नेपालमै बनेको विद्युतीय ‘यात्री पीटू’ स्कुटर हेरेर अर्थमन्त्रीले भने- अघि बढ्नुहोस्, सरकार साथमा छ
काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालमै बनेको विद्युतीय स्कुटरको प्रवद्र्धनका लागि सरकारको साथ रहने बताएका छन् । सिप्रदी यात्रीद्वारा काठमाडौंको बुढानीलकण्ठस्थित कारखानामा तयार पारिएको नेपालमै बनेको पहिलो विद्युतीय स्कुटर ‘यात्री पीटू’ बनाउने प्रक्रियाको कारखानामै पुगेर अवलोकन गर्दै उनले यस्तो बताएका हुन् । ‘तपाईंहरूले गरेको मेहनत सह्रानीय छ । यात्री पीटू विद्युतीय स्कुटर नेपालमै डिजाइन भएर निर्माण हुनु सुखद कुरा हो,’ अर्थमन्त्री डा. वाग्लेले भने ‘गुणस्तरमा विश्वस्तरीय प्रतिस्पर्धामा अब्बल हुनुहोला। अघि बढ्नुहोस् । सरकार तपाईंहरूको साथमा छ ।’ नेपालले आफैँ डिजाइन गरेर दुईपांग्रे विद्युतीय सवारीसाधन निर्माण गर्नु आफैँमा ऐतिहासिक कदम भएको बताउँदै अर्थमन्त्री वाग्लेले यसलाई विश्व बजारसम्म फैलाउन र प्रतिस्पर्धामा अब्बल हुन पनि सुझाव दिए । ‘एप्पलको डिजाइन क्यालिफोर्नियामा हुन्छ, उत्पादन चीनमा हुन्छ । सकेसम्म तपाईंहरू नेपालमै गर्नुहोस् । सरकारले के–के सहयोग गर्नुपर्ने हो भन्नुस् तर, विश्व बजारमा फैलन अरू के–के गर्न सकिन्छ त्यसमा पनि सोच्नुहोला,’ अर्थमन्त्री डा. वाग्लेले भने ‘नेपाली इन्जिनियर र डिजाइनरहरूले गरेको यो मेहनतको म सम्मान गर्छु ।’ नेपालमा बनेको स्कुटरले विश्व बजारमा चलिरहेका ब्रान्डहरूलाई जित्न सकोस् भन्ने शुभकामना पनि उनले दिए । नेपालमा बनेको स्कुटर अमेरिकी पहाडहरूमा समेत दौडिन सकून् भन्दै अर्थमन्त्रीले प्रवासमा रहेका नेपालीहरूलाई यो ब्रान्ड मन परोस् र नेपालीहरूले खोजीखोजी चढेको हेर्न पाइयोस् भन्ने शुभकामना व्यक्त गरे । सो क्रममा अर्थमन्त्री डा.वाग्लेलाई यात्री विद्युतीय बाइकका संस्थापक तथा सीईओ असिम पाण्डेले नयाँ बनाइएको स्कुटर (यात्री पीटू) को डिजाइन, सुरक्षा जाँच, त्यसमा प्रयोग हुने पार्टपुर्जा र स्कुटरको सफल परीक्षणको अनुभवबारे जानकारी गराए । यस्तै, सिप्रदी ट्रेडिङका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठले आफूहरूले विद्युतीय स्कुटर नेपालमै डिजाइन र उत्पादन गरेर ऐतिहासिक सफलता हासिल गरेको बताए । दुईपांग्रे सवारीसाधनको डिजाइन र उत्पादन नेपालमै गर्नु र त्यसका केही विशेषता विश्वमै नभएको उच्चस्तरीय र विशिष्ट हुनु नयाँ सफलता भएको उनको भनाइ छ । नेपालको कठिन र जटिल पहाडी तथा हिमाली भूभागहरूमा सफल परीक्षणपछि यस्तो स्कुटरलाई छिट्टै सर्वसाधारणलाई बिक्रीका लागि सार्वजनिक गर्ने