विकासन्युज

५ अंकले बढेको सेयर बजारमा ४ अर्ब बढीको कारोबार

काठमाडौं । साताको पहिलो कारोबारको दिन अर्थात आइतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक सामान्य अंकले बढेको छ । आज नेप्से परिसूचक ५.३२ अंकले बढेर २५९१.५६ बिन्दुमा पुगेको हो । नेप्सेका अनुसार १४१ कम्पनीको सेयर मूल्य बढ्दा ९४ कम्पनीको सेयर मूल्य बढेको छ । ८ कम्पनीको सेयर मूल्यमा भने कुनै परिवर्तन आएको छैन । आइतबार ३२७ कम्पनीको ९३ लाख ८६ हजार कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ८६ करोड रुपैयाँ बढीको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार जानकी फाइनान्स कम्पनीको भएको छ । जानकीको १९ करोड रुपैयाँ बढीको कारोबार भएको छ । साथै, रिभर फल्स पावरको १७ करोड, रसुवागढी हाइड्रोपावरको १२ करोड, एनआरएन इन्फ्रास्ट्रक्चरको १२ करोड र नेपाल फाइनान्सको ११ करोड रुपैयाँ बढीको कारोबार भएको छ । आज उपकार लघुवित्त, डोरदी खोला जल विद्युत र ग्रीन भेन्चरको सेयर मूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको नेप्सेले जनाएको छ ।

३५ हजार फिटको उचाइमा हवाइजहाजको वाईफाईले कसरी गर्छ काम ?

  काठमाडौं । संसारभरका विभिन्न एयरलाइन्सले ३५ हजार फिटको उचाइमा यात्रुलाई वाईफाई सुविधा उपलब्ध गराउँदै आएका छन् । प्रश्न छ- हवाईजहाज ३५ वा ४० हजार फिटको उचाइमा उडिरहेको छ भने यस्तो उचाइमा वाईफाई कसरी काम गर्छ त ? यसको लागि संकेत कहाँ र कसरी आउँछ ? अर्को प्रश्न- एयरलाइन्सले फोन स्वीच अफ गर्दा वा फ्लाइट मोडमा टेक अफ गर्नुअघि नै किन वाईफाई सुविधा दिइरहेका छन् ?  यस बारेमा यहाँ संक्षिप्त वर्णन गर्ने प्रयास गर्नेछाैं । हवाइजहाजमा प्रयोग हुने इन्टरनेट दुई प्रकारको प्रविधिमा आधारित हुन्छ । ग्राउन्ड सिस्टम उडानमा जडान गरिएको एन्टेनाले जमिनको नजिकैको टावरबाट सिग्नल लिन्छ । यी संकेतहरू जमिनमा टावर नभएको क्षेत्रमा विमान नगएसम्म जारी रहन्छन् । यस प्रविधिमा जमिनमा जडान गरिएका टावरहरूले सिग्नललाई माथितिर प्रक्षेपण गर्छन् । यसमा हवाइजहाजको तल अनबोर्ड एन्टेना जडान गरिएको हुन्छ । स्याटेलाइट सिस्टम नामले नै यस प्रविधिमा वाईफाई सिग्नल स्याटेलाइट (उपग्रह) मार्फत आउने बताउँछ । यस प्रविधिमा भू-स्थलबाट उपग्रहमार्फत विमानमा इन्टरनेट पठाइन्छ । यसमा अनबोर्ड एन्टेना हवाइजहाज माथि लगाइएकाे हुन्छ । आज यो प्रविधि विमानहरूमा वाईफाईको लागि व्यापक रूपमा प्रयोग भइरहेको छ । एलन मस्कको कम्पनी स्टारलिंकले यो प्रविधिमा इन्टरनेट उपलब्ध गराउँदै आएको छ । यसरी पाउँछन् यात्रुले सिग्नल ग्राउन्ड वा स्याटेलाइट प्रणालीबाट इन्टरनेट सिग्नलहरू विमानमा राखिएका एन्टेनाहरूमार्फत अनबोर्ड राउटरमा पठाइन्छ । यो राउटरमार्फत जहाजमा बसेका यात्रुले आफ्नो फोन, ल्यापटप आदिमा वाईफाई जडान गर्न सक्छन् । टेक अफपछि विमान निश्चित उचाइ (लगभग १० हजार फिट) पुगेपछि मात्रै वाईफाई सुविधा प्रयोग गर्न सकिन्छ । उडानमा वाईफाईमार्फत इन्टरनेटको गति जमिनमा उपलब्ध गतिभन्दा धेरै सुस्त हुन्छ । मोबाइल डाटा किन प्रयोग गर्न हुँदैन ? विमानमा मोबाइल डाटा प्रयोगमा रोक लगाइएको छ । यति मात्र होइन, टेक अफ गरेपछि कसैलाई पनि फोन गर्न मिल्दैन । वास्तवमा मोबाइल डाटाले उडान विमानहरूमा धेरै समस्याहरू सिर्जना गर्दछ । केही अनुसन्धानले यो विमानको नेभिगेसन प्रणाली, राडार आदिमा समस्या निम्त्याउन सक्ने देखाएको छ । पाइलटको हेडसेटमा पनि समस्या हुन सक्छ र उसले राम्रोसँग सञ्चार गर्न नसक्ने हुन सक्छ, जसका कारण दुर्घटना हुनसक्छ ।

