तीनै सरकारको एकीकृत वित्तीय विवरण : आम्दानीभन्दा साढे ५ खर्ब बढी खर्च
गत आर्थिक वर्ष २०८१/८२ को बजेट तत्कालीन अर्थमन्त्री डा. प्रकाशशरण महतले प्रस्तुत गरेका थिए । काठमाडौं । तीनै तहका सरकारको आम्दानीभन्दा बढी खर्च भएको देखिएको छ । अर्थ मन्त्रालयको तथ्याङ्कले यस्तो देखाएको हो ।गत आर्थिक वर्षमा तीनै तहका सरकारले राजस्वभन्दा साढे ५ खर्ब रुपैयाँ बढी खर्च गरेका छन् । संघ, प्रदेश र स्थानीय तहको एकीकृत वित्तीय विवरणअनुसार आव २०८१/०८२ मा तीनै तहका सरकारको कुल खर्च राजस्वभन्दा बढी देखिएको हो । उक्त आवमा तीनै तहका सरकारको कुल खर्च १६ खर्ब ८२ अर्ब ८ करोड ६६ लाख देखिएको छ । जसमध्ये चालुतर्फ ९० खर्ब ४३ अर्ब १० करोड ३३ लाख रुपैयाँ खर्च भएको छ । यस्तै, पुँजीगततर्फ ४ खर्ब ६६ अर्ब ३७ करोड ८२ लाख तथा वित्तीय व्यवस्थातर्फ २ खर्ब ७२ अर्ब ५० लाख खर्च भएको छ । जसमा स्थानीय सरकारको जम्मा खर्च ४ खर्ब २३ अर्ब ६९ करोड २ लाख खर्च भएको छ । चालुतर्फ २ खर्ब ७९ अर्ब ६८ करोड ३७ लाख खर्च भएको छ भने पुँजीगततर्फ १ खर्ब ४३ अर्ब ७५ करोड ६३ लाख खर्च भएको छ । यस्तै, वित्तीयतर्फ भने जम्मा ३५ करोड २ लाख खर्च रहेको छ । यस्तै, प्रदेश सरकारको चालुतर्फ ७२ अर्ब २ करोड ७० लाख भएको छ भने पुँजीगततर्फ १ खर्ब १२ अर्ब ८ करोड ३२ लाख भएको छ । यस्तै, वित्तीयतर्फ भने कुनै खर्च नहुँदा कुल प्रदेश सरकारको जम्मा खर्च १ खर्ब ८४ अर्ब ११ करोड २ लाख रहेको छ । यसैगरी, संघीय सरकारको चालुतर्फ यकिन खर्च ९ अर्ब २९ करोड १२ करोड ६४ लाख खर्च भएको छ। यस्तै, पुँजीगततर्फ १ खर्ब ९२ अर्ब २ करोड ७२ लाख खर्च भएको छ । वित्तीय व्यवस्थातर्फ भने जम्मा २ करोड ७२ अर्ब २४ करोड ७७ लाख समेत गरी जम्मा खर्च १३ खर्ब ९३ अर्ब ४० करोड १५ लाख गरेको प्रतिवेदनमा उल्लेख छ । जसमा उक्त आवमा तीनै तहले गरेको जम्मा राजस्वमा ११ खर्ब ४३ अर्ब १९ करोड ७९ लाख रुपैयाँ रहेको छ । यसअनुसार सरकारको खर्च र राजस्वमा साढे ५अर्ब अपुग देखिन्छ । तीनै तहका सरकारको सञ्चित कोषको अवस्था आव २०८०/०८१ मा कुल प्राप्ति १२ खर्ब ८४ अर्ब ६७ करोड ६३ लाख रहेको छ भने कुल भुक्तानी १३ खर्ब ४६ अर्ब २१ करोड १२ लाख तथा विनयदर वा अन्य समायोजन १४ अर्ब ४४ करोड ५६ लाख भएबाट यस आवको सुरुको मौज्दात समेतको समायोजनबाट आवको अन्त्यमा संघीय सञ्चित कोष २ खर्ब २८ अर्ब ३५ करोड ७६ लाखले ऋणात्मक छ । यस्तै, प्रदेशको सञ्चित कोष ५० अर्ब ९० लाख ९८ लाख धनात्मक तथा स्थानीय ६० अर्ब ५० करोड ८० लाखले धनात्मक हुँदा