पर्याप्त रुपमा नागरिकको अवस्थामा परिवर्तन हुन सकेको छैन तर हुँदै नभएको भन्ने होइन : प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पर्याप्त रुपमा नागरिकको अवस्थामा परिवर्तन हुन नसकेको बताएका छन् । शुक्रबार काठमाडौंमा आयोजित जनप्रतिनिधिहरुको सम्मान ‘शी लिड्स आइकन’ कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले अवस्थामा परिवर्तन हुँदै नभएको भन्नेकुरा गलत रहेको बताएका हुन् । उनले अवस्थामा परिवर्तन भएको तर पर्याप्त नभएकाले अरु बढी प्रगति गर्नुपर्ने आवश्यकता औंल्याए । उनले नेपालमा महिलाहरुले रोजगारी गर्ने मात्रै नभइ आफैँ रोजगारी सिर्जना गरी रोजगारको अवसर प्रदान गरिरहेको बताए । महिला जनप्रतिनिधि र पुरुष जनप्रतिनिधिहरुले गरेका कामबीच प्रतिष्पर्धा हुने हो भने ८० प्रतिशतमा महिला विजयी हुने दाबी गरे । ‘दिदिबहिनीहरुले विभिन्न प्रकारका उद्यमशिलताका, आफ्नो ठाउँमा उद्यमशिलता कसरी शुरु गर्ने, रोजगारी कसरी शुरु गर्ने, जागिर खान कुद्ने मात्रै होइन, रोजगारीका अवसर सिर्जना गरेर आफैँले इन्टरपेनरसिप भन्छ नि, आफैँ लगानीकर्ता, आफू पनि रोजगार हुने र अरुलाई पनि रोजगार दिने यस कामतिर लागिरहनुभएको छ’, उनले भने । प्रधानमन्त्री ओलीले अवसरमा समानता हुनुपर्ने बताए ।
भरतपुर मेयर्स कप क्रिकेट लिगको दोस्रो संस्करण शुक्रबारदेखि सुरु
चितवन । दोस्रो संस्करणको भरतपुर मेयर्स कप अन्तरविद्यालय क्रिकेट प्रतियोगिता शुक्रबारदेखि सुरु भएको छ । प्रतियोगिताको एक कार्यक्रमकाबीच भरतपुर महागनरपालिका प्रमुख रेनु दाहाल र नेपाल क्रिकेट संघ (क्यान)का सचिव पारस खड्काले संयुक्त रुपमा गरे । कार्यक्रमलाई सम्बोधन गर्दै सचिव खड्काले नेपाल प्रिमियर लिग (एनपिएल) को अर्को संस्करण चितवनको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आयोजना गर्न सकिने उल्लेख गरे । यसका लागि रंगशालाको निर्माण कार्यलाई पूर्णता दिन सबै जना अघि बढ्नुपर्ने धारणा राखे । नेपाली क्रिकेटलाई नजिकबाट माया गरीदिएकोमा भरतपुर महानगर प्रमुख रेनु दाहाललाई विषेश धन्यवाद व्यक्त गरिन् । विद्यालयस्तर क्रिकेट लिगमा ४७ वटा टिमले सहभागिता जनाउनु निकै सकारात्मक भएको उनको भनाई थियो । नेपाली क्रिकेटको भाग्य भविष्य यस्तै घरेलु ग्रासहुड प्रतियोगिताले निर्धारण गर्ने भएकाले भरतपुर मेयर्स कप क्रिकेट लिगले खेलाडी उत्पादन गर्न महत्वपूर्ण भूमिका खेल्ने सचिव खड्काले बताए । महानगर प्रमुख रेनु दाहालले भरतपुरलाई स्पोर्टस् सिटीको रुपमा विकास गर्न मेर्यस कप फटबल, उपमेयर कप भलिबल लगायत विभिन्न खेलहरु महानगरले आयोजना गर्दै आइरहेको स्मरण गरिन् । महानगरपालिकाले यस्ता खेल गतिविधिलाई निरन्तर रुपमा अघि बढाउने उनको भनाई थियो । प्रमुख दाहालले अलपत्र रहेको रंगशाला सबैको साथ र सहयोगका कारण निर्माण कार्य