विकासन्युज

आरएसडिसी लघुवित्तको नाफा घट्यो, कस्ता छन् अन्य सूचकहरु ?

कठमाडौं । आरएसडिसी लघुवित्त वित्तीय संस्थाको खुद नाफा घटेको छ। संस्थाले सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तिय विवरण अनुसार खुद नाफा घटेको छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा संस्थाले ४ करोड ४१ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३६.२५ प्रतिशत कम हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा संस्थाले ६ करोड ९३ लाख रुपैयाँ खुद नाफा कमाएको थियो। समीक्षा अवधिमा संस्थाको खुद ब्याज आम्दानी ८.११ प्रतिशत घटेको छ भने खुद फि तथा कमिशन आम्दानी ७४.९१ प्रतिशत घटेको छ। त्यस्तै, संस्थाको कुल सञ्चालन आम्दानी १२.२७ प्रतिशत घटेको छ भने सञ्चालन मुनाफा ३४.६८ प्रतिशत घटेको छ। संस्थाको खराब कर्जा १.८२ प्रतिशतबाट बढेर २.७१ प्रतिशत पुगेको छ। पुस मसान्तसम्ममा संस्थाको वितरणयोग्य मुनाफा ३ करोड ६७ लाख रुपैयाँ रहेको छ। नाफासँगै संस्थाको प्रतिसेयर आम्दानी पनि घटेको छ। संस्थाको यस्तो आम्दानी ६ रुपैयाँ ५८ पैसाले घटेर ९ रुपैयाँ ३६ पैसामा झरेको छ। सो अवधिसम्ममा कम्पनीको मूल्य आम्दानी अनुपात ७१.६१ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ १३२ रुपैयाँ २९ पैसा रहेको छ। ९४ करोड ४३ लाख रुपैयाँ चुक्ता पूँजी रहेको संस्थाको जगेडा कोषमा ३० करोड ४९ लाख रुपैयाँ सञ्चित छ पुस मसान्तसम्ममा संस्थाले ६ अर्ब १२ करोड ७३ लाख रुपैयाँ सापटीबाट ६ अर्ब ५० करोड २६ लाख रुपैयाँ कर्जा लगानी गरेको छ।

निगमको ट्विनअटर जहाज ग्राउन्डेड भएपछि एक महिनादेखि हवाई सेवा बन्द

गुल्मी । रेसुङ्गा विमानस्थलमा एक महिनादेखि हवाई सेवा बन्द भएको छ । नेपाल वायु सेवा निगम (नेपाल एयरलायन्स) सँग भएका दुईवटा ट्विनअटर जहाज ग्राउन्डेड भएपछि एक महिनादेखि जिल्लामा हवाई सेवा बन्द भएको हो । नेपाल वायु सेवा निगम रेसुङ्गा स्टेसन प्रमुख सुमन थापाले हवाई सेवा बन्द भएपछि यहाँका यात्रुहरू समस्यामा परेका बताउनुभयो । निगमले विसं २०८० वैशाख २९ गतेदेखि गुल्मीमा व्यावसायिक उडान सुरु गरेपछि जिल्लामा हवाई सेवा सञ्चालनमा आएको थियो । निगमले जिल्लामा व्यावसायिक उडान सुरु गरेसँगै सातामा तीन पटकसम्म उडान गर्दै आएको थियो । यात्रुहरूको बढ्दो चापका कारण निगमले तत्कालीन अवस्थामा उडान सङ्ख्यामा वृद्धि गरी सातामा चारपटकसम्म उडान गर्दै आएको थियो । समय समयमा निगमका जहाज ग्राउन्डेड हुन थालेपछि सातामा दुईपटक र एकपटक हुँदै हाल जिल्लामा पूर्ण रूपमा हवाई उडान बन्द भएको हो । निगमसँग थोरै मात्र ट्विनअअटर जहाज रहेका बताउँदै जहाजहरूको इन्जिन साइकल सकिएपछि सेवा अवरुद्ध बनेका विमानस्थलका स्टेसन प्रमुख थापाले जानकारी दिए । दुईवटा ट्विनअटर जहाज ग्राउन्डेड भएका र ग्राउन्डेड भएका जहाजको मर्मत गर्ने काम भइरहेकाले जिल्लामा सेवा नियमित हुन अझ केही समय लाग्ने उनले बताए । पछिल्लो समयमा रेसुङ्गा विमानस्थलबाट निगमले साताका एकपटक बिहीबार मात्र उडान गर्दै आएको थियो । गुल्मीको रेसुङ्गा विमानस्थलमा नेपाल वायु सेवा निगमको १८ सिट क्षमताको ट्विनअटर जहाजले काठमाडौँबाट बिहान ६ः३० बजे र रेसुङ्गा विमानस्थलबाट बिहान ७ः३० बजे उडान गर्दै आइरहेको थियो । निगमले काठमाडौँबाट रेसुङ्गाका लागि सात हजार पाँच सय र रेसुङ्गाबाट काठमाडौँका लागि रु सात हजार तीन सय भाडादर निर्धारण गरेको छ । दिउँसोको समयमा अत्यधिक हावाको चाप हुने भएकाले बिहानको समयमा मात्र उडान गरिँदै आएको विमानस्थल कार्यालयले जनाएको छ । यहाँबाट काठमाडौँका लागि २१ महिनाको अवधिमा एकतर्फी रूपमा ९० वटा उडान भइसकेका छन् । हालसम्म दुवैतर्फबाट गरी दुई हजार दुई सय ५३ यात्रुले हवाई सेवा लिएका स्टेसन प्रमुख थापाले जानकारी दिए । पछिल्लो समयमा हवाई सेवा सुरु भएसँगै जिल्लामा आउने आन्तरिक एवं बाह्य पर्यटकको सङ्ख्यामा समेत वृद्धि हुँदै गएको थियो । हवाई सेवाका लागि यात्रुहरूको अत्यधिक चाप हुँदाहुँदै पनि निगममा जहाज अभाव हुँदा नियमित सेवा सञ्चालन गर्न नसकिएको थापाले बताए ।

