विकासन्युज

गाउँमै इँटा उद्योग चलाएर स्वरोजगार बनेका इञ्जिनिर प्रमोद

इलाम । इलामको सूर्योदय नगरपालिका–१० फिक्कलका प्रमोद सापकोटाले नजिकैको शान्तिगोलाईमा इँटा उद्योग सुरु गरेको ६ वर्ष भयो । उनी २२ वर्षको उमेरमा ‘डिप्लोमा इन इलेक्ट्रिकल इञ्जिनिर’ उत्तीर्ण गरेर गाउँ फर्किएका हुन् । ‘१५ लाख लगानीमा सुरु गरेको उद्योगमा हाल ४५ लाख लगानी पुगेको छ,’ उनले भने, ‘अहिलेसम्म साना–ठूला गरी चार सय ५० भवन निर्माणमा तीन लाख पचास हजार भन्दा बढी इँटा प्रयोग भइसकेको छ ।’ उद्योगमा सात जनाले रोजगारी समेत पाएका छन् । महिनामा सात हजार इँटा उत्पादन हुन्छ । एक हजार मौज्दात राखेर सबै बिक्री गर्ने गरिएको उद्यमी सापकोटाले बताए । ‘नगरपालिकाले नै इँटाको प्रतिगोटा मूल्य ५२ रुपैयाँ निर्धारण गरिदिएको छ,’ उनले भने, ‘कच्चापदार्थ महँगो छ । सबै खर्च कटाएर १७ प्रतिशत नाफा हुन्छ । महिनामा त्यस्तै एक लाख जति  बचत छ ।’ ढुङ्गाको धुलो, धोएको खस्रो बालुवा, ५३ ग्रेटको ओपीसी सिमेन्ट, सुपर प्लास्टिक साइजरलगायतका कच्चापदार्थ प्रशोधन गरेर ईको इँटा तयार गरिने प्रमोदले बताए । उनले भने, ‘यी सामग्री दाउन्ने, झापाको विर्तामोड र सुपर प्लास्टिक साईजर चैँ उडिसाबाट ल्याउने गरिएको छ ।’ उद्योगको उत्पादनले इँटाको माघ धान्न सकेको छैन । सूर्योदय नगरपालिका क्षेत्रमा नै धेरै माघ हुने गरेकाले जिल्लाका अन्य पालिकातिर माघ पूरा गर्न नसकिएको स्वस्तिका सापकोटा (भट्टराई) ले बताइन् । ईको इँटा भूकम्प प्रतिरोधी र वातावरणमैत्री हुने भएकाले यसको माघ बढिरहेको उनको भनाइ छ । उनले भनिन्, ‘पालिकाले निर्माण गर्ने भवनमा हरित निर्माण सामग्री प्रयोग गर्ने भनिएको छ । त्यस्मा हाम्रो उत्पादन प्रयोग गर्नेगरि छलफल चलेको छ । त्यो सम्झौता भएमा उद्योगले उत्पादन अनिवार्य वृद्धि गर्नुपर्छ ।’ सापकोटा दम्पतिलाई घर–गाउँ छोडेर विदेशीन मन छैन । ‘जे गर्छु नेपालमै गर्छु, जति गर्छु नेपालिकै लागि गर्छु भन्ने लाग्छ,’ प्रमोदले भने, ‘आजभन्दा ६ वर्षअघि १५ लाख लगाएर उद्योग खोल्ने मेरो एउटा साहास नै थियो । त्यो बेला अमेरिका अस्ट्रेलिया वा कोरियातिरै गएको भए पनि अहिलेसम्म एक–दुई करोड कमाई त हुन्थ्यो होला । तर, गाउँको स्वच्छ हावा, परिवार, समाज र नेपाली माटोको सुगन्ध त्यो भन्दा मङ्गो लाग्यो । हामी यहीँ खुसी छौँ ।’ कोरोना कहरका बेला निजी तथा सरकारी निर्माण प्रभावित भएसँगै इँटाको माग घट्दा व्यवसायी उद्योग सञ्चालन गर्नेतर्फ निरुत्साहित बनेका थिए । प्रमोदसँग पनि कोभिड–१९ का बेला उद्योग बन्द गर्नुपरेको तीतो स्मरण छ । उनले भने, ‘महामारीमा उद्योग ठप्प भयो । भर्खर सुरु भएको उद्योग बन्द गर्नुपर्दा निराशा आएको थियो । पुनः स्थिति सुधार भयो । अब त डर छैन ।’ स्थानीय तहमै स्वरोजगार भइरहेका युवा उद्यमीलाई नगरपालिकाले प्रोत्साहन गर्ने गरेको नगरप्रमुख रणबहादुर राईले बताए । अनुदानमा सहुलियत दिएर युवालाई स्वरोजगार बन्न प्रोत्साहित गरिरहेको उनको भनाइ छ । उद्योगमा ईको इँटा मात्र होइन, कङ्क्रिट इँटा, कबर ब्लक, फुलको गमला, तुलसीको मोठ, तारजाली पिल्लरसमेत उत्पादन हुने गरेको छ । रासस

