विकासन्युज

सुदूरपश्चिमका पूर्वमन्त्री सुवेदीसहित २ जनालाई निष्कासन गर्न एमाले कैलालीको सिफारिस

काठमाडौं । सत्तारुढ दल नेकपा एमालेले एमालेबाट निस्कासित डा भीम रावलको पक्षमा खुलेका सुदूरपश्चिम प्रदेशका पूर्वसामाजिक विकास मन्त्री कृष्णराज सुवेदी र जिल्ला सदस्य भिष्मराज सुवेदीलाई पार्टीबाट निष्कासन गर्न जिल्ला कमिटी कैलालीले केन्द्रलाई सिफारिस गरेको छ । शनिबार बसेको पार्टीको जिल्ला सचिवालय बैठकले पूर्वमन्त्री कृष्णराज र जिल्ला सदस्य भिष्मराज सुवेदीलाई पार्टीको संगठित सदस्य समेत नहरने गरि निष्कासन गर्न केन्द्रीय कमिटीलाई सिफारिस गरेको एमाले कैलालीले जनाएको छ । सुवेदीद्वय बाबुछोरा हुन् । पार्टीको संगठित सदस्यबाटै हटाउन सिफारिस गरेका दुवै जना नातामा बाबुछोरा हुन् । उनीहरू दुवै जना एमालेबाट निकालिएका नेता भीम रावलको गतिविधिमा संलग्न भएको पाइएपछि कारबाही गर्न सिफारिस गरिएको एमालेले जनाएको छ । एमालेमा भीम रावल निकट मानिएका उनीहरू रावलको मातृभूमि जागरण अभियानमा सक्रिय भएका छन् । रावल हाल मातृभूमि जागरण अभियान सञ्चालन गर्दै जिल्ला दौडाहमा लागेका छन् ।

