विदेशबाट फर्केर कृषि पेसामा रमाएका युवा भन्छन् : विदेशको भन्दा राम्रो कमाइ
भोजपुर । भोजपुरका युवाहरू विदेशबाट फर्केर आफ्नै ठाउँमा उद्यम, व्यवसायमा जोडिन थालेका छन् । राज्यको तर्फबाट विदेशबाट फर्केर उद्यम, व्यवसायमा लाग्ने युवाका लागि विभिन्न प्रोत्साहनमूलक कार्यक्रम सञ्चालन भएसँगै यहाँका युवा कृषि पेसामा आकर्षित भएका हुन् । यहाँका युवाहरूले पछिल्लो समय व्यावसायिक रूपमा कृषि पेसाबाट मनग्य आम्दानी गर्दै आएका छन् । विदेशको भोगाइपछि आफ्नो ठाउँमा उद्यमशील बन्ने सोचका साथ व्यवसायमा जोडिएको युवा बताउँछन् । विदेशबाट फर्केर टेम्केमैयुङ–५ को शिवकुमार विष्टले व्यावसायिक रूपमा बाख्रापालनसँगै विभिन्न कृषि उद्यम गर्दै आएका छन् । बाख्रापालनसँगै व्यावसायिक रूपमा स्याउखेती विस्तारमा जुटेको उनले बताए । ‘विभिन्न देशमा गरेर १० वर्ष आफ्नो उर्वर समय बाहिर बिताएँ, अब स्वदेशमा केही गर्ने योजना छ । विदेशमा गर्ने मेहनत यहाँ गर्ने हो भने प्रशस्त आम्दानी हुन्छ’, उनले भने । स्थानीयर सरकार र सरोकार भएका निकायका तर्फबाट पनि विदेशबाट फर्केका युवालाई लक्षित गरेर विभिन्न प्रोत्साहनमूलक कार्यक्रम सञ्चालनमा ल्याएपछि व्यावसायिक रूपमा आवद्ध हुन चाहनेका लागि सहज भएको विष्टले बताए । जिल्लास्थित कृषि ज्ञान केन्द्र, घरेलु तथा साना उद्योग कार्यालय, स्थानीय तहलगायत निकायले विदेशबाट फर्केका युवालाई लक्षित गरेर विभिन्न प्रोत्साहनमूलक, तालिम तथा सीप प्रदान गर्दै आएका छन् । पुस्कर विष्टले पनि विदेशबाट फर्केर व्यावसायिक रूपमा बाख्रापालन गर्दै आएका छन् । ‘पुस्कर कृषि तथा पशुपालन फार्म’ सञ्चालन गरी बोयर र स्थानीय जात ५६ वटा बाख्रा पालन गरिरहेको उनले जानकारी दिए । ‘विदेशबाट फर्केर पाँच वर्षदेखि व्यावासायिक बाख्रापालनमा लागेको छु’, उनले भने, ‘अहिले फार्ममा ५६ वटा खसी, बाख्रा छन् । वार्षिक रु आठ/दश लाखको कारोबार हुन्छ ।’ बाख्रामा विभिन्न समयमा देखिने रोगका कारण भने समस्या हुने गरेको पुस्करले बताए । जाडो याममा बढी मात्रामा बाख्रामा निमोनियाको जोखिम देखिने गरेको उल्लेख गर्दै गाउँमा पशु प्राविधिकको व्यवस्था हुनुपर्नेमा जोड दिए । स्थानीय सरकारले किसानको व्यावसायिक योजनाको आधारमा आवश्यक सहयोग गरेमा कृषिमा लाग्ने युवाको सङ्ख्या अझ बढ्ने उनको भनाइ थियो । बाख्रापालनको लागि अहिले दश रोपनी क्षेत्रमा घाँस विस्तार गरेको बताउँदै पुस्करले योसँगै व्यावसायिक रूपमा अलैँचीखेती विस्तारसमेत गरिरहको जानकारी दिए । विदेशबाट फर्केर गाउँमा व्यावसायिक