दक्षिण कोरियाका साना तथा मझौला उद्योग संकटमा

काठमाडौं । राष्ट्रपति युन सुक योलको महाभियोगमा चलिरहेको राजनीतिक अनिश्चितताका कारण दक्षिण कोरियाका साना तथा मझौला उद्योगहरूले घाटा व्यहोर्नु परेको छ । कोरिया फेडेरेसन अफ एसएमईले हालै गरेको सर्वेक्षण अनुसार ५१३ उत्तरदाता एसएमईमध्ये २६.३ प्रतिशतले राजनीतिक अस्थिरताका कारण नोक्सान भएको बताएका छन् । सियोल महानगरीय क्षेत्रमा इलेक्ट्रोनिक कम्पोनेन्ट निर्माता कम्पनीका महाप्रबन्धक पार्क ब्युङ–जिनले भने,‘मुख्य कम्पोनेन्टका विदेशी आपूर्तिकर्ताहरूले जम्मा रकमको कुल भुक्तानीको ३० प्रतिशतबाट ७० प्रतिशतमा पु¥याएका छन् । कतिपयले डेलिभरी अघि पूरा भुक्तानी गर्नुपर्नेछ । तर उनीहरु देशमा राजनीतिक गतिरोधको बारेमा चिन्तित छन् ।’ उनले बारम्बार विदेशी आपूर्तिकर्ताहरूलाई सम्झौताहरू पूरा गर्न अनुरोध गरेको बताए । यूनको महाभियोग पछि कार्यवाहक राष्ट्रपतिको रूपमा प्रधानमन्त्री हान डक सूलाई महाभियोग लगाएपछि, दक्षिण कोरियाली विनिमय दर ओरालो लागेको छ । विनिमय दरमा तीव्र गिरावटले कच्चा पदार्थ र ऊर्जाको आयातमा धेरै निर्भर रहेको दक्षिण कोरियाको अर्थतन्त्रलाई गम्भीर धक्का पुगेको छ । ‘अमेरिकी डलर बलियो हुँदा कच्चा पदार्थको लागत र डलर निर्धारित ऋणको बोझ बढ्नेछ । देशको व्यवसायलाई जोखिममा पार्ने र आयात मूल्यमा वृद्धिले पनि वित्तीय तनावलाई बढाउँछ, अर्थशास्त्रीहरूले भनेका छन् । यता, महाभियोगपछि निलम्बित दक्षिण कोरियाली राष्ट्रपति युन सुक योललाई सरकारविरुद्ध विद्रोह भड्काएको आरोपमा बुधबार पक्राउ गरिएको स्थानीय संचारमाध्यमहरुले जनाएका छन् । योलमाथि ३ डिसेम्बर २०२४ मा देशमा ‘मार्सल ल’ लागू गरेको अभियोगमा छानविन गर्न पक्राउ गरिएको जनाइएको छ । योलले गत गत महिना देशमा आपतकालिन अवस्था घोषणा गर्दै सैन्य कानुन लगाउने घोषणा गरेका थिए।

