पत्रकारितामा २०२४ : प्रेस स्वतन्त्रता हननका घटनामा वृद्धि, ६० घटना अभिलेख
काठमाडौं । नेपाल पत्रकार महासंघले सन् २०२४ मा नेपालमा प्रेस स्वतन्त्रता हननका घटनामा वृद्धि भएको जनाएको छ । महासंघले मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै २०२४ प्रेस स्वतन्त्रता तथा पत्रकार सुरक्षाको सवालमा चुनौतीपूर्ण वर्ष रहेको जनाएको छ । महासंघका अनुसार समाचार लेखेको तथा सूचना मागेका कारण पत्रकारमाथि धम्की दिने, गिरफ्तार र हत्या गर्नेसम्मका घटना भएका छन् । सञ्चार अनुगमन शाखामा यो वर्ष प्रेस स्वतन्त्रता हननका ६० वटा घटना अभिलेख भएकाे महासंघले जनाएकाे छ । विगतका वर्षको तुलनामा यस वर्ष प्रेस स्वतन्त्रता हनन्का घटना वृद्धि भएको छ । सन् २०२३ मा प्रेस स्वतन्त्रता हनन्का ५८ र सन् २०२२ मा ५३ वटा घटना अभिलेख भएका थिए । यस वर्ष प्रेस स्वतन्त्रता हननका ६० वटा घटना हुँदा ३४ जना पत्रकार महिला र १ सय १३ जना पुरुष पत्रकार पीडित भएका छन् भने १३ वटा सञ्चार संस्था प्रभावित भएका छन् । राष्ट्रिय दलित पत्रकार संघ, कैलालीका सहसचिव सुरेश भुलको हत्या भएको घटनाको प्रारम्भिक रिपोर्ट हेर्दा उक्त घटना लक्षित हत्या भएको देखिन्छ । समाचार लेखेकै कारण ज्यान लिनेसम्मको धम्की इटहरीका पत्रकार गोपाल दाहालले पाइरहेका छन् । पत्रकारमाथि भएको धम्की, धरपकड तथा दुर्व्यवहारका घटना अत्यन्त निन्दनीय मात्र हैन, लोकतन्त्रमाथिकै प्रहार भएको महासंघले ठानेको छ । सन् २०२४ मा नेपाली प्रेस जगतले अपेक्षाकृत प्रेससम्बन्धी कानुन पाउन नसकेको र लामो सयमदेखि प्रतीक्षारत मिडिया काउन्सिल विधेयकले पूर्णता नपाएको महासंघले जनाएकाे छ । यसबीचमा सरकारले सूचना प्रविधि विधेयक, सामाजिक सञ्जाल व्यवस्थापन तथा सञ्चालनसम्बन्धी विधेयक ल्याउने तयारी गरिरहेको छ । महासंघले विगतदेखि नै सञ्चारसम्बन्धी कानुनलाई व्यवस्थित गर्न र संविधानको मर्मअनुसार कानुन निर्माण गर्न सरकारलाई आग्रह गर्दै आएको सर्वविदितै छ । प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता हनन्का घटनामा सत्यतथ्य छानविन गरी दोषीलाई कानुनी कारवाहीको दायरामा ल्याउन महासंघले सरकारसँग जोडदार माग गरेको छ।
प्रतिनिधिसभा सचिवमा राई नियुक्त
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभाको सचिवमा झापाका हर्कराज राईलाई नियुक्त गरेका छन् । नेपालको संविधानको धारा, १०६ को उपधारा (१) बमोजिम सभामुख देवराज घिमिरेको सिफारिसमा कोशी प्रदेश, शिवसताक्षी नगरपालिका–२ निवासी राईलाई उक्त पदमा मंगलबार नियुक्त गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
जापानमा भारी हिमपात, दर्जनौँ उडान रद्द
काठमाडौं । लाखौँ परिवार आफ्ना प्रियजनहरूसँग नयाँ वर्षको छुट्टी बिताउन घर फर्किरहेको बेला जापानको उत्तरी क्षेत्रमा भारी हिमपातले मंगलबार दर्जनौँ उडान रद्द गर्यो । जापान एयरलाइन्सले दिउँसोसम्म ४२ वटा उडान रद्द गरेको र छ हजार ३९८ यात्रुलाई असर गरेको बताएको छ । ती सबै होक्काइडोको उत्तरी टापुबाट आवतजावत गर्ने सेवा थिए । यसको मुख्य प्रतिद्वन्द्वी एएनएले पनि उत्तरमा खराब मौसमका कारण आठ सय यात्रुलाई