बाख्रापालनसँगै किबी, एभोकाडो, ओखर र सुतवाखेती गरिरहेका अर्का युवा एकराज विष्टले विदेश जानुभन्दा गाउँमा व्यवसाय गरेर उदाहरणीय बन्न सकिने बताए । ‘व्यावसायिक बनेर काम गर्न सकियो भने यहाँ प्रशस्त आम्दानी गर्न सकिन्छ’, उनले भने, ‘अहिले गाउँमा धेरै युवाहरू विदेशबाट फर्केर उद्यममा जोडिएका छन् । यही मेहनत गर्न हो भने वार्षिक चार-पाँच लाख रुपैयाँ कमाउन समस्या छैन ।’ रासस
गार्डियनको व्यापार २ हजार गुणाले बढाएका छौं, लाभांश यसै वर्षदेखि दिन्छौं : सीईओ भण्डारी
काठमाडौं । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) चिरायु भण्डारीले कम्पनीले चालु आर्थिक वर्षदेखि नै लाभांश वितरण गर्ने बताएका छन् । कम्पनीले निष्काशन गरेको आईपीओ बाँडफाँड कार्यक्रमलाई बोल्दै उनले यस्तो बताएका हुन् । उनले भने, ‘कम्पनीले चालु आव २०८१/०८२ देखि नै लाभांश वितरण गर्न सक्षम भएको छ । हामी व्यापार वृद्धिमा लागि परेका छौं । लगानीकर्ताले चालु आर्थिक वर्षदेखि नै लाभांश पाउँछन् ।’ यस्तै, सीईओ भण्डारीले कम्पनीको व्यावसायिक अवस्था सकारात्मक तरिकाले अघि बढिरहेको पनि बताएका छन् । उनले गत वर्षहरूको तुलनामा कम्पनीले २ हजार गुणा धेरै व्यापार गरिरहेको दाबी गरेका छन् । उनले सस्टेनेबल र लङ टर्म बिजनेस गरिरहेको पनि बताए । कम्पनीले सर्वसाधारणका लागि निष्काशन गरेको आईपीओको बाँडफाँड आज आइतबार भएको थियो । बाँडफाँड कुमारी क्यापिटलमा भएको थियो । गार्डियन माइक्रो लाइफको आईपीओ बाँडफाँड, १ लाख ८४ हजार ५ सय जनाले पाए सेयर
बजारमा पैसा धेरै भएपछि ६० अर्ब झिक्दै राष्ट्र बैंक
काठमाडौं । बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि नेपाल राष्ट्र बैंकले तरलता खिच्ने भएको छ । निक्षेप संकलन उपकरण बोलकबोलमार्फत आइतबार ६० अर्ब बराबर तरलता खिच्न लागेको हो । लामो समयदेखि बजारमा पैसा धेरै भए पनि व्यवस्थापनका लागि राष्ट्र बैंकले सातामा कम्तिमा दुई पटक पैसा झिक्दै आएको छ । सोही क्रममा आज पनि ६० अर्ब रुपैयाँ राष्ट्र बैंकले झिक्न लागेको हो । केन्द्रीय बैंकले २१ दिनका लागि निक्षेप संकलन उपकरण बोलकबोल मार्फत तरलता खिच्न लागेको हो । बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि चालु आर्थिक वर्ष सुरुवातबाट नै केन्द्रीय बैंकले निरन्तर तरलता खिच्दै आएको छ । निक्षेप संकलन दरमा स्थायी निक्षेप सुविधा दिएको केन्द्रीय बैंकले निक्षेप संकलन उपकरण बोलकबोलमार्फत पनि तरलता खिचिरहेको छ । आइतबार बोलकबोल हुने निक्षेप संकलन उपकरणको सावाँ-ब्याज २७ माघमा भुक्तानी हुनेछ । निक्षेप संकलन उपकरणको ब्याजदर बोलकबोलबाट तय हुनेछ । बोल गर्न सकिने रकम न्यूनतम १० करोड र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म हुनेछ । बोलकबोलमा राष्ट्र बैंकबाट इजाजतप्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउनेछन् ।