स्वावलम्बन लघुवित्त वित्तीय संस्थाद्वारा सहयोग सामाग्री हस्तान्तरण

काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले ज्येष्ठ नागरिकहरुको लागि सहयोग सामाग्री हस्तान्तरण गरेको छ । संस्थाले पेप्सीकोला काठमाडौं स्थित ज्येष्ठ नागरिक चौतारी नामक संस्थामा ५० थान कुर्ची हस्तान्तरण गरेको हो । संस्थाको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शाखा कार्यालय चुच्चेपाटी मार्फत उक्त सहयोग सामग्री हस्तान्तरण गरिएको हो । ज्येष्ठ नागरिक चौतारीका राधा आचार्य भट्टको अध्यक्षतामा तथा स्वावलम्बन लघुवित्त वित्तीय संस्था लि. का नायब महाप्रवन्धक गोविन्द चापागाँईको प्रमुख आतिथ्यतामा सम्पन्न सहयोग हस्तान्तरण कार्यक्रममा आफ्नो मन्तव्य राख्दै प्रमुख अतिथि गोबिन्द चापागाँईले सहयोग समाग्रीको उचित सदुपयोग हुने विश्वास सहित आगामी दिनहरुमा पनि वित्तीय संस्थाले यस्ता सहयोगहरु निरन्तर गर्ने बताए । बिशिष्ठ अतिथि तथा सिनामंगल नगर सेवा समाजका अध्यक्ष विजयराज पौडेलले स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले गरेको सहयोग र सामाजिक कार्यहरुको प्रसंशा गर्दै सेवाको निरन्तरता र वित्तीय संस्थाको उज्वल भविष्यको शुभकामना व्यक्त गरे । संस्थाले ग्राहक संरक्षण कोषबाट प्राकृतिक विपत्तिबाट भएको क्षतिमा राहत प्रदान गर्ने, गम्भिर प्रकृतिको रोग लागेका बिरामीलाई तथा प्रसुती भएका, आगलागी तथा बाढी पहिरोबाट आवास क्षति भएका सदस्यहरुलाई सहयोग गर्ने, समस्यामा परेका ऋणीहरुको व्यवसायको सुरक्षण एवं पुनस्र्थापना गर्ने तथा ग्राहकहरुको शिक्षा र क्षमता विकासमा उपयोग गर्ने गरेको छ । आव २०८०/८१ मा ग्राहक संरक्षण कोषबाट १ करोड ८५ लाख ४ हजार ५ सय ४७ रकम सुविधा प्रदान गरिएको छ । सदस्य तथा सदस्यका संरक्षकको निधन हुँदा परिवारका आश्रित अन्य सदस्यहरुलाई कर्जा तिर्ने दायित्वबाट राहत दिने उद्देश्यले लगानी गरिएको कर्जाको वीमा गर्ने व्यवस्था मिलाइएको छ । आर्थिक वर्ष २०८०/८१ मा मात्र १९ करोड ६० लाख ९८ हजार वीमा सुविधा प्रदान गरिएको छ । वित्तीय संस्थाको नाफा रकमको निश्चित प्रतिशत रकम सामाजिक उत्तरदायित्व कोषमा राखी सो कोषबा वित्तीय संस्थाको कार्यक्रम संचालन भएका कार्यक्षेत्र तथा अन्य क्षेत्र भित्र रहेका विभिन्न सामाजिक परियोजनाहरुमा खर्च गर्न, विपन्न वर्गका लागि संचालन गरिने शिक्षा तथा स्वास्थ्यमा हुने खर्चमा आवश्यक सहयोग गर्न र विपन्न वर्गको सामुहिक हितका लागि सहयोग हुने कार्यक्रम विकासमा खर्च गर्ने व्यवस्था रहेको छ । यस कोषबाट आव २०८०/८१ मा १५ लाख २ हजार ४ सय ७२ खर्च भएको छ । कार्यक्रममा संस्थाका विभागीय प्रबन्धक राजन प्रसाद भट्टराई, सिनामंगल नगर सेवा समाजका अध्यक्ष विजयराज पौडेल, पूर्व अध्यक्ष गोपाल बहादुर तामाङ्ग, ज्येष्ठ नागरिक चौतारीका संयोजक क्षेत्र भुषण दाहाल लगायत स्थानीय बुद्धिजीवीहरु, संस्थाको शाखा कार्यालय चुच्चेपाटी, काठमाडौका कर्मचारीहरु, सदस्यहरुको उपस्थिति रहेको थियो भने ज्येष्ठ नागरिक चौतारीको तर्फबाट गीता कार्कीले कार्यक्रम सञ्चालन गरेका थिए ।

