विकासन्युज

पुस मसान्तभित्र कर बुझाउन विभागको ताकेता

  काठमाडाैं । आन्तरिक राजस्व विभागले पुस मसान्तभित्र करको विवरण र कर बुझाउन ताकेता गरेको छ । विभागले आर्थिक वर्ष २०८१/८२ को कारोबारको अनुमानित करको विवरण र प्रथम किस्ता बापतको कर दाखिला गर्न ताकेता गरेको हो । आयकर ऐन, २०५८ (संशोधनसहित)को दफा ९४ को उपदफा (१) बमोजिम आव २०८१/८२ को आयकरको किस्ता रकम दाखिला गर्नुपर्ने करदाताहरूले दफा ९५ बमोजिम आव २०८१/ ८२ को कारोबारको अनुमानित करको विवरण र सो विवरण अनुसारको तिर्नुपर्ने आयकरको पहिलो किस्ताबापतको ४० प्रतिशतले हुने रकम २०८१ पौष मसान्तभित्रै तिर्नु पर्ने व्यवस्था रहेकाे पनि विभागले उल्लेख गरेको छ । सोहीअनुसार विभागले सूचना जारी गरेको हो । विभागले ठूला करदाता कार्यालय, मध्यम स्तरीय कर दाता कार्यालय, सम्बन्धित आन्तरिक राजस्व कार्यालय वा सम्बन्धित करदाता सेवा कार्यालयमा कर र कर विवरण बुझाउन अनुरोधसहितको सूचना जारी गरेको हाे ।

धितो राखेको जग्गा लिलाम गरेको भन्दै सहकारीका प्रबन्धकलाई कुटपीट गर्ने ५ जना पक्राउ

तनहुँ । जिल्लाको भीमाद बचत तथा ऋण सहकारीका प्रबन्धक रामबाबु गैह्रेलाई कुटपीट गरेको आरोपमा भिमाद नगरपालिका–७ का वडाध्यक्ष प्रकाश श्रेष्ठसहित पाँच जना पक्राउ परेका छन् । वडाध्यक्ष श्रेष्ठकी पत्नी लक्ष्मीकुमारी श्रेष्ठको नाममा २०७६ सालमा सहकारीबाट ऋण लिएर नतिरेपछि धितो राखेको जग्गा लिलाम गरेको भन्दै वडाध्यक्ष श्रेष्ठले प्रबन्धक गैह्रेलाई कुटपिट गरेपछि सोमबार प्रहरीले पाँच जनालाई पक्राउ गरी अनुसन्धान थालेको हो । जिल्ला प्रहरी कार्यालयका अनुसार पक्राउ पर्नेमा वडाध्यक्ष प्रकाश श्रेष्ठ, इश्वरकुमार श्रेष्ठ, नितेश श्रेष्ठ, नेपोलने श्रेष्ठ र विकल श्रेष्ठ रहेका छन् । विसं २०७६ मा २८ लाख रुपैयाँ ऋण लिएपछि सावा, ब्याज एकपटक पनि नतिरेको, पटकपटक चिठी तथा फोनमार्फत जानकारी गराउँदा बेवास्ता गरेपछि सहकारीले सहकारी नियम र प्रक्रियाअनुसार जग्गा लिलामी गरेको सहकारीका अध्यक्ष काजीमान श्रेष्ठले जानकारी दिए । ‘घरमा चिठी पठाउँदा नबुझ्ने र उल्टै कर्मचारीलाई धम्काएर पठाउने गरेपछि बाध्य भएर सञ्चालक समितिले कानुनी प्रक्रिया अगाडि बढाएर जग्गा लिलामी गरेको थियो’, उनले भने । सहकारीका अध्यक्ष श्रेष्ठले सञ्चालक समितिले गरेको निर्णय प्रबन्धकले कार्यान्वयन गर्ने कानुनी प्रक्रिया रहकाले वडाध्यक्ष श्रेष्ठले प्रबन्धकलाई हातपात गरेको उल्लेख गरे। सोमबार बिहान ९ बजे खाना खाइरहेको ठाउँमा आएर आँफू र आफ्नो परिवारलाई पाँच जनाले कुटपीट गरेको सहकारीका प्रबन्धक रामबाबु गैह्रेले जानकारी दिए । परिवार माथि साङ्घातिक हमला भएपछि सबै जना त्रासमा बस्नुपरेको उनले बताए । पक्राउ परेका वडाध्यक्ष श्रेष्ठसहित पाँच जनालाई जिल्ला अदालत कार्यालयबाट पाँच दिन म्याद थप गरी अनुसन्धान थालिएको इलाका प्रहरी कार्यालय बेलचौतराका प्रहरी निरीक्षक पोषण थापाले जानकारी दिए । रासस