सेयरधनीलाई १४ प्रतिशत लाभांश दिने हिमालयन लाइफको घोषणा
काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ । माघ ४ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई १४ प्रतिशत बोनस सेयर दिने घोषणा गरेको हो । बोनस सेयरमा लाग्ने कर भने लगानीकर्ताले स्वयमले भुक्तानी गर्नुपर्ने कम्पनीले बताएको छ । कम्पनीको यो प्रस्ताव नेपाल बिमा प्राधिकरणले स्वीकृत गरेर कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।
भोलिदेखि अमेरिकाको सत्ता सम्हाल्दै ट्रम्प, वार्षिक तलब साढे ५ करोडभन्दा बढी
काठमाडौं । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले भोलि अर्थात् जनवरी २० देखि सत्ता सम्हाल्दैछन् । यससँगै उनले अमेरिकाका लागि महत्त्वपूर्ण निर्णयहरू गर्ने बुझिएको छ । नोभेम्बरमा भएको चुनावमा डोनाल्ड ट्रम्पले ठूलो जित हासिल गरेका थिए । राष्ट्रपति पदमा बस्नेबित्तिकै उनले करोडौं रुपैयाँको तलब पाउन थाल्नेछन् । साथै यात्रा र मनोरञ्जनका लागि पनि भत्ता पाउनेछन् । राष्ट्रपतिलाई यो तलब सरकारी खर्चबाट दिइन्छ । अमेरिकी राष्ट्रपतिले वार्षिक ४ लाख डलर (५.५३ करोड रुपैयाँ) तलब पाउनेछन् । यो तलब सन् २००१ मा निर्धारण गरिएको थियो । त्यसबेलादेखि अहिलेसम्म यसमा कुनै परिवर्तन गरिएको छैन । तलबबाहेक अमेरिकी राष्ट्रपतिले १ लाख ६९ हजार डलर (२.३३ करोड रुपैयाँ) का विभिन्न भत्ताहरू पनि पाउँछन् । यसरी राष्ट्रपतिले वार्षिक कुल ५ लाख ६९ हजार डलर (करिब ८ करोड रुपैयाँ) को वार्षिक प्याकेज पाउँछन् । भत्तामा के-के समावेश छ ? खर्च भत्ता- अमेरिकी राष्ट्रपतिले व्यक्तिगत र आधिकारिक खर्चका लागि ५० हजार डलर पाउँछन् । यात्रा र मनोरञ्जन भत्ता- ट्रम्पले एक लाख डलरको यात्रा भत्ता र १९ हजार डलर मनोरञ्जन कोषको रूपमा पाउँछन् । यसमा कर्मचारी र पाकशालाका कर्मचारीको तलब पनि समावेश हुन्छ । ह्वाइट हाउस पुनर्सजावट- पदभार ग्रहण गर्दा राष्ट्रपतिले ह्वाइट हाउसको पुनर्सजावटका लागि एक लाख डलर पाउँछन् । यी सुविधाहरू पनि अमेरिकी राष्ट्रपतिले ह्वाइट हाउसमा बस्न, एयर फोर्स वन, मरिन वन, २४ घण्टा सिक्रेट सर्भिस सुरक्षालगायत धेरै महत्त्वपूर्ण सुविधाहरू पाउँछन् । अमेरिकी