विकासन्युज

अर्थतन्त्रलाई सबल बनाउन सरकारले ध्यान दिएको छ : प्रधानमन्त्री

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघसहित निजी क्षेत्रका संंघ–संस्थाले हालै जारी भएका अध्यादेशले मुलुकमा लगानी र व्यवसायको वातावरण अभिवृद्धि हुने जनाउँदै नेपाल सरकारलाई धन्यवाद दिएका छन् । प्रधानमन्त्री निवास, बालुवाटारमा बुधबार प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल, गृहमन्त्री रमेश लेखकसहित अन्य मन्त्रीको उपस्थितिमा महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल, नेपाल उद्योग परिसंघका अध्यक्ष राजेशकुमार अग्रवाल, नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष कमलेश अग्रवाल, नेपाल उद्योग तथा व्यावसायी महासंघका अध्यक्ष भगीरथ सापकोटाले अध्यादेशमा भएका लगानी र व्यवसायसम्बन्धी विषय स्वागतयोग्य छन् भने । निजी क्षेत्रका प्रतिनिधिले कोभिड–१९ पछि सङ्कुचित अर्थतन्त्रलाई उकास्न यी अध्यादेश प्रभावकारी हुने भएकाले तिनको कार्यान्वयनमा यथाशक्य उपयुक्त नियमावली र कार्यविधि ल्याउन माग गरे । उनीहरुले अध्यादेशका ती व्यवस्थाका कारण निजी क्षेत्रमा नयाँ रक्त सञ्चार हुने जनाउँदै लगानीमैत्री वातावरण सृजना यही ढङ्गले भएमा समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पूरा हुन योगदान मिल्ने बताए । सरकारको सिफारिसमा राष्ट्रपतिबाट गत पुस २९ गते विभिन्न चार अध्यादेश जारी भएकाले थिए भने भूमी व्यवस्थासम्बन्धी अध्यादेश चाँडै जारी हुने क्रममा रहेको छ । कार्यक्रममा प्रधानमन्त्री ओलीले राम्रो काम गर्ने सरकारको सदासयतालाई सकारात्मकरुपमा लिइदिएकामा खुसी व्यक्त गर्दै सरकार ढल्दैछ भन्नेर बजार हल्ला लाइएपनि सत्ता गठबन्धनमा रहेका दल आपसमा बसेर देश बनाउने नीति निर्माणमा प्रभावकारी ढंगले कदम चालिरहेको स्पष्ट गरे । प्रधानमन्त्री ओलीले देश बनाऔँ भन्ने भावना सबैमा रहेको हुँदा आफ्ना स्वार्थका लागि जतिबेला पनि विरोध गर्नेबाहेक आम मान्छेले विकास र सुशासन चाहेको बताए । सुशासन, विकाससँग सम्बन्धित व्यावहारिक र अनुकूल नीति ल्याइएमा समृद्धि असम्भव नहुने उनले बताए ।

