विकासन्युज

अमेरिकी डलरको मूल्य स्थिर, अन्य विदेशी मुद्रामा घटबढ

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । केन्द्रीय बैंकले तोकेको विनिमयदर अनुसार, अमेरिकी डलरलगायत केही विदेशी मुद्राको मूल्य आज स्थिर रहेको छ । युरोपियन युरो, युके पाउन्ड स्टर्लिङ, स्वीस फ्र्याङ्क, डेनिस क्रोनर, ओमनी रियालको भाउ बढेको छ । त्यसैगरी  क्यानेडियन डलर, सिङ्गापुर डलर, थाई भाट, बहराइन दिनारको भाउ भने घटेको छ । अमेरिकी डलर एकको खरिददर एक सय ३६ रुपैयाँ ९४ पैसा र बिक्रीदर एक सय ३७ रुपैयाँ ५४  पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर एक सय ४१ रुपैयाँ १७  पैसा र बिक्रीदर एक सय ४१ रुपैयाँ ७९ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर एक सय ७० रुपैयाँ १० पैसा, बिक्रीदर एक सय ७० रुपैयाँ ८५ पैसा , स्वीस फ्र्याङ्क एकको खरिददर एक सय ५० रुपैयाँ ७६ पैसा र बिक्रीदर एक सय ५१ रुपैयाँ ४२ पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर ८५ रुपैयाँ ०९  पैसा र बिक्रीदर ८५ रुपैयाँ ४७ पैसा, क्यानेडियन डलर एकको खरिददर ९४ रुपैयाँ ७८ पैसा र बिक्रीदर ९५ रुपैयाँ २० पैसा, सिङ्गापुर डलर एकको खरिददर ९९ रुपैयाँ ९५ पैसा र बिक्रीदर एक सय रुपैयाँ ३९ पैसा निर्धारण गरिएको छ । जापानी येन १० को खरिददर आठ रुपैयाँ ७१ पैसा र बिक्रीदर आठ रुपैयाँ ७४ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ७१ पैसा र बिक्रीदर १८ रुपैयाँ ७९ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ ४६ पैसा र बिक्रीदर ३६ रुपैयाँ ६२ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ ५६ पैसा र बिक्रीदर ३७ रुपैयाँ ७२ पैसा कायम भएको छ । केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर तीन रुपैयाँ ९७ पैसा र बिक्रीदर तीन रुपैयाँ ९९ पैसा, युएई दिराम एकको खरिददर ३७ रुपैयाँ २८ पैसा र बिक्रीदर ३७ रुपैयाँ ४५ पैसा,  मलेसियन रिङ्गेट एकको खरिददर ३० रुपैयाँ ४३ पैसा र बिक्रीदर ३० रुपैयाँ ५६ पैसा निर्धारण भएको छ । साउथ कोरियन वन एक सयको खरिददर नौ रुपैयाँ ३२ पैसा र बिक्रीदर नौ रुपैयाँ ३६ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ३२ पैसा र बिक्रीदर १२ रुपैयाँ ३८ पैसा र डेनिस क्रोनर एकको खरिददर १८ रुपैयाँ ९३ पैसा र बिक्रीदर १९ रुपैयाँ ०१ पैसा तोकिएको छ । राष्ट्र बैंकले हङ्कङ डलर एकको खरिददर १७ रुपैयाँ ६१ पैसा र बिक्रीदर १७ रुपैयाँ ६८ पैसा, कुवेती दिनार एकको खरिददर चार सय ४३ रुपैयाँ ८० पैसा र बिक्रीदर चार सय ४५ रुपैयाँ ७५ पैसा, बहराइन दिनार एकको खरिददर तीन सय ६३ रुपैयाँ २४ पैसा र बिक्रीदर तीन सय ६४ रुपैयाँ ८३ पैसा, ओमनी रियाल एकको खरिदर तीन सय ५६ रुपैयाँ १५ पैसा र बिक्रीदर तीन सय ५७ रुपैयाँ ७१ पैसा तोकिएको छ । त्यसैगरी, भारतीय रुपैयाँ एक सयको खरिददर एक सय ६० रुपैयाँ र बिक्रीदर एक सय ६० रुपैयाँ १५ पैसा तोकिएको छ । यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने राष्ट्र बैङ्कले जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको वेबसाइटमा उपलब्ध हुनेसमेत जनाइएको छ ।