समग्रमा तीनै सरकारको सञ्चित कोषमा १ खर्ब १६ अर्ब ९३ करोड ९७ लाख धनात्मक रहेको प्रतिवेदनमा उल्लेख छ । यद्यपि अन्य मौज्दात समायोजन गर्दा आवको अन्तिममा एक खर्ब ३४ अर्ब १२ करोड ५१ लाख रुपैयाँ नगद तथा बैंक मौज्दात रहेको देखिएको छ । खासगरी स्थानीय तहका सञ्चित कोष र अन्य सरकारी कोषका रकम मौज्दात रहेका कारण तीनै तहको एकीकृत बाँकी नगद तथा मौज्दात धनात्मक देखिएको हो ।
लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ
काठमाडौं । देशका विभिन्न भागबाट लागुऔषधसहित २६ जना पक्राउ परेका छन् । दक्षिणकाली नगरपालिका–५ फर्पिङबाट नियन्त्रित लागुऔषध ट्रामाडोल ६ हजार ट्याब्लेटसहित रौतहट घर भएका १८ वर्षीय किशोरलाई बुधबार साँझ पक्राउ गरिएको हो । नेपालगञ्ज उपमहानगरपालिका–१६ जयसपुरबाट ब्राउनसुगर जस्तो देखिने पदार्थसहित सोही ठाउँ बस्ने २३ वर्षीय उन्तीयाज अली अन्सारी र २८ वर्षीया साहाना राईलाई पनि पक्राउ गरिएको छ । नेपालगञ्ज उपमहानगरपालिका–१३ लालापुरवाबाट कोहलपुर नगरपालिका–२ मनकामना बस्ने २६ वर्षीय शुभम अधिकारी र सोही नगरपालिका–१ कौशिलानगर बस्ने २६ वर्षीय किरण राना मगरलाई पनि खेरो हेरोइनसहित पक्राउ गरिएको केन्द्रीय प्रहरी समाचारकक्षले जनाएको छ ।
झिंगाले सरापेर डिंगा मर्दैन : प्रधानमन्त्री ओली
काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले एमालेको अस्तित्व सकिदिने भनेर लागेपनि अहिले एमालेकै नेतृत्वमा सरकार सञ्चालन भइरहेको बताएका छन् । बिहीबार एमाले पार्टी केन्द्रिय कार्यालय च्यासलमा स्ववियु निर्वाचनका सन्दर्भमा आयोजित राष्ट्रिय कार्यशालालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले एमालेलाई भित्तामा टाँसिदिने जस्ता अभिव्यक्ति दिनेहरुलाई पन्छाएर एमाले देशमा जनताले सबैभन्दा धेरै मन पराएको राजनीतिक दल रहेको बताए । आफू एउटा इमान्दारिताका साथ काम गर्ने व्यक्ति भएको बताए । झिंगाले सरापेर डिंगा नमर्ने भन्दै अरुले सरापेर एमाले नसकिने टिप्पणी गरे । ‘एमालेलाई मार्छौं, सिध्याउँछौँ भने, उधुम कराए, कोही भाला लिएका छन्, कोही के बोकेका छन् । त्यस्तो गरेर कराए । यो चुनावपछि एमाले टर्च लाइट बालेर खोज्दा एमाले भेटिँदैन भने’, उनले भने । प्रधानमन्त्री ओलीले युवा शक्ति एमालेसँग छ की छैन भन्नेकुरा फागुन १५ को अनेरास्ववियुको निर्वाचनबाट देखाउनुपर्ने बताए । उनले प्रचारबाजी र भ्रम लामो समयसम्म टिक्न नसक्ने जानकारी दिए ।
नेशनल लाइफका ४०० बढी अभिकर्ताले लिए इन्स्योरेन्स इस्टिच्युट अफ इण्डियाबाट प्राविधिक प्रशिक्षण
काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना अभिकर्ताहरू र मार्केटिङ कर्मचारीहरूलाई इन्स्योरेन्स इन्स्टिच्युट अफ इण्डिया, कलेज अफ इन्स्योरेन्सका भिजिटिङ फ्याकल्टी मेम्बरहरूमार्फत कोलकातामा विविध विषयमा तालिम प्रदान गरेको छ । तोकिएको लक्ष्य पूरा गरी नेपालभरबाट तालिम कार्यक्रममा सहभागी हुन योग्य भएका अभिकर्ताहरू र मार्केटिङ कर्मचारीहरूलाई कम्पनीले कोलकातामा तालिम प्रदान गरेको हो । कलेज अफ इन्स्योरेन्सका प्रिन्सिपल बीके नायकको सभापतित्वमा सम्पन्न तालिममा अन्य भिजिटिङ फ्याकल्टी मेम्बरहरू जे सेन, मिहिर गोस्वामी, अनिरवन शाहलगायतले विभिन्न विषयमा प्रशिक्षण प्रदान गरेका थिए । कलेजका प्रिन्सिपल बीके नायकले कार्यक्रमको औपचारिक उद्घाटन गर्दै तालिमका सहभागीहरूलाई स्वागत गरेका थिए । उनले यति धेरै अभिकर्ताहरूलाई नेपालबाट इण्डियासम्म ल्याएर व्यवस्थित तरिकाले प्रशिक्षणमा सहभागी गराई प्रशिक्षण प्रदान गर्ने अवसर दिएकामा कम्पनीलाई धन्यवाद ज्ञापन गरे । कार्यक्रममा प्रशिक्षक मिहिर गोस्वामीले इनोभेटिभ प्रोस्पेटिङ सम्बन्धमा प्रशिक्षण प्रदान गरेका थिए । उनले विभिन्न उदाहरण प्रस्तुत गर्दै नवीन सोच लिई अगाडि बढेमा बीमा व्यवसायमा सफलता प्राप्त हुने बताए । यसैगरी अर्का प्रशिक्षक अनिरवन शाहले बिजनेस कन्ट्युनिटी साइकलका सम्बन्धमा प्रशिक्षण प्रदान गरेका थिए । उनले अभिकर्ताले ग्राहकहरूको रूचि, व्यवसाय, पारिवारिक अवस्था, आम्दानीलाई ख्याल गरी बीमा बिक्री गर्ने र बिक्रीपश्चात् पनि आफ्ना ग्राहकहरूसँग सधैं सम्बन्ध प्रगाढ राखेमा व्यवसायले निरन्तरता प्राप्त गर्न सक्ने विषयमा विभिन्न उदाहरण प्रस्तुत गर्दै प्रशिक्षण प्रदान गरेका थिए । कम्पनीका बजार विभाग प्रमुख विवेक शर्मा र एजेन्सी विभाग प्रमुख सुशीलप्रताप राणाको नेतृत्वमा प्रशिक्षणमा सहभागी भएका करिब ४०० जनाभन्दा बढी अभिकर्ताहरू र कम्पनीका मार्केटिङ कर्मचारीहरूलाई कलेजका प्रिन्सिपल एवं प्रशिक्षकहरूले तालिमको प्रमाणपत्र वितरण गरेका थिए । बीमा जगतमा प्रतिष्ठित संस्था इन्स्योरेन्स इन्स्टिच्युट अफ इण्डियाको तालिममा सहभागी भई तालिम प्रमाणपत्र प्राप्त गर्नु एउटा ठूलो अवसर भएको र यो अवसर जुराइदिएकामा कम्पनीप्रति आभारी रहेको सहभागी अभिकर्ताहरूले बताएका थिए ।
चीनको विद्युतीय गाडीको बिक्रीमा ४०.७ प्रतिशतले वृद्धि
