डिजिटल रूपान्तरणमा चीनको बढ्दो प्रभाव
काठमाडौं । चीनको फुझोउ शहरमा आयोजित नवौं डिजिटल चीन शिखर सम्मेलनमा उन्नत प्रविधि र डेटा विकासका विविध प्रयोगहरू प्रस्तुत गरिएका छन् । करिब ५६ हजार वर्ग मिटर क्षेत्रफलमा फैलिएको प्रदर्शनीमा मानवजस्तै रोबोटहरूले आगन्तुकलाई स्वागत गरेका छन्, जहाँ लेखन गर्ने, चिया बनाउने तथा खेल खेल्ने रोबोटहरूले वास्तविक जीवनमा प्रविधिको प्रयोग देखाएका छन् । आगलागी जस्ता जोखिमपूर्ण अवस्थामा प्रयोग हुने सुरुङ निरीक्षण तथा उद्धार रोबोटदेखि स्वचालित रूपमा अवरोध छल्ने चारखुट्टे रोबोटसम्मका नवीन उपकरणहरू प्रदर्शनमा राखिएका छन् । करिब ४०० उद्यमहरूले ६ हजारभन्दा बढी अत्याधुनिक प्रविधि र उत्पादन सार्वजनिक गरेका छन्, जसमा चिप, औद्योगिक मोडेल र बुद्धिमान प्रणालीहरू समावेश छन् । यससँगै कृषि, उत्पादन, स्वास्थ्य र पर्यटन क्षेत्रमा डेटा एकीकरणका करिब १०० उदाहरण पनि प्रस्तुत गरिएका छन् । उच्च गुणस्तरको डेटा कृत्रिम बुद्धिमत्ता विकासका लागि अत्यन्त आवश्यक बन्दै गएको बताइएको छ, विशेषगरी मानवजस्तै रोबोट विकासमा डेटा अभाव चुनौतीका रूपमा देखिएको छ । शिक्षा क्षेत्रमा कृत्रिम बुद्धिमत्ताले पाठ्यसामग्री निर्माणको समय एक हप्ताबाट एक घण्टामा झारेको छ भने स्वास्थ्य क्षेत्रमा परम्परागत चिनियाँ चिकित्सा प्रणालीलाई डिजिटल बनाउँदै सेवा गुणस्तर सुधारिएको छ । आगामी श्रमिक दिवस बिदाको अवसरमा पनि यो प्रदर्शनी सर्वसाधारणका लागि खुला रहनेछ, जहाँ सयभन्दा बढी परियोजनामार्फत प्रविधिको प्रत्यक्ष अनुभव लिन सकिनेछ । रासस
धवलागिरी गाउँपालिकाको पर्यटकीय गन्तव्य दोभान सडक सञ्जालमा जोडियो
म्याग्दी । यहाँको धवलागिरी गाउँपालिका–४ स्थित पर्यटकीयस्थल दोभान सडक सञ्जालमा जोडिएको छ । म्याग्दी हुँदै मुस्ताङ र धौलागिरि आरोहण गर्न जाने पर्यटकहरूले प्रयोग गर्ने धौलागिरि चक्रीय पदमार्गमा समेटिएको दोभानसम्म गाडी चल्न थालेपछि पर्यटक र स्थानीयवासीलाई सहज भएको छ । यो स्थान समुन्द्री सतहदेखि तीन हजार मिटर उचाइमा रहेको छ । यहाँ ६५ मेगावाट क्षमताको म्याग्दी खोला जलविद्युत् आयोजनाले धौलागिरि चक्रीय पदमार्गको अन्तिम मानवबस्ती बगरदेखि दोभानस्थित बाँध निर्माणस्थलसम्म नौ किलोमिटर सडकको मार्ग खोलेपछि आवतजावत र ढुवानीमा सहज भएको व्यवसायी सोम पुनले बताए । 