नामी ईभी अब ५ लाख ९९ हजार डाउन पेमेन्टमा, ८० प्रतिशतसम्म फाइनान्सिङ
काठमाडौं । नेपालका लागि डोङफेङ नामीको आधिकारिक वितरक एमएडब्लु वृद्धिले एक विशेष फाइनान्सिङ अफर सार्वजनिक गरेको छ । ईभीको माग बढेसँगै नामीले ग्राहकहरूलाई थप सुविधा र सहज सवारीसाधन खरिद अनुभव प्रदान गर्नका लागि फाइनान्सिङको सजिलो विकल्प प्रदान गरेको बताएको छ । कम्पनीका अनुसार यो पेमेन्ट स्किमबाट ग्राहकहरूले अब मात्र २० प्रतिशत डाउनपेमेन्ट गरि डोङफेङ नामीका ईभीहरू किन्न सक्नेछन् । नामी ईभी मोडलहरूको लागि डाउनपेमेन्ट मूल्य ५ लाख ९९ हजार रुपैयाँ तय गरिएको छ । यसले ग्राहकहरूलाई कुनै पनि क्यापिटल अपफ्रन्ट बिना पूर्ण रूपमा प्रिमियम गुणस्तरको ईभी खरिद गर्न सहज बनाउने छ । सरल र सजिलो खरिद प्रक्रिया पूरा गर्न नामीले ८० प्रतिशत सम्म फाइनान्सिङ गर्दछ जसले गर्दा ग्राहकहरूले विश्वसनीय फाइनान्सियल पार्टनरहर मार्फत आफ्नो गाडीको लागतको ठूलो हिस्सा फाइनान्सिङ गर्न सक्ने कम्पनीले बताएको छ । योसँगै ४८ घण्टामा लोन अप्रुभल गरिन्छ जसले गर्दा खरिद गर्न सजिलो हुन्छ। फाइनान्सिङको यस अवसरको बारेमा थप जानकारीको लागि इच्छुक ग्राहकहरूले नजिकैको नामी शोरूम भिजिट गर्न सक्ने कम्पनीले बताएको छ ।
ट्रम्पको अर्को घोषणा : अमेरिकामा निर्माण नभएका गाडीमा २५ प्रतिशत ट्यारिफ लगाउने
काठमाडौं । राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार ‘अमेरिकामा नबनेका सबै गाडीहरूमा’ २५ प्रतिशत ट्यारिफ लगाउने घोषणा गरेका छन् । ट्रम्पले भने, ‘अमेरिकामा निर्मित गाडीहरूका लागि बिल्कुलै कुनै ट्यारिफ हुँदैन ।’ यो नयाँ ट्यारिफ राष्ट्रपति ट्रम्पले ओभल अफिसमा हस्ताक्षर गरेको एक राष्ट्रपतिको घोषणापत्रमा औपचारिक रूपमा उल्लेख गरिएको छ । ट्यारिफ अप्रिल २ बाट लागू हुने बताइएको छ र अप्रिल ३ बाट संकलन सुरु गर्ने जनाइएको छ । ट्रम्प ह्वाइट हाउसका सहयोगी विल शार्फले भने कि नयाँ ट्यारिफ ‘विदेशमा निर्मित गाडीहरू र हल्का ट्रकहरू’ मा लागू हुनेछ । उनले स्पष्ट गरे कि यो पहिल्यै लागू भइसकेका भन्सार शुल्कहरूको अतिरिक्त रूपमा हुनेछ । शार्फका अनुसार यस ट्यारिफले अमेरिकालाई ‘वार्षिक १०० अर्ब डलरभन्दा बढीको नयाँ राजस्व’ प्राप्त गराउनेछ । यो घोषणापत्रको विस्तृत जानकारी तत्कालै प्रस्ट थिएन । अधिकांश गाडीहरू हजारौं पार्ट्सबाट बनेका हुन्छन् जुन विभिन्न देशहरूबाट आउन सक्छन् । ट्रम्पले कुन पार्ट्समा ट्यारिफ लाग्नेछ भन्ने कुरामा ‘धेरै कडा निगरानी’ हुने पनि बताए । युरोपेली आयोगको प्रतिक्रिया युरोपेली आयोग की अध्यक्ष उर्सुला भोन डर लायेनले नयाँ अमेरिकी ट्यारिफहरूको आलोचना गरेकी छन् । उनले भनिन्, ‘युरोपियन संघ आफ्नो आर्थिक हितको रक्षा गर्दै वार्तामार्फत समाधान खोज्न जारी राख्नेछ ।’ ‘ट्यारिफ कर नै हुन्- व्यवसायका लागि खराब र उपभोक्ताका लागि अझै नराम्रो, चाहे त्यो अमेरिका होस् वा युरोपियन युनियन,’ उनले थपिन् । बजारमा प्रभाव ट्रम्पको घोषणापछि अटोमोबाइल कम्पनीहरूको सेयर बजारमा गिरावट आएको छ । जनरल मोटर्स (जीएम), स्टेलान्टिस र फोर्ड मोटरका सेयरहरू करिब ५ प्रतिशतले घटे । मेक्सिको र क्यानडाका लागि अस्थायी छुट ट्रम्पले मार्च ५ मा ती गाडी उत्पादकहरूलाई जसलाई ‘बिग थ्री’ भनिन्छ (जीएम, फोर्ड र स्टेलान्टिस)लाई युएसएमसीए व्यापार सम्झौताअनुसार मेक्सिको र क्यानडामा उत्पादित गाडीहरूका लागि एक महिनाको छुट दिएका थिए । ट्रम्पले यसअघि नै अप्रिल २ को मितिभन्दा अगाडि नयाँ अटो ट्यारिफहरू आउन सक्ने सङ्केत गरेका थिए । ट्रम्पको व्यापार नीतिहरू र अन्य देशहरूसँग सम्बन्ध ट्रम्पले लामो समयदेखि विदेशी व्यापार साझेदारहरूलाई उच्च ट्यारिफ लगाउने योजना बताउँदै आएका छन् । तर उनको अनिश्चित र परिवर्तनशील नीति घोषणाले सेयर बजारमा अस्थिरता सिर्जना गरिरहेको छ, जसले व्यवसायहरूलाई भविष्यको योजना बनाउन अन्योलमा पारेको छ । ट्रम्पले यसै हप्ता क्यानडा र मेक्सिकोमा व्यापक ट्यारिफ लगाएका छन्, जसले सीमा पार व्यापार सम्बन्धलाई तनावपूर्ण बनाएको छ । अप्रिल २ः ‘मुक्ति दिवस’ वा व्यापारिक संकट ? ट्रम्पले अप्रिल २ लाई ‘मुक्ति दिवस’ र ‘सबैभन्दा ठूलो घोषणा’ को रूपमा प्रचार गरेका छन् । उनले भने अनुसार ‘जसरी अन्य देशहरूले अमेरिकी वस्तुहरूमा कर लगाएका छन्, त्यसरी नै अमेरिका पनि ती देशहरूमा समान कर लगाउनेछ ।’ तर पछिल्लो समय ट्रम्प र उनका अधिकारीहरूले अप्रिल २ बाट लागू हुने ट्यारिफ पहिला अनुमान गरेभन्दा केही नरम हुन सक्छ भन्ने सङ्केत दिएका छन् । ट्रम्पले शुक्रबार भनेका थिए, ‘ट्यारिफमा लचकता रहनेछ,’ र मंगलबार राति उनले भने, ‘यी शुल्कहरू पूर्ण रूपमा परस्पर जस्तो कडा हुने छैनन् ।’ अमेरिकी अर्थमन्त्री स्कट बेसन्टले भने, ‘देशहरूले अप्रिल २ अघि नै अमेरिकासँग वार्ता गर्न सक्छन् र नयाँ ट्यारिफहरूबाट बच्न सक्ने सम्भावना रहन्छ। ’ एक अटोमोबाइल कार्यकारीले यी अटो ट्यारिफहरूले गाडी उद्योगलाई आर्थिक मन्दीतर्फ धकेल्ने बताए । ट्रम्पको ट्यारिफ असर : क्यानडामा टेस्लाका लागि सबै छुट भुक्तानीहरू रोक्का मस्कलाई ट्रम्प प्रशासन घाँडो, वाशिंगटन प्रवेशसँगै टेस्लाका सेयर घट्दै
बजार अनुगमन : म्याद गुज्रेका सामग्री नष्ट
