विकासन्युज

एनपीएल व्यवस्थापनमा अब्बल एभरेष्ट, ईपीएस पनि ३२.६ रुपैयाँ कायम

काठमाडौं । एभरेष्ट बैंकले चालु आर्थिक वर्षको पुस मसान्तसम्म २ अर्ब ७ करोड ४७ लाख रुपैयाँ खुद नाफा गरेको छ । बैंकले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २१.११ प्रतिशत बढी नाफ गरेको हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १ अर्ब ७१ करोड ३१ लाख रुपैयाँ खुद नाफा गरेको थियो । यो अवधिमा बैंकको कुल सञ्चालन आम्दानी १७.६९ प्रतिशत, खुद ब्याज आम्दानी १९.११ प्रतिशत र खुद फि तथा कमिशन आम्दानी १४.४६ प्रतिशत र बैंकको सञ्चालन नाफा २६.९७ प्रतिशत बढेको छ । यो अवधिमा बैंकको वितरणयोग्य नाफा २ अर्ब ७१ करोड ६७ लाख रुपैयाँ रहेको छ । बैंकको प्रतिसेयर आम्दानी (ईपीएस)२.९४ रुपैयाँ बढेर ३२.०६ रुपैयाँ पुगेको छ । गत आवको सोही अवधिमा २९.१२ रुपैयाँ रहेको थियो । बैंकको वितरणयोग्य प्रतिसेयर आम्दानी भने ३०.५८ रुपैयाँ छ । पुस मसान्तसम्ममा बैंकको प्रतिसेयर नेटवर्थ २२५.९ रुपैयाँ छ । बैंकको खराब कर्जा ०.६६ प्रतिशत रहेको छ । गत आवको सोही अवधिमा बैंकको खराब कर्जा ०.७७ प्रतिशत रहेको छ । अन्य वाणिज्य बैंकलाई खराब कर्जा अनुपात बढ्दै गएर समस्या सिर्जना हुँदा एभरेष्ट बैंक भने कर्जा व्यवस्थापनमा अब्बल देखिएको हो ।

८५ प्रतिशतले बढ्यो प्रभु बैंकको खुद नाफा, यस्ता छन् अन्य सूचक

काठमाडौं । प्रभु बैंकको खुद नाफा ८५.४९ प्रतिशतले वृद्धि भएको छ । बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार नाफा ८५.४९ प्रतिशतले वृद्धि भएको हाे । चालु आवको पुस मसान्तसम्ममा बैंकले १ अर्ब ३३ करोड ६१ लाख रुपैयाँ खुद नाफा गरेकाे छ। गत आवको सोही अवधिसम्ममा बैंकले ७२ करोड ८५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो। यस्तै, बैंकको खुद ब्याज आम्दानी २.१२ प्रतिशत, कमिशन आम्दानी १७.१८ प्रतिशत, कुल सञ्चालन आम्दानी ११.१० प्रतिशत बढेको छ। बैंकको इम्पेरमेन्ट चार्ज १ अर्ब २५ करोड ७७ लाख रुपैयाँबाट घटेर ८१ करोड ४२ लाख रुपैयाँमा झरेको छ। बैंकको प्रतिसेयर आम्दानी ५ रुपैयाँ २३ पैसा बढेर ११ रुपैयाँ ३५ पैसा पुगेको भने प्रतिशेयर नेटवर्थ १४४ रुपैयाँ ७९ पैसा रहेको छ । मूल्य आम्दानी अनुपात १९.३६ गुणा र वितरणयोग्य मुनाफा ३ अर्ब ३३ करोड १३ लाख रुपैयाँ ऋणात्मक रहेको छ। बैंकको जगेडा कोषमा १० अर्ब ५४ करोड ४९ लाख रुपैयाँ सञ्चित छ।

ग्लोबल आइएमई बैंकको नाफा साढे ४९ प्रतिशत बढ्यो, ईपीएसमा पनि सुधार

काठमाडौं । चालु आर्थिक वर्षको पुस मासन्तमसम्म ग्लोबल आइएमई बैंकको नाफा ३ अर्ब बढी भएको छ । बैंकले यो अवधिमिा ३ अर्ब ५ करोड ३४ लाख रुपैयाँ खुद नाफा गरेको हो । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४९.५१ प्रतिशत बढी हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले २ अर्ब ४ करोड २३ लाख रुपैयाँ खुद नाफा गरेको हो । यो अवधिमा बैंकको खुद ब्याज आम्दानी ८.०९ प्रतिशत घटेको छ भने खुद फि तथा कमिशन आम्दानी १७.३४ प्रतिशत बढेको छ । बैंकको सञ्चालन नाफा ४७.८८ प्रतिशत बढेको छ । बैंकको प्रतिसेयर आम्दानी पनि बढेको छ । यो अवधिमा बैंकको प्रतिसेयर आम्दानी ४ रुपैयाँ ७१ पैसा बढेर १६ रुपैयाँ २ पैसा पुगेको छ । सो अवधिसम्ममा बैंकको वितरणयोग्य मुनाफा २ अर्ब ६४ करोड ५३ लाख रुपैयाँ रहेको छ भने वितरणयोग्य प्रतिशेयर आम्दानी १२ रुपैयाँ ४९ पैसा रहेको छ ।

