गोर्खाज फाइनान्सका संस्थापकले किनेनन् दिपेन्द्र अग्रवालको सेयर
काठमाडौं । गोर्खाज फाइनान्सका संस्थापक सेयरधनी दिपेन्द्र अग्रवालको सेयर बिक्रीमा राखिएको छ । फाइनान्सका संस्थापक सेयरधनीहरूले खरिद नगरेपछि अग्रवालको स्वामित्वमा रहेको सेयर सर्वसाधारणका लागि बिक्री खुला गरिएको हो । संस्थापक सेयरधनी अग्रवालले गत मंसिर १७ गते सेयर बिक्रीको लागि सञ्चालक समितिमा आवेदन दिएका थिए । सोही बमोजिम फाइनान्सले मंसिर २७ गते ४८ हजार ७७३ कित्ता सेयर बिक्रीमा राखिएको थियो । उक्त सेयर खरिद गर्न इच्छुक विद्यमान संस्थाकलाई ३५ दिनभित्र आवेदन दिन आह्वान गरिएको थियो । त्यसअवधिमा कुनै पनि संस्थापकको आवेदन नपरेपछि कम्पनीले सर्वसाधारण लगानीकर्ताका लागि बिक्री खुला गरेको हो । खरिद गर्न इच्छुक लगानीकर्ताले कम्पनीको उक्त सेयरमा १५ दिनभित्र आवेदन दिनुपर्नेछ ।
एनएमबि, प्राइम र कामना सेवाको सेयर बिक्रीमा, कुन बैंकको कति ?
काठमाडौं । एनएमबि बैंक, प्राइम कमर्सियल बैंक र कामना सेवा विकास बैंकको संस्थापक सेयर बिक्रीमा राखिएको छ । संस्थापक सेयरधनीहरूले बैंकमा रहेको आफ्नो स्वामित्वको सेयर बिक्रीमा राखेका हुन् । एनएमबि बैंकका संस्थापक सेयरधनीहरूले ५ लाख ९८ हजार १४५ कित्ता, प्राइम बैंकका संस्थापकले ५ लाख ५ हजार १८६ कित्ता र कामना सेवा विकास बैंकका संस्थापकले १ लाख ७७ हजार ७६६ कित्ता सेयर बिक्रीमा राखेका हुन् । एनएमबि र कामना सेवा विकास बैंकको सेयरमा विद्यमान संस्थापक सेयरधनीले मात्रै आवेदन दिन पाउनेछन् । यदि ३५ दिनभित्र संस्थापकको आवेदन नपरेमा सर्वसाधारण लगानीकर्ताका लागि बिक्री खुला गरिने जनाएको छ । प्राइम बैंकको सेयरमा भने सर्वसाधारण लगानीकर्ताले समेत आवेदन दिन पाउनेछन् । बैंकको सेयरमा आज माघ १३ गतेदेखि माघ २० गतेसम्म आवेदन दिन सकिनेछ । बैंकको सेयर मूल्य प्रतिकित्ता १ सय रुपैयाँ तोकेको छ ।
अमेरिकी एक डलरको मूल्य १३८.२४ रुपैयाँ, झर्याे पाउण्डको भाउ
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज अमेरिकी डलरको मूल्य एकको खरिदर १३७.६४ रुपैयाँ र बिक्रीदर १३८.२४ रुपैयाँ तोकेको छ । आज युरोपियन यूरोको एकको खरिदर १४४.३६ रुपैयाँ र बिक्रीदर १४४.९९ रुपैयाँ, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १७०.९४ रुपैयाँ र बिक्रीदर १७१.६८ रुपैयाँ, स्वीस फ्रयाङ्क एकको खरिददर १५२.०४ रुपैयाँ र बिक्रीदर १५२.७० रुपैयाँ, अष्ट्रेलियन डलर एकको खरिददर ८५.९५ रुपैयाँ र बिक्रीदर ८७.३३ रुपैयाँ तोकेको छ । यस्तै, क्यानेडियन डलर एकको खरिददर ९६.