बन्दा प्रतिकिलो २० रुपैयाँ, यस्तो छ आजको तरकारी र फलफूलको मूल्य

काठमाडौं ।  कालिमाटी फलफूल तरकारी विकास समितिले आइतबारका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो । आज गोलभेँडा ठूलो (भारतीय) प्रतिकेजी रु. ७०, गोलभेँडा सानो (लोकल) प्रतिकेजी रु. २५, गोलभेँडा सानो (भारतीय) प्रतिकेजी रु. ४०, गोलभेँडा सानो (तराई) प्रतिकेजी रु. ३५, आलु रातो प्रतिकेजी रु. ४५, आलु रातो (भारतीय) प्रतिकेजी रु. ४०, प्याज सुकेको (भारतीय) प्रतिकेजी रु. ६५, गाजर (लोकल) प्रतिकेजी रु. ७०, गाजर (तराई) प्रतिकेजी रु. ६०, बन्दा (लोकल) प्रतिकेजी रु. २५, बन्दा (तराई) प्रतिकेजी रु. २०, बन्दा (नरिवल) प्रतिकेजी रु. २०, काउली स्थानीय प्रतिकेजी रु. २०, स्थानीय काउली (ज्यापु) प्रतिकेजी रु. ३०, काउली (तराई) प्रतिकेजी रु. २०, मूला रातो प्रतिकेजी रु. ३०, मूला सेतो (लोकल) प्रतिकेजी रु. २०, सेतो मूला (हाइब्रिड) प्रतिकेजी रु. ३०, भन्टा लाम्चो प्रतिकेजी रु. ४०, भन्टा डल्लो प्रतिकेजी रु. ५० कायम भएको छ । यसैगरी, मकै बोडी प्रतिकेजी रु. ७०, मटरकोसा प्रतिकेजी रु. ६०, घिउ सिमी (लोकल) प्रतिकेजी रु. ७०, घिउ सिमी (हाइब्रिड) प्रतिकेजी रु. ७०, घिउ सिमी (राजमा) प्रतिकेजी रु. ८०, टाटे सिमी प्रतिकेजी रु. ४५, तिते करेला प्रतिकेजी रु. १३०, लौका प्रतिकेजी रु. ७०, परवर (तराई) प्रतिकेजी रु. १००, फर्सी पाकेको प्रतिकेजी रु. ५०, फर्सी हरियो (लाम्चो) प्रतिकेजी रु. २०, हरियो फर्सी (डल्लो) प्रतिकेजी रु. २०, सलगम प्रतिकेजी रु. १००, भिण्डी प्रतिकेजी रु. १५०, सखरखण्ड प्रतिकेजी ९०, बरेला  प्रतिकेजी रु. ५०, पिँडालु प्रतिकेजी रु. ९०, स्कूस प्रतिकेजी रु. ५०, रायो साग प्रतिकेजी रु. २५, पालुंगो साग प्रतिकेजी ६०, चमसुरको साग रु. ६०, तोरीको साग प्रतिकेजी रु. ३०, मेथीको साग प्रतिकेजी रु. ६०, प्याज हरियो प्रतिकेजी रु. ६०, बकुला प्रतिकेजी रु. ७०, तरुल प्रतिकेजी रु. १००, च्याउ (कन्य) प्रतिकेजी रु. ८०, च्याउ (डल्ले) प्रतिकेजी रु. ३०० निर्धारण गरिएको छ । ब्रोकाउली प्रतिकेजी रु. ३५, चुकुन्दर प्रतिकेजी रु. ७०, रातो बन्दा प्रतिकेजी रु. ६०, जिरीको साग प्रतिकेजी रु. ७०, ग्याठ कोबी प्रतिकेजी रु. ९०, सेलरी प्रतिकेजी रु. ४००, पार्सले प्रतिकेजी रु. ८००, सौफको साग प्रतिकेजी रु. ८०, पुदिना प्रतिकेजी रु. ४००, गान्टे मूला प्रतिकेजी रु. ८०, इमली प्रतिकेजी रु १६०, तामा प्रतिकेजी रु. १००, तोफु प्रतिकेजी रु. १२०, गुन्द्रुक प्रतिकेजी रु. ३०० तोकेको छ । समितिले स्याउ (झोले) प्रतिकेजी रु. २६०, स्याउ (फूजी) प्रतिकेजी रु. ३००, केरा (दर्जन) रु. १७०, अनार प्रतिकेजी रु. ४००, अङ्गुर (हरियो) प्रतिकेजी रु. २४०, अङ्गुर (कालो) प्रतिकेजी रु. ३८०, सुन्तला (नेपाली) प्रतिकेजी रु. १२०, सुन्तला (भारतीय) प्रतिकेजी रु. १००, काँक्रो (लोकल) प्रतिकेजी रु. १४०, काक्रो (हाइब्रिड) प्रतिकेजी रु. ८०, निबुवा प्रतिकेजी रु. ५०, नासपाती (चाइनिज) प्रतिकेजी रु. २५०, मेवा (नेपाली) प्रतिकेजी रु. ५०, मेवा (भारतीय) प्रतिकेजी रु. १००, अम्बा प्रतिकेजी रु. १२०, लप्सी प्रतिकेजी रु. ५०, स्ट्रबेरी (भुइऐसेलु) प्रतिकेजी रु. ५००, किबी प्रतिकेजी रु. २५०, आभोकाडो प्रतिकेजी रु. २५०, अमला प्रतिकेजी रु. ७० निर्धारण गरिएको छ । यसैगरी, अदुवा प्रतिकेजी रु. १२०, खुर्सानी सुकेको प्रतिकेजी रु. ४००, खुर्सानी हरियो प्रतिकेजी रु. ८०, खुर्सानी हरियो (बुलेट) प्रतिकेजी रु. ८०, खुर्सानी हरियो (माछे) प्रतिकेजी रु. ८०, खुर्सानी हरियो (अकबरे) प्रतिकेजी रु. ३००, भेडे खुर्सानी प्रतिकेजी रु ७०, लसुन हरियो प्रतिकेजी रु. १४०, हरियो धनियाँ प्रतिकेजी रु. ६०, लसुन सुकेको चाइनिज प्रतिकेजी रु. ३००, लसुन सुकेको नेपाली प्रतिकेजी रु. ३००, छ्यापी सुकेको प्रतिकेजी रु. १६०, छ्यापी हरियो प्रतिकेजी रु. २५०, ताजा माछा (रहु) प्रतिकेजी रु ३५०, ताजा माछा (बचुवा) प्रतिकेजी रु. २६०, ताजा माछा (छडी) प्रतिकेजी रु. २६०, ताजा माछा (मुंगरी) प्रतिकेजी रु. ४५०, रुख टमाटर प्रतिकेजी १६०, राजा च्याउ प्रतिकेजी रु. ३०० र सिताके च्याउ प्रतिकेजी रु. ८०० तोकेको छ ।

