काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री पूर्णबहादुर तामाङले आफूलाई अपमान गरेको भन्दै ऊर्जा, जल सिँचाइ मन्त्रालयका सचिव सुरेश आचार्यलाई स्पष्टीकरण सोधेका छन् ।
जलस्रोत तथा सिँचाइ विभागले चैत २५ गते आयोजना गरेको सिँचाई दिवस एवं ७२ औं वार्षिक उत्सवको कार्यक्रममा उर्जा मन्त्री दीपक खड्काको अनुपस्थितिमा राज्यमन्त्री तामाङ प्रमुख अतिथि थिए ।
कार्यक्रम संचालकले उर्जा सचिवलाई आसन ग्रहणको लागि बोलाउँदा समेत मञ्चमा सहभागी नभई वेवास्ता गरि बाहिरिएको साथै विभागका महानिर्देशक संजिव बरालले पटक-पटक आसन ग्रहणको लागि आग्रह गरेका थिए । तर, आचार्यले राज्यमन्त्री सहभागी कार्यक्रममा आफू बस्न तयार नभएको भन्ने तुच्छ अभिव्यक्ति दिएको, पदीय आचरण पालना नगर्नुको साथै पदीय गरिमा समेत कायम गर्न नसकेको, नेपाल सरकारको सचिव पदको गरिमा र मर्यादालाई समेत धज्जी उडाउने गरि कार्यक्रम बहिष्कार गरेको भन्दै स्पष्टीकरण सोधिएको हो ।
‘तपाइलाई अनुशासनको कारवाही किन गर्नु नपर्ने हो ? तपाइको अव्यवस्थित र असंयमित व्यवहारले मन्त्रालयको प्रतिष्ठा र कार्य पद्धतिमा असर पुर्याएकाले तपाइलाई किन कारवाही गर्नुनपर्ने हो? तपाईंले के कस्को प्रभाव वा पूर्वाग्रही भावनाले विभागीय मन्त्रीको अपहेलना गर्ने उद्देश्यले कार्यक्रम बहिष्कार गर्नुभएको हो ?,’ स्पष्टीकरणमा भनिएको छ ।
साथै २४ घण्टाभित्र स्पष्टीकरण पेश गर्न निर्देशन समेत दिइएको छ ।