नेपाल र चीनका विश्वविद्यालयबीच सहकार्य सम्झौता
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा लुम्बिनी बौद्ध विश्वविद्यालय र चीनको बेइजिङ भाषा तथा संस्कृति विश्वविद्यालयबीच सहकार्य गर्नेसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ । प्रधानमन्त्री निवास, बालुुवाटारमा सोमबार भएको कार्यक्रममा लुम्बिनी बौद्ध विश्वविद्यालयका उपकुलपति प्राडा सुवर्णलाल बज्राचार्य र बेइजिङ भाषा तथा संस्कृति विश्वविद्यालयका अध्यक्ष त्वाङ फङबीच सहमतिपत्र आदानप्रदान भएको हो । समझदारीअनुसार दुवै मुलुकका ती विश्वविद्यालयले संस्कृति आदानप्रदान भाषा शिक्षण, अनुसन्धान कार्यसञ्चालनका लागि काम गर्नेछन् । यसैगरी, बेइजिङमा नेपाल इन्स्टिच्यूट र लुम्बिनीमा चाइना इन्स्टिच्यूट स्थापना हुनेछन् । प्रधानमन्त्री केपी शर्मा ओलीको गत मङ्सिर १७ देखि २० गतेसम्म भएको औपचारिक भ्रमणका क्रममा चीनसँग स्वयंसेवी चिनियाँ भाषा शिक्षणसम्बन्धी समझादारी भएको थियो । सो अवसरमा प्रधानमन्त्री एवं लुुम्बिनी बौद्ध विश्वविद्यालयका कुलपति ओलीले नेपाल र चीनबीच शताब्दीऔँदेखि जनस्तरमा समेत सम्बन्ध रहेको उल्लेख गर्दै दुई देशबीच प्राज्ञिक र शैक्षिक सम्बन्ध र सहकार्य विस्तार भएकामा खुसी व्यक्त गरे । कार्यक्रममा राष्ट्रिय योजना आयोगका सदस्य गीताकुमारी पौड्याल अधिकारी, लुम्बिनी विश्वविद्यालयका रजिष्ट्रार डा तिलकराम आचार्य र नेपालस्थित चिनियाँ दूतावासका अधिकारीलगायत उपस्थिति रहेको थियो ।
‘बन्दीपुर भ्रमण वर्ष २०२५’ आयोजना, पर्यटकको औसत बसाइ तीन दिन बनाइने
काठमाडौं । पहाडकी रानी उपनामले परिचित प्रसिद्ध पर्यटकीय गन्तव्य बन्दीपुरको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ‘बन्दीपुर भ्रमण वर्ष, २०२५’ आयोजना हुने भएको छ । पर्यटन प्रवर्द्धनमार्फत बन्दीपुरमा नयाँ पर्यटकीय गन्तव्यको पहिचान, रोजगारी सृजना तथा आर्थिक गतिविधि थप चलायमान गराउने उद्देश्यले बन्दीपुर गाउँपालिकाले सन् २०२५ लाई भ्रमण वर्षका रुपमा मनाउने निर्णय गरिएको काठमाडौँमा आज आयोजित कार्यक्रममा जानकारी दिइयो । भ्रमण वर्षलाई भव्यताका साथ सफल पार्न गाउँपालिकाले पर्यटन व्यवसायी बैश गुरुङको संयोजकत्वमा २१ जनाको भ्रमण वर्ष सचिवालय समेत गठन भइसकेको गाउँपालिकाका अध्यक्ष सुरेन्द्रबहादुर थापाले जानकारी दिए । सचिवालयमा होटल संघ, रेष्टुरेन्ट तथा बार एसोसिएसन (रेवान) पर्यटन विकास समिति, उद्योग वाणिज्य संघ, होमस्टे महासंघलगायतको प्रतिनिधित्व रहेको उनले जानकारी दिए । ‘प्राकृतिक एवं सांस्कृतिक सम्पदाहरुको संरक्षण एव विकास गर्दै जिम्मेवार पर्यटकीय क्रियाकलापका माध्यमबाट समृद्ध एवं सुसंस्कृतयुक्त बन्दीपुरको परिकल्पना र पर्यटक आगमनको संख्या वार्षिक दुई लाख पुर्याउने उद्देश्यसहित बन्दीपुर भ्रमण वर्ष आयोजना गरिएको हो’, अध्यक्ष थापाले भने । सचिवालय संयोजक पर्यटन वैश गुरुङका अनुसार भ्रमण वर्षमार्फत स्वदेश तथा विदेशमा बन्दीपुरको पर्यटन प्रबर्द्धन गरी पर्यटकको संख्या दोब्बर बनाउने गरी योजना बनाइएको छ । ‘भ्रमण वर्षमा वार्षिक एक लाख आन्तरिक र एक लाख विदेशी पर्यटक बास बस्ने गरी ल्याउने योजना बनाएका छौँ’, उनले भने, ‘भ्रमण वर्षलाई आधार वर्ष मानेर आगामी तीन वर्षमा वार्षिक आठ लाख पर्यटकलाई बन्दीपुर पुर्याउने हाम्रो लक्ष्य छ ।’ गुरुङका अनुसार भ्रमण वर्षमा पर्यटकको औसत बसाइ तीन दिन बनाइनेछ । साथै विदेशी पर्यटकको दैनिक औसत खर्च ७५ अमेरिकी डलर र नेपाली पर्यटकको औसत खर्च दैनिक तीन हजार रुपैयाँ पुर्याइनेछ । हाल बन्दीपुरमा मात्रै ७५ होटल र चार वटा होमस्टे ९घरबास०का साथै समग्र गाउँपालिकामा एक सय २० होटल र १२ वटा होमस्टे सञ्चालनमा छन् । जसमा दैनिक एक हजार सात सय जना अट्ने क्षमता छ । यसका लागि आवश्यक पूर्वाधार निर्माण, नयाँ गन्तव्यको पहिचान, विकास र प्रबर्द्धन गरिनेछ । भ्रमण वर्षमार्फत बन्दीपुरको पर्यटन क्षेत्रमा थप रोजगारी र स्वरोजगार सृजना, होटल तथा रेष्टुरेन्टमा थप लगानी बढाउनु साथै बन्दीपुरलाई नेपालको प्रमुख पर्यटकीय गन्तव्यका रुपमा विकास गरिने उनको भनाइ छ । ‘भ्रमण वर्षमार्फत पर्यटकीय सुविधायुक्त होमस्टे सर्किटको प्रबद्र्धन गरिनेछ भने विद्यमान पर्यटकीय केन्द्र र उपजहरुका अतिरिक्त कम्तीमा थप पाँच गन्तव्यको पहिचान, विकास र प्रबर्द्धन गरिनेछ’, उनले भने । भ्रमण वर्षमार्फत यहाँको सांस्कृतिक सम्पदा संरक्षणसहित यामअनुसारको प्याकेज तयार गरिनेछ भने सांस्कृतिक, धार्मिक एवं ग्रामीण पर्यटकीय सर्किटको प्रबर्द्धन हुने आफूहरुको अपेक्षा रहेको पर्यटन विज्ञ तथा सम्पदा नेपालका अध्यक्ष हरिसिं गुरुङले बताए । भ्रमण वर्षमा पर्यटकलाई आकर्षित गर्न पर्यटकको उमेर र रुचिअनुसारको प्याकेज निर्माण गर्नुका साथै गाउँमै कमाऔँ गाउँमै रमाऔँ तथा वातावरणीय संरक्षणका लागि जनसहभागिता पनि बढाइने गाउँपालिकाले लक्ष्य लिएको छ । भ्रमण वर्ष सफल पार्न कूल चार करोड ४३ लाख ५० हजार रुपैयाँ खर्च हुने गाउँपालिकाको अनुमान छ । अनुमानित खर्च विवरणमा संघ, प्रदेश र स्थानीय सरकारका साथै अन्य विभिन्न राष्ट्रिय एवं अन्तर्राष्ट्रिय सरकारी तथा गैरसरकारी संघसंस्थाहरुबाट अपेक्षा गरिएको प्रतिवद्धतालाई समेत राखिएको छ । साथै नेपाल सरकारको बन्दीपुर गाउँपालिका अन्तर्गत नियमित कार्यक्रम पनि समावेश गरिएको छ ।