चिया बेचेर मासिक एक लाख कमाउँछन् विनोद

सर्लाही। सर्लाहीको लालबन्दीस्थित पूर्वपश्चिम राजमार्गसँगै तरकारी बजारको छेवैमा एउटा सानो ठेला उभ्याइएको छ । ठेलामाथि एक थान सिलिन्डर ग्यास, त्यसमा जोडिएको चुलो, दूधले टिलपिल भरिएको डेक्ची, चुलोमा निरन्तर चिया उमालेको ताप्के तथा छेवैमा केही थान गिलास राखिएका छन् । यो विगत १८ वर्षदेखिको दृश्य हो । सधैं चियाका पारखीको भीडले घेरिरहने चिया पसले हुन् विनोद साह । लालबन्दी नगरपालिका–९ का ४२ वर्षीय साहले चिया बेचेरै नाम, दाम र पहिचानसमेत बनाएका छन् । बिहान ४ देखि अबेर साँझसम्म उनको चिया पसल चियाका पारखीले घेरिरहेको हुन्छ । ‘दैनिक सबेरै पसलमा आउँछु, साँझ ८ बजे मात्र पसल बन्द गरेर घर फर्कन्छु, विगत १८ वर्षदेखिको मेरो दैनिकी यही हो’, साहले भने, ‘कहिलेकाहीँ बिहान थोरै ढिला हुँदा पनि ग्राहकले गाली गर्नुहुन्छ ।’ विसं २०५९ मा लालबन्दी नगरपालिकास्थित बस्तीपुरमामा रहेको जनज्योति माध्यामिक विद्यालयबाट एसएलसी उत्तीर्ण गर्नु पहिला नै उनले चिया पकाउनु सुरु गरेका थिए । रौतहटको दुर्गा भगवतीपुर गाउँपालिका–५ पुर्ख्यौली घर भएको साह परिवार बागमतीको बाढीले घरखेत बगाएपछि लालबन्दी बसाइँ सरेको हो । हाल बसोबास रहेको स्थान साहको मामाघर हो । ‘घरखेत बागमतीको बाढीले बगाएपछि मामाघरका हजुरबुबाले आमाबुबालाई यतै बोलाउनुभयो’, उनले भने, ‘त्यसपछि आमाबुबाले हरियो मकै पोलेर, बदाम भुटेर बेच्ने र त्यसबाट आएको पैसाले परिवारको गुजारा गर्नुहुन्थ्यो ।’ आमाबुबालाई सघाउँदासघाउँदै परिवारका लागि आफूले पनि केही गर्नुपर्छ भनेर चिया बेच्न सुरु गरेको साहले बताए । ‘ज्योतिषले हात हेर्दा होटल व्यवसाय फाप्छ भनेका थिए’, उनले भने, ‘होटल खोल्न परिवारसँग पैसा थिएन । धेरथोर ऋण गरेर चिया व्यापार सुरु गरेँ ।’ यसैबाट परिवारको गुजारासँगै घरबास जोडेको उनले बताए । साहले बिहान सबेरैदेखि राति अबेरसम्म दैनिक झण्डै तीन सय कप चिया बेच्ने गरेको सुनाउनुभयो । त्यसबाट उनले दैनिक छ हजारसम्मको कारोबार गर्छन् । चियाका लागि दैनिक डेरीबाट ४० देखि ५० लिटर दूध किनेर ल्याउने गरेको साहले बताए । ‘प्रतिलिटर दूधको रु ९० तिर्नुपर्छ’, उनले भने, ‘एक कप चिया रु २० मा बेच्छु ।’ उनका अनुसार पसलमा आउने धेरै ग्राहक नियमित रुपमा आउने गरेका छन् । चिया बेचेरै आफूले लालबन्दीमा १५ धुर घडेरी किनेर एकतले पक्की घर बनाएको साहले सुनाए । ‘त्यतिबेला घडेरी किन्दा रु एक लाख तिरेँ’, उनले सुनाए । ‘विस्तारै विस्तारै गरेर ३५ लाख खर्च गरेर घर बनाएको छु । दुई छोरा र एक छोरीलाई बोर्डिङ स्कुलमा पढाएँ । खान लगाउन अहिलेसम्म समस्या भएको छैन ।’ महिनामा एक लाख ५० हजारभन्दा बढीको कारोबार हुने गरेको उनको भनाइ छ । सुरुमा एक वर्ष चिया पसल चलाउँदा उधारो भएर घाटा लागेको साहको अनुभव छ । त्यसयता उनले फेरि जीवन गुजाराको विकल्प सोच्नुपरेको छैन । चिया पसलबाट पैसाका साथै साथीभाइ र नाम कमाएको साहको भनाइ छ । साथीभाइकै सहयोगमा पाँच महिनाअघि उनले छोरालाई उच्च शिक्षा अध्ययनका लागि जर्मनी पठाएका छन् । साहका अनुसार कान्छो छोरा कक्षा ११ मा र छोरी कक्षा १० मा बोर्डिङ स्कुलमा पढिरहेका छन् । चिया व्यापारकै कारण अन्य व्यापार, जागिर र वैदेशिक रोजगारका बारेमा सोच्न नसकेको उनी बताउँछन् । लालबन्दी विनोको मावली गाउँ भएकाले सबैले उनलाई भान्जा भनेर सम्बोधन गर्छन । उनी पनि चिया खान आउने साना ठूला सबैलाई मामा भनेर सम्बोधन गर्छन् । त्यसैले साहको चिया पसल लालबन्दीभरि ‘भान्जाको चिया पसल’का नामले परिचित छ । रासस

