कागबेनी-छुसाङखण्ड कालोपत्र गर्न ५० करोड बजेटको स्रोत सुनिश्चित
म्याग्दी । बेनी–जोमसोम–कोरला सडकअन्तर्गत मुस्ताङको कागबेनी–छुसाङखण्ड कालोपत्रका लागि रु ५० करोड बजेटको स्रोत सुनिश्चित भएको छ । भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयको प्रस्तावमा अर्थ मन्त्रालयले बारागुङ मुुक्तिक्षेत्र गाउँपालिका–५ कागबेनीदेखि वडा नं ३ छुसाङखण्डको १० किलोमिटर कालोपत्र गर्न बहुुवर्षीय ठेक्का लगाउन रु ५० करोड बजेटको स्रोत सुनिश्चितता गरेको मुस्ताङबाट निर्वाचित प्रतिनिधिसभा सदस्य योगेश गौचन थकालीले जानकारी दिए । अर्थ मन्त्रालयले चालु आर्थिक वर्षमा १० किलोमिटरका लागि बहुुवर्षीय ठेक्का लगाउन बजेटको स्रोत सुनिश्चितता गरेको हो । बेनी–जोमसोम कोरला सडक आयोजनाका प्रमुख ध्रुवकुमार झाले चालु आवभित्र नै ठेक्का सम्झौता गर्ने लक्ष्यसहित ठेक्का आह्वानको तयारी गरिएको बताए । कम्तीमा ११ मिटर फराकिलो हुने दुई लेनको सडकमा अक्सफाल्ट प्रविधिको कालोपत्र गरिनेछ । आयोजनामार्फत पर्वतको कुश्मा नगरपालिका–१ मालढुङ्गादेखि चीनको सिमाना कोरला नाकासम्म दुई सय दुई किलोमिटर दूरीमा स्तरोन्नतिको काम भइरहेको छ । विसं २०७४ मा सुरु भएको योजनाको ८४ प्रतिशत भौतिक प्रगति भएको छ । रु १० अर्ब लागत अनुमान गरिएको उक्त सडक आव २०७९/८० मा सम्पन्न गर्ने लक्ष्य राखिएको थियो । एक सय पाँच किलोमिटर कालोपत्र गर्ने लक्ष्य रहेकामा हालसम्म ९६ किलोमिटर कालोपत्र, पाँच किलोमिटर ढलान र ८५ किलोमिटर ग्राभेल भएको आयोजनाका सूचना अधिकारी इञ्जिनियर विष्णु चापागाईले बताए । चौबीसवटा मोटरेबल पुल निर्माण गर्नुपर्नेमा हालसम्म १९ वटाको ठेक्का लागेको, १० वटा निर्माण सकिएको, पाँचवटा निर्माणाधीन, पाँचवटाको ठेक्का तोडेको र पाँचवटा पुल ठेक्का प्रक्रियामा जान बाँकी छ । निर्धारित समयमा काम सम्पन्न हुन नसकेपछि आयोजना अवधिलाई आव २०८२÷८३ सम्म लम्ब्याइएको छ । सडक र पुल निर्माणका लागि रु सात अर्बको ठेक्का सम्झौता भएकामा गत असारसम्म रु छ अर्ब खर्च भएको छ । भारत र चीनलाई जोड्ने चार सय ३५ किलोमिटर दूरीको कालीगण्डकी करिडोर सडकलाई गण्डकी प्रदेशको भाग्यरेखा मानिएको छ । सडकले पूर्वाधार, आर्थिक, व्यापारिक, जलविद्युत्, पर्यटन र धार्मिकस्थलको विकासका लागि महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ । रासस
मर्जरमा जाने तयारीमा शृजनशील लघुवित्त, बोलायो वार्षिक साधारणसभा
