विकासन्युज

पेट्रोलियम ट्याँकर व्यवसायीद्वारा व्यवस्थापनको माग

वीरगञ्ज । मोतिहारी-अमलेखगञ्ज पाइपलाइन परियोजना दोस्रो चरणको निर्माण सम्पन्न भएसँगै बरौनी–अमलेखगञ्जमा पेट्राल तथा मट्टितेल ढुवानी गर्दै आइरहेका एक सय चारवटा ट्र्याङ्कर विस्थापित हुने भएका छन् । आयल निगमले पेट्रोल र मट्टितेल पनि पाइपलाइनबाटै ल्याउने भएसँगै एक सय चार टैक–ट्र्याङ्करको व्यवस्थापनको विषय पेचिलो बन्दै गइरहेको छ । सम्भवत पाइपलाइनबाट नियमित रुपमा पेट्रोल र मट्टितेल ल्याउने कामको सुरुवात पनि यही पुस महिनाभित्रै हुने जनाइएको छ । बरौनीदेखि अमलेखगञ्जसम्म पेट्रोल तथा मट्टितेल ढुवानी गर्दै आइरहेका तीन सङ्गठनले तत्कालै आफूहरुको उचित व्यवस्थापन गर्नुपर्ने माग राख्दै आइरहेका छन् । बरौनीबाट अमलेखगञ्ज पेट्रोलियम पदार्थ ढुवानी गर्दै आइरहेका अमलेखगञ्जका पेट्रोलियम ढुवानी व्यवसायी तथा मजदूर सङ्गठनले यही पुस २४ गतेसम्म आफूहरुलाई उचित व्यवस्थापन हुनुपर्ने माग गरेका छन् । अमलेखगञ्जका पेट्रोलियम ढुवानी व्यवसायी सङ्घका अध्यक्ष सुदामाप्रसाद साह कानुले तीनवटै सङ्गठनले बरौनी– अमलेखगञ्ज रुटमा चल्ने एक सय चार ट्र्याङ्कर तथा ट्रकको उचित व्यवस्थापन गर्ने, निजी ढुवानी ट्रैक–ट्रकको व्यवस्थापन गर्ने र एक थान टैंक -ट्रक धनी व्यवसायीलाई करार सम्झौता कायम गर्नुपर्ने लगायतका माग राखेको जानकारी दिए । ‘हामीले आइतबारदेखि आन्दोलन गर्ने कार्यक्रम सार्वजनिक गरेका थियौँ । हाम्रो मागको सम्बन्धमा आयल निगमबाट पत्र आएकाले पनि १० दिनको लागि स्थगन गर्ने निर्णय गरेका छौँ,’ उनले भने । अमलेखगञ्ज पेट्रोलियम ढुवानी व्यवसायी सङ्घ, नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठन ईकाइ अमलेखगञ्ज र नेपाल पेट्रोलियम ट्र्याङ्कर चालक सङ्घ ईकाइ अमलेखगञ्ज लगायतले आयल नियमले आफ्नो जायज माग पूरा नगरेको भन्दै चरणबद्ध आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका छन् । नेपाल आयल निगम प्रादेशिक कार्यालय अमलेखगञ्जका प्रमुख प्रलङ्कर आचार्यले ढुवानी व्यवसायीले राखेका माग प्रादेशिक कार्यालयले सम्बोधन गर्न नसक्ने खालका रहेको जानकारी दिए । ‘विभिन्न तीन सङ्गठनले राख्नुभएको माग प्रादेशिक कार्यालय सम्बोधन गर्न सक्ने खालका छैनन्,’ उनले भने,‘हामीले उहाँहरुले राखेको मागको विषयमा केन्द्रीय कार्यालयलाई जानकारी गराइसकेका छौँ । त्यसैले पनि उहाँहरुले केही समयका लागि आन्दोलन स्थगित गरेर सहजीकरण गरिदिनुभएको छ ।’ प्रादेशिक कार्यालयका प्रमुख आचार्यले बरौनी–अमलेखगञ्ज रुटमा सञ्चालित एक सय चार वटा टैक–ट्र्याङ्कर प्रयोगविहीन हुनसक्ने विषयमा आवश्यक सहजीकरण गर्न केन्द्रीय कार्यालयमा पत्राचार गरिसकेको बताए । रासस