ऋणमा डुबेको अमेरिकामा थप तनाव, २०२४ मा ६९४ कम्पनी टाट पल्टिए

काठमाडौं । विश्वको सबैभन्दा ठूलो अर्थतन्त्र भएको देश अमेरिकामा गत वर्ष अर्थात् २०२४ मा ६९४ ठूला कम्पनीहरू टाट पल्टिएका छन् । जुन २०१० पछिको सबैभन्दा उच्च हो । गत दुई वर्षमा टाट पल्टिने कम्पनीहरूको संख्या ८७ प्रतिशतले बढेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । आधिकारिक रूपमा यो स्तर २०२० देखि बढेको हो । त्यसपछि कोरोना अवधिमा ६३८ कम्पनीहरू टाट पल्टिए । गत वर्ष गैरआवश्यक वस्तु र सेवा क्षेत्रले सबैभन्दा ठूलो क्षति बेहोरेको थियो । सन् २०२४ मा यस क्षेत्रका १०९ कम्पनीहरू टाट पल्टिएका छन् । यसपछि औद्योगिक क्षेत्रका ९० कम्पनीहरू र स्वास्थ्य सेवा क्षेत्रका ६५ कम्पनीहरू टाट पल्टिए । मुद्रास्फीति र उच्च ब्याजदरका कारण कम्पनीहरूको अवस्था खराब छ । यस वर्ष फेड रिजर्भले ब्याजदर घटाउने सम्भावना कम छ । मुद्रास्फीतिको पुनरुत्थान र दीर्घकालीन उच्च ब्याजदरले यस वर्ष धेरै कम्पनीहरूलाई समस्यामा पार्न सक्छ । आगलागीले तनाव क्यालिफोर्नियामा लागेको आगलागीका कारण बीमा, विद्युत् लगायतका क्षेत्रका कम्पनीहरू टाट पल्टिने सम्भावना बढेको छ । यसलाई अमेरिकाको इतिहासमा सबैभन्दा भीषण आगलागी मानिएको छ । यसका कारण कम्तीमा २५ जनाको मृत्यु भएको छ र हजारौं घरहरूमा क्षति पुगेको छ । आगलागीले घाटा १५० अर्ब डलरभन्दा बढी हुने अनुमान गरिएको छ । यसबाट बीमा कम्पनीहरूले सबैभन्दा बढी नोक्सानी बेहोर्ने सम्भावना छ। आगलागीपछि उनीहरूको बजार पूँजीकरण १९ अर्ब डलरले घटेको छ । ऋणमा झन् बेहाल अमेरिका अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) र अमेरिकी ट्रेजरीको तथ्याङ्कअनुसार अमेरिकाको ऋण ३६ ट्रिलियन डलर पुगेको छ, जुन कुल गार्हस्थ उत्पादनको करिब १२५ प्रतिशत हो । विश्वको कुल ऋणको ३४.६ प्रतिशत हिस्सा अमेरिकाले ओगटेको छ । यो ऋणको ब्याज तिर्न खर्च हुने रकम देशको रक्षा र स्वास्थ्य बजेटभन्दा बढी हुने अवस्था आएको छ । अब ब्याज रकमभन्दा सामाजिक सुरक्षा बजेटमात्रै बढी छ । यदि यो अवस्था जारी रह्यो भने आगामी तीन वर्षमा अमेरिकी सरकारको सबैभन्दा ठूलो दायित्व ब्याज हुनेछ । ब्युरो अफ इकोनोमिक एनालिसिसको तथ्यांकअनुसार अमेरिकी सरकारको राजस्वको १८ प्रतिशत ऋणको ब्याज तिर्नमात्रै जाने गरेको छ । यो ३० वर्षयताकै उच्च हो । पछिल्लो २४ वर्षमा अमेरिकाको ऋण ६ गुणा बढेको छ । कोरोना महामारी सुरु भएयता अमेरिकाको ऋण १६ ट्रिलियन डलरले बढेको छ । अमेरिकाको इतिहासमा सरकारले यति धेरै ऋण पहिला कहिल्यै लिनुपरेको थिएन । पछिल्लो २४ वर्षमा अमेरिकाको ऋण ६ गुणा बढेको छ । सन् २००० मा अमेरिकाको ऋण ५.७ ट्रिलियन डलर थियो । यो २०१० मा १२.३ ट्रिलियन र २०२० मा २३.२ ट्रिलियन थियो । यूएस कंग्रेसको बजेट कागजातअनुसार आगामी दशकसम्म देशको ऋण ५४ ट्रिलियन डलर पुग्ने अनुमान गरिएको छ । अमेरिकाले दैनिक १ अर्ब ८ करोड डलरभन्दा बढी ब्याज तिर्न खर्च गर्नुपर्ने अवस्था आएको छ । यसले सरकारको आम्दानी घटेको र खर्च बढेको स्पष्ट देखाउँछ । अर्थतन्त्र ध्वस्त हुनसक्ने अमेरिकाको अर्थतन्त्र र राष्ट्रिय सुरक्षाका लागि यति धेरै ऋण राम्रो कुरा नभएको विज्ञहरू बताउँछन् । अबको केही वर्षमा अमेरिकाको ऋण-जीडीपी अनुपात २०० प्रतिशत पुग्न सक्ने अनुमान गरिएको छ । अर्थात् देशको ऋण अर्थतन्त्रको दोब्बर पुग्नेछ । यदि यस्तो भयो भने ऋण चुक्ता हुनेबित्तिकै अमेरिकाको अर्थतन्त्र ध्वस्त हुनेछ । जसका कारण सरकारले अनुसन्धान तथा विकास, पूर्वाधार र शिक्षामा कूल खर्चभन्दा ब्याज तिर्न बढी खर्च गर्नुपर्नेछ । देशको अर्थतन्त्र राम्रो अवस्थामा रहेका बेला ऋण बढ्नु चिन्ताको विषय हो । सामान्यतया अर्थतन्त्र कमजोर हुँदा सरकारले आर्थिक वृद्धि बढाउन खर्च बढाउँछ । बढ्दो ऋणका कारण रिपब्लिकन र डेमोक्र्याट दुवै पार्टीबीच प्रायः विवाद हुन्छ । तर सत्य यो हो कि दुवै पार्टीको कार्यकालमा देशको ऋण बढेको छ । यसको असर देशको क्रेडिट रेटिङमा पनि देखिन थालेको छ । गत वर्ष अगस्टमा फिचले अमेरिकाको सार्वभौम ऋणको रेटिङ ‘डबल ए प्लस’ (एए +) बाट घटाएर ‘त्रिपल ए’ (एएए) गरेको थियो । मुडीजले पनि अमेरिकाको एएए कटौती गर्न सक्ने चेतावनी दिएको थियो ।