'यसअघि बगरदेखि दोभान पुग्न पूरै दिन भीर, जङ्गल र खोल्साको बाटो हिँड्नुपर्ने थियो', उनले भने, 'हाल यहाँ जिप, मोटरसाइकल, ट्याक्टर र ट्रक चल्न थालेपछि ढुवानी र आवतजावतमा सहज भएको छ ।' सडकको मार्ग खोलेपछि अब बेनीदेखि पाँच घण्टामा दोभान पुग्न सकिने भएको छ । विदेशी पर्यटकले पछिल्ला दिनमा मार्फादेखि आधार शिविर जाने पदमार्ग र हेलिकप्टर प्रयोग गर्न थालेपछि दोभानमा चहलपहल घटेको थियो । यातायात सुविधा पुगेपछि यहाँ आन्तरिक पर्यटकहरूको सङ्ख्या बढ्न थालेको व्यवसायी लक्ष्मण घर्तीले बताए । धौलागिरि पहिलो र चौथो हिमालको फेदीमा रहेको समथर फाँटमा अवस्थित दोभान शान्त वातावरण र वनजङ्गलका साथै कुनाबन तालको अवलोकन, च्याउ र टुसालगायत परिकारका लागि प्रसिद्ध छ । ‘हाइड्रो भिलेज’ प्रवर्द्धक रहेको म्याग्दी खोला जलविद्युत् आयोजनाले गत पुस महिनादेखि बगरबाट डोजर र विस्फोटक पदार्थ प्रयोग गरेर बाँधसम्म पहुँचमार्ग निर्माण थालेको थियो । आयोजना प्रमुख उत्तम पौडेलले बगर–तातोपानी खण्डको भीरमा मार्ग खुलाउने काम भइरहेको र म्याग्दी नदीको किनारै किनार ‘डाइभर्सन’ बनाएर यातायात सञ्चालनको व्यवस्था मिलाएको बताए । यहाँ बर्खाअघि नै करिब एक किलोमिटर दूरीमा रहेको भीर छिचोलेर सडकमार्ग खुलाउन काम सुरु भएको उनले जानकारी दिए । रासस
राष्ट्रपतिले जारी गरे थप तीन वटा अध्यादेश
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा तीन वटा अध्यादेश जारी गरेका छन् । राष्ट्रपति कार्यालयका अनुसार उनले स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३, सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३ र विश्वविद्यालयसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३ आज (शनिबार) जारी गरेका हुन् । यसैगरी, राष्ट्रपति कार्यालयबाट १७ वैशाख (बिहीबार) सार्वजनिक खरिद (दोस्रो संशोधन) अध्यादेश, २०८३, सहकारी (पहिलो संशोधन) अध्यादेश, २०८३ जारी भएको थियो । त्यस्तै, १८ वैशाख (शुक्रबार) सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ) निवारण (तेस्रो संशोधन) अध्यादेश २०८३ जारी भएको थियो । यो सँगै राष्ट्रपति कार्यालयबाट पछिल्ला तीन दिनमा ६ वटा अध्यादेश जारी भएका छन् । यस्तो छ विज्ञप्ति :
कान्छाराम कन्स्ट्रक्सनको आम्दानी करोडमा, ऋण ३ अर्ब
