बागलुङको बुर्तिवाङमा बन्यो ५० शय्याको अस्पताल
गलकोट । ढोरपाटन नगरपालिका–१ बुर्तिवाङमा शुक्रबारदेखि ५० शय्याको अस्पताल सञ्चालन भएको छ । यसबाट निसीखोला, तमानखोला र बडिगाड गाउँपालिकाका स्थानीय प्रत्यक्ष लाभान्वित हुनेछन् । पचास शय्याको अस्पतालमा स्तरोन्नतिपछि जनशक्ति व्यवस्थापनको कामलाई अगाडि बढाइएको गण्डकी प्रदेश सरकारका स्वास्थ्यमन्त्री कृष्णप्रसाद पाठकले शुक्रबार अस्पतालको सेवा प्रारम्भ गर्दै बताए । विसं २०२१ मा दुई कोठाबाट स्थापना भएको स्वास्थ्य संस्था ६० वर्षपछि अस्पताल बनेको हो । विसं २०६४ मा जिल्ला अस्पतालमा स्तरोन्नति गर्न ३२ करोड रुपैयाँ लागतमा भौतिक पूर्वाधार निर्माण प्रारम्भ भएको थियो । गण्डकी प्रदेश सरकारले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा बुर्तिवाङ प्राथमिक स्वास्थ्य केन्द्रलाई ५० शय्याको प्रादेशिक अस्पतालका रूपमा सञ्चालन गरिने उल्लेख थियो । अस्पतालमा पूर्वाधार, उपकरण तथा जनशक्ति व्यवस्थापनका लागि १२ रुपैयाँ करोड विनियोजन गरिएको थियो । रासस
सातै प्रदेशमा केबलकार, पर्यटकको बसाइँ एक साता
सुदूरपश्चिम प्रदेशको पहिलो केबलकार परियोजना, जालपादेवी केबलकारको शिलान्यास गर्न पाउँदा अत्यन्तै उत्साह र गर्व महशुस भएको छ । पर्यटन पूर्वाधारको विकासमार्फत जनजनलाई जोड्दै, मुलुकको पर्यटन प्रवर्द्धन र आर्थिक समृद्धिको बाटो पहिल्याउने दृढ संकल्प र उच्च उद्देश्यसहित आईएमई समूह सात वटै प्रदेशमा केबलकारसहितका होटल तथा रिसोर्ट निर्माणमा लागि रहेको छ। यसै सिलसिलामा हामीले काठमाडौंको चन्द्रागिरि र पूर्वी नवलपरासीको गैँडाकोटमा मौलाकाली केबलकार, होटल तथा रिसोर्ट र अन्य मनोरञ्जनात्मक पूर्वाधारसहितको गन्तव्य सञ्चालनमा ल्याइसकेका छौँ । रूपन्देहीको बुटबलमा केबलकार सञ्चालनमा आइसकेको छ भने पाँचतारे होटलसहित अन्य पूर्वाधार निर्माणको क्रममा रहेको छ । त्यसैगरी ताप्लेजुङको प्रसिद्ध तीर्थस्थल पाथीभरामा पनि केबलकार निर्माणको अघि बढेको छ । चन्द्रागिरिमा बनेको विशाल पूर्वाधारले केबल ५ सयले प्रत्यक्ष रोजगारी मात्र सृजना गरेको छैन, यसले समग्र चन्द्रागिरि र यसको वरिपरि आमूल परिवर्तन ल्याएको छ । दैनिक औसत ३ हजार हाराहारीमा मानिसको आवतजावत हुँदा आर्थिक क्रियाकलाप बढेका छन् । स्थानीयको व्यवसायमा उल्लेखनीय वृद्धि भएको छ । उनीहरूको जीवनस्तरमा सुधार आएको छ । चन्द्रागिरि स्वदेशी तथा विदेशी पर्यटककै एउटा नवीन र आकर्षक गन्तव्य बनेको छ । नेपाल भ्रमणमा आउने उच्च विदेशी पाहुनाका लागि थप एक दिन बिताउने गन्तव्य बनेको छ । बालबच्चादेखि जेष्ठ नागरिकसम्मलाई एकपटक पुग्नै पर्ने पर्यटकीय