७० वर्षमाथिका खोटाङका पत्रकारलाई पेन्सनको व्यवस्था हुँदै

खोटाङ । नेपाल पत्रकार महासंघ खोटाङ शाखाले ७० वर्षमाथिका पत्रकारलाई पेन्सनको व्यवस्था गर्न ‘पत्रकार पेन्सन कोष’ स्थापना गर्ने निर्णय गरेको छ । शाखाको जिल्ला कार्यसमितिको मंगलबारको पूर्ण बैठकले पत्रकारलाई कोष खडा गरेर जिल्लाका पत्रकारलाई पेन्सन रकम प्रदान गर्ने निर्णय गरेको हो । जिल्लामा क्रियाशील पत्रकारहरुलाई पत्रकारिता पेशामा टिकाइ राख्न ७० वर्षभन्दा माथिका पत्रकारहरुलाई पेन्सनको व्यवस्था गर्ने उद्देश्यले पेन्सन कोष स्थापना गर्ने निर्णय भएको महासंघ खोटाङका अध्यक्ष हरिवोल आचार्यले बताए । पेन्सन कोष सञ्चालन कार्यविधि निर्माण गर्न महासंघ खोटाङ शाखाका तीन पूर्वअध्यक्षहरुलाई जिम्मेवारी दिने निर्णय भएको उनले जानकारी दिए ।