काठमाडौं । पूर्णबहादुर तामाङ ‘कान्छाराम’को निर्माण कम्पनी कान्छाराम कन्स्ट्रक्सन कम्पनी प्रालिले सन् २०२५ मा ३७ करोड ३० लाख रुपैयाँ सञ्चालन आम्दानी (लेखापरीक्षण नगरिएको) गरेको हो । यो आम्दानी अघिल्लो वर्षको तुलनामा ५२.८६ प्रतिशत अर्थात् १२ करोड ९० लाख रुपैयाँ बढी हो । सन् २०२४ मा कम्पनीले २४ करोड ४० लाख रुपैयाँ (लेखापरीक्षण गरिएको) सञ्चालन आम्दानी गरेको थियो । यद्यपि आम्दानी बढे पनि कम्पनीको नाफा मार्जिनमा भने गिरावट आएको छ । सन् २०२४ मा ३३ प्रतिशत रहेको मार्जिन सन् २०२५ मा घटेर २६ प्रतिशतमा झरेको कम्पनीले जनाएको छ । अघिल्ला वर्षहरूमा कम्पनीको आम्दानीमा उतारचढाव देखिएको छ । सन् २०२३ मा २८ करोड ९० लाख, सन् २०२२ मा ७७ करोड र सन् २०२१ मा १ अर्ब ६५ करोड ४० लाख रुपैयाँ आम्दानी गरेको थियो । कान्छाराम कन्स्ट्रक्सन कम्पनी प्रालि नेपाली काँग्रेसका नेता तथा पूर्वराज्यमन्त्री पूर्णबहादुर तामाङ ‘कान्छाराम’को हो । ‘ए’ क्लासको कान्छाराम कन्स्ट्रक्सनको स्थापना सन् १९८७ मा भएको हो । कान्छाराम कन्स्ट्रक्सनले देशभर सडक, पुल, भवन लगायतका विभिन्न पूर्वाधार निर्माणका क्षेत्रमा काम गर्दै आएको छ । कम्पनीले स्वतन्त्र रूपमा निर्माण कार्य सञ्चालन गर्नुका साथै विभिन्न परियोजनाका लागि आवश्यक योग्यता पूरा गर्न अन्य कम्पनीहरूसँग ज्वाइन्ट भेन्चर मार्फत सहकार्य पनि गर्ने गरेको छ । उच्च कार्यशील पुँजी कर्जामा निर्भरता बढेसँगै ब्याज खर्च १४ करोड ९० लाख रुपैयाँबाट बढेर गत वर्ष १६ करोड ७० लाख रुपैयाँ पुगेको छ । कम्पनीको ग्रस क्यास एक्रुअल सन् २०२५ मा ४ करोड रुपैयाँ पुगेपनि अघिल्लो वर्षको ९० लाख रुपैयाँको तुलनामा सुधार देखिएको कम्पनीले जनाएको छ । कम्पनीले विभिन्न बैंक तथा वित्तीय संस्थाबाट ३४ करोड ४७ लाख रुपैयाँ दीर्घकालीन, २० करोड ४९ लाख रुपैयाँ अल्पकालीन र २ अर्ब ४५ करोड ३ लाख रुपैयाँ दीर्घकालीन तथा अल्पकालीन गरी कुल ३ अर्ब रुपैयाँ लिएको छ । कम्पनीले लिएको कर्जा परिवर्तनीय (फ्लोटिङ) ब्याजदरमा आधारित रहेको छ, जहाँ बैंक तथा वित्तीय संस्थाहरूको आधार दरमा निश्चित प्रिमियम थपेर मासिक रूपमा ब्याजदर निर्धारण गरिन्छ । नेपालका बैंक तथा वित्तीय संस्थाहरूको आधार दर प्रणालीमा उपलब्ध तरलताको अवस्थाअनुसार उतारचढाव भइरहने हुँदा ब्याजदर पनि अस्थिर रहने गरेको छ । यस्तो अवस्थामा अपेक्षाभन्दा उच्च ब्याजदर पुगेमा कम्पनीको नाफा मार्जिन खुम्चिन सक्ने र तरलता अवस्थामा थप दबाब पर्न सक्ने जोखिम रहन्छ । त्यसैले कम्पनीले लिएको कर्जा ब्याजदरको उतारचढावप्रति संवेदनशील रहेको देखिन्छ । कान्छाराम कन्स्ट्रक्सनले प्रायः सबै काम सरकारी निकायबाट टेन्डरमार्फत प्राप्त गर्ने गरेको छ । यस्तो प्रणालीमा कम्पनीले प्रतिस्पर्धी दरमा बोलपत्र