तीव्र रुपमा अघि बढ्नु खुसीको विषय भएको उल्लेख गरिन् । उनले यही नमुना खेल मैदानमा खेल खेली, छनोट भई जनवरी १८ देखि हुने यू¬ १९ महिला विश्वकप क्रिकेट छनोट भएका टोलीलाई प्रति खेलाडी रु ५० हाजर दिने घोषणा समेत गरिन् । भरतपुर महानगरको आयोजनामा गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको नमुना मैदानमा लिग प्रतियोगिता हुनेछ । प्रतियोगितामा सामुदायिक तथा संस्थागत गरी ४७ विद्यालयबीच प्रतिस्पर्धा हुँदैछ । फागुन दोस्रो सातासम्म चल्ने प्रतियोगितामा कुल ६१ खेल हुनेछ । पहिलो चरणमा सामुदायिक विद्यालय र संस्थागत विद्यालयबीच छुट्टाछुट्टै छनोट खेल हुनेछ । त्यसबाट छनोट भएका टिमहरुबीच रातो बल अर्थात् दुई दिवसीय प्रतियोगिता हुनेछ । पहिलो चरणको लागि गरिएको ड्र बाट लिटिल फ्लवार स्कुल सिधै दोस्रो चरणमा प्रवेश गरिसकेको छ । यस्तै पहिलो संस्करणको सेमीफाइनलमा पुगेका चार टिम पनि सिधै दोस्रो चरणमा प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिताको सह-आयोजकमा चितवन जिल्ला क्रिकेट संघ, भरतपुर महानगर क्रिकेट संघ, चितवन राइनोज रहेका छन् ।
नाफा गिरावटले बैंकका लगानीकर्ता पलायन
अहिले बैंकिङ क्षेत्र इतिहासकै चुनौतीपूर्ण अवस्थाबाट गुज्रिरहेको छ । अर्थतन्त्रको बाह्य अवस्था सुध्रिएको हामी गर्व गरिरहेका छौं तथापि आन्तरिक अर्थतन्त्र कमजोर नै देखिएको छ । आम लगानीकर्ता, उद्यमी तथा व्यवसायीहरूमा निराशा छाएको कारण न्यूनतम ब्याजदरमा पर्याप्त तरलता उपलब्ध हुँदासमेत लगानी तथा कर्जा बिस्तार हुन नसक्दा आर्थिक एवं बैंकिङ गतिविधिहरू सुस्ताएको अवस्था छ । बैंक तथा वित्तीय संस्थाहरूको मुनाफामा अनपेक्षित रूपमा गिरावट आइरहँदा बैंकिङ क्षेत्रका लगानीकर्ताहरू सुरक्षित लगानीका क्षेत्र खोज्दै क्रमशः बाहिरिने कोसिस भइरहेको अनुभूत भइहेको छ । लागत खर्चमा भएको वृद्धि, मुनाफामा आएको सङ्कुचन, खराब तथा निष्कृय कर्जामा वृद्धि, गैरबैंकिङ सम्पत्तिको बेचबिखनमा सुस्तता, दक्ष जनशक्तिको पलायनलगायतका कारणले समस्या थपिँदै गएको छ । यसरी एकपछि अर्को समस्या एवं चुनौतीबाट बैंकिङ क्षेत्र गुज्रिँदै गएको पछिल्लो परिवेशबाट मुलुकको अर्थतन्त्रले कतै बाटो बिराउने हो कि भन्ने गम्भीर प्रश्न खडा गरेको विषयलाई अर्थतन्त्रका सरोकारवालाहरूले पनि गम्भीरताका साथ चिन्तन मनन गर्न जरुरी छ । बैंकिङ क्षेत्रलाई सबल र सक्षम बनाउनका लागि नेपाल राष्ट्र बैंकले लिएको पुँजी वृद्धिको नीतिले बैंक तथा वित्तीय संस्थाहरूमा व्यापक पुँजी वृद्धि भएको र लगानीकर्ताहरूले बैंकको पुँजी वृद्धि गरिसकेको अवस्थामा हाल संसद्मा प्रस्तुत बैंक तथा वित्तीय संस्था सम्बन्धी विधेयकले बैंकिङ क्षेत्र मात्र नभई समग्र निजी क्षेत्रमा थप अन्योलता बढाएको छ । बैंकर्स र व्यवसायीबीचको भेद छुट्टयाउने उद्देश्य राखी ल्याइएको