तयारी भइरहेको श्रेष्ठले बताए । दुईपांग्रे विद्युतीय सवारीसाधनमा डीसी चार्जर भएको स्कुटर नेपालमा निर्माण हुनु विश्वकै पहिलो सफलता भएको कम्पनीका अधिकारीहरूको दाबी छ । प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले बजारमा प्रतिस्पर्धा गर्न सक्ने गरी नेपाली उत्पादनलाई प्रोत्साहन गर्न सरकारले विद्युतीय ब्याट्री र स्कुटरका पार्टपुर्जा बनाउने कच्चा पदार्थमा केही सहुलियतपूर्ण नीति लिनुपर्ने बताए । केही दिनमै सार्वजनिक गर्ने तयारी भइरहेको सो स्कुटर अहिलेलाई भने गोप्य राखिएको छ । नेदरल्याण्ड्सबाट इन्जिनियरिङ सकेर नेपाल फर्किएका असिम पाण्डेले २०१७ मा विद्युतीय मोटरसाइकल बनाउने भन्दै स्टार्टअप कम्पनी ’यात्री मोटरसाइकल’ खोलेका थिए । सोही कम्पनी अहिले भने नेपालको अग्रणी गाडी बिक्रेता कम्पनी ’सिप्रदी ट्रेडिङ’सँगको व्यावसायिक सहकार्यमा ’सिप्रदी यात्री’ बनेको छ । यही कम्पनीले पहिलो पटक नेपालमै आफ्नै डिजाइन, इन्जिनियरिङ र भारतको दुईपांग्रे सवारीसाधनको गुणस्तर परीक्षण गर्ने निकायमा गुणस्तर जाँच गराएर विद्युतीय दुईपांग्रे स्कुटर ‘यात्री पीटू’ निर्माण गरेको हो ।
३ हजार ६ सय रुपैयाँले बढ्यो सुनको मूल्य
काठमाडौं । नेपाली बजारमा आइतबार (आज) सुनको मूल्य तोलामा ३ हजार ६०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलाको ३ लाख ५ हजार २०० रुपैयाँ कायम भएको छ । शुक्रबार सुन प्रतितोला ३ लाख १ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो । यसैगरी, आज चाँदीको मूल्य पनि बढेको छ । प्रतितोलामा ५० रुपैयाँले बढी ४ हजार ७१० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । शुक्रबार एक तोला चाँदी ४ हजार ६६० रुपैयाँमा कारोबार भएको थियो । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ४ हजार ३७७ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
इरानी पुरुषको उचाइ विश्वमै सबैभन्दा धेरै बढ्यो, महिलामा दक्षिण कोरियाको रेकर्ड
काठमाडौं । पछिल्लो शताब्दीमा इरानी पुरुषको औसत उचाइ विश्वमै सबैभन्दा धेरै बढेको देखिएको छ । सन् १८९६ देखि १९९६ सम्मको १०० वर्षको अवधिमा इरानी पुरुषको औसत उचाइ करिब १६.५ सेन्टिमिटर बढेको थियो । यो वृद्धि केही सीमित व्यक्तिमा मात्र नभई करिब सम्पूर्ण जनसंख्यामा देखिएको हो । सोही अवधिमा बेलायती पुरुषको उचाइ ११ सेन्टिमिटर र अमेरिकी पुरुषको उचाइ ६ सेन्टिमिटर बढेको थियो । यस आधारमा इरान सबैभन्दा अगाडि रहेको छ । महिलातर्फ भने दक्षिण कोरियाली महिलाको उचाइ सबैभन्दा धेरै बढेको पाइएको छ । स्पेस डेलीका