१३ बिघा सरकारी जग्गा अतिक्रमण, सरकारभन्दा व्यक्ति बलिया

बागमती । प्राकृतिक जलाशय मत्स्य प्रवद्र्धन एवं संरक्षण केन्द्र हेटौँडाको अतिक्रमणमा परेको जग्गा अझै फिर्ता नहुँदा माछा पोखरी असुरक्षित भएको छ । विभिन्न व्यक्ति तथा संस्थाले लामो समयदेखि मत्स्य केन्द्रको कूल ४९ हेक्टर जग्गामध्ये १३ बिघा १३ कठ्ठा १० धुर जग्गा अतिक्रमण गर्दा माछापालन क्षेत्र घटेर समस्या भएको हो । ‘हाम्रो थुप्रै जग्गा अतिक्रमणमा परेको छ, अतिक्रमण गरेर अधिकांशले भौतिक संरचना निर्माण गरेका छन्’, कार्यालय प्रमुख सरोजकुमार यादवले भने, ‘जग्गा अतिक्रमणमा परेकाले माछापालनमा समस्या भएको छ, भने जग्गाको घेरबार गर्न सकेका छैनौँ ।’ जग्गा घेरबार गर्न नसकेर माछापालनका लागि निर्माण गरिएको पोखरीसमेत असुरक्षित भएको उनको भनाइ छ । माछा प्लानको कित्ता नम्बर ९६ को जग्गामध्ये करिब १२ कठ्ठा जग्गा अतिक्रमण गरी स्थानीय विष्णुप्रसाद दङ्गाल, धनबहादुर लामा, सावित्री बज्राचार्य (कुँवर), नवीन श्रेष्ठ, उद्धव चौलागाईं, पदमबहादुर खड्का र प्रेमबहादुर परियारले भवनलगायतका संरचना निर्माण गरेर भोगचलन गर्दै आएको पाइएको कार्यालय प्रमुख यादवले बताए । अतिक्रमणमा परेको जग्गा खाली गर्न पटक–पटक सूचना दिए पनि हालसम्म खासै उपलब्धि हासिल हुन नसकेपछि अतिक्रमित जग्गामा निर्माण भएका संरचना भत्काउने तयारी भइरहेको प्रमुख यादवले बताए । अतिक्रमणमा परेको जग्गाको डिजिटल विधिबाट नक्शाङ्कन गरेपछि गत २०८० भदौ १६ गते सात जनाको नाम तोकेरै सो कार्यालयले अतिक्रमित जग्गा खाली गर्न निर्देशनात्मक सूचना जारी गरेको थियो । सूचना जारी भए पश्चात केही व्यक्तिले अतिक्रमित जग्गामध्ये छ कठ्ठा जग्गा खाली गरे पनि बाँकी जग्गा अझै खाली नभएको प्रमुख यादवको भनाइ छ । ‘अतिक्रमित जग्गा खाली गर्न सूचना जारी गरेपछि अतिक्रमण गरेका केही व्यक्तिले उच्च अदालत पाटन–मकवानपुर इजलाशमा मुद्दा गरे’, प्रमुख यादवले भने, ‘त्यो मुद्दा अदालतले खारेज गर्दै जग्गा खाली गर्न आदेश दियो । तर पनि अधिकांशले जग्गा खाली गर्नै मानेका छैनन्,’ उनले भने । केही स्थानीयले अतिक्रमण गरेकोमध्ये ६ कठ्ठा जग्गा बनाएको संरचना हटाएर जग्गा खाली गरेपछि अहिले सो जग्गामा माछाको आहारका लागि उन्नत घाँस तथा केरा लगाएर सदुपयोग गरिएको छ । बाँकी अतिक्रमित जग्गामा अनाधिकृत रुपमा निर्माण गरिएको संरचना हटाउन सूचना जारी गरिएको एक वर्ष बित्न लाग्दासमेत सम्बन्धित व्यक्तिले जग्गा खाली गर्न नचाहेकाले अब सबै संरचना भत्काएर जग्गा खाली गराइने प्रमुख यादवले बताए । यस्तै सो कार्यालयकै नाममा रहेको कित्ता नं ९६ को आठ बिघा १३ कठ्ठा १८ धुर जग्गामा पिप्ले युवा क्लबले रङ्गशाला निर्माण, हेल्थपोष्ट र कार्यालयको भवनसमेत निर्माण गरी रेष्टुरेन्ट सञ्चालन गरिरहेको जनाएको छ । पिप्ले युवा क्लबले जग्गामा रङ्गशाला, हेल्थपोष्ट र कार्यालय भवन निर्माण गरिसकेकाले सो जग्गा सङ्घीय सरकार, प्रदेश सरकार वा स्थानीय सरकारमार्फत क्लबलाई भाडामा दिने गरी प्रक्रिया अघि बढाइएको प्रमुख यादवले बताए । रासस