गार्डियन माइक्रो लाइफको आईपीओ बाँडफाँड, १ लाख ८४ हजार ५ सय जनाले पाए सेयर

काठमाडौं । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको आईपीओ माघ ६ गते बाँडफाँड भएको छ । बुधबार प्रि–अलटमेन्ट भइसकेकाले आइतबार बाँडफाँड गरिएको बिक्री प्रबन्धक कुमारी क्यापिटलले जनाएको छ । क्यापिटलका अनुसार यस आईपीओमा कुल १८ लाख ३० हजार ८ सय ७५ जनाको आवेदन परेको थियो । जस मध्ये ८ हजार ४ सय ५२ जनाको आवेदन रद्द भएको छ । माग भन्दा बढीको आवेदन परेकोले योग्य रहेका १८ लाख २२ हजार ४ सय ५ जनालाई गोलाप्रथामा समावेश गराएर सेयर बाँडफाँड गरिएको छ । जस अनुसार गोलाप्रथाबाट १ लाख ८४ हजार ५ सय जनाले १० कित्ताको दरले सेयर पाएका छन् । बाँकि आवेदक भने हात खाली भएका छन् । कम्पनीले पौष २१ गतेदेखि २४ गतेसम्म सर्वसाधारणको लागि आईपीओ निष्कासन गरेको थियो । कम्पनीले सर्वसाधारणका लागि १८ करोड ४५ लाख रुपैयाँ बराबरको १८ लाख ४५ हजार कित्ता सेयर निष्कासन गरेकोमा १९ लाख भन्दा धेरै आवेदकले आवेदन दिएका थिए । कम्पनीले नेपाल धितोपत्र बोर्डबाट कुल २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता सेयर निष्कासनको अनुमति पाएको थियो । जसमध्ये २ लाख २५ हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीलाई, १ लाख १२ हजार ५ सय कित्ता सामूहिक लगानी कोषहरूका लागि, ६७ हजार ५ सय कित्ता कम्पनीका कर्मचारीको लागि र बाँकी रहेको १८ लाख ४५ हजार कित्ता सर्वसाधारणको लागि निष्कासन गरिएको थियो ।