अनुसार पुरुषको उचाइसम्बन्धी यो तथ्य सन् २०१६ मा प्रकाशित एउटा अध्ययनबाट लिइएको हो । ‘वयस्क मानिसको उचाइमा एक शताब्दीको प्रवृत्ति’ शीर्षकको यो अध्ययन एनसीडी रिस्क फ्याक्टर कोलाबोरेसनले इलाइफ जर्नलमा प्रकाशित गरेको थियो । अध्ययनको नेतृत्व इम्पेरियल कलेज लन्डनका अनुसन्धानकर्ताले गरेका थिए। उनीहरूले विश्व स्वास्थ्य संगठनसँग सहकार्य गरेका थिए । अनुसन्धान टोलीले १ करोड ८६ लाखभन्दा बढी मानिसमा गरिएको १ हजार ४७२ वटा जनसंख्यामा आधारित अध्ययनको विभिन्न चरणमा विश्लेषण गरेको थियो । त्यसका आधारमा २०० देशमा सन् १८९६ देखि १९९६ सम्म जन्मिएका मानिसको औसत वयस्क उचाइको अनुमान गरिएको थियो । यस क्रममा इरानी पुरुषको औसत उचाइमा सबैभन्दा धेरै वृद्धि देखियो । २०औं शताब्दीमा इरानी पुरुषको उचाइ १६.५ सेन्टिमिटर बढेको थियो । यसको ९५ प्रतिशत विश्वसनीय अन्तराल १३.३ देखि १९.७ सेन्टिमिटरसम्म रहेको थियो । महिलातर्फ भने दक्षिण कोरियाली महिला सबैभन्दा अगाडि रहे। उनीहरूको औसत उचाइ २०.२ सेन्टिमिटर बढेको अध्ययनले देखाएको छ । अध्ययनले उचाइमा भएको परिवर्तन देखाए पनि यसको ठ्याक्कै कारण भने निर्धारण गरेको छैन । तर अनुसन्धानकर्ताहरूले राम्रो पोषण र स्वस्थ वातावरणलाई यसको सम्भावित कारणका रूपमा औंल्याएका छन् । बाल्यकालमा पर्याप्त पोषण पाउने र राम्रो वातावरणमा हुर्किने बालबालिका तुलनात्मक रूपमा अग्लो हुने गर्छन् । गर्भावस्थामा आमाको स्वास्थ्यले पनि बच्चाको शारीरिक विकासमा प्रभाव पार्न सक्छ । तर उचाइलाई स्वास्थ्यको निश्चित मापदण्ड भने मान्न नसकिने अनुसन्धानकर्ताहरू बताउँछन् । इम्पेरियल कलेजका प्रोफेसर माजिद इजातीले यसलाई एक प्रकारको ‘स्वास्थ्यको तस्वीर’ का रूपमा व्याख्या गरेका छन् । उनका अनुसार यो अध्ययनले पछिल्लो शताब्दीमा विभिन्न देशका मानिसको स्वास्थ्य अवस्थाको समग्र तस्वीर बुझ्न सहयोग गर्छ । कतिपय देशमा मानिसको औसत उचाइ घटिरहेको देखिन्छ भने कतिपय देशमा मानिस झन् अग्ला हुँदै गएका छन् । उचाइ बढेका देशलाई ‘विजेता’ र उचाइ घटेका देशलाई खराब अवस्थाको संकेतका रूपमा हेर्न सजिलो हुन्छ । तर अध्ययनको मुख्य विषय उचाइ आफै भने होइन । उचाइलाई बाल्यकालमा मानिसले पाएको पोषण, स्वास्थ्य सेवा र जीवनयापनको अवस्थाको अप्रत्यक्ष संकेत का रूपमा बुझ्न सकिन्छ । यस्ता पक्षलाई १०० वर्षको लामो अवधिमा प्रत्यक्ष रूपमा मापन गर्न कठिन हुने भएकाले उचाइ एउटा उपयोगी संकेत बन्न सक्छ । पछि एनसीडी–आरआइएससीको अर्को अध्ययनले यो विषयलाई थप स्पष्ट पारेको थियो । अध्ययनमा धेरै देशमा पाँच वर्ष उमेरका बालबालिकाको उचाइ र तौल सामान्य देखिए पनि विद्यालय जाने उमेरमा उनीहरू विकासको हिसाबले पछि परेको पाइएको थियो । यसले विद्यालय जाने उमेरमा समेत पोषण, स्वास्थ्य र जीवनयापनको वातावरणले बालबालिकाको शारीरिक विकासमा महत्त्वपूर्ण भूमिका खेल्ने देखाउँछ ।