सीडीएससीको प्रबन्ध सञ्चालकमा प्रविन पन्दाक नियुक्त

काठमाडौं । धितोपत्र कारोबार राफसाफ कम्पनी सिडिएस एण्ड क्लियरिङको प्रबन्ध सञ्चालकमा प्रविन पन्दाक नियुक्त भएकी छन् । सिडिएसको आइतबार बसेको सञ्चालक समिति बैठकले पन्दाकलाई प्रबन्ध सञ्चालकमा नियुक्त गर्ने निर्णय गरेको हो । ४ वर्षे कार्यकालका लागि उनलाई प्रबन्ध सञ्चालक पदमा नियुक्त गरेको प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिए । उनी यसअघि सीडीएससीकै सञ्चालक सदस्य थिइन् । यसअघिका सीईओ रहेका पूर्णप्रसाद आचार्यको कार्यकाल तीन महिनाअघि सकिएपछि सीडीएससी प्रमुख कार्यकारीविहीन रहँदै आएको थियो ।

यामाहा नेपालद्वारा ७.९९ प्रतिशत ब्याजदरमा ‘ड्रिम इट, वन इट’ योजना सार्वजनिक

काठमाडौं । यामाहा नेपालले क्रिसमस र नयाँ वर्षको अवसर पारेर आफ्नो विशेष वित्तीय योजना ‘ड्रिम इट, वन इट’ सार्वजनिक गरेको छ । यस योजनाले ग्राहकहरूलाई केवल ७.९९ प्रतिशत को न्यून ब्याजदरमा आफ्नो सपनाको यामाहा मोटरसाइकल वा स्कुटर किन्न उत्कृष्ट अवसर प्रदान गर्दछ। यो सीमित अवधिको योजना २०७९ पुष १० (२०२४ डिसेम्बर २५) देखि लागु हुने कम्पनीले जनाएको छ । ‘ड्रिम इट, वन इट’ योजना सबै यामाहा मोटरसाइकल र स्कुटरहरूमा (शर्तहरू सहित) उपलब्ध हुनेछ । ग्राहकहरूले कम्तिमा ४०  प्रतिशत डाउन पेमेन्ट र लचिलो किस्ताबन्दी योजनाहरूको फाइदा लिई सजिलैसँग यामाहालाई आफ्नो घर ल्याउन सक्नेछन् । साथै, यस योजनाले सरल कागजी प्रक्रिया र रुचि अनुसारको ई.एम.आई. योजना रोज्ने सुविधा प्रदान गर्दछ । यस योजनासँगै, यामाहा नेपालले ‘टेस्ट राइट एन्ड विन’ अभियान पनि ल्याएको छ। यस अभियान अन्तर्गत हरेक ग्राहकले यामाहा टेष्ट राइडमा सहभागी भएर निश्चित उपहारहरू पाउनेछन् र लक्की ड्र मार्फत् आकर्षक उपहारहरू जित्ने अवसर पनि प्राप्त गर्नेछन् । एमएडब्लु राइड्सका कार्यकारी निर्देशक एवं सीईओ दीपक कुमार अग्रवालले यस योजनाको बारेमा खुसी व्यक्त गर्दै भने, ‘ड्रिम इट, वन इट’ वित्तीय योजना मार्फत् हामीले ग्राहकहरूका लागि यामाहा मोटरसाइकल र स्कुटरहरू अझ पहुँचयोग्य बनाउने लक्ष्य राखेका छौँ । यामाहाको उत्कृष्ट प्रदर्शन, भरपर्दो गुणस्तर र १० वर्षे वारेन्टीसहितको प्रतिबद्धताले १५ वर्षदेखिको एफ.आई. नेतृत्वलाई सशक्त बनाउँदै ग्राहकहरूलाई अनुपम सवारी अनुभव प्रदान गर्नेछ ।’ यो पहलले यामाहाको ग्राहक सन्तुष्टिप्रतिको समर्पणलाई प्रस्ट्याउँदै ग्राहकहरूलाई यामाहाको प्रविधि र प्रदर्शनलाई प्रत्यक्ष अनुभव गर्न प्रोत्साहित गर्ने कम्पनीले जनाएको छ ।