प्रभावित पार्दै १४ उडान रद्द गर्यो र आफ्ना ग्राहकहरूलाई सम्भावित ढिलाइ र थप रद्दको चेतावनी दियो । होक्काइडोको मुख्य विमानस्थलमा यात्रुहरूले वैकल्पिक उडानहरू सुरक्षित गर्न लामो लाइनहरू बनाए । केहीले सन् २०२५ को स्वागत प्रस्थान कक्षमै गर्ने तयारी गरे । ‘हिउँ देख्न पाउँदा राम्रो थियो तर म यहाँ फस्छु भन्ने मैले सोचेको थिइनँ’, दक्षिणको ओकिनावा घर जान खोजिरहेका एका व्यक्तिले प्रसारणकर्ता एचटिबीलाई भने, ‘के गर्ने मलाई थाहा छैन । म आज राति विमानस्थलमा बस्नुपर्ने हुन सक्छ ।’ जापानको मौसम विज्ञान एजेन्सीका अनुसार होक्काइडो र जापान सागर फर्केका उत्तरी तटरेखाका समुदायहरूले मंगलबार तीव्र हावा र भारी हिमपातको अनुभव गरिरहेका छन् । मौसम एजेन्सीका अनुसार सोमबारदेखि होक्काइडोका केही क्षेत्रमा २० सेन्टिमिटर (७.९ इन्च) भन्दा बढी हिमपात भएको छ । जसमध्ये धेरैजसो मंगलबार बिहान परेको थियो र नयाँ वर्षको दिनसम्म हिमपात जारी रहने अपेक्षा गरिएको छ । जलवायु परिवर्तनका कारण चरम गर्मीले विश्वका धेरै भागहरू ओगटेसँगै यस वर्ष जापानको गर्मी रेकर्ड सन् २०२३ को बराबर थियो । राष्ट्रिय मौसम एजेन्सीका अनुसार १२६ वर्षअघि रेकर्ड सुरु भएदेखि शरद ऋतु सबैभन्दा तातो थियो । माउन्ट फुजीको प्रसिद्ध हिउँको टोपी पनि यस वर्ष अहिलेसम्मकै सबैभन्दा लामो अवधिसम्म अनुपस्थित रह्यो । सामान्यतया अक्टोबरको सुरुमा देखिने भए पनि यो नोभेम्बरको सुरुसम्म देखिएन । रासस
महालक्ष्मी विकास बैंकद्वारा कर्णाली प्रदेशअन्तर्गतका विधार्थीहरूलाई छात्रवृत्ति प्रदान
काठमाडौं । महालक्ष्मी विकास बैंकले कर्णाली प्रदेशका १० जिल्लाका सरकारी विद्यालयका विद्यार्थीका लागि छात्रवृत्ति प्रदान गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत छात्रवृत्ति प्रदान गरेको हो । कर्णाली प्रदेश पर्यटकीय तथा सांस्कृतिक संरक्षण केन्द्र, कालिकोटसँगको समन्वयमा मंगलबार बैंकको केन्द्रीय कार्यालयमा आयोजित एक कार्यक्रमका बीच छात्रवृत्ति बराबरको रकम प्रदान गरिएको हो । माध्यमिक शिक्षा परीक्षा (एसईई) पास गरी काठमाडौं उपत्यकामा प्लस टु तथा प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद (सीटीईभीटी)अन्तर्गत डिप्लोमा अध्ययन गर्न चाहने तर घरको आर्थिक अवस्था नाजुक भएका गरिब तथा जेहेन्दार विधार्थीलाई छात्रवृत्ति प्रदान गरिने बैंकले जनाएको छ । यस किसिमको कार्यबाट पैसाको अभावबाट कुनै पनि विधार्थीहरूको उच्च शिक्षा हासिल गर्न चाहनामा गतिशिलता प्रदान गर्न केही हदसम्म भए पनि सहयोग पुग्ने विश्वास बैंकले लिएको छ । बैंकले हालै ग्राहकहरुलाई अत्याधुनिक, सुरक्षित तथा सहज डिजिटल बैंकिङ सुविधा उपलब्ध गराउने बैंकको नीति बमोजिम मोबाइल एप्लिकेसनलाई परिष्कृत गर्दै ‘महालक्ष्मी स्मार्ट साथी’ सञ्चालनमा ल्याएको छ ।
शाखा प्रबन्धकको गिरफ्तारीको समाचार झुटो भएको सिद्धार्थ बैंकको स्पष्टिकरण