चिकित्सा र व्यवस्थापनमा अब्बल डा. मीना

काठमाडौं । जन्मँदै आँखा देख्न नसक्ने होस् या अन्य कारण बीचमा संसार देख्न छोडेकालाई होस् । म उनीहरूको सेवा गर्छु, यो सुन्दर संसार देख्न सक्ने बनाउँछु भन्ने न उनको चाहना थियो, न सपना । उनलाई मात्र लाग्थ्यो पढेर आफै कमाउने हुनुपर्छ । बस्, यही चाहनाले उनलाई कमाउन सक्ने मात्र होइन, हजारौं पीडामा परेका र संसार देख्न नसकेकाहरूलाई पनि देखाउन सक्ने चिकित्सक बनायो । इन्जिनियरसम्म भए पनि हुन्छ  तर, आफै कमाउन सक्ने हुनुपर्छ स्कुल पढ्दै लाग्थ्यो । अहिले तिनै मीनाले एउटा अस्पतालको नेतृत्व नै सम्हालेकी छन् ।  एउटा चिकित्सकलाई जति बिरामीसँग नजिक हुन आनन्द लाग्छ, अझ भनौं बिरामीको उपचारमा रमाइलो लाग्छ । त्यति व्यवस्थापनको जिम्मेवारी सम्हाल्न रमाइलो लाग्दैन ।   तर, अहिले मीना बिरामीको उपचारसँगै अस्पतालको व्यवस्थापकीय जिम्मेवारी सम्हालिरहेकी छन् । मीना अर्थात् काठमाडौंको बलम्बुमा रहेको एपीएफ अस्पतालका उपप्रमुख प्रहरी वरिष्ठ उपरीक्षक(एसएसपी) तथा आँखारोग विशेषज्ञ । डा. मीना कुँवरको आत्माले अहिले पनि बिरामी हेर्न नै रुचाउँछ । किनकि उनी एक चिकित्सक हुन् । उनका लागि व्यवस्थापनको पाटो निकै चुनौती हो । तर उनी अहिले यसैमा रमाइरहेकी छन् । उनी भन्छिन्, ‘मैले पढेको जानेको विषय हो उपचार, अप्रेसन । तर व्यवस्थापन होइन, मलाई चुनौतीसँग अघि बढ्न मजा लाग्छ । म जति मेडिकल फिल्डमा रमाएकी छु, अहिले यसमा पनि यसरी नै रमाइरहेकी छु ।’  जब मीना अस्पतालको उपनिर्देशक बनिन्, उनको कामको तौर-तरिका बदलियो । अस्पताल आउने उपचार गर्ने जाने गर्ने दैनिकी भन्दा अस्पताल प्रशासन, कर्मचारीको व्यवस्थापनमा लाग्नुपर्‍यो ।  जब अस्पतालको व्यवस्थापकीय पक्षमा काम सुरु गरिन् उनलाई लाग्यो मैले अहिलेसम्म  मेडिकल साइन्समात्र पढेकी रहेछु, लाइफ साइन्स त पढिएकै रहेनछ नि । ‘यु आर म्यानेजिङ योर एभ्रिथिङ लाइफ, दिस इज मोर च्यालेन्जिङ,’ उनी थप्छन्, ‘मेडिकल भनेको सानो फिल्ड हो, व्यवस्थापन ठूलो क्षेत्र रहेछ, आखिर सबै चिज व्यवस्थापनबाटै सुरु भएर व्यवस्थापनबाटै अन्त्य हुन्छ यो मलाई रमाइलो  पनि लागिरहेको छ र एकदम चुनौतीपूर्ण पनि लागिरहेको छ ।’ व्यवस्थापनसँगै उनी अहिले उपचारको काम पनि व्यस्त हुन्छिन् । उनी अहिले पनि औसतमा १०/१२ जना बिरामी हेर्छिन् भने सर्जरी पनि गर्छिन् ।  मीनाको मेडिकल यात्रा डा. मीनाको जन्म काभ्रेपलाञ्चोकको पनौतीमा भएको हाे । उनी ५ जना दिदीभाइमध्ये सबैभन्दा जेठी हुन् । उनी जन्मेको डेढ वर्षपछि बुवाले उनलाई आफूसँगै काठमाडौं ल्याए । उनकी आमा पनौतीमै बस्थिन् । बुवा काठमाडौंमा व्यापार गर्थे । उनलाई पनौतीको त्यति सम्झना छैन । उनी बुवासँग बसेर काठमाडौंमा पढ्न थालिन् । उनले कक्षा  ५ सम्म लेबोरोटरी स्कुलमा पढिन् । त्यसपछि उनको बास होस्टेलमा भयो । उनी भन्छिन्, ‘आमा गाउँमा हुनुहन्थ्यो, बुवा पनि काममा व्यस्त, कहिले काठमाडौं, कहिले बाहिर जानुपर्दा मैले होस्टेलमै बस्नुपर्‍यो ।’ उनी ८ कक्षासम्म होस्टेलमै बसेर पढिन् । उनले एसएलसी भने सिद्धार्थ बनस्थली स्कुलबाट दिइन् । एसएलसीपछि उनी नेपाल साइन्स कलेजमा भर्ना भइन् । प्लसटु पास भएपछि उनी एमबीबीएस अध्ययन गर्न रसिया गइन् । एमबीबीएस गरेर मीना नेपाल फर्किन् । नेपाल फर्किसकेपछि उनले करिब एक वर्ष एउटा आइएनजीओमा काम गरिन् । उनलाई आइएनजीओभन्दा अस्पतालमा काम गर्नुपर्छ भन्ने लाग्यो । त्यसपछि उनले निजी अस्पतालमा काम सुरु गरिन् । करिब २ वर्ष उनले नेपाल मेडिकल कलेज, कोरियन हस्पिटल, नर्सिङ होममा काम गरिन् । उनलाई फौजी क्षेत्रमा काम गर्नुपर्छ भन्ने प्रेसर आयो । ‘मेरो परिवार र आफन्तहरू यो क्षेत्रमा धेरै हुनुहुन्थ्यो,’ मीना भन्छिन्, ‘मलाई पनि यही क्षेत्रमा राम्रो हुन्छ भन्ने कुरा आयो, मैले पनि लौ न त भन्दै प्रयास गरें । ठ्याक्कै एकैपटक नाम निकाल्न सफल भएँ, जे होस् रमाइलो भइरहेको छ ।’  उनका श्रीमान अमित जोशी पनि डाक्टर हुन् । उनी हाडजोर्नी रोग विशषज्ञको रूपमा अहिले बीएण्डबी अस्पतालमा कार्यरत छन् । मीनाकी एउटी ११ वर्षकी छोरी छिन् । उनका बुवाले छोरी पढेर डाक्टर बनोस् भन्ने चाहेका थिएनन् । किनकि डाक्टर हुँदा गाह्रो हुन्छ, राति पनि काम गर्नुपर्छ, छोरीलाई दुःख हुन्छ भन्ने लाग्थ्यो । उनलाई छोरी पाइलट भएको हेर्ने इच्छा थियो । तर, उनलाई यसमा रुचि थिएन बरु इन्जिनियर भए पनि राम्रै हो भन्ने लाग्थ्यो । भन्छिन्, ‘बुवाको चाहनाअनुसार पाइलट हुन सकिनँ, अहिले डा. हुँदा बुवा पनि खुसी नै हुनुहुन्छ ।’ उपचारसँगै पढाइ बलम्बु अस्पतालमा काम सुरु गर्दा मिनाले एमबीबीएस मात्र गरेकी थिइन् । उनले मेडिकल अफिसरको रूपमा काम सुरु गरिन् । त्यसपछि उनले एमडीको तयारी गरिन् । उनले अध्ययन गर्दा पुरा अध्ययन विदा पाउने सुविधा थियो । उनी चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)मा तीन वर्षे एमडीका लागि भर्ना भइन् । त्यहाँ अध्ययन गर्दा उनले नेत्र रोगको विषयमा  विशेषज्ञता हासिल गरिन् । एमडीको अध्ययन सकेर फेरि उनी निरन्तर काममा अस्पताल फर्किन् । केही वर्ष काम गरिसकेपछि फेरि सुपर स्पेसलाइजेसनको लागि उनी तिलगंगा इन्स्टिच्युटमा भर्ना भइन् । त्यहाँ उनले मेडिकल रेटिना र युरियासम्बन्धी १ वर्षे कोर्स गरिन् । यो कोर्स गरिसकेपछि फेरि उनी अस्पताल आइन् । ‘मेरो काम गराइ र पढाइसँगै भयो,’ उनी भन्छिन्,‘यसो हुँदा पढेको कुरालाई व्यवहारमा लागु गर्न सहज हुँदो रहेछ ।’ अहिले उनी आँखाको जटिल बिरामी, रेटिनाको बिरामीको उपचार गर्नुका साथै अस्पतालको म्यानेजमेन्टको  जिम्मेवारी लिरहेकी छिन् ।  आँखारोग विशेषज्ञ  मीनालाई आँखाको उपचार अझ भनौं विशेषज्ञता हासिल गर्नुपर्छ भन्ने लागेको थिएन । ‘कहिलेकाहीं जे चाहना हुँदैन, त्यो पनि गर्नुपर्छ, मैले यो विषयमा नै विज्ञता गर्छु भन्ने थिएन तर मैले त्यही बन्नुपर्‍यो,’ उनी भिन्छन्, ‘कहिलेकाहीं रुचि नभएको कुरामा पनि अनुभव लिनुपर्छ, समयको माग र परिवेश हेरेर जुनसुकै कुरामा आँट राख्नसक्नुपर्ने रहेछ ।’ मीनासँगै काम गर्ने अन्य चिकित्सक अर्थोपेडिक, सर्जरी एनेस्थेसिया पढ्न गइसकेका थिए । उनी के पढ्ने भन्ने सोचिरहेकी थिइन् । त्यहीबेला आँखाको सिट खाली थियो । उनले त्यही विषय रोजेर पढिन् ।  