लमजुङमा अलैँची बिक्रीबाट २२ करोड आम्दानी

लमजुङ । अलैंचीबाट जिल्लामा यसपटक २२ करोडको आम्दानी भएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाइ लमजुङका निमित्त वरिष्ठ कृषि अधिकृत हरिबहादुर मिजारका अनुसार चालु आर्थिक वर्षमा जिल्लामा उत्पादित १५० मेट्रिक टन अलैँची किसानले बिक्री गरेका छन् । यस वर्ष जिल्लामा प्रतिकिलो एक हजार पाँचदेखि दुई हजार चार सयसम्ममा अलैँची बिक्री भएको छ । गत आर्थिक वर्ष २०८०/८१ मा जिल्लाका किसानले २५१ मेट्रिक टन अलैँची बिक्री गरी २४ करोड आम्दानी गरेका थिए । मिजारका अनुसार गत वर्ष जिल्लाका किसानले प्रतिकिलो एक हजार २०० का दरले अलैँची बिक्री गरेका थिए । गत वर्षको तुलनामा यस वर्ष उत्पादन घटेको हो । त्यसैगरी, आर्थिक वर्ष २०७९/८० मा  ३८० मेट्रिक टन अलैँची बिक्रीबाट २० करोड आम्दानी भएको थियो । उक्त वर्ष प्रतिकिलो अलैँची कम्तीमा ५५० देखि सात सयसम्म बिक्री भएको थियो । आव २०७८/७९ मा ३३५ मेट्रिक टन अलैँची बिक्री गरी १५ करोड आम्दानी भएको थियो । आव २०७७/७८ मा तीन हजार पाँच सय क्विन्टल अलैँची बिक्री गरी १८ करोड २० लाख आम्दानी भएको थियो । आव २०७६/७७ मा जिल्लामा दुई हजार क्विन्टल अलैँची बिक्री गरेर किसानले १२ करोड आम्दानी गरेका थिए । त्यसैगरी, आव २०७५/७६ मा सात सय ५० क्विन्टल अलैँची बिक्री गरी किसानले पाँच करोड २५ लाख आम्दानी गरेका थिए । जिल्लामा सबैभन्दा धेरै मर्स्याङ्दी गाउँपालिकाका किसानले अलैँची उत्पादन गर्ने गरेका छन् । यहाँको वडानम्बर ५ सन्जापुका स्थानीयले मात्र यस वर्ष ६ हजार सात सय केजी अलैँची बिक्री गरी एक करोड ५० लाख आम्दानी गरेको सन्जापु अलैँची कृषक समूहका अध्यक्ष कामकाशि गुरुङले बताए । गाउँका करिब ६० घरधुरीले लगाएको अलैँचीखेतीबाट उक्त आम्दानी भएको हो । भारतको एकाधिकारका कारण किसानको मागअनुसार अलैँचीको मूल्य नपाएको गुनासो भए पनि यस वर्ष केही राहत महसुस गरेको किसानहरुको भनाइ छ । जिल्लामा सात सय ५० हेक्टर क्षेत्रफलमा अलैँचीखेती हुँदै आए पनि तीन सय ७५  हेक्टर क्षेत्रफलमा उत्पादन हुँदै आएको उक्त कार्यालयले जनाएको छ । उक्त परियोजनाले अलैँची जोन पकेट क्षेत्रका रुपमा मर्स्याङ्दी गाउँपालिका, बेँसीसहर नगरपालिका, क्व्होँलासोथर गाउँपालिका, दोर्दी गाउँपालिका र दूधपोखरी गाउँपालिकालाई घोषणा गरिसकेको छ । सो क्षेत्रमा सबैभन्दा बढी अलैँची उत्पादन हुने गरेको छ । जिल्लामा सात सय मिटरदेखि एक हजार दुई सय मिटर उचाइमा साउन्ने, जिर्मले र डम्बर शाही, एक हजार दुई सय मिटरदेखि १६ मिटर उचाइमा गोलशाही र एक हजार छ सयदेखि दुई हजार दुई सय मिटर उचाइमा रामशाही र भलाङे जातका अलैँची बिरुवा लगाइएका छन् । यहाँ विसं २०४१ बाट अलैँचीखेती विस्तार हुँदै आएको हो । रासस