किमाथाङ्का । धनकुटास्थित खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयको टोलीले सङ्खुवासभाको खाँदबारीमा बजार अनुगमनका क्रममा एक लाख १७ हजार बराबरको म्याद गुज्रेका सामग्री बरामद गरेको छ । उपभोक्ताको स्वास्थ्यमा प्रतिकूल असर गर्ने सामग्री बेच्न नपाइने भएकाले उपभोग्य वस्तु वा सेवाको गुणस्तर परीक्षणलाई कार्यालयले तीव्र बनाएको जनाउँदै डिभिजन कार्यालयका अधिकृत आनन्द डङ्गोलले सदरमुकाम खाँदबारीका छ वटा होटल र १३ वटा खाद्य पसलमा अनुगमन गरिएको बताए । बरामद गरिएका खाद्य सामग्री आज जिल्ला प्रशासन कार्यालयका साथै घरेलु तथा साना उद्योग कार्यालय, खाँदबारी नगरपालिका, जिल्ला प्रहरी कार्यालय, सङ्खुवासभा उद्योग वाणिज्य सङ्घका प्रतिनिधिको रोहबरमा नष्ट गरिएको छ ।
लगानी विस्तारमा लक्ष्मी स्टील, एनआइएमबिले किन्यो १० लाख कित्ता सेयर
काठमाडौं । एनआइएमबि एस क्यापिटलले लक्ष्मी स्टील्सको सेयर किनेको छ । एनआइएमबि एस क्यापिटलले सञ्चालन गरिरहेको एनआइबिएल इक्विटी पार्टनर्सले लक्ष्मी स्टील्सको १० लाख कित्ता सेयर खरिद गरेको हो । क्यापिटलका अध्यक्ष सचिन टिवडेवाल र लक्ष्मी स्टील्सका निर्देशक बिमल कुमार सावरथियाले सेयर खरिदबिक्री सम्बन्धी सम्झौतामा हस्ताक्षर गरे । सन् २००८ मा सौरभ ग्रुपले स्थापना गरेको लक्ष्मी स्टील्सले टिएमटी रड, ब्लेड र रिब्ड तारहरू उत्पादन गर्दै आएको छ । नवलपरासीको सुनवलमा अत्यधुनिकस्तरको उद्योग सञ्चालन गर्दै आएको कम्पनीले उत्पादन क्षमता तथा बजार विस्तारलाई तीव्रता दिन लगानी भित्र्याएको बताएको छ । लक्ष्मी स्टील्सका सावरथियाका अनुसार एनआइएमबिको लगानीबाट संकलन रकमले उद्योगको क्षमता विस्तारमा सहयोग पुग्नेछ । साथै, देशको आर्थिक विकासमा योगदान गर्न थप मद्दत पुग्ने उनले बताए । ‘यो साझेदारी नेपालको औद्योगिक क्षेत्रका विकासकोे लागि एक महत्वपूर्ण कदम हो । वित्तीय विशेषज्ञता र उत्पादन क्षमताको संयोजन गर्दै दीर्घकालिन फाइदा पु¥याउनेछ, देशको पूर्वाधार लक्ष्यहरूलाई अगाडि बढाउने उद्देश्य छ,’ उनले भने । एनआइएमबि एस क्यापिटलका अध्यक्ष टिवडेवालले लक्ष्मी स्टील्ससँगको सहकार्यले उत्साहित भएको बताए । एनआइबिएल इक्विटी पार्टनर्स आर्थिक वृद्धिमा योगदान पु¥याउन तथा व्यवसायहरूलाई समर्थन गर्न प्रतिबद्ध रहेको उनको भनाइ छ । कम्पनीको लगानीले लक्ष्मी स्टील्सलाई नयाँ उचाइमा पु¥याउने र नेपालको पूर्वाधारको मेरुदण्डलाई मजबुत बनाउन मद्दत पुग्ने उनले बताए । एनआइ्बिएल इक्विटी पार्टनर्सले गरेको लगानीबाट स्टील्सको उत्पादन क्षमतालाई सुधार गर्न, उत्पादन दक्षता बढाउन र बजार पहुँच विस्तार गर्न सहयोग पुग्ने अपेक्षा कम्पनीले गरेको छ । लक्ष्मी स्टील्सको गत माघ २८ गते बसेको सञ्चालक समितिको बैठकले चुक्ता पुँजीको २० लाख कित्ता सेयर बिक्रीको निर्णय गरेको थियो । सोही बमोजिम कम्पनीले गत फागुन १२ गते विद्यमान संस्थापक सेयरधनीहरूका लागि १५ दिनको