उक्त व्यवस्थापकहरूले गहिरो मन्दीको मार खेपिरहेको अर्थतन्त्रमा थप गतिरोध देखिने स्पष्ट संकेत देखिएको छ । हिजो राज्यले बनाएको नीतिकै आधारमा गरिएको लगानीलाई आज लगानी फिर्ता लानु पर्ने अवस्था सिर्जना भएको छ तर निस्कने बाटो भने स्पष्ट छैन । त्यति मात्र होइन, उल्लेख्य स्वामित्व भएका लगानीकर्तालाई बैंकिङ क्षेत्रबाट नै कर्जा लिन निषेध गरिएको छ । यस्ता प्रावधानले समग्र उद्यम/व्यवसाय क्षेत्र नै धराशायी मात्र बन्दैन, लगानीकर्ता र लगानीलाई पलायन बनाउन थप बल पुग्ने देखिन्छ । यस्ता विषयहरूलाई हृदयंगम गर्दै नेपाल सरकार, मातहतका नियामक निकाय र सरोकारवालाबीच गम्भीर छलफल हुन आवश्यक छ । समग्र आर्थिक एवं बैंकिङ क्षेत्रको वर्तमान अवस्थाको चिरफारसहित सुस्ताएका गतिविधि र अर्थतन्त्रलाई चलायमान बनाउने र दिगो आर्थिक एवं बैंकिङ विकासको यात्रामा अगाडि बढ्न विभिन्न विषय सम्बोधन हुन आवश्यक छ । पुँजीगत खर्च प्रणालीमा व्यापक सुधार योजना, नीति तथा कार्यक्रमको कार्यान्वयनको प्रभावकारिता, राजस्वको दर भन्दा दायरा अभिवृद्धि, निर्माण व्यवसायीहरुको बक्यौता र ब्याजलगायत अन्य सरकारी अनुदान अविलम्ब भुक्तानी, बैंक तथा वित्तीय संस्थामा वैदेशिक लगानी भित्र्याउनका लागि ल्याउनका लागि आवश्यक नीति तथा वातावरणमा सहजीकरण गरिनुपर्छ । लगानीको समुचित प्रतिफल पाउने वातावरण सृजना भए मात्र लगानीकर्ताको मनोबल उच्च भइ लगानी विस्तारमा सहयोग पुग्ने मौजुदा बाफिया विधयेकलाई आम लगानी र व्यवसायमैत्री बनाउनुपर्ने हुन्छ । खाद्य सुरक्षा तथा खाद्य सम्प्रभुताको सुनिश्चिताका लागि कृषि क्षेत्रको आधुनिकरण र व्यवसायीकरण गरिनुपर्ने, आन्तरिक उत्पादनको उपयोग र निर्यातमा विशेष जोड, बैंकिङ क्षेत्रबाट प्रवाह हुने कर्जा व्यवस्थालाई थप सहजीकरण हुनुपर्छ । विदेशोन्मूख र विदेशबाट फर्किएको जनशक्तिको सीप र दक्षताबमोजिम रोजगारी पाउने र उद्यमशिलता गर्न पाउने नीति र वातावरण बनाउनुपर्ने, नवप्रवर्तन, युवा तथा महिला उद्यमशीलताको विकास, साना, लघु, घरेलु तथा मझौला उद्योगहरुको स्तरोन्नति जस्ता विषयहरूलाई प्राथमिकता दिनुपर्ने, राज्यले अवलम्बन गर्ने नीति र कार्यक्रमहरुमा हरित अर्थात पर्यावरणीय विकास, खाद्य सुरक्षालगायतका विषयहरूलाई प्राथमिकता दिने नीति अवलम्बन गर्नुपर्छ । पुँजी निर्माण तथा परिचालनमा सहयोग पुग्ने गरी संस्थापक शेयरलाई सर्वसाधारण शेयरमा रुपान्तरण हुने व्यवस्थामा सहजीकरण हुनुपर्ने, बैंक तथा वित्तीय संस्था तथा जग्गा व्यवसायीहरुको हकमा जग्गा हदबन्दी नलाग्ने व्यवस्था गर्नुपर्ने, रेमिट्यान्समा भएको निर्भरता घटाउँदै उत्पादन, रोजगारी र नवप्रवर्तनको विकास एवं विस्तार तथा निर्यात प्रवद्र्धनमा विशेष योजना लागू हुनुपर्छ । सीपलाई सिधै श्रमसँग जोड्ने र श्रमलाई उत्पादनसँग जोड्ने शिक्षाको