काठमाडौं । विश्वमा नवीकरणीय उर्जाबाट चल्ने गाडीको माग बढ्दै गएपछि चीनमा गत वर्ष विद्युतीय र हाइब्रिड सवारी साधनको बिक्री ४० प्रतिशतभन्दा बढीले बढेको छ । चाइना प्यासेन्जर कार एसोसिएसन (सीपीसीए) ले बिहीबार जानकारी गराएअनुसार ‘सन् २०२४ को जनवरीदेखि डिसेम्बरसम्ममा एक करोड आठ लाख ९९ हजार वटा विद्युतीय गाडीको खुद्रा बिक्री भएको छ । हालैका वर्षहरूमा बेइजिङको उदार अनुदानबाट प्रेरित चिनियाँ विद्युतीय सवारीसाधनको बजारले व्यापक वृद्धि पाएको छ । सीपीसीएका अनुसार गत वर्ष कूल खुद्रा बिक्रीको करिब आधा अर्थात् ४७.६ प्रतिशत हिस्सा विद्युतीय गाडीले ओगटेको थियो । सीपीसीएको तथ्याङ्कअनुसार डिसेम्बरमा यस्ता गाडीको बिक्री सङ्ख्या १३ लाख भन्दा बढी पुगेको छ । यो वर्षभरीको तुलनामा ३७.५ प्रतिशतले बढी हो र यो लगातार पाँचौं महिना १० लाखभन्दा बढीको बिक्री हो । विश्वको सबैभन्दा ठूलो अटोमोटिभ बजार चीनमा घरेलु कार निर्माताहरूबीच कडा प्रतिस्पर्धा देखिएको छ । चिनियाँ बजारमा बीवाईडीले अन्य कारको तुलनामा व्यापक बजार पाएको छ । शेन्जेनस्थित कम्पनीले सन् २०२४ मा विश्वभर ४० लाखभन्दा बढी गाडी बिक्री गरेको थियो ।
नागरिकका गुनासा सुन्न स्वास्थ्यमन्त्रीले स्थापना गरेको हेल्लो हेल्थद्वारा १३० गुनासो सम्बोधन
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सञ्चालन गरेको गुनासो सुनुवाइ एकाइ हेल्लो हेल्थले एक सय ३० गुनासो सम्बोधन गरेको छ । नागरिकबाट प्राप्त ती गुनासाहरु रेकर्ड गरेर आवश्यकताका आधारमा तत्काल तथा नीतिगत सुधारक विषय मन्त्रालयमा रिपोर्टिङ गरिएको एकाइ प्रमुख डाक्टर अनुप बास्तोलाले बताए । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले मन्त्रालय मातहत तथा समग्रमा स्वास्थ्य क्षेत्रमा देखिएका समस्या संकलन तथा समाधान गर्ने उद्देश्यले गत महिना एकाइ गठन गर्ने निर्णय गरेका थिए । पैसा नलाग्ने नम्बर १११५ तथा मन्त्रालयको ह्वाट्सएप र भाइबर नम्बर ९८५१३३०५९२ का साथै मन्त्रालयको आधिकारिक फेसबुक र एक्स ह्याण्डलमा गएर सेवा सम्बन्धमा गुनासो तथा जानकारी दुवै लिने प्रबन्ध गरिएको छ । एकाइमा गत पुष ९ गतेसम्म प्राप्त विवरण अनुसार सबैभन्दा धेरै गुनासा अस्पताल सेवासँग सम्बन्धित ४१ दर्ता भएका छन् । यसैगरी बिमा सेवा २५, पारिश्रमिकसम्बन्धी १४, प्रशासनिक १५, पारिश्रमिकसँग सम्बन्धित १४ गुनासा दर्ता भएका छन् । सुझाव सम्बन्धी ८ तथा अन्य २१ गुनासा दर्ता भएकामा आवश्यकताअनुसार तत्काल तथा प्राथमिकता दिएर सम्बोधन गरिएको एकाइ प्रमुख बास्तोलाले जानकारी दिए । मन्त्री पौडेलले आम नागरिकको चाहनाअनुसार स्वास्थ्य सेवा सुधार गर्ने