काठमाडौं । शृजनशील लघुवित्तले साधारणसभा बोलाएको छ । संस्थाले माघ २७ गतेका लागि सिराहाको गोलबजार स्थित पावन मिथिला होटेलमा साधारणसभा आह्वान गरेको हो । कम्पनीको साधारणसभामा मर्जरमा जाने विशेष प्रस्ताव पेश हुने उल्लेख छ । साधारणसभा प्रयोजनको लागि माघ १८ गते बुक क्लोज हुनेछ । सभामा पेश हुने प्रस्तावहरु १. संचालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने आर्थिक वर्ष २०८० /०८१ को वार्षिक प्रतिवेदन माथि छलफल गरि पारित गर्ने सम्बन्धमा । २. लेखापरिक्षकको प्रतिवेदन सहित २०८१ आषाढ मसान्तसम्मको वासलात आव २०८०/०८१ नाफा नोक्सान हिसाव, सोहि अवधिको नगद प्रवाह विवरण एवम् सो सगँ सम्बन्धित अनुसूचीहरु पारित गर्ने सम्बन्धमा । ३. बैक तथा बित्तीय संस्था सम्बन्धि ऐन, २०७३ को दफा ६३ तथा कम्पनी ऐन, २०६३ दफा ११ अनुसार वित्तीय संस्थाको आ।व।०७१र०८२ को लागि लेखापरिक्षक नियुक्ती गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने सम्बन्धमा । ४. कुनै पनि लघुवित्त वित्तीय संस्थासंग एक आपसमा गाभ्ने गाभिने तथा प्राप्ती र समाहित हुने प्रयोजनको लागि उपयुक्त लघुवित्त वित्तीय संस्थाको पहिचान गर्ने, सो को आधारमा सैद्धान्तिक स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकमा निवेदन दिने, सम्पत्ती तथा दायित्वको मुल्याकन गर्न परामर्शदाता, मुल्याकनकर्ता, लेखा परिक्षक तथा निजको पारिश्रमिक निर्धारण गर्न, अन्य वित्तीय संस्थाहरुको शाखाहरु खरिद तथा प्राप्ती गर्ने लगायतका कार्यहरुसंग सम्बन्धित आवश्यक कार्यहरु गर्नको लागि सञ्चालक समितीलाई पुर्ण अख्तियारी प्रदान गर्ने सम्बन्धमा ।
धरानमा उपमहानगरपालिका क्षेत्रभित्र सुर्तीजन्य वस्तु प्रतिबन्ध
धरान । धरानमा सुर्तीजन्य वस्तु किनबेचमा प्रतिबन्ध लगाइएको छ । आज बसेको धरान कार्यपालिका बैठकले धरान उपमहानगरपालिकाले नगर क्षेत्रमा सुर्तीजन्य वस्तु भण्डारण र किनबेच गर्न प्रतिबन्ध लगाएको हो । उपमहानगरपालिका क्षेत्रभित्र कुनै पनि खैनी, गुट्खा, चुरोटलगायत सुर्तीजन्य वस्तु भण्डारण, किनबेच तथा प्रयोगमा रोक लगाइएको धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज राईले जानकारी दिए । कार्यपालिका बैठकले गरेको निर्णयानुसार एक महिनाभित्र सार्वजनिक स्थलबाट सुर्तीजन्य वस्तु पूर्ण रूपमा नहटाए जफत गरेर कानुनबमोजिम जरिवाना गरिने उनले बताए । नगरप्रमुख राईले भने, ‘बजार क्षेत्रमा जथाभावी सुर्तीजन्य पदार्थ किनबेच हुँदा एकातिर मानव स्वास्थ्यमा नकारात्मक असर परिरहेको र अर्कातिर गुट्खा, खैनी आदिका बट्टा जथाभावी फालिने हुँदा फोहर बढ्नुका साथै दुर्गन्ध बढी भई मानव स्वास्थ्यमा ठूलो असर पुग्ने भएकाले प्रयोगमा रोक लगाइएको हो ।’ धरानका उपमहानगरपालिका क्षेत्रका सडक, पुस्तकालय, सार्वजनिक शौचालय, व्यायामशाला, अस्पताल, शैक्षिक संस्था, धर्मशाला, धार्मिकस्थलजस्ता क्षेत्रमा सरसफाइ गर्दा चुरोट, बिँडी, प्लास्टिकमा प्याक गरिएका सुर्ती, खैनी, गुट्खा, पानपरागका खोलजस्ता वातावरणलाई दुर्गन्धित बनाउने फोहरमैला अत्यधिक मात्रामा भेटिन थालेपछि यस्ता वस्तु प्रयोगमा रोक लगाउनुपरेको नगरप्रमुख राईको भनाइ छ ।
अमेरिकी डलरको मूल्यले फेरि राख्यो नयाँ कीर्तिमान, कति पुग्यो ?