समय तोकि सेयर बिक्रीमा राखेको थियो । उक्त अवधिमा संस्थापक सेयरधनीहरूले ३ लाख ८६ हजार ७९२ कित्ता सेयर मात्रै खरिद गरेका थिए । बाँकी रहेको १६ लाख १३ हजार २०८ कित्ता सेयर चैत १ गतेदेखि सर्वसाधारण लगानीकर्ताहरूका लागि बिक्री खुला गरेको थियो । कम्पनीले सेयरको मूल्य न्यूनतम प्रतिकित्ता २६५ रुपैयाँ तोकेको थियो । तर, एनआइएमिब एस क्यापिटलले भने कति मूल्यमा सेयर खरिद गरेको उल्लेख गरेको छैन । ‘एनआइएमबि क्यापिटको एनआइएमबि इक्विटी पार्टनर्स भन्ने प्राइभेट इक्विटी फण्ड छ । प्राइभेट इक्विटी फण्डले लक्ष्मी स्टील्सको स्टेकमा लगानी गरेको हो । लक्ष्मी स्टील्समा नयाँ लगानीकर्ता बनेको हो, २० लाख कित्तामा हामीले १० लाख कित्ता खरिद गरेका हौ,’ क्यापिटल स्रोतले भन्यो, ‘बाँकी अन्य फण्डले पनि अलिअलि गरेर सेयर खरिद गरेका छन् । नेशनल फण्ड, प्रभु लगायतले पनि हेरिरहेको थिए ।’
एनआईसी एशिया बैंकको सहयोगमा सिद्धार्थ माविको पुस्तकालय भवनको उद्घाटन
काठमाडौ । एनआईसी एशिया बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिका–१४ स्थित श्री सिद्धार्थ माध्यमिक विद्यालयमा पुस्तकालय भवन समुद्घाटन गरेको छ । विद्यार्थीहरूलाई गुणस्तरीय शैक्षिक सामग्री उपलब्ध गराई अध्ययनमा सहयोग पुर्याउने उद्देश्यले बैंकको सहयोगमा विद्यालयसँगको सहकार्यमा पुस्तकालय भवन निर्माण गरिएको हो । चैत १२ गते सम्पन्न उद्घाटन समारोहमा विद्यालयका प्रधानाध्यापक बिनोद मेहता, बैंकका मधेश प्रदेश प्रमुख अमित केसी, विद्यालय व्यवस्थापन समिति, शिक्षक, अभिभावक तथा बैंकका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो । पुस्तकालय सञ्चालनमा आएसँगै झन्डै १५०० विद्यार्थी र शिक्षकहरूले आधुनिक पुस्तकालय सुविधाको प्रत्यक्ष लाभ लिन सक्नेछन् । बैंकले शैक्षिक गुणस्तर सुधार्न पुस्तकालयको महत्वलाई प्राथमिकतामा राख्दै आएको छ । यसअघि बैंकले बागमती प्रदेशको चितवन जिल्लाको राप्ती नगरपालिका–७ मा अवस्थित वीरेन्द्र आदर्श माध्यमिक विद्यालय, लुम्बिनी प्रदेशको रुपन्देहीस्थित सियारी गाउँपालिका–४ छपियामा अवस्थित पब्लिक सेकेन्डरी स्कुल, मधेश प्रदेशको सिराहास्थित भगवानपुर गाउँपालिका–१ मा अवस्थित बाला सुन्दरी माध्यमिक विद्यालय, गण्डकी प्रदेशको तनहुँस्थित बन्दिपुर गाउँपालिका–१ मा अवस्थित पवित्रा माध्यमिक विद्यालय, सुदूरपश्चिम प्रदेशको कैलाली जिल्ला स्थित जोशीपुर गाउँपालिका–१ मा अवस्थित मोहन्याल माध्यमिक विद्यालय, कोशी प्रदेशको झापास्थित बुद्धशान्ती गाउँपालिका–२ मा अवस्थित आदर्श माध्यमिक विद्यालय र सोही जिल्लाको गौरीगञ्ज गाउँपालिका–३ मा अवस्थित गौरीगञ्ज माध्यमिक विद्यालयमा निर्माण गरिएका पुस्तकालय