एमालेको केन्द्रीय कमिटी बैठक देशभक्त र प्रगतिशील एकजुट भएकाले प्रतिक्रियावादी शक्ति आतङ्कित भएका छन् : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले देशभक्त, प्रगतिशील र जनवादी शक्ति एकजुट भएकाले प्रतिक्रियावादीहरु आतङ्कित भएका बताएका छन् । आइतबारदेखि च्यासलमा सुरु भएको एमाले केन्द्रीय कमिटीको आठौँ बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले प्रतिक्रियावादीहरु एमालेविरुद्ध झुठा प्रचारमा लागेका टिप्पणी गरे । एमालेको लोकप्रियता देखेर त्यसलाई क्षीण पार्ने तथा एमालेलाई बदनाम गर्न विरोधीहरु लागेका बताउँदै अध्यक्ष ओलीले एकताबद्ध भई झुठा प्रचार चिरेर पार्टीलाई निर्णायक शक्ति बनाउन जनस्तरमा लाग्न पार्टीका सबैलाई आग्रह गरे । ‘हामी विरोधीका आरोपमाथि चुप लागेर बस्नु हुँदैन । चुप लागेर बस्नुपर्छ भन्ने कमजोर धारणा हो । विरोधीका आरोपबारे तथ्यका आधारमा खण्डन गर्नुपर्छ । हाम्रा सबै सङ्गठनहरु उत्साहित भएर व्यक्ति–व्यक्ति र घरघरमा पुग्नुपर्छ । वैचारिक कामलाई उत्तिकै महत्व दिनुपर्छ’, अध्यक्ष ओलीले भने, ‘पार्टीभित्र गुटबन्दी र अराजकता अन्त्य गर्नैपर्छ । लोकतन्त्रका नाममा पार्टीभित्र गुटबन्दी गरेर भाँडभैलो मच्चाउने कार्यले पार्टीलाई बलियो बनाउँदैन । बहकाउमा लागेर होइन, एउटै नीतिमा अडिग भएर पार्टी र देशको स्वार्थलाई केन्द्रमा राखेर हामी अगाडि बढ्नुपर्छ ।’ पार्टीका आन्तरिक विषय सार्वजनिक खपतका लागि प्रस्तुत नगर्न आग्रह गर्दै अध्यक्ष ओलीले पार्टीलाई विभाजन गरेर वा सिध्याइयो भनेर खुसी मनाउ गर्नेहरु पश्चाताप गरिरहेका टिप्पणी गरे । बैठकमा अध्यक्ष ओलीले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा नयाँ राजनीतिक मार्गचित्र, एमाले र नेपाली कांग्रेससँगको गठनबन्धनको आवश्यकता, औचित्य र अवसर, वर्तमान गठनबन्धनपछिका छ महिना, बदलिँदो विश्व परिवेश र मुलुकको पराराष्ट्र नीति, स्थानीय तह उपनिर्वाचनको समीक्षा र निर्णायक राष्ट्रिय शक्तिको निर्माणलाई समेटिएका छन् । नयाँ सरकार गठनपछि राजनीतिक स्थायित्वको सन्देश प्रवाह भएको, साझा नीतिगत प्रतिबद्धता र सङ्कल्प जारी भएको, सरकार सञ्चालनमा सहजीकरणका लागि आवश्यक संरचना बनाइएको, अर्थतन्त्रमा सुधार आएको, सङ्क्रमणकालीन न्यायसम्बन्धी कानुन पारित भएको, राष्ट्रियहितको रक्षा र सन्तुलित बाह्य सम्बन्ध कायम गरिएको, सहकारी क्षेत्रको बेथिति अन्त्यगरी बचतकर्तालाई न्याय तथा अनियमिततामा संलग्नलाई सजाय गरिएको र विकास–निर्माणले गति लिएको मुख्य जानकारी गराए । बैठकमा राजनीतिक प्रतिवेदनका साथै साङ्गठनिक कामको सङ्क्षिप्त जानकारी, गत वैशाखमा भएको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को बैठकपछिका केन्द्रीय सचिवालय र पोलिटब्युरो बैठकका निर्णयहरुबारे जानकारी, केन्द्रीय आयोगका अध्यक्षहरुको सम्बोधन र समसामयिक विषयमा महासचिव शङ्कर पोखरेलले बैठकमा जानकारी गराएका थिए । बैठकले पोलिटब्युरो सदस्य सूर्यबहादुर थापाको संयोजकत्वमा केन्द्रीय सदस्यहरु निरज आचार्य र विष्णु रिजाल रहेको ‘बहस नोट कमिटी’ तथा केन्द्रीय प्रचार विभागका प्रमुख राजेन्द्र गौतमको संयोजकत्वमा स्थायी कमिटी सदस्यहरु रघुजी पन्त र खगराज अधिकारी रहेको समसामयिक प्रस्ताव समिति गठन गरेको छ ।