राष्ट्रपतिले निःशुल्क उपचारको सुविधा पनि पाउँछन् । ट्रम्पले पनि यी सबै सुविधाहरू पाउनेछन्। अमेरिकी राष्ट्रपति देश-विदेश भ्रमण मरिन हेलिकप्टर र एयर फोर्स वन विमानबाट गर्छन् । अमेरिकी राष्ट्रपति वाशिङ्टनमा आफ्नो आधिकारिक निवासबाट विमानस्थलसम्म मरिन वन हेलिकप्टरमा जान्छन् । यसमा पनि उनीसँग मरिन कमान्डो र सिक्रेट सर्भिसका अधिकारीहरू हुन्छन् । एयरफोर्स वन के हो ? एयरफोर्स वन हवाईजहाज हो जसमा अमेरिकी राष्ट्रपति यात्रा गर्छन् । यसलाई ‘फ्लाइङ ह्वाइट हाउस’ को नामले पनि चिनिन्छ । यसमा राष्ट्रपतिका लागि आफ्नो दैनिक कामकाज गर्न ह्वाइट हाउसजस्तै सबै आवश्यक सुविधाहरू हुन्छन् । यसमा राष्ट्रपतिबाहेक एकै पटक १०० भन्दा बढी मानिसहरू यात्रा गर्न सक्छन् । यो निकै सुरक्षित हुन्छ ।
अमेरिकामा टिकटक बन्द
काठमाडौं । अमेरिकामा टिकटकमाथि प्रतिबन्ध लगाउने तयारी भइरहेका समय टिकटकले सेवा अवरूद्धताका लागि आफ्ना प्रयोगकर्ताहरूसँग क्षमा याचना गर्दै हाललाई अमेरिकामा यो सेवा अवरूद्ध भएको घोषणा गरेको छ । केही अमेरिकी प्रयोगकर्ताले टिकटकलाई गुगल एप स्टोरबाट पनि हटाइएको बताएका छन् । अमेरिकामा प्रतिबन्ध लागू हुनुभन्दा केही घण्टाअघि नै सामाजिक सञ्जाल टिकटक बन्द गरिएको हो । प्रयोगकर्ताले अमेरिकामा टिकटक खोल्दा उनीहरूको टिकटक पेजमा ‘तपाईं अहिले टिकटक प्रयोग गर्न सक्नुहुन्न’ भन्ने एउटा सन्देश देखिन्छ । यो सन्देश टिकटकले अमेरिकामा आफ्नो सेवा बन्द भएको घोषणा गरेपछि देखिन थालेको हो । धेरै प्रयोगकर्ताले एप स्टोरबाट पनि टिकटक हटाइएको बताएका छन् । अमेरिकी सर्वोच्च अदालतले शुक्रबार टिकटकमाथि प्रतिबन्ध लगाउने कानुनको पक्षमा फैसला सुनाएको थियो । टिकटकको मूल कम्पनी बाइटडान्सले अमेरिकी फर्म वा कम्पनीलाई टिकटकको स्वामित्व बेचेको खण्डमा मात्र टिकटक प्रतिबन्धबाट बच्न सक्ने फैसलामा उल्लेख छ । त्यसपछि टिकटकले एक विज्ञप्ति जारी गर्दै जो बाइडेन, ह्वाइट हाउस र न्याय मन्त्रालयले हामीलाई स्पष्टता र आश्वासन दिन असफल भएकाले सेवा अर्को व्यवस्था नभएसम्मका लागि बन्द गरिएको छ । ‘सौभाग्यवश, अमेरिकी राष्ट्रपति निर्वाचित हुनुभएका रिपब्लिकन नेता डोनाल्ड ट्रम्पले पदभार ग्रहण गरेपछि टिकटक पुनः सुरु गर्ने समाधान खोज्न हामीसँग मिलेर काम गर्ने सङ्केत गर्नुभएको छ,’ टिकटकले भनेको छ। अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले टिकटकलाई ९० दिनको प्रतिबन्धबाट छुट दिन सक्ने आश्वासन दिएको टिकटकले जनाएको छ ।