गन्तव्यको रुपमा चन्द्रागिरि रहेको छ । बुटवल र गैडाकोटमा पनि चन्द्रागिरि जस्तै सयौँ स्थानीयले रोजगारी पाएका छन् । आर्थिक गतिविधि विस्तार भएका छन् । धेरै स्थानीय, भारतीय र अन्य विदेशी पर्यटकलाई नयाँ गन्तव्य बनेको छ । हामीले चन्द्रागिरिकै मोडलमा सातवटै प्रदेशमा केबलकार, होटल तथा रिसोर्टसहितको विशाल पर्यटन पूर्वाधार निर्माणको उद्देश्य लिएर अगाडि बढेका छौँ । यो हाम्रो प्रयासबाट नेपाल आउने पर्यटकको बसाइ कम्तिमा ७ दिन लम्बियोस् भन्ने हाम्रो उद्देश्य हो । यसै सिलसिलामा सुदूरपश्चिम, लुम्बिनी र कर्णाली प्रदेशको संगमस्थल यस कर्णाली चिसापानीमा जालपादेवी केबलकारले यस क्षेत्रको आर्थिक, सामाजिक र सांस्कृतिक विकासमा उल्लेखनीय योगदान पुर्याउने मात्र नभई समग्र क्षेत्रको पर्यटन प्रवर्द्धन, आर्थिक विकास र समृद्धिमा कोशेढुङ्गा साबित हुनेमा विश्वास छ । अहिले मुलुकमा पर्यटन पूर्वाधारको कमी छ । नेपाल आउने विदेशी पर्यटकको औसत खर्च तथा बसाइ निकै कम छ । र, यो प्रतिदिन झन् घट्दो छ । विदेशी पर्यटकहरु औसत १२ दिन नेपाल बस्ने र दैनिक औसत ५० डलर भन्दा कम खर्च गर्ने गरेको पछिल्लो तथ्याङ्क छ । हामीले पर्यटकलाई आकर्षित गर्ने, उनीहरूको नेपाल बसाइ र खर्च बढाउने खालका थप ठूला पूर्वाधारहरु निर्माण गर्नुपर्नेछ । संस्कृति, कला, प्राकृतिक सौन्दर्य र यहाँको अलौकिक भूगोलको अवलोकन लागि नेपालमा पर्यटक आउने गर्छन् । त्यस्ता पर्यटकीय पूर्वाधारको विकास गर्नुपर्छ भन्ने मेरो सुझाव हो । यी कार्यहरुमा सरकारले निजी क्षेत्रलाई जतिधेरै सहजीकरण गरेर साझेदारीको मोडल अपनाउने नीति लिन्छ, त्यति नै छिटो देशको विकास हुन्छ । हामीलाई प्रकृतिले अपार बरदान दिएको छ । पर्यटन, प्रकृति र पर्यावरणमा हामीले गर्नसक्ने सम्भावना अनगिन्ति छन् । त्यसमा हामीले हाम्रो भिजन र इच्छाशक्ति मिसायौँ, र प्रविधि र पुँजी जोड्न सक्यौँ भने साँच्चिकै मिराकल गर्न सकिन्छ भन्ने मेरो विश्वास छ । निजी क्षेत्र निश्चय पनि यो मुलुकको विकास र परिवर्तनमा यस्तै मिराकल ल्याउन सक्षम छ । हामीले पटकपटक यसको पुष्टि पनि गर्दै आएका छौँ । अनुकूल वातावरण पायो भने निजी क्षेत्रले ठूलो लगानी गर्न सक्छ र विकास, रोजगारी र आर्थिक वृद्धिमा सरकारलाई सघाउन सक्छ । यो हाम्रो आत्मविश्वास हो । अहिले मुलुक संघीय संरचनामा छ । हरेक प्रदेश तथा स्थानीय तहहरुले आफ्नो क्षेत्रमा लगानी भित्र्याउन प्रतिस्पर्धा गर्नुपर्छ भन्ने मलाई लाग्छ । त्यसका लागि प्रदेश र स्थानीय तहहरु बिच लगानीकर्ताहरुलाई सम्भावित आयोजनामा लगानीका लागि आह्वान गर्ने, ठोस र व्यवहारिक नीति मार्फत सहजीकरण गर्ने