प्रारुप तयार गरिनुपर्ने । शिक्षा र रोजगारीका लागि विदेशिन खोजेका जनशक्तिहरुको वीचमा देशभित्र नै केही गर्न सकिन्छ भन्ने भावना र संभावनालाई उजागर गर्दै नवप्रवर्तनमा जोड्ने र विदेशिएको जनशक्ति वा विदेशबाट फर्किएको जनशक्तिले आर्जन गरेको सीप र दक्षता बमोजिम कार्य गर्न पाउने अवसर र वातावरण सृजना गरिनुपर्नेछ । दुर्गम, सीमान्तकृत र कमजोर वर्गका वासिन्दाहरुलाई समावेशी र सहभागितामूलक बनाउँदै मूलप्रवाहीकरण गर्ने, राज्यद्वारा प्रदत्त सेवा, सुविधा तथा लाभहरु निजहरुले महशुस गर्ने गरी उपलब्ध गराउनुपर्छ । मुलुकलाई दुई ठूला अर्थतन्त्र भएका मुलुक चीन र भारत वीचको गतिशील साँघु बनाई बाह्य लगानी विस्तार, दिगो बैंकिङ विकासमार्फत सर्वसुलभ बैंकिङ सेवा, औद्योगिकरण, कृषि तथा पर्यटनको व्यवसायीकरण, निर्यात प्रबद्र्धनसहित तीव्र आर्थिक विकास गर्न अति उच्चस्तरीय कार्यदल गठन गर्नुपर्छ । बैंक/वित्तीय संस्थाहरूलाई बाह्य जगतबाट सहुलियत दरमा ऋण ल्याउन, पुनर्बिमा कम्पनीले अन्य देशमा व्यवसाय विस्तार गर्न, धितोपत्र बजारलाई अन्तर्राष्ट्रियकरण गर्न, विदेशी बजारमा ऋण लिन, हरित ऋणपत्र, क्यअष्बरिन्चभभल द्ययलम लगायत बिक्री गरी वित्तीय साधन जुटाउनका लागि आवश्यक पहल गर्नुपर्छ । बैंक तथा वित्तीय संस्थाहरुले कर्जा प्रदान गर्दा धितोकोरुपमा लिएका सबै किसिमका जमानतहरुको व्यवस्थापनको लागि सम्पत्ति व्यवस्थापन संस्था स्थापना गर्न आबश्यक कानून बनाई कार्यान्वायन गरिनुपर्छ । कानून बन्न समय लाग्न सक्ने भएकोले नियामकिय व्यवस्थामार्फत अविलम्ब आवश्यक कानून बनाई अगाडि बढ्नुपर्छ । दुर्गम तथा पिछडिएका स्थानमा शाखा खोल्दा भोग्नुपर्ने विभिन्न कठिनाइका बावजुद बैंकिङ पहुँच अभिवृद्धिका लागि योगदान दिने बैंक तथा वित्तीय संस्थाहरु राष्ट्र बैंकद्वारा परिभाषित क्षेत्रमा शाखा खोल्ने बैंक तथा वित्तीय संस्थाको लागत बढी हुने हुँदा प्रोत्साहनस्वरुप मुनाफामा लाग्ने करको दरमा छुट दिने व्यवस्था गरिनुपर्छ । मुलुकको अर्थतन्त्रका बाह्य सूचकहरू बलियो स्थितिमा रहेको, पर्याप्त तरलतासहित न्यून ब्याजदर कायम रहेको, आन्तरिक तथा बाह्य लगानीकर्ताहरुलाई हौसाउने गरी सार्वभौम साख मूल्याङ्कन (सोभरेन क्रेडिट रेटिङ) प्राप्त भएको छ । नेपाल सन् २०२६ मा अल्पविकसित राष्ट्रबाट स्तरोन्नति भई विकासशील राष्ट्रमा दर्ज हुँदै गर्दा मौजुदा नीति तथा वातावरणलाई अझ सहज एवं अनुकूल बनाउँदै समग्र निजी क्षेत्रलाई साथमा लिएर मुलुकलाई लगानी हबको रूपमा स्थापित गर्नुपर्छ । दीगो एवं फराकिलो आर्थिक एवं बैंकिङ विकाससहित आर्थिक समृद्धिको नविन यात्रा प्रारम्भ गर्ने कार्यमा नेपाल सरकार र सरोकारावाला सबैको हातेमालो जरुरी छ । (पौडेल बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सीबीफीन)का अध्यक्ष हुन् ।)