एनआईसी एशिया बैंकद्वारा २ करोड लगानीमा विभिन्न विद्यालयमा पुस्तकालय समुद्घाटन

काठमाडौं । एनआईसी एशिया बैंकले रुपन्देहीस्थित सियारी गाउँपालिका–४ छपिया अवस्थित पब्लिक सेकेन्डरी स्कुलमा पुस्तकालय समुद्घाटन गरेको छ । आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत मुलुकभरका विभिन्न जिल्लाका सामुदायिक विद्यालयहरुमा निर्माण गरेका भवनहरु मध्ये उक्त विद्यालयमा पुस्तकालय समुद्घाटन गरिएको बैंकले जनाएको छ । विद्यार्थीहरुलाई आवश्यक शैक्षिक सामग्रीहरु उपलब्ध गराई अध्ययन अध्यापनमा सहयोग गर्न र विद्यालयमा उत्कृष्ट शैक्षिक वातावरण सिर्जना गर्ने उद्देश्यले सम्बन्धित विद्यालय एवं स्थानीय तहको सक्रिय सहभागितामा बैंकको सहयोगमा निर्माण गरी उक्त विद्यालयलाई हस्तान्तरण गरिएको पुस्तकालय भवन यही २०८१ पौष १२ गते समुद्घाटन गरिएको छ । उक्त पुस्तकालय समुद्घाटन समारोहमा सोही गाउँपालिकाका अध्यक्ष थानेश्वर घिमिरे,एन आई सी एशिया बैंक लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश प्रमुख तिलक सुन्दर कार्की तथा सम्बन्धित विद्यालयका प्रतिनिधिहरु लगायतको उपस्थिति रहेको थियो । यस पुस्तकालय सञ्चालनमा आएसँगै उक्त विद्यालयका झन्डै २७०० विद्यार्थी तथा शिक्षक/शिक्षिकाहरु उक्त पुस्तकालयबाट प्रत्यक्षरुपमा लाभान्वित भएका छन् । यसअघि बैंकले मधेश प्रदेशको सिराहा जिल्ला स्थित भगवानपुर गाउँपालिका–१ मा अवस्थित श्री बाला सुन्दरी माध्यमिक विद्यालय, गण्डकी प्रदेशको तनहुँ जिल्ला स्थित बन्दिपुर गाउँपालिका–१ मा अवस्थित पवित्रा माध्यमिक विद्यालय, सुदूरपश्चिम प्रदेशको कैलाली जिल्ला स्थित जोशीपुर गाउँपालिका–१ मा अवस्थित मोहन्याल माध्यमिक विद्यालय, कोशी प्रदेशको झापा जिल्ला स्थित बुद्धशान्ती गाउँपालिका–२ मा अवस्थित आदर्श माध्यमिक विद्यालय र सोही जिल्लाको गौरीगञ्ज गाउँपालिका–३ मा अवस्थित गौरीगञ्ज माध्यमिक विद्यालयमा निर्माण गरिएका पुस्तकालयको समुद्घाटन भई सम्बन्धित विद्यालयहरुलाई हस्तान्तरण भइसकेका छन् । त्यसैगरी, मधेश प्रदेशको पर्सा जिल्ला स्थित वीरगञ्ज महानगरपालिका–१४ मा अवस्थित सिद्धार्थ माध्यमिक विद्यालय र बाग्मति प्रदेशको चितवन जिल्ला स्थित राप्ती नगरपालिका–७ मा अवस्थित विरेन्द्र आदर्श माध्यमिक विद्यालयको पुस्तकालय भवन निर्माण कार्य सम्पन्न गरेर पुस्तकालय स्थापनाको लागि सम्बन्धित विद्यालयहरुलाई हस्तान्तरण गरिसकिएको छ । बैंकले यी पुस्तकालय भवनहरु निर्माणका लागि भनेर कुल २ करोड ५ लाख ३० हजार बजेट विनियोजन गरेको थियो । यी पुस्तकालय भवनहरु निर्माणपछि उक्त विद्यालयहरुमा अध्ययनरत ११ हजारभन्दा बढी विद्यार्थीहरु प्रत्यक्ष रुपमा लाभान्वित हुनेछन् भने विद्यालयमा अत्यावश्यक पुस्तकालय व्यवस्थापन गराई विद्यार्थीहरुलाई पुस्तक पढ्न र अन्य शैक्षिक सिकाइका सामग्रीहरुमा पहुँच भई उनीहरुको शैक्षिक गुणस्तर बढ्ने एवं व्यक्तित्व विकासमा ठूलो सहयोग पुग्ने बैंकले विश्वास लिएको छ ।