पाँच वटा पिचसहितको क्रिकेट मैदान निर्माण हुँदै, ६ हजार दर्शक क्षमता

काठमाडौं । हेटौँडा उपमहानगरपालिका-६ स्थित गौरिटार रङ्गशालाभित्र ११ करोड ७४ लाख रुपैयाँमा ड्रेनसहितको क्रिकेट मैदान निर्माण भइरहेको छ । अन्तर्राष्ट्रियस्तरको क्रिकेट मैदानमा ६ हजार दर्शक क्षमताको एउटा प्याराफिटसहित ५ वटा पिच, ७० मिटर रेडिएसको मैदान, स्कोर बोर्ड, भिभिआइपी कक्ष, खेलाडी कक्ष (प्लेयर बक्स), चेन्जिङ रुम (कपडा फेर्ने कोठा), टिभी र रेडियो ब्रोडकास्टिङ कक्ष, मिडिया कक्ष, अपाङ्गमैत्री क्षेत्र, पार्किङलगायत संरचना निर्माण हुने प्रदेश खेलकुद परिषद्का सदस्य-सचिव दीपक लामाले जानकारी दिए । त्रिकेट मैदानमा चार वटा ब्लकमा प्याराफिट निर्माण गर्ने डिपीआर निर्माण गरिएको र त्यसमध्ये हाल एउटा ब्लकको काम भइरहेको उनले बताए । क्रिकेट मैदान निर्माणका लागि ९ करोड ४२ लाख ८२ हजार रुपैयाँमा २०८० चैत २० मा एसएनएस पिएल एचकेसी जेभीले ठेक्का लिएको थियो । उनका अनुसार हाल मैदान सम्याउने काम भइरहेको छ र अधिकांश बजेट मैदान बनाउनमै खर्च हुनेछ । मैदानको लेभल मिलाएपछि भूमिगत ढलमार्फत पानी पठाउन पाइप बिछ्याउने काम हुनेछ भने विभिन्न तहमा ग्राभेल, माटो बिछ्याउने उहाँले बताउनुभयो । मैदानको सबैभन्दा माथिल्लो भागमा बर्मुण्डा दुबो रहने लामाले बताए । गत आइतबार नेपाल क्रिकेट सङ्घ (क्यान) का सचिव पारस खड्काले हेटौँडा-६ स्थित गौरीटार रंगशालामा निर्माण भइरहेको क्रिकेट ग्राउण्डको स्थलगत अवलोकन गरेका थिए । सचिव खड्कासहित प्रवक्ता छुवी लामा, मकवानपुर क्रिकेट सङ्घका पदाधिकारीले ग्राउण्ड अवलोकन गरेका थिए । क्रिकेटका लागि पूर्वाधार निर्माण भइरहेको प्रति खुसी व्यक्त गर्नुहुँदै क्रिकेट खेलको विकासका लागि पूर्वाधार निर्माणमा प्रदेश सरकारले गरेको लगानी सकारात्मक रहेको सचिव खड्काले बताउनुभयो । क्रिकेट ग्राउण्डको पूर्वाधार तीव्र गतिमा निर्माण भइरहेकाले छिट्टै राष्ट्रियस्तरको खेल खेलाउन सकिने उनले बताए ।