विराट एक्स्पो २०२५ मा गुणस्तरीय व्यवस्थापन प्रणालीका बारेमा जानकारी दिइने

काठमाडौं । आठौं संस्करणको विराट एक्स्पोले नयाँ लगानीकर्ताले उद्योग व्यवसाय सञ्चालन गर्दा अपनाउनु पर्ने गुणस्तरीय व्यवस्थापन प्रणालीका बारेमा जानकारी दिने भएको छ । उद्योग संगठन मोरङको आयोजनामा माघ ११ देखि २० गतेसम्म आठौं संस्करणको विराट एक्स्पो हुन लागेको हो । उक्त एक्स्पोमा आयोजक उद्योग संगठन मोरङले सुरु गरेको क्युसेफ व्यवस्थापन मापदण्ड प्रणालीको सुरुवाती चरण अन्तर्गत एक्स्पो स्थलमा गुणस्तरीय व्यवस्थापन प्रणाली र स्वः परीक्षणको व्यवस्था गरेको हाे । माघ दोस्रो सातादेखि विराटनगरको डिग्री क्याम्पस परिसरमा सुरु हुने एक्स्पोमा उद्योगी व्यवसायीले आफ्नो उद्योग, औद्योगिक प्रतिष्ठानहरुको गुणस्तर मापदण्ड प्रणाली अनुसार कस्तो अवस्थामा छ, अनुपालना गर्नु पर्ने प्रावधानहरुको पालना भएको छ छैन लगायत समग्र आफ्नो उद्योगको अवस्था एवं क्षमताका बारेमा स्वः गुणस्तरिय व्यवस्थापन प्रणालीको परिक्षण गर्न सक्ने छन् । एक्स्पो अवधिमा डिजिटल प्लेटफर्ममार्फत आफै मोबाइलमार्फत आफ्नो उद्योगको व्यवस्थापकीय क्षमताका आंकलन गर्ने र त्यसको नतिजा तुरुन्त प्राप्त गर्ने व्यवस्था एक्स्पोले मिलाइएको छ । यो स्वः परीक्षण नतिजाले गुणस्तर मापदण्डको प्रमाण पत्र प्राप्त गर्न केके गर्नु पर्दछ, कुनकुन विषयमा क्षमता विकास गर्नुपर्दछ भन्नेबारे जानकारी उपलब्ध गराउने उद्योग संगठनले जनाएकाे छ । यो प्लेटफर्म संगठनले सुरु गरेको क्युसेफ व्यवस्थापन मापदण्ड प्रणालीको प्रारम्भिक चरण भएको उद्योग संगठनले जनाएको छ ।

सिमेन्ट उत्पादक संघ र निर्माण व्यवसायी महासंघबीच सहमति

काठमाडौं । सिमेन्ट उत्पादक संघ र नेपाल निर्माण व्यवसायी महासंघबीच सहमति भएकाे छ । आइतबार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा मन्त्री दामोदर भण्डारी र वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक राजन पौडेलको उपस्थितिमा संघ र महासंघबीच सहमति भएकाे हाे । छलफलमा नेपाल सिमेन्ट उत्पादक संघका प्रतिनिधिहरू र नेपाल निर्माण व्यवसायी महासंघसहितका विभिन्न ४ वटा निर्माण व्यवसायसँग सम्बन्धित प्रतिनिधिहरूको उपस्थिति थियाे । उद्योगहरूले उत्पादन गरी माग बमोजिम सिमेन्ट सहजै आपूर्ति हुने गरी उत्पादनमा ध्यान दिन तथा उद्योगहरूमा भइरहेको विद्युत आपूर्तिको कटौती र लोडसेडिङलाई अन्त्य गरी निर्वाध रूपमा उद्योग सञ्चालन गर्ने वातावरण मिलाउने सम्बन्धमा सहमति भएको हो । उद्योग मन्त्रालयको तर्फबाट आवश्यक पहल गर्ने तथा सिमेन्ट उद्योगीहरू र निर्माण व्यवसायीहरूले एक-अर्काका समस्यालाई मनन गरी आ-आफ्नो स्थानबाट समन्वय र समझदारी विकास गर्दै औद्योगिक उत्पादन र विकास निर्माणका कार्यमा सँगसँगै अगाडि बढ्ने भन्ने लगायतका विषयमा छलफल भएको नेपाल सिमेन्ट उत्पादक संघका एक पदाधिकारीले जानकारी गराए ।