०४ रुपैयाँ र बिक्रीदर ९६.४६ रुपैयाँ, सिङ्गापुर डलर एकको खरिददर १०२.१७ रुपैयाँ र बिक्रीदर १०२.६१ रुपैयाँ, जापानी येन १० को खरिददर ८.८३ रुपैयाँ र बिक्रीदर ८.८६ रुपैयाँ र चिनियाँ युआन एकको खरिददर १९.०० रुपैयाँ र बिक्रीदर १९.०८ रुपैयाँ तोकेको छ । राष्ट्र बैंककाअनुसार साउदी अरेबियन रियाल एकको खरिददर ३६.६९ रुपैयाँ र बिक्रीदर ३६.८५ रुपैयाँ, कतारी रियाल एकको खरिददर ३७.७५ रुपैयाँ र बिक्रीदर ३७.९२ रुपैयाँ, थाई भाट एकको खरिददर ४.०९ रुपैयाँ र बिक्रीदर ४.११ रुपैयाँ, युएई दिराम एकको खरिददर ३७.४७ रुपैयाँ र बिक्रीदर ३७.६४ रुपैयाँ, मलेसियन रिङ्गेट एकको खरिददर ३१.४४ रुपैयाँ र बिक्रीदर ३१.५८ रुपैयाँ तोकेको छ । यस्तै, साउथ कोरियन वन एक सयको खरिदद ९.६१ रुपैयाँ र बिक्रीदर ९.६५ रुपैयाँ, स्वीडिस क्रोनर एकको खरिददर १२.६१ रुपैयाँ र बिक्रीदर १२.६६ रुपैयाँ, डेनिस क्रोनर एकको खरिददर १९.३५ रुपैयाँ र बिक्रीदर १९.४३ रुपैयाँ, हङ्कङ डलर एकको खरिददर १७.६७ रुपैयाँ र बिक्रीदर १७.७५ रुपैयाँ तोकेको छ । यस्तै, कुवेती दिनार एकको खरिददर ४४६.८० रुपैयाँ र बिक्रीदर ४४८.७५ रुपैयाँ, बहराइन दिनार एकको खरिददर ३६५.१३ रुपैयाँ र बिक्रीदर ३६६.७२ रुपैयाँ, ओमानी रियाल एकको खरिददर ३५७.५९ रुपैयाँ र बिक्रीदर ३५९.१५ रुपैयाँ कायम रहेको राष्ट्र बैंकले जनाएको छ ।
एनएलजी इन्स्योरेन्सले ३ लाख २० हजार कित्ता सेयर बेच्दै, मूल्य १ सय रुपैयाँ
काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनीले अवितिरित हकप्रद सेयर बिक्री गर्ने भएको छ । कम्पनीले संस्थापक तथा सर्वसाधारण समूहको बिक्री नभएको ३ लाख २० हजार ५३३ कित्ता हकप्रद सेयर बिक्री गर्ने भएको हो । गत मंसिर ११ गतेदेखि पुस १६ गतेसम्म कम्पनीले चुक्ता पुँजी १ अर्ब ५३ करोड ९५ लाख ३५ हजार रुपैयाँको ६.२५ प्रतिशत अर्थात् १० कित्ता सेयर बराबर नयाँ ६.२५ कित्ता हकप्रद सेयर बिक्री खुला गरेको थियो । अर्थात् कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका ९६ लाख ३१ हजार २२०.२२ कित्ता हकप्रद सेयर जारी गरेको थियो । उक्त अवधिमा बिक्री नभएको संस्थापक समूहको २९ हजार ९७७ कित्ता र सर्वसाधारण समूहको २ लाख ९० हजार ५५५ कित्ता गरी कुल ३ लाख २० हजार कित्ता सेयर बिक्री खुला गर्ने भएको हो । कम्पनीको सेयर माघ २० गतेदेखि बिक्री खुला भई माघ २७ गतेसम्म बिक्री खुला रहनेछ । कम्पनीको सेयर बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल रहेको छ । कम्पनीको उक्त सेयरमा लगानीकर्ताले एनएलजी इन्स्योरेन्सको विराटनगर, वीरगंज, पोखरा, बुटवल, सुर्खेत र धनगढी शाखाबाट आवेदन दिन सक्नेछन् । कम्पनीको सेयर मूलय प्रतिकित्ता १ सय रुपैयाँ तोकिएको छ । लगानीकर्ताले कम्तिमा १ हजार कित्ता र अधिकतम सम्पूर्ण कित्ताका लागि आवेदन दिन सक्नेछन् ।