नेपाल उड, फर्निचर तथा होम टेक्सटायल अन्तर्राष्ट्रिय प्रदर्शनीको दशौं संस्करण माघ ४ देखि सुरु

काठमाडौं । नेपाल उड, फर्निचर तथा होम टेक्सटायल अन्तर्राष्ट्रिय प्रदर्शनीको दशौं संस्करण यही माघ ४ देखि काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने भएको छ । मिडिया स्पेस सोलुसन्स प्रालि फ्युचरेक्स ट्रेड फेयर एण्ड ईभेन्टस प्रालि र इटीएसआइपीएलले संयुक्त रूपमा आयोजना गर्न लागेका हुन् । ६ गतेसम्म चल्ने उक्त प्रदर्शनीमा स्वदेशी तथा विदेशी ख्यातिप्राप्त ब्रान्डहरूका १०० भन्दा बढी स्टल रहने छन् । अन्तर्राष्ट्रिय प्रदर्शनीमा फर्निचर, प्लाइवुड, ल्यामिनेट, होम टेक्सटायल, हार्डवेयर, काष्ठ सम्बन्धी मेसिनरी तथा औजार, फर्निसिङ, म्याट्रेस, कच्चा पदार्थ तथा विभिन्न उत्पादनहरू राखिने जनाइएकाे छ । फनिर्चर, प्लाइउड तथा काठ औजारका कम्पनी, ल्यामिनेट, विभिन्न कम्पनीका डिलर, सब डिलर र विक्रेताहरू ले काठ व्यवसायसँग सम्बन्धित उत्पादनहरूको बारेमा जानकारी गराउने र यस क्षेत्र मा आउने नयाँ–नयाँ प्रविधि को बारेमा जानकारी गराउन को लागि प्रदर्शनीको आयोजना गर्न लागिएको हो । १० औँ संस्करणमा फर्निचर निर्माता, किचन मेकर, आरा मिलर, बोर्ड मेकर, फिटिङ र कम्पोनेन्ट निर्माता, व्यापारी, वास्तुविद्, भवन निर्माणकर्ता र इन्टेरियर डिजाइनर आदि सबै क्षेत्रका उन्नत मेसिनरी र नवीन उत्पादनहरूको उल्लेख्य सहभागिता रहने पनि जनाइएको छ । यस प्रदर्शनीमा सहयोगी संस्थाको भूमिकामा इन्टेरियर डिजाइनर एसोसिएसन नेपाल, सामुदायिक वन उपभोक्ता महासंघ, नेपाल वन पैदावार उद्योग व्यवसायी महासंघ तथा नेपाल प्लाइउड उत्पादक संघ रहेका छन् । यो प्रदर्शनी विगत ९ वर्षदेखि आयोजना हुँदै आएको छ ।

बजेट अभाव भएर काम गर्न नसकेको सडक विभागको गुनासो, अर्थमन्त्रालय भन्छ : व्यवस्थापन गर्न सक्नुपर्‍यो नि !