क्रममा गुनासो सुन्दै सुनुवाइसमेत गर्ने गरी आवश्यक परे नीतिसम्बन्धी सुधार समेत गर्न सक्ने उद्देश्यले एकाइ गठन गरिएको बताए । आम नागरिकलाई आफ्ना गुनासा भन्ने ठाउँ उपलब्ध होस् भनेर एकाइ गठन गरिएको हो, उनले भने, आएका गुनासा हरसम्भव सम्बोधनको प्रयास भैरहेको छ । तपाईंका गुनासा निर्धक्कसँग राख्नुस् । उनले नागरिकका धेरै समस्या परेका विषय नीतिगत सुधार आवश्यक परे गर्न तयार रहेको पनि बताए ।
१८ अंकले घटेको सेयर बजारमा ७ अर्ब बढीको कारोबार
काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार दोहोरो अंकले घटेको छ । आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १८.१४ अंकले घटेर २६३५.०९ बिन्दुमा झरेको छ । नेप्सेका अनुसार ५५ कम्पनीको सेयर मूल्य बढ्दा १८० कम्पनीको सेयर मूल्य घटेको छ । ७ कम्पनीको सेयर मूल्यमा भने कुनै परिवर्तन आएको छैन । बिहीबार ३०८ कम्पनीको १ करोड ५७ कित्ता सेयर किनबेच हुँदा ७ अर्ब ३० करोड रुपैयाँ बढीको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार सुपर म्यादी हाइड्रोपावरको भएको छ । सुपरको ४४ करोड ८८ लाख रुपैयाँ बढीको कारोबार भएको छ । साथै, सीनर्जी पावर डेभलपमेन्टको २८ करोड ३२ लाख, सीन्धु विकास बैंकको २५ करोड २४ लाख, हिमालयन पावर पाटनरको १९ करोड ८५ लाख र एनआरएन इन्फ्राइस्ट्रक्चरको १७ करोड ५३ लाख रुपैयाँ बढीको कारोबार भएको छ । आज बाराही हाइड्रोपावर र हिमालयन पावर पार्टनरको सेयर मूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको नेप्सेले जनाएको छ ।
गाउँको सरकारी विद्यालय : जहाँ शहरका विद्यार्थी पढ्न आउँछन्
बागलुङ । बसाइँसराइका कारण बागलुङका कयौं ग्रामीण बस्ती उजाडिँदै गएका छन् । गुणस्तरी शिक्षा, स्वास्थ्यलगायतका सुविधा खोज्दै बजार झर्नेको अहिले पनि लर्को नै चलेको छ । स्थानीय सरकारले नागरिकको आधारभूत आवश्यकतालाई परिपूर्ति गर्न नसक्दा गाउँ रित्तिने अवस्थामा पुगेका हुन् । गाउँमा जनसङ्ख्या खट्दै गएपछि विद्यालयमा विद्यार्थीसमेत घट्दै गएका छन् तर जिल्लाको बागलुङ नगरपालिका–१४ नारायणस्थानस्थित गणेश माध्यामिक विद्यालयमा भने त्यसको कुनै असर परेको छैन । बरु बजारबाट विद्यार्थी गाउँको विद्यालयमा पढ्न आउँछन् । पर्वत जिल्ला सदरमुकाम कुश्मा बजार नजिक पर्ने गणेश माविमा विद्यार्थीको चाप बढ्दो छ । बजारका निजी विद्यालय छोडेर गाउँमा आउने विद्यार्थीले यस विद्यालयको गरिमालाई थप बढाएको छ । यस विद्यालयमा झण्डै एक सय बढी विद्यार्थीहरू अहिले अन्य जिल्लाबाट