सम्पदा क्षेत्रलाइ स्मार्ट सांस्कृतिक पर्यटनसँग विकास गर्दै काठमाडौं महानगर
काठमाडौं । काठमाडौं महानगरपालिकाले सम्पदा क्षेत्रलाई एआर (अग्मेन्टेड रियालिटी), भिआर (भर्चुअल रियालिटी), क्युआर (क्विक रेस्पोन्स) मा आधारित स्मार्ट सांस्कृतिक पर्यटनमा विकास गर्ने उद्देश्यले सामग्री उत्पादन गर्न थालेको छ । महानगरको सम्पदा तथा पर्यटन विभागले ‘बाखं न्यने वा’सँगको सहकार्यमा सामग्री उत्पादन थालेको हो । वसन्तपुर, स्वयम्भू, पशुपतिनाथ, बौद्ध र नरः दे (हाँडीगाउँ)का सम्पदाका सांस्कृतिक ऐतिहासिक र पुरातात्विक महत्व तथा यस क्षेत्रसँग सम्बन्धित सांस्कृतिक र सामाजिक चालचलनसम्बन्धी सामग्री उत्पादन भइरहेका छन् । सामग्रीको आधिकारिकताका पुष्टि गर्न इतिहास र लिपिको अध्ययन, पुराना व्यक्तित्वहरुसँग अन्तर्वार्ता लिइसकेको कामपा सम्पदा तथा पर्यटन समितिका संयोजक आशामान सङ्गतले जानकारी दिए । महानगरले चालु आर्थिक वर्षका नीतिमा हनुमानढोका दरबार क्षेत्रदेखि स्वयम्भूसम्मको सम्पदा मार्गलाई प्रवद्र्धन गर्ने, वसन्तपुर, स्वयम्भू, बौद्ध, पशुपतिनाथ र वसन्तपुरलाई सम्पदा मार्गका रुपमा विकास गर्ने, यी स्थानहरुको प्रवद्र्धनका लागि रणनीतिक, व्यावसायिक र पर्यटकीय मार्ग पहिचान र नक्साङ्कन गर्ने उल्लेख छ । यही नीति कार्यान्वयन गर्ने क्रममा थालिएको कार्यक्रममा पर्यटकलाई प्रदर्शन गरिने अडियो, भिडियो तथा दृश्यात्मक सामग्री उत्पादन गर्ने क्रममा स्वयम्भू क्षेत्रमा एक सय ८८ वटा, हनुमान ढोका दरबार क्षेत्रमा ४१ वटा, वौद्ध क्षेत्रमा सातवटा, हाँडीगाउँ क्षेत्रमा २० वटा पशुपति क्षेत्रका ५६ वटा स्मारकको अध्ययन गरिसकेको महानगरले जनाएको छ । सङ्गतले भने, ‘तर गलत सूचना भयो भने यो सुधार गर्न पनि सकिँदैन र छुट दिन पनि सकिँदैन ।’ उनले सामग्रीको आधिकारिता र पुष्ट्याइँका विषयमा कुरा गर्दै काठमाडौंको प्राचीनता, मौलिकतासँग जोडिएका सामाजिक र सांस्कृतिक परम्परा सामग्रीको मर्म रहेको बताए । ‘यसरी उत्पादित सामग्रीहरु दिगो उपयोगका लागि हुन् । यसका लागि अध्ययन गर्ने, प्रारम्भिक सूचना तथा प्रशोधित सूचनामा काम गर्ने, प्राप्त सूचनालाई आधिकारिकता प्रदान गर्ने संयन्त्र निर्माण गरौँ’, समितिका सदस्य एवं वडा नं १८ का अध्यक्ष न्हुच्छेकाजी महर्जनले भने, ‘यो हतारमा सक्ने काम होइन । सहभागिता र सहकार्यलाई निरन्तरता दिएर काम गरौँ ।’ स्मार्ट पर्यटनका लागि महानगर स्वर्णिम योजना ‘पर्यटकीय सहर’ कार्यक्रमअन्तर्गत प्रयोगकर्ता (पर्यटक) को आवश्यकता पहिचान र बजार सर्वेक्षण अध्ययन गरिएको थियो । ठमेल, वसन्तपुर, पशुपतिनाथ, बौद्ध र स्वयम्भूमा भेटिएका २९ देशका एक सय २५ पर्यटकले सर्वेक्षणमा भाग लिएका थिए ।
स्वास्थ्य बीमा बोर्ड : ४ महिनादेखि अध्यक्ष र २ महिनादेखि कार्यकारी निर्देशक विहीन