भ्रष्टाचार मुद्दामा मेयर निलम्बित, नागार्जुन नगरपालिकाको कार्यवाहक मेयर बनिन् सुशीला अधिकारी
काठमाडौं । नागार्जुन नगरपालिकाको उपमेयर सुशीला अधिकारी कार्यवाहक मेयर बनेकी छन् । अख्तियार अनुसन्धान दुरुपयोग आयोगले मेयर मोहन बस्नेतलाई भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणमा मुद्दा दर्ता गरेपछि उनी स्वतः निलम्बन भएका छन् । नेपाली कांग्रेस बागमती प्रदेश कार्य समितिका निर्वाचित उपसभापति समेत रहेका बस्नेत नागार्जुन नगरपालिकामा दुईपटक निर्वाचित भएका थिए । बस्नेत निलम्बनमा परेपछि नेकपा एमालेबाट निर्वाचित सुशीला अधिकारी कार्यवाहक मेयर बनिन् । अधिकारी पनि दोस्रो पटक उपमेयरमा निर्वाचित भएकी हुन् । आयोगले एक हाउजिङ कम्पनी पद्मा मर्चेन्ट र त्यसका सञ्चालक राजुप्रसाद कँडेलबाट मेयर बस्नेतले ९ करोड २२ लाख रुपैयाँ घुस लिएको आरोप लगाएको छ । मेयर बस्नेतले पद्मा मर्चेन्टलाई फाइदा हुनेगरी स्थानीय बासिन्दाहरूलाई निकै कम मूल्यमा जग्गा बेच्न लगाएका थिए । अख्तियारका अनुसार ४७ करोड ७५ लाख रुपैयाँ पर्ने जग्गाहरू उनले पद्मा कोलोनीका लागि १८ करोड ९४ लाख रुपैयाँमा उपलब्ध गराएका थिए । साथै अख्तियारले पद्मा मर्चेन्ट कम्पनी र त्यसका सञ्चालक कँडेलबाट लाभ लिएको आरोपसमेत लगाएको छ । अख्तियारका अनुसार कँडेल र उनको कम्पनीलाई साढे २५ करोड रुपैयाँ लाभ भएको अख्तियारको आरोपपत्रमा उल्लेख छ । मोहन बस्नेतकी पत्नी उर्मिलाको खातामा ६ करोड ८२ लाख रुपैयाँ जम्मा भएको दाबी अख्तियारको छ । अख्तियारले बस्नेतमाथि १३ करोड १२ लाख रुपैयाँ सम्पत्ति शुद्धीकरण गरेको आरोपमा अर्को मुद्दासमेत दायर गरेको छ । अख्तियारले पद्मा कोलोनीका सञ्चालक बस्नेत र उनको कम्पनीमाथि पनि ९ करोड २२ लाख रुपैयाँ बिगो मागदाबी गरी मुद्दा दायर गरेको छ ।
भाइरल ज्वरो र इन्फ्लुन्जा ज्वरो छुट्याउन नसक्दा धेरै बिरामी सिकिस्त हुन्छन् : डा. सुवास पन्त
काठमाडौं । देशभर चिसो बढेको छ । चिसोमा सबै उमेर समूह र शारीरिक अवस्था कमजोर भएका व्यक्ति बिरामी पर्ने र अस्वस्थ महशुस गरिरहेका हुन्छन् । कतिपय अवस्थामा यो सामान्य रुघाखोकी लागेर दुई/तीन दिनमा निको हुन्छ । कतिपय अस्पताल नै पुगेर उपचार गराउनुपर्ने अवस्थामा पुग्छन् । कस्तो लक्षण देखिए घरेलु उपचार गर्ने र कस्तो लक्षण देखिए अस्पतालमा गएर जाँच गराउने भन्ने दुविधा हुन्छ । हामी यसै दुविधामा परेर सिकिस्त हुन्छौँ । काठमाडौं मेडिकल कलेज सिनामंगलमा कार्यरत फिजिसियन डा. सुवास पन्तले भाइरल ज्वरो र इन्फ्ल्एन्जा ज्वरो छुट्याउन नसक्दा जटिल अवस्थामा पुग्ने गरेको बताए । इन्फ्ल्एन्जा ज्वरोलाई भाइरल ज्वरोको उपचारले नपुग्ने कुरा बुझ्नुपर्ने बताए । डा. पन्तले रुघाखोकीसहित खान मन नलाग्ने, टाउको दुख्ने, श्वास फेनृ अफ्ठ्यारो महशुस भयो भने अस्पताल गएर उपचार गराउन सुझाव दिए । प्रश्तुत छः काठमाडौं मेडिकल कलेजका फिजिसियन डा. सुवास पन्तसँग गरिएको कुराकानीको सम्पादित अंश । देशभर चिसो बढेको छ, चिसोसँगै प्रदुषण पनि बढेको हो ? प्रायजसो चिसो महिनामा प्रदुषण पनि बढी हुन्छ । चिसोले धुवाँलाई अलिकति बाँधेर राखेको हुन्छ । जाडो महिनामा पानी पर्ने सम्भावना पनि कम हुने भएकाले पनि प्रदुषण उच्च हुने हो । चिसो महिनाहरुमा बिहानको समय प्रदुषण उच्च हुने गरेको छ । प्रदुषणको मात्रा पानि कम भएर पनि बढ्छ नै । दोस्रो, धुलोहरुलाई ट्रयाप गर्ने सिस्टम भएर बिहानको समयमा प्रदुषण बढ्ने गरेको छ । यो समयमा कस्तो खालको संक्रमणको जोखिम रहन्छ ? संक्रमणबारे प्रायः सबै जनालाई थाहा नै होला । रुघाखोकीको बिरामी अलिकति बढ्ने समय हो यो । रुघाखोकीमा पनि धेरै मान्छेहरु (क्न्फ्युज) अलमल भइरहेका हुन्छन्, कुन रुघाखोकी सामान्य र कुन रुघाखोकी गम्भिर खालको भनेर । मेडिकलको भाषामा भन्दा सामान्य रुघाखोकी हुन्छन्,जसलाई हामीले राइनो भइरस भनेर भन्ने गर्दछौं । अर्को रुघाखोकी चाहीँ अलिकति घाँटी पनि दुख्ने, आँखा पनि रातो हुने हुन्छ । त्यसलाई हामी आइडिनो भाइरस भन्ने गर्छौं । तेस्रो रुघाखोकी अलिकति जटिल हुन्छ । त्यसलाई हामी इन्फ्ल्युएन्जा भन्ने गर्छौं । यसले रुघाखोकी पनि ल्याउने, ज्वरो धेरै आउने टाउको दुख्ने र कसैकसैलाई त निमोनिया समेत हुने गरेको छ । यो सबै कुरा जाडो महिनामा अलिकति बढी हुने गर्दछ । जाडो महिनामा प्रेसर बढ्ने, मुटुको रोगीको मुटुको धड्कनको गति पनि बढ्ने, पक्षघातको दर पनि बढ्ने हुन्छ । एउटा सरुवा रोग अर्को दीर्घकालीन रोगहरु पनि यही समयमा