सामसङले सार्वजनिक गर्‍यो २ नयाँ बिस्पोक एआई वाशिङ मेसिन

काठमाडाैं । सामसङ नेपालले १२ केजीसम्मको क्षमता, एआई-वाश र ऊर्जा बचत गर्दै कपडा सुरक्षित राख्ने एआई इकोबबल जस्ता अत्याधुनिक सुविधाहरू रहेको आफ्नो नयाँ बिस्पोक वाशिंग मेसिन नेपाली बजारमा उपलब्ध गराएको छ । कम्पनीका अनुसार स्मार्टथिङ्स एपद्वारा स्मार्टफोनमार्फत टाढाबाटै नियन्त्रण गर्न सकिने सामसङको नयाँ वाशिङ मेसिनले लुगा धुने प्रक्रिया सजिलो बनाउँछ । यसका साथै धुलाइकाे किसिमलाई बुझी एआई पर्सनलाइजेसन सुविधाले उपयुक्त धुलाइ साइकल पनि सुझाउँछ । यसमा भएको स्पेसम्याक्स टेक्नोलोजीले सानो साइजको यो मेसिनलाई घरमा सजिलै फिट हुने बनाउँछ र १२ केजीसम्मको लुगाको लोड सजिलै धुन सक्छ । यो इनोभेटिभ डिजाइनले भित्री ड्रमलाई वृद्धि गरी गहिराइलाई ६०० एमएममा राखेर कुनै पनि ठाउँमा सहजै रूपमा फिट हुने सुनिश्चित गर्दछ । यो नयाँ वाशिङ मेसिनले स्लीक डिजाइन, सजिलो इन्टरफेस र लुगाको सफाइलाई प्राथमिकता दिन्छ । दक्षता, दिगोपन र राम्रो अनुभवमा केन्द्रित भएर यो मेसिनले नेपालमा लन्ड्री गर्ने नयाँ तरिका प्रस्तुत गरेको कम्पनीले बताएको छ । १२ केजी लाइन-अप दुईवटा फरक मोडलहरूमा उपलब्ध छ । यी दुवै मोडलहरूको मूल्य क्रमशः १ लाख १४ हजार ९९० र १ लाख २० हजार ९९० रुपैयाँ रहेको छ। यस वाशिङ मेसिनलाई सामसङ कन्ज्युमर इलेक्ट्रोनिक्सको आधिकारिक वितरक हिम इलेक्ट्रोनिक्स प्राइभेट लिमिटेड र आधिकारिक पुनर्विक्रेता त्रिवेणी व्यापार प्राइभेट लिमिटेडका डिलर नेटवर्कद्वारा नेपाल अधिराज्यभरि उपलब्ध गराइएको छ ।

ट्रम्पको शपथ ग्रहणका लागि चन्दा दिन ठूला कम्पनीबीच प्रतिस्पर्धा, कसले कति दिए ?