र आफ्नो प्रदेश तथा स्थानीय तहमा धेरै भन्दा धेरै लगानी भित्र्याउने प्रतिस्पर्धा हुनुपर्ने हो । तबमात्र हामीले अपेक्षा गरेको आर्थिक विकास र सम्मृद्धि हासिल हुन सक्छ । सबै स्थानीय तहहरुले दीर्घकाललाई लक्षित गरी यस्ता संरचनाहरु बनाउन जरुरी छ । लगानीमैत्री वातावरण निर्माण गर्न नीतिगत सुधार र सहुलीयतपूर्ण व्यवस्था आवश्यक पर्छ । तब मात्र स्वदेशी तथा विदेशी लगानी भित्र्याउन सकिन्छ । हाम्रो मुलुकको सम्भावनाको क्षेत्र भनौँ वा कुनै क्षेत्रले मुलुकको कायापलट गर्न सम्भव छ भने त्यो पर्यटन नै हो । पर्यटन पूर्वाधारमा लगानी गरे मात्र लक्ष्यअनुसार पर्यटक भित्र्याउन सकिन्छ । पर्यटकको बसाइ लम्बाउन सकिन्छ । थप विदेशी मुद्रा आर्जन गर्न सकिन्छ । थप रोजगारी सिर्जना गर्न सकिन्छ । थप राजश्व उठाउन सकिन्छ, र हामीले अपेक्षा गरेको आर्थिक विकास र सम्मृद्धि हासिल गर्न सकिन्छ । पर्यटनले अन्य सेवा क्षेत्रको तुलनामा धेरै रोजगारी सिर्जना गर्छ र यसबाट राजस्व पनि बढी सिर्जना हुन्छ । जालपादेवी केबलकार आयोजनाले पक्कै पनि जनताको जीवनस्तर उकास्न सघाउने छ । गरिबी घटाउने छ । मुलुकमा अपेक्षा गरेको आर्थिक विकास र सम्मृद्धि आउने छ । आखिर हामी सबैका अपेक्षा पनि यिनै होइनन् र ? सरकारले गर्ने सानो नीतिगत व्यवस्था र हौसलाले यी सबै काम गर्न सम्भव छ भने किन नगर्ने ? सरकारले बिना लगानी नै प्रतिफल प्राप्त गर्ने, विकासको डिभिडेन्ड बुझ्न पाइने भएकाले नै मैले समय समयमा सरकारलाई निजी क्षेत्रको बिना लगानीको पार्टनर भन्ने गरेको हुँ । निजी क्षेत्रले निर्माण गर्ने हरेक आयोजनाले दिने सेवा, सुविधा र यससँग जोडिने अर्थोपार्जन सबै राज्यको दायित्व मै पर्ने विषय हुन् । निजी क्षेत्रले निर्माण गर्ने यिनै भौतिक पूर्वाधार र प्रदान गर्ने सेवाले राज्यको स्टाटस बढ्ने हो । राज्य विकसित हुने आधार पनि यिनै हुन् । निजी लगानीलाई प्रोत्साहन हुने, निजी क्षेत्रलाई विस्तार र विकास गर्न दिने र उनीहरुको मान, मर्यादा र मनोबल उच्च हुने हो भने निजी क्षेत्रले नै हो विकास, आर्थिक सम्मृद्धि र समुन्नति ल्याउने । समग्र मुलुकको निजी क्षेत्रको नेतृत्वका हैसियतले संघीय, प्रदेश तथा स्थानीय सरकारहरुलाई मेरो यो आग्रह तथा सुझाव छ । जालपादेवी केबलकार आधुनिक विकास र आर्थिकरुपमा अन्य प्रदेशको तुलनामा अलि पछि रहेको सुदूरपश्चिम प्रदेश मलाई भने निकै सुन्दर र अलौकिक लाग्छ । यस प्रदेशका रामारोशन, बडीमालिका, खप्तड, शुक्लाफाँट, चिसापानी पुल आफैँमा धेरै सुन्दर गन्तव्य हुन् । सुदूरपश्चिम प्रदेशको प्रवेशद्वार यस कर्णाली चिसापानीमा निर्माण हुने यस केबलकार र रिसोर्टले