मौसमअनुसार मूर्ति तयार, सरस्वती पूजाका लागि भ्याइनभ्याई
काठमाडौं । सरस्वती पूजा नजिकिँदै जाँँदा महोत्तरीका विभिन्न स्थानमा मूर्तिकारहरू धमाधम मूर्ति बनाउन थालेका छन् । १० नगरपालिका र ५ गाउँपालिका रहेको महोत्तरीमा अवस्थित सबै सामुदायिक तथा निजी विद्यालय, कोचिङ सेन्टर, ट्युशन सेन्टर, क्लब, पुस्तकालयसहित गाउँ तथा नगरका विभिन्न चोकचोकमा सरस्वती पूजाका लागि मूर्तिकारलाई मूर्ति बनाउन भ्याइनभ्याई छ । आफ्नो चार पुस्तादेखि मूर्ति बनाउने पेसा चल्दै आएको एकडारा गाउँपालिका-५ का मूर्तिकार सुभाष पण्डितले सरस्वती पूजाका बेला अत्यधिक मूर्तिको माग हुने गरेको कारण अहिले सरस्वतीको मूर्ति बनाउन भ्याइनभ्याई भएको छ । त्यस्तै पूजाको अब १० दिन मात्र बाँकी हुँदा औरही नगरपालिका-२ का कैलाश रामलाई पनि मूर्ति बनाउन भ्याइनभ्याई भएको बताउँछन् । सरस्वतीको मूर्ति बनाउनमै व्यस्त जलेश्वर नगरपालिका-२ का विकाऊ पासवान पनि अहिले मूर्ति बनाउन भ्याइनभ्याइ भएको बताउँछन् । मूर्ति बनाउन चाहिने माटो, खर (पराल, भुस) रङ, जुटलगायत वस्तुको जोहो गर्नु, घामपानी र वातावरणअनुसार मूर्ति बनाउनु जस्ता क्रियाकलाप गर्नुपर्ने भएकाले मूर्तिकारलाई अहिले भ्याइनभ्याई भएको उनीहरू बताउँछन् । ‘घाम उदाएपछि मात्रै मूर्ति सुक्ने र मूर्ति सुकेपछि मात्रै राम्ररी रङ्ग रोगन गर्न मिल्ने भएकाले जति बढी घाम उदाउँछ, त्यति नै बढी मूर्ति तयार गर्नुपर्छ,’ मूर्तिकार पण्डितले भने । उनले आफू र आफ्ना बुवा शम्भु पण्डित मिलेर प्रत्येक वर्ष ५० हजार रुपैयाँभन्दा बढीका सरस्वती मूर्ति बनाउने गरेको बताए । साथै मौसमले साथ दिएमा ७०/७५ सम्म पनि मूर्ति बनाएर बेच्ने गरेको उनको भनाइ छ । त्यसैगरी मूर्तिकार कैलाश पनि आफू तथा आफ्ना परिवारका सदस्य मिलेर वर्षेनी ६०/७० वटा मूर्ति बनाउने गरेको बताउँछन् । उनले वर्षेनी २५ भन्दा बढी मूर्ति बनाउने गरेको बताए । आफ्नो क्षमता र साधन श्रोतले तयार गर्ने संख्याका अनुसार उनीहरुको आम्दानी पनि फरक फरक हुने गरेको छ । यसरी तयार गरेका मूर्तिहरु २ हजार रुपैयाँदेखि र ७ हजार रुपैयाँसम्ममा बेचेर वार्षिक २ लाख रुपैयाँ जति आम्दानी गर्ने गरेको पण्डितले बताए । मूर्तिकार कैलाशले आफूले प्रतिगोटा ३ हजार रुपैयाँदेखि १० हजार रुपैयाँसम्ममा मूर्ति बेचेरै