खेतीयोग्य जमिन सबै बाँझो, विद्यार्थीलाई सिकाउन कौसी खेती

गलकोट । देशभर खेतीयोग्य जमिन बाँझो हुँदै गर्दा बागलुङ नगरपालिका–९ को तित्याङ माध्यमिक विद्यालयको कौसीमा यतिबेला आलु, बन्दा, काउली र ब्रोकाउली फलेका छन् । उत्पादित तरकारी विद्यालयकै चमेना गृहमा दिवा खाजाका लागि प्रयोग भइरहेको छ । विद्यार्थीले अतिरिक्त क्रियाकलापअन्तर्गत विद्यालयको कौसीमा विभिन्न प्रकारका तरकारी फलाएका हुन् । यी तरकारी उनीहरुले आफैँ पनि पकाउँछन् भने केही र बिक्री पनि गर्छन् । तीन वर्ष पहिले प्रत्येक विद्यार्थीले रु ५० सङ्कलन गरेर ५० वटा गमला किनेका थिए । गमलामा मौसमअनुसारको तरकारी रोप्थे । फलेपछि शिक्षक विद्यार्थीले बाँडेर खान्थे । विद्यालयले विद्यार्थीलाई उत्पादनसँग जोड्न र स्थानीय पाठ्यक्रमअनुसार अध्यापनका लागि ‘स्थानीय उत्पादन’ शीर्षकमा ५० पूर्णाङ्कको प्रयोगात्मक सिकाइका लागि तरकारीखेतीमा प्रोत्साहन गरेको थियो । तित्याङ्का विद्यार्थीले गमलामा तरकारीखेती गरेको जानकारी पाएपछि सामाजिक क्षेत्रमा सक्रिय रहेको संस्था सिवाइसीले शिक्षक विद्यार्थीसँग छलफल गरेपछि कक्षा ६ देखि १० सम्मका १६ जना विद्यार्थीलाई समेटेर ‘थ्री जिरो क्लब’ गठन गरेको थियो । सिवाइसीले जिल्लाका ३५ भन्दा बढी विद्यालयमा ‘शून्य गरिबी, शून्य बेरोजगारी र शून्य कार्बन उत्सर्जन’ (थ्रि जेरो) नामक क्लब गठन गरी विद्यार्थीलाई व्यावसायिकतामा जोड्दै आएको छ । तीन वर्ष पहिलेदेखि प्रयोगात्मक कक्षाका लागि गमलामा तरकारीखेती गर्दै आएका विद्यार्थीलाई गत साउनमा सिवाइसीले बीउविजनसहित कृषि सामग्री उपलब्ध गराएको थियो । मल, तरकारीको बीउ र नर्सरी व्यवस्थापनका लागि विभिन्न उपकरण समेत सिवाइसीले उपलब्ध गराएको थियो । त्यसयता पक्की भवनको छतमै नर्सरी स्थापना गरेर तरकारी फलाइरहेका छन् । आफँैले उत्पादन गरेको तरकारी दिवा खाजामा समेत उनीहरुले प्रयोग गर्दै आएका छन् । विद्यार्थीले विद्यालयमा मात्र होइन घर–घरमा तरकारीखेती गर्न सुरु गरेका छन् । कक्षा शिक्षक बिदामा बसेको समय, दिउँसो खाजा खाने समय र आवश्यकता परेको बेला छुट्टीको दिन विद्यार्थीहरु उत्साहित भएर विद्यालय आउछन् । उनीहरु दिनभरी नर्सरी र तरकारी खेतीमा रमाउछन् । विद्यालयको थ्रि जिरो क्लबका संरक्षक तथा शिक्षक भूपेन्द्रबहादुर खड्काले भने, “क्लबले यटपटक काउली, ब्रोकाउली र विभिन्न प्रकारका सागका विरुवा उत्पादन गरेर विद्यार्थीलाई वितरण गरेको छ ।” कक्षा ६ देखि १० सम्म अध्ययन गर्ने एक सय जना विद्यार्थीलाई विभिन्न हिउँदे तरकारीका विरुवा वितरण गरिएको उनको भनाइ छ । विद्यार्थीले विद्यालयमा मात्रै नभइ घरमा समेत आफै तरकारीखेती गरिरहेको क्लबका अध्यक्ष सनिसा क्षत्रीले बताए । “विदेशमा पढ्दै काम गर्दै गर्ने गरेको सुनिन्छ, यहाँपनि व्यवहारिक शिक्षाको कुरा हुन्छ”, शिक्षक खड्काले भने “देश सुहाउँदो, हाम्रो भूगोल सुहाउँदो व्यावसायिक कृषि प्रणालीलाई थप व्यवस्थित गर्दै विद्यार्थीलाई उत्पादनसँग जोडेर सानो उमेर मै उद्यमी बन्ने प्रेरणा प्रदान गर्नु स्थानीय उत्पादन कार्यक्रम र क्लबको उद्देश्य हो ।” यस अभियानलाई बागलुङ नगरपालिका वडा नम्बर ९ ले पनि सहयोग गर्दै आएको अध्यक्ष क्षेत्रीले बताए । विद्यालयका प्रधानध्यापक कुमार उपाध्यायका अनुसार तरकारी उत्पादन र बिक्रीका लागि दुई वटा थ्रि जिरो क्लब छन् । एउटा क्लबले उत्पादनको काम गर्छ भने अर्काले बिक्री वितरणको काम गर्छ । विद्यालयको हरेक शुक्रबार हुने अतिरिक्त क्रियाकलाप र विभिन्न विशेष कार्यक्रममा विद्यार्थीले आफूले उत्पादन गरेका तरकारीका परिकार बनाउँछन् र विद्यालयमै शिक्षक र विद्यार्थीलाई बिक्री गर्छन् । बिक्रीबाट भएको आम्दानी तरकारीको बीउ, मल खरिदमा खर्चने गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मनबहादुर थापाले बताए । रासस

