विकासन्युज

निजी मेडिकल कलेजका आवासीय चिकित्सकले निर्वाह भत्ता पाउने

काठमाडौं । निजी मेडिकल कलेजमा स्नातकोत्तर तहमा अध्ययनरत आवासीय चिकित्सकहरूलाई सरकारले अब निर्वाह भत्ता उपलब्ध गराउने भएको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराई र स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले संयुक्त हस्ताक्षर गरी उक्त निर्णय सोमबार राती सार्वजनिक गरेका हुन् । | उनीहरुले आवासीय चिकित्सकलाई निर्वाह भत्ता उपलब्ध गराउने निर्णय गर्दै सम्बन्धित निकायलाई लेखी पठाउने निर्णय गरेका छन् । जसअनुसार निजी मेडिकल कलेजमा अध्ययन गर्ने स्नातकोत्तर तहका आवासीय चिकित्सकलाई पहिलो वर्ष कम्तीमा २५ हजार रुपैयाँ, दोस्रो वर्ष कम्तीमा ३० हजार रुपैयाँ र तेस्रो वर्ष कम्तीमा ३५ हजार रुपैयाँका दरले निर्वाह भत्ता उपलब्ध गराउने निर्णय गरेका छन् । यो व्यवस्था शैक्षिक सत्र २०८१र८२ देखि लागू हुने उल्लेख छ । प्रधानमन्त्री एवं चिकित्सा शिक्षा आयोगका अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा २०८१ मङ्सिर ९ गते बसेको चिकित्सा शिक्षा आयोगको पन्ध्रौँ बैठकले निजी लगानीका मेडिकल कलेजले प्रदान गर्ने निर्वाह भत्तासम्बन्धी समस्या समाधान गर्ने जिम्मेवारी शिक्षा र स्वास्थ्यमन्त्रीलाई दिएका थिए । सोही अनुसार विभिन्न सरोकारवालासँग पटक पटक भएको छलफलका आधारमा निर्णय गरिएको मन्त्रीद्वयले सार्वजनिक गरेको निर्णयमा भनिएको छ । निजी मेडिकल कलेजहरूले स्नातकोत्तर तहमा अध्ययन गर्ने आवासीय चिकित्सकलाई विश्वविद्यालय, नेपाल मेडिकल काउन्सिल एवम् प्रचलित श्रमसम्बन्धी कानुनबमोजिम मर्यादित सेवासुविधा उपलब्ध गराउनुपर्ने मन्त्रीद्वयद्वारा हस्ताक्षरित निर्णयमा उल्लेख छ ।