आएर अध्ययनका गरिरहेका छन् । नारायणस्थान गाउँका विद्यार्थीले मात्रै नभई अन्य ठाउँबाट पढ्न आएका बालबालिकाले गणेश माविमा चाप बढेको हो । गत वर्षको तुलनामा यस वर्ष करिब ३५ विद्यार्थी कम छन् । यद्यपि चाप भने उस्तै छ । आर्थिक वर्ष २०८१/८१ मा यस विद्यालयमा ७५० विद्यार्थी अध्ययनरत रहेकोमा चालु वर्ष ७१५ जना छन् । कक्षा कोठा अभाव हुँदा कक्षा ११ र १२ बिहानमा सञ्चालन गर्नुपरेको रिजालले बताए । पुस्तकालयको अभाव हुँदा बालबालिकालाई चाहे अनुसार सुविधा दिन नसकेको उनको भनाइ छ । हाल कक्षा ११ र १२ मा ६५ जना विद्यार्थी अध्ययनरत छन् । हरेक वर्ष नारायणस्थानभन्दा बाहिर ठाउँबाट आउने विद्यार्थीको सङ्ख्या बढेको विद्यालयले जनाएको छ । विद्यालयले शैक्षिक गुणस्तर बढाउन थालेपछि तीन वर्षयता ३०० जना विद्यार्थी निजी विद्यालय छोडेर यहाँ आएका छन् । पछिल्लो समय गाउँका विद्यार्थीको आकर्षण शहरका निजी विद्यालयमा भए पनि यहाँ कुश्माको शहरबाट अध्ययन गर्ने बढिरहेका छन् । सहजरुपमा शिक्षण सिकाइ गर्नका लागि १५ बढी विद्यार्थी भएको कक्षामा ‘सेक्सन’ छुट्टाएर पठनपाठन गराउँदै आएको छ । अङ्ग्रेजी माध्यमबाट पढाइ हुने भएकाले पनि निजी विद्यालयबाट यहाँ विद्यार्थीको आकर्षण बढेको हो । विद्यालयको शैक्षिक गुणस्तर समेत गण्डकी प्रदेशमा नै अब्बल मानिदै आएको छ । यस विद्यालय आव २०७६÷७७ मा नेपाल सरकारको नमुना विद्यालयमा छनोट भएको थियो । विद्यालयले बिदा कटौती गर्दा विद्यार्थी नियमित विद्यालय आउने गरेका छन्। विद्यालयमा विद्यार्थीको सङ्ख्या बढेसँगै शैक्षिक गुणस्तरमा पनि जोड दिइएको विद्यालयका प्रधानाध्यापक एकनाथ रिजालले बताए । विद्यालयले शनिबारबाहेक दशैँमा १० दिन र तिहारमा एक साता मात्रै बिदा गर्ने गरेको उनको भनाइ छ । विद्यालयले एसइइसहित अन्य परीक्षामा शतप्रतिशत नतिजा प्राप्त गर्ने हुँदा अन्य विद्यालयबाट आउने विद्यार्थीको आकर्षण बढेको रिजालले बताए । उनका अनुसार छिमेकी जिल्ला पर्वतको कुश्मा बजारबाट दैनिक दर्जनौँ विद्यार्थी झोलुङ्गे पुल र यान्त्रीक पुल तरेर यहाँ पढ्न आउने गर्दछन् । पर्वत मात्र नभई पोखरा, बागलुङको जैमिनी नगरपालिका, काठेखोला गाउँपालिका, बरेङ गाउँपालिकादेखि विद्यार्थीहरु यस विद्यालयमा आउने गर्दछन् । यस विद्यालयमा निःशुल्क होस्टेलको सुविधा छ भने यहाँ बस्ने विद्यार्थीले खानाको मात्रै शुल्क तिरे पुग्छ । अहिले १५० जना विद्यार्थीले आवासीय सुविधा लिएर अध्ययन गरिरहेका छन् । शिक्षक, कर्मचारी र यस ठाउँको समुदायले विद्यालयप्रति