नेपाल लाइफ एमडीआरटी एचिभर्स अवार्ड सम्पन्न, ९५ जना अभिकर्ता सम्मानित

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले माघ ५ गते द सोल्टी काठमाडौंमा ‘एम.डी.आर.टी’ अचिभर्स अवार्ड २०२५ सम्पन्न गरेको छ । सन् २०२४ को जनवरी देखि डिसेम्बर अन्तिम सम्ममा ‘एमडीआरटी २०२५’ का लागि योग्य भएका ९५ जना अभिकर्तालाई सम्मानित गरिएको छ । पानसमा दीप प्रज्वलन गरी कम्पनीका संचालक कमलेश कुमार अग्रवाल, संचालक शक्ति कुमार गोल्याण र कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले संयुक्त रूपमा कार्यक्रमको उद्घाटन गरेका थिए । कार्यक्रममा स्वागत मन्तब्य व्यक्त गर्दै कम्पनीका नेसनल सेल्स हेड उमापति पोखरेलले सम्मानित हुने सबैलाई बधाई दिदै आगामी वर्ष झन् बढी संख्यामा एमडीआरटीहरुलाई सम्मान गर्न कम्पनी लालायित रहेको बताए । आगामी दिनमा थप उर्जाका साथ बीमालाई नेपालीको घर दैलो सम्म पु¥याउन कुनै कसर बाँकी नराखी युद्धस्तरमा सम्पूर्ण अभिकर्ताहरु एक जुट भई लाग्न आग्रह गरे । कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले मन्तव्य व्यक्त गर्दै कम्पनीले भव्य कार्यक्रम आयोजना गर्न पाउँदा मन हर्षित भएको बताए । नेपाल लाइफले बीमा बजारको करिव एक तिहाइ  हिस्सा ओगटेको र आगामी दिनमा आम नागरिक बीच बीमाको पहुँचलाई विस्तार गर्दै कम्पनीको उपस्थितिलाई झन् बलियो बनाउन आग्रह गरे । पराजुलीले यस कम्पनीको मेरुदण्ड भनेकै अभिकर्ता साथीहरु रहेको साथै उहाँहरुकै अथक मेहनत र परिश्रमका कारण नै नेपाल लाइफ सफल भएको र आगामी दिनमा झन् बलियो र सबल भएर बजारमा प्रस्तुत हुनेमा आफु विश्वस्त रहेको कुरा बताए । अभिकर्ताहरुको चौतर्फी विकासका निम्ति कम्पनी संवेदनशील रहेको कुरा समेत प्रमुख कार्यकारी अधिकृत पराजुलीले बताए । अभिकर्ता भनेको प्रगतिको सहयात्री भएको र सोको महत्वलाई मनन गर्दै आम नेपाली नागरिकलाई बीमाको उपयोगिता र औचित्यता प्रकाश पार्न सकिएमा नेपालको बीमा बजारमा प्रचुर सम्भावना रहेको र यसलाई मूर्तता प्रदान गर्न ठोस कार्ययोजना सहित अघि लम्कन आग्रह गरे । कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि तथा यस कम्पनीका सञ्चालक कमलेश कुमार अग्रवालले एमडीआरटी जस्तो अन्तर्राष्ट्रिय संस्थाले तोकेको मापदण्ड पूरा गरी क्वालिफाई हुन सफल भई कार्यक्रममा सामेल भएका अभिकर्ताहरुलाई बधाई तथा आगामी दिनका लागि शुभकामना व्यक्त गरे । पेशागत बीमा अभिकर्ता संघ नेपाल बीमक समिति नेपाल लाइफका अध्यक्ष गणेश अधिकारीले कम्पनीले आयोजना गरेको भव्य र सभ्य कार्यक्रमका लागि कम्पनी व्यवस्थापनलाई धन्यवाद ज्ञापन गरे । उनले कम्पनीले अभिकर्ता र बीमितको हकहितका लागि चालिरहेको कदमहरूको सराहना गरे । कार्यक्रममा समापन मन्तव्य व्यक्त गर्दै कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत अमित कुमार कयालले कार्यक्रम सफलतापूर्वक सम्पन्न भएकोमा आयोजक टिमलाई धन्यवाद ज्ञापन गरे । साथै सहभागी सबै एमडीआरटी क्वालिफायरहरूलाई कार्यक्रम नयाँ कुराहरू सिक्ने अवसर र प्राप्त भएको सम्मानका कारण आगामी दिनहरुमा काम गर्न थप ऊर्जा प्राप्त गर्ने विश्वास व्यक्त गरे ।

