अर्थतन्त्र चलायमान बनाउन अध्यादेश ल्यायौँ : अर्थमन्त्री पौडेल
काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारले अर्थतन्त्र चलायमान बनाउन, उत्पादन, उत्पादकत्व र जिडिपी वृद्धि गर्नका निम्ति अध्यादेश ल्याएको बताएका छन् । आइतबार विश्व भन्सार दिवसको अवसरमा काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । अहिलेको सरकार सरकारहरुको सूचिमा अर्को एक थान सरकार थप्नका लागि नबनेको बताए । सरकार विशेष परिस्थितिमा बनेको उल्लेख गर्दै सरकारले आफ्नो अभिभारा पूरा गर्ने जानकारी दिए । उनले निजी क्षेत्रले सरकारले ल्याएका अध्यादेशहरुलाई सकारात्मक रुपमा लिएको उल्लेख गर्दै यस्ता कदमहरु सरकारले आगामी दिनमा पनि अघि बढाउने बताए । सरकारले अर्थतन्त्र चलायमान बनाउन चालेका कदमहरु अन्तिम नभएको र आगामी दिनमा अझ बढी काम गर्दै जाने बताए । निराशा, अविश्वास र शिथिलताबाट नागरिकलाई मुक्त गर्नुपर्ने दायित्व सरकारसँग रहेको जानकारी दिए । ‘हामीले नै अर्थतन्त्र चलायमान र गतिशिल बनाउने हो । हरेक नागरिकलाई सुखी र समृद्ध जीवनको प्रत्याभुति गर्ने हो भन्ने अठोटका साथमा सरकार क्रियाशिल छ,’ उनले भने । उपप्रधानमन्त्री पौडेलले राजश्व संकलनमा सहयोगी भुमिका निर्वाह गर्न निजी क्षेत्रलाई आग्रह गरे । राजश्व चुहावट, अनियमितताका प्रवृत्तिहरुलाई निरुत्साहीत गर्न, वैधानिक प्रणालीभित्र आफ्ना कारोबार सञ्चालन गर्न निजी क्षेत्रका छाता संगठनले आफ्ना सदस्यहरुलाई निर्देशित गर्न आग्रह गरे ।
वीरगञ्ज नाकाबाट ६ महिनामा निर्यात बढ्यो, १४ अर्ब ७१ करोड वृद्धि
वीरगञ्ज । वीरगञ्ज भन्सार नाकाबाट चालु आर्थिक वर्षको छ महिनामा २९ अर्ब २७ करोड ८२ लाख चार हजार मूल्य बराबरका वस्तु तथा सामान विदेशी मुलुकमा निर्यात भएको छ । आव २०८०/८१ को छ महिनाको तुलनामा चालु आवको सोही अवधिमा निर्यात शतप्रतिशत अर्थात् १४ अर्ब ७१ करोड रुपैयाँ रकमले निर्यात वृद्धि भएको वीरगञ्ज भन्सार कार्यालयले जनाएको छ । वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी अमित तिवारीले चालु आवको छ महिनाको अवधिमा प्रशोधित भटमास र सूर्यमुखी तेल छिमेकीमुलुक भारत बढेकाले समग्रमा निर्यात बढेको बताए । ‘गत आवको तुलनामा चालु आर्थिक वर्षमा समग्रमा प्रशोधित भटमास र सूर्यमुखीको तेल निर्यात बढेको छ,’ उनले भने ,‘अन्य कपडाजन्य सामग्री पनि बढेकाले निर्यात झण्डै दोब्बर भएको हो ।’ गत आवको छ महिनामा यो नाका हुँदै १४ अर्ब ५६ करोड ७१ लख ८५ हजार मूल्य बराबरका वस्तु तथा सामान विदेशमा निर्यात भएको थियो । कार्यालयले चालु आवको छ महिनामा वस्तु तथा सामान निर्यात गरेवापत १७ करोड ६६ लाख ६३ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको थियो । गत आवको सोही अवधिमा निर्यात गरेवापत भने १० करोड तीन लाख ८१ हजार राजस्व सङ्कलन गरेको थियो । वीरगञ्ज नाका हुँदै विशेषगरी भटमासको तेल प्रशोधित, सूर्यमुखीको प्रशोधित तेल, सेन्थेटिक यार्न, पशु आहाराको कच्चा पदार्थ, विभिन्न किसिमका कपडा, सिन्थेटिक कपडालगायत छन् । वीरगञ्ज नाका हुँदै चालु आवको छ महिनामा दुई खर्ब ७७ अर्ब १५ करोड ५७ लाख १६ हजार मूल्य पर्ने वस्तु तथा सामान आयात भएको थियो । त्यसैगरी, गत आवको छ महिनाकै अवधिमा भने दुई खर्ब ६० अर्ब ३६ करोड ६१ लख ६६ हजार रुपैयाँ मूल्य पर्ने वस्तु तथा सामान आयात भएको थियो । गत आवको तुलनामा चालु आवको सोही अवधिमा आयात पनि छ दशमलव ४५ प्रतिशतले बढेको छ । रासस