प्रभु बैंकमा प्रभु ग्रुपले घटाउँदै आफ्नो सेयर, एसियन लाइफले बढाउँदै स्वामित्व

काठमाडौं । प्रभु बैंक लिमिटेडबाट प्रभु ग्रुपले आफ्नो सेयर स्वामित्व घटाउँदै आइरहेको छ । बैंकले सार्वजनिक गरेको वार्षिक प्रतिवेदन अनुसार अघिल्लो आर्थिक वर्ष २०७९/०८० मा प्रभु ग्रुपको नाममा २८ लाख ५१ हजार ९७८ कित्ता सेयर रहेको थियो । गत आव ०८०/०८१ मा आइपुग्दा बैंकमा ग्रुपको नाममा २३ लाख ५४ हजार कित्ता सेयर रहेको छ । अघिल्लो आवमा बैंकमा ग्रुपको स्वामित्व १.२१ प्रतिशत रहेको थियो भने गत आवमा ग्रुपको स्वामित्व ०.९९ प्रतिशतमा सिमित भएको छ । यता, एसियन लाइफ इन्स्योरेन्सले भने आफ्नो स्वामित्व बढाउँदै लगेको छ । अघिल्लो आवमा एसियन लाइफको नाममा ८० लाख ३७ हजार ९२२ कित्ता सेयर थियो । गत आवमा आइपुग्दा इन्स्योरेन्सको नाममा १ करोड ७५ लाख ९ हजार कित्ता सेयर रहेको छ । इन्स्योरेन्सले ३.४१ प्रतिशतबाट आफ्नो स्वामित्व वृद्धि गरेर ४.९९ प्रतिशत पुराएको छ । एसियन लाइफ सो बैंकको सबैभन्दा ठुलो सेयरधनी हो । दोस्रो ठुलो सेयरधनीमा गौरभ अग्रवाल रहेका छन् । उनको नाममा ६३ लाख ७९ हजार कित्ता सेयर तथा २.७१ प्रतिशत स्वामित्व रहेको छ । यसैगरी, नागरिक लगानी कोषको नाममा ५९ लाख ५१ हजार कित्ता सेयर रहेको छ । बैंकमा नागरिक लगानी कोषको २.५३ प्रतिशत स्वामित्व रहेहो छ । यसैगरी, चौथो ठुलो सेयरधनीमा प्रभु ग्रुप रहेको छ भने पाँचौ ठुलो सेयरधनीम मिजास भट्टचन रहेका छन् । मिजासको ०.८० प्रतिशत स्वामित्व रहेको छ । सुदिप आचार्यको र अम्बिका शर्मा लामिछानेको स्वामित्व समान ०.६० प्रतिशत रहँदा ज्यानु श्रेष्ठको ०.५८ प्रतिशत, राजेन्द्र भट्टचन र स्वरुप गुरुङको समान ०.५७ प्रतिशत सेयर स्वामित्व रहेको छ । यस्तै, नेपाल इन्भेष्टमेन्टको ०.५२, शिवम् सिमेन्टको ०.५१ र सन नेपाल लाइफ इन्स्योरेन्सको ०.५० प्रतिशत सेयर स्वामित्व रहेको बैंकले सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख छ ।