विद्यार्थीको सङ्ख्या घट्दै गएपछि पर्वतका दुई सामुदायिक क्याम्पस मर्ज

पर्वत । सदरमुकाम कुश्माबजारमा सञ्चालित दुईवटा क्याम्पस एकआपसमा गाभिएका छन् । आर्थिक मन्दी, सरकारको असहयोग र विद्यार्थीको सङ्ख्या बर्सेनि घट्दै गएपछि गुप्तेश्वर बहुमुखी क्याम्पस र शिवालय बहुमुखी क्याम्पस गाभिएर कुश्मा बहुमुखी क्याम्पस बनाइएको छ । गुप्तेश्वर क्याम्पस २०४८ सालदेखि र शिवालय बहुमुखी क्याम्पस २०६७ सालदेखि सञ्चालित हुँदै आएका थिए । क्याम्पस एकीकरणका लागि शिवालय बहुमुखी क्याम्पसका पूर्वव्यवस्थापन समिति अध्यक्ष गोविन्द पहाडीको संयोजकत्वमा बनेको समितिले शनिबार अन्तिम टुङ्गो लगाएको हो । नयाँ नामकरण भएको कुश्मा बहुमुखी क्याम्पसलाई त्रिभुवन विश्वविद्यालयले समेत अनुमति दिएको छ । यसअघि दुई क्याम्पसका सञ्चालक समितिका पदाधिकारी, प्राध्यापक तथा सञ्चालक सदस्यको उपस्थितिमा आठवटा उपसमिति गठन गरिएको थियो । समितिले दुई क्याम्पस ‘मर्ज’ गर्नका लागि कानुनी प्रावधानहरूको संशोधनदेखि क्याम्पस सञ्चालनको आगामी खाका प्रस्तुत गरेका थिए । अहिले गुप्तेश्वर बहुमुखी क्याम्पसमा स्नातकोत्तरसहित दुई सय ६२ र शिवालय बहुमुखी क्याम्पसमा दुई सय ६८ जना विद्यार्थी रहेका छन् । क्यापसमा विद्यार्थी सङ्ख्या निरन्तर घट्दै जाने तर क्याम्पसको प्रशासनिक र सञ्चालन खर्च बढ्दै जान थालेपछि एकीकरण गर्नुपरेको संयोजक पहाडीले बताए । दुवै क्याम्पसका सञ्चालक समितिले क्याम्पसलाई एकीकरण गरी एक सबल, परिस्कृत, आधुनिक र एकीकृत क्याम्पस स्थापना गर्न आवश्यक रहेको महसुस गरी एकीकरण प्रकिया अघि बढाइएकामा एक वर्षको प्रयासपछि सबै प्रक्रिया पूरा भएको उनले बताए । क्याम्पस एकीकरण प्रक्रिया टुङ्गिएसँगै चालु शैक्षिकसत्रदेखि नै दुवैतर्फ सञ्चालित कक्षालाई एकीकृत रूपमा सञ्चालन गरिने भएको छ । बजारमा रहेको शिवालय बहुमुखी क्याम्पस र झण्डै दुई किलोमिटर टाढा छमर्केमा रहेको गुप्तेश्वर बहुमुखी क्याम्पसमा सञ्चालित कक्षालाई विद्यार्थी र प्राध्यापकहरूको अनुकूलताअनुसार सञ्चालन गरिने उनले बताए । दुवै क्याम्पस समुदायद्वारा सञ्चालन भएका थिए । जिल्लाभर १२ सामुदायिक क्याम्पस सञ्चालनमा छन् । जिल्लाका सबैजसो क्याम्पसमा विद्यार्थीको सङ्ख्या न्यून छ । विद्यार्थीको सङ्ख्या न्यून हुँदा ती क्याम्पस बन्द हुने अवस्थामा पुगेका छन् । रासस

