार राख्न सक्ने ज्ञवाली युवा पुस्तामाझ उत्प्रेरक व्यक्तिको रुपमा पनि परिचित छन् ।
आरुखर्क माविको स्वर्ण जयन्ती समारोहमा ६१ लाखभन्दा बढी आम्दानी, खर्च ७ लाख ५९ हजार
नुवाकोट । नुवाकोटको बेलकोटगढी- १ स्थित श्री आरुखर्क माध्यमिक विद्यालयको स्वर्ण जयन्ती समारोहमा ६१ लाखभन्दा बढी आम्दानी भएको छ । पुस ७ गते मनाएको स्वर्ण जयन्ती समारोहमा खर्च र आम्दानीबारे विवरण शनिबार विद्यालयमा एक कार्यक्रमकाबीच आर्थिक सङ्कलन उपसमितिले सार्वजनिक गरेको छ । विद्यालयले समारोहको दौरान खर्च र आम्दानीको विवरण सार्वजनिक गर्दै कुल ६१ लाख ६६ हजार ३९८.५९ रुपैयाँ आम्दानी भएको जनाएको छ । यसमा रसिद आय (आर्थिक सहयोग रसिद) र अक्षयकोषको योगदान पनि रहेको छ भने ७ लाख ५९ हजार ४७४.४ खर्च भएको आर्थिक सङ्कलन उपसमितिका संयोजक विकास खतिवडाले जानकारी दिए । कार्यक्रममा बोल्दै विद्यालयका प्रधानाध्यापक सुदर्शन खतिवडाले विद्यालयको आर्थिक प्रगति र ६१ लाखको आम्दानीको बारेमा चर्चा गर्दै विद्यालयले हजारौं विद्यार्थीलाई देशका विभिन्न क्षेत्रमा योगदान पुर्याउन सक्षम बनाएको र सोही विद्यार्थीहरूले गरेको सहयोगप्रति गर्व व्यक्त गरे । उनले विद्यालयको आर्थिक व्यवस्थापनमा सुधार गर्दै गुणस्तरीय शिक्षा प्रदान गरी आगामी दुई वर्षभित्र विद्यालयलाई यस क्षेत्रकै उत्कृष्ट विद्यालय बनाउने लक्ष्य रहेको बताए । आर्थिक सङ्कलन उपसमितिका संयोजकसमेत रहेका खतिवडाले आगामी दिनमा पनि विद्यालयलाई सहयोग गर्दै अघि बढ्ने प्रतिवद्धता व्यक्त गरे । नुवाकोट जिल्ला क्षेत्र नम्बर २ का सङ्घीय सांसद अर्जुन नरसिंह केसीको प्रमुख आतिथ्यमा र बागमती प्रदेशका सांसद रामप्रसाद ढुङ्गानाको विशेष आतिथ्यमा स्वर्ण जयन्ती सम्पन्र भएको थियो । समारोहमा विद्यार्थीहरूको सांस्कृतिक कार्यक्रम, झाँकी प्रदर्शन, खेलकुद गतिविधिहरू र विभिन्न अतिरिक्त क्रियाकलापमा उत्कृष्ट स्थान हासिल गर्ने विद्यार्थीहरूलाई ट्रफी, पदक र प्रमाणपत्र वितरण गरिएको थियो । साथै, स्वर्ण महोत्सवको सफलताका लागि आर्थिक र भौतिक सहयोग पुर्याउने दाता, जग्गादाता, पूर्वशिक्षक, विद्यालय व्यवस्थापन समितिका पूर्व पदाधिकारीहरूलाई सम्मानित कार्यक्रम पनि गरेको थियो । आरुखर्क माध्यमिक विद्यालय विसं २०३१ सालको पौष ७ गते औपचारिक रूपमा स्थापना भएको थियो । विद्यालयले ५० वर्षको यात्रामा शिक्षा र समुदायका क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्याएको छ ।