सञ्चालनमा आईसकेका छन् । एनआईसी एशिया बैंकले देशभरका सामुदायिक विद्यालयमा पुस्तकालय भवन निर्माणका लागि २ करोड ५ लाख ३० हजार रुपैयाँ विनियोजन गरेको छ। बैंकका अनुसार, ११,००० भन्दा बढी विद्यार्थीहरूले यी पुस्तकालय सुविधाबाट प्रत्यक्ष रूपमा लाभ लिनेछन् । पुस्तकालय स्थापना कार्यक्रममार्फत विद्यार्थीहरूलाई ज्ञानमा पहुँच पुर्याई उनीहरूको शैक्षिक गुणस्तर सुधार गर्ने र व्यक्तित्व विकासमा योगदान पुर्याउने बैंकको विश्वास छ ।
माथिल्लो तामाकोशीले घुँडा टेकेपछि बढ्ने भयो कर्मचारीको तलब, यस्तो भयो सहमति
दोलखा । माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाले कम्पनीमा कार्यरत सबै कर्मचारीहरूको सेवा सुविधामा एकरूपता ल्याउने भएको छ । विगत चार दिनदेखि आन्दोलतरत दोलखा जिल्लावासी करार कर्मचारीहरूसँग आज सहमति गर्दै कम्पनीले सबै कर्मचारीको सेवा सुविधामा एकरूपता ल्याउने प्रतिबद्धता जनाएको हो । कम्पनीको प्रतिबद्धता अनुसार अब बाहिर जिल्लाबाट आएका र दोलखा जिल्लावासी करार कर्मचारीको तलब तथा अतिरिक्त सुविधाहरू समान हुने छन् । सहमति अनुसार एकरूपता कायम गरिएको सेवा सुविधा गएको फागुन महिनादेखिनै लागू हुने छ । दुई पक्षबीच आज भएको सहमतिमा लेखिएको छ, ‘आयोजना सञ्चालक समितिको आगामी बस्ने पहिलो बैठकमा मिति २०८१ फागुन महिनादेखि कार्यान्वयन हुनेगरी २०८१ चैत महिनाको तलबमा समावेश गराउन सहमति भयो ।’ यसअघि कम्पनीले जिल्लाबाहिरकालाई ७५ र दोलखाकालाई ५० प्रतिशत सुविधा दिँदै आएको थियो । यो सहमति कार्यान्वयन भएपछि उक्त सेवामा एकरूपता आउने भएको छ । त्यसबाट जिल्लावासी कर्मचारीहरूको तलब समेत बढ्ने निश्चित भएको छ । कर्मचारीहरूले गत असोज ६ गते नै आयोजना व्यवस्थापनसँग सहमति गरी गत माघ मसान्तसम्म यस्तो सुविधामा एकरूपता गर्ने सहमति गरेका थिए । तर आयोजनाले सहमति कार्यान्वयनमा ढिलाइ गरेपछि चैत १० गतेदेखि उनीहरू आन्दोलित बनेका थिए । आज भएको वार्ता तथा छलफलमा यसअघिको सहमति समयमै कार्यान्वयन गर्न नसकिएकोमा आयोजनाले माफी मागेको छ । सहमति पत्रमा कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत मोहन प्रसाद गौतम, आयोजना प्रमुख मनोज ताम्राकार, केन्द्र प्रमुख पूर्णगोपाल रञ्जित, अर्थ महाशाखा प्रमुख सुरेश राज खकुरेल, प्रशासन महाशाखा प्रमुख अनिता बजगाईं र उप–निर्देशक (प्रशासन) मित्रमणि पोखरेलले हस्ताक्षर गरेका छन् । यसैगरी, दोलखा जिल्लावासी करार कर्मचारी संघर्ष समितिको तर्फबाट संयोजक रामबहादुर खड्का तथा सदस्यद्वय नवराज खड्का र सुनतारा तामाङले हस्ताक्षर गरेका छन् । यस्तै तिलक तामाङ, शेषनारायण श्रेष्ठ, विजय पाठक र राजकुमार श्रेष्ठले आमन्त्रित सदस्यका रूपमा