पेश गर्नुपर्ने हुन्छ, जसले कम मूल्यमा ठेक्का लिनुपर्ने जोखिम रहेको कम्पनीले जनाएको छ । कम्पनीले सञ्चालन गर्ने परियोजनाहरूको प्रकृतिअनुसार विभिन्न प्रशासनिक स्वीकृति तथा अन्य प्रक्रियागत कारणले ढिलाइ हुने गरेको जनाएको छ । यस्ता ढिलाइले परियोजना सम्पन्न हुन समय लाग्ने मात्र होइन, आम्दानीमा समेत असर पर्ने गरेको कम्पनीको भनाइ छ । साथै, परियोजना समयमै सम्पन्न गर्न कम्पनीको सञ्चालन क्षमता र ग्राहक (मुख्यतः सरकारी निकाय) बाट चरणगत भुक्तानी समयमै प्राप्त हुन सकिरहेको छैन । कान्छाराम कन्स्ट्रक्सन पूर्ण रूपमा लक्ष्मी माया लामा र दीपक थिङको स्वामित्वमा रहेको छ । कम्पनीको प्रबन्ध निर्देशक भने पूर्णबहादुर तामाङ रहेका छन् । निर्माण क्षेत्रमा दुई दशकभन्दा बढी अनुभवी उनी कम्पनीको समग्र व्यवस्थापन तथा दीर्घकालीन रणनीतिमा संलग्न छन् । त्यसैगरी सञ्चालक दीपक थिङसँग पनि निर्माण ठेक्का व्यवसायमा एक दशकभन्दा बढी अनुभव रहेको छ । कम्पनीको चुक्ता पुँजी १० करोड रुपैयाँ रहेको छ । कम्पनीको आम्दानी मुख्यतः सरकारी निकाय प्रदेश तथा स्थानीय तहबाट प्राप्त हुने ठेक्का मार्फत हुने गरेको छ । अर्डर बुक विशेषगरी सरकारी भवन निर्माण परियोजनामा केन्द्रित रहेको छ ।
इरानीका नागरिकलाई सर्वोच्च नेता खामेनीको अपिल: ‘सैन्य शक्तिपछि अब आर्थिक लडाइँको पालो’
काठमाडौं । इरानका सर्वोच्च नेता मोज्तबा खामेनीले आफ्ना नागरिकलाई ‘आर्थिक लडाइँ’मा पनि संलग्न हुन अपिल गरेका छन् । अर्को लिखित वक्तव्य जारी गर्दै उनले सैन्य युद्धमा अद्वितीय शक्ति प्रदर्शन गरेको र अब आर्थिक र सांस्कृतिक मोर्चामा पनि यस्तै भूमिका खेल्न इरानी जनतालाई आग्रह गरेका हुन् । वक्तव्यमा मोज्तबा खामेनीले भनेका छन्, ‘इरानले सैन्य टकरावमा विश्वसामु आफ्नो अद्वितीय शक्ति प्रदर्शन गरेको छ; अब यसले आर्थिक र सांस्कृतिक मोर्चामा पनि आफ्ना शत्रुहरूलाई पराजित गर्नुपर्छ । ’ उनले अगाडि भनेका छन्, ‘कामदारहरूलाई समर्थन गरिनुपर्छ र स्थानीय उत्पादनको प्रयोगलाई प्राथमिकता दिनुपर्छ ।’ हाल देशका व्यवसायीहरूले कठिनाइको सामना गरिरहेको उल्लेख गर्दै खामेनीले कर्मचारीहरूलाई हटाउने काम नगर्न निर्देशन दिएका छन् । सर्वोच्च नेता बनेदेखि मोज्तबा खामेनी कहिल्यै सार्वजनिक रूपमा देखापरेका छैनन् । यद्यपि उनले सञ्चारमाध्यममार्फत आफ्ना लिखित वक्तव्य जारी गरिरहेका छन् ।
धोबी खोला करिडोरका पक्की घर भत्काउन थालियो