नयाँ दिल्लीमा नेपाल-भारत व्यापार सम्झौताको विषयमा छलफल

काठमाडौं । नाडा अटाेमाेबाइल्स एसाेसिएसन अफ नेपालले शनिबार नयाँ दिल्लीमा भारत सरकारका वाणिज्य विभागका सहसचिव विमल आनन्द र इन्जिनियरिङ एक्सपोर्ट प्रमोशन काउन्सिल अफ इण्डीयाका (इइपीसी) राष्ट्रिय अध्यक्ष पंकज चड्डासँग छलफल गरेको छ । नाडाका अध्यक्ष करण चौधरीको नेतृत्वमा गएको नाडा प्रतिनिधि मण्डलले नेपाल र भारतको व्यापार सम्झौतालाई थप विस्तार र प्रभावकारी कसरी बनाउन सकिन्छ भन्ने बारेमा छलफल गरेको हो । द्विपक्षीय आयात निर्यातलाई कसरी सुदृढ बनाउन सकिन्छ भन्ने विषयमा पहिलो चरणको छलफल सम्पन्न भएकाे हाे । अर्को चरणको छलफलको लागि दुबै पक्षले अर्को मिति तोकेर भारतको इइपीसीलाई नेपालमा निमन्त्रण गरिने नाडाले जनाएकाे छ । उक्त छलफलमा अटोमोबाइल कम्पोनेण्ट, अटोमोवाइल स्पेयर पार्टस र विद्युतीय सवारीसाधनहरूका विषयमा छलफल गरिने छ । यही जनवरी १७ देखि २१ सम्म भारतको नयाँ दिल्लीमा आयोजना भइरहेको भारत मोबिलिटीअन्तर्गत भईरहेको अटो प्रदर्शनीको सन्दर्भमा नाडा केन्द्रीय कार्य समितिका पदाधिकारी तथा सदस्यहरुको प्रतिनिधिमण्डल भारत भ्रमणमा रहेको छ । उक्त छलफलमा इन्जिनियरिङ एक्सपोर्ट प्रमोशन काउन्सिल अफ इण्डीयाका (इइपिसी) तर्फबाट पूर्व अध्यक्ष अरुण गारोडिया, सह निर्देशक पल्लवी साह, कार्यकारी निर्देशक तथा सचिव अधिप मित्रा र निर्देशक नीशिकान्त जुम्दा समेतको उपस्थिति रहेको थियो । त्यसैगरी नाडाकोतर्फबाट निवर्तमान अध्यक्ष डा. ध्रुव थापा, बरिष्ठ उपाध्यक्ष आकाश गोल्छा, संस्थागत उपाध्यक्ष पुष्कर ओझा, उपाध्यक्ष राजनबाबु श्रेष्ठ, महासचिव सुरेन्द्रकुमार उपे्रती, सचिव विक्रम सिंहानिया, कोषाध्यक्ष मिलनबाबु मल्ल र सहकोषाध्यक्ष पंकज अग्रवाल समेतको उपस्थिति रहेको थियो ।

क्रियो र स्ट्राटेजी सेन्ट्रलबीच साझेदारी, ब्रान्ड परामर्श सेवा प्रदान गर्ने

काठमाडौं । नेपालमा ब्रान्ड र व्यापार परामर्श सेवाहरू प्रदान गर्नका लागि दक्षिण एशियाका दुई प्रमुख नामहरू क्रियो र स्ट्राटेजी सेन्ट्रल (आउटरिच नेपाल र एडीसीओएमएम समूह, बंगलादेशको ब्रान्ड र स्ट्राटेजी परामर्शको भर्टिकल) ले साझेदारी गरेका छन् । बंगलादेश दूतावासका कार्यवाहक मोहम्मद हुमायुन कबीर र नेपालको विज्ञापन बोर्डका अध्यक्ष लक्ष्मण हुमागाईँलगायत विशिष्ट अतिथिहरूको उपस्थितिमा आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा साझेदारीको औपचारिक घोषणा गरिएको हो । दुबै कम्पनी मिलेर नेपाली ब्रान्डहरूलाई विश्वव्यापी ब्रान्डको प्रभुत्व भएको प्रतिस्पर्धात्मक परिदृश्यमा फस्टाउन सशक्त बनाउने लक्ष्य राखेका छन् । यस साझेदारीले घरेलु ब्रान्डहरूले सामना गर्ने प्रमुख चुनौतीहरूलाई सम्बोधन गर्न , उनीहरूलाई दीर्घकालीन दिगोपन सुनिश्चित गर्न रणनीतिहरूको मार्गदर्शन दिनेछ । कार्यक्रममा स्ट्राटेजी सेन्ट्रलका अध्यक्ष र एडीसीओएमएम समूहका प्रबन्ध निर्देशक नजिम फरहान चौधरीले साझेदारीको महत्त्व उल्लेख गरेका थिए । क्रियोका निर्देशक र आउटरिचका संस्थापक उजय शाक्यले घरेलु ब्रान्डहरूलाई समर्थन गर्ने कुरामा जोड दिए । साझेदारीले मुख्य घरेलु ब्रान्डहरू र स्टार्टअपहरूसँग सहकार्य गर्ने लक्ष्य राखेकाे छ । साथै तिनीहरूलाई बजारमा फस्टाउन रणनीति र ब्रान्डिङ सम्बन्धित सेवाहरू पनि प्रदान गरिनेछ । यो सहकार्यले नेपाली ब्रान्डहरूको भविष्यलाई साकार पार्ने साझा प्रयासका साथ यो सहकार्यले देशभरका व्यवसायहरूका लागि नयाँ अवसरहरू सिर्जना गर्ने विश्वास व्यक्त गरिएको छ ।