काठमाडौं । डोनाल्ड ट्रम्पले जनवरी २० मा अमेरिकी राष्ट्रपतिको शपथ लिँदैछन् । उनको शपथग्रहण समारोहका लागि पैसा चन्दा दिने कम्पनी र धनी व्यक्तिबीच प्रतिस्पर्धा चलिरहेको छ । अब यो सूचीमा विश्वकै मूल्यवान कम्पनी एप्पलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) टिम कुक पनि सामेल भएका छन् । मिडिया रिपोर्टका अनुसार कुकले ट्रम्पको सपथ ग्रहण समारोहका लागि १० लाख डलर दिने घोषणा गरेका छन् । यस कार्यक्रमका लागि अहिलेसम्म धेरै कम्पनीहरूले चन्दा घोषणा गरेका छन् । यसमा अमेजन, ओपन एआई, उत्तरी अमेरिकाको टोयोटा मोटर र क्रिप्टोकरेन्सी कम्पनीहरू क्राकेन, रिपल र ओन्डो समावेश छन् । यद्यपि अमेरिकामा सबैभन्दा बढी कर तिर्ने टीम कुकको कम्पनी एप्पलले चन्दा दिने अपेक्षा गरिएको छैन । एप्पलले भर्खरै मुद्दा सुल्झाउन ९.५ करोड तिर्नुपरेको छ । कम्पनीलाई भर्चुअल असिस्टेन्ट सिरीको सहयोगमा आइफोन र अन्य डिभाइसहरू प्रयोग गर्ने मानिसहरूको कुराकानी सुनेको आरोप लगाइएको थियो । तर, कम्पनीले आफ्नो सम्झौतामा कुनै गल्ती गरेको स्वीकार गरेको छैन । कसकसले गरे दान ? टोयोटा मोटर नर्थ अमेरिकाले ट्रम्पको उद्घाटनका लागि १० लाख डलर दान गर्दैछ । फर्ड मोटर र जनरल मोटर्सले समान रकम दान गरेका छन् । अमेरिकी अटो कम्पनीहरूले यस कार्यक्रमको लागि सवारीसाधनहरू दान गरिरहेका छन् । रिटेल ट्रेडिङ प्लेटफर्म रोबिनहुड मार्केट्सले २० लाख डलर दान गरेको छ । उबर टेक्नोलोजी र यसका सीईओ दारा खोसरोशाहीले १०-१० लाख डलर दान गरेका छन् । अमेजनले पनि १० लाख डलर दान गरेको छ । साथै कम्पनीले आफ्नो ओटीटी प्लेटफर्म प्राइम भिडियोमा कार्यक्रमलाई लाइभ स्ट्रिम गर्नेछ । फेसबुकको मूल कम्पनी मेटा प्लेटफर्मले पनि यस कार्यक्रमका लागि १० लाख डलर सहयोग गरेको छ । सिटाडेल एलएलसी हेज फण्डका संस्थापक केन ग्रिफिनले पनि १० लाख डलर दान गर्ने योजना बनाएका छन् । ग्रिफिनले चुनावअघि ट्रम्पको राष्ट्रपति अभियानमा चन्दा दिएका थिएनन् । ट्रम्पले आफ्नो शपथ ग्रहण समारोहको तयारीका लागि विशेष प्यानल गठन गरेका छन् । यो एक गैर-लाभकारी संस्था हो र असीमित चन्दा स्वीकार गर्ने अधिकार प्राप्त गर्दछ ।

ग्यास चुहिएर दुर्घटना हुँदा वृद्धाको मृत्यु

पर्वत । जिल्लाको कुश्मा नगरपालिका–१० पीपलटारीमा खाना पकाउने ग्यास चुहिएर आगलागी हुँदा एकजना महिलाको घटनास्थलमा मृत्यु भएको छ । पीपलटारीस्थित तल्लो रोहोटेका धु्रव रेग्मीको घरको ग्यास आइतबार बिहान फेर्ने क्रममा चुहिएर एक्कासी आगलागी हुँदा छिमेकी ७३ वर्षीया वृद्धा दुर्गादेवी पौडेलको जलेर मृत्यु भएको हो । मृतक पौडेल चिया पिउन र दूध लिन रेग्मीको घरमा गएका थिए । घरधनी ५२ वर्षीय रेग्मी गम्भीर घाइते भएका जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रविन विष्टले जानकारी दिए । उनका अनुसार घाइतेको जिल्ला अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागि पोखरा पठाइएको छ । आगलागीलगत्तै सदरमुकाम कुश्माबाट पुगेको प्रहरी र सशस्त्र प्रहरीको टोलीले आगो नियन्त्रणमा लिएको थियो । आगलागीबाट घरमा क्षति पुगेको बताउँदै घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक विष्टले जानकारी दिए । मृतक महिलाको शव परीक्षणका लागि जिल्ला अस्पताल पर्वतमा ल्याइएका प्रहरीले जानकारी दिएको छ ।