सोमबारका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अनुसार अमेरिकी डलरको मूल्य आज स्थिर छ । निर्धारित विनिमयदर अनुसार, सिङ्गापुर डलर, चिनियाँ युआन, थाई भाटको मूल्य वृद्धि भएको छ ।  युरोपियन युरो, युके पाउन्ड स्टर्लिङ, स्वीस फ्र्याङ्क, जापानी येन, डेनिस क्रोनर, कुवेती दिनारको मूल्य भने घटेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३८ रुपैयाँ २८ पैसा र बिक्रीदर एक सय ३८ रुपैयाँ ८८  पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर एक सय ४२ रुपैयाँ ०३ पैसा र बिक्रीदर एक सय ४२ रुपैयाँ ६५ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर एक सय ६८ रुपैयाँ २५ पैसा र बिक्रीदर एक सय ६८ रुपैयाँ ९८  पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर एक सय ५१ रुपैयाँ १३ पैसा र बिक्रीदर एक सय ५१ रुपैयाँ ७९ पैसा कायम गरिएको छ । अस्ट्रेलियन डलर एकको खरिददर ८५ रुपैयाँ ६३ पैसा र बिक्रीदर ८६ रुपैयाँ, क्यानेडियन डलर एकको खरिददर ९५ रुपैयाँ ४९ पैसा र बिक्रीदर ९५ रुपैयाँ ९१ पैसा, सिङ्गापुर डलर एकको खरिददर एक सय एक रुपैयाँ ९६ पैसा र बिक्रीदर एक सय एक रुपैयाँ ४० पैसा निर्धारण गरिएको छ । जापानी येन १० को खरिददर आठ रुपैयाँ ८५ पैसा र बिक्रीदर आठ रुपैयाँ ८९ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ८८ पैसा र बिक्रीदर १८ रुपैयाँ ९६ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ ८६ पैसा र बिक्रीदर ३७ रुपैयाँ ०१ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ ९३ पैसा र बिक्रीदर ३८ रुपैयाँ ०९ पैसा कायम भएको छ । केन्द्रीय बैङ्कका अनुसार थाई भाट एकको खरिददर चार रुपैयाँ ०३ पैसा र बिक्रीदर चार रुपैयाँ ०५ पैसा, युएई दिराम एकको खरिददर ३७ रुपैयाँ ६५  पैसा र बिक्रीदर ३७ रुपैयाँ ८१ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३० रुपैयाँ ६९ पैसा र बिक्रीदर ३० रुपैयाँ ८२ पैसा, साउथ कोरियन वन एक सयको खरिददर नौ रुपैयाँ ४८ पैसा र बिक्रीदर नौ रुपैयाँ ५३ पैसा, स्विडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ३५ पैसा र बिक्रीदर १२ रुपैयाँ ४० पैसा र डेनिस क्रोनर एकको खरिदर १९ रुपैयाँ ०३ पैसा र बिक्रीदर १९ रुपैयाँ १२ पैसा तोकिएको छ । राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिददर १७ रुपैयाँ ७६ पैसा र बिक्रीदर १७ रुपैयाँ ८४ पैसा, कुवेती दिनार एकको खरिदर चार सय ४७ रुपैयाँ ९७ पैसा र बिक्रीदर चार सय ४९ रुपैयाँ ९२ पैसा, बहराइन दिनार एकको खरिददर तीन सय ६६ रुपैयाँ ८४ पैसा र बिक्रीदर तीन सय ६८ रुपैयाँ ४४ पैसा, ओमनी रियाल एकको खरिददर तीन सय ५९ रुपैयाँ १९ पैसा र बिक्रीदर तीन सय ६० रुपैयाँ ७५ पैसा तोकिएको छ । यस्तै, भारतीय रुपैयाँ एक सयको खरिददर एक सय ६० रुपैयाँ र बिक्रीदर एक सय ६० रुपैयाँ १५ पैसा निर्धारण भएको छ । राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