सहमतिमा हस्ताक्षर गरेका छन् । सहमतिसँगै कर्मचारीहरूले संघर्षका सबै कार्यक्रम फिर्ता लिएका छन् भने भोलिदेखि नियमित काममा फर्किने भएका छन् । यसैबीच माथिल्लो तामाकोशी जलविद्युत् केन्द्रमा हप्ताको चार दिन दैनिक ज्यालादारीमा कार्यरत चार जना कर्मचारीलाई महिनाको ३० दिनसम्म अनिवार्य काममा लगाउने व्यवस्था मिलाउने, हाल जलविद्युत् केन्द्रमा दुई जना प्रशासन सेवाका कर्मचारीहरूलाई प्राविधिक सेवा, इलेक्ट्रिकल समूहमा, एक जना सिभिल समूहको कर्मचारीलाई इलेक्ट्रिकल समूहमा, एक जना सिभिल समूहको प्राविधिक सेवाका कर्मचारीलाई इलेक्ट्रिकल समूहको प्राविधिक सेवामा निजहरूको तालिम, योग्यता अनुसार पद समायोजन गर्ने तथा २०८० माघ १५ गतेदेखि कम्पनीमा करार सेवामा नियुक्त भएका कर्मचारीहरूको करारनामा भएको व्यवस्थाका लागि आवश्यक छलफल गरी कम्पनी व्यवस्थापनले उपयुक्त निर्णय लिने सहमति भएको पनि संघर्ष समितिका संयोजक रामबहादुर खड्काले जानकारी दिए ।
नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्च लुम्बिनी च्याप्टर गठन
काठमाडौं । नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्चले लुम्बिनी प्रदेश च्याप्टर गठन गरेको छ । प्रदेश च्याप्टरको आज भैरहवामा आयोजित विशेष समारोहमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलले शुभारम्भ गरे । नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्च लुम्बिनी प्रदेश च्याप्टरको बोर्डमा राजन कसजुसँगै विकास पाण्डे, अभिषेक पाठक, अर्जुन पाठक, रोनिश श्रेष्ठ, सुरज उप्रेती, विवेक कसौधन, अभिनव थापा रहेका छन् । परिसंघ युवा उद्यमी मञ्च सन् २००५ मा गठन भएको नेपाल उद्योग परिसंघको युवा संगठन हो । मञ्चले युवा उद्यमीहरुलाई प्रोत्साहन, प्रबद्र्धन गर्ने कार्यलाई पहिलो प्राथमिकतामा राख्दै सोही अनुरुपका गतिविधि समेत गर्दै आएको छ । सो अवसरमा उपप्रधानमन्त्री पौडेलले उत्पादन र उत्पादकत्व बढाउने काममा नेपाल उद्योग परिसंघले महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै सरकारले थप भूमिकाको आशा गरेको बताए । उनले गतिशिल समय र तीब्र प्रतिस्पर्धाको दुनियाँमा समयको गतिलाई बुझ्न, प्रतिस्पर्धामा आफ्नो स्थान सुरक्षित राख्ने गरी अगाडि बढ्न युवा उद्यमीहरुलाई सुझाव दिए । उनले सरकार सम्पूर्ण रुपमा उद्यमीहरुको साथमा रहेको भन्दै देश हामीले बनाउने हो, हामीले बनाउँछौं भन्ने सन्देश युवाहरुमा पुर्याउन उद्यमीहरुलाई आग्रह गरे । अर्थमन्त्री पौडेलले औषत काम गरेर बस्ने सुविधा सरकारलाई नभएको भन्दै सरकारले कानुनमा, नीतिमा सुधार गरेर सुधारको काम गरेको बताए । उनले सरकारले विगतदेखिका समस्या गर्न, निजी क्षेत्रका समस्या समाधान