यी हुन् हिमालयन बैंकका १६ ठुला सेयरधनी, कसको स्वामित्व कति ?

कठमाडौं । हिमालयन बैंकमा लागानी गर्ने ठुला सेयरधनीहरुको संख्या १६ रहेको छ । बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०८०/०८१ को वार्षिक प्रतिवेदन अनुसार बैंकमा ०.५ प्रतिशत भन्दा धेरै सेयर स्वामित्व रहेका सेयरधनीको संख्या १६ रहेको छ । ठुला सेयरधनीहरुमा ९ वटा संस्था र ७ जना व्यक्तिहरु रहेका छन् । बैंकमा सबैभन्दा धेरै सेयर हबिब बैंकको रहेको छ । हबिबको १२.९३ प्रतिशत सेयर स्वामित्व छ भने कर्मचारी सञ्चयक कोषको १२.६२ प्रतिशत सेयर स्वामित्व रहेको छ । यसैगरी, नेशनल ट्रेडिङ कम्पनीको ८.२६, म्युचुअल ट्रेडिङ कम्पनीको ७.६६, आभा इन्टर्नेशनलको ७.४६, छाँया इन्टर्नेशनलको ५.७८, प्रदिप जंग पाण्डेको १.९८, सशिकान्त अग्रवालको १.७१, इच्छाराज तामाङको १.३६, नेशनल लाइफ इन्स्योरेन्सको १.२५, एसियन इन्भेष्टमेन्ट एण्ड ट्रेडिङ कम्पनीको ०.७७ र रिता मल्लको ०.७३ प्रतिशत सेयर स्वामित्व रहेको छ । यस्तै, प्रभा गोइन्का भिमसरीयाको ०.६८ प्रतिशत, अम्बिका शाहको ०.६१, विजया इन्टर्नेशनलको ०.५४ र अनजु खेतानको ०.५० प्रतिशत सेयर स्वामित्व रहेको विवरणमा उल्लेख छ ।