काठमाडौं । काठमाडौं महानगरपालिका–१० धोबी खोला क्षेत्रमा रहेको देवीनगरमा अतिक्रमण गरी बनाइएका पक्की भवनहरू भत्काउन सुरु गरिएको छ । आजदेखि यहाँ रहेका घरटहरा हटाउन सुरु गरिएको महानगर प्रहरी बलका प्रमुख विष्णु जोशीले जानकारी दिए । उनले भने, 'उपत्यका बागमती तथा सहायक नदी किनारामा रहेका अतिक्रमित बस्ती हटाउने अभियानअन्तर्गत आज धोबी खोलाको देवीनगर क्षेत्रमा रहेका घरटहरा हटाउने कार्य जारी छ ।' सरकारले शुक्रबार बल्खु र कालिमाटी क्षेत्रका नदी किनारमा रहेका जोखिमयुक्त बस्ती हटाएको थियो । हालसम्म काठमाडौं उपत्यकामा सरकारी, सार्वजनिक र निजी जग्गा अतिक्रमित गरी निर्माण गरिएका करिब दुई हजारभन्दा बढी घरटहरा हटाइएको महानगर प्रहरीले जनाएको छ । बस्ती हटाउने क्रममा प्रभावित परिवारलाई ‘होल्डिङ सेन्टर’ मा पठाइएको छ भने त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भूमिहीन परिवारको लगत सङ्कलन भइरहेको छ ।
पाकिस्तानमा मुद्रास्फीति उकालो : अप्रिलमा १०.९ प्रतिशत पुग्दा जीवनयापन खर्चमा दबाब
काठमाडौं । पाकिस्तानमा वस्तु तथा सेवाको मूल्यमा भएको वृद्धि अर्थात् मुद्रास्फीति अप्रिल महिनामा उल्लेखनीय रूपमा बढेको छ । वार्षिक रूपमा हेर्दा मुद्रास्फीति दर १०.९ प्रतिशत पुगेको छ, जुन अघिल्लो महिना मार्चमा रहेको ७.३ प्रतिशतको तुलनामा धेरै उच्च हो । यसले देशमा मूल्य वृद्धि तीव्र गतिमा भइरहेको संकेत गर्दछ । आधिकारिक तथ्यांक अनुसार मासिक रूपमा पनि मूल्यमा उल्लेखनीय वृद्धि देखिएको छ । अप्रिल महिनामा मात्रै मुद्रास्फीति २.५ प्रतिशतले बढेको छ, जबकि मार्च महिनामा यो वृद्धि १.२ प्रतिशत मात्र थियो । यसले छोटो अवधिमै मूल्य वृद्धि दर तीव्र भएको देखाउँछ । सहरी र ग्रामीण दुवै क्षेत्रमा मुद्रास्फीति बढेको छ। शहरी क्षेत्रमा वार्षिक रूपमा मुद्रास्फीति ११.१ प्रतिशत पुगेको छ, जुन मार्च महिनामा ७.४ प्रतिशत थियो। यसको अर्थ शहरमा बसोबास गर्ने मानिसहरूले दैनिक उपभोगका वस्तु र सेवाहरूमा बढी मूल्य तिर्नुपरेको छ । त्यस्तै, ग्रामीण क्षेत्रमा पनि मुद्रास्फीति १०.६ प्रतिशत पुगेको छ, जुन अघिल्लो महिनाको ७.२ प्रतिशतभन्दा उल्लेखनीय रूपमा बढी हो । यसले गाउँ क्षेत्रमा पनि जीवनयापन खर्च बढ्दै गएको देखाउँछ । मासिक आधारमा हेर्दा, शहरी क्षेत्रमा मूल्य वृद्धि २.७ प्रतिशत पुगेको छ, जुन मार्च महिनाको १.३ प्रतिशतभन्दा बढी हो । ग्रामीण क्षेत्रमा पनि मुद्रास्फीति २.