काठमाडौं । अमेरिकी डलरको मूल्यले फेरि नयाँ कीर्तिमान राखेको छ । लगातार उकालो लागेको अमरिकी डलरको भाउ आज शुक्रबार पनि वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३८ रूपैयाँ १९ पैसा र बिक्रीदर एक सय ३८ रूपैयाँ ७९ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर एक सय ४२ रूपैयाँ १७ पैसा र बिक्रीदर एक सय ४२ रूपैयाँ ७९ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर एक सय ६८ रूपैयाँ ६७ पैसा र बिक्रीदर एक सय ६९ रूपैयाँ ४१ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर एक सय ५१ रूपैयाँ ५४ पैसा र बिक्रीदर एक सय ५२ रूपैयाँ २० पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर ८५ रूपैयाँ ८३ पैसा र बिक्रीदर ८६ रूपैयाँ २० पैसा, क्यानेडियन डलर एकको खरिददर ९६ रूपैयाँ १३ पैसा र बिक्रीदर ९६ रूपैयाँ ५५ पैसा, सिङ्गापुर डलर एकको खरिददर एक सय एक रूपैयाँ ०७ पैसा र बिक्रीदर एक सय एक रूपैयाँ ५१ पैसा निर्धारण गरिएको छ । जापानी येन १० को खरिददर आठ रूपैयाँ ८७ पैसा र बिक्रीदर आठ रूपैयाँ ९१ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रूपैयाँ ८५ पैसा र बिक्रीदर १८ रूपैयाँ ९३ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रूपैयाँ ८३ पैसा र बिक्रीदर ३६ रूपैयाँ ९९ पैसा, कतारी रियाल एकको खरिददर ३७ रूपैयाँ ९२ पैसा र बिक्रीदर ३८ रूपैयाँ ०८ पैसा कायम भएको छ । केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रूपैयाँ र बिक्रीदर चार रूपैयाँ ०१ पैसा, युएई दिराम एकको खरिददर ३७ रूपैयाँ ६२ पैसा र बिक्रीदर ३७ रूपैयाँ ७९ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३० रूपैयाँ ६९ पैसा र बिक्रीदर ३० रूपैयाँ ८३ पैसा, साउथ कोरियन वन एक सयको खरिददर नौ रूपैयाँ ४८ पैसा र बिक्रीदर नौ रूपैयाँ ५२ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १२ रूपैयाँ ३८ पैसा र बिक्रीदर १२ रूपैयाँ ४४ पैसा र डेनिस क्रोनर एकको खरिदर १९ रूपैयाँ पाँच पैसा र बिक्री दर १९ रूपैयाँ १४ पैसा तोकिएको छ । यस्तै, हङकङ डलर एकको खरिददर १७ रूपैयाँ ७४ पैसा र बिक्रीदर १७ रूपैयाँ ८२ पैसा, कुवेती दिनार एकको खरिददर चार सय ४७ रूपैयाँ ८० पैसा र बिक्रीदर चार सय ४९ रूपैयाँ ७४ पैसा, बहराइन दिनार एकको खरिददर तीन सय ६६ रूपैयाँ ६१ पैसा र बिक्रीदर तीन सय ६८ रूपैयाँ २० पैसा, ओमनी रियाल एकको खरिददर तीन सय ५८ रूपैयाँ ९५ पैसा र बिक्रीदर तीन सय ६० रूपैयाँ ५१ पैसा तोकिएको छ । यस्तै, भारतीय रूपैयाँ एक सयको खरिददर एक सय ६० रूपैयाँ र बिक्रीदर एक सय ६० रूपैयाँ १५ पैसा निर्धारण भएको छ ।