प्रहरीले संकलन गर्याे २ अर्ब २४ करोड बढी राजस्व

काठमाडौं । नेपाल प्रहरीले चालु आर्थिक वर्ष २०८१/  x८२ को पाँच महिनामा विभिन्न प्रकृतिका कारबाहीबाट २ अर्ब २४ करोड बढी राजस्व सङ्कलन गरेको छ । विशेष कार्ययोजना लागु गरेको प्रहरीले विभिन्न कारबाही तथा अवैध क्रियाकलाप रोकथामका लागि अभियान सञ्चालन गरेको छ । नेपाल प्रहरीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक विश्व अधिकारीका अनुसार अवैध मालसामान बरामद, ट्राफिक कारबाही, हुण्डी, सुन, नदीजन्य उत्खननलगायत विभिन्न १० विधामा गरिएको कारबाहीबाट उक्त राजस्व सङ्कलन गरिएको हो । प्रवक्ता अधिकारीले सबैभन्दा बढी अवैध मालसामान बरामदबाट ९० करोड ५७ लाख (४०.४२ प्रतिशत) राजस्व सङ्कलन भएको जानकारी दिए । ट्राफिक जरिवानाबाट ५२ करोड ७ लाख रुपैयाँ, अदालती फैसला कार्यान्वयनतर्फ ४२ करोड ७४ लाख रुपैयाँ, अवैध सुन तथा चाँदी बरामदबाट २६ करोड २९ लाख रुपैयाँ र अवैध मुद्रा बरामद गरी ४ करोड ३७ लाख रुपैयाँ राजस्व सङ्कलन गरिएको उनले जानकारी दिए । त्यसैगरी स्रोत नखुलेको २ करोड ९० लाख रुपैयाँ, हुण्डी कारोबार नियन्त्रणबाट १ करोड ८३ लाख रुपैयाँ, अवैध काठ बरामदबाट १ करोड २० लाख रुपैयाँ राजस्व सङ्कलन गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । साउनदेखि मङ्सिरसम्मको विवरणअनुसार अवैध पशुपन्छी नियन्त्रण अभियानबाट १ करोड १६ लाख रुपैयाँ र अवैध नदीजन्य उत्खननबाट ९२ लाख रुपैयाँ बढी राजस्व सङ्कलन गरिएको अधिकारीले जानकारी दिए ।

अपांगमैत्री आकाशे पुल निर्माणमा अघि बढ्दै ललितपुर महानगर, कहाँ-कहाँ बन्दैछन् ?