६ महिनामा सिद्धार्थ बैंकको खुद नाफा ५३ करोड, यस्ता छन् अन्य सूचकहरु

काठमाडौं । सिद्धार्थ बैंकको खुद नाफा घटेको छ । बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८१/०८२ को दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार खुद नाफा घटेको हो। चालु आवको पुस मसान्तसम्ममा बैंकले ५३ करोड २ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो गत आवको सोही अवधिको तुलनामा यो ५३।३६ प्रतिशत कम हो। गत आवको ६ महिनामा बैंकले १ अर्ब १३ करोड ६८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो। यो अवधिमा बैंकको कमिशन आम्दानी १८.६८ प्रतिशत घटेको छ भने खुद ब्याज आम्दानी ०.३० प्रतिशत बढेको छ । त्यस्तै, प्रतिशेयर आम्दानी पनि घटेको छ। बैंकको प्रति सेयर आम्दानी ८ रुपैयाँ ६५ पैसा घटेर ७ रुपैयाँ ५३ पैसामा सीमित भएको छ। प्रतिशेयर नेटवर्थ १९८ रुपैयाँ ६१ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ३९.२१ गुणा, वितरणयोग्य मुनाफा ३६ करोड १९ लाख रुपैयाँ ऋणात्मक रहेको छ।

६ महिनामा नेपाल बैंकको खुद नाफा ४६ करोड, खराब कर्जा बढ्यो

काठमाडौं । चालु आर्थिक वर्ष २०८१/०८२ को दास्रो त्रैमाससम्म नेपाल बैंकको खुद नाफा घटेको छ । बैंकले सार्वजनिक गरेको अपरिष्कृत वित्तिय विवरण अनुसार बैंकको नाफा २१.८६ प्रतिशतले घटेको हो । चालु आवको पौष मसान्तसम्म बैंकले ४६ करोड १० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आवको सोहि अवधिमा यस्तो नाफा ५९ करोड रुपैयाँ रहेको थियो । बैंकको प्रति सेयर आम्दानी ८.०३ रुपैयाँबाट घटेर ६.२७ रुपैयाँमा सिमित भएको छ । यसैगरी, प्रति आम्दानी अनुपात ४१.५१ गुणा, नेट वर्थ २६१.९६ रुपैयाँ रहेको छ । वितरण योग्या नाफा १६ करोड २१ लाख ऋणात्मक रहेको छ । बैंकको खराब कर्जा ४.५० प्रतिशतबाट बढेर ४.९९ प्रतिशत पुगेको छ ।

एनआईसी एशिया बैंकको नाफा १५ करोड मात्रै, ईपीएस २३.५६ रुपैयाँ घट्यो

काठमाडौं । चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा एनआईसी एशिया बैंकले १५ करोड १७ लाख ३० हजार रुपैयाँ खुद नाफा गरेको छ । बैंकको यो नाफा गत आवको सोही अवधिको तुलनामा ९२ प्रतिशत कम हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १ अर्ब ९० करोड ३८ लाख ७ हजार रुपैयाँ खुद नाफा गरेको थियो । यो अवधिमा बैंकको खुद ब्याज आम्दानी ६.४० प्रतिशत, खुद फि तथा कमिशन आम्दानी ४७.७२ प्रतिशत, कुल सञ्चालन आम्दानी १५.०३ प्रतिशत र सञ्चालन मुनाफा ९०.४० प्रतिशत घटेको छ । बैंकको वितरणयोग्य नाफा २ अर्ब ६५ करोड ५७ लाख रुपैयाँ ऋणात्मक रहेको छ । बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) २३.५६ रुपैयाँ घटेर २.०३ रुपैयाँ कायम भएको छ । बैंकको प्रतिसेयर नेटवर्थ १९८.९२ रुपैयाँ रहेको छ ।

६ महिनामा कुमारी बैंकको नाफा साढे २७ करोड, कस्ता छन् अन्य सूचक ?

काठमाडौं । चालु आर्थिक वर्ष २०८१/०८२ को दोस्रो त्रैमाससम्म कुमारी बैंकको खुद नाफा घटेको छ । पौष मसान्तसम्म बैंकको खुद नाफा ६८.२० प्रतिशत घटेको हो । पुस मसान्तसम्ममा बैंकले २७ करोड ५७ लाख रुपैयाँ खुद नाफा गरेको छ । गत आवको सोही अवधिसम्ममा बैंकले ८६ करोड ७२ लाख रुपैयाँ खुद नाफा कमाएको थियो। बैंकको खुद ब्याज आम्दानी ७.१९ प्रतिशतले घटदा कमिशन आम्दानी १५.१२ प्रतिशत बढेको छ। बैंकको प्रतिसेयर आम्दानी ४ ५१ रुपैयाँ घटेर २‍.१० रुपैयाँ, प्रतिशेयर नेटवर्थ १३३.५१ रुपैयाँ, मूल्य आम्दानी अनुपात ९९.५२ गुणा रहेको छ।