बढी हुने गर्दछ । चिसोको समयमा अस्पतालहरुमा कस्ता खालका बिरामीहरुको चाप बढी हुन्छ ? जाडो महिनामा हुने भनेकै रुघाखोकी हो । अनि दम र श्वासप्रश्वासका बिरामीहरुको अस्पताल आउने दर बढी हुने गर्दछ । दमको बिरामी नहुनेहरुमा चाहीँ रुघाखोकी बढ्ने, रुघाखोकी ज्वरोमा परिणत हुने, ज्वरो आएपछि खोकी लाग्ने, त्यही रुघाखोकी निमोनियामा परिणत हुने लगायत बिरामीहरु नै यो जाडो महिनामा अस्पताल आउने दर उच्च हुन्छ । रुघाखोकीका संक्रमणहरु कसरी छुट्याउने ? साधारण रुघाखोकीलाई राइनो भाइरस भन्ने गरिन्छ । यो संक्रमण भएपछि खान मन नलाग्ने, नाकबाट पानी आउने हाच्छिउँहरु हुन्छ । अर्को एडिनो भाइरस हुन्छ । यो सबैभन्दा धेरै विद्यार्थीलाई हुने गर्दछ । यसमा विद्यार्थीका आँखा रातो हुने, घाँटी दुख्ने, कसैलाई एकदमै धेरै ज्वरो आउने हुन्छ । तेस्रो इन्फ्ल्युएन्जा । साधारण रुघाखोकी र इन्फ्लुन्जामा के फरक हुन्छ भन्दाखेरि यसमा ज्वरो धेरै आउने, ज्वरो आएपछि टाउको पनि दुख्ने, खान पनि मन नलाग्ने, खोकी पनि लाग्ने, खोकी बढ्दा निमोनिया हुने हुन्छ । यो दुई वटामा हामीले छुट्याउनुपर्छ । साधारण रुघाखोकी के हो ? इन्फ्लुएन्जाका विभिन्न प्रकारहरु हुन्छ । कुनैपनि रुघाखोकी लाग्दा खान मन लागेन, टाउको दुख्यो, धेरै श्वास फेर्न गाह्रो भयो भने यो सामान्य खालको रुघाखोकी होइन भन्ने बुझेर चिकित्सकसँग परामर्श लिने र अस्पताल गएर आवश्यक जाँच गर्ने कुरा चाहीँ बुझ्नुपर्यो मान्छेहरुले । रुघाखोकीको पहिचान गर्न नसक्दा ठूला स्वास्थ्य समस्याको शिकार हुनुपरेको हो ? इन्फ्लुन्जाका पनि धेरै प्रकारहरु हुन्छन् । हामी छुट्याउनुपर्ने चाहीँ साधारण भाइरल ज्वरो र इन्फ्लुन्जा ज्वरो हो । इन्फ्लुएन्जा ज्वरोमा अन्य समस्याहरु पनि थपिने गरेका छन् । जस्तै रुघाखोकीमा मानछेलाई खान मन लागिरहेको हुन्छ । खोकी लागेपनि मान्छे सक्रिय नै हुन्छ । टाउको दुख्ने समस्याहरु हुँदैन । इन्फ्लुन्जामा यो सबै कुराहरु थपिन्छ । टाउको पनि दुखिराको हुन्छ । मुख नमिठो भइरहेको हुन्छ । खान मन पनि लागिरहेको हँुदैन । जटिल हुँदै जाँदा निमोनियाहरु हुने चाहीँ इन्फ्लुन्जामा हुन्छ । कुन बिरामीलाई कस्तो भएको छ भन्ने कुरामा पनि भर पर्ने गर्दछ । जस्तै मुटुको बिरामी, किड्नीको बिरामी, दमको बिरामीलाई चाहीँ साधारण कुराहरु पनि जटिल भइसकेको हुन्छ । अरुलाई घरमै ज्वरो र खोकी आएपनि कुर्न सकिन्छ । तर ति ग्रुपका प्यासेन्टहरुलाई कहिले काँही आजको भोलि नै गाह्रो भइसकेको हुन्छ । तपाईलाई कस्तो खालको रुघा लागेको छ ? कस्तो खालको ज्वरो आएको छ ? तपाई कस्तो खालको बिरामी हो त्यसमा पनि भर पर्छ । यदी रुघाखोकी लागेकै अवस्थामा श्वासप्रश्वासमा समस्या आयो, दम बढ्दै गएको छ भने त्यस्तो अवस्थामा कुर्न हुँदैन । अस्पताल गइहाल्नुपर्छ । केही नभएको बिरामी सामान्य रुघाखोकी मात्र आएको छ भने त्यस्तो अवस्थामा दुई,तीन दिन कुर्न सकिन्छ । आफूमा कस्तो खालको रुघाखोकी लागिरहेको छ । त्यसमा खान मन छ कि छैन ? कति दिनदेखि ज्वरो आइ रहेको छ ? ज्वरो र खोकी बढेको छ कि छैन ? त्यसले असर पारेको छ कि छैन ? यो सबै छुट्याएर अस्पताल जाने कि घरमै बस्ने भनेर छुट्याउन सकिन्छ । हामीले रुघाखोकी संक्रमण भएकै अवस्थामा पनि नियमित कामहरु गरिरहेका हुन्छौं, यसले कस्तो खालको जोखिम निम्त्याउँछ, कसरी सजग हुने ? रुघाखोकी प्रायजसो सर्छ नै । यो सर्ने माध्यम भनेको खोकी र हाच्छिउँ नै हो । मास्क लगाउन सकेको अवस्थामा त्यो एक अर्कामा सर्ने क्रम कम हुन्छ । हातहरु नाक र मुखमा लगाउँदा स्यानिटाइज गरेको छ भने संक्रमण एक अर्कामा सर्दैन । नत्र सर्ने सम्भावना धेरै नै हुन्छ । तपाईले याद गर्नुभएको होला घरमा पनि एकलाई रुघाखोकी लाग्दा प्रायः सबैलाई हुने गर्दछ । त्यहि चिज विद्यालयमा हुँदा चाहीँ हामी सतर्क हुन्छौं । हात धुन्छौं । विद्यालयमा पनि असावधानीका कारण प्रायः सबैमा सरको हुन्छ । अलिकति बच्न पाए यसको जोखिम पनि कम हुन्छ र सर्ने सम्भावना पनि कम हुन्छ । यसबाट बच्नको लागि हातधुने, हात धुन सकिँदैन भने स्यानिटाइजर प्रयोग गर्ने गर्नुपर्दछ । मास्क लगाउन त सम्भव नै छैन विद्यालयहरुमा । हामीले मास्क लगाउन नसकेपनि हामी सम्भवतः दूरी कायम गर्नसक्यो भने पनि यो चिजका सर्ने जोखिम पनि कम हुन्छ । अरु दीर्घकालीन बिरामीहरुलाई पनि बचाउन सकिन्छ । वृद्धवद्धा र बिरामी मान्छेहरुको इम्युनिटी पावर कम हुने भएका कारण रुघाखोकी लागेको खण्डमा उनीहरु रुघाखोकी मै सिमित हुन पाउँदैन । त्यहि कुरा जटिल भइदिन्छ । जाडो याममा वृद्धवृद्धा, गर्भवती महिला, बालबालिकाहरु अलि बढी बिरामी हुन्छन् नि ? इम्युनिटी कम भएका मान्छेलाई संक्रमणले अलि छिटो समात्ने गर्दछ । साधारण रुघाखोकीमा ब्याक्टेरिया थपिएर फेरि निमोनिया हुने डर पनि हुन्छ । अन्य मान्छेमा साधारण रुखाखोकी भएपनि यी समूहका मान्छेहरुमा संक्रमण बढी हुने चान्स हुन्छ । यसरी रुघाखोकी लागेका मान्छेले