उनलाई शल्यक्रिया गर्न मन पर्थ्यो । यो विषय पढ्दा सर्जरी पनि गर्न पाइने बिरामीसँग पनि नजिक हुन मिल्ने भएकाले उनले यो विषय रोजेकी हुन् । मीनालाई नाक, कान घाँटीको विषयमा विशेषज्ञता हासिल गर्न इच्छा थियो । तर उनले न्याम्समा सिट पाइनन् । त्यसपछि उनले नेत्ररोगको विषयमा विशेषज्ञता हासिल गरिन् । उनले अहिलेसम्म कतिको आँखा उपचार गरिन्, कतिको मोतियाबिन्दुको अप्रेसन गरिन्,  हिसाबकिताब राखेकी छैनिन् ।  काम गर्दाको अनुभव चिकित्सकलाई चिकित्सक बनिरहन जटिल छ । अन्य पेशाजस्तो पढियो अब सकियो अथवा सिकियो भन्ने यो क्षेत्रमा हुँदैन । अझ बढी अध्ययन आवश्यक हुन्छ ।  काम गर्दै जाँदा कहिले सहज असहज परिस्थिति आइरहन्छ ।  कतिपय केशहरूमा जति प्रयास गर्दा पनि सफल नभएको अनुभव पनि मीनासँग छ ।   उनले विभिन्न अवस्थामा आएका जटिलताबाट आत्तिने होइन बरु यसलाई व्यवस्थापन गरेर अघि बढ्नुपर्छ भन्ने पाठ  सिकेकी छन् । ‘हरेक व्यक्तिमा फरक जटिलताहरू हुन्छन,’ उनी भन्छिन्, ‘कसैलाई ग्याष्ट्रिक भयो भने कसैको टाउको दुख्छ, कसैलाई पेट पोल्छ, कसैलाई हातखुट्टा गल्छ । यहाँ पनि यस्तै हो, मान्छेअनुसार उपचारमा सहज असहज परिस्थिति आउँछ ।’  उनले मेडिकल साइन्स कुनै म्याजिक नभएको पनि बताइन् । असफल हुनुपरेको त्यो क्षण कतिपय व्यक्तिको सर्जरी हुँदा सहज हुन्छ । कतिपयको प्रयास गर्दा पनि असफल भइन्छ । मीनालाई अहिले सम्झना आउने एउटा घटना छ । जहाँ उनले प्रयास गर्दा पनि आँखाको ज्योति फर्काउन सकिनन् । एकजना बिरामीको आँखामा लेन्स राख्नु पर्ने थियो । उनी केही माेटाे थिए । उनलाई प्रेसर पनि थियो र दम पनि । तर, सर्जरी गर्दागर्दै समस्या भयो । उनको सर्जरी नै गर्न सकिएन । त्यसपछि उनीलगायत उनको टीमले लेन्स नै राख्न सकेन  । बिरामीको आँखाको लगातार प्रेसर बढ्यो । ‘जति प्रयास गर्दा पनि प्रेसर नै कम भएन, बिस्तारै प्रेसर घटेपछि दोस्रो पटक लेन्स राखियो,’ त्यो घटना सम्झँदै उनी भन्छिन्, ‘तर, लेन्स राखिसकेपछि पनि जटिलता आयो । अन्तत: उनले आँखा नै देख्न सकेनन् ।’ आधा घण्टा अघि गरेको उस्तै प्रकारको केस सफल भयो भने पछिको  सफल हुन सकेन । कहिलेकाहीं प्रयास गर्दा पनि सफल हुन नसकेको केही घटनाले उनलाई तीतो अनुभव गराउँछ ।  आजभोलिका आँखा कति स्वस्थ ?   नेपालीमा अहिले पनि अन्धोपनको कारण मोतिया बिन्दु छ । यो समस्या देशैभरि छ । तर बालबालिकाको हकमा कुरा गर्ने हो भने आजभोलि बच्चाहरू ग्याजेटमा बढी झुमिन थालेका छन् । खाना खुवाउँदादेखि हरेक कुरामा बच्चालाई चुप गराउने साधन पछिल्लो समय  ग्याजेट भएको छ । आजभोलि पहिलेको जस्तो छैन । पहिले स्कुलबाट आउने बित्तिकै बच्चाहरू घरबाहिर जाने साथीहरूसँग मिलेर विभिन्न किसिमका खेलहरू खेल्ने, रमाउने गर्थे । तर, आजभोलि बच्चाहरू साथीभाइसँग खेल्न छोडेका छन् । अभिभावक व्यस्त हुँदा बच्चासँग खेल्ने मान्छे पनि कोही नहुँदा यस्तो समस्या आएको मीना बताउँछिन् । उनका अनुसार आजभोलि सानै उमेरदेखि भिडियो हेर्ने बानीले आँखामा समस्या बढ्दै गएको छ ।   