तराई क्षेत्रमा चिसो हावासँगै शीतलहर, जनजीवन कष्टकर

सर्लाही । तराई क्षेत्रमा केही दिनयताको बाक्लो हुस्सु र कुहिरोले जनजीवन कष्टकर भएको छ । चिसो हावासँगै शीत पनि झरिरहेकाले जनजीवन कष्टकर भएको हो । खासगरी तराई क्षेत्रमा हरेक वर्ष हिउँदमा बाक्लो कुहिरो लाग्ने गरेको छ । जलवायु परिर्वतनका कारण यस वर्ष केही फरक देखिएको छ । कुनै दिन चर्को घाम लाग्ने र कुनै दिन बाक्लो कुहिरो लाग्ने गरेको छ । बाक्लो कुहिरोका कारण बिहान सवारीसाधन चलाउन कठिन भएको चालकहरूले बताएका छन् । सवारीसाधनले दिउँसै बत्ती बालेर चलाउनुपर्ने अवस्था आएको छ भने दुर्घटनाको जोखिम पनि बढेको जिल्ला ट्राफिक कार्यालय नवलपुरले जनाएको छ । कुहिरोका कारण किसान खेतीपातीका काममा जान नसक्दा कृषि गतिविधिसमेत प्रभावित भएका छन् । कुहिरोका कारण हिउँदे बालीनालीमा क्षति भएको कृषि ज्ञान केन्द्रका प्रमुख देवानन्दराय यादवले जानकारी दिए । कुहिरो र चिसो हावाका कारण दैनिक कामकाजमा प्रभावित हुनुका साथै स्वास्थ्यसम्बन्धी समस्या पनि देखापरेको छ । यहाँका बालबालिका, वृद्धवृद्धा र ज्यालादारी गर्ने मजदुर सबैभन्दा बढी प्रभावित भएका छन् । चिसोका कारण श्वासप्रश्वास, निमोनिया र ज्वरोको समस्या बढ्न थालेको प्रादेशिक अस्पताल डा अविनाश सिंहले जानकारी दिए । चिसोबाट प्रभावित बिरामीको चाप स्थानीय स्वास्थ्य संस्थामा बढेको स्तुति सौम्य हेल्थ केयर चिकित्सक डा गुणेश्वर झाले बताए । प्रशासन कार्यालयले कुहिरो र चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन जिल्लावासीलाई आह्वान गरेको छ । न्यानो कपडा लगाउन, बिहान(बेलुका घरभित्रै बस्न र चिसोबाट जोगाउन बालबालिका तथा वृद्धवृद्धालाई विशेष ध्यान दिन प्रशासनले अनुरोध गरेको छ । विभिन्न ठाउँमा न्यानो कपडा वितरण र काठ, दाउरा बाल्ने व्यवस्था समाजसेवी संस्थाले गरेका छन् । यसैबीच, जिल्ला प्रशासन कार्यालय सर्लाहीले पर्सा गाउँपालिका-३ र ४ मा चिसोबाट प्रभावित अनिविपन्न गरीब तथा दलित ६८ जनालाई र विष्णु गाउँपालिका-१, बाराका ६१ परिवारलाई फाइबर सिरक वितरण गरेको छ ।

ऊर्जा क्षेत्रको विकासका लागि निजी क्षेत्र र सरकार दुवैपक्षमा खुलापन आवश्यक : विज्ञ