गर्न उच्च प्राथमिकतामा राखेर काम गरिरहेको बताए । हाल सुधार गरिएको कानुनमा सुधार मात्रै रहेको उनले बताए । सुधारको काम, अनुकूल व्यवसायिक वातावरण थप बढाउँदै लैजाने प्रतिबद्धता समेत उनले व्यक्त गरे । नेपाल उद्योग परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले युवाहरुलाई उद्यमशील बनाउन नीतिबाटै सहजिकरण, प्रोत्साहन गर्न आवश्यक रहेकोमा जोड दिए । देशमा रोजगारी बढाउन, औद्योगिकरणको विकास गर्दै समग्र आर्थिक विकासका लागि युवा उद्यमीहरुलाई प्रोत्साहन, प्रेरणा, हौसला दिन आवश्यक रहेको बताउँदै उनले आगामी बजेटले युवा लक्षित कार्यक्रम ल्याउन समेत आग्रह गरे ।उद्योग, वाणिज्य तथा आपूर्ती मन्त्रालयका सचिव कृष्ण बहादुर राउतले कानुन संशोधन, स्टार्टअप नीति निर्माणमा परिसंघ र युवा उद्यमी मञ्चले महत्वपूर्ण योगदान गरेको बताए । नेपाल उद्योग परिसंघ लुम्बिनी प्रदेशका अध्यक्ष एजाज आलमले युवा पलायनता बढिरहेको बेलामा देशभित्रै केही गर्नुपर्छ भनेर यही उद्यमी बन्ने युवाहरुलाई धन्यवाद व्यक्त गरे । नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्चका अध्यक्ष आशिष अग्रवालले लुम्बिनी प्रदेशको आर्थिक विकाससँगै देशलाई नै समृद्धि बनाउन सक्ने भन्नुहुँदै युवाहरुलाई प्रोत्साहनका खाँचो रहेको बताए । नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्च लुम्बिनी च्याप्टरका अध्यक्ष राजन कसजुले स्थानीय मौलिकतामा आधारित रही राष्ट्र निर्माणमा समर्पित भई विश्व दृष्टिकोणका साथ अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।
नेपाल-बङ्गलादेश व्यापार : आयात तीन अर्ब, निर्यात २७ करोड
भद्रपुर । चालु आर्थिक वर्षको आठ महिनामा बङ्गलादेशबाट दुई अर्ब ९६ करोड ९१ लाख ५२ हजार रूपैयाँ बराबरका मालसामान आयात तथा २७ करोड ६८ लाख ५४ हजार रूपैयाँ बराबरको सामग्री उक्त मुलुक निर्यात भएका छन् । काकँडभिट्टास्थित नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेडका प्रमुख सुवास पाण्डेयका अनुसार बङ्गलादेशबाट सबैभन्दा धेरै एक अर्ब ६० करोड रूपैयाँ बराबरको अप्रशोधित जुट आयात भएको छ । यसैगरी आयात भएका अन्य वस्तुमा ब्याट्री, पोल्ट्री फिड सप्लिमेन्ट, कस्मेटिक आइटम, हाइड्रोजन प्याराअक्साइड, जुट यार्न, विद्युतीय उपकरण, औषधि, आलु, पेपर, ग्लास, फुड एण्ड वेभरेजका मालसामान छन् । काँकडभिट्टाबाट २३ करोड ६२ लाख ५८ हजार रूपैयाँ को खुदो निर्यात भएको छ । समीक्षा अवधिमा जडीबुटी, घरायसी सामग्री तथा पशुआहार पनि बङ्गलादेश निर्यात भएको छ । द्विदेशीय व्यापारमा सन्तुलन कायम हुन नसकेकामा चिन्ता व्यक्त गर्दै प्रमुख पाण्डेयले बिजुली निर्यातबाट त्यो परिपूर्ति गर्न सकिने बताए ।