काठमाडाैं । लामो समयदेखि स्वास्थ्य बीमा बोर्ड नेतृत्वविहीन भएको छ । बोर्डमा अध्यक्ष र कार्यकारी निर्देशक पद रिक्त भएको लामो समय भइसकेको छ । गत भदौ १८ गते तत्कालीन अध्यक्ष डा. गुणराज लोहनीले पदबाट राजीनामा दिएर बोर्डबाट बाहिरिएका थिए । त्यसैगरी, गत कार्तिक २५ गतेदेखि तत्कालीन कार्यकारी निर्देशक डा. दामोदर बसौलाको ४ वर्षे कार्यकाल सकिएर बोर्डबाट बाहिरिएका थिए । यसर्थ बोर्डमा अध्यक्ष पद रिक्त भएको ४ महिना र कार्यकारी निर्देशकको पद रिक्त भएको २ महिना भएको छ । महिनौंसम्म अध्यक्ष र कार्यकारी निर्देशक पद रिक्त हुँदा पनि सकारले नयाँ नियुक्तिका लागि केही पहलसमेत गरेको छैन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भने कार्यकारी निर्देशकको आवेदन खुलाउने प्रक्रिया भइरहेको जनाएको छ । स्वास्थ्य बीमा ऐन, २०७४ का केही बुँदाहरू संशोधन गर्नु परेकाले कार्यकारी निर्देशकको आवेदन खुलाउन ढिला भएको मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकिले जानकारी दिए । उनका अनुसार संसोधनका लागि ड्राफ्ट मन्त्रिपरिषदमा पुगिसकेको छ । मन्त्रिपरिषदको बैठकले संसोधन गरेपछि कार्यकारी निर्देशकको आवेदन आह्वान हुने उनले बताए । बोर्डको कार्यकारी निर्देशकका लागि आवेदन दिएका मध्येबाट सर्टलिष्टमा पर्नेमध्ये एक जनालाई मन्त्रिपरिषदको बैठकले कार्यकारी निर्देशकमा नियुक्ति गर्ने व्यवस्था रहेको छ । यसैगरी, अध्यक्षको नियुक्ति पनि मन्त्रिपरिषद बैठकले नै गर्ने गर्दछ ।
स्वास्थ्यमन्त्री पौडेलले गरे विष्णुमति करिडोर ट्रयाक खन्ने कार्यको शिलान्याश
काठमाडौं । काठमाडौं ५ को बुढानिलकण्ठ र टोखा नगरपालिका जोड्ने विष्णुमति करिडोरको ट्रयाक खोल्ने कार्य शुरु भएको छ । कार्यको काठमाडौं ५ का प्रतिनिधि सभा सदस्य एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले शिलान्यास गरे । हाल संघीय सरकारबाट एक करोड विनियोजन गरी शुरु भएको करिडोरको कामका लागि बजेट वृद्धिमा समेत सघाउने मन्त्री पौडेलले प्रतिबद्धता जनाए । करिडोर खुल्न नसक्दा विकासको काम पछि परेको भन्दै मन्त्री पौडेलले आफूले नागरिकको दुःख पीडा देखेरै त्यसलाई कम गर्न पहल गरेको बताए । ‘यस करिडोरले दुवै तहको विकास र समृद्धिमा योगदान पुग्नेछ,’ मन्त्री पौडेलले भने, ‘नागरिकको विकास आवश्यकता पूरा गर्न हाम्रो सदैव साथ रहनेछ । ’ बुढानिलकण्ठ क्षेत्रमा सडक डिभिजन विभागबाट सडक विस्तार हुनेछ । यसैगरी टोखा नगर क्षेत्रको करिडोरमा काठमाडौं उपत्यका विकास प्राधिकरणमार्फत सडक विस्तारको काम शुरु भएको छ । हाल बुढानिलकण्ठको धनेश्वर धन्ने ढिकुरो क्षेत्रबाट शुरु करिडोरको ट्रयाक स्कोन मन्दिरसम्म पुर्याउने लक्ष्य छ । क्षेत्रको विकासका लागि संघ, प्रदेश र स्थानीय सरकारले हातेमालो गरेर सफल पार्नेसमेत मन्त्री पौडेलले प्रतिबद्धता जनाए । प्रतिनिधि सभा सदस्य