वार्षिक ३ लाख ५० हजार रुपैयाँ आम्दानी गर्ने गरेको बताए । दिनानुदिन बढ्दै गएको मूर्तिको मागले यहाँका मूर्तिकारलाई सरस्वती पूजाको बेला दिनरात काम गर्नुपर्ने र मौसमअनुसार मूर्ति तयार गर्नुपर्ने चुनौती रहने गरेको छ । जिल्लाका मूर्तिकारले प्रत्येक वर्ष सरस्वतीको मूर्तिका साथै अन्य पूजा जस्तै गणेश, विश्वकर्मा, काली, दुर्गा पूजाका लागि पनि मूर्ति निर्माण गर्ने गरेका छन् । जिल्लामा पहिला पहिला पण्डित (कुमाले) जातिले मात्र मूर्ति बनाउने गरेकामा अहिले विभिन्न जातिका व्यक्तिले मूर्ति निर्माणलाई व्यावसायिक रुप दिएर विभिन्न जातजाति संलग्न रहेको पाइन्छ । यस वर्ष माघ २१ गते देशभरि श्रीपञ्चमी तथा सरस्वती पूजा मनाइँदै छ ।
डिजीपिएस, ड्रोन, टोटल स्टेशन प्रयोगबाट सिमाङ्कन, बाढी पीडितलाई शतप्रतिशत कर छुट
काभ्रेपलाञ्चोक । गत असोज दोस्रो साताको भीषण बाढीपहिरोबाट प्रभावित काभ्रेपलाञ्चोकको पनौती खोलाको सिमाङ्कन तथा व्यक्तिको जमिन एकीनकार्यअन्तर्गत रोशी खोलाको सिमाङ्कनकार्य सकिएको छ । दुई हप्ताको अवधिमा जिल्लास्थित विभिन्न कार्यालयका प्राविधिकमार्फत नौ किलोमिटर खोलाको सिमाङ्कन सकिएको हो । बाढीपहिरोले खोलाको सिमाङ्कनसँगै व्यक्तिको घर तथा जमिनको स्थितिसमेत तहसनहस पारेपछि जमिनको अवस्था साविकमा ल्याउन पनौती नगरपालिका तथा जिल्ला नापी कार्यालयले संयुक्त रूपमा कार्य सुरु गरेका थिए । बाढीपहिरोबाट भएको क्षतिको मूल्याङ्कनसँगै सबै किसिमका जग्गाको अवस्था साविकमा ल्याउन नगरको वडा नं १२ रोशीस्थित भुमेडाँडा क्षेत्रबाट उक्त कार्य सुरु गरिएको हो । भुमेडाँडाबाट पनौतीको त्रिवेणीघाटसम्मको नौ किलोमिटर खोलाको सिमाङ्कन सकिएको नापी कार्यालयका प्रमुख नापी अधिकृत अशोककुमार भुसालले बताए । अधिकृत भुुसालका अनुसार खोलाको सिमाङ्कन सकेर स्थानीयलाई आह्वान गरिएको निवेदनका आधारमा व्यक्तिका जग्गाका कित्ता पुनःस्थापनाकार्य भइरहेको छ । पनौती नगर कार्यालय, नापी कार्यालय तथा भूमि व्यवस्थापन प्रशिक्षण केन्द्रबाट कर्मचारी खटाई रोशी क्षेत्रमा रोशी खोलाको ‘लेआउट’सहितको कार्य प्रारम्भ गरिएको हो । तीन कार्यालयका टोलीले डिजीपिएस, ड्रोन, टोटल स्टेशन आदिको प्रयोग गरी अध्ययन गरिरहेको अधिकृत भुसालले बताए । उनका अनुसार टोलीले डिजीपिएस प्रविधिबाट साविकको खोला, कित्ता र खानी क्षेत्रको जमिन देखाउने छ । उक्त क्षेत्रको जमिनको एकीन गर्न तीन महिना लाग्ने अनुमान गरिएको छ । व्यक्तिले भोगचलन गरिरहेका जग्गाको अवस्था एकीन गर्न चुनौती भइरहेको अधिकृत भुसालले बताए । उनका