आँखा कसरी स्वस्थ राख्ने कुनै पनि ग्याजेट वा स्क्रिन हेरिसकेपछि २० सेकेण्ड आँखा बन्द गर्ने र २० फिट टाढा हेर्नुपर्छ । यसो गर्दा आँखामा राम्रो आँसु फैलिन्छ र आँखालाई फाइदा पुर्‍याउँछ । बच्चाहरूलाई कम्तीमा ६ महिनामा १ पटक आँखा जाँच गर्नुपर्छ । किनकि बच्चाहरूको आँखामा एउटा यस्तो रोग हुन्छ जसलाई अल्छी आँखा भनिन्छ ।  कुनै पनि बच्चा वा व्यक्तिले एउटा आँखा कम देख्छ अथवा दुईवटै आँखा कम देख्छ भने उसको ब्रेनले के ठान्छ भने मैले देख्ने यति हो, मैले यतिमात्रै देख्नुपर्छ भन्ने हुन्छ । र बिस्तारै उसको आँखा त्यतिमै अडिन्छ । त्यसपछि जति उपचार गरे पनि चस्मा लगाए पनि पछि त्यसको उपचार हुँदैन । यसको समयमै पत्ता लगाएर उपचार गर्‍यो भने निको हुन्छ । कम्तीमा पनि १ वर्ष, ६ महिना उपचार अनिवार्य गर्नुपर्छ । आँखाको नजिक र टाढा हेर्ने शक्ति कति छ त्यसको प्रयोग गरिन्छ । ‘हामीले लगातार स्क्रिन हेरिराख्याैं भने आँखा ड्राइ हुन सुरु हुन्छ, त्यसपछि दुख्छ,’ उनी भन्छिन्,  ‘आजभोलि अस्पताल आउने अधिकांश बिरामी टाउको दुख्यो भनेर आउँछन् ।’ पहिले र अहिलेका आँखा पहिलोभन्दा अहिले धेरै नयाँ जोखिम स्वास्थ्यमा देखिन थालेका छन् । एकताका वेस्टन डिजिज भनेर चिनिने सुगर अहिले नेपालमा सबैभन्दा धेरै देखिन थालेको छ । डा. मीना अब जमाना र रोग पहिलोको जस्तो नरहेको बताउँछिन् । अहिले हरेक घरमा सुगर नभएको विरामी सायदै कम हुन्छ । सुगरले सबैभन्दा पहिले हामी गर्ने भनेकै आँखा, मुटु र किड्नी हो । प्रेसर पनि आजभोलि बढ्दै गएको छ यसले पनि सबैभन्दा पहिले बिगार्ने भनेको आँखा हो । त्यसैले आँखाको जाँच गर्न आवश्यक रहेको उनी बताउँछिन् ।  कस्मेटिकको प्रयोगको असर आँखामा धेरै प्रकारका झल्कने, टल्कने कस्मेटिक सकेसम्म कम प्रयोग गर्नुपर्छ । गाजल, मस्करा,आइस्याडो यस्ता विभिन्न किसिमका कस्मेटिक लगाउन हुँदैन । डा. मीना बच्चाहरूलाई पनि गाजल लगाउन नहुने बताउँछिन् । यसले फाइदाभन्दा बढी बेफाइदा गर्छ । यो लगाउदा आँखामा आसु आउँदा नलीमा गएर अड्कने सम्भावना हुन्छ । अर्को कुरा धारको पानीले कहिल्यै आँखा पखाल्न नहुने उनको सुझाव छ । ‘खानको लागि मिनरल वाटर खान्छौं, आँखा पखाल्न धाराको पानी प्रयोग गर्छौं,’ उनी भन्छिन्, ‘यो राम्रो होइन, पानी र आँसु उस्तै होइनन्, आँखामा केही चिज पर्‍यो भने मात्र पखालौं नभए पखाल्न हुँदैन ।  यी कुराको हामीले ख्याल गर्नुपर्छ र विशेषगरी अभिभावकले बच्चाहरूको आँखामा विशेष ध्यान दिनुपर्छ ।’  अन्य चिकित्सकभन्दा फोर्सका कति फरक अन्य अस्पतालमा काम गर्ने चिकित्सक र एउटा फाेर्सभित्र काम गर्ने चिकित्सकमा फरक हुन्छ । काम एउटै भए पनि फोर्सभित्रका चिकित्सकले अनुशासन र नियमको पालना बढी गर्नुपर्छ । डा. मीनाका अनुसार सर्वसाधारणभन्दा काम गराइ र अनुशासनमा एउटा संस्थाभित्र रहेर काम गर्दा आवश्यक पर्छ । हुन त हरेक चिकित्सकले अनुशासनमा बस्नुपर्छ । ‘बाहिर अस्पतालमा डाक्टरले आफ्नो ड्युटीमा काम गर्‍यो भने उसको काम सकिन्छ, तर फोर्स भित्रको डाक्टर हुँदा कामसँगै त्यो बाहेक सशस्त्र प्रहरीको पनि नियमभित्र रहनुपर्छ, ’ उनले भनिन् । उनी बाहिरको अस्पताल र फोर्सको चिकित्सकमा फरक रहेको बताउँछिन् । 