निर्वाचनका क्रममा मन्त्री पौडेलले सांसदका रुपमा आफू निर्वाचित भएमा करिडोरको काम अघि बढाउने घोषणा गरेका थिए । शिलान्यास कार्यक्रममा बाग्मती प्रदेशका खानेपानी तथा सिञ्चाई मन्त्री श्यामबहादुर खड्का, बुढानिलकण्ठ नगरपालिकाका प्रमुख मीठाराम अधिकारी तथा टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीसमेत सहभागी थिए । उनीहरुले विकास निर्माणका लागि तीन वटै तहबीच समन्वय र सहभागीता रहने भन्दै मन्त्री पौडेलसँग मिलेर काम गर्ने प्रतिबद्धता जनाए । बुढानिलकण्ठ ४ का वडाध्यक्ष श्रीराम केसीले बुढानिलकण्ठ र टोखा दुवैतर्फ बाटो खुलाउन सांसद एवं स्वास्थ्य मन्त्री पौडेलले सहयोग गरेको बताए । ‘बुढानिलकण्ठमा काम शुरु हुने योजना थियो,’ उनले भने, ‘मन्त्रीज्यूको पहलमा टोखामा पनि एकैसाथ काम शुरु भएको छ । यसमा बजेट थप गर्न सघाउने प्रतिबद्धता जनाउनुभएको छ ।’ करिडोर खन्ने चर्चा लामो समयदेखि भए पनि शुरु हुन सकेको थिएन । करिडोरको काम सम्पन्न भएमा दुवै तहको विकास र यातायातमा निकै सहजता पुग्ने वडाध्यक्ष केसीले बताए ।
स्वास्थ्य बिमा सुधार गर्न गठित समितिले बुझायो प्रतिवेदन
काठमाडौं । स्वास्थ्य बिमा क्षेत्र सुधार गर्न गठित सुधार समितिले स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेललाई प्रतिवेदन हस्तान्तरण गरेको छ । मन्त्रालयमा आयोजित प्रतिवेदन हस्तान्तरण कार्यक्रममा स्वास्थ्यमन्त्री पौडेलले प्रतिवेदनले सुझाव दिएका बुँदाहरु कार्यान्वयन गरिने प्रतिबद्धता व्यक्त गरे । उनले भने, ‘बिमा क्षेत्रमा सुधार गर्ने हुटहुटी छ । यो प्रतिवेदनले स्वास्थ्य बिमा सुधार गर्नुपर्ने योजना र विषयवस्तु समेटेको छ । प्रतिवेदन अध्ययन गरेर यसलाई लागू गर्नेछौँ ।’ उनले विद्यमान स्वास्थ्य बिमा कार्यक्रम व्यवस्थित हुन नसकेको र लक्षित समूहले पूर्ण रुपमा लाभ पुग्ने गरी सेवा लिन नसकेको भन्दै प्रतिवेदनले सुधार गर्न सहयोग गर्ने बताए । उनले प्रतिवेदन मन्त्रिपरिषद्मा पनि बुझाइने र केही समयपछि सार्वजनिक गरिने जनाए । मन्त्रालयका सचिव हरिप्रसाद मैनालीले स्वास्थ्य बिमा सुधारका निम्ति पेस गरिएको प्रतिवेदन राम्रो कामको सुरुआत भएको बताए । उनले भने, ‘विभिन्न चरणमा विज्ञसँग छलफल गरेर तयार पारिएको प्रतिवेदन हो । स्वास्थ्य बिमासम्बन्धी रणनीति प्रतिवेदनमा आएको छ । अध्ययन गरेर यसको कार्ययोजना बनाउनेछौँ ।’ असोज ९ गते वरिष्ठ जनस्वास्थ्यविज्ञ डा शम्भुप्रसाद आचार्यको संयोजकत्वमा मन्त्री पौडेलले स्वास्थ्य बिमा सुधार गर्न नौ सदस्यीय समिति गठन गरेका थिए । प्रतिवेदनका संयोजक आचार्यले प्रतिवेदनले स्वास्थ्य बिमा देखिएका अवसर र चुनौती केलाइएको प्रतिक्रिया दिए । उनले भने, ‘स्वास्थ्य बिमा ठूलो कार्यक्रम हो । यसको प्रभावकारी सञ्चालनका लागि प्रतिवेदनमा तत्काल तथा भविष्यमा गर्नुपर्ने सुधारका प्रयास समेटिएको छ ।’ उनले स्वास्थ्य बीमा लागू भएका छिमेकी देश र अन्तर्राष्ट्रिय स्वास्थ्य बिमा प्रणालीका अभ्यास अध्ययन गरेर सुझावसहितको प्रतिवेदन तयार पारिएको जानकारी गराए । समितिमा गण्डकी प्रदेशका नीति तथा योजना आयोगका पूर्वउपाध्यक्ष डा रघुराज काफ्ले, वरिष्ठ मुटु शल्यचिकित्सक प्रा डा भगवान् कोइरालासहित अर्थ मन्त्रालय, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र राष्ट्रिय योजना आयोगका सहसचिव सदस्य रहेका छन् । त्यसैगरी स्वास्थ्य बिमा बोर्डका कार्यकारी निर्देशक, मन्त्रालयका गुणस्तर मापन तथा नियमन महाशाखा प्रमुख तथा निजी क्षेत्रका प्रतिनिधिलाई समिति सदस्य तोकिएको थियो ।
नेपाल लाइफले सार्वजनिक गर्यो नेपाल लाइफ रक्षा कवच म्यादी जीवन बीमा योजना
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले नेपाल लाइफ रक्षा कवच जीवन बीमा योजना सार्वजनिक गरेको छ । न्यूनतम बीमा शुल्कमा उच्चतम सुरक्षा प्रदान गर्ने अभिप्रायका साथ पौष १८ गते काठमाडौंमा आयोजित एक विशेष समारोहका बीच कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रवीणरमण पराजुलीले उक्त बीमा योजना सार्वजनिक गरेका हुन् । एक निश्चित अवधिको लागि सुरक्षा प्रदान गरी दूर्भाग्यपूर्ण घटनाको अवस्थामा आफ्नो परिवारको लागि आर्थिक सुरक्षा, सुनिश्चिता प्रदान गर्ने नेपाल लाइफ रक्षा कवच जीवन बीमा योजना (मुनाफामा सरिक नहुने) म्यादी जीवन बीमा हो । यसको न्यूनतम बीमांक रकम पाँच लाख र अधिकतम बीमांक रकम एक करोड रहेको छ । यस योजनामा सरिक हुन बीमितको उमेर न्यूनतम १८ वर्ष र अधिकतम ५९ वर्ष हुनुपर्ने कम्पनीले जनाएकाे छ । बीमा अवधि न्यूनतम १ वर्षदेखि अधिकतम ३५ वर्षसम्म हुनेछ भने बीमा समाप्तिमा बीमितको अधिकतम उमेर ६० वर्ष रहेको छ । यस योजनामा ऐच्छिक सुविधा पनि न्यूनतम ५ वर्षदेखि अधिकतम ३५ वर्ष अवधिसम्म लिन सकिने पनि कम्पनीले जनाएकाे छ । यस योजनाअन्तर्गत बीमा अवधिभित्र जुनसुकै समयमा बीमितको मृत्यु भएमा बीमांक रकम भुक्तानी गरिनेछ र बीमालेख स्वतः अन्त्य हुनेछ । कार्यक्रममा बोल्दै यस कम्पनीका सीईओ पराजुलीले यो योजना सार्वजनिक गर्न पाउँदा खुसीको आभास भएको बताए । सामान्य सिद्धान्तअनुसार आम्दानीको १५ गुणासम्मको बीमा लिनु नितान्त आवश्यक रहेको उनकाे भनाइ छ । सीईओ पराजुलीले जोखिम बहनलाई मुख्य प्राथमिकतामा राख्दै यो म्यादी जीवन बीमा योजना सार्वजनिक गरिएको बताए । यो पोलिसीलाई मुल पोलिसीमा गाभेर बीमितलाई दिन सकिए सानो रकममा ठूलो जोखिम बहन हुने बताए । सम्पूर्ण अभिकर्तालाई सहजताका साथ यसलाई बजारीकरण गर्न उनले आग्रह गरे । कोर प्रडक्टसँगै गाभेर बजारमा पस्किइएको यो योजना एकदमै प्रभावकारी र उत्तम रहेको र नेपाली बीमा उद्योगमा यो योजना कोशेढुङ्गा साबित हुनेमा आफू विश्वस्त रहेको बताए ।