शाहसिक, धार्मिक र मनोरञ्जन पर्यटनलाई बढवा दिने कुरामा कसैको पनि दुई मत हुँदैन भन्ने मेरो विश्वास छ । पवित्र कर्णाली नदीमा जल पर्यटन विकासको प्रचुर सम्भावना छ । कर्णाली नदीमा र्याफ्टिङ, यस क्षेत्र आसपासका धेरै पहाडहरु प्याराग्लाइडिङ र ट्रेकिङ तथा बर्दिया राष्ट्रिय निकुञ्जमा जंगल सफारीसहित परम्परागत थारु संस्कृतिको प्रवद्र्धन गर्न सकेमा यो क्षेत्रको भौतिक, आर्थिक र सामाजिक विकासले साच्चै नै फड्को मार्न सक्छ । यसका लागि आज शिलान्यास गरे जस्ता धेरै भन्दा धेरै पर्यटन पूर्वाधारको खाँचो मैले देखेको छु । विगत केही वर्षदेखि नेपाल र नेपालका हिल स्टेशनहरु भारतीय पर्यटकको रोजाइका गन्तब्य बन्दै आएका छन् । सप्ताहन्त होस् वा विदामा मनोरञ्जनका लागि आउने होलिडे पर्यटक हुन् वा मिटिङ्ग, इन्सेन्टिभ, कन्फ्रेन्स, एक्जिबिसन हुन् वा डेस्टिनेशन वेडिङ, अहिले नेपालका धेरै पर्यटकीय गन्तब्यहरु भारतीय पर्यटकको पहिलो रोजाइमा पर्ने गरेका छन् । तर, एयर कनेक्टिभिटि र आवश्यक अन्य भौतिक पूर्वाधारको अभावले ती पर्यटकहरु नेपालमा ल्याउन नसकेको यथार्थ छ । अहिले हामी हाम्रो छिमेमी मुलुक भारतको सिमाबाट करिब २ घण्टाको ड्राइभिङ दूरिमा छौँ । भारतीय सिमादेखि सजहै आउन सकिने र पूर्व पश्चिम राजमार्गको छेवैमा रहेको यस केबलकार र रिसोर्टले ती पर्यटकको केही हिस्सा मात्र पनि आकर्षित गर्न सकेमा यस जिल्लाको मात्र होइन यस सुदूरपश्चिम प्रदेश र समग्र नेपालको पर्यटनको क्षेत्रमा अकल्पनीय फड्को मार्न सक्नेछौँ । हामीले निर्माण गरिरहेका यसअघिका पूर्वाधारहरु जस्तै यहाँ पनि हामी स्थानीय सहभागिताकै मोडल अपनाएका छौँ । किनभने अब यो संरचना यहाँहरुको पनि साझा सम्पत्ति हो । यो आयोजनामा सहभागीताका लागि हामीले आग्रह गरेका छौँ । यहाँहरु पनि कम्पनीमार्फत् यस आयोजनामा सहभागी हुन सक्नुहुनेछ । यस चिसापानी क्षेत्रको इतिहास र महत्वलाई चिनाइ रहनुपर्दैन । चिसापानी क्षेत्र आफैँमा सुन हो, यो केबलकार आयोजनाले यसमा सुगन्ध थप्ने हाम्रो अपेक्षा छ । त्यसैगरी तीन प्रदेशको संगम स्थल तथा डल्फिन र र्याफ्टिङमा प्रसिद्ध कर्णालीको यो किनार ऐतिहासिक, सांस्कृतिक र धार्मिक पर्यटनको त्रिवेणी बन्नेछ भन्नेमा हामी पूर्ण रुपमा विस्वस्त छौँ । (ढकाल नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष हुन् । जालपादेवी केवलकार शिलान्यास समारोहमा दिएको मन्तव्य)
वालिङमा व्यावसायिक केराखेती : वार्षिक चार लाख मुनाफा