घरमै बसेर गर्नुपर्ने उपचार विधिहरु के-के हुन सक्छन् ? मैले कुनैपनि रोगको घरायसी उपचारमा त नलाग्न नै सल्लाह दिन्छु । गाह्रो भयो अथवा ज्वरो बढ्ने बित्तिकै चिकित्सकसँग सल्लाह र परामर्श लिनुपर्छ । हामीले बेलैमा डाक्टरसँग परामर्श लियो भने त्यो चिज बढ्दैन । त्यो चिज निमोनियामा परिणत हुँदैन । त्यस्ता खतराबाट बच्नको लागि सल्लाह र परामर्श लिनुपर्छ भन्छु म चाहीँ । हामीसँग एउटा परम्परा जस्तै छ । सामान्य रुघाखोकी लाग्यो भने नजिकैको मेडिकलमा गएर औषधिहरु लिने हुन्छ । त्यस्तो अवस्थामा रुघा र ज्वरो मात्र छ भने केही समस्या भएन । यदि बढेको छ भने एकचोटि चिकित्सकसँग परामर्श त लिनैपर्छ । चिसो याममा हाम्रा आनिबानी तथा खानपानमा कस्तो ध्यान दिनुपर्छ ? तपाईको सल्लाह के छ ? चिसो मौसममा दुई वटा कुरामा एकदमै ध्यान दिन जरुरी छ । चिसो मौसममा बिहान धेरै नै चिसो हुने भएका कारण यस्तो अवस्थामा प्रेसर भएका र दीर्घकालीन रोग लागेका मान्छेहरुले ध्यान दिनुपर्छ । पक्षघात, मुटुका बिरामी, दमका बिरामीहरुमा मुख्यतः यो समयमा स्वास्थ्य समस्याहरु बढ्छ नै । बिहान त धेरै नै चिसो हुन्छ । त्यो समयमा त प्रदुषणको समस्या हुने भएका कारणले पनि नहिँड्नु भन्छु बिरामीलाई । मिल्छ भने अलिकति घाम लागेको समयमा जहाँ प्रदुषण कम छ त्यो ठाउँमा एक घण्टाजति हिँड्न सल्लाह दिन चाहन्छु । बिहान चिसो धेरै र प्रदुषण बढी हुने भएका कारण जटिल समस्या भएका बिरामीमा झन जटिल समस्या आउने भो । अनि त्यो समयमा रुघाखोकी बढ्ने सम्भावना पनि हुन्छ । खानपानका सन्दर्भमा सकेसम्म चिसो हुने खानेकुराहरु खानुभएन । फलफूलहरु खायो भने अलिकति छिटो रोग निको हुने र अलिकति तागत आउने फाइदा हुन्छन् । जाडो महिनामा फलफूलहरु घाममा बसेर खानुप¥यो । फलफूलमा पनि भिटामिन सीयुक्त खायो भने फाइदा हुन्छ । मौसम र केरा जस्ता खानेकुरा खानु फाइदा जनक हुन्छ । तर बिरामी हेरेर पनि हुन्छ । समग्रमा जे फलफूल खाएपनि घाममा राखेर खानुप¥यो र भिटामिन सियुक्त फलफूलहरु खानुपर्यो । घाँटी दुख्ने भन्ने बित्तिकै टन्सिल भयो भन्ने बुझाई हुन्छ नि, रुघाखोकीको कारण हो कि टन्सिलकै कारण हो भनेर कसरि छुट्याउने ? घाँटी दुखाईको टन्सिल पनि एउटा कारण त हो । टन्सिलको कारण आएको ज्वरो र अरु ज्वरोमा फरक छुट्याउनु चाहीँ पर्छ । टन्सिल भएर पनि घाँटी दुख्छ नै । टन्सिलमा एकदमै धेरै ज्वरो आउँछ । खानेकुरा निल्नै सकिँदैन । अरु घाँटी दुख्ने समस्यालाई फायर इन्जाटिस भन्छौं । निल्न गाह्रो हुन्छ । एकदम धेरै ज्वरो चाहीँ आउँदैन । कुनैपनि घाँटी दुखाई टन्सिल हुँदैन । धेरै ज्वरो आउने, घाँटी दुख्ने, खान मन नलाग्ने टन्सिलमा हुन्छ भने ज्वरो पनि ठिकठिकै आउने तर खान मन लाग्नेलाई चाहीँ सामान्य घाँटी दुखाईको रुपमा लिनुपर्दछ । यसमा मुख्यगरी छुट्याउने कुरा चाहीँ भाइरल ज्वरो र सामान्य ज्वरो नै हो । चिसाबाट जोगिन नागरिकलाई तपाईको सुझाव के छ ? मैले सन्देश दिनुपर्दा चिसो याममा हुने रुघाखोकी छुट्याउनुपर्यो । त्यसलाई छुट्याउने एउटा मात्रै तरिका छ । खान मन लागेन र उच्च ज्वरो आयो भने त्यो इन्फ्लुन्जातिर गयो । यदि ज्वरो पनि ठिक्क आएको छ र खान मन पनि लागेको छ भने त्यो भाइरल खोकी भनेर बुझ्नुपर्यो । अनि अर्को कुरा, खासगरि मर्निङ वाक गर्नेहरुले बिहानको समयमा मर्निङ वाक नगरिदिनु होला । अलिकति घाम लागेको बेला र सडकमा गाडीको चाप कम भएको बेला मात्र मर्निङ वाक गर्नुहोला । बिहान उठेर वाक गर्नैपर्छ भन्ने कन्सेप्ट छ । चिसो महिनामा नगर्नको लागि आग्रह गर्दछु । मर्निङ वाक घरमा पनि गर्न सकिन्छ । मनोरञ्जनका क्रियाकलाप पनि घरमा गर्न सकिन्छ । यसका लागि माइण्ड पनि फ्रेस हुनुपर्दछ । मर्निङ वाकमा प्रयोग हुने मुख्य कुरा नै माइण्न फ्रेस हो । त्यसका लागि बाहिर गर्नु बढी उपयुक्त हुन्छ । घरमा त एउटै चिजहरु देखिइरहेको हुन्छ । त्यसैले मर्निङ वाकमा फ्रेसनेस पनि जरुरी छ । कसैकसैले घर र अफिसमा हिँड्ने गरेको बताउनु हुन्छ । त्यो हिँडाईले मर्निङ वाकमा फरक नपर्ला । जुन हिँडाई फ्रेस छ, काम बिनाको छ त्यो नै महत्वूर्ण छ ।
चिसो मौसममा आँखामा हुने समस्या र उपचार विधि
चिसो मौसममा वायुमण्डलमा देखिएको अदृश्य जलवाष्पका कारण सापेक्षिक आद्रता कम हुँदै जाने गरेको छ । उक्त मौसममा हावा बढी चल्ने पनि गर्दछ । मानिसले पानी प्रशस्त मात्रामा नपिउँदा शरीर सुख्खा हुँदै जाने गर्दछ । चिसोको समयमा आँखा सुख्खा बढी हुन्छ । चिसो मौसममा भाइरसको सक्रियता बढी हुन्छ । शरीरको रोगसँग लड्नसक्ने प्रतिरोधात्मक क्षमता कम हुन्छ । जसका कारण भाइरल कन्जन्टिभाइटिस इन्फेक्सन हुन्छ । जसलाई आईफ्लू भनिन्छ । आईफ्लूलाई सरुवा रोग पनि भनिन्छ । उक्त रोग एक आँखाबाट अर्को आँखामा बढी मात्रामा सर्छ भने एक व्यक्तिबाट अर्को व्यक्तिमा पनि सर्ने गर्दछ । यसैगरी, चिसो मौसममा सिजनल एलर्जी (आई एलर्जी) आँखा रातो हुने, चिलाउने, बिझाउने, पोल्ने, दुख्ने, आँसु