एमएडब्लु वृद्धि चांगानको ‘सांग्रिला न्यु इनर्जी नीति अवार्ड’बाट सम्मानित

काठमाडौं । नेपालका लागि चांगान तथा दिपलका फ्यचरिस्टिक इभीको आधिकारिक आयातकर्ता एमएडब्लु वृद्धि अटोकर्प प्रालि चांगानको सांग्रिला न्यु इनर्जी नीति अवार्डबाट सम्मानित भएको छ । विद्युतीय सवारीसाधनको विस्तारमा योगदान पुर्‍याउनुका साथै नेपाली अटोमोबाइल बजारमा महत्वपूर्ण भूमिका निभाएको भन्दै दोस्रो ठूलो चिनियाँ अटोमोबाइल समूह चांगानले एमएडब्लु वृद्धिलाई यो अवार्डले सम्मानित गरेको हो । एमएडब्लु वृद्धिका अध्यक्ष विष्णु कुमार अग्रवाललाई चांगानको हेडक्वार्टर चीनको चोङकिङ प्रान्तमा जारी ‘चांगान ग्लोबल पार्टनर्स कन्फिरेन्स’मा यो अवार्ड हस्तान्तरण गरिएको हो । हरित र स्मार्ट भविष्यको विकास गर्दै दीर्घकालीन गतिशीलतामा एमएडब्लु वृद्धिको प्रतिबद्धता र नेपालमा इभीको सफल प्रवर्द्धनलाई मध्यनजर गरी यो अवार्ड दिइएको चांगान ग्लोबलले जनाएको छ। चांगान चीनको सबैभन्दा पुरानो अटोमोबाइल कम्पनी हो जसको एकसय ६२ वर्ष लामो विरासत छ । ८ महिनाअघि नेपालमा सार्वजनिक भएको दिपल इभी अहिलेसम्ममा ७ सय भन्दा बढी विक्री भइसकेका छन् ।

हिमालयन बैंकको बानेश्वर शाखा स्थानान्तरण

काठमाडौं ।  हिमालयन बैंकको बानेश्वर शाखा स्थानान्तरण भएको छ । हिमालयन बैंकले सिभिल बैंकलाई प्राप्ति गरेपछि नजिक भएका शाखा सञ्जालहरूमध्ये नयाँ बानेश्वर शाखालाई स्थानान्तरण गरी कोटेश्वरबाट आइतबारदेखि कोटेश्वर शाखा नामबाट सम्पूर्ण बैंकिङ सेवा प्रदान गरी सञ्चालनमा ल्याएको छ । उक्त शाखाको शुभारम्भ बैंकका नायव प्रमुख कार्यकारी अधिकृत अनुप मास्केले अन्य उच्चपदस्थ कर्मचारीहरू तथा अतिथिहरूको उपिस्थतिमा गरेका हुन् । हाल बैंकले नेपालभरी फैलिएका १७४ शाखा कार्यालय, २० विस्तारित काउन्टर, २८२ एटिएम, आठ हजारभन्दा बढी पिओएस टर्मिनल्स र १५ हजारभन्दा बढी विप्रेषण भुक्तानी केन्द्रहरुबाट आफ्ना ग्राहकहरूलाइ बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