काठमाडौं । ललितपुर महानगरपालिकाले ललितपुरबासीलगायत ललितपुरका विभिन्न वडाहरू हुँदै यात्रा गर्नेहरूलाई छिटो र सहजतालाई मध्यनजर गरी मोटरेबल पुल निर्माण कार्यक्रमलाई प्राथामिकताका साथ अघि बढाइरहेको छ । महानगरले आफ्नै बजेटमा र केही वडाहरूसँग सहकार्य गरेर साना तथा ठूला मोटरेबल र आकाशे पुल निर्माण आयोजनालाई अगाडि बढाउँदै आएको हो । महानगरले आगामी १० वर्षसम्मलाई पुग्नेगरी पुल निर्माण कार्यलाई अगाडि बढाएको जनाएको छ । महानगरका अनुसार यही चालु आर्थिक वर्षमा दुई मोटरेबल पुल सञ्चालनमा आइसकेको छ । ललितपुर वडा नम्बर २२ बुंगमतीदेखि वडा नम्बर २७ सुनाकोठीलाई जोड्ने आरसीसी पुल निर्माण सम्पन्न भएर सञ्चालनमा आइसकेको हो । यो पुल निर्माणको जिम्मा जय बुद्ध निर्माण सेवा प्रालिले पाएको थियो । निर्माण कम्पनीले ५ करोड ३३ लाख रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो । ललितपुर महानगरपालिका वडा नं १३ कुसुन्ती र वडा नं २५ भैंसीपाटी जोड्ने पुल पनि निर्माण सम्पन्न भइसकेको छ । यस ठाउँको पुल निर्माण श्री तामाङ मरिन कन्सट्रक्सन प्रालिले पाएको थियो । उक्त कम्पनीले २ करोड ४० लाख रुपैयाँमा ठेक्का पाएको हो । निर्माणाधीन अवस्थामा रहेका पुल महानगरपालिकाले महानगरकै दक्षिणतर्फको भेगलाई रिङरोडसँग सजिलै जोड्ने उद्देश्यका साथ मोटरेबल पुल निर्माण आयोजनालाई अघि सारेको जनाएको छ । अहिले पनि हरिसिद्धिबाट धापाखेल जानु पर्‍यो भने सातदोबाटो आएर फर्किनुपर्छ । त्यसरी घुमेर यात्रा गर्नुभन्दा सिधै यात्रा गर्नका लागि महानगरले हरिसिद्धिको इट्टा टायलबाट कान्तिपुर इन्जिनियरिङ कलेज हुँदै वडा न २३, २४ जोडिनेगरी पुल बनाउने योजना बनाएको महानगरका पूर्वाधार विभागका प्रमुख एवं आयोजना व्यवस्थापक (सीडीई) प्रदिप पौडेलले बताए । यसका लागि महानगरपालिकाले टेन्डर आह्वान गरिसकेको छ । टेन्डर यही पुस २१ गते खुल्दैछ । ललितपुर वडा नं. १४ स्थित नख्खुखोलामा आरसीसी पुल बन्दैछ । यहाँ निर्माण हुन लागेको पुलले वडा नं १४ र २५ लाई जोड्ने छ । साविकका गाविसहरूलाई चक्रपथसँग जोड्नका लागि पुल निर्माण हुन लागेको सीडीई पौडेलले बताए । यो निर्माणले वडा १३, २४, १८,२६ २७ का बासिन्दालाई सहज हुने महानगरले जनाएको छ । यो पुल निर्माणको लागि नियाग्रा कन्स्ट्रक्सनले ठेक्का पाएको छ । उक्त निर्माण कम्पनीले महानगरसँग चार करोड दुई लाख ६८ हजार ७२८ रुपैयाँमा सम्झौता गरेको छ । सम्झौता २०८० भदौमा भएको थियो । हाल त्यहाँ निर्माणको काम पनि सुरु भइसकेको छ । यो पुल आगमी २०८१ फागुन २३ गते सम्पन्न गर्नुपर्ने सम्झौता छ । सम्झौता अवधिमै काम सक्नेगरी द्रूत रूपमा काम भइरहेको निर्माण पक्षले जनाएको छ । सीडीई पौडेलका अनुसार धापाखेलबाट सुनाकोठी जोड्ने कल्भर्ट निर्माणाधीन अवस्थामा छ । यो पुल निर्माणको लागि विश्वज्योति विल्डर्सले ठेक्का पाएको छ । महागनरपालिकासँग पुल निर्माणको लागि विश्वज्योति विल्डर्सले असार १८ गते सम्झौता गरेको थियो । यो पुल २०८२ असार १७ गते सम्पन्न गरिसक्नुपर्ने छ । बीचमा असोजमा आएको बाढी र स्थानीयको अवरोधको कारण काम रोकिएपनि हाल निर्माण कार्य सञ्चालन भइरहेको निर्माण पक्षले जनाएको छ । कहाँ-कहाँ बन्दैछन् अपांगमैत्री आकाशे पुल ? ललितपुर महानगरले अपांगता भएका नागरिकलाई मध्यनजर गरी अपांगतामैत्री आकाशे पुल निर्माण कार्यलाई पनि प्राथमिकताका साथ अघि बढाइरहेकाे छ । महानगरले शारीरिक रूपमा अशक्त, बालबालिका र जेष्ठ नागरिक सबैलाई सहज होस् भन्ने हिसाबले अपांगतामैत्री पुल निर्माणलाई प्राथमिकतामा राखेको छ । काठमाडौंका सडकहरूमा आकाशे पुल प्रशस्तै भएपनि अपांगमैत्री पुल नबनको अवस्थामा महानगरले नयाँ अभ्यासको थालनी गरेको जनाइएको छ । सीडीई पौडेल लिफ्टसहितको आकाशे पुल नेपालमा पहिलो पटक बन्न लागेको बताउँछन् । पौडेलका अनुसार हाल ललितपुरको कुसुन्तीमा त्यस खालको आकाशे पुल निर्माण भइरहेको छ । उनका अनुसार पुल निर्माणको कार्य लगभग ७५ प्रतिशत सम्पन्न भइसकेको छ । ‘अब पुल निर्माणको २५ प्रतिशतमात्रै काम बाँकी छ । अब केही ट्रष्ट राख्ने काम बाँकी छ । त्यसमा लिप्टसहितको राख्नेछौं,’ उनले भने । उक्त स्थानको पुल निर्माणको लागि लामा प्रगति-मनि बुद्ध जेभीले चार करोड ६८ लाखमा सम्झौता गरेको छ । अर्को साइकलसहितको आकाशे पुल धोबीघाटमा निर्माण गर्ने महानगरको योजना छ । रिङरोडमा यस्तो खालको पुल बनाउँदा सडक विभागसँग अनुमति लिनुपर्ने भएका कारण त्यसको सहमतिको लागि सडक विभागलाई पत्र पठाइसकेको पनि सीडीई पौडेलले बताए। उनका अनुसार पाटन अस्पताल अगाडि पनि लिफ्टसहितको अपांगमैत्री आकाशे पुल बनाउने महानगरको योजना रहेको छ । त्यसका लागि विभिन्न सरोकारवालासँग छलफल पनि सम्पन्न भइसकेको छ । महानगरले उक्त ठाउँमा पुल निर्माणको लागि सञ्चय कोष, मानसिक अस्पताल र पाटन अस्पातल र सडक विभाग चार वटा निकायसँग छलफल गरिसकेको पौडेलले जानकारी दिए । ती निकायहरूसँगको छलफल सकारत्मक भएको पौडेलले सुनाए । पौडेलका अनुसार पब्लिकलाई समस्या नहुनेगरी पुल निर्माण भइरहेको छ । महानगरले व्यस्त सडकमाभन्दा मान्छेको चहलपहल कम भएको क्षेत्रमा पुल निर्माणलाई प्राथाामिकतामा राखेको छ । सीडीई पौडेलले भने,  ‘हातीवनमा पुल बनाउने सन्दर्भमा हामीले सडक विभागसँग पनि अनुमति मागेका थियौं, विभागले आफै बनाउँछु भनेपछि त्यहाँ महानगरले पुल निर्माणलाई अगाडि बढाएको छैन । त्यसबाहेक हामीले पुल बनाउँदा अति आवश्यक र मान्छेको चहलपहल अलि कम भएको ठाउँलाई बढी प्राथमिकतामा राखेका छौं ।’