आउने, आँखाको डिल सुन्निने र कडा किसिमको चिप्रा आउनेसमेत हुन्छ । चिसो मौसममा मानिस धेरै बाहिर ननिस्किने र घरमै बसेर मोबाइलमा बढी सक्रिय हुँदा (कम्युटर भिजन सिन्ड्रम) देखिन्छ । जसमा आँखा बढी थाक्ने, टाउको दुख्ने, आँखा सुख्खा हुने, आँखाबाट आँसु आउने हुन सक्छ । चिसो मौसममा मोतिबिन्दुका बिरामी बढी अस्पताल आउने गरेका छन् । चिसोमा अप्रेसन गर्दा राम्रो हुन्छ भन्ने जनविश्वासका कारण योबेला डाक्टरकोमा मोतिबिन्दुका बिरामी बढी आउँछन् । चिसोले गर्दा मोतिबिन्दुका बिरामी बढी हुन्छ भन्ने होइन । हिमपात हुने क्षेत्रमा चिसो मौसमका बेला आँखाको नानीमा घाउ हुनसक्ने आँखा दुख्ने, आँसु बढी आउने देखिन्छ । यसलाई फोटोकेराटाइटिस भनिन्छ । यो भनेको सूर्यको किरण हिमपातमा ठोकिएर आँखामा रिफ्फ्लेट हुने भएकाले आँखामा यो समस्या ल्याउन सक्छ । योबाट बच्नका लागि हिमाली क्षेत्रमा जाडो मौसममा एन्टिरिफ्लेक्टिभ वा पोलारोईड ग्लासेस लगाउन आवश्यक छ । सुख्खा आँखाबाट बच्नका लागि सकेसम्म चिसो मौसममा घर बाहिर ननिस्किँदा राम्रो हुन्छ । यदि, निस्कनै परेमा आँखामा रक्षाका लागि उचित किसिम र साइजको चश्मा लगाउन उपयुक्त हुन्छ । आँखा धेरै नै सुख्खा भएमा डाक्टरको सल्लाहअनुसार झोल औषधी (आर्टिफिसिय टियर्स) प्रयोग गर्न सकिन्छ । त्यसभन्दा बाहेक घरभित्र बस्दापनि धेरै समय सुख्खा हिटरको प्रयोग नगर्ने, हिटर वा आगोको नजिक नजाने, सुख्खा आगो वा सुख्खा हिटर पानीको प्रयोग सँगै गर्ने गर्नुपर्छ । यसका अलावा रुमलाई वाष्पीकरण गर्दा राम्रो हुन्छ । डा. पारस पञ्जियार आईफ्लूबाट बच्नका लागि धेरै भीडभाडमा नजाने, समय समयमा साबुन पानीले हात धोइराख्ने, हातलाई आँखामा नलैजाने गर्नुपर्छ । त्यति गर्दागर्दै पनि समस्या देखिएमा डाक्टरसँग सल्लाह गरेर आवश्यक उपचार लिन सकिन्छ । सिजनल एलर्जीले बच्चालाई बढी असर गर्ने गरेको देखिन्छ । त्यसैले सकेसम्म बच्चालाई चिसोमा लिएर नजाने, तातो पारेर राख्ने, एलर्जीको समस्या देखिहालेमा दक्ष चिकित्सकसँग सल्लाह गरी उपयुक्त उपचार गर्नुपर्ने हुन्छ । कम्युटर भिजन सिन्ड्रम हुँदा कम्युटर धेरै नचलाउने र चलाउनै परेमा २०/२०/२० नियम पालन गर्ने गर्नुपर्छ । उक्त नियम भनेको २० मिनेट मोबाइल वा कम्युटर चलाएपछि २० सेकेण्डको लागि कम्युटरबाट उठेर २० फिट टाढाको वस्तु हेर्ने हो । सँगै आँखालाई २० देखि २४ पटक खोल्ने चिम्लिने गर्नुपर्छ । यसबाहेक प्रशस्त मात्रामा पानी पिउने गर्नुपर्छ भने ब्लू कट चश्माको पनि प्रयोग गर्न सकिन्छ । मोतिबिन्दु देखिएको भएमा डाक्टरको आवश्यक सल्लाहमा शल्यक्रिया गर्न सकिन्छ । अत्यधिक मोबाइल र कम्युटरको प्रयोगले बालबालिकामा दृष्टिदोष (मायोपिया) पनि बढेको पाइन्छ । त्यसैले बच्चालाई अत्यधिक मात्रामा मोबाइल र कम्युटरको प्रयोग गर्न दिनुहुँदैन । (डा. पञ्जीयार ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल धापासीका वरिष्ठ नेत्र रोग विशेषज्ञ हुन् ।)
देशभरका सडक निर्माण र मर्मत गर्ने जिम्मा सडक विभागको मात्र हैन : महानिर्देशक पोखरेल
काठमाडौं । सडक विभागका महानिर्देशक रामहरि पोखरेलले सोचेअनुसार सडक मर्मत गर्न नसकको स्वीकार गरेका छन् । सोमबार सडक बोर्डको २२औं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले लक्ष्यअनुसार सडक मर्मत हुन नसकेको स्वीकार गरेका हुन् । उनले भने, ‘समयमै ठेक्का लाउन सकिएन । सडक मर्मत गर्न समस्या भयो । जति काम गर्नुपर्ने हो, त्यति हुन सकिरहेको छैन ।’ सडक मर्मत गर्नका लागि बजेट पर्याप्त नभएको महानिर्देशक पोखरेलको भनाइ छ । यस्तै, विनियोजित बजेट शतप्रतिशत खर्च हुन नसकेको उनी बताउँछन् । कार्यक्रममा देशभरका सडक निमार्ण र मर्मत गर्ने जिम्मा सडक विभागको मात्र नभएको उनको आक्रोश छ । सडक भत्किए पनि सबै सडक विभागले नै पुर्नु परेको उनको गुनासो छ ।
ग्लोबल आईएमई बैंकः नेपालमा सबैभन्दा ठूलो, विश्व बजार हेर्दै भावी योजना तयार
काठमाडौं । ‘मैले ग्लोबल आईएमई बैंकलाई विश्वका हजार बैंकहरूमध्ये एक बैंक बनाउने भन्ने इच्छा भएको सुनाएको छु । यो खास ठूलो कुरा हो जस्तो लाग्दैन । किनभने पुँजीको आकारको हिसाबले एक/दुई वर्ष नगदको सट्टा बोनस सेयर वितरण गर्ने हो भने विश्वका हजारवटा बैंकमध्येको एक ग्लोबल बैंक भइहाल्छ । धेरैपछि सुरु गरेर पनि नेपालमा एक नम्बरमा भयौं भने अब अलिकति मिहिनेत गरेर उत्कृष्ट हजार बैंकमा ग्लोबललाई पुर्याउने नै हो र त्यो पुग्छ पनि,’ बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले गत वर्ष एक कार्यक्रममा भनेका थिए । उनकै लक्ष्यमा टेवा पुग्ने गरी यस वर्ष पनि बैंकले सेयरधनीलाई लाभांशमा नगद होइन, बोनस सेयर वितरण गर्यो । बोनस सेयर वितरणपछि बैंकको चुक्ता पुँजी ३८ खर्ब ११ करोड ५८ लाख रुपैयाँ भएको छ । बैंकको निक्षेप ५२९.३८ अर्ब पुगेकोे छ भने कर्जा लगानी ४१८.