आवासीय चिकित्सकको निर्वाह भत्ताबारे शिक्षा र स्वास्थ्यमन्त्रीले दिए सुझाव

काठमाडौं । आवासीय चिकित्सकहरूको निर्वाह भत्ताको बारे विवाद समाधानका लागि स्वास्थ्य  र शिक्षामन्त्रीले तीन बुँदे सुझाव दिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेल र शिक्षामन्त्री विद्या भट्टराईले तीन बुँदे सुझाव दिएका हुन् । गत मंसिर ९ गते बसेको चिकित्सा शिक्षा आयोगको १५ औँ बैठकमा प्रधानमन्त्रीले केपी शर्मा ओलीले विवादलाई टुंगोमा लगाउन शिक्षा र स्वास्थ्यमन्त्रीलाई निर्देशन दिएका थिए।  सोही निर्देशन बमोजिम आयोगको सहअध्यक्ष रहेका मन्त्री पौडेल र भट्टराईले तीन बुँदे सुझाव दिएका हुन् । जसमा पहिलो बुँदामा ‘सशुल्क तर्फ निजी मेडिकल कलेजमा अध्ययन गर्ने स्नातकोत्तर तहका आवासीय चिकित्सकलाई कम्तिमा पहिलो वर्ष २५ हजार, दोस्रो बर्ष ३० हजार र तेस्रो बर्ष ३५ हजारका दरले निर्वाह भत्ता निजी मेडिकल कलेजले उपलब्ध गराउन’ भनिएको छ । यस्तै, दोस्रो बुँदामा ‘निजी मेडिकल कलेजहरूले शैक्षिक सत्र २०८१ र०८२ देखि नै स्नातकोत्तर तहमा अध्ययन गर्न आवासीय चिकित्सकहरूलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको छात्रवृत्ति निर्देशिका अनुसार निर्वाह भत्ता प्रदान गर्ने र निःशुल्क अध्ययन गर्न चाहने आवासीय चिकित्सकलाई अध्ययनपश्चात् दुई वर्ष सोही शिक्षण संस्थामा कबुलियतनामा गरी सेवा गर्ने व्यवस्था मिलाउन नेपाल सरकारले आवश्यक कानुनी प्रबन्ध गर्ने’ भनिएको छ भने तेस्रो बुँदामा ‘स्नातकोत्तर तहमा अध्ययन गर्ने आवासीय चिकित्सकलाई निजी मेडिकल कलेजले विश्वविद्यालय, नेपाल मेडिकल काउन्सिल एवम् प्रचलित श्रमसम्बन्धी कानुन बमोजिम मर्यादित सेवा सुविधा उपलब्ध गराउने’ भनिएको छ । निजी मेडिकल कलेजबाट मासिक १९ देखि २२ हजारसम्म भत्ता पाइरहेका आवासीय चिकित्सकले भने सरकारी आठौं तहका कर्मचारी सरह भत्ता पाउने पर्ने माग गर्दै आएका थिए । सरकारी अस्पतालमा काम गर्ने आवासीय चिकित्सकले भने ४८ हजार भत्ता पाउँदै आइरहेका छन् । 

नेपालले बेच्यो १८ अर्ब बढीको भटमासको तेल, ९८ करोडको पास्ता निर्यात

काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को ६ महिनामा १८ अर्ब रुपैयाँ बढीको भटमासको तेल निर्यात भएको छ । चालु आवको पौष मसान्तसम्म १८ अर्ब ९१ करोड रुपैयाँको भटमासको तेल निर्यात भएको भन्सार विभागले जनाएको छ । विभागका अनुसार नेपालबाट भटमासको तेल अस्ट्रेलिया र भारतमा निर्यात भएको छ । सबैभन्दा धेरै भारतमा निर्यात भएको छ । भारतमा १८ अर्ब ९० करोड रुपैयाँको निर्यात भएको हाे । साथै अस्ट्रेलियामा ४ लाख १९ हजार रुपैयाँको भटमासको तेल निर्यात भएको विभागको तथ्यांकमा उल्लेख छ । ९८ करोडको पास्ता निर्यात चालु आवको पौष मसान्तसम्म ९८ करोड ९९ लाख रुपैयाँ बढीको पास्ता निर्यात भएको विभागले जनाएको छ । नेपालबाट पास्ता १९ वटा देशहरूमा निर्यात भएको विभागको तथ्यांकमा उल्लेख छ । विशेषगरी जापान, भारत, अस्ट्रेलिया, मलेसिया, कतार र सिंगापुरजस्ता देशहरूमा निर्यात भएको हाे । विभागका अनुसार सबैभन्दा धेरै भारतमा ६० करोड ५६ लाख रुपैयाँ बढीको पास्ता निर्यात भएको छ । जापानमा ४ करोड २ लाख रुपैयाँको निर्यात भएको छ ।