काठमाडौं । देशकै सबैभन्दा धेरै विकास बजेट खर्चिनेमध्येको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गतको सडक विभागलाई हाल बजेट अभाव भएको छ । विभागअन्तर्गतका धेरै आयोजनामा बजेट अभाव भएको सडक विभागले जनाएको छ। सडक विभागका अनुसार धेरै आयोजनामा बजेट अभाव भएको छ । बजेटमार्फत् विनियोजित बजेट खर्च भएपछि सडकमा विभिन्न ठूला आयोजना र सडक डिभिजन कार्यालयहरूमा बजेट अभाव भएको हो । विभागका एक कर्मचारी भने, ‘हामीसँग पैसा छैन । सुरु भएका धेरै आयोजना अघि बढ्न सकिरहेका छैनन् । कामको गति सुस्त छ ।’ विभागअन्तर्गतका विभिन्न साना तथा ठूला आयोजनाहरूमा बजेटको अभाव देखिएको उनको भनाइ छ । कर्मचारीका अनुसार विभिन्न पुल आयोजना, मध्यपहाडी लोकमार्ग र हुलाकी राजमार्गका विभिन्न खण्डमा थप बजेट आवश्यक छ । अघिल्ला वर्षहरूमा आर्थिक स्रोतको सुनिश्चितता नगरी राजनीतिक पहुँचका भरमा बहुवर्षीय ठेक्का लगाइएका आयोजनाहरूमा पनि बजेट अभावको समस्या छ । विभागमा गत वर्ष पनि बजेट अभाव चर्किएको थियो । हाल बजेटको समस्या रहेका आयोजनाहरूमा बजेट अभाव चर्किएको छ । तीन वर्षमा साढे ३१ अर्ब बजेट सरकारले चालु आर्थिक वर्ष २०८१/०८२ मा सडक मर्मतका लागि ९ अर्ब ८४ करोड ४१ लाख २३ हजार रुपैयाँ बजेट विनियोजन गरेको थियो । जसमध्ये ९ अर्ब ५१ करोड १५ लाख ५६ हजार ८१० रुपैयाँ बराबरको कार्यक्रम स्वीकृत भएको थियो । हालसम्म सडक मर्मतका लागि कुल ९ अर्ब २१ करोड २० लाख ९० हजार ७२४ रुपैयाँ निकासा भइसकेको बताइएको छ । यस्तै, तीन आवको तथ्याङ्क हेर्ने हो भने सडक मर्मतका लागि साढे ३१ अर्ब बजेट विनियोजन भएको छ । आव २०७८/०७९ देखि २०८०/०८१ सम्म ३१ अर्ब ५५ करोड ६० लाख बराबर बजेट विनियोजन भएकोमा ३१ अर्ब ५२ करोड ३५ लाख ६५ हजार ६५८ रुपैयाँ बराबरको बजेट निकासा गरेको छ । जसमध्ये सडक मर्मतमा २० अर्ब १८ करोड २६ लाख १ हजार ६९५ रुपैयाँ खर्च भएको तथ्याङ्कमा उल्लेख छ ।  १ अर्ब रुपैयाँ भुक्तानी गर्न बाँकी सडक विभागका प्रवक्ता उमेशबिन्दु श्रेष्ठले सडक विभागसँग निर्माण व्यवसायीलाई १ अर्ब रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको बताए । उनले भने, ‘हामीसँगे गत वर्षको ६६ करोड बाँकी थियो, जसमध्ये यो आवको बजेटबाट ५ अर्ब ४० करोड भुक्तानी गरेका छौं । चानचुन ३ अर्ब बाँकी रहेकामा २ अर्ब १० करोड भुक्तानी भइसकेको छ । बाँकी १ अर्बभन्दा बढीको पनि रकमान्तर पनि गइरहेको छ । अब करिब १ अर्बमात्र बाँकी छ । त्यसको पनि फाइल अर्थमा गइसकेको छ ।’ प्रवक्ता श्रेष्ठले निर्माण व्यवसायीलाई विभागबाट हुने भुक्तानीमा कुनै समस्या नभएको दाबी गरे । यस्तै, उनले आयोजना निर्माणमा बजेटको समस्या विभागलाई पनि भएको बताउँदै हाल आयोजनाहरूको काम सुस्त गतिमा रहेको जनाए । के भन्छ अर्थ मन्त्रालय ? अर्थ मन्त्रालयका सूचना अधिकारी महे भट्टराई महत्त्वपूर्ण आयोजनाहरूलाई मात्रै प्राथमिकतामा राख्नुपर्ने  बताउँछन् । उनी भन्छन्, ‘जुन आयोजना महत्त्वपूर्ण छन्, ती आयोजनाहरूलाई छनोट गर्नुपर्‍यो । साना आयोजनालाई भन्दा ठूलालाई हेरिनु भएन । नयाँनयाँ आयोजनाहरू थपिँदै आउने गरेका छन् ।’ सूचना अधिकारी भट्टराईले नयाँ-नयाँ आयोजनाहरू थपिने गरेकाले यो सुधार गर्नुपर्ने बताए । नयाँ-नयाँ आयोजना थपिँदै जाँदा एकातिर काम समयमै पुरा नहुने अनि अर्कोतर्फ रकम खेर जाने गरेको गुनासो पोखे । ‘योजनाबद्ध रूपमा अगाडि बढ्नुपर्‍यो । जसमा विनियोजित रकम र स्रोत खेर जान सक्दैन । अझ भन्ने हो भने यसरी बजेट अभाव हुँदैन ।’ उनका अनुसार चालु आव २०८१/०८२ लागि समग्र यातायात र सडक पूर्वाधार विकासको लागि १ खर्ब ५० अर्ब ५३ करोड रुपैयाँ विनियोजन गरिएको थियो । उक्त बजेटले सडक पूर्वाधार र यातायातमा ठूलो रकम विनियोजन गरेको थियो ।