वालिङ । यहाँका एक किसानले केराखेतीबाट वार्षिक चार लाख मुनाफा आर्जन गरेका छन् । वालिङ नगरपालिका–१ धरमपानीका कृष्णप्रसाद ढुङ्गानाले व्यावसायिक केराखेतीबाट उक्त रकम आर्जन गरेका हुन् । सबै खर्च कटाएर एक वर्षमा चार हजार पाँच सय दर्जन काँचो तथा पाकेका केरा बेच्दा त्यति रकम नाफा भएको उनले बताए । ‘मेरा बारीका केरा स्थानीय व्यापारीले बगैचाबाट नै खरिद गर्छन्’, उनले भने । स्थानीय बजारमा केराको माग उच्च भए पनि मागअनुसार आपूर्ति हुन सकेको छैन । तीन वर्षअघि किसान ढुङ्गानाले व्यावसायिक रूपमा केराखेती थालेका हुन् । व्यावसायिक रूपमा ड्रागन फ्रुटको खेती गर्न जग्गा सम्म्याउने क्रममा पुरुवा माटोमा केरा राम्रो हुन्छ भन्ने थाहा पाएपछि उनले केराखेती प्रारम्भ गरेका हुन् । उनको बगैचामा स्थानीय र हाइब्रिड केरा फलेका छन् । उद्यमी ढुङ्गानाले २० रोपनीमा केराखेती गर्दै आएका छन् । बगैचामा झापाली मालभोग, चिनी केरा, पुरानो मालभोग, धुस्रे र स्थानीय मुग्रे गरी पाँच प्रजातिका केरा लगाएका छन् । उनले ४० रोपनीमा ड्रागन फ्रुटको खेती पनि गर्दै आएका छन् ।
बजारमा अत्यधिक तरलता भएपछि ७० अर्ब तान्दै राष्ट्र बैंक
काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबार बैंकिङ प्रणालीबाट ७० अर्ब रुपैयाँ तरलता प्रशोचन गर्ने भएको छ । बैंक तथा वित्तीय संस्थाहरूमा अधिक तरलता थुप्रिएसँगै राष्ट्र बैंकले निक्षेप संकलन उपकरणमार्फत २१ दिनका लागि ७० अर्ब रुपैयाँ प्रशोचन गर्न लागेको हो । यसका लागि आज दिउँसो २ बजे बोलकबोल हुने राष्ट्र बैंकले जनाएको छ । निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सक्नेछन् । निक्षेप संकलनको बोलकबोल ब्याजदरमा गर्नुपर्नेछ भने बहुब्याजदरमा पनि बहुबोलकबोल गर्न सकिने राष्ट्र बैंकले जनाएको छ । निक्षेप संकलन उपकरणको बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउनेछन् । यो २१ दिने निक्षेप संकलन उपकरणको माघ ६ गते साँवा तथा ब्याज भुक्तानी गरिने राष्ट्र बैंकले जनाएको छ।
दक्षिण कोरियामा विमान दुर्घटना, २८ जनाको मृत्यु
काठमाडौं । दक्षिण कोरियामा विमान दुर्घटना हुँदा कम्तीमा २८ जनाको मृत्यु भएको छ । एक सय ७५ जना यात्री र चालक दलका ६ जना सदस्य रहेको जेजु एयरको बोइङ–७३७ विमान आइतबार बिहान अवतरणका क्रममा दुर्घटना भएको हो । योनहाप समाचार समितिका अनुसार थाइल्याण्डको राजधानी बैङ्ककबाट कोरियाको मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा धावनमार्गमा चिप्लिएर पर्खालमा ठोक्किएको थियो । दुर्घटनाको अनुसन्धान थालिएको यातायात मन्त्रालयले जनाएको छ ।
यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर, कुन देशको कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । निर्धारित दरअनुसार, अमेरिकी डलर एकको खरिददर एक सय ३६ रुपैयाँ ५६ पैसा र बिक्रीदर एक सय ३७ रुपैयाँ १६ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर एक सय ४२ रुपैयाँ ४२ पैसा र बिक्रीदर एक सय ४३ रुपैयाँ ०४ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर एक सय ७१ रुपैयाँ ३७ पैसा र बिक्रीदर एक सय ७२ रुपैयाँ १२ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर एक सय ५१ रुपैयाँ ६२ पैसा र बिक्रीदर एक सय ५२ रुपैयाँ २९ पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर ८४ रुपैयाँ ८५ पैसा र बिक्रीदर ८५ रुपैयाँ २२ पैसा, क्यानेडियन डलर एकको खरिददर ९४ रुपैयाँ ८३ पैसा र बिक्रीदर ९५ रुपैयाँ २५ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०० रुपैयाँ ४८ पैसा र बिक्रीदर एक सय रुपैयाँ ९२ पैसा निर्धारण गरिएको छ । जापानी येन १० को खरिददर आठ रुपैयाँ ६६ पैसा र बिक्रीदर आठ रुपैयाँ ७० पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ७१ पैसा र बिक्रीदर १८ रुपैयाँ ७९ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ ३६ पैसा र बिक्रीदर ३६ रुपैयाँ ५२ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ ४७ पैसा र बिक्रीदर ३७ रुपैयाँ ६३ पैसा कायम भएको छ । केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रुपैयाँ ०२ पैसा र बिक्रीदर चार रुपैयाँ ०४ पैसा, युएई दिराम एकको खरिददर ३७ रुपैयाँ १८ पैसा र बिक्रीदर ३७ रुपैयाँ ३४ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३० रुपैयाँ ५४ पैसा र बिक्रीदर ३० रुपैयाँ ६७ पैसा निर्धारण भएको छ । साउथ कोरियन वन एक सयको खरिददर नौ रुपैयाँ २६ पैसा र बिक्रीदर नौ रुपैयाँ ३० पैसा, स्विडीस क्रोनर एकको खरिददर १२ रुपैयाँ ४२ पैसा र बिक्रीदर १२ रुपैयाँ ४८ पैसा र डेनिस क्रोनर एकको खरिददर १९ रुपैयाँ १० पैसा र बिक्रीदर १९ रुपैयाँ १८ पैसा तोकिएको छ । राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १७ रुपैयाँ ५९ पैसा र बिक्रीदर १७ रुपैयाँ ६७ पैसा, कुवेती दिनार एकको खरिददर चार सय ४३ रुपैयाँ १३ पैसा र बिक्रीदर चार सय ४५ रुपैयाँ ०८ पैसा, बहराइन दिनार एकको खरिददर तीन सय ६१ रुपैयाँ ८९ पैसा र बिक्रीदर तीन सय ६३ रुपैयाँ ४८ पैसा, ओमनी रियाल एकको खरिदर तीन सय ५४ रुपैयाँ ६८ पैसा र बिक्रीदर तीन सय ५६ रुपैयाँ २४ पैसा तोकिएको छ । त्यसैगरी भारतीय रुपैयाँ एक सयको खरिददर एक सय ६० रुपैयाँ र बिक्रीदर एक सय ६० रुपैयाँ १५ पैसा तोकिएको छ । यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने राष्ट्र बैङ्कले जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुनेसमेत जनाइएको छ ।