टिकटक अधिग्रहण गर्न माइक्रोसफ्ट वार्तामा रहेको ट्रम्पको भनाइ

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार माइक्रोसफ्ट टिकटक अधिग्रहणको वार्तामा रहेको बताएका छन् । यद्यपि अमेरिकामा यस एपको भविष्य अनिश्चित रहेको छ ।  टिकटकले अमेरिकी कानूनको सामना गरिरहेको छ । अमेरिकी कानूनले कम्पनीलाई आफ्नो चिनियाँ मालिक बाइटडान्सबाट अलग गर्न वा संयुक्त राज्य अमेरिकामा प्रतिबन्धित हुन आदेश दिएको छ । सोमबार राति माइक्रोसफ्ट टिकटक अधिग्रहणको वार्तामा छ कि भनेर सोधिएको प्रश्नमा ट्रम्पले एयर फोर्स वनमा पत्रकारहरूलाई भने, ‘म हो भन्छु, टिकटकमा धेरै चासो छ, टिकटकमा ठूलो रुचि छ ।’ उनले एउटा ‘बोलकबोल युद्ध’ पनि राम्रो विकास हुने टिप्पणी गरे । चिनियाँ सरकारले अमेरिकीहरूको जासुसी गर्न वा अमेरिकी जनमतलाई गोप्य रूपमा प्रभाव पार्न सक्ने चिन्ताका कारण भिडियो–सेयरिङ प्लेटफर्ममाथि प्रतिबन्ध लगाउने कानून जनवरी १९ देखि लागु भएको थियो । तर ट्रम्पले बेइजिङसँग समाधान खोज्दै यसको कार्यान्वयन अढाई महिनाका लागि स्थगित गरेका छन् । सिएफआरए रिसर्चका एन्जेलो जिनोका अनुसार माइक्रोसफ्ट सम्भावित खरिदकर्ताहरू मध्ये एक हो जसको टिकटकमा लगानी गर्ने कारण हुनेछ । माइक्रोसफ्टको ‘डिजिटल विज्ञापन क्षेत्रमा अझ बढी स्थापित हुने इच्छा रहेको’ उनी विश्वास गछृन् । कानूनको म्याद नजिकिँदै गर्दा टिकटक संयुक्त राज्य अमेरिकामा अस्थायी रूपमा बन्द भएको थियो । त्यसपछि ट्रम्पले पद सम्हाल्ने बित्तिकै ‘सम्झौता गर्न’ समय दिन प्रतिबन्धलाई विलम्ब गर्न कार्यकारी आदेश जारी गर्ने वाचा गरे । त्यसपछि ट्रम्पलाई श्रेय दिँदै टिकटकले देशमा सेवा पुनस्र्थापित गर्यो । यद्यपि बाहिरिँदै गरेको बाइडेन प्रशासनले पहिले नै कुनै प्रतिबन्ध लागू नगर्ने बताएको थियो । आफ्नो पहिलो ह्वाइट हाउस कार्यकालमा ट्रम्पले राष्ट्रिय सुरक्षाको चिन्ताका कारण संयुक्त राज्य अमेरिकामा टिकटक प्रतिबन्ध गर्ने प्रयास गरेका थिए । रासस

काठमाडौंदेखि नुवाकोटसम्म सीएफमोटो राइड सम्पन्न

काठमाडौं । सीएफमोटोको नेपालका लागि आधिकारिक वितरक रिलायन्स ग्रुप अन्तर्गतको ऋषि ट्रेड सेन्टरले काठमाडौंदेखि नुवाकोट दरबारसम्मको राइड सम्पन्न गरेको छ । गत शनिबार नक्सालस्थित शोरुमबाट प्रारम्भ भएको सो राइडमा नयाँ तथा पुराना बाइक सहितका २० राइडर सहभागी थिए । सो अवसरमा सीएफमोटो ब्रान्डका एनके २५०, एसआर २५०, एनके ४५० तथा ४५० एमटी बाइकहरूको सहभागिता रहेको थियो । हाल डे आउट राइड सबै सेगमेन्टका ग्राहकहरूको चासो तथा चाहना रहेको तथ्यलाई मध्यनजर गरी कम्पनीले सो राइड कार्यक्रम सञ्चालन गरेको बताइएको छ । राइडमा सहभागी सबै राइडरहरूलाई सीएफमोटोको राइडिङ ज्याकेट तथा मायाको चिनो प्रदान गरिएको थियो । उक्त राइडमा राइडरहरुलाई विभिन्न गेममा सहभागी गराई पहिलो तथा दोस्रो विजेतालाई कम्पनीबाट विशेष प्रिभिलेज कार्ड उपहार स्वरूप प्रदान गरिएको थियो । कम्पनीका अनुसार योभन्दा पहिले अघिल्लो शनिबार अर्थात माघ ५ मा आयोजना भएको सीएफमोटो मिट एन्ड ग्रिट कार्यक्रममा समेत उल्लेख्य मात्रामा सीएफमोटो बाइकधनीहरुको सहभागिता रहेको थियो । सोही कार्यक्रममार्फत घोषणा भए बमोजिम कम्पनीले हाल उक्त राइडको आयोजना गरेको जानकारी दिएको छ । कम्पनीले आफ्ना राइडरहरुलाई यस्ता कार्यक्रमहरू समय समयमा आयोजना गरी थप उत्साह कायम राख्दै ग्राहकहरुलाई उच्चतम क्षमताका नयाँ नयाँ बाइकहरू उपलब्ध गराउँदै जाने र सहज तथा ग्राहकमुखी सर्भिस तथा पाट्र्सको पूर्ण सन्तुष्टि दिने प्रतिबद्धता समेत जनाएको छ ।