४ किमी सडक बनाउन ७ वर्षमा १४ पटक म्याद थप, तर कलोपत्रे समेत भएन

बागलुङ । निर्माण व्यवसायीले निर्धारित समयमा काम गरेको भए अहिले काठेखोला गाउँपालिकाको केन्द्रबाट वडा नं ७ को रेश पुग्ने सडक कालोपत्र भइसक्दथ्यो । गाउँपालिकामा पहिलोपटक रेश जाने सडक कालोपत्रका लागि २०७६ सालमा काम थाले पनि अझै अधुरै छ । सम्झौताको छ वर्ष बित्दा पनि सडक कालोपत्र नभएपछि स्थानीयलाई यात्रा गर्न सास्ती छ । उक्त सडक बरेङं–शान्तिपुर जाने यात्रुले समेत प्रयोग गर्दै आएका छन् । विसं २०७६ मा तीन वर्षमा सक्नेगरी निर्माण व्यवसायीसँग सम्झौता भएको सडक चौथो पटक म्याद थप गर्दा पनि सम्पन्न हुन नसकेको हो । अहिले सडकमा बनाइएको पूर्वाधार बिग्रन थालेको छभने सडकमा बिछ्याइएको ग्राभेल बर्खाको पानीले बगाएको छ । काठेखोला गाउँपालिका–७ का वडाध्यक्ष प्रेम लामिछानेका अनुसार उक्त सडकमा डेढ वर्षदेखि निर्माण व्यवसायी फर्केर गएका छैनन् । सडकको एकलेखेतबाट एक किमी सडकमा नाली पनि निर्माण भएको छैन । सम्झौताअनुसार काम भएको भए यतिबेला चिल्लो सडकमा सवारी गुडेका हुन्थे । पूर्वाधार निर्माणलाई अन्तिम चरणमा पुर्याएको निर्माण व्यवसायीले सडक अलपत्र छाडेर हिँडेको छ, अहिले निर्माण भइसकेका संरचनामा पनि क्षति भएको छ । सङ्घीय सरकार र स्थानीय काठेखोला गाउँपालिकाको साझेदारीमा नौ करोड लागत अनुमान गरिएको सडकको कालोपत्रको ठेक्का छ करोड ७१ लाखमा चार किमी सडक कालोपत्रका सम्झौता भएको थियो । उक्त सडकको कालोपत्रको जिम्मा पाएको निर्माण कम्पनीले सडक निर्माणमा चरम लापरवाही गरेको छ । ठेक्काको म्याद २०७९ जेठमै म्याद सकिएको निर्माण व्यवसयीले चौथो पटक म्याद थप गरेर आगमी चैतसम्म पुर्याएको छ । काठेखोला गाउँपालिकाले आगमी चैतसम्म कालोपत्र सक्नेगरी निर्माण व्यवसायीलाई निर्देशन दिएको गाउँपालिका अध्यक्ष राजु थापाले जानकारी दिए । सडक चौडा पार्ने र कालोपत्रका लागि पूर्वाधार निर्माणतर्फ ६० प्रतिशत काम सकेर निर्माण व्यवसायी काममा नर्फकिँदा समस्या भएको छ । भुक्तानीमा समस्या र कच्चा सामग्रीको अभावले काम ढिला भएको निर्माण व्यवसायी प्रकाश आचार्यले बताए । उनले केही समयमा सडक कालोपत्र गर्ने दाबी गरे । सडकको सुरुमा एक्लेखेतमा पाँच करोड लागतमा मोटरेबल पुल निर्माण भएर बाह्रैमास सवारी चल्ने भए पनि सडक समयमै कालोपत्र नहुँदा यात्रुलाई सास्ती भएको छ । अहिले रेश जाने सडक धुलाम्मे छभने केही ठाउँमा बर्खामा खसेको पहिरो पन्छाउन बाँकी छ । बर्खामा बिग्रेको सडक मर्मत गर्न निर्माण व्यवसायीले चासो नदिएको स्थानीय बताउँछन् ।