नाटामा पद मात्र पाएको छैन, दृष्टिकोणसहित जिम्मेवारी पाएको छु: अध्यक्ष पाण्डे
काठमाडौं । नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाटा)को निर्वाचनमा भरत जंग पाण्डे अध्यक्षमा निर्वाचित भएका छन् । निर्वाचन परिणाम आएसँगै उनले विकासन्युजसँग संक्षिप्त कुराकानी गर्दै काँधमा अब एउटा पद मात्रै आएको छैन, नाटालाई नयाँ सोच, नयाँ कार्यशैली र संस्थागत सुधारको बाटोमा अघि बढाउने जिम्मेवारी र अवसर पनि आएको बताएका छन् । ‘निर्वाचित हुनु भनेको पुनः नयाँ विद्यालयमा प्रवेश गरेजस्तै भएको छ,’ उनले भने,’ मेरो लागि सबैभन्दा ठूलो परीक्षा पनि हो र राम्रो गर्नका लागि सुनौलो यात्रा गर्ने अवसर आएको छ ।’ पाण्डेका अनुसार निर्वाचन अभियान यसपटकको प्रतिस्पर्धा अरू निर्वाचनभन्दा केही फरक देखियो । न त ठूलो भोजभतेर, न त अनावश्यक भीडभाड । न त शक्ति प्रदर्शनको होड, न त तडकभडक। साथीभाइसँग सामान्य छलफल, भेटघाट र संवादमार्फत आफ्ना एजेण्डा मतदातासम्म पुर्याउने प्रयास भयो । पाण्डेले मतदातालाई आफ्ना एजेण्डा सुनाउने मात्र गरेनन्, उनीहरूका कुरा पनि सुने। नाटा परिवारभित्रका समस्या, अपेक्षा र संस्थालाई परिवर्तन गर्नुपर्ने विषयमा निरन्तर सुझाव लिए । नेतृत्व भनेको भाषण गर्ने मात्रै होइन, सुन्ने र त्यसअनुसार काम गर्ने जिम्मेवारी पनि हो भन्ने सन्देश पाण्डेले अभियानमा बनाएका थिए । निर्वाचनका क्रममा उनले संस्थामा देखिएका कमजोरीप्रति पनि गम्भीर चासो राखे । ‘बिग्रिएपछि सुधार्ने’ भन्दा ‘बिग्रिन नदिन सचेत हुने’ सोच आवश्यक रहेको उनले धारणा राखे । संस्थाको आजको अवस्थालाई मात्र हेरेर होइन, भोलिको नाटालाई कस्तो बनाउने भन्ने दीर्घकालीन दृष्टिकोणका साथ उनले मत मागे । उनी एक मतले शताब्दीसम्म काम गर्छ भनेर गम्भीर बनेका थिए । ‘पाण्डेको बुझाइमा नाटा एउटा निर्वाचनबाट आउने र जाने नेतृत्वको संस्था मात्र होइन । पर्यटन तथा ट्राभल व्यवसायीहरूको साझा आवाज, व्यावसायिक हितको प्रतिनिधि र नेपालको पर्यटन क्षेत्रसँग जोडिएको महत्वपूर्ण संस्था हो । नाटाको गरिमा, प्रभाव र ऐतिहासिक महत्वलाई अझ उचाइमा पुर्याउनुपर्ने आवश्यकता रहेको उनको ठहर छ । यही सोचका साथ उनी निर्वाचनमा होम्मिए । निर्वाचनको अन्तिम नतिजा आएपछि नाटालाई भोलिको पुस्ताले