गुगलका सुन्दर पिचाईलाई पछाडि पार्दै यी सीईओ, एक दिनमै कमाउँछन् ६४ करोड रुपैयाँ

काठमाडौं । विश्वमा सबैभन्दा बढी पारिश्रमिक लिने सीईओको चर्चा हुँदा गुगलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुन्दर पिचाई, माइक्रोसफ्टका सत्य नडेला, एडोबका शान्तनु नारायण आदिको नाम आउँछ । तर अब अर्को भारतीय मूलका सीईओले ती सबैलाई पछाडि पारेका छन् । उनको दैनिक ६४ करोड रुपैयाँ छ । उनी विश्वकै सबैभन्दा धेरै तलब पाउने कर्मचारी बनेका छन् । हामी क्वान्टमस्केप कम्पनीका संस्थापक र सीईओ जगदीप सिंहको बारेमा कुरा गर्दैछौं । भारतीय मूलका जगदीप सिंहले एक वर्षमा २८ हजार करोड रुपैयाँ तलब पाएका छन् । अर्थात् उनले दैनिक ६४ करोड रुपैयाँ तलब पाउँछन् । धेरै कम्पनीसँग उनको वार्षिक तलब जति कमाइ छैन । यति धेरै पारिश्रमिक लिएर जगदीप सिंह चर्चामा आएका हुन् । को हुन् जगदीप सिंह ? जगदीप सिंहले स्ट्यानफोर्ड विश्वविद्यालयबाट बीटेक र क्यालिफोर्निया विश्वविद्यालय, बर्कलेबाट एमबीए पूरा गरेका छन् । क्वान्टमस्केप स्थापना गर्नुअघि उनले विभिन्न कम्पनीमा १० वर्ष काम गरेका थिए । यसले उनलाई ब्याट्री टेक्नोलोजीमा क्रान्तिकारी सफलताको लागि अवसर बुझ्ने मौका दियो । सिंहले सन् २०१० मा कम्पनीको स्थापना गरेका थिए । उनको कम्पनी क्वान्टमस्केपले नयाँ पुस्ताको सोलिड स्टेट रिचार्जेबल लिथियम मेटल ब्याट्री बनाउँछ । यी ब्याट्रीहरू विद्युतीय सवारीसाधन (ईभी) मा प्रयोग गरिन्छ । फक्सवागन र बिल गेट्सजस्ता दिग्गजहरूले पनि उनको कम्पनीमा लगानी गरेका छन् । क्वान्टमस्केपको मुख्यालय क्यालिफोर्नियामा छ । कसरी पाए यति धेरै तलब ? क्वान्टमस्केप सन् २०२० मा अमेरिकी सेयर बजारमा सूचीकृत भएको थियो । यसमा लगानीकर्ताबाट ठूलो सहयोग प्राप्त भएको छ । जगदीप सिंहको तलब प्याकेजमा २.३ बिलियन डलरको सेयर पनि समावेश छ । जसकारण उनको वार्षिक तलब लगभग २८ हजार करोड पुगेको हो । नवप्रवर्तनमा ध्यान जगदीप सिंह नवप्रवर्तनका लागि परिचित छन् । उनकाे कम्पनीमा निर्मित ठोस स्टेट ब्याट्रीहरू सामान्य ब्याट्रीहरू भन्दा धेरै अगाडि छन् । ब्याट्रीले लामो समयसम्म पावरमात्र प्रदान गर्दैन, यो चाँडै चार्ज पनि हुन्छ । यस कारण ब्याट्री ईभीमा व्यापक रूपमा प्रयोग भइरहेको छ । अहिले ईभी क्षेत्र फस्टाउँदै गएकाले उनको कम्पनी पनि नयाँ उचाइमा पुगिरहेको छ ।