२०२५ मा ईभी कारको बिक्री २ करोड नाघ्ने

काठमाडौं । सन् २०२५ मा विद्युतीय सवारीसाधन (ईभी) को बिक्री २ करोड नाघ्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । अनुसन्धान फर्म आरएचओ मोसनले मंगलबार यस्तो भविष्यवाणी गरेको समाचार एजेन्सी रोयटर्सले जनाएको छ । पूर्णतया इलेक्ट्रिक र प्लग–इन हाइब्रिड गाडीहरूको विश्वव्यापी बिक्री यस वर्ष कम्तीमा १७ प्रतिशतले वृद्धि भएर २ करोड नाघ्ने मोसनले जनाएको हो । विश्वको दोस्रो ठूलो इभी बजार युरोप सीओ टु उत्सर्जन लक्ष्य लागू हुन थालेपछि र सस्ता मोडलहरू उपलब्ध भएपछि फेरि बिक्री वृद्धिमा फर्किने अनुमान गरिएको छ । तर, यो वृद्धि २०२३ भन्दा ढिलो गतिमा हुने अनुसन्धान प्रमुख आयोला ह्यूजेसले जानकारी दिइन् । कार निर्माताहरू २०२५ लाई एक परिवर्तनकारी वर्षको रूपमा हेर्दैछन् । यस वर्ष युरोपले ईभी अपनत्व बढाउन नयाँ लक्ष्य ल्याउनेछ र चीनले सब्सिडी विस्तार गर्नेछ । यता, अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनअन्तर्गत विद्युतीकरण लक्ष्यहरू घटाउनेतर्फ अग्रसर छ । चीनको इभी बजारको प्रभुत्व चीनमा ईभी बिक्री २०२५ मा १७ प्रतिशत वृद्धिको अघिल्लो पूर्वानुमानभन्दा बढी हुने सम्भावना छ । सब्सिडी विस्तारले चीनको बजार प्रभुत्वलाई अझै बलियो बनाउने जनाइएको छ । २०२४ मा ईभी बिक्री रेकर्ड ४० प्रतिशतले वृद्धि भएर १.१ करोड पुगेको थियो । अन्य बजारहरूको स्थिति चिनियाँ निर्मित ईभीहरूले लाटिन अमेरिकामा यी गाडीहरूले ८० प्रतिशत बजार हिस्सा कब्जा गरेका थिए । यसले एशिया–प्रशान्त क्षेत्र र उदीयमान बजारहरूमा पनि वृद्धि जारी राख्नेछ । युरोपका लागि फर्मले गत वर्ष बिक्री भएको ३० लाख ईभी गाडीहरूको तुलनामा १५ प्रतिशत वृद्धिको पूर्वानुमान गरेको छ । जोखिम र लक्ष्यहरू कार निर्माताहरूले ईयू उत्सर्जन लक्ष्यहरू पूरा नगर्दा १० अर्ब युरो (१०.५१ अर्ब डलर) को जरिवाना तिर्नुपर्ने जोखिम बेहोरिरहेका छन् । यद्यपि ईभी निर्माता कम्पनीहरूसँग क्रेडिट किनेर पूल बनाएर यसलाई केही हदसम्म कम गर्न सकिन्छ । यो अघिल्लो १५ अर्ब युरोको अनुमानको तुलनामा कम हो, जसले उद्योगका विकास र नयाँ उत्सर्जन पूललाई ध्यानमा राखेको थिएन । अमेरिकी बजारको स्थिति आरएचओ मोसनले २०२५ मा अमेरिका इभी बिक्री १६ प्रतिशतले वृद्धि हुने अपेक्षा गरेको छ, तर ट्रम्पको नीतिगत परिवर्तनले सीमित प्रभाव पर्नेछ । यसले दीर्घकालीन असर गर्ने सम्भावना छ, जसमा २०४० सम्ममा ईभी ब्याट्रीको माग ४७ प्रतिशतले घट्नसक्छ ‘अमेरिकी बजारमा गत वर्ष केही अनिश्चितताहरू देखिएको छ जसले बजारलाई असर गरेको छ । त्यसैले त्यहाँ ईभीको अनुमान घटेको छ,’ आयोला ह्यूजेसले बताइन् । ‘तर, विद्युतीय गाडीहरूको तर्फको परिवर्तन अझै जारी छ । र, आगामी दशकमा पनि यसमा वृद्धि देख्न पाउनेछौं,’ उनले थपिन् । सान्दर्भिक सामग्री : निसान-होन्डा मर्जरमा मित्सुबिशी सहभागी नहुने बीवाईडीको इन्डोनेसिया प्लान्ट यस वर्षको अन्त्यमा सम्पन्न हुने, बर्सेनि डेढ लाख ईभी उत्पादन हुने अटो उद्योगको निद्रा बिथोल्ने बीवाईडी, जसको रोकिने नामोनिशान छैन चीनमा इभीको वर्चश्व बढ्दै, अरू विदेशी कम्पनी टिक्न सकस