एकैदिन ४० अर्ब तरलता खिच्दै राष्ट्र बैंक, ब्याजदर बोलकबोलबाट तय हुने
काठमाडौं । नेपाल राष्ट्र बैंकले बजारमा तरलता थुप्रिएसँगै थप ४० अर्ब रुपैयाँ खिच्न लागेको छ । निक्षेप संकलन उपकरण बोलकबोल मार्फत आइतबार ४० अर्ब तरलता खिच्न लागिएको केन्द्रीय बैंकले जनाएको छ । अधिक तरलता व्यवस्थापन गर्न केन्द्रीय बैंकले निक्षेप संकलन उपकरणको प्रयोग गर्दै बैंकिङ प्रणालीबाट आज फेरि पैसा खिच्न लागेको हो । यसका लागि आज दिउँसो २ बजे बोलकबोल हुने राष्ट्र बैंकले जनाएको छ । निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सक्नेछन् । निक्षेप संकलनको बोलकबोल ब्याजदरमा गर्नुपर्नेछ भने बहुब्याजदरमा पनि बहुबोलकबोल गर्न सकिने राष्ट्र बैंकले जनाएको छ । निक्षेप संकलन उपकरणको बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउनेछन् । यो २१ दिने निक्षेप संकलन उपकरणको फागुन ४ गते साँवा तथा ब्याज भुक्तानी गरिने राष्ट्र बैंकले जनाएको छ ।
पाथीभरा केवलकार निर्माणको विषयमा प्रहरी र आन्दोलनकारीबीच झडप, ४ घाइते
फुङ्लिङ । पाथीभरा क्षेत्रमा शनिबार प्रहरी र केवलकार निर्माणको विरोध गरिरहेका आन्दोलनकारीबीच झडप हुँदा चार जना घाइते भएका छन् । काफ्लेपाटीभन्दा माथि रहेको बलुडाँडामा झडप भएको हो । प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माका अनुसार झडपमा सशस्त्र प्रहरीका तीन जना घाइते भएका छन् । आन्दोलनकारीतर्फ दुई व्यक्ति घाइते भएको बताइएको छ । आन्दोलनकारीले प्रहरीलाई ढुङ्गा हानेपछि स्थिति तनाबपूर्ण बनेको थियो । प्रहरीले आन्दोलनकारीबाट तीन खुकुरी, गुलेली र अन्य सामान बरामद गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । सशस्त्र प्रहरी नायब उपरीक्षक नरेश महर्जनका अनुसार आन्दोलनकारीसँग लुकाइएको हतियार रहेको सूचना पाएपछि खोजतलास गर्ने क्रममा विभिन्न सामान बरामद गरिएको हो । हिमालयन कन्सट्रक्सनले १५ महिनाभित्र निर्माण सम्पन्न गर्ने गरी केवलकार निर्माण योजना अघि बढाएको हो । गत मङ्गलबारदेखि जमिन सम्याउने काम सुरु भएको हो । अहिले अवस्था सामान्य रहेको प्रशासन कार्यालयले जनाएको छ । रासस
म्याग्दीमा ३३ करोड ४६ लाखको सुन्तला बिक्री
म्याग्दी । म्याग्दीमा यस वर्ष सुन्तलाको उत्पादन बृद्धि हुँदा किसानले राम्रो आम्दानी गरेका छन् । कृषि ज्ञान केन्द्रका प्रमुख सञ्जीव बास्तोलाका अनुसार सुन्तला पकेट क्षेत्रबाट बिक्री भएको सुन्तलाको विवरणअनुसार जिल्लामा रु ३३ करोड ४६ लाखको सुन्तला बिक्री भसकेको छ । उनका अनुसार, कार्यालयले क्रप कटिङ विधिबाट सुन्तला उत्पादनको अध्ययन गरेको थियो । यस वर्ष जिल्लाका छवटै स्थानीय तहमा चार हजार ७८१ मेट्रिक टन सुन्तला उत्पादन भएको छ । गत वर्ष तीन हजार ६ सय मेट्रिक टन सुन्तला उत्पादन भएको थियोभने सुन्तला बिक्रीबाट रु २४ करोड भित्रिएको थियो । जिल्लामा आठ सय २० हेक्टर जमिनमा सुन्तलाखेती हुँदै आएकामा चार सय २५ हेक्टर जमिनको सुन्तलाका बोटले मात्रै फल दिने गर्छ । बेनी नगरपालिका–३ र ४ नम्बर वडाबाट मात्र रु छ करोड बढीको सुन्तला बिक्री भएको केन्द्रले जनाएको छ । जिल्लाका अधिकांश ठाउँका सुन्तला बोटबाटै बिक्री भइसकेको छ । अहिले बेनी नगरपालिकाको मरेक, अन्नपूर्ण गाउँपालिकाको दोसल्लेलगायत ठाउँमा धमाधम सुन्तला टिप्ने काम भइरहेको छ । किसानको बगैँचाबाट प्रतिकिलो ६० देखि एक सय २० मूल्यमा व्यापारीले सुन्तला खरिद गरेका छन् । दोसल्ले व्यावसायिक सुन्तलाजात कृषक समूहका अध्यक्ष प्रेम पाइजाले गाउँमा उत्पादन भएको सुन्तला धमाधम बिक्री भइरहेको र उत्पादन बढेकाले किसान उत्साहित बनेको बताए । जिल्लामा उत्पादन भएको सुन्तला सदरमुकाम बेनीका साथै राजधानी काठमाडौँ, पोखरा, बुटवल, भैरवा, नारायणगढलगायत बजारमा निकासी हुँदै आएको छ । रासस
टीभीएस मोटरद्वारा राष्ट्रिय स्तरको स्किल फेस्टको आयोजना
काठमाडौं । टीभीएस मोटर कम्पनीद्वारा काठमाडौंमा आयोजित राष्ट्रिय स्तरको सिप प्रतियोगितामा, जेएमपीएल नेपालको प्रतिनिधित्व गर्दै ३० उत्कृष्ट टेक्नीसियनहरूले सहभागिता जनाएका छन् । प्रतियोगितामा सहभागी ३० जना प्रतिभाशाली टेक्निसियन नेपालभरबाट छानिएका उत्कृष्ट हुन् । तिनले प्रतियोगितामा टीभीएस मोटर्सले आफ्ना टेक्नीसियनहरूको क्षमता बृद्धि गर्दै अटोमोटिभ उद्योगमा आफ्नो नेतृत्वलाई थप बलियो बनाउने प्रतिबद्धताको प्रतिनीधित्व गर्दै मोटरसाइकल प्रविधिको क्षेत्रमा आफ्नो सीप र ज्ञानको बेजोड प्रदर्शनी गरेका छन् । यी शीर्ष ३० टेक्नीसियनहरू मध्य बाट पनि उत्कृष्ट ५को छनोट गरिने र तिनले भारतको बेंगलोरमा टीभीएस मोटर कम्पनीद्वारा आयोजित हुने एसिया स्तरको सीप प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्ने कम्पनीले जनाएको छ । विश्वव्यापी स्तरमै दुईपांग्रे सवारी साधनको क्षेत्रमा अग्रणी कम्पनीका रुपमा परिचित टीभीएस मोटर्सले यो टेक्नीसियन भेटघाट विभिन्न देशका उत्कृष्ट टेक्नीसियनहरूलाई एकै मञ्चमा उभ्याउने उद्देश्यका साथ आयोजना गरेको हो । यो कार्यक्रम ज्ञान आदानप्रदान गर्न, नवीनतम प्राविधिक नवप्रवर्तनहरू उजागर गर्न र मोटरसाइकल उद्योगमा सेवा स्तरलाई नयाँ उचाइमा पुर्याउन लक्षित रहेको छ । प्रतियोगितामा सहभागिताका लागि टीभीएस सवारी साधनहरूको मर्मत तथा सेवा प्रवाहमा अद्वितीय दक्षता देखाएका र उत्कृष्ट प्रदर्शन गर्ने टेक्नीसियनहरूको चयन गरिएको छ ।प्रतियोगितामा जटिल डायग्नोस्टिक र मर्मत चुनौतीहरूको श्रृंखलाले टेक्नीसियनहरूको समस्या समाधान गर्ने क्षमता, टीभीएस मोटरसाइकलको उन्नत प्रविधिहरूको ज्ञान, र ग्राहक सेवा सीपहरूको परीक्षा लिइएको कम्पनीले जनाएको छ ।
बसाइँसराइले रित्तिन लागेको गाउँमा डेढ करोड लगानीमा कागती खेती