यस्तो छ तरकारी र फलफूलको मूल्य
काठमाडौं । कालिमाटी फलफूल तरकारी विकास समितिले आइतबारका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो । आइतबार गोलभेँडा ठूलो (भारतीय) प्रतिकेजी अधिकतम ९० रुपैयाँ, गोलभेडा सानो (लोकल) प्रतिकेजी ४० रुपैयाँ, गोलभेडा सानो (भारतीय) प्रतिकेजी ६० रुपैयाँ, गोलभेडा सानो (तराई) प्रतिकेजी ६० रुपैयाँ, आलु रातो प्रतिकेजी ५७ रुपैयाँ, आलु रातो (भारतीय) प्रतिकेजी ४६ रुपैयाँ, आलु सेतो प्रतिकेजी ४२ रुपैयाँ, प्याज सुकेको (भारतीय) प्रतिकेजी ६८ रुपैयाँ, गाजर (लोकल) प्रतिकेजी १५० रुपैयाँ, बन्दा (लोकल) प्रतिकेजी ४० रुपैयाँ कायम भएको छ । यसैगरी बन्दा (तराई) प्रतिकेजी ३० रुपैयाँ, बन्दा (नरिवल) प्रतिकेजी ४० रुपैयाँ, काउली स्थानीय प्रतिकेजी ५० रुपैयाँ, स्थानीय काउली (ज्यापु) प्रतिकेजी ६० रुपैयाँ, काउली तराई प्रतिकेजी ३० रुपैयाँ, मूला रातो प्रतिकेजी ४० रुपैयाँ, मूला सेतो (लोकल) प्रतिकेजी ३५ रुपैयाँ, सेतो मूला (हाइब्रीड) प्रतिकेजी ४५ रुपैयाँ, भन्टा लाम्चो प्रतिकेजी ६० रुपैयाँ, भन्टा डल्लो प्रतिकेजी ७० रुपैयाँ, मकै बोडी प्रतिकेजी ७० रुपैयाँ, मटरकोसा प्रतिकेजी १४० रुपैयाँ, घिउ सिमी (लोकल) प्रतिकेजी ८० रुपैयाँ घिउ सिमी (हाइब्रिड) प्रतिकेजी ८० रुपैयाँ निर्धारण गरिएको छ । समितिले तिते करेला प्रतिकेजी ११० रुपैयाँ, लौका प्रतिकेजी ७० रुपैयाँ, स्कुस प्रतिकेजी ३५ रुपैयाँ, रायो साग प्रतिकेजी ३० रुपैयाँ, पालुङो प्रतिकेजी १०० रुपैयाँ, चमसुर प्रतिकेजी १०० रुपैयाँ, तोरीको साग प्रतिकेजी ५० रुपैयाँ, मेथी साग प्रतिकेजी १०० रुपैयाँ, तरुल प्रतिकेजी ८० रुपैयाँ, च्याउ कन्य प्रतिकेजी १२० रुपैयाँ, च्याउ डल्ले प्रतिकेजी ३०० रुपैयाँ, ब्रोकाउली प्रतिकेजी ६० रुपैयाँ, गान्टेमुला प्रतिकेजी ८० रुपैयाँ, तामा प्रतिकेजी १०० रुपैयाँ, तोफु प्रतिकेजी १२० रुपैयाँ, कागती प्रतिकेजी १३० रुपैयाँ, लोकल काँक्रो प्रतिकेजी १३० रुपैयाँ र एक केजी गुन्द्रुकको मूल्य ३०० रुपैयाँ तोकेको छ । यसैगरी, झोले स्याउ प्रतिकेजी २६० रुपैयाँ, फुजी स्याउ प्रतिकेजी ३०० रुपैयाँ, केरा प्रतिदर्जन १७० रुपैयाँ निर्धारण गरिएको छ ।
कालिकोट केन्द्रबिन्दु भएर भूकम्पको धक्का
काठमाडौं । कालिकोटमा ओडानाकु केन्द्रबिन्दु भएर आइतबार पनि भूकम्प गएको छ । बिहान ५ बजेर ९ मिनेट जाँदा ३.६ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । यसअघि शुक्रबार राति पनि कालीकोट केन्द्रबिन्दु भएर ३.७ म्याग्नीच्युडको भूकम्प गएको थियो । पुस महिना लागेपछि मात्रै पश्चिम नेपालमा ६ जिल्लामा आठ वटा भूकम्प गइसकेका छन् ।