घरमा पाइने सस्ता पोषक खानेकुराको हेला गरिँदै, महँगा भिटामिनका पछाडि दौडिनेक्रम बढ्दै
‘डाक्टर साहेव, मलाई कमजोरी भइरहेछ, कुनै भिटामिन वा टनिक लेखिदिनुस् न ।’ यो वाक्य अस्पताल, हेल्थपोष्ट र क्लिनिकमा काम गर्ने डाक्टर वा स्वास्थ्य कार्यकर्ताले प्रायः सुन्नुपर्छ । हातमा ठूला राम्रा टनिकका सिसी लिएर घरपरिवारका बालबालिका वा बिरामीबाट भर्खर तङ्ग्रिन लागेका व्यक्तिलाई खुवाउने प्रचलन अहिले गाउँ सहर सबै ठाउँमा बढ्दो छ । पहिले सुत्केरीलाई ज्वानोको झोल खुवाएर दूध पर्याप्त मात्रामा आउँथ्यो । क्याल्सियम पनि हुन्थ्यो । तर अहिले ज्वानोको नाममा नाक खुम्च्याइन्छ तर महँगा क्याल्सियमका चक्की भने मज्जासँग खुवाइन्छ । त्यसैगरी बढी भिटामिन ख्वाउनुपर्छ भनेर मानिसहरु जताततै भिटामिनको खोजीमा छन् । कतिचोटी ग्राहक आफैँ औषधि पसलमा गएर भन्छन्, ‘मलाई कमजोरी भएको छ कुनै तागतको झोल दिनुस् न ।’ औषधि पसलेले कुनै ‘कुनै रङ्गीन झोल’ निकालेर दिन्छ र ग्राहक खुसी हुँदै ‘तागतको सिसी’ लिएर फर्कन्छन् । विशेषगरी गाउँघरतिर महिला ढाड दुख्नेदेखि लिएर मुटु पोल्नेसम्म जुनसुकै प्रकारको शारीरिक अस्वस्थतामा पनि भिटामिन प्रयोग गर्छन् । सहरका महिलाले पनि आफैँ ‘दुब्लो भएँ, मोटाउने भिटामिन दिनुस् न’ भन्दै औषधि पसलबाट किनेर ल्याउँछन् । गाउँमा स्वास्थ्य शिविर सञ्चालन गर्दा कतिचोटी महिला खास कुनै समस्या नभए पनि कमजोरी भयो भनेर आउँछन् र भिटामिनको माग गर्छन् । यदि उनीहरुलाई भिटामिन नदिने हो भने ‘कस्तो डाक्टर होला । केही रोग छैन भनेर भिटामिन दिएन’ भनेर गुनासो गरेको पनि सुनिन्छ । त्यसैगरी बच्चाले भात खाएन भनेर बजारको औषधि खुवाए भात र रोटीले पाउने पोषण पुग्छ भन्ने ठान्छन् । भिटामिन मानव शरीरको लागि एकदमै नभई नहुने तत्व हो । त्यस शब्दको उत्पत्ति नै ल्याटिनको भाइटल (अत्यन्त आवश्यक) शब्दबाट भएको हो । भिटामिन मानव शरीरलाई अत्यन्त कममात्रामा चाहिन्छ भन्ने त सबैलाई थाहा छ तर यो हामीले दिनदिनै खाने भोजनबाट नै प्राप्त हुन्छ र यसको बढी प्रयोग गरेर ज्यादा फाइदा हुँदैन भन्ने कुराचाहिँ कमैलाई थाहा छ । त्यसैले त उनीहरु त्यसको पूर्ति हेर्दा आकर्षक देखिने तर महँगा र अनावश्यक झोलहरुले हुन सक्दैन भन्ने तथ्यतर्फ कमैको ध्यान गएको पाइन्छ । गर्भवती र सुत्केरी आमालाई सबै पौष्टिक तत्व एवं भिटामिनहरु बढी चाहिन्छन् भन्ने कुरा पनि प्रायःलाई थाहा हुन्छ, तर ती आवश्यक तत्वहरु प्राकृतिक भोजनमै धेरै हुन्छ भन्ने कुरामा कमैले ध्यान पुर्याएको देखिन्छ । आमा पनि चाहे काखको बच्चा होस् चाहे बढ्ने बच्चा सबैलाई भिटामिन झोल र टनिक दिएर सन्तुष्ट हुन्छन्, बच्चालाई पोषण दिइरहेको ठान्छन् । बाबु आमा कमैलाई थाहा छ-भान्छामा भएको भोजन नै बच्चालाई सबैभन्दा उपयुक्त हुन्छ । आधुनिक चिकित्सा विज्ञानका पिता हिपोक्र्याटस भनेका थिए, ‘भोजन नै औषधि हो ।’ विभिन्न विज्ञापनका भरमा औषधि किनेर खाने प्रचलन र घरको खानेकुराले मात्रै हाम्रो शरीर कमजोर हुन्छ भन्ने गलत मानसिकताका कारणले नै मानिसहरु सिसी र चक्की भिटामिन औषधि किनेर खान्छन् । हाम्रा करेसाबारीमा फलेका हरिया तरकारी, बजारमा पाइने मौसमअनुसारका फलफूल आदिलाई बेवास्ता गरेर हामीहरु धेरैजसो स्वास्थ्य राम्रो पार्नका लागि बजारका टनिक किनेर खान्छौँ । भिटामिनको प्रयोग गर्दा चक्कीभन्दा रङ्गीन झोल वा टनिकहरु बढी फाइदाजनक र झोलभन्दा बढी भिटामिन सुई फाइदाजनक हुन्छन् भन्ने गलत धारणाले गर्दा गाउँघरमा प्रत्येक रोगको लागि भिटामिन सुई लिने प्रचलन पनि धेरै मात्रामा छ । अनेक भ्रामक र अज्ञानताको कारणले पछिल्लो समय गाउँघरमा पनि सस्ता पोषक खानेकुराहरु छोडेर महँगो झोल तथा सुईका पछाडि दौडिनेक्रम बढ्दै गएको छ । यस्तो चलन बढ्नुको एउटा कारण रेडियो, पत्रपत्रिका र टिभीजस्ता सञ्चार माध्यमहरुमा हर्लिक्स्, बुष्ट, बोर्नभिटाजस्ता भिटामिनहरुको प्रचारप्रसार अत्यधिक हुनु पनि हो । भिटामिन ‘ए’ को कमीले हुने राति अन्धो हुने रोगको लागि ‘भिटामिन ए’ को क्याप्सुल बाँडिन्छ । तर तपाईको घरको बारीको फल मेवा वा अम्बा खाउँ है भनेर भनिदैन । जुन ठाउँमा पर्याप्त मात्रामा अमला पाइन्छ त्यो ठाउँमा भिटामिन सी’ को चक्की बेचिन्छ महँगोमा । सस्तोमा पाइने अमला भिटामिन सीकोभन्दा धेरै सस्तो भएर पनि बेवास्ता गरिन्छ । डा. अरुणा उप्रेती मानिसहरुले आफ्नो धेरै कमाई भ्रममा परेर यस्ता रङ्गीन झोलमा खर्च गरिरहेका छन् । औषधि पसलमा गएर रङ्गीन झोल किन्नुभन्दा अगाडि तपाईं डाक्टरलाई सोध्नुस्, ‘के वास्तवमा नै मलाई भिटामिन जरुरी छ र?’ भोक लगाउने टनिक आफूले खानुभन्दा अघि वा परिवारका सदस्यहरुलाई दिनुभन्दा अघि सोच्नुस्, ‘के यो वास्तवमा तपाईंलाई चाहिन्छ ? के यसका सम्पूर्ण कुप्रभावहरुबारे तपाईंलाई जानकारी दिइएको छ ? कतिपय विकसित देशहरुमा कुप्रभाव पर्छ भनेर भनिएका यस्ता भिटामिनका चक्की वा झोलहरु नेपालमा प्रश्रयका साथ बिक्री वितरण भइरहेको छ । सन्तुलित भोजनबाट नै सबैखाले भिटामिनहरु पाउन सकिन्छ भनेर बुझ्नसक्यो भने भिटामिन झोल र टनिकको कसैलाई पनि जरुरत हुँदैन । त्यसैगरी धेरै मानिसहरु भोजन भनेर पाचन गराउने रस किनेर खान्छन् । तर