एनआईसी एशिया बैंकले लाभांश नदिने, सेयरधनीको हात खाली

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरूलाई लाभांश वितरण नगर्ने भएको छ । योसँगै सेरधनीको हात खाली हुने भएको छ । पुस २९ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले सेयरधनीहरूलाई लाभांश वितरण नगर्ने निर्णय गरेको हो । बैंकले सोही अनुसारको गत आर्थिक वर्षको वित्तीय विवरण अन्तिम स्वीकृतीका लागि नेपाल राष्ट्र बैंक पठाएको छ ।

ग्लोबल आइएमई लघुवित्तको साधारणसभा सम्पन्न, ९ अर्ब ६५ करोड कर्जा लगानी

पोखरा । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडको १२औं वार्षिक साधारणसभा सोमबार पोखरामा सम्पन्न भएको छ । सभाले आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन र विभिन्न प्रस्तावहरू पारित गरेको छ । कार्यक्रमको अध्यक्षता सञ्चालक समितिका अध्यक्ष बुद्धि अकेलाले गरेका थिए । कार्यक्रममा सेयरधनीबाट उठेका जिज्ञासा एवम् सुझावको जवाफ दिँदै संस्थाका अध्यक्ष अकेलाले अहिले विषम परिस्थितिमा पनि वित्तीय संस्थाका सूचकांक अब्बल रहेको र आगामी दिनमा आफ्ना सेयरधनी एवम् ग्राहक सदस्यको सर्वोपरि हित हुनेगरी कार्य गरिने बताए । राष्ट्रिय स्तरको कार्यक्षेत्र भएको यस वित्तीय संस्थाले देशका ५४ जिल्लामा १२१ ओटा शाखा कार्यालयमार्फत १ लाख ५२ हजार भन्दा बढी सदस्यलाई वित्तीय सेवा प्रदान गर्दै आएको छ । करीब ९ अर्ब ६५ करोड रुपैयाँ कर्जा लगानी गरिएको वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत हरिकृष्ण जोशीले बताए ।

बैंकिङ प्रणालीबाट आज फेरि ४० अर्ब तान्दै राष्ट्र बैंक

काठमाडौं । बैंकिङ प्रणालीमा अधिक तरलता थुप्रिएपछि नेपाल राष्ट्र बैंकले लगातार निक्षेप संकलन उपकरण प्रयोग गर्दै पैसा खिचिरहेको छ । केन्द्रीय बैंकले आज माघ २ गते फेरि बैंकिङ प्रणालीबाट ४० अर्ब रुपैयाँ तान्ने भएको छ । अधिक तरलता व्यवस्थापन गर्न केन्द्रीय बैंकले निक्षेप संकलन उपकरणको प्रयोग गर्दै बैंकिङ प्रणालीबाट आज फेरि पैसा खिच्न लागेको हो । यसका लागि आज दिउँसो २ बजे बोलकबोल हुने राष्ट्र बैंकले जनाएको छ । निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सक्नेछन् । निक्षेप संकलनको बोलकबोल ब्याजदरमा गर्नुपर्नेछ भने बहुब्याजदरमा पनि बहुबोलकबोल गर्न सकिने राष्ट्र बैंकले जनाएको छ । निक्षेप संकलन उपकरणको बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउनेछन् । यो २१ दिने निक्षेप संकलन उपकरणको माघ २३ गते साँवा तथा ब्याज भुक्तानी गरिने राष्ट्र बैंकले जनाएको छ ।

नेपाल बैंकले लाभांश वितरण नगर्ने, लगानीकर्ता निराश बन्दै

काठमाडौं । नेपाल बैंकले आर्थिक वर्ष २०८०/८१ का लागि लाभांश वितरण नगर्ने भएको छ । बैंक सञ्चालक समितिको पुस २९ गते बसेको बैठकले उक्त आर्थिक वर्षका लागि लाभांश वितरण नगर्ने निर्णय गरेको हो । धेरै बैंकहरुले लाभांश वितरण गर्न नसक्दा बैंकका सेयरधनीहरु सेयर बेचेर बाहिरिने क्रम बढ्दै गएको विवरणहरु प्रकाशित भईरहेका छन् । उक्त आर्थिक वर्षको वित्तीय विवरण स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकमा पेस गर्ने र त्यहाँबाट स्वीकृत भएर आएपछि अनुमोदनका लागि आगामी वार्षिक साधारणसभा पेस गरिने बैंकले जनाएको छ ।