ललितपुरका विभिन्न स्थानमा आज ४ बजेसम्म बिजुली कटौती हुने
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले ललितपुरका विभिन्न स्थानमा आज शुक्रबार बिजुली कटौती गर्ने भएको छ । प्राधिकरणले सूचना जारी गरी बिजुलीको खम्बा परिवर्तन गर्नका लागि आज बिहान ९ः३० देखि ४ बजेसम्म लाइन कटौती हुने जनाएको हो । प्राधिकरणका अनुसार पुल्चोक वितरण केन्द्रको पुलचोक फिडरअन्तर्गत पर्ने इटी, महापाल, पाटन दरबार, बङ्गलामुखी, शखमूल, पाटनढोका, मंगलबजार, छवाल क्षेत्रमा बिजुली कटौती हुनेछ । बिजुली कटौतीका कारण ग्राहकवर्गमा पर्न गएको असुविधाप्रति प्राधिकरणले क्षमायाचना गरेको छ । तोकिएको कार्य समयअगावै सम्पन्न भएको खण्डमा निर्धारित समयसीमाभन्दा पहिल्यै बिजुली आउने समेत सूचनामा उल्लेख छ ।
नेपाली विद्यार्थी विदेश पढ्न जाँदा ५ महिनामा साढे ४७ अर्ब बाहिरियो, भ्रमणमा ८५ अर्ब सकियो
काठमाडौं । देशभित्रै सुविधासम्पन्न विश्वविद्यालय र शैक्षिक संस्थानहरू सञ्चालनमा रहेको भए पनि विदेशमा अध्ययन गर्न चाहने विद्यार्थीको सङ्ख्या बढ्दै गएकाे छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार चालु आर्थिक वर्षको पाँच महिनामा नेपाली विद्यार्थीले विदेशी शैक्षिक कार्यक्रमका लागि मात्रै ४७ अर्ब ४१ करोड बराबरको खर्च गरेका छन् । विवरणअनुसार भ्रमण व्यय १२.२ प्रतिशतले वृद्धि भई ८५ अर्ब एक करोड पुगेको छ । त्यसमध्ये शिक्षातर्फको व्यय ४७ अर्ब ४१ करोड रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा भ्रमण व्यय ७५ अर्ब ७३ करोड रहेको थियो । गत मङ्सिर मसान्तसम्म खुद सेवा आय ४० अर्ब ७१ करोडले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा खुद सेवा आय २६ अर्ब ५५ करोडले घाटामा रहेको थियो । सेवा खाताअन्तर्गत समीक्षा अवधिमा भ्रमण आय ३.१ प्रतिशतले वृद्धि भई ३५ अर्ब १९ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय ३४ अर्ब १२ करोड रहेको थियो ।
बालबालिकालाई स्थानीय तहको संरचनाबारे जानकारी दिन ललितपुर महानगरमा नमूना बाल नगरसभा सुरु
काठमाडौं । ललितपुर महानगरमा चौथो नमूना बाल नगरसभा सुरु भएको छ । नमूना बाल नगरसभा ललितपुर महानगर र महानगर स्तरीय बाल क्लब सञ्जालले अन्य विभिन्न संघसंस्थासँग सहकार्य गरी चौथो नमूना बाल नगरसभाको आयोजना गरेको हो । बालबालिकालाई स्थानीय तहको संरचना, कार्यप्रणाली लगायतका विषयमा जानकारी दिन आयोजना गरिएको नमूना बाल नगरसभाको बिहीबार सामाजिक विकास समितिका संयोजक एवम प्रवक्ता राजु महर्जनले उद्घाटन गरे । कार्यपालिका, नगरसभा, नगर