घरमै भएका खानेकुरा ज्वानो, हिङजस्ता तत्वहरुको प्रयोग गरे पनि पच्ने प्रक्रिया राम्रो हुन्छ भनेर धेरै थोरैलाई मात्र थाहा हुन्छ होला । युवा पुस्तामा त यस्ता कुराहरुमा कमैले चासो दिएको पाइन्छ । तराईमा घरघरमा पाइने मेवा पाकेर झरिरहेका हुन्छन् । त्यसलाई हेरेर आँखा तर्काएर हिँड्नेहरुलाई थाहा छैन कि मेवा कस्तो औषधि, पाचन रस र भिटामिनले भरिएको खानेकुरा हो भनेर । खाना पचाउने भनेर थरिथरिका सिसीहरु बजारबाट किनेर ल्याउनेहरुलाई थाहा छ कि छैन मेवामा शरीरका भोजन पचाउन चाहिने सबै पाचन रसहरु जस्तै– पापायीन, खिम्मोपापिन आदि हुन्छ । मेवालाई विभिन्न ठाउँमा विभिन्न तरिकाले प्रयोग गरिन्छ । कतै पाकेको, कतैकतै पाकेको फललाई झोल बनाएर खाइन्छ, कतै काँचो मेवालाई तरकारी वा अचार बनाएर खाइन्छ जसरी खाए पनि यसले शरीरको रोग प्रतिरोधात्मक शक्ति बढाउने मात्रा होइन कि शरीरमा रहेका अन्य समस्या जस्तो कब्जियत हुने, खाना नपच्ने समस्या हुने आदि हटाउन पनि सक्छ । मेवामा भिटामिन ‘सी’ को मात्रा प्रचुर रहेको हुन्छ । आधुनिक पाचन रसका बारेमा जानिफकार प्रोफेसर म्यकस वोल्फले क्यानेडियन सिपाहीहरुमा अनुसन्धान गरेका थिए । उनले पर्याप्त मात्रामा पाचन रस भएका फलफूलहरुको खान दिएका सिपाहीहरुको स्वास्थ्यमा मात्र सुधार भएन कि उनीहरुमध्ये जसलाई धेरै रुघाखोकी लागि रहन्थ्यो दुई तिहाईलाई त लामो समयसम्म रुघाखोकी नै लागेन । एक तिहाई सिपाहीलाई रुघाखोकी लागे पनि कडा रुपले लागेन । प्रोफेसर वोल्फले आफ्ना विभिन्न अनुसन्धानबाट यो निष्कर्ष निकाले कि, शरीरमा पर्याप्तमात्रामा पाचन रस हुने हो भने व्यक्तिहरुको शरीरमा किटाणुहरुले आक्रमण गरेर रोग लाग्ने सम्भावना कम हुन्छ । पाचन रस प्राप्त गर्न टाढा जानै पर्दैन । मेवामा रहेका पर्याप्त तत्वहरु नै खानेकुरा पचाउन पर्याप्त छन् । तरै प्रायः मानिसहरु घरमा फलेको मेवा खान छोडेर, औषधि पसलमा गएर पाचन गर्ने औषधि, विभिन्न भिटामिनका झोल, शक्ति दिने झोल, सुत्केरी महिलालाई दूध बढाउने झोल, बालबालिकालाई भोक लगाउने झोल भनेर अनेकथरीका थरीथरीका बट्टाहरु किनेको पाइन्छ । नेपाली उखान ‘नजिकको तीर्थ हेला’ भने झैँ आफूसँग भएको वस्तुको बेवास्ता गरेर त्यसको सट्टामा महँगा झोलहरु किन्नेक्रम बढिरहेको छ । यसले आर्थिक रुपमा मात्र नभई स्वास्थ्यका हिसाबले पनि फाइदा पुगेको छैन । रासस (लेखक जनस्वास्थ्य तथा पोषणविद् हुन्)
ट्रम्पको योजनाले रकेट बन्यो क्रिप्टो, भोलिदेखि झन् बढ्नसक्ने प्रक्ष्येपण
