नख्खु करिडोरमा अत्यधिक धुलो र गन्ध, स्थानीयलाई सास्ती
ललितपुर । ललितपुरको नख्खु करिडोर क्षेत्रमा अत्यधिक धुलो र गन्धका कारण स्थानीयले सास्ती बेहोर्नु परेको छ । असोज १२ गते शनिबार नख्खु खोलामा आएको बाढीका कारण करिडोर भत्किएपछि धुलोको समस्या बढेको हो । नख्खु करिडोरको धुलो र खोलाबाट निस्केको गन्धले बस्तीलाई नै असर गरेको स्थानीयको दुखेसो छ । बाढीका कारण नख्खु खोला किनारामा थुप्रिएको धुलो उडेर बस्तीमा पुगेको र धुलो र गन्धले असर गरेको ललिलतपुर महानगरपालिका–४ का स्थानीय मिलन यसमाली मगरले दुखेसो पोखे । उनले भने, ‘दिउँसो हावा चलेको बेला धुलोसँगै खोलाको गन्ध बस्तीमा पस्छ । जाडो समयमा यति धेरै धुलो र गन्धको समस्या छ पछि गर्मी सुरु भए झन् गाह्रो हुने सम्भावना छ ।’ बाढीले क्षति पुर्याएको क्षेत्रमा खानेपानी, यातायात र विद्युत्को समस्या हल गरिसकेको र अन्य समस्याहरूको समाधान गर्न ललितपुर महानगरपालिकाले पहल गरिरहेको ललितपुर महानगरपालिका–१३ का वडाअध्यक्ष गणेश केसीको भनाइ छ । ‘नख्खु करिडोरमा टिप्परका कारण बस्तीमा असर परेको छ । टिप्पर हिँड्नका लागि उचित व्यवस्थापन महानगरले गर्न सकेको छैन । टिप्परको कारण धुलोको समस्या झन् बढेको हो ।’ नख्खु र भैँसेपाटी जोड्ने नुख्खु खोला पुल र छेउछाउमा धुलोका कारण यात्रुहरूले सास्ती खेप्नु परेको छ । हरेक दिन नख्खु खोला पुल हुँदै भैँसेपाटी पुग्ने गरेका मोटरसाइकल यात्रु वीरेन्द्र तितुङले धुलो र खोलाको गन्धले आफूलाई दिक्क बनाएको बताउँछन् । उनी भन्छन्, ‘मेरो छोरी त्यही पुलको बाटो भएर स्कुल जान्छिन्, छोरीले धुलो र खोलाबाट निस्केको गन्धले आफूलाई दिक्क पारेको बताउँछिन् । धुलो र खोलाको गन्धको व्यवस्थापन जिम्मेवारी निकायले छिट्टै गर्नुपर्ने हो ।’ त्यसैगरी, बाढीले नख्खु करिडोर क्षेत्रमा क्षति पुर्याएपछि बाढीपीडितहरूले सरकारबाट पाउनुपर्ने राहत अझै नपाएको स्थानीय विश्वास थापा बताउँछन् । उनी भन्छन्, ‘चिसो बढेको छ । बाढीपीडतहरू मुस्किलले बसेका छन् । धुलो र गन्धले बस्तीमा असर गरेको छ । जिम्मेवारी निकायको ध्यान पुग्नुपर्ने हो तर पुगेको छैन । जाडो समयमा यति धेरै धुलो र गन्ध छ, गर्मीयाम सुरू भएपछि दुर्गन्ध र धुलोले विकराल रूप लिने सम्भावना छ ।’ रासस
विश्व बैंक र एडिबीबाट वित्तीय व्यवस्थापन नभए माथिल्लो अरुण जनताको लगानीमा बनाउँछौं : कुलमान घिसिङ
काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले माथिल्लो अरुण जलविद्युत आयोजना विश्व बैंक र एडिबीबाट वित्तीय व्यवस्थापन नभए नेपाली जनताको लगानीमा बनाउने तयारी रहेको बताएका छन् । कार्यकारी निर्देशक घिसिङले माथिल्लो अरुण जलविद्युत आयोजना विश्व बैंकको नेतृत्वमा अन्तर्राष्ट्रिय वित्तीय संस्थाहरूबाट आगामी जुन (असार) भित्रमा वित्तीय व्यवस्थापन गर्नेगरी प्रक्रिया अगाडि बढिरहेको बताएका हुन् । उनले असारभित्र पनि वित्तीय व्यवस्थापन हुन नसके स्वदेशी बैंक तथा वित्तीय संस्था र नेपाली जनताको लगानीमा माथिल्लो तामाकोशीको मोडलमा निर्माण गर्ने योजना रहेको उल्लेख गरे । उनले प्राधिकरणले माथिल्लो अरुण जलविद्युत आयोजनालाई नेपाल सरकार, प्रदेश सरकार, आयोजना प्रभावित जिल्लाका स्थानीय तह, आयोजना प्रभावित जिल्लावासी, सर्वसाधारणको शेयर लगानी, अन्तर्राष्ट्रिय बहुपक्षीय विकास साझेदारको सहुलितपूर्ण ऋण र स्वदेशी बैंक तथा वित्तीय संस्थाको ऋण लगानी रहने गरी ‘ब्लेन्डेड फाइनान्सिङ’ (मिश्रित लगानी) को नमूना परियोजनाको रूपमा अगाडि बढाउन खोजिरहेको बताए । कार्यकारी निर्देशक घिसिङले १ हजार ६३ मेगावाटको माथिल्लो अरुण जलविद्युत आयोजना