निकै चासो दिएकाले गर्दा विद्यार्थीको आकर्षण बढेको छ । यस ठाउँबाट धेरै मानिस बसाइँसराइ गरेर बाहिर गए पनि छिमेकी गाउँहरुबाट आउने सङ्ख्या बढी हुँदा विद्यार्थीको सङ्ख्यामा कमी छैन । टाढाका विद्यार्थी ल्याउनका लागि विद्यालयले स्कुल बस सञ्चालनमा ल्याएको छ । गरिब विद्यार्थीलाई निःशुल्क आवासीय सुविधासमेत दिइएको छ । नेपाल सरकारको नमुना विद्यालयमा छनोट गरेपछि आव २०७८/७९ देखि पाँच वर्षसम्म सात करोड ५० लाख रुपैयाँ बजेट कार्यान्वयनको चरणमा रहेको विद्यालयले जनाएको छ । विद्यालयले १५ वर्षअघि अङ्ग्रेजी माध्यममा अध्यापन थालेपछि विद्यार्थीको आकर्षण बढ्दै गएको थियो । अहिले विद्यालयमा भौतिक संरचनाको अभाव रहेको छ । नमुना विद्यालय अनुदान कार्यक्रमअन्तर्गत पाँच वर्षमा आउने सात करोड ५० लाख मध्ये पाँच करोड भौतिक पूर्वाधार तथा दुई करोड ५० लाख शैक्षक गुणस्तरमा खर्च गर्न थालिएको छ । विसं २०३७ सालमा स्थापना भएको विद्यालयमा कक्षा चारदेखि अनिवार्य कम्प्युटर शिक्षा, विज्ञान प्रयोगशाला लगायतका अतिरिक्त कक्षासमेत सञ्चालनमा छन् । १८ जना दरबन्दीका शिक्षक रहेको विद्यालयमा अन्य शिक्षक तथा कर्मचारी गरी ५० जना कार्यरत रहेका छन् । दरबन्दी बाहेकका शिक्षक तथा कर्मचारीलाई निजी स्रोतबाट तलब खुवाइएको अध्यक्ष विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बालमुकुन्द शर्माले बताए । विद्यार्थीमैत्री शिक्षण सिकाइ, अङ्ग्रेजी माध्यममा पढाइ, कम्प्युटर कक्षा, विविध सिर्जनात्मक शैली र अभ्याससहित पठनपाठन, सुविधा सम्पन्न पुस्तकालय अतिरिक्त कक्षा तथा क्रियाकलाप र चुस्त व्यवस्थापनका कारण गणेश मावि देशकै नमुना विद्यालयको रूपमा स्थापित अध्यक्ष शर्मा दाबी गर्छन् । यस विद्यालयमा ‘बोर्डिङ स्कूल’मा भन्दा राम्रो पढाइ हुने हुँदा कुश्माबाट आएर पढ्ने गरेको कक्षा ८ मा अध्ययनरत छात्र अंकित खत्रीले बताए । दूरीका हिसाबले गशेण माविमा आउन एक घण्टा बढी लाग्ने भए पनि शिक्षण सिकाइ राम्रो हुने हुँदा आफू बजारमा नपढेर गाउँको विद्यालयमा आएको उनको भनाइ छ । विद्यालयको वातावरणसमेत पढ्नका लागि निकै अनुकल रहेको सुनाउँदै परियारले यसभन्दा माथिल्लो कक्षा पनि यहीँबाटै उत्तीर्ण गर्ने बताउँछन् । बागलुङ नगरपालिकाले आगमी पौस मसान्तभित्र बालमैत्री नगर घोषणा गर्न थालेको छ । त्यसअघि नै यस विद्यालय बालमैत्री बनिसकेको छ । विद्यालयमा पढाइ राम्रो हुने हुँदा अन्य जिल्ला र पालिकाबाट अभिभावकले कोठा भाडामा लिएर आफ्ना छोराछोरीसमेत पढाउने गरेका छन् । रासस