मोरङको बेलबारी, सुन्दरहरैँचा, केराबारीमा जङ्गली हात्तीको आतङ्क

मोरङ । सुन्दरहरैँचा नगरपालिका–८ का ७१ वर्षीय हरिप्रसाद घिमिरेको जङ्गली हात्तीको आक्रमणबाट मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालययका अनुसार गतबिहीबार राति घरमा हात्ती आएर उपद्रो मच्चाउन थालेपछि भाग्न खोज्दा हात्तीको आक्रमणमा परी उनको घटनास्थलमै मृत्यु भएको हो । माउ हात्ती छावा (बच्चा)सहित आएको गाउँमा आएको थियो । सुन्दरहरैँचा नगरप्रमुख केदारप्रसाद गुरागाईँले समुदायलाई आतङ्कित नहुन र सकेसम्म जङ्गली हात्तीबाट सुरक्षित रहन आग्रह गरे । ‘हामी जङ्गल क्षेत्र तथा हात्ती प्रभावित क्षेत्रमा आवश्यक पोलबत्तीको काम गरिरहेका छौँ’, उनले भने, ‘नागरिकको जीउधनको सुरक्षा गर्नु हाम्रो कर्तव्य हो, काम पूरा गर्न समय लाग्छ ।’ नगरको उत्तरतर्फको सामुदायिक वनमा एक दर्जनभन्दा बढी जङ्गली हात्ती रहेको र स्थानीयवासीलाई रातभर त्रास दिएको यहाँका वडाध्यक्ष खेम न्यौपानेले बताए । उनले हात्तीको त्रासका कारण यहाँका स्थानीय बासिन्दा रातभर जाग्राम बस्नुपरेको उल्लेख गरे । विगत तीन साताअघि सुन्दरहरैँचा–५ गुरुङ टोलका ६१ वर्षीया चन्द्रकुमारी लिम्बूको वनमा दाउरा काटेर घर फर्कँदा जङ्गली हात्तीको आक्रमणबाट निधन भयो । साथै एक महिनाअघि सुन्दरहरैँचा–७ स्थित सृजना सामुदायिक वनमा दाउरा खोज्न गएका बेला ४० वर्षीया गङ्गा श्रेष्ठको हात्तीको आक्रमणबाट निधन भएको थियो । यहाँको पालिकामा जङ्गली हात्तीको आक्रमणबाट विभिन्न समयमा मानवीय क्षति हुने गरेको छ । कोशी प्रदेशका झापा, मोरङ र सुनसरीलगायत जिल्लामा जङ्गली हात्तीले मानिसमाथि आक्रमण गर्ने, अन्नबाली नष्ट गर्ने तथा घर भत्काउने गरेको मोरङ डिभिजन वन कार्यालयले जनाएको छ । जङ्गली हात्तीको बथानले कोशी प्रदेशका झापा, मोरङ र सुनसरीलगायत जिल्लामा उपद्रो मच्चाइरहेको प्रहरीले जनाएको छ । सबैभन्दा धेरै झापा र मोरङमा मानवीय एवं भौतिक क्षति गरेको प्रहरीको भनाइ छ । पछिल्लो समय मोरङको बेलबारी, सुन्दरहरैँचा, केराबारीमा दैनिकजसो हात्तीको हुल देखिने गरेको छ । हात्तीले मान्छे मार्नेदेखि लिएर सर्वसाधारणले लगाएका बालीनालीमा क्षति पुर्याउने गरिरहेको छ । यसबीच मोरङमा एक वर्षमा दुई जङ्गली हात्ती मृत फेलापरेका छन् । एउटा जङ्गली हात्तीलाई विगत वर्षमा यहाँ गोली हानेर हत्या गरिएको थियो । जङ्गली हात्तीका कारण एक महिनामा सुन्दरहरैँचामा तीन जनाको ज्यान गइसकेको छ ।

पोखरामा दाइँ महोत्सव : नयाँपुस्ता र विदेशी पर्यटकमाझ चिनाउने उद्देश्य

कास्की । पोखरामा आजदेखि दाइँ महोत्सव हुने भएको छ । असारमा लगाएको धानखेतीलाई परम्परागत शैलीमा दाइँ गरी खेती भित्र्याउने कार्यलाई नयाँपुस्ता एवं विदेशी पर्यटकमाझ चिनाउने उद्देश्यले सो महोत्सव आयोजना गरिएको हो । पोखरा पर्यटन परिषद्को आयोजनामा पोखरा ‘सबै मौसमका लागि’ भन्ने नारासहित हुने उक्त महोत्सवबाट ‘अफ सिजन’मा समेत पर्यटकलाई आकर्षित गरी पोखरालाई आकर्षक गन्तव्यका रूपमा विकास गर्न सकिने आयोजकले जनाएको छ । पोखरा महानगरपालिका–२३ मार्गीस्थित फेवा फाँटमा सञ्चालन हुने सो परम्परागत दाइँ महोत्सवमा पर्यटक तथा युवालाई संलग्न गराउँदै यसको संरक्षण गर्ने उद्देश्य रहेको पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारीले बताए । उनका अनुसार पोखरामा भएका पर्यटकलाई कार्यक्रममा सहभागी गराई नेपालको परम्परागत कृषि प्रणाली तथा महत्त्वपूर्ण महोत्सवको प्रत्यक्ष अनुभूति गराइने छ । “पोखराको बढ्दो सहरीकरण र स्थानीयको बदलिँदो जीवनशैलीले यो महोत्सव परम्परागत खेती प्रणालीलाई पुस्तान्तरण गर्न स्थापित हुनेछ”, उनले भने । पोखरा पर्यटन परिषद्ले असारमा खेतीयोग्य जमिनको संरक्षण, परम्परागत खेती प्रणाली, असारे भाका तथा दही च्युरा खाने परम्परालाई जीवन्त राख्दै पर्यटन प्रवर्द्धन गर्न हरेक वर्ष असारमा रोपाइँ महोत्सव गर्दै आएको छ । पोखरा महानगरपालिकाभित्रका खेतीयोग्य जमिनको खण्डीकरणले उत्पादनमा ह्रास आइरहेको अवस्थामा यसको जगेर्ना गर्न प्रथम दाइँ महोत्सव सफल हुने परिषद्का महासचिव जीवनराज सापकोटाले बताए ।