प्रमुख, ‘उपप्रमुखको जिम्मेवारी थाहा पाउन नमूना बाल नगरसभा महत्त्वपूर्ण रहेको सामाजिक विकास समितिका संयोजक एवम कार्यक्रमका प्रमुख अतिथि राजु महर्जनले बताए । उनले भने, ‘विद्यार्थीलाई यो कार्यक्रम निकै उपयोगी हुन्छ, सबैभन्दा नजिकको सरकार कसरी सञ्चालन हुन्छ, त्यो बुझ्न सजिलो हुन्छ । ’ सामाजिक विकास समितिका सदस्य एवं वडा नंं.१८का अध्यक्ष दामोदर खड्काले नमूना बाल नगरसभा सिक्ने, सिकाउने महत्त्वपूर्ण ठाउँ भएको बताए । बाल नगरसभामा सहभागी बालबालिका भविष्यका कर्णधार भएको बताउँदै यो कार्यक्रममा सहभागी भएका मध्येबाट नै भविष्यका नगर प्रमुख, उपप्रमुख उत्पादन हुने धारणा राखे । बाल नगरसभामा सिकेका कुरा विद्यालय, विश्वविद्यालयमा सिकेको ज्ञानभन्दा पनि महत्त्वपूर्ण हुने बताए । सामाजिक विकास समिति सदस्य उमा श्रेष्ठ बज्राचार्यले यो कार्यक्रम उपयोगी भएको बताइन् । ललितपुर महानगर सामुदायिक विकास शाखाकी प्रमुख सरिता महर्जनले बालबालिकालाई लोकतन्त्र, लोकतान्त्रिक संस्कृति , नगरसभा, कार्यपालिका गठन, विषयगत समितिको काम, कर्तव्य लगायतका बारेमा जानकारी दिने बताइन् । उनले भनिन्, ‘यी सम्पूर्ण विषयमा विज्ञबाट बालबालिकालाई जानकारी दिन्छौं , त्यसपछि नमूना बाल नगरसभा गर्छौं । ’ यो कार्यक्रम सूचनामूलक, ज्ञानवर्द्धक र उपयोगी भएको उनले बताइन् । कार्यक्रमकी अध्यक्ष प्रार्थना श्रेष्ठले कार्यक्रम उपलब्धिमूलक हुने बताउँदै सक्रिय सहभागिताको लागि अनुरोध गरिन् ।
आइतबार हुँदैछ गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको आईपीओ बाँडफाँड
काठमाडौं । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स कम्पनीले निष्काशन गरेको आईपीओ बाँडफाँड गर्ने मिति तय भएको छ । माघ ६ गते आइतबार आईपीओ बाँडफाँड हुने बिक्री प्रबन्धक कुमारी क्यापिटलले जनाएको छ । कम्पनीले पौष २१ गतेदेखि २४ गतेसम्म सर्वसाधारणको लागि आईपीओ निष्काशन गरेको थियो । कम्पनीले सर्वसाधारणका लागि १८ करोड ४५ लाख रुपैयाँ बराबरको १८ लाख ४५ हजार कित्ता सेयर निष्काशन गरेकोमा १९ लाख भन्दा धेरै आवेदकले आवेदन दिएका थिए। कम्पनीले नेपाल धितोपत्र बोर्डबाट कुल २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता सेयर निष्काशनको अनुमति पाएको थियो । जसमध्ये २ लाख २५ हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीलाई, १ लाख १२ हजार ५ सय कित्ता सामूहिक लगानी कोषहरूका लागि, ६७ हजार ५ सय कित्ता कम्पनीका कर्मचारीको लागि र बाँकी रहेको १८ लाख ४५ हजार कित्ता सर्वसाधारणको लागि निष्काशन गरिएको थियो ।