काठमाडौं । सिद्धार्थ बैंकले विभिन्न सञ्चारमाध्यममा प्रकाशन भएको ‘जनकपुर शाखाका शाखा प्रबन्धक अर्णबहादुर बलम्पाकी पक्राउ’ र ‘बैंकको ऋण असुली प्रक्रियामा अनियमितता’ सम्बन्धी समाचारप्रति गम्भीर ध्यानाकर्षण गरेको छ । बैंकले मंगलबार विज्ञप्ति जारी गर्दै ग्राहक, सरोकारवाला र सर्वसाधारणमा यस समाचारले भ्रम सिर्जना गरेको र सत्यतासँग मेल नखाएको जनाएको छ । बैंकका अनुसार क्षीरेश्वर र जनकपुर शाखाबाट ऋण लिएका ग्राहकहरूले समयमै साँवा र ब्याज भुक्तानी नगरेपछि कानुनी प्रक्रियाअनुसार धितो लिलामको प्रक्रिया अघि बढाइएको थियो । प्रक्रिया पूरा गरी सफल बोलकबोलकर्तालाई सम्पत्ति हस्तान्तरण गरिएको थियो । तर केही व्यक्तिहरूले ऋणी/जमानतीसँग मिलेर विरोध जनाएका थिए । उनीहरूले पुस ११, १२ र १४ गते बैंकका कार्यालयहरूमा नाराबाजी गरी सेवा अवरुद्ध गरेका थिए । यसपछि स्थानीय सुरक्षा निकायसँग समन्वय गरी छलफलका लागि प्रहरी कार्यालयमा बैठक बसेको थियो । प्रहरी कार्यालयमा छलफलका क्रममा खिचिएको भिडियोको आधारमा शाखा प्रबन्धक पक्राउ परेको झुटो समाचार फैलाइएको बैंकले जनाएको छ । बैंकले यो जानकारी गलत भएको र ऋण असुली प्रक्रिया कानुनी रूपमा अघि बढाइएको स्पष्ट पारेको छ । कानुनी प्रक्रियातर्फ नगई बैंकजस्तो संवेदनशील संस्थाको सेवा नै अवरुद्ध हुनेगरी वाधा व्यवधान सिर्जना गर्नु उचित नहुने बैंकको धारणा रहेको छ । साथै बैंकजस्तो अत्यावश्यकीय सेवा प्रदान गर्ने संस्थाको सेवा निर्वाध रूपमा सञ्चालन हुने वातावरण निर्माणका लागि सम्बन्धित सबैमा बैंकले अनुरोधसमेत गरेको छ ।
एसेस कोड १४२४ प्रयोग गरी हुने बाह्यगमन कलमा नयाँ महसुल दर निर्धारण
काठमाडौं । नेपाल टेलिकमले एसेस कोड १४२४ को प्रयोग गरेर हुने बाह्यगमन कलको नयाँ महसुल दर निर्धारण गरेको छ । नेपाल दूरसञ्चार प्राधिकरणबाट स्वीकृत भई पुस १५ गते राति १२:०० बजेदेखि लागू हुनेगरी एसेस कोड १४२४ को महसुल दर करबाहेक प्रति मिनेट ३.७६ रुपैयाँ कायम गरिएको हो । विगतदेखि नै भारतमा सस्तो दरमा कल गर्नका लागि टेलिकमले विभिन्न विकल्पहरू लागू गरेको छ । यसका साथै एसेस कोड १४२४, १४२५ र १४४५ को प्रयोग गरेर भारतमा हुने बाह्यगमन कलको पल्स दर ६० सेकेण्ड निर्धारण गरिएको छ ।
राष्ट्र बैंकले ३ अर्ब ६५ करोड रुपैयाँ मुद्दती निक्षेपमा लगानी गर्ने
काठमाडौं । नेपाल राष्ट्र बैंकले ३ अर्ब ६५ करोड ९३ लाख रुपैयाँ मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ । बैंकको विभिन्न कोषमा रहेको ३ अर्ब ६५ करोड ९३ लाख रुपैयाँ मुद्दती निक्षेपका रूपमा लगानी गर्ने जनाएकाे छ । राष्ट्र बैंकले वाणिज्य बैंकमा २ अर्ब ९२ करोड ७६ लाख रुपैयाँ, राष्ट्रियस्तरका विकास बैंकमा ५४ करोड ८८ लाख रुपैयाँ र राष्ट्रिय स्तरका वित्त कम्पनीमा १८ करोड १९ लाख रुपैयाँ लगानी गर्ने भएकाे हाे । उक्त रकम लिन चाहने बैंक तथा वित्तीय संस्थाले रकम उल्लेख गरी पुस १८ गते ७ बजेभित्र ब्याजदर प्रस्तावन गर्न आह्वान गरेको छ । राष्ट्र बैंकले २०२५ जनवरी १६ देखि २०२६ जनवरी १७ सम्म ३६७ दिनका लागि उक्त रकम मुद्दती निक्षेपमा लगानी गर्न लागेको हो । निक्षेप चाहने बैंक तथा वित्तीय संस्था सञ्चालनको कम्तीमा २ वर्ष पूरा भएको हुनुपर्नेछ भने तोकिएको न्यूनतम चुक्ता पुँजी कायम गरेको र कुल कर्जा लगानीको ५ प्रतिशतभन्दा कम खराब कर्जा रहेको हुनुपर्ने राष्ट्र बैंकको शर्त छ ।