सूर्यविनायक नगरपालिकाको आफ्नै भवनबाट सेवा प्रवाह सुरु, २० करोडमा निर्माण

भक्तपुर । सूर्यविनायक नगरपालिकाले मंगलबारदेखि आफ्नै नयाँ भवनबाट प्रशासनिक सेवा सुरु गरेको छ । यसअघि नगरपालिकाले टङ्कप्रसाद आचार्य प्रतिष्ठानको भाडाको घरबाट प्रशासनिक कार्यालय सञ्चालन गर्दै आएको थियो । मंगलबारदेखि आफ्नै भवनबाट सेवा सुरु गरेको नगरपालिकाका प्रवक्ता एवं वडा नं ७ का वडाध्यक्ष रवीन्द्र सापकोटाले जानकारी दिए । उनले भने, ‘नगर प्रमुख, उपप्रमुखको कार्यकक्ष र अन्य महत्वपूर्ण शाखाहरु नयाँ भवनमा सारेर सेवा सुरु भएको छ । भोलि र पर्सिको सार्वजनिक बिदामा सबै शाखाहरु सारेर नयाँ भवनबाटै सेवा सञ्चालन हुन्छ ।’ | नयाँ भवनमा ९२ वटा कार्यकक्ष, स्तनपान कक्ष, अपाङ्गमैत्री, पाँच सय सवारी साधन अट्ने दुई तल्लाको बेसमेन्ट पार्किङ, आठजना क्षमता रहेको दुईवटा लिफ्ट, तीन सयजना अट्ने सेमिनार हल, दुईवटा वैठक कक्ष, एउटा पुस्तकालय र एउटा तालिम कक्ष रहेको प्रवक्ता सापकोटाले जानकारी दिए । नगर प्रमुख वासुदेव थापाले २०७४ सालमा पहिलो पटक नगर प्रमुखको पदबहाली गर्दा दुई कोठा र दुईजना सरकारी दरबन्दीका कर्मचारी लिएर कार्यालय सञ्चालन गरेको नगरपालिकाले आज आफ्नै सुविधा सम्पन्न भवनबाट सेवा सुरु गरेको बताए । नगरपालिकाले ६ रोपनी ११ आना दुई पैसा तीन दाम क्षेत्रफलमा उक्त भवन रु २० करोड ४१ लाख ५२ हजारमा निर्माण गरेको हो । मासिक रु एक लाख २० हजार भाडा तिर्दै आएको नगरपालिकाले सङ्घीय सरकारको दुई करोड, जिल्ला समन्वय समितिको ७५ लाख र बाँकी आफ्नै लगानीबाट भवन निर्माण गरेको जनाएको छ । नगरपालिकाले आगामी ०८३ जेठ मसान्तभित्र बालमैत्री नगरपालिका घोषणा गर्ने तयारी गरेको बताए ।