अनुसार हाल ६० कित्ताको पहिचान गरिसकिएको छ । आवश्यक परे डिजिटल नापी कार्यालय बनेपाबाट समन्वय र सहयोग लिइने बताइएको छ । स्थानीयले भने खोला क्षेत्र र व्यक्तिगत कित्ताको पुनःस्थापना गरेर मात्र पुनर्निर्माणको काम सुरु हुनुपर्ने माग गर्दै आएका छन् । पनौतीमा बाढीपहिरोका कारण १८ जनाको मृत्यु भएको थियो । ५८६ घर पूर्ण तथा ९४४ घरमा आंशिक क्षति पुगेको थियो । उक्त क्षेत्रमा ११ हजार ६३७ रोपनी व्यक्तिगत खेतबारीमा क्षति पुगेको नगरले जनाएको छ । यसैबीच पनौती नगरले बाढीपहिरो प्रभावित क्षेत्रमा नागरिकको सम्पत्ति करमा शतप्रतिशत छुट दिने निर्णय गरेको छ । नगरको १६औँ सभाले उक्त निर्णय गर्दै केही क्षेत्र तोकेर सम्पत्ति करमा सय प्रतिशत नै छुट दिने निर्णय गरेको हो । सम्बन्धित वडाबाट अनुगमन गरी बाढीपहिरोपीडित क्षेत्रको कटानी सिफारिस भएपछि मात्र राजस्व छुटको निर्णय कार्यान्वयन गरिने नगरप्रमुख रामशरण भण्डारीले बताए । कर छुट निर्णय गरिएका बाढीप्रभावित क्षेत्रमा वडा नं १ को मानेदोभान र न्यूरेखोला, वडा नं २ को कुशादेवी, वडा नं ५ र ६ का सबै क्षेत्र, वडा नं ८ स्थित बगर क्षेत्र, १० नं वडाको सलान्दु र रोशी खोला किनार क्षेत्र, वडा नं ११ को ख्याकुथुम्की, डाँडागाउँ र नेपाने क्षेत्र, १२ नं वडाको पूरै क्षेत्र छन् । चालु आवमा तिर्नुपर्ने अन्य कर राजस्व भुक्तान गरेका बाढीपहिरोपीडितलाई उक्त सुविधा दिइने भएको हो । यस्तै नगरसभामा साधारण निर्माणमुखी रोडा-ढुङ्गा उद्योगले प्रयोग गरेको जग्गामा चालु आवको सम्पत्ति करमा ५० प्रतिशत छुट दिने निर्णय गरिएको छ । चालु आवमा बाढीपहिरो प्रभावित क्षेत्रका स्थानीयले सम्पत्तिकर बुझाइसकेकाको हकमा प्रमाणका आधारमा आगामी आवको सम्पत्ति करमा मिलान गरिने जनाइएको छ ।
७ मेट्रिक टन नकुहिने फोहर व्यवस्थापन
काठमाडौं । काठमाडौं महानगरपालिका–१० को अगुवाइमा बुद्धनगर वाग्मती पुल (युएन पार्क अगाडि) क्षेत्रको नदी एवं किनारमा सफाइ गरी ७ मेट्रिक टन नकुहिने फोहर व्यवस्थापन गरिएको छ । वडा नं १० का कार्यवाहक वडाध्यक्ष सुनिता भित्रीकोटी तथा सदस्य सतिस तण्डुकारको संयोजनमा त्यस क्षेत्रमा सफाइ गरी ७ मेट्रिक टन नकुहिने फोहर व्यवस्थापन गरिएको वाग्मती सफाइ अभियानकर्मी किशोरसिंह शाहीले जानकारी दिए । अधिकारसम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका आयोजना निर्देशक नारायणप्रसाद भण्डारीलगायत कर्मचारी, कामानपा वडा नं ११ का अध्यक्ष हिरालाल तण्डुकार, रोटरी क्लब अफ काठमाडौं हेरिटेजका अध्यक्ष हेमा अधिकारी तथा अन्य