यस्तो छ सोमबारका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अनुसार, युके पाउण्ड स्टर्लिङ, अष्ट्रेलियन डलर, सिङ्गापुर डलर, साउदी अरेबियन रियाल, साउथ कोरियन वन, कुवेती दिनार, बहराइन दिनारको भाउ बढेको छ । यस्तै, युरोपियन युरो, स्वीस फ्र्याङ्क, क्यानेडियन डलर, जापानी येन, कतारी रियाल, थाई भाट, स्वीडिस क्रोनरको भाउ घटेको छ भने केही विदेशी मुद्राको विनिमयदर स्थिर छ । निर्धारित दरअनुसार, अमेरिकी डलर एकको खरिददर एक सय ३६ रुपैयाँ ५६ पैसा र बिक्रीदर एक सय ३७ रुपैयाँ १६ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर एक सय ४२ रुपैयाँ ४०  पैसा र बिक्रीदर एक सय ४३ रुपैयाँ ०३  पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर एक सय ७१ रुपैयाँ ८० पैसा र बिक्रीदर एक सय ७२ रुपैयाँ ५५ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर एक सय ५१ रुपैयाँ ४२ पैसा र बिक्रीदर एक सय ५२ रुपैयाँ ०९ पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर ८४ रुपैयाँ ९१ पैसा र बिक्रीदर ८५ रुपैयाँ २९  पैसा, क्यानेडियन डलर एकको खरिददर ९४ रुपैयाँ ७७ पैसा र बिक्रीदर ९५ रुपैयाँ १९ पैसा, सिङ्गापुर डलर एकको खरिददर एक सय रुपैयाँ ५१ पैसा र बिक्रीदर एक सय रुपैयाँ ९५ पैसा निर्धारण गरिएको छ । जापानी येन १० को खरिददर आठ रुपैयाँ ६५ पैसा र बिक्रीदर आठ रुपैयाँ ६९ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ७१ पैसा र बिक्रीदर १८ रुपैयाँ ७९ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ ३७ पैसा र बिक्रीदर ३६ रुपैयाँ ५३ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ ४५ पैसा र बिक्रीदर ३७ रुपैयाँ ६२ पैसा कायम भएको छ । केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रुपैयाँ ०१ पैसा र बिक्रीदर चार रुपैयाँ ०२ पैसा, युएई दिराम एकको खरिददर ३७ रुपैयाँ १८ पैसा र बिक्रीदर ३७ रुपैयाँ ३४ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३० रुपैयाँ ५४ पैसा र बिक्रीदर ३० रुपैयाँ ६७ पैसा निर्धारण भएको छ । साउथ कोरियन वन एक सयको खरिददर नौ रुपैयाँ २७ पैसा र बिक्रीदर नौ रुपैयाँ ३१ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ४१ पैसा र बिक्रीदर १२ रुपैयाँ ४६ पैसा र डेनिस क्रोनर एकको खरिददर १९ रुपैयाँ ०९ पैसा र बिक्रीदर १९ रुपैयाँ १८ पैसा तोकिएको छ । राष्ट्र बैंकले हङ्कङ डलर एकको खरिददर १७ रुपैयाँ ५९ पैसा र बिक्रीदर १७ रुपैयाँ ६७ पैसा, कुवेती दिनार एकको खरिददर चार सय ४३ रुपैयाँ १६ पैसा र बिक्रीदर चार सय ४५ रुपैयाँ ११ पैसा, बहराइन दिनार एकको खरिददर तीन सय ६२ रुपैयाँ २३ पैसा र बिक्रीदर तीन सय ६३ रुपैयाँ ८२ पैसा, ओमनी रियाल एकको खरिदर तीन सय ५४ रुपैयाँ ६८ पैसा र बिक्रीदर तीन सय ५६ रुपैयाँ २४ पैसा तोकिएको छ । त्यसैगरी  भारतीय रुपैयाँ एक सयको खरिददर एक सय ६० रुपैयाँ र बिक्रीदर एक सय ६० रुपैयाँ १५ पैसा तोकिएको छ । यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने राष्ट्र बैङ्कले जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुनेसमेत जनाइएको छ ।