काठमाडौं । ऊर्जा क्षेत्रको बृहत्तर विकासका लागि निजी क्षेत्र र सरकार दुवैपक्षमा खुलापन आवश्यक रहेको विज्ञहरुले बताएका छन् । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)को २५ औं रजतजयन्तीको अवसरमा आयोजित ‘ड्राइभिङ इकोनोमिक एण्ड सोसियल ट्रान्सफर्मेसन थ्रो इनर्जी’ विषयक प्राविधिक सत्रमा धारणा राख्ने जानकारहरुले निजी क्षेत्र र सरकार दुवैमा खुलापन भए मात्रै यस क्षेत्रको बृत्तर विकास हुने बताएका हुन् । इप्पानका उपाध्यक्ष भरत बहादुर खत्रीले निजी क्षेत्रले २६०० बढी मेगावाट बराबरका आयोजना बनाएर सञ्चालनमा ल्याएको बताउँदै उनले निजी क्षेत्रकै उत्पादनका कारण मुलुक अन्धकारमुक्त भएको बताए । खत्रीले निजी क्षेत्रले जलविद्युत उत्पादनको काम गरिरहदा ३ हजार ५०० किलोमिटर सडक, २ किमी सडक टनेल, ११०० किमी टनेल , १५० स्वास्थ्य केन्द्र, २२० बेलिबृज, ५२ वटा सिँचाई आयोजना, ३५ एम्बुलेन्स र २३० शिक्षक/शिक्षिकाहरु विद्यालयका लागि उपलब्ध गराएको विवरण प्रस्तुतीकरणमार्फत सार्वजनिक गरेका थिए । अर्थशास्त्री डा.गोविन्द नेपालले क्षेत्रगत विद्युत खपत समेत व्यापक बढिरहेको बताए । उनले विकास निर्माणको विद्युत्को प्रयोग बढिरहेको बताए । उनले हाउस होल्डमा खपत बढाउन नसकिएको भन्दै हाउस होल्डमा खपत बढाउनु पनि कार्ययोजना ल्याउनुपर्ने बताए । लोडसेडिङको समयमा गरिएको एक अध्ययनले २० प्रतिशतले इनर्जी सप्लाइ कम हुँदा सेवा क्षेत्रमा माइनस ४ प्रतिशत , यातयात र सञ्चारमा माइनस ६.६ प्रतिशत, निर्माण क्षेत्रमा माइनस ३२.४ प्रतिशत, विद्युतमा माइनस २० प्रतिशत, उत्पादनमा माइनस ८.४ प्रतिशत, फुडमा माइनस २ प्रतिशत, माइनिङ र खानीमा माइनस २६.८ प्रतिशत र कृषि तथा वनमा माइनस ०.९ प्रतिशत असर हुने उल्लेख छ । उनले सबैले मिलेर २८५०० मेगावाटको लक्ष्य पूरा गर्न काम गर्नुपर्ने पनि बताए । योजना आयोगकी पूर्वसदस्य डा.संगिता सिहले सूचना प्रविधिको क्षेत्रमा ऊर्जाको खपत बढ्दै जाने बताइन् । उनले ऊर्जा विकास मार्गचित्रमा महिला र समावेशीकरणको विषय उल्लेख नभएको बताइन् । मार्गचित्र कार्यान्वयन गर्दा जलवायु परिवर्तनको दृष्टिकोणबाट पनि हेर्नुपर्ने बताइन् । पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले आफू अर्थमन्त्री हुँदा १७ घण्टा लोडसेडिङ भएको बताए । त्यतिबेला १२० मेगावाट बराबरको मात्रै प्रसारणलाइन क्षमता रहेको र एक अर्कोमा इन्टरकनेक्सन नरहेको पनि पाण्डेले सम्झिए । ‘मैले त्यतिबेला दुई काम गरे । ढल्केबर-मुजफ्फरपुरको काम अघि बढाएर अहिले आयात र निर्यात भइरहेको छ । दोस्रो माथिल्लो तामाकोसी अघि बढाए । निजी क्षेत्रलाई प्रोत्साहन गरे ।’ उनका अनुसार नेपालको बिजुली दुईवटा हिसाबले महत्वपूर्ण छ । एउटा बिजुली र अर्को पर्यटन । ‘दैलेखमा पेट्रोलियमको अनुसन्धान भइरहेको छ । व्यवसायिक रुपमा त्यो सम्भव छ कि छैन् भन्ने मलाई थाहा छैन् । त्यो व्यवसायिक रुपमा सम्भव भयो भने देशका लागि त्यो रिसोर्स हुन्छ,’ उनले भने, ‘रेमिट्यान्स खाएर बाँचेका छौं भनेर राजनीतिज्ञलाई गाली गर्छन् । २० हजार मेगावाट उत्पादन र बिक्री गर्ने हो भने यो भनाई उल्टिन्छ ।’ उनका अनुसार २८५०० मेगावाट उत्पादनका लागि विदेशी लगानी चाहिन्छ । उक्त लक्ष्य पूरा गर्न व्यवसायी र सरकार दुवैको खुलपान चाहिने उनले बताए । ‘नेपालीले सक्ने नेपालीले गर्ने र नसक्नेमा विदेशी ल्याएर सहकार्य गर्न सकिन्छ,’ उनले भने । प्रतिनिधि सभा सदस्य डा. स्वर्णिम वाग्लेले सरकारले ल्याएको ऊर्जा विकास मार्गचित्रमा २८ हजार ५०० मेगावाट लक्ष्य अनुसारको उत्पादनको सम्भावना रहेको बताए । उनका अनुसार उपभोगका हिसाबले पनि सम्भव छ । आन्तरिक खपत पनि बढिरहेको छ । आन्तरिक खपतको लक्ष्य १३ हजार ५०० मेगावाटको छ । ग्रीन इनर्जीको एडभान्टेज छ । बाह्य लगानी भित्र्याउन सक्ने हो भने सम्भव रहेको उनको दाबी छ । पूर्वाधार विकास समितिका सभापति दीपक सिंहले सरकारलेभन्दा ७५ प्रतिशत बढी उत्पादन गरेर अन्धकार हटाएर निर्यातसम्मको अवस्थामा पुर्‍याएको निजी क्षेत्रलाज्ञ बधाई दिए । उनले विद्युत विधेयक समितिमा अन्तिम चरणमा छलफल भइरहेको र त्यो निजी क्षेत्र मैत्री विधेयक भएरै आउने दाबी गरे ।