६३ अर्ब रुपैयाँ पुगेको छ । व्यावसायिक रूपमा सञ्चालनमा आएको ग्लोबल बैंक आगामी पुस १८ गते १८ वर्ष पूरा हुँदैछ । स्थापनाको १८औं वर्ष पूरा गरी १९ औं वर्षमा प्रवेश गरेको अवसरमा बैंकले विभिन्न १८ योजनासहित आफ्नो आगामी यात्राको मार्ग तय गरेको छ । जसमा अध्यक्ष ढकालले भने झैं विश्वका हजारवटा बैंकमध्येको एक ग्लोबललाई पुर्याउने हेतुले बैंकका आगामी योजना तथा रणनीति तय गरिएका छन् । आगामी दिनमा ग्राहकलाई उत्कृष्ट, विश्वासिलो, भरपर्दो सेवा प्रदान गर्ने, सेयरधनीलाई उचित प्रतिफल दिने बैंकको मुख्य योजना रहेको छ । बैंकका अनुसार राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा बैंकको साखमा अभिवृद्धि हुने र अग्रणी बैंकको रूपमा स्थापित गर्ने गरी आगामी रणनीति तय गरिएका हुन् । ‘ग्राहकमैत्री अत्याधुनिक डिजिटल नवप्रवर्द्धन सेवा प्रवाहलाई प्राथमिकतामा राखेका छौं । भविष्यमा समेत थप आयामहरू समेटी ग्राहकलाई प्रभावकारी सेवा पुर्याउने लक्ष्य लिएका छौं,’ बैंकका नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) सुमन पोखरेलले भने, ‘भरपर्दो र विश्वासिलो डिजिटल बैंकिङले सेवाग्राही र सेवा प्रदायक दुवैको समय र पैसा बचत हुने, बैंकको मानव संशाधनको लागत घट्नेछ ।’ यसरी प्रदान गरिने प्रविधिमा आधारित व्यावसायिक सेवाबाट बैंकको दीर्घकालीन मजबुतीकरणमा मद्दत पुग्ने र सेयरधनीहरूलाई उच्चतम प्रतिफल तथा सुरक्षित लगानीको अनुभूति दिलाउन सकिने बैंकको विश्वास छ । बैंकका १८ रणनीति तथा योजना ‘सबैको लागि बैंक’ भन्ने नारालाई व्यवहारमा नै रूपान्तरण गर्न स्वदेश तथा विदेशमा रहेका विभिन्न शाखा तथा अन्य सेवा केन्द्र र प्रतिनिधि कार्यालयमार्फत वित्तीय क्षेत्रमा पहुँच विस्तार गर्दै अगाडि बढ्ने लक्ष्य सफलताउन्मुख रहेको बैंकको ठम्याइ छ । हाल बैंकले देशका ७७ वटै जिल्लामा शाखा कार्यालय, शाखारहित बैंकिङ सेवा, एटीएम, एक्सटेन्सन र अन्य काउन्टरसमेत गरी कुल १ हजार १ सय सेवा केन्द्रमार्फत करिब ५० लाख ग्राहकलाई बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ । मुलुकभर अझैपनि ठूलो संख्यामा बैंकिङ पहुँच बाहिर रहेका जनतालाई बैंकिङ सेवा प्रदान गर्दै लैजाने नीति बैंकको प्राथमिकतामा छ । आगामी समयमा बैंकले दिगो व्यावसायिक वृद्धिका लागि आफ्नो वार्षिक व्यावसायिक कार्ययोजना अनुरूपका रणनीतिहरू कार्यान्वयन गर्दै जानेछ । यसका लागि बैंकले निक्षेपतर्फ चल्ती र बचत खातामा जोड दिँदैछ भने कर्जा प्रवाहतर्फ साना मझौला कर्जा, उपभोग्य कर्जा, सरकारको प्राथमिकतामा राखेका क्षेत्रलाई प्राथमिकता प्रदान गर्ने नीति लिएको छ । त्यस्तै, बैकिङ सेवा शुल्कमा आधारित आम्दानीमा समेत जोड दिने छ । बैंकले निक्षेपकर्ता, ऋणी र सेयरधनी तीनै पक्षलाई लाभ हुने गरी बैंकिङ सेवामा जोड दिने भएको छ । जसबाट सेयरधनीहरूलाई उचित प्रतिफल प्राप्त हुने विश्वास बैंकले लिएको छ । हरित तथा दिगो विकासका लागि कायम गरिएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय लक्ष्यलाई आत्मसाथ गर्दै दिगो, न्यून कार्बन, वृत्ताकार अर्थतन्त्रको दिशामा सहयोगसिद्ध हुने गरी व्यवसाय सञ्चालन र कर्जा प्रवाह गर्ने गतिविधिलाई थप प्रवर्द्धन गरिने बैंकले जनाएको छ । लैङ्गिक एवं सामाजिक समावेशिता र वातावरणीय सुरक्षा कायम हुने गरी दिगो विकासको लक्ष्यलाई थप टेवा पुर्याउने हेतुले केन्द्रीय स्तरमा बैंकले हरित तथा दिगो बैकिङ इकाई स्थापना गरी कार्यक्रम अगाडि बढाइरहेकोमा सो कार्यलाई निरन्तरता दिई नेपालको अग्रणी बैंकको रूपमा स्थापित गर्ने/गराउने नीति लिने भएको छ । बैंकले थप भ्यालू एडेड सर्भिसेज तथा प्रडक्ट बजारमा पुर्याउने कार्ययोजना बनाएको छ । निक्षेप तथा कर्जाका विभिन्न प्रडक्टहरूको सूक्ष्म अध्ययन तथा विश्लेषण गरी आवश्यकताअनुरूप थप परिमार्जन गर्ने तथा नयाँ प्रडक्टको विकास गरी कार्यान्वयन गर्दै जाने योजना बनाएको छ । हालै बैंकले प्रविधिमा आधारित ग्लोबल जुनियर एप तथा सेयरधितो दुर्त कर्जा कार्यान्वयनमा ल्याएको छ । बैंकले प्रविधिमा आधारित बैंकिङ सेवालाई प्राथमिकता राखेको छ । घरेलु कच्चा पदार्थमा आधारित साना र मझौला उद्योगको विकासबाट मात्र मुलुकको अर्थतन्त्रलाई चलायमान बनाउन सकिन्छ भन्नेमा सबै अर्थशास्त्री, व्यवसायीबीच समान विचार छ । यही मान्यतालाई आत्मबोध गर्दै बैंकले यस क्षेत्रको कर्जा प्रवाहलाई प्राथमिकतामा राख्दै आएको छ । त्यस्तै, निक्षेप सङ्कलनको हकमा पनि जनसाधारणकै बचतलाई लक्षित गर्दै आएको र यसलाई नै बैंकको आधारभूत स्रोतको रूपमा महत्त्व दिएको बैंकले जनाएको छ । यो नीतिलाई आगामी आर्थिक वर्षमा समेत निरन्तरता दिइने बैंकको भनाइ छ । मुलुकभर विकासको पूर्वाधार निर्माण सम्बन्धी कार्य निरन्तर रूपमा वृद्धि भइरहेको र पूर्वाधार विकास मुलुकको तीनवटै तहका सरकारको प्राथमिकतामा भएको परिप्रेक्ष्यमा सो अवसरलाई सदुपयोग गर्ने गरी निर्माण व्यवसायीहरूको आवश्यकता र सुविधालाई ध्यानमा राखी