नेपालको लागि अत्यावश्यक रहेको भन्दै तत्काल बन्न जरुरी रहेको बताए । विश्व बैंक, एडिबी लगायत अन्य विकास साझेदारहरुबाट वित्तीय व्यवस्थापन नभए आयोजना नेपाली जनता र नेपालका वित्तीय संस्थाहरुबाट नै बन्नसक्ने अवस्था रहेको पनि बताए । उनले अहिले आयोजनास्थलमा निर्माण पूर्वको तयारी भइरहेको भन्दै आयोजनाको वित्तीय व्यवस्था गरी जतिसक्दो छिट्टो निर्माणमा लैजान जरुरी रहेको बताए । उनले आयोजना निर्माणको लागि ५३ अर्बको सम्झौता भइसकेको पनि बताए । उनले दुधकोशी पनि ६७० मेगावट आयोजनाको तयारी पूरा भएको पनि जानकारी दिए । ‘अहिले रोकिएको छ । अप्पर अरुण बनाउनको लागि विश्व बैंक, एडबी लगायत अरु डेभलोपमेण्ट पार्टनरहरुले फाइनान्सिङ सम्भव भएन भने यो आयोजना नेपाली जनता र नेपालका वित्तीय संस्थाहरुबाट नै बन्छ । यो माथिल्लो तामाकोशीको मोडलमा बन्छ,’ उनले भने, ‘आयोजना निर्माणको लागि ५३ अर्बको सम्झौता भइसकेको छ । दुधकोशी पनि ६७० मेगावट आयोजनाको तयारी सम्पूर्ण रुपमा पूरा भएको छ ।’
ग्लोबल आइएमई बैंकको १८ औं वार्षिकोत्सवको अवसरमा सातै प्रदेशमा प्रभातफेरी कार्यक्रम
काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो १८औं वार्षिकोत्सवको अवसरमा सोमबार देशव्यापी प्रभातफेरी कार्यक्रमको आयोजना गरेको छ । आम जनमानसमा वित्तीय साक्षरता तथा बैंकिङ सचेतना अभिवृद्धिको लागि आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत बैंकले सातवटै प्रदेशका मुख्यमुख्य सहरहरूमा प्रभातफेरि कार्यक्रमको आयोजना गरेको हो । यही पौष १८ गतेदेखि ग्लोबल आइएमई बैंक आफ्नो स्थापनाको १८औं वर्ष पुरा भई १९औं वर्षमा प्रवेश गर्दैछ । काठमाडौंमा आयोजित प्रभात फेरिमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष तथा ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल, बैंक सञ्चालक समिति सदस्यहरू, बैंक उच्च व्यवस्थापनसहित १५ सयभन्दा बढी कर्मचारीहरूको उपस्थिति रहेको थियो । वित्तीय साक्षरता तथा बैंकिङ शिक्षामूलक प्लाकार्ड तथा व्यानरसहित प्रभातफेरिमा उपस्थित कर्मचारीहरुले काठमाडौँको कान्तिपथस्थित शाखा कार्यालयबाट हिँड्दै सहरको मुख्य-मुख्य भागको परिक्रमा गरेका थिए भने काठमाडौं उपत्यका बाहिर मुख्यमुख्य सहरहरू परिक्रमा गरेका थिए । बैंकले संस्थागत सामाजिक उत्तरदायित्वलाई मध्यनजर गरी यस्ता समाजपयोगी कार्यहरूमार्फत आमजनमानसलाई प्रत्यक्षरुपमा लाभान्वित गर्दै आएको छ । ग्लोबल आइएमई बैंक ग्लोबल फाइनान्सको बेष्ट बैंक अवार्ड २०२४ तथा युरो मनी अर्वाड फर एक्सलेन्स २०२४ अन्तर्गतका दुई विधाबाट नेपालको सर्वश्रेष्ठ बैंकको रूपमा सम्मानित बैंक हो । साथै, ग्लोबल आइएमई बैंक विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ–संस्थाहरुबाट फरकफरक विधामा सम्मानित भएको छ । ग्लोबल आइएमई बैंक मुलुकको सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकको ३५४ शाखा कार्यालय, ३८४ एटिएम, २३७ शाखारहित बैंकिङ सेवा, ६८ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालय समेत गरी १,१०० भन्दा बढि सेवा केन्द्रबाट आफ्ना ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गर्दै आइरहेको छ । बैंकले नेपाली नागरिकहरूलाई बैंकिङ सेवाहरू प्रदान गर्नुका अतिरिक्त विश्वका विभिन्न देशहरूबाट रेमिट्यान्स सेवा पनि दिँदै आएको छ । बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अस्ट्रेलिया, मलेशिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, यूएई, बहराइन, कुवेत, भारत, जोर्डन लगायत अन्य देशहरूबाट रेमिट्यान्स भित्र्याउने काम गर्दै आएको छ ।