मुग्लिन-मलेखु सडक विस्तारका क्रममा सवारी नरोकिने

चितवन । मुग्लिन–मलेखु सडक स्तरोन्नतीका क्रममा सवारी सञ्चालन नरोकिने भएको छ । गतहप्ता दिउँसोमा सवारी साधन रोकेर स्तारोन्नतीका काम गरिएका थियो । नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिम खण्ड (नारायणगढ–मुग्लिन)का ई बिजय दराइकाअनुसार यही पुस ७ गतेदेखि १३ गतेसम्म सवारी रोकेर काम गरिएको भए पनि अहिले सवारी सञ्चालन गरेरै धमाधम काम गरिएको हो । सो समयमा दिउँसो ११ बजेदेखि २ बजेसम्म सवारी रोकेर सडकको बिशालटार, खटौटी लगायतका क्षेत्रमा भित्तो काट्ने काम गरिएको थियो । उनले भने ‘अहिले सवारी नरोकेरै हामीले काम गरिरहेका छौँ ।’ निर्माण कम्पनीले सन् २०२२ को डिसेम्बरबाट काम सुरु गरेको हो । तीन वर्षभित्रमा काम सम्पन्न गर्नुपर्ने गरी सम्झौता गरिएको थियो । अहिलेसम्म २० प्रतिशत मात्र काम भएको जनाइएको छ । भित्तो काट्ने र नदीतर्फ पर्खाल लगाउने काम भइरहेको छ । कुरीनटार क्षेत्रमा कालोपत्रेका लागि बेस र सववेसको काम भइरहेको छ । मुग्लिनबाट मलेखुसम्म ३९ किलोमिटर सडक यस खण्डमा विस्तारको काम भइरहेको हो । निकै साघुरा र भित्तो काट्न एवं पर्खाल उठाउन कठिन ठाउँमा दुई लेन अर्थात नौ मिटर फराकिलो सडक बनाइँदै छ । उकालो ठाउँहरुमा तीन लेन अर्थात १२ मिटरको हुने छ । झण्डै एक दशमलब ५ किलोमिटर सडक यस्तो ठाउँमा पर्दछ । बजार क्षेत्र कुरिनटार, चरौदी, बिशालटार, चुम्लिङ्टार, मझिमटारलगायतका करिब छ किलोमिटर क्षेत्रमा चार लेन अर्थात १८ मिटर फराकीलो सडक बनाइँदै छ । मुग्लिन, बेनिघाट र मलेखु बजारमा छ लेन अर्थात २६ मिटर फराकिलो सडक बनाइँदै छ । एक किलोमिटरभन्दा बढी क्षेत्रमा फराकिलो सडक बनाउन लागिएको हो । पृथ्वी राजमार्गमा पर्ने नागढुङ्गा–मुग्लिन सडक खण्डलाई दुई भागमा विभाजन गरेर स्तरोन्नतीको काम गरिएको हो । विश्व बैंकको सहयोगमा सडक निर्माण थालिएको हो । निर्माण कम्पनीले चार अर्ब ८० करोड रुपैयाँमा ठेक्का सम्झौता गरी काम गर्दै आएको छ । संघीय राजधानी बाहिरिने र प्रवेश गर्ने प्रमुख सडक भएकाले उच्च सवारी चाप रहेको छ । समयमा काम नहुँदा सो सडक हुँदै यात्रा गर्ने यात्रुले कठिनाइ भोग्नु परेको छ ।

भूकम्पमा भत्केका विद्यालय प्रदेश सरकारले पुनर्निर्माण गर्ने

काँकेविहार । कर्णाली प्रदेश सरकारले भूकम्पबाट क्षति भएका विद्यालय तथा स्वास्थ्य सस्था पुननिर्माण गर्ने भएको छ । भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयले जाजरकोट र रुकुम पश्चिमका ती सरकारी संरचना पुननिर्माण गर्न हो । मन्त्रालयका अनुसार रुकुम पश्चिमको २७ विद्यालय र पाँच स्वास्थ्य सस्था पुन निर्माण गर्न लागिएको हो । विद्यालय भवनका लागि १९ करोड ६० लाख रुपैयाँ र पाँच स्वास्थ्य संस्था पुन निर्माणका लागि दुई करोड ४० लाख रुपैयाँ स्वीकृत भएर आएको पूर्वाधार विकास कार्यालयले जनाएको छ ।