५ अंकले बढेको सेयर बजारमा ४ अर्ब बढीको कारोबार

काठमाडौं । साताको पहिलो कारोबारको दिन अर्थात आइतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक सामान्य अंकले बढेको छ । आज नेप्से परिसूचक ५.३२ अंकले बढेर २५९१.५६ बिन्दुमा पुगेको हो । नेप्सेका अनुसार १४१ कम्पनीको सेयर मूल्य बढ्दा ९४ कम्पनीको सेयर मूल्य बढेको छ । ८ कम्पनीको सेयर मूल्यमा भने कुनै परिवर्तन आएको छैन । आइतबार ३२७ कम्पनीको ९३ लाख ८६ हजार कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ८६ करोड रुपैयाँ बढीको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार जानकी फाइनान्स कम्पनीको भएको छ । जानकीको १९ करोड रुपैयाँ बढीको कारोबार भएको छ । साथै, रिभर फल्स पावरको १७ करोड, रसुवागढी हाइड्रोपावरको १२ करोड, एनआरएन इन्फ्रास्ट्रक्चरको १२ करोड र नेपाल फाइनान्सको ११ करोड रुपैयाँ बढीको कारोबार भएको छ । आज उपकार लघुवित्त, डोरदी खोला जल विद्युत र ग्रीन भेन्चरको सेयर मूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको नेप्सेले जनाएको छ ।

३५ हजार फिटको उचाइमा हवाइजहाजको वाईफाईले कसरी गर्छ काम ?