बागलुङ । बसाइँसराइका कारण रित्तिँदै गएको गाउँमा बागलुङ नगरपालिका-१४ बलेवाका किसानले व्यावसायिक कागतीखेती गर्न थालेका छन् । किसानले समूह बनाएर साढे दुई सय रोपनी जग्गा भाडामा लिएर कागतीखेती सुरु गरेका हुन् । बलेवाका ५२ किसानले झाडीले ढाकिएको खेतीयोग्य जमिन सदुपयोग गरी कागती लगाएका छन् । विसं २०७७ देखि ‘चासो कृषक समूह’ले सुरु गरेको कागतीखेती फस्टाउन थालेको छ । कागतीखेती गर्न एक करोड ५० लाखभन्दा बढी लगानी भएको समूहका अध्यक्ष केशव सुवेदीले जानकारी दिए । गत वर्षदेखि नै कागती उत्पादन हुन थालेको उनको भनाइ छ । यस वर्ष झण्डै पाँच लाखको बिक्री गरेको अध्यक्ष सुवेदीले बताए । कागतीखेतीका लागि कृषि ज्ञान केन्द्रले ६ लाख र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले १५ लाख अनुदान दिएको थियो । किसानले झण्डै एक करोड ३० लाख लगानी गरेको अध्यक्ष सुवेदीले जानकारी दिए । गाउँका नागरिक सेवा र सुविधाको खोजीमा बजार झर्न थालेपछि खेतीयोग्य जमिनको सदुपयोगका लागि कागतीखेती सुरु गरेको उनको भनाइ छ ।अध्यक्ष सुवेदीका अनुसार हाल कागती बगानमा चार हजार बिरुवा हुर्किरहेका छन् । गाउँमा बाँदर आतङ्क बढ्दा अरु खेती गर्न छाडेर कागती खेती गरिएको हो । कागतीखेती गरेपछि बाँदर आतङ्क केही कम भएको छ । बर्सेनि उत्पादन बढ्दै जाने र आम्दानी पनि बढ्ने छ । यस वर्ष रु पाँच लाखको कागती बागलुङ, कुश्मालगायत बजारमा बिक्री भएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना बागलुङका प्रमुख नारायण पौडेलले दुई वर्षदेखि उक्त कृषक समूहलाई प्राविधिक सहयोग र आर्थिक अनुदान दिँदै आएको बताए । विसं २०७९ मा चक्लाबन्दीका लागि १० लाख र गत वर्ष कागती ग्रेडिङ तथा भण्डारणका लागि पाँच लाख सहयोग गरेको उनले जानकारी दिए । प्रमुख पौडेलले भने, ‘अन्य किसानका लागि पनि यो अध्ययन केन्द्र बन्न सक्छ, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले दुई वर्षदेखि निरन्तर सहयोग गर्दै आएको छ । विषादी र अन्य प्राविधिक सहयोग गरेका छौं, बोटले विस्तारै फल दिन थालेपछि किसान पनि उत्साहित छन् । रासस
कर्मचारीहरूले ३ महिनामा पासवर्ड परिवर्तन गर्नुपर्ने, यस्तो छ साइबर सुरक्षासम्बन्धी एडभाइजरी
काठमाडौँ । कर्मचारीहरूले ३/३ महिनामा पासवर्ड परिवर्तन गर्नुपर्ने भएको छ । सञ्चार मन्त्रालय मातहत रहेको राष्ट्रिय साइबर सुरक्षा केन्द्रले कर्मचारीहरूका लागि साइबर सुरक्षासम्बन्धी एडभाइजरी जारी गर्दै यस्तो बताएको हो । पासवर्ड राख्दा सहजै अनुमान गर्न नसकिने गरी सुरक्षित राख्ने र ३÷३ महिनामा परिवर्तन गर्ने गरी प्रणालीमा व्यवस्था गर्न सुझाव दिएको हो । वेबसाइटहरू ह्याक हुने तथा डाटा चोरी हुने जस्ता समस्याबाट बच्ने उद्देश्यका साथ केन्द्रले एडभाइजरी सरकारी सूचना प्रविधि प्रणालीको प्रयोगकर्ताका लागि जारी गरेको हो । पछिल्लो समय सरकारी वेवसाइटहरूमा अनाधिकृत रुपमा प्रवेश गर्ने गरेका घटना बाहिरिने गरेका छन् । जसले गर्दा सरकारको सुरक्षा प्रणाली कमजोर रहेको भनेर आलोचना समेत हुँदै आएको छ । सरकारी कार्यालयको वेबसाइट, एप्लिकेसन, सर्भर, स्टोरेज तथा नेटवर्ककको सुरक्षा, कार्यालयमा रहेका डेस्कटप तथा ल्यापटप र प्रिन्टर सुरक्षा, पासवर्ड व्यवस्थापन तथा सुरक्षा, इन्टरनेट ब्राउजिङ सुरक्षा, इमेल तथा फिजिङ अट्याक, रिमुबेल मिडिया, मोबाइल सुरक्षा र सामाजिक सञ्जाल सुरक्षा सम्बन्धी एडभाइजरी दिएको छ । [pdf id=536319]