महुली लघुवित्तले लाभांश नदिने

काठमाडौं । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण नगर्ने घोषणा गरेको छ । पुस २४ गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो । त्यस्तै, संस्थाले कम्पनीको नाफा नोक्सान, हिसाव र सोही अवधिको नगद प्रवाह विवरण स्वीकृत गर्ने लगायतका वित्तीय विवरणहरु अनुमोदनको लागि नेपाल राष्ट्र बैंकमा पेस गर्ने छ । उक्त विवरणहरु स्वीकृत भएपछि संस्थाको साधारण सभाले पारित गर्ने छ ।

विश्वव्यापी मुख्यालय विस्तार गर्दै रोल्स-रोयस, लगानी ३७० मिलियन डलर

काठमाडौं । ब्रिटिश लक्जरी कार निर्माता रोल्स-रोयस मोटरकारले आफ्नो विश्वव्यापी मुख्यालय विस्तार गरिरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । जसका लागि रोल्स रोयसले ३६९.९ मिलियन डलरभन्दा बढी लगानी गरिरहेको जनाइएको छ । आफ्ना अति-धनी ग्राहकहरूबाट अत्यधिक व्यक्तिगत मोडलहरूको बढ्दो मागलाई सम्बोधन गर्दै रोल्स रोयसले मुख्यालय विस्तार गरिरहेको हो । बीएमडब्ल्यू स्वामित्वमा रहेको रोल्स-रोयस मोटरकार अन्य लक्जरी कार ब्रान्डहरू जस्तै हालका महिनामा बेस्पोक र जटिल कार मोडलहरूको मागमा वृद्धि भएको देखिएको छ । कम्पनीले दक्षिणी इङ्गल्याण्डमा रहेको यसको गुडवुड निर्माण सुविधामा करिब ३६९.९ मिलियन डलरभन्दा बढीको लगानीले बेस्पोक र कोचबिल्ड परियोजनाहरूको लागि ठाउँ सिर्जना गर्न मद्दत गर्ने बताएको छ । कोचबिल्ड कार्यक्रम एक निमन्त्रणा-आधारित सेवा हो, जहाँ ग्राहकहरूले पूर्ण रूपमा मौलिक मोटर कार सिर्जना गर्न सक्छन् । रोल्स-रोयस मोटरकार्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) क्रिस ब्राउनरिजले भनेका छन्, ‘यो हाम्रो सबैभन्दा ठूलो वित्तीय प्रतिबद्धता हो, जसले यूकेमा हाम्रो भविष्यलाई सुरक्षित गर्दछ ।’ ‘रोल्स-रोयस एक विश्वव्यापी व्यवसाय हो,’ सीईओ ब्राउनरिजले थपे । उनले आफ्ना ग्राहकहरू विश्वका हरेक ठाउँमा भएका र उनीहरूलाई सन्तुष्ट पार्न आवश्यक रहेको बताए । सीईओ ब्राउनरिजले भने, ‘हामीसँग विश्वको हरेक कुनामा ग्राहकहरू छन् र हाम्रा ग्राहकहरूबाट थप जटिल कमिसनको मागमा भएको यो वृद्धिले हामीले सन्तुष्ट पार्न आवश्यक छ । र त्यसैले गुडवुडमा लगानी भनेको संस्थाको स्वास्थ्य देखाउने कुरा हो । तर हामी हाम्रो विकास योजनाहरूप्रति कति विश्वस्त छौं भनेर पनि देखाउँछ ।’ ‘हामीले थप उल्लेखनीय मोटर कारहरू बनाउने छाैं,’ उनले थपे । २०२४ मा रोल्स-रोयसले ५ हजार ७१२ कार बेचेको थियो, जुन २०२३ को ६ हजार ३२ को तुलनामा ५ प्रतिशत कम हो । कम्पनीले यो गिरावटलाई नयाँ मोडलहरूको स्विचओभरको कारणले भएको बताएको छ । २०२४ मा रोल्स-रोयसले चार नयाँ मोडल, जस्तै कलिनन सिरिज टू र घोस्ट सिरिज टू प्रस्तुत गरेको थियो । ग्राहकहरूलाई डेलिभर गरिएको मोटरकारहरूको संख्याको आधारमा मापन गर्दा २०२४ मा उत्तर अमेरिका सबैभन्दा ठूलो बिक्री क्षेत्र थियो । रोल्स-रोयसको सबैभन्दा लोकप्रिय मोडलहरूमा कलिनन, स्पेक्टर र घोस्ट रहेका छन् । कम्पनीले आफ्नो उत्पादन सुविधामा २ हजार ५०० भन्दा बढी कर्मचारीहरूलाई रोजगारी दिएको छ भने दैनिक रूपमा २८ कारहरू उत्पादन गर्दछ।