  काठमाडौं । संसारभरका विभिन्न एयरलाइन्सले ३५ हजार फिटको उचाइमा यात्रुलाई वाईफाई सुविधा उपलब्ध गराउँदै आएका छन् । प्रश्न छ- हवाईजहाज ३५ वा ४० हजार फिटको उचाइमा उडिरहेको छ भने यस्तो उचाइमा वाईफाई कसरी काम गर्छ त ? यसको लागि संकेत कहाँ र कसरी आउँछ ? अर्को प्रश्न- एयरलाइन्सले फोन स्वीच अफ गर्दा वा फ्लाइट मोडमा टेक अफ गर्नुअघि नै किन वाईफाई सुविधा दिइरहेका छन् ?  यस बारेमा यहाँ संक्षिप्त वर्णन गर्ने प्रयास गर्नेछाैं । हवाइजहाजमा प्रयोग हुने इन्टरनेट दुई प्रकारको प्रविधिमा आधारित हुन्छ । ग्राउन्ड सिस्टम उडानमा जडान गरिएको एन्टेनाले जमिनको नजिकैको टावरबाट सिग्नल लिन्छ । यी संकेतहरू जमिनमा टावर नभएको क्षेत्रमा विमान नगएसम्म जारी रहन्छन् । यस प्रविधिमा जमिनमा जडान गरिएका टावरहरूले सिग्नललाई माथितिर प्रक्षेपण गर्छन् । यसमा हवाइजहाजको तल अनबोर्ड एन्टेना जडान गरिएको हुन्छ । स्याटेलाइट सिस्टम नामले नै यस प्रविधिमा वाईफाई सिग्नल स्याटेलाइट (उपग्रह) मार्फत आउने बताउँछ । यस प्रविधिमा भू-स्थलबाट उपग्रहमार्फत विमानमा इन्टरनेट पठाइन्छ । यसमा अनबोर्ड एन्टेना हवाइजहाज माथि लगाइएकाे हुन्छ । आज यो प्रविधि विमानहरूमा वाईफाईको लागि व्यापक रूपमा प्रयोग भइरहेको छ । एलन मस्कको कम्पनी स्टारलिंकले यो प्रविधिमा इन्टरनेट उपलब्ध गराउँदै आएको छ । यसरी पाउँछन् यात्रुले सिग्नल ग्राउन्ड वा स्याटेलाइट प्रणालीबाट इन्टरनेट सिग्नलहरू विमानमा राखिएका एन्टेनाहरूमार्फत अनबोर्ड राउटरमा पठाइन्छ । यो राउटरमार्फत जहाजमा बसेका यात्रुले आफ्नो फोन, ल्यापटप आदिमा वाईफाई जडान गर्न सक्छन् । टेक अफपछि विमान निश्चित उचाइ (लगभग १० हजार फिट) पुगेपछि मात्रै वाईफाई सुविधा प्रयोग गर्न सकिन्छ । उडानमा वाईफाईमार्फत इन्टरनेटको गति जमिनमा उपलब्ध गतिभन्दा धेरै सुस्त हुन्छ । मोबाइल डाटा किन प्रयोग गर्न हुँदैन ? विमानमा मोबाइल डाटा प्रयोगमा रोक लगाइएको छ । यति मात्र होइन, टेक अफ गरेपछि कसैलाई पनि फोन गर्न मिल्दैन । वास्तवमा मोबाइल डाटाले उडान विमानहरूमा धेरै समस्याहरू सिर्जना गर्दछ । केही अनुसन्धानले यो विमानको नेभिगेसन प्रणाली, राडार आदिमा समस्या निम्त्याउन सक्ने देखाएको छ । पाइलटको हेडसेटमा पनि समस्या हुन सक्छ र उसले राम्रोसँग सञ्चार गर्न नसक्ने हुन सक्छ, जसका कारण दुर्घटना हुनसक्छ ।