पनि गर्वका साथ सम्झन सक्ने संस्था बनाउने पाण्डे बताउँछन् । ‘अब निर्वाचन सकिएको छ। प्रतिस्पर्धाको अध्याय बन्द भएको छ र कामको अध्याय सुरु भएको छ । निर्वाचनमा व्यक्त गरिएका प्रतिबद्धतालाई व्यवहारमा उतार्नु नै नयाँ नेतृत्वको वास्तविक परीक्षा हुनेछ,’ पाण्डे गम्भीर सुनिन्छन् । उनका लागि चुनौती निर्वाचनका बेला सुनेका आवाजलाई निर्णयको आधार बनाउने, संस्थाभित्रको एकतालाई बलियो बनाउने, व्यवसायीका समस्या समाधानका लागि प्रभावकारी पहल गर्ने र नाटाको संस्थागत क्षमता अझ मजबुत बनाउने हो । पाण्डेको अनुसार नाटाको नेतृत्व पद प्राप्त गर्ने विषय मात्र होइन, संस्थाको भविष्य निर्माण गर्ने जिम्मेवारी हो । अब यस नेतृत्वले संकल्पलाई कति व्यवहारमा उतार्छ, त्यसको मूल्यांकन समयले गर्नेछ। पद आउने र जाने क्रम चलिरहन्छ । मानिसले गरेको कामले संस्थालाई जीवन्त राख्नेछ । निर्वाचित भएसँगै उनले नाटालाई केवल वर्तमानमा मात्र चलाउने नभइ इतिहासले सम्झने गरी संस्थाको महत्व र गरिमा कायम राख्ने उल्लेख गरे । नाटाको ५९ औं शुक्रबार भएको निर्वाचनमा १८८ मत प्राप्त गरी उनी निर्वाचित भएका हुन् ।
इरानी सांसदको चेतावनी– ट्रम्पले हर्मुजको चिन्ता छाडी आफ्नो सुरक्षाको चिन्ता गरून्
काठमाडौं । इरानको संसद्को राष्ट्रिय सुरक्षा तथा विदेश नीति समितिका प्रमुख इब्राहिम अजिजीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हर्मुज स्ट्रेटबारे दिएको बयानको प्रतिक्रिया जनाएका छन् । अजिजीले ट्रम्पलाई हर्मुज स्ट्रेटबारे लगातार धम्की दिनुको सट्टा आफ्नो सुरक्षाको चिन्ता गर्न सुझाव दिएका छन् । उनले सामाजिक सञ्जाल एक्समा लेखेका छन् कि आफ्नो सुरक्षाका लागि ट्रम्पले सम्भवतः ‘खाना बोक्ने ट्रक’मा लुक्नुपर्ने अवस्था आउन सक्छ । अजिजीको यो प्रतिक्रिया ट्रम्पले अघिल्लो रात आफूले ‘हर्मुज स्ट्रेटलाई अमेरिकी क्षेत्र घोषणा गर्ने’ बताएको भनाइपछि आएको हो । पछि ह्वाइट हाउसले ट्रम्पले उक्त कुरा मजाकका रूपमा भनेको स्पष्ट पारेको थियो । यद्यपि उनको उक्त भनाइको सञ्चारमाध्यममा व्यापक चर्चा भएको छ भने इरानका विभिन्न अधिकारी तथा राजनीतिक नेताहरूले पनि त्यसबारे प्रतिक्रिया दिएका छन् ।
नयाँ भनिएका राजनीतिक शक्तिमा शासन गर्ने न्यूनतम दक्षतासमेत छैन : ओली
काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारको कार्यशैली र नेतृत्वको अनुभवहीनताका कारण देश बरबादीतर्फ उन्मुख रहेको बताएका छन् । इलाममा आयोजित लोकतान्त्रिक आदिवासी जनजाति महासंघ, नेपालको केन्द्रिय कमिटी बैठकलाई सम्बोधन गर्दै उनले अदूरदर्शी र अनुभव नभएका शक्तिहरूका कारण मुलुक संकटतर्फ धकेलिएको दाबी गरेका हुन् । अध्यक्ष ओलीले प्रधानमन्त्री बालेन्द्र शाहप्रति लक्षित गर्दै सरकार सञ्चालनलाई कला र अनुभवसँग तुलना गरे । नयाँ भनिएका राजनीतिक शक्तिहरूमा शासन गर्ने न्यूनतम दक्षतासमेत नभएको उनको टिप्पणी छ । अनुभवहीन सरकारले जे गर्न सक्थ्यो, त्यही मात्र गरिरहेको ओलीले बताए । खाना पकाउन नजान्ने बच्चालाई भान्साको जिम्मेवारी दिएजस्तै नयाँ भनिएकाहरूले प्रक्रिया पनि नबुझेको र नतिजा दिन पनि नसक्ने जिकिर उनले गरे । सिक्दै नसकेका र प्रक्रिया नबुझेका व्यक्तिहरूले देश चलाउन खोज्दा उल्टै क्षति पुगिरहेको उनको भनाइ छ । ओलीले सीप नभएको मानिसलाई बाजा बजाउन वा नृत्य गर्न लगाउँदा आउने परिणामजस्तै वर्तमान सरकारको अवस्था रहेको उल्लेख गरे । अनुभवी र दक्ष नेतृत्वको अभावमा देशको अवस्था बिग्रिएको तर्क गर्दै उनले ‘उरन्ठेउला’ व्यक्तिहरूका कारण राष्ट्रिय राजनीति र प्रशासनमा बेथिति मौलाएको आरोप लगाए । संविधानको रक्षाका विषयमा बोल्दै पूर्वप्रधानमन्त्री ओलीले वर्तमान अवस्थामा संविधानको उल्लंघन भइरहेको र यसलाई सही बाटोमा फर्काउनु अनिवार्य रहेको बताए । अध्यक्ष ओलीले मुलुकको हितका लागि सक्षम र अनुभवी नेतृत्वको विकल्प नरहेको भन्दै कार्यकर्ताहरूलाई संविधानको रक्षा र देशको विकासका लागि सचेत रहन निर्देशन समेत दिए ।
बैंकहरूको खराब कर्जा १८ प्रतिशत बढ्यो, ५ बैंकले घटाए
काठमाडौं । बैंकहरूको खराब कर्जा औसत साढे ५ प्रतिशत पुगेको छ । बैंकहरूले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार गत आर्थिक वर्ष २०८२/८३ को असार मसान्तसम्म औसत खराब कर्जा (एनपीएल) ५.४४ प्रतिशत पुगेको हो । अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा यो दर ४.६ प्रतिशत थियो । यस आधारमा बैंकहरूको खराब कर्जा एक वर्षमा १८.१८ प्रतिशतले बढेको देखिन्छ । समीक्षा अवधिमा सबैभन्दा धेरै खराब कर्जा वृद्धि प्रभु बैंकमा देखिएको छ । बैंकको खराब कर्जा १२१.८२ प्रतिशतले बढेर १५.५५ प्रतिशत विन्दुमा पुगेको छ । अघिल्लो वर्ष यो ७.०१ प्रतिशत विन्दु थियो । स्ट्यान्डर्ड चार्टर्ड बैंकको खराब कर्जा ४३.९७ प्रतिशतले बढेर २.०३ प्रतिशत विन्दु पुगेको छ । नेपाल इन्भेस्टमेन्ट मेगा बैंक (एनआईएमबी) को खराब कर्जा ३६.३७ प्रतिशतले बढेर ८.६६ प्रतिशत विन्दु पुगेको छ । त्यसैगरी, सिद्धार्थ बैंकको ३४.७३ प्रतिशतले बढेर ३.५३ प्रतिशत विन्दु, एभरेस्ट बैंकको २८.९४ प्रतिशतले बढेर ०.४९ प्रतिशत विन्दु, सिटिजन्स बैंकको २०.२४ प्रतिशतले बढेर ५.