१८औँ वार्षिकोत्सवमा विद्यार्थी लक्षित वित्तीय साक्षरता कार्यक्रम गर्दै ग्लोबल आइएमई बैंक
काठमाडौं । ग्लोबल आइएमई बैंकले आफ्नो १८औँ वार्षिकोत्सवको अवसरमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत देशका विभिन्न विद्यालयमा वित्तीय साक्षरता सम्बन्धी कार्यक्रम संचालन गर्ने भएको छ । बैंक पुस १८ गतेदेखी आफ्नो स्थापनाको १८औँ वर्ष पुरा गरी १९औं वर्षमा प्रवेश गर्दैछ । १८औं वार्षिकत्सवको अवसरमा बैंकले प्रत्येक प्रदेशको विभिन्न शैक्षिक संस्थामा अध्ययनरत विद्यार्थीहरुलाई वित्तीय साक्षरता सम्बन्धी सचेतना कार्यक्रम संचालन गर्दैछ । उक्त सचेतना कार्यक्रममा बैंकले आधारभुत बैंकिङ सेवा, डिजिटल÷नविनतम बैंकिङ सेवाहरु, बैंकिङ विवरण सुरक्षित राख्ने उपायहरु लगायत विभिन्न बैंकिङ शिक्षाको बारेमा जानकारी प्रदान गर्नेछ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत यस्ता किसिमका विभिन्न सामाजिक कार्यक्रमहरुलाई निरन्तरता दिँदै आएको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्वलाई मध्यनजर गरी यस्ता समाजपयोगी कार्यहरुमार्फत आम जनमानसलाई प्रत्यक्षरुपमा लावान्भित गर्दै आएको छ । ग्लोबल आइएमई बैंक ग्लोबल फाइनान्सको बेष्ट बैंक अवार्ड २०२४ तथा युरो मनी अर्वाड फर एक्सलेन्स २०२४ अन्तर्गतका दुई विधाबाट नेपालको सर्वश्रेष्ठ बैंकको रुपमा सम्मानित बैंक होे । साथै, ग्लोबल आइएमई बैंक विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ–संस्थाहरुबाट फरकफरक विधामा सम्मानित भएको छ । ग्लोबल आइएमई बैंक मुलुकको सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकको ३५४ शाखा कार्यालय, ३८४ एटिएम, २३७ शाखा रहित बैंकिङ्ग सेवा, ६८ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालय समेत गरी १,१०० भन्दा बढि सेवा केन्द्रबाट आफ्ना ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गर्दै आइरहेको छ । बैंकले नेपाली नागरिकहरूलाई बैंकिङ सेवाहरू प्रदान गर्नुका अतिरिक्त विश्वका विभिन्न देशहरूबाट रेमिट्यान्स सेवा पनि दिँदै आएको छ । बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अस्ट्रेलिया, मलेशिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, यूएई, बहराइन, कुवेत, भारत, जोर्डन लगायत अन्य देशहरूबाट रेमिट्यान्स भित्र्याउने काम गर्दै आएको छ ।
ओमोडाको ब्रान्ड एम्बेस्डर बने दीपेन्द्रसिंह ऐरी
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडी दीपेन्द्रसिंह ऐरी ओमोडाको ब्रान्ड एम्बेस्डर बनेका छन् । शारडा ग्रुपअन्तर्गतको एसपीजी अटोमोबाइल्सले सुदुरपश्चिम रोयल्सका कप्तान रहेका ऐरीलाई ओमोड एन्ड जेइकोको ब्रान्ड एम्बेस्डर घोषणा गरेको हो । सोमबार काठमाडौंमा आयोजित विशेष समारोहमा शारडा ग्रुपका निर्देशकहरूलगायत विशिष्ट अतिथिहरूको उपस्थितिमा हस्ताक्षर कार्यक्रमसँगै दीपेन्द्रसिंह ऐरी आधिकारिक रूपमा ब्रान्ड एम्बेस्डर नियुक्त भएका हुन् । यस साझेदारीले नेपालको दिगो भविष्यका लागि विद्युतीय यातायातका समाधानहरूको प्रवर्द्धनमा जोड दिइएको छ । एसपीजी अटोमोबाइल्स ओमोडा एन्ड जेइकोको लागि नेपालमा आधिकारिक वितरक हो । कार्यक्रममा सम्बोधन गर्दै ऐरीले आफ्नो ओमोडा एन्ड जेइकोसँगको आबद्ध हुँदा खुसी व्यक्त गरे । उनले भने, ‘किफायती मूल्यमा अत्याधुनिक सुविधाहरू भएको फ्यूचरिस्टिक इभी यो सेगमेन्टमा नै उत्कृष्ट र बेजोड छ । इनोभेसन (नवप्रवर्तन) र फ्यूचरिस्टिक टेक्नोलोजिमा अग्र रहँदै इभी बजारमा उल्लेखनीय सफलता हासिल गरेको ब्रान्ड ओमोडा एन्ड जेइकोसँग आबद्ध हुन पाउँदा म अत्यन्त उत्साहित छु ।’ समारोहमा शारडा ग्रुपका अध्यक्ष शिवरतन शारडा, प्रबन्ध निर्देशक सन्दीपकुमार शारडा, एसपीजी अटोमोबाइल्सका निर्देशक गौरव शारडा, एसपीजी अटोमोबाइल्सका अन्य सदस्यहरू लगायतको उपस्थिति रहेको थियो । ऐरी हालै सम्पन्न भएको नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोएल्सका कप्तान हुन् । उनको नेतृत्वमै सुदूरपश्चिम फाइनल पुगेको थियो । आजै ऐरीलाई ओमोडा ई फाइभ हस्तान्तरण गरिएको छ । एनपीएलको ‘इलेक्ट्रिफाइङ प्लेयर अफ द टुर्नामेन्ट’को पुरस्कार स्वरूप ओमोडा इ-फाइभको साँचो हस्तान्तरण गर्दै एसपीजी अटोमोबाइल्सका निर्देशक गौरव शारडाले भने, ‘अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीको पुरुष टी- ट्वान्टी अलराउन्डरमा दोस्रो वरीयतामा रहेका ऐरी नेपाली तथा विश्व क्रिकेटका उदाउँदो ताराहरूमध्ये एक हुन् । आफ्नो कुशलता र पर्फमेन्समा सदैव उच्चतस्तरको लगाव राख्ने ऐरीजस्ता उदाउँदा युवा खेलाडीलाई ओमोडा एन्ड जेइकोको ब्रान्ड एम्बेसेडर नियुक्त गर्न पाउँदा हामी गौरवान्वित महसुस गर्दछौं ।’ उक्त कार पाएवापत लाग्ने सम्पूर्ण कर (करिब १५ लाख रुपैयाँ) पनि कम्पनीले बेहोरेको छ । ९९ किलोवाट मोटर रहेको उक्त गाडीमा ६१ किलोवाट आवरको ब्याट्री रहेको छ । कम्पनीका अनुसार यसले ४३० किलोमिटरको रेन्ज दिन्छ । ऐरीले एनपीएलको नेपाली खेलाडीतर्फ ‘प्लेयर अफ दी सिरिज’ बन्दै ओमोडा ई ५ कार पुरस्कार प्राप्त गरेका हुन् । प्रतियोगिताभरि ऐरीले ९ खेलमा २२७ रन बनाउनुका साथै ९ विकेट लिँदै उत्कृष्ट प्रदर्शन गरेका थिए ।
प्रत्येक घरधुरीलाई ५ लाख सहुलियतमा ऋण दिएर सेयर भर्न पाउने व्यवस्था गर्छौ : मन्त्री खडका
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले प्रत्येक घरधुरीमा एक आयोजनामा २ देखि ५ लाखको सहुलियतमा ऋण दिएर सेयर पाउने व्यवस्था गर्न लागेको बताएका छन् । उनले पैसा नहुने मानिसहरुले स्रोत माथिको अधिकार प्राप्त गर्न नसक्ने अवस्था रहेकाले त्यसको दायित्व राज्यले दिनेगरी यस्तो व्यवस्था गर्न लागेको बताए । मन्त्री खडकाले जलविद्युत उत्पादन गर्दा १० प्रतिशत सेयर आयोजना प्रभावित क्षेत्रलाई दिने विषय कार्यान्वयन भएको तर सेयर किन्ने बेलामा पैसा हुनेले मात्रै प्राप्त गर्ने अवस्था रहेको दाबी गरे । ऊर्जा क्षेत्रको विकासले मात्रै मुलुकमा आर्थिक समृद्धि ल्याउनसक्ने दाबी गरेका छन् । ऊर्जामन्त्री खड्काले नेपालमा जलविद्युत उत्पादनको प्रचुर सम्भावना रहेको भन्दै नेपालमा ऊर्जा क्षेत्रको विकासले आर्थिक समृद्धि ल्याउनसक्ने दाबी गरे । मन्त्री खड्काले ऊर्जा क्षेत्रको विकास गरेर मुलुकमा आर्थिक समृद्धि ल्याउन सम्भव रहेको उल्लेख गरे । उनले आगामी १० वर्षमा २८ हजार ५ सय मेगावट विद्युत उत्पादन गर्ने र आन्तरिक खपतको लागि जोड दिँदै बाँकी रहेको विद्युत निर्यात गर्ने लक्ष्य राखेको बताए । उक्त लक्ष्य पूरा गर्न नीतिगत र संरचनामा सुधार गर्नुपर्ने बताए । संरचना र नीतिगत परिवर्तनका लागि सरकार तयार रहेको बताए । उनले जलविद्युत क्षेत्रमा देखिएका वनका समस्या,जग्गा प्राप्ति जस्ता समस्याहरुलाई समेत समेटेर छिटो छरितो गर्ने,हिउँदको समयमा विद्युत अभाव हुने विषयलाई सम्बोधन गर्ने विषयमा रिजर्भर परियोजनामा जाने नीतिगत निर्णय गरेर अगाडि बढेको जानकारी दिए । उनले भारतसँग विद्युत विक्री गर्ने सम्झौता गरेसँगै यो वर्ष साढे ९ सय मेगावटसम्म विक्री गर्न सफल भएको बताए । उनले भारतमा विद्युत व्यापार वृद्धि हुँदा भारतसँगको व्यापार घाटा कम भएको बताए । उनले विगतमा विद्युत निर्यातमा १३ अर्ब जति रकम भारतलाई तिर्ने गरेको भएपनि यो वर्ष १० अर्ब बढी नाफामा रहेको बताए । उनले बंलादेशमा विद्युत विक्री गर्ने विषयमा मूर्त रुपमा दिएर अन्तरदेशिय विद्युत व्यापारकोे ढोका खोलेको बताए । उनले विद्युत उत्पादन गरेर विदेशमा बेच्नु भनेको खोला नाला विक्री गर्न नभएको बताए । उनले विद्युत विक्री नगरी मुलुक धनी र समृद्ध हुन नसक्ने बताए ।