स्वावलम्बन लघुवित्त वित्तीय संस्थाद्वारा सहयोग सामाग्री हस्तान्तरण

काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले ज्येष्ठ नागरिकहरुको लागि सहयोग सामाग्री हस्तान्तरण गरेको छ । संस्थाले पेप्सीकोला काठमाडौं स्थित ज्येष्ठ नागरिक चौतारी नामक संस्थामा ५० थान कुर्ची हस्तान्तरण गरेको हो । संस्थाको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शाखा कार्यालय चुच्चेपाटी मार्फत उक्त सहयोग सामग्री हस्तान्तरण गरिएको हो । ज्येष्ठ नागरिक चौतारीका राधा आचार्य भट्टको अध्यक्षतामा तथा स्वावलम्बन लघुवित्त वित्तीय संस्था लि. का नायब महाप्रवन्धक गोविन्द चापागाँईको प्रमुख आतिथ्यतामा सम्पन्न सहयोग हस्तान्तरण कार्यक्रममा आफ्नो मन्तव्य राख्दै प्रमुख अतिथि गोबिन्द चापागाँईले सहयोग समाग्रीको उचित सदुपयोग हुने विश्वास सहित आगामी दिनहरुमा पनि वित्तीय संस्थाले यस्ता सहयोगहरु निरन्तर गर्ने बताए । बिशिष्ठ अतिथि तथा सिनामंगल नगर सेवा समाजका अध्यक्ष विजयराज पौडेलले स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले गरेको सहयोग र सामाजिक कार्यहरुको प्रसंशा गर्दै सेवाको निरन्तरता र वित्तीय संस्थाको उज्वल भविष्यको शुभकामना व्यक्त गरे । संस्थाले ग्राहक संरक्षण कोषबाट प्राकृतिक विपत्तिबाट भएको क्षतिमा राहत प्रदान गर्ने, गम्भिर प्रकृतिको रोग लागेका बिरामीलाई तथा प्रसुती भएका, आगलागी तथा बाढी पहिरोबाट आवास क्षति भएका सदस्यहरुलाई सहयोग गर्ने, समस्यामा परेका ऋणीहरुको व्यवसायको सुरक्षण एवं पुनस्र्थापना गर्ने तथा ग्राहकहरुको शिक्षा र क्षमता विकासमा उपयोग गर्ने गरेको छ । आव २०८०/८१ मा ग्राहक संरक्षण कोषबाट १ करोड ८५ लाख ४ हजार ५ सय ४७ रकम सुविधा प्रदान गरिएको छ । सदस्य तथा सदस्यका संरक्षकको निधन हुँदा परिवारका आश्रित अन्य सदस्यहरुलाई कर्जा तिर्ने दायित्वबाट राहत दिने उद्देश्यले लगानी गरिएको कर्जाको वीमा गर्ने व्यवस्था मिलाइएको छ । आर्थिक वर्ष २०८०/८१ मा मात्र १९ करोड ६० लाख ९८ हजार वीमा सुविधा प्रदान गरिएको छ । वित्तीय संस्थाको नाफा रकमको निश्चित प्रतिशत रकम सामाजिक उत्तरदायित्व कोषमा राखी सो कोषबा वित्तीय संस्थाको कार्यक्रम संचालन भएका कार्यक्षेत्र तथा अन्य क्षेत्र भित्र रहेका विभिन्न सामाजिक परियोजनाहरुमा खर्च गर्न, विपन्न वर्गका लागि संचालन गरिने शिक्षा तथा स्वास्थ्यमा हुने खर्चमा आवश्यक सहयोग गर्न र विपन्न वर्गको सामुहिक हितका लागि सहयोग हुने कार्यक्रम विकासमा खर्च गर्ने व्यवस्था रहेको छ । यस कोषबाट आव २०८०/८१ मा १५ लाख २ हजार ४ सय ७२ खर्च भएको छ । कार्यक्रममा संस्थाका विभागीय प्रबन्धक राजन प्रसाद भट्टराई, सिनामंगल नगर सेवा समाजका अध्यक्ष विजयराज पौडेल, पूर्व अध्यक्ष गोपाल बहादुर तामाङ्ग, ज्येष्ठ नागरिक चौतारीका संयोजक क्षेत्र भुषण दाहाल लगायत स्थानीय बुद्धिजीवीहरु, संस्थाको शाखा कार्यालय चुच्चेपाटी, काठमाडौका कर्मचारीहरु, सदस्यहरुको उपस्थिति रहेको थियो भने ज्येष्ठ नागरिक चौतारीको तर्फबाट गीता कार्कीले कार्यक्रम सञ्चालन गरेका थिए ।