काठमाडौं । क्रिप्टोकरेन्सी फेरि चर्चामा आएको छ । यसको कारण हो- अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पको भोलि अर्थात् जनवरी २० मा हुने शपथग्रहण । ट्रम्पले जनवरी २० मा अमेरिकी राष्ट्रपति पदको शपथ लिनेछन् । उनले शपथ लिएपछि क्रिप्टोकरेन्सीसँग सम्बन्धित केही घोषणा गर्न सक्ने बुझिएको छ । यही कारणले नै पछिल्ला ५ दिनमा क्रिप्टोकरेन्सीमा ठूलो उछाल आएको छ । त्यसैगरी, ट्रम्पले शुक्रबार ट्रम्प मिम कोइन लन्च गरेका थिए । यो कोइन लन्च हुनासाथ यसमा ८ हजार प्रतिशत उछाल आएको थियो । ट्रम्पका साथी एलन मस्क लगायत धेरै व्यक्तिहरू ट्रम्प प्रशासनसँग जोडिएका छन् । यिनीहरू पनि क्रिप्टोकरेन्सीका समर्थक हुन् । जानकारहरूका अनुसार यस्तो अवस्थामा बिटकोइनलगायत अन्य क्रिप्टोकरेन्सीमा पनि आउने समयमा तीव्र उछाल आउन सक्छ । ट्रम्पको योजना जानकारहरूका अनुसार ट्रम्पले आफ्नो कार्यकालको पहिलो केही दिनमा क्रिप्टोकरेन्सी कम्पनीहरूमाथि लाग्ने नियामक बोझलाई कम गर्न सक्छन् । साथै उनले डिजिटल करेन्सी अपनाउन प्रोत्साहन गर्नेसम्बन्धी केही घोषणा गर्न सक्छन् । ट्रम्पले अमेरिकी राष्ट्रपतिको सत्ता सम्हालेपछि क्रिप्टो सल्लाहकार परिषद् बनाउन एक कार्यकारी आदेशमा हस्ताक्षर गर्न सक्छन् । ब्लुमबर्ग न्युजले पनि स्रोतमार्फत यसबारे समाचार प्रकाशित गरेको थियो । यो परिषद्ले सरकारलाई क्रिप्टोमैत्री नीतिमा सल्लाह दिन मद्दत गर्नेछ । यसमा २० सदस्य हुन सक्छन् । क्रिप्टोमा कति आयो उछाल ? पछिल्ला ५ दिनमा क्रिप्टोकरेन्सीमा ठूलो उछाल देख्न पाइएको छ। हेरौं, ५ दिनमा कुन प्रमुख क्रिप्टोकरेन्सीमा कति उछाल आयो । बिटकोइन बिटकोइनले फेरि एक लाख डलरको आँकडा पार गरिसकेको छ । आइतबार बिहान ११ बजे यसको मूल्य १.०५ लाख डलर थियो । यसमा पछिल्लो ५ दिनमा ८ प्रतिशतभन्दा बढीको उछाल आएको छ । डगकोइन यो क्रिप्टोकरेन्सीले पनि उचाइ लिन थालेको छ । अहिले यसको मूल्य ०.३९ डलर छ । पछिल्लो ५ दिनमा यसमा करिब १० प्रतिशतको उछाल आएको छ । लाइटकोइन यसमा पनि पछिल्लो केही समयदेखि निकै तेजी देखिएको छ । अहिले यसको मूल्य करिब १२० डलर छ । ५ दिनमा यसमा १७ प्रतिशतभन्दा बढी उछाल आएको छ । रिपल यो क्रिप्टोकरेन्सी पनि पछिल्लो केही समयदेखि रकेट बनेको छ । अहिले यसको मूल्य ३.१८ डलर छ । ५ दिनमा यसमा १९ प्रतिशतभन्दा बढीको उछाल आएको छ । सोलाना यो क्रिप्टोकरेन्सी निकै तीव्र गतिका साथ अघि बढिरहेको छ । पछिल्लो २४ घण्टामा यसमा जबरजस्त उछाल आएको छ । अहिले यसको मूल्य २६९.६० डलर छ । ५ दिनमा यसमा करिब ४५ प्रतिशतको तेजी आएको छ ।