पदाधिकारी, कामानपा वडा नं १० का कर्मचारी, नदी संरक्षण संस्थाका अध्यक्ष मेघ आले, वाग्मती सफाइ महाअभियानका प्रमुख अभियानकर्मी लीलामणि पौड्याललगायतको सफाइमा सक्रियता थियो । सफाइबाट उठाइएको फोहर काठमाडौं महानगरपालिका वातावरण विभाग टेकुको ट्रकमा राखी व्यवस्थापन गरिएको उनले सुनाए । सफाइका लागि मुक्तिनाथ विकास बैंकका बोर्ड सदस्य नारायणकुमार श्रेष्ठले बैंकको तर्फबाट माक्स र पन्जा वाग्मती सफाइ महाअभियानलाई प्रदान गरेका थिए । अर्को हप्ताको सरसफाइ कामानपा वडा नं ६ को संयोजकत्वमा गर्नेगरी तयारी गरिएको सफाइ महाअभियानले जनाएको छ । विसं २०७० जेठ ५ गतेदेखि सुरु भएको वाग्मती सफाइ महाअभियान प्रत्येक हप्ता शनिबार बिहान २ घण्टा जारी छ । सफाइ महाअभियानलाई सघाउन विगत तीन हप्तादेखि काठमाडौं महानगरपालिकाको वाग्मती नदीसँग सीमा जोडिएका वडाहरूले सफाइको नेतृत्व गर्दै आएका छन् ।
गौर भन्सारले ६ महिनामा उठायो १४ करोड राजस्व
चन्द्रपुर (रौतहट) । गौर भन्सार कार्यालयले आर्थिक वर्ष २०८१/८२ को पहिलो ६ महिनामा लक्ष्यको ८५ प्रतिशत राजस्व सङ्कलन गर्न सफल भएको छ । कार्यालयले साउनदेखि पुससम्म १४ करोड ६७ लाख ५५ हजार रुपैयाँ राजस्व सङ्कलन गर्न सफल भएको गौर भन्सार कार्यालयका निमित्त प्रमुख अमेन्द्र सिंहले जानकारी दिए । भन्सार विभागले आव २०८१/८२ का लागि ३५ करोड ४३ लाख ७८ हजार रुपैयाँ राजस्व सङ्कलनको लक्ष्य दिएकामा पुस मसान्तसम्ममा १४ करोड ६७ लाख ५५ हजार रुपैयाँ सङ्कलन गरेको उनले बताए । यो साउनदेखि पुससम्मको लक्ष्यको ८५ प्रतिशत राजस्व सङ्कलन भएको प्रमुख सिंहले जानकारी दिए । भन्सार प्रमुख सिंहका अनुसार ६ महिनामा सबैभन्दा बढी पुसमा ३ करोड ४७ लाख १४ हजार रुपैयाँ सङ्कलन भएको छ । यो महिना लक्ष्य भन्दा १७ प्रतिशत बढी रकम राजस्व सङ्कलन भएको उनको भनाइ छ । यस वर्ष गौर भन्सार कार्यालयले विभागले दिएको लक्ष्य भेट्टाउने किसिमले काम गरिरहेको उनले बताए । यसैबीच रौतहट प्रहरीले गत साउनयता २ करोड ४२ लाख ७७ हजार ४४३ रुपैयाँ बराबरको सीमा क्षेत्रबाट चोरी निकासीका सामान बरामद गरी गौर भन्सारमा बुझाएको रौतहट प्रहरी प्रमुख दिलीप घिमिरेले जानकारी दिए । सो अवधिमा अवैध सामान ओसारपसार गर्ने ६६ जना, १०८ वटा मोटरसाइकल, २ थान पिकअप भ्यान, २ थान स्कारपियो गाडी, १४ वटा साइकल र ४ वटा सिटीरिक्सा बरामद गरी भन्सार कार्यालयलाई बुझाएको उनले जानकारी दिए । सोही अवधिमा जिल्ला ट्राफिक प्रहरी कार्यालयले ६८ लाख २४ हजार ५ सय रुपैयाँ राजस्व सङ्कलन गरेको उपरीक्षक घिमिरेले जानकारी दिए ।