आपसी सहकार्यलाई प्राथमिकता दिइने छ । विप्रेषण (रेमिट्यान्स) नेपालको अर्थतन्त्रको मेरुदण्ड हुनुका साथै यस बैंकको व्यवसायको एउटा प्रमुख र भरपर्दो आधारसमेत हो । संसारभर विभिन्न राष्ट्रमा रहेका बैंकका आधिकारिक प्रतिनिधिहरूको साथै स्वदेशी र विदेशी व्यावसायिक साझेदारहरूसँगको सहकार्यबाट हालसम्म विश्वका विभिन्न मुलुकबाट उल्लेख्य मात्रामा रेमिट्यान्स भित्र्याउँदै आएको बैंकले जनाएको छ । आगामी वर्ष यस बैंकमार्फत भित्रिने रेमिट्यान्सलाई थप वृद्धि गर्न रेमिट्यान्स बजार विस्तार तथा व्यवस्थापनलाई अझ प्रभावकारी बनाउने नीति बैंकले लिएको छ । सबैभन्दा बढी रेमिट्यान्स भित्र्याउने बैंकका रूपमा ग्लोबल आईएमई बैंकलाई सम्मान गरिँदै । बैंकको व्यावसायिक पहिचानलाई अन्तर्राष्ट्रियकरण गर्दै कारोबारको प्रवर्द्धन गर्न अष्ट्रेलिया, भारत तथा संयुक्त अधिराज्यमा प्रतिनिधि कार्यालय सञ्चालनमा रहेको छ । आर्थिक रूपले सम्पन्न एसियाको महत्त्वपूर्ण राष्ट्र दक्षिण कोरियामा पहिलो अन्तर्राष्ट्रिय शाखा खोल्ने प्रयास जारी रहेको बैंकले जनाएको छ । व्यावसायिक अवसरको विश्लेषण गरी नेपाल राष्ट्र बैंक तथा आवश्यक अन्य निकायबाट स्वीकृति प्राप्त भएको अवस्थामा बेलायत, अमेरिकाजस्ता विभिन्न सम्भाव्य राष्ट्रमा शाखा कार्यालय खोली कारोबार गर्ने बैंकको योजना छ । त्यसैगरी, डिजिटल मोनी (इमोनी) कारोबार इजाजतको लागि समेत प्रयत्न गरिने बैंकले जनाएको छ । बैंकले सूचना प्रविधिको प्रयोगलाई बढाउँदै, आधुनिक प्रविधिमैत्री गुणस्तरीय बैंकिङ सेवा प्रदान गर्दै अगाडि बढ्ने नीति अवलम्बन गरेको छ । सोका लागि बैंकले छुट्टै डिजिटल बैंकिङ इकाइ गठन गरी आवश्यक पूर्वाधारसमेत खडा गरी कार्यारम्भ गरिसकेको परिप्रेक्ष्यमा प्रविधिको प्रयोगबाट हुने लाभको सूक्ष्म विश्लेषण गर्दै सम्पूर्ण बैंकिङ सेवा डिजिटल बैंकिंङको प्रविधिमार्फत प्रदान गर्दै कारोबारलाई अघि बढाउने नीतिलाई निरन्तरता दिइने भएको छ । आन्तरिक काम कारवाही बढी मात्रामा स्वचालित गरी मितव्ययी बनाउँदै लैजाने बैंकको नीति रहेको छ । आर्थिक वर्ष २०८०/८१ मा ग्राहकले खाता खोल्न, डलर कार्ड, क्रेडिट कार्ड, एटीएम कार्ड प्राप्त गर्ने, भुक्तानी गर्नेलगायत कार्डसम्बद्ध सेवा, एलसी/ग्यारेन्टी सुविधा, सेयर कर्जा लगायतको कारोबार अनलाइनबाटै गर्न मिल्ने कस्टमर सेन्ट्रिक बीपीएम कार्यान्वयनमा ल्याइएको छ । कर्मचारीको प्रत्यक्ष संलग्नता बिना नगद तथा चेकको कारोबार गर्न सकिने डिजिटल यूनिभर्स सञ्चालनमा आएको छ । प्रविधिमा आधारित यस किसिमको सेवाहरूबाट व्यवसायिक प्रभावकारीता बढाएको विश्वाससहित आगामी दिनहरूमा समेत नयाँ नयाँ प्रविधिमैत्री सेवाहरू थप गर्दै लैजाने बैंकको नीति छ । कर्मचारीहरू बैंकका मुख्य सम्पत्ति हुन र उनीहरूको ज्ञान र अनुभवलाई बैंकको व्यावसायिक उद्देश्य प्राप्तिसँग जोड्दै कर्मचारीहरूको वृत्ति विकासका लागि वार्षिक तालिम कार्यतालिका तर्जुमा गरी कार्यान्वयन गर्दै आएकोमा यसलाई अझ प्रभावकारी तथा डिजिटल प्रविधिको सहयोगमा सम्पूर्ण कर्मचारी वर्गमा निरन्तर ज्ञान आदानप्रदान गर्ने व्यवस्था मिलाएको छ । बैंक आफ्नो स्थापना कालदेखि नै नेपाल सरकार एवं नेपाल राष्ट्र बैंकद्वारा घोषित नीतिहरूको पूर्ण परिपालनमा जोड दिएको जनाएको छ । सङ्घीय सरकार तथा राष्ट्र बैंकले अङ्गीकार गरेको मर्जर तथा प्राप्ति नीतिअनुरूप हालसम्म २१ वटा बैंक तथा वित्तीय संस्था यस बैंकमा समाहित भएका छन् । यसरी विभिन्न पृष्ठभूमिबाट आएका कर्मचारीहरूको उचित व्यवस्थापन एवम् व्यावसायिक दक्षता अभिवृद्धि गरी बैंकको व्यवसाय वृद्धिमा टेवा हुने गरी कार्यक्रमलाई निरन्तरता दिइने छ । बैंकले गत आर्थिक वर्षमा मात्र नेपाल सरकारलाई ४ अर्ब ५ करोड रुपैयाँ राजश्व बुझाएको छ । मुलुकले अबलम्बन गरेको संघीय संरचना बमोजिम ७ वटै प्रदेश कार्यालयको काम, कर्तव्य अधिकार थप गर्दै अधिकार सम्पन्न बनाउँदै लैजाने नीति लिएको छ । समाजको जिम्मेवार कर्पोरेट सदस्यको हैसियतमा बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वलाई सदैव प्राथमिकतामा राख्दै आएको छ । शिक्षा, स्वास्थ्य, दैवी प्रकोप, वातावरण संरक्षणलगायत एवं विपन्न वर्गको जीवनस्तर उठाउनका लागि सक्दो सहयोगको नीति अबलम्बन गर्नेछ । बैंकले जोखिम व्यवस्थापन तथा अनुपालनालाई अत्यन्तै महत्त्वको साथ अवलम्बन गर्दै आइरहेको छ । सञ्चालक स्तरीय जोखिम व्यवस्थापन समिति एवं व्यवस्थापन तहको जोखिम व्यवस्थापन समिति गठन गरी बैंकका विभिन्न किसिमका जोखिमहरूको पहिचान तथा न्यूनीकरणका विधिहरू अबलम्वन गर्दै आइरहेको छ । हाल कार्यान्वयनमा रहेका विभिन्न विधि र प्रकृयाहरूमा थप पुनरावलोकन गरी आवश्यकताअनुसार जोखिम व्यवस्थापन तथा अनुपालनालाई प्रभावकारी बनाइने बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । बैंकले जोखिम व्यवस्थापन कार्यलाई अझ बढी प्रभावकारी बनाउने र अन्तर्राष्ट्रिय