८८ प्रतिशत विन्दु र लक्ष्मी सनराइज बैंकको २०.२२ प्रतिशतले बढेर ५.२३ प्रतिशत विन्दु पुगेको छ । एनएमबी बैंकको खराब कर्जा १९.४६ प्रतिशतले बढेर ४.९१ प्रतिशत विन्दु पुगेको छ भने कृषि विकास बैंकको १८.३१ प्रतिशतले बढेर ४.०७ प्रतिशत विन्दु पुगेको छ । प्राइम बैंकको खराब कर्जा १५.१४ प्रतिशतले बढेर ६.६९ प्रतिशत विन्दु, कुमारी बैंकको ७.३३ प्रतिशतले बढेर ७.४६ प्रतिशत विन्दु र एनआईसी एशिया बैंकको ५.९४ प्रतिशतले बढेर ९.२६ प्रतिशत विन्दु पुगेको छ । राष्ट्रिय वाणिज्य बैंकको खराब कर्जा ४.२२ प्रतिशतले बढेर ३.९५ प्रतिशत विन्दु पुगेको छ । ग्लोबल आइएमई बैंकको २.०५ प्रतिशतले बढेर ४.९६ प्रतिशत विन्दु र माछापुच्छ्रे बैंकको ०.५० प्रतिशतले बढेर ३.९८ प्रतिशत विन्दु पुगेको छ । यद्यपि, अधिकांश बैंकहरूको खराब कर्जा बढेका बेला पाँच बैंकले भने आफ्नो खराब कर्जा घटाउन सफल भएका छन् । नेपाल एसबीआई बैंकको खराब कर्जा १२.८३ प्रतिशतले घटेर २.९२ प्रतिशत विन्दुमा झरेको छ । नेपाल बैंकको ८.३३ प्रतिशतले घटेर ४.१८ प्रतिशत विन्दु, नबिल बैंकको ६.२५ प्रतिशतले घटेर ४.२ प्रतिशत विन्दु, सानिमा बैंकको ४.६ प्रतिशतले घटेर २.८७ प्रतिशत विन्दु र हिमालयन बैंकको ०.१२ प्रतिशतले घटेर ७.९६ प्रतिशत विन्दुमा सीमित भएको छ ।
भदौमा ५ बैंकले घटाए ब्याजदर, कुन बैंकको ब्याज कति ?
काठमाडौं । वाणिज्य बैंकहरूले भदौ महिनाका लागि मुद्दती निक्षेपको ब्याजदर घटाएका छन् । भदौ १ गतेदेखि लागू हुने गरी ५ बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा ब्याजदर घटाएको जनाएका हुन् । वाणिज्य बैंकहरूको औसत व्यक्तिगत मुद्दती निक्षेप ब्याजदर भदौ महिनाका लागि ०.०४ प्रतिशत बिन्दुले घटेर ४.१३ प्रतिशतमा झरेको छ । साउन महिनामा यो दर ४.१७ प्रतिशत थियो । त्यस्तै, संस्थागत मुद्दती निक्षेपतर्फको औसत ब्याजदर पनि ०.०४ प्रतिशत बिन्दुले घटेर ३.०८ प्रतिशत कायम भएको छ । साउनमा यो दर ३.१२ प्रतिशत थियो । असार महिनाका लागि ५ बैंकले ब्याजदर घटाएका छन् भने १५ बैंकले दर यथावत् राखेका छन् । ब्याजदर घटाउने बैंकहरूमा नेपाल बैंक, कुमारी बैंक, सिटिजन्स बैंक, स्ट्याण्डर्ड चार्टर्ड बैंक र सिद्धार्थ बैंक रहेका छन् । त्यस्तै, कृषि विकास बैंक, एभरेष्ट बैंक, नेपाल एसबिआई बैंक, लक्ष्मी सनराइज बैंक, ग्लोबल आइएमई बैंक, प्राइम बैंक, प्रभु बैंक, माछापुच्छ्रे बैंक, एनएमबि बैंक, हिमालयन बैंक, नबिल बैंक, सानिमा बैंक, राष्ट्रिय वाणिज्य बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबी) र एनआईसी एशिया बैंकले ब्याजदर यथावत् राखेका छन् ।