सकसका बीच पनि ५ हजार विद्यार्थीलाई पढाइरहेको टेक्सास, पढ्दै कमाउने रणनीति
काठमाडौं । काठमाडौंको सिफलमा रहेको टेक्सास कलेज अफ म्यानेजमेन्ट एण्ड आईटी उपत्यकामा रहेको एक शैक्षिक संस्था हो । यो कलेज सन् २०१० मा स्थापना भएको हो । सुरुमा प्लस टुबाट सञ्चालनमा आएको यो कलेजमा अहिले मन्टेश्वरीदेखि स्कुल, स्नातक र स्नातकाेत्तरसम्म पढाइ हुन्छ । अहिले चारवटा फरक-फरक स्थानमा विद्यालय र कलेज सञ्चालनमा छन् । मन्टेश्वरी छुट्टै ब्लक, स्कुल, प्लस टु छुटै ब्लकमा सञ्चालन छ भने त्रिभुवन विश्वविद्यालयबाट सञ्चालन गरेका कार्यक्रम र लिङ्कन विश्वविद्यालयको कार्यक्रम छुट्टै ब्लकबाट सञ्चालन भइरहेको छ । यस्तै, टेक्सास कलेज आफ म्यानेजमेन्ट आईटी अर्को कार्यक्रम छ । टेक्सास इनटरनेसनल नेटवर्कअन्तर्गत सञ्चालनमा आएको यो कलेजले विशेष गरी प्रविधि, व्यवस्थापन र होटल लगायतका विषयमा दक्ष जनशक्ति उत्पादन गर्दै आएको छ । स्नातकमा ११ र स्नातकोत्तर ५ वटा कार्यक्रम यो कलेजले स्नातक र स्नातकोत्तरमा व्यवस्थापन र आइटीका विभिन्न ११ कार्यक्रम सञ्चालन गरिरहेको छ भने स्नातकोत्तरमा ५ वटा कार्यक्रम सञ्चालन भइरहेका छन् । कोर म्यानेजमेन्टमा बीबीए, एमबीए, बीबीएस, बीबीएम, एमबीबीएस जस्ता कक्षाहरू सञ्चालन भइरहेका छन् । हस्पिटालिटी म्यानेजमेन्टअन्तर्गत बीएचएम एम बिएचएम र आईटी सेक्टरमा त्रिभुवन विश्वविद्यालयको आवद्धतामा बीएससीआइटी र बीसीए, बीबीए, एमबीएम, बीबीएस, बीए, बीएसडब्ल्यू र स्नातकोत्तरमा एमबीएस कार्यक्रम सञ्चालन गरेको छ । यस्तै, लिंकन विश्वविद्यालयको आवद्धतामा स्नातकमा बीआइटी, बीएससी, साइबर सेक्युरिटी एण्ड नेटवर्क टेक्नोलोजी, बीएचएम, बीबीए, एमबीए, एमबीएएचएम, एमबीएएचआर कार्यक्रम छन् । यी सबै कार्यक्रममा कोटाअनुसार विद्यार्थीको सङ्ख्या पुरा भएको दाबी कलेजको छ । कार्यक्रममा सीट सङ्ख्याअनुसार विद्यार्थी भए पनि यसमा सन्तुष्ट हुने अवस्था भने नरहेको कलेजका प्राचार्य श्यामसुन्दर श्रेष्ठ बताउँछन् । स्नातकमा विद्यार्थीको सङ्ख्या पुरा भए पनि मास्टर्समा भने कोटाअनुसार विद्यार्थीको सङ्ख्या छैन । एमबीएसमा ८० जनाको सिटमा ३० जना मात्र भर्ना भएका छन् । एमबीएमा ८० जनामा ३२ जना विद्यार्थी भर्ना भएका छन् । विद्यार्थीको अवस्था अहिले टेक्सासमा स्कुल र कलेज गरी ३ सयभन्दा बढी शिक्षकहरू कार्यरत छन् । प्राचार्य श्रेष्ठका अनुसार करिब २ सय विद्यार्थी मन्टेश्वरीमा छन् भने विद्यालयमा ४ सयभन्दा बढी विद्यार्थी अध्ययन गरिरहेका छन् । यस्तै, प्लस टुमा २ हजार विद्यार्थी छन् भने २ हजार बढी स्नातक र स्नातकाेत्तर तहमा अध्ययनरत छन् । यो सङ्ख्या हेर्ने हो भने असन्तुष्ट हुनुपर्ने अवस्था छैन । तर, जति संरचना छ त्यसअनुसार भने विद्यार्थी नभएको कलेजले जनाएको छ । तर, अभिभावक, विद्यार्थीको साथले तत्काल विकल्प नै सोच्नुपर्ने अवस्था नरहेको प्राचार्य श्रेष्ठ बताउँछन् । स्कुल तहदेखि मास्टर्ससम्मको पढाइ हुने संस्था भएकाले विद्यार्थी पाउन त्यति समस्या नभएको उनी बताउँछन् । ‘हामीसँग मन्टेश्वरी पढ्ने विद्यार्थी ब्याचलर्ससम्म यहीं पढ्छन्, त्यसैले पनि विद्यार्थी कम हुँदैनन्,’ उनी भन्छन्, ‘तर पहिलेको जस्तो हुँदैन, स्कुल र प्लस टुसम्म विद्यार्थी पाउन सहज भएपनि ब्याचलर्स र मास्टर्समा भने अहिले केही समस्या हुन थालेको छ । चुनौतीसँग जुधे पनि कलेज नै बन्द गर्नुपर्ने अथवा तत्काल विकल्प सोच्नुपर्ने अवस्थामा नपुगेको प्राचार्य श्रेष्ठ सुनाउँछन् । उनी भन्छन्, ‘असर परेको छ, तर यो ट्रेण्डलाई नरोक्ने हो भने कलेजलाई मात्र होइन, देशलाई समेत असर पर्ने छ ।’ टेक्सासमा मन्टेश्वरीदेखि भर्ना भएका धेरैजसो विद्यार्थी मास्टर्ससम्म पनि त्यही कलेज पढ्छन् । कतिपय विद्यार्थीहरू अहिले त्यही स्कुलमा शिक्षक भएर काम गरिरहेका छन् । यो आफ्नो लागि खुसीको कुरा भएको उनको भनाइ छ । ‘हामीले सिकाएको बच्चा, यही स्कुल हुँदै कलेज पढेर मास्टर्स गरेर अहिले फ्याकल्टीको रूपमा शिक्षक भएका छन्, हामीसँगै हातेमालो गरेका छन् । योभन्दा खुसीको कुरा अरू के हुन्छ ?,’ उनले थपे । लगानी धेरै, आम्दानी कम अन्य क्षेत्रजस्तो थोरै लगानीमा सुरु गर्न सकिने शिक्षा क्षेत्र होइन । यहाँ अरबौंको लगानी आवश्यक पर्छ । टेक्सासले पनि त्यही अनुसारको लगानी गरेको छ । तर लगानी अनुसारको प्रतिफल पाउन निकै गाह्रो छ । पहिले यस्तो अवस्था नभएपनि तत्कालको अवस्थामा समस्या रहेको सञ्चालकहरू बताउँछन् । प्राचार्य श्रेष्ठ आफै पनि टेक्सासका लगानीकर्ता हुन् । उनी अहिले कलेजको शैक्षिक व्यवसाय चूनौतीपूर्ण रहेको बताउँछन् । सामान्य स्कुल चलाउँदा पनि चार, पाँच करोडभन्दा बढी नै खर्च लाग्छ । जग्गा पनि किनेर लगानी गर्नुपर्छ । काठमाडौंभित्रको कुरा गर्दा ४०/५० करोड जग्गामा मात्र पर्छ । ठाउँअनुसार त्योभन्दा महँगो पनि पर्न सक्छ । बिल्डिङको कुरा गर्दा निर्माण गर्न ८/१० करोड बढी लाग्छ । एउटा सामान्य स्कुलतह मात्र चलाउँदा पनि ४० करोड जग्गामा र १० करोड भवन निर्माणमा राख्ने हो भने ५० करोड जान्छ । प्राचार्य श्याम सुन्दर श्रेष्ठ । ५० करोडको बैंकको ब्याजमात्र ५० लाख हुन्छ । ‘शिक्षा सञ्चालन गर्न मात्र यो खर्च लाग्छ भने कल्पना गर्न सकिन्छ,’ प्राचार्य श्रेष्ठ भन्छन्, ‘यसरी लगानी गरिएको शैक्षिक संस्थाले विद्यार्थी नै पाउने हो भने लगानी उठाउनसमेत कतिपय लगानीकर्तालाई समस्या परिरहेको छ, कतिपय साथीभाइहरूको गुनासो यस्तै छ ।’ अहिले निकै धेरै संस्थालाई ब्याज पनि आउने अवस्थामा छैन । ‘सयमा १ देखि २ प्रतिशत शैक्षिक संस्थालाई राम्रै भएको होला नभए अधिकांशको अवस्था उस्तै छ,’ उनी भन्छन्, ‘अहिलेको परिस्थिति यति चुनौतीपूर्ण हुँदै गएको छ कि कतिपय सञ्चालकहरूलाई ब्याज तिर्न मुस्किल परेको अवस्था छ, धेरै शैक्षिक संस्था यो पीडाबाट गुज्रिरहेका छन् ।’ अहिले बैंकहरूमा तरलता निकै उच्च छ । आउनुहोस् हामी लोन दिन तयार छौंभन्दा पनि धेरै मान्छे ऋण लिन गइरहेको अवस्था छैन । लगानी गरेअनुसार त्यसको रिटर्न के हुन्छ, सेक्युरिटी के हुन्छ भन्ने कुरा सोच्नुपर्छ । अझ दुई-चार अक्षर पढेका मान्छेले यो विषयमा बढी सोच्नुपर्छ । उनी भन्छन्, ‘ज्ञानकै कारण पनि यस्तो कुरा सोच्न बाध्य हुन्छौं, तर विद्यार्थीलाई न्याय गर्न पनि त्यो जोखिम लिँदै अगाडि बढ्दै गरेको अवस्था हो ।’ ६५ प्रतिशत भाडाको भवन र जग्गामा संरचना शिक्षा क्षेत्रमा १५ वर्षदेखि सेवा दिँदै आएको टेक्सास कलेजको आफ्नै संरचना छैन । अहिले पनि ६५ प्रतिशत जग्गा र संरचना लिजमा छ । त्यसमध्ये ३५ प्रतिशतमात्र विद्यालयको जग्गा र भवन रहेको छ । प्राचार्य श्रेष्ठ अहिलेकै अवस्थाबाट सबै संरचना कलेजको आफ्नै भवनमा सञ्चालनमा आउन समस्या रहेको बताउँछन् । कलेज विभिन्न ठाउँमा छरिएर रहेको छ । कतिपय ठाउँमा आफ्नै जग्गा र आफ्नै भवनमा छ भने कतिपय लिजमा लिएको संरचनामा निर्माण भइरहेको छ । उसो त यो कलेजसँग पर्याप्तमात्रामा खेल मैदान पनि अभाव छ । विद्यालय वा कलेज जहाँ पनि विद्यार्थीलाई खेल्ने, रमाउने ठाउँ आवश्यक हुन्छ । तर यो सुविधा टेक्सासँग पनि छैन । बरु संरचना अभावले फेरि नयाँ भवन निर्माणको तयारी भइरहेको छ । प्राचार्य श्रेष्ठ भन्छन्, ‘यसका लागि जति ठाउँ भए पनि नपुग्ने रहेछ, हामीसँग विद्यार्थीका लागि चाहिने केही खेलमैदान छन् तर पर्याप्त भने छैन । यो क्षेत्रमा लाग्दा हामी सपना देखेर लागेका हौं, उद्देश्य पनि छ, यो सपनालाई विपनामा परिणत गर्ने योजनाहरू पनि छन् । तर चाहँदाचाँहदै पनि कहिले नहुने, कहिले रोकिनुपर्ने अवस्था छ ।’ पढ्दै कमाउँदै अहिले नेपाली शिक्षा क्षेत्रमा बहस हुने अर्को कुरा हो- विद्यार्थीलाई पढ्दै कमाउँदै गर्ने अवस्था भएन । जसकारण विद्यार्थी विदेसिन थालेका छन् । टेक्सास कलेजले विद्यार्थीलाई पढ्दै कमाउँदै गर्ने अवसर दिएको प्राचार्य श्रेष्ठ बताउँछन् । उनी आफू पनि पढ्दै, पढाउँदै यो ठाउँमा पुगेको बताउँदै नेपालमा पनि गर्न चाहने विद्यार्थीका लागि प्रशस्त ठाउँ रहेको बताउँछन् । उनी अन्य देशभन्दा नेपालमा पढ्न, काम गर्न विद्यार्थीका लागि निक सहज रहेको बताउँछन् । शैक्षिक गतिविधिको क्रममा श्रेष्ठ विभिन्न देश पुगेका छन् । त्यहाँको भ्रमण गरिरहदा उनी त्यहाँ अध्ययन गरिरहेका विद्यार्थीसँग भेटघाट गर्छन् । उनले केही समय पहिले अष्ट्रेलिया पुगेर अध्ययन गरिरहेका विद्यार्थीहरूसँग पनि कुरा गरे । तर उनीहरूको अवस्था देखेर दुःख लागेको बताए । ‘विदेशमा सहज छैन, मैले यस्तोसम्म विद्यार्थी देखेको छु, हप्ता दिनसम्म पुग्ने खाना पकाएर फ्रिजमा राखेर काम गर्छन्, खाने समय नहुँदा बाटैमा खाना खानुपर्ने अवस्था छ,’ उनले भने । उनी विदेश सोचेजस्तो नरहेको भन्दै नेपाली विद्यार्थीलाई नेपालमै अध्ययन गर्न आग्रह गर्छन् । फेसबुकमा राखेको फोटो, टिकटकमा राखिएको भिडियोजस्तो सहज नभएको भन्दै उनी उनीहरूले भोगेको कुरा सेयर गर्न नचाहेर यस्ता कुरा बाहिर नआउँदा पनि नेपाली विद्यार्थीले यथार्थ थाहा नपाइ विदेश लागेको उनको बुझाइ छ । आवश्यकताअनुसार छात्रवृत्ति सरकारले निजी क्षेत्रका कलेजलाई १० प्रतिशत छात्रवृत्ति अनिवार्य गर्न भनेको छ । टेक्सास कलेज १० प्रतिशतभन्दा बढी विद्यार्थीलाई कलेजले नि:शुल्क अध्ययन गराइरहेको प्राचार्य श्रेष्ठको दावी छ । मानौं हामी कहाँ कुनै विद्यार्थी पढ्दै छ, यहीबीचमा त्यो परिवारको बुवा अर्थात् उनलाई पढाउन खर्च गर्ने सदस्यको निधन भयो भने हामीले बच्चालाई अब पैसा तिर्न सक्दैन भनेर विद्यालयबाट निकाल्ने अवस्था हुँदैन । अहिले टेक्सासमा यस्ता घटना भएका धेरै विद्यार्थी छन्, जो अहिले अध्ययन गरिरहेका छन् । ‘हामीले यस्ता बच्चालाई ब्याचलर्समात्र होइन, मास्टर्ससम्मै पढाएका छौं । जुन १० प्रतिशत छ, यो त नि:शुल्क गर्छौ । त्योभन्दा बाहेक अन्य निकाय पनि हामीसँग ठोकिएका हुन्छन, कसैले अनुरोध गर्छन्, हामीले त्यस्ता विद्यार्थीलाई पनि स्कुल कलेजमा अध्ययन गराउँछौं, ’ उनले भने । कलेज सञ्चालनमा आएको १५ वर्षमा पैसाको अभावले एक जना पनि परीक्षाबाट वञ्चित भएको अवस्था छैन । तर, निजी कलेजको कुरा गर्दा आयस्रोतको बाटो नै विद्यार्थीले तिर्ने शुल्क नै हो । सरकार र निजी क्षेत्रकाे सहकार्य आवश्यक प्राचार्य श्रेष्ठ विभिन्न समस्या बीचमा रहेको देश पनि शिक्षा, स्वास्थ्यमा अगाडि बढेको बताउँदै भगवानले उपहार दिएको नेपालको अवस्था यस्तो हुनु दुःखद रहेको बताउँछन् । यो विषयमा जब सरकारले कुरा बुझ्दैन तबसम्म यस्तै समस्या रहने उनको दाबी छ । ‘सरकार र निजी क्षेत्र एक अर्काका सहयात्री हुन्,सँगै गुड्नुपर्छ,’ उनी थप्छन्, ‘जबसम्म यी दुबै क्षेत्र सँगै अघि बढ्दैनन् तबसम्म अवस्था यस्तै रहने छ ।’ टोयोटा गाडीका कारण अहिले जापान कुन ठाउँ पुगेको छ, टाटा गाडीको कम्पनीले भारतका लाखौं मान्छेले रोजगार पाएका छन्, हुण्डाईका कारण साउथन एसियामा लाखौं मान्छेले सेवा पाइरहेका छन् । यस्ता उदाहरण थुप्रै छन् । निजी कम्पनीले राष्ट्रका लागि योगदान पुर्याएका छन् । जुन ठाउँमा सरकार पुग्न सकेको हुँदैन, त्यो ठाउँमा निजी क्षेत्रले आफ्नो मिहिनेत खर्चेर रोजगार सिर्जना गरेको छ । यस्तै यो टेक्सास कलेजमा पनि ३ सय बढी व्यक्तिले रोजगार पाएका छन् । तर सरकारी तवरबाट निजी क्षेत्रलाई अगाडि बढ्ने त्यो किसिमको वातावरण सिर्जना गरेको पाइँदैन । ‘जुन दिनसम्म हामीले राम्रो सेवा दिन्छौं, त्यो दिनसम्म हामी टिक्छौं, जुन दिन गुणस्तर सेवा दिन सक्दैनौं, त्यो दिन हामी आफै सिद्धिन्छौं । यसकारण निजी क्षेत्रले आफ्नो तर्फबाट जहिले बेस्ट दिने प्रयास गरिरहन्छ,’ उनी भन्छन् ।
बेल्जियममा नयाँ वर्षदेखि भेप बन्देज, ईयूमा बन्देज लगाउने पहिलो राष्ट्र
काठमाडौं । बेल्जियम नयाँ वर्षदेखि डिस्पोजेबल ई-सिगरेट (भेप) माथि प्रतिबन्ध लगाउने भएको छ । भेपमाथि प्रतिबन्ध लगाउने बेल्जियम युरोपेली संघ (ईयू) मा पहिलो देश बन्नेछ । स्वास्थ्य र वातावरणलाई ध्यानमा राखेर यो निर्णय गरिएको हो । स्वास्थ्यमन्त्री फ्रान्क भान्डेनब्रोकले सस्तो ई-सिगरेटले किशोरकिशोरीहरूलाई निकोटिनको लतको सिकार बनाउँदै आएको बताएका छन् । यो कदम पर्यावरणको लागि पनि लाभदायक हुनेछ । डिस्पोजेबल ई-सिगरेटले प्लास्टिक र ब्याट्रीको फोहोर बढाउँछ । ई-सिगरेट भनेको के हो ? यसका बेफाइदाहरु के-के छन् ? यसको बारेमा संक्षिप्त रूपमा वर्णन गर्ने कोसिस गर्नेछाैं । ई-सिगरेट भनेको के हो ? ई-सिगरेट वा इलेक्ट्रोनिक सिगरेट चुरोट होइन, तर एक प्रकारको उपकरण हो । यसलाई भेप पनि भनिन्छ । यसलाई परम्परागत चुरोटको विकल्पको रूपमा विकसित गरिएको छ । यी ब्याट्री-सञ्चालित उपकरणहरू हुन् जसले तरल तताएर भेप उत्पादन गर्दछ । यो तरल पदार्थमा निकोटिन, प्रोपाइलिन ग्लाइकोल, ग्लिसरिन आदिको प्रयोग हुन्छ । बेल्जियमले किन लगायो प्रतिबन्ध ? बेल्जियममा जनवरी १, २०२५ देखि डिस्पोजेबल ई-सिगरेटको बिक्रीमा प्रतिबन्ध लगाइनेछ । युवाको स्वास्थ्य र वातावरण जोगाउन यो निर्णय गरिएको हो । डिस्पोजेबल ई-सिगरेट विशेष गरी किशोरकिशोरीहरूलाई धुम्रपानको बानीमा पर्नको लागि सजिलो तरिका भएको छ । यसमा निकोटिन हुन्छ, जुन स्वास्थ्यको लागि हानिकारक र लत हो । डिस्पोजेबल भएकाले यी ई-सिगरेटमा प्रयोग हुने प्लाष्टिक, ब्याट्री र सर्किट वातावरणमा बोझ बन्छन् । यसबाहेक यिनीबाट निस्कने खतरनाक रासायनिक फोहोर पनि चिन्ताको विषय बनेको छ । यस वर्षको सुरुमा अष्ट्रेलियाले पनि ई-सिगरेटमा कडा प्रतिबन्ध लगाएको थियो । अब बेल्जियम यस दिशामा पहल गर्ने ईयूमा पहिलो देश बनेको छ । प्रतिबन्धले व्यवसायलाई कति घाटा हुन्छ ? बेल्जियमले प्रतिबन्धका कारण व्यापार घाटा हुने सम्भावना रहेको स्वीकार गरेको छ । तर, यसले खासै प्रभाव पार्दैन । बेल्जियमको यो निर्णयलाई ई-सिगरेट बेच्ने केही पसलहरूले पनि समर्थन जनाएका छन्, विशेष गरी वातावरणको मुद्दामा । ई-सिगरेटका बेफाइदाहरू स्वास्थ्य जोखिम: ई-सिगरेटको दीर्घकालीन प्रभावहरूको बारेमा अझै धेरै थाहा छैन, तर केही अध्ययनहरूले सुझाव दिन्छन् कि यसले फोक्सो र मुटुलाई हानि पुर्याउन सक्छ । निकोटिन लत: ई-सिगरेटमा निकोटिन प्रयोग गरिन्छ जसले लत निम्त्याउँछ । किशोरकिशोरीहरूमाझ प्रयोग: किशोरकिशोरीहरूमाझ ई-सिगरेटको लोकप्रियता ठूलो चिन्ताको विषय हो । अन्य रसायनहरू: ई-सिगरेट तरलमा धेरै अन्य रसायनहरू छन् जसको स्वास्थ्य प्रभावहरू अझै पूर्ण रूपमा बुझिएको छैन ।