नाबालिकालाई झुक्याएर विवाह गर्दा…

खोटाङ । जिल्ला प्रहरी कार्यालयले नाबालिकासँग विवाह गर्ने युवक (बेहुला)सहित दुई जनालाई पक्राउ गरेको छ । आफन्तकामा हिँडेकी १३ वर्षीया बालिकालाई बाटैमा रोकेर ललाइफकाइ विवाह गर्ने दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपाका २८ वर्षीय रमेश राई र बालविवाह गराउनमा संलग्न बालिकाको आफन्त कमला राईलाई प्रहरीले पक्राउ गरेको हो । यही पुस८ गते बालिकासँग विवाह गर्ने रमेशलाई पुस१२ गते र कमलालाई पुस १३ गते पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयको प्रवक्ता प्रहरी निरीक्षक मोहन पोखरेलले जानकारी दिएका छन् । उनका अनुसार पक्राउ परेका दुवै जनाविरुद्ध बालविवासम्बन्धी कसूर अन्तर्गतको मुद्दा चलाइएको छ । बालविवाहसम्बन्धी घटना भएको जानकारी पाएपछि फरक–फरक समय तथा ठाउँबाट पक्राउ परेका उनीहरु दुवैजनालाई प्रहरी हिरासतमा राखेर घटनाको विषयमा थप अनुसन्धान थालिएको प्रहरीले जनाएको छ । अभियुक्त उनीहरु दुवैजनालाई जिल्ला अदालतमा उपस्थित गराएर थप अनुसन्धानका लागि पाँच दिनको म्याद थप गरिएको प्रहरी नायब उपरीक्षक प्रतिक विष्टले जानकारी दिए । कक्षा–८ मा अध्ययनरत बालिकालाई युवक (बेहुला)को घरबाट उद्धार गरेर जिल्ला अस्पतालमा स्वास्थ्य परीक्षण गरेपछि आफन्तको जिम्मा लगाइएको प्रहरीले जनाएको छ । पुस८ गते युवकको घर पु¥याइएकी बालिकालाई पुस ९ गते किरात संस्कार अनुसार भित्र्याइएको बुझिएको प्रहरी प्रवक्ता पोखरेलले जानकारी दिनुभएको छ । मुलुकी अपराधसंहिता २०७४ को परिच्छेद ११ विवाहसम्बन्धी कसूरमा बालविवाह गर्ने व्यक्तिलाई तीन वर्षसम्म कैद तथा रु ३० हजारसम्म जरिवाना हुने कानुनी व्यवस्था छ । विवाह गर्ने व्यक्तिको उमेर २० वर्षभन्दा कम भएको खण्डमा उक्त विवाह स्वतः रद्ध हुने मुलुकी अपराधसंहिताको बालविवाहसम्बन्धी कसूरमा उल्लेख छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखाले मङ्सिर १४ र १५ गते जालपामा बालविवाह न्यूनीकरणसम्बन्धी क्षमता विकास तालिम सञ्चालन गरेको थियो । सोही कार्यक्रमको प्रभावस्वरुप जालपामा भएको बालविवाहसम्बन्धी सूचना प्रहरीलाई प्राप्त भएको जनाइएको छ । रासस