१ प्रतिशत पुगेको छ, जुन अघिल्लो महिनामा १ प्रतिशत मात्र थियो । यसले दुवै क्षेत्रमा छोटो समयमै मूल्यहरू तीव्र रूपमा बढेको देखाउँछ । चालु आर्थिक वर्षको पहिलो १० महिनाको अवधिमा औसत मुद्रास्फीति ६.१९ प्रतिशत रहेको छ । यो दर गत वर्षको सोही अवधिमा रहेको ४.७३ प्रतिशतभन्दा बढी हो, जसले समग्र रूपमा यस वर्ष मूल्य वृद्धि दर बढेको स्पष्ट देखाउँछ । यसरी, हालको तथ्यांकले पाकिस्तानमा दैनिक उपभोगका वस्तु तथा सेवाहरू महँगिँदै गएको र नागरिकहरूको जीवनयापन खर्चमा दबाब बढिरहेको संकेत गर्दछ ।
नेकपाले आगामी मङ्सिर ११ देखि १५ गतेसम्म काठमाडौंमा महाधिवेशन गर्ने
काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीले आगामी मङ्सिरमा एकता राष्ट्रिय महाधिवेशन आयोजना गर्ने घोषणा गरेको छ । पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अध्यक्षतामा बसेको केन्द्रीय कार्य संयोजन समितिको बैठकले आगामी मङ्सिर ११ देखि १५ गतेसम्म काठमाडौंमा महाधिवशेन गर्ने निर्णय गरेको हो । आगामी साउन मसान्तसम्म पार्टी सदस्यता नवीकरण तथा सदस्यता विस्तार अभियान सञ्चालन गर्ने, भदौ १५ गतेसम्म वडा, भदौ १६ देखि मसान्तसम्म पालिका, असोज मसान्तसम्म जिल्ला र कात्तिक १५ गतेसम्म प्रदेश अधिवेशन सम्पन्न गर्ने निर्णय गरेको सो पार्टीका प्रवक्ता प्रकाश ज्वालाले जानकारी दिए । आगामी जेठ मसान्तभित्र केन्द्र, प्रदेश, जिल्ला, स्थानीय पालिका, वडा तथा टोल तहसम्मका सङ्गठनात्मक र पार्टी तथा जनवर्गीय/मोर्चा सङ्गठनहरूको एकीकरण तथा समायोजन गरिसक्ने प्रवक्ता ज्वालाद्वारा आज जारी विज्ञप्तिमा जनाइएको छ । पार्टीको वडादेखि केन्द्रसम्मका सबै कमिटी समानुपातिक र समावेशी मान्यताअनुसार निर्वाचित हुने र निर्वाचित कमिटीमा अनुभवी, प्रौढ र युवा तथा नवयुवाको समावेशीता रहने छ । युवा र नवयुवाको प्रतिनिधित्व ५० प्रतिशतसम्म पुर्याइने पार्टीले जनाएको छ । नेकपाले नेताहरू देवप्रसाद गुरुङ, प्रकाश ज्वाला, प्रेमबहादुर सिंह, रनध्वज लिम्बू, रेखा शर्मा, गणेश विश्वकर्मा, वरिष्ठ अधिवक्ताद्वय डा मुक्तिनारायण प्रधान र डा. खिमलाल देवकोटा, अधिवक्ता जगदेव चौधरी, डम्बर बिक्रम कार्की र डा. रामबहादुर चौधरी रहेको संविधान संशोधन सुझाव कार्यदल गठन गरेको छ । पार्टी एकीकरणपश्चात गठन भएको कार्यसंयोजन समितिको गत चैत १९ देखि यही वैशाख १४ सम्म चलेको बैठकले पार्टीको अन्तरिम विधान–२०८२ अनुसार पार्टीको केन्द्रीय कार्यसमितिलाई पूर्णता दिने निर्णय गरेको प्रवक्ता ज्वालाले जानकारी दिए ।