असल अभ्यासहरूलाई अनुसरण गरी कार्यान्वयन गर्ने/गराउने कार्यलाई जोड दिने छ । यसका लागि समीक्षा वर्षदेखि नै अन्तर्राष्ट्रिय वित्त निगमको एडभाइजरी सर्भिसेस लिई कार्य प्रारम्भ गरिएको छ । यसबाट बैंकको जोखिम व्यवस्थापन कार्य थप प्रभावकारी हुने विश्वास लिएको छ । कर्जाको गुणस्तरमा सुधार गर्ने गराउने, नियमित रूपमा ऋणीको व्यवसायको अनुगमन तथा निरीक्षण कार्यको कार्यान्वयन गर्ने र पूर्व चेतावनीका लक्षण देखिएका कर्जाहरूको समयमा नै पहिचान तथा व्यवस्थापन गर्न समीक्षा वर्षदेखि नै केन्द्रीय स्तरमा क्रेडिट मोनिटरिङ युनिट गठन गरी कार्यारम्भ गरिएको छ र यसलाई थप प्रभावकारी बनाउँदै लगिने छ । अन्तर्राष्ट्रिय वित्त निकायहरूसँग साझेदारी बैंकले विगत वर्षहरूमा अन्तर्राष्ट्रिय वित्त निकायहरू जस्तै- अन्तर्राष्ट्रिय वित्त निगम (आइएफसी), ब्रिटिश अन्तर्राष्ट्रिय लगानी (बीआईआई), स्विस इन्भेष्टमेन्ट फण्ड फर इमर्जिङ मार्केट, ग्लोबल क्लाइमेट पार्टनरसिप फण्ड, केएफडब्लू डेभलपमेन्ट, माश्रेक बैंक जस्ता वित्तीय संस्थाबाट बाह्य कर्जा लिई लगानीको श्रोतको व्यवस्थापन गर्दै आएको छ । चालु आर्थिक वर्षमा समेत बैंकको अन्तर्राष्ट्रिय विकासका लागि ओपेक कोष, एसियाली विकास बैंक (एडीबी), विकास वित्त निगम (डीएफसी), एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी) जस्ता निकायबाट आवश्यकता र औचित्यताका आधारमा श्रोतको व्यवस्थापन तथा परिचालन गर्ने योजना रहेको छ । उक्त अन्तर्राष्ट्रिय वित्तीय संस्थासँगको व्यवसायिक सम्बन्धले लगानीको स्रोत प्राप्त गरेको मात्र नभई बैंकको अन्तर्राष्ट्रिय साखमा समेत अभिवृद्धि भएको र बैंकले गरेको स्रोतको उपयोग तथा कार्य सञ्चालनबाट अन्तर्राष्ट्रिय वित्तीय साझेदारहरू थप उत्साहित भई बैंकसँग थप कारोबारको लागि अनुरोध गरिरहेका छन् । बैंकको व्यावसायिक हितलाई पहिलो प्राथमिकतामा राखी आगामी दिनहरूमा यस्ता अन्तर्राष्ट्रिय वित्तीय संस्थाहरूसँगको कारोबार अगाडि बढाइने नीति रहेको छ ।
माइक्रोसफ्ट, अमेजन, गुगल र मेटाजस्ता ठूला प्राविधिक कम्पनीको आणविक ऊर्जामा ठूलो लगानी किन ?
काठमाडौं । क्लाउड कम्प्युटिङ र कृत्रिम बाैद्धिकता (एआई) लाई ऊर्जा प्रदान गर्ने डाटा सेन्टरहरूले ऊर्जा माग र उत्पादनलाई नयाँ सीमामा पुर्याइरहेका छन् । अमेरिकाको ऊर्जा विभागका अनुसार सन् २०५० सम्ममा विश्वव्यापी विद्युत् प्रयोग ७५ प्रतिशतले बढ्न सक्छ, जसमा प्रविधि उद्योगको एआई महत्त्वाकांक्षाहरूले ठूलो भूमिका खेल्नेछन् । एआई र क्लाउड कम्प्युटिङलाई पावर गर्ने डाटा सेन्टरहरू चाँडै नै यति ठूला हुन सक्छन् कि उनीहरूले सम्पूर्ण सहरहरू भन्दा बढी बिजुली प्रयोग गर्न सक्छन् । एआईमा अगाडि बढ्न चाहने कम्पनीहरूले आफ्नो प्रविधि विकास र विस्तार गर्दा उनीहरूको ऊर्जा आवश्यकता र दिगोपन लक्ष्य बीचको असमानता देख्न थालेका छन् । रेडियन्ट एनर्जी ग्रुपका प्रबन्ध निर्देशक मार्क नेल्सनले, ‘एउटा नयाँ डाटा सेन्टरले सिकागोलाई चाहिने जति विद्युत् आवश्यक पर्छ । उनीहरूले आफ्ना ऊर्जा आवश्यकताहरू नबुझी त्यस समस्या समाधान गर्न सक्दैनन् ।’ ‘उनीहरूलाई बिजुली चाहिन्छ नै, २४ घन्टा, ३६५ दिन,’ उनले थपे । नवीकरणीय ऊर्जामा केन्द्रित वर्षौंपछि ठूला प्रविधि कम्पनीहरू अब आणविक ऊर्जामा आकर्षित भएका छन्, जसले धेरै ठूलो ऊर्जा प्रदान गर्न दक्ष र दिगो समाधान प्रदान गर्छ । गुगल, अमेजन, माइक्रोसफ्ट र मेटाजस्ता ठूला कम्पनीहरू आणविक ऊर्जा परियोजनाहरू अन्वेषण गर्न वा लगानी गर्न अगाडि आएका छन् । यी डाटा सेन्टर र एआई मोडलहरूको ऊर्जा मागले यी प्रविधि कम्पनीहरूलाई आणविक ऊर्जामा लगानी गर्न प्रेरित गरेको हो । गुगलका ऊर्जा तथा वातावरण निर्देशक माइकल टेरेल भन्छन्, ‘आणविक ऊर्जासँग धेरै फाइदाहरू छन् । यो कार्बन-रहित ऊर्जा स्रोत हो । यो सधैं चलिरहनसक्ने भरपर्दो ऊर्जा हो । र यसले ठूलो आर्थिक प्रभाव पनि पार्छ ।’ पहिले आणविक ऊर्जा प्रतिको डर र त्रुटिपूर्ण सूचनाले यसलाई उपेक्षा गरिएको भए पनि अहिले प्राविधिक क्षेत्रमा लगानीलाई ‘आणविक पुनरुत्थान’ को सुरुवातको रूपमा हेरिएको छ । यो परिवर्तनले अमेरिकामा र विश्वव्यापी रूपमा ऊर्जा रूपान्तरणलाई तीव्र बनाउने सम्भावना छ । पछिल्लो १० वर्षमा डेटा सेन्टरहरूको विद्युत खपत द्रुत रूपमा बढेको छ । विकासकर्ताहरू एआईको आगमनसँगै डेटा सेन्टरहरूको साइज पनि ठूलो हुँदै गएकाले तिनीहरूलाई चलाउन आवश्यक पर्ने ऊर्जा पाउन र तिनीहरूलाई राख्न उपयुक्त जग्गा खोज्न कठिन हुँदै जाने बताउँछन् । डेटा सेन्टरले एक गिगावाट वा सोभन्दा बढी विद्युत माग गर्न सक्ने पनि उनीहरू बताउँछन् । डेटा सेन्टरहरू जसले लाखौं घरपरिवार बराबरको ऊर्जा खपत गर्छन्, भविष्यमा अझ ठूलो भूमिकामा आउनसक्ने प्रक्ष्येपण छ । यो पनि पढौं : एआई सञ्चालन गर्ने डेटा सेन्टरहरूले सिंगो सहरभन्दा बढी विद्युत् प्रयोग गर्नसक्ने, यस्तो छ योजना