राष्ट्रिय सहकारी बैंकले ‘कोर बैंकिङ सफ्टवेयर’ सञ्चालनमा ल्याउँदै, बैंकिङ कारोबार ४ दिन बन्द

काठमाडौं । राष्ट्रिय सहकारी बैंकले अत्याधुनिक प्रविधिको ‘कोर बैंकिङ्ग सफ्टवेयर’ (सिबीएस) बुधबार देखि सञ्चालनमा ल्याउने भएको छ । बैंकले मंगलबार एक सूचना जारी गर्दै नयाँ सफ्टवेयर सञ्चालनको लागि माघ १६ गते बिहान ६ बजे देखि १९ गते बेलुका ६ बजेसम्म बैंकको इन्टरनेट बैंकिङ, एसएमएस बैकिङ, रेमिट्न्यास सेवा पूर्णरुपमा बन्द रहने र माघ १८ गते निक्षेप जम्मा र चेक सटही सेवाको लागि मात्र बैंकका कार्यालयहरू खुल्ला रहने एक सूचना जारी गरी जानकारी दिएको छ । आफ्ना सदस्य सहकारी संघ संस्थालाई अत्याधुनिक, गुणस्तरीय तथा सुरक्षित बैकिङ्ग सेवा दिने उद्देश्यका साथ पुरानो सफ्टवेयरलाई प्रतिस्थापन गरि नयाँ प्रविधिको कोर बैंकिङ सफ्टवेयरको सुरुवात गर्न लागेको बैंकका प्रमुख कार्यकारी अधिकृत बद्रीकुमार गुरागाईले बताए । ‘प्रमुख कार्यकारी गुरागाईका अनुसार बैंकले निकट भविष्यमा आफ्ना सदस्य सहकारी संघ संस्थाहरुलाई आधुनिक प्रविधिको आफ्नै सफ्टवेयर प्रदान गर्ने गरी अघि बढेको छ, त्यसका लागि बैंकले लागि नेपाल सहित अन्य देशका उत्कृष्ट सफ्टवेयर कम्पनीहरूसँग छलफल भइरहेको बताए ।’ अन्तर्राष्ट्रिय स्तरमा समेत प्रयोगमा रहेको र व्यवस्थापन गर्न समेत सहज उक्त सफ्टवेयर आधुनिक बैंकिङ सेवा प्रदान गरी वेव बेसमा आधारित रहेको बैंकका प्रमुख प्रविधि अधिकृत नवीन कुमार कार्कीले जानकारी दिए । सहकारी संघ संस्थाहरूसँग मात्र कारोबार गर्दै आइरहेको राष्ट्रिय सहकारी बैंकले ६८ वटा शाखा मार्फत देशभरका १६ हजार ३६९ शेयर सदस्य सहकारी संघ संस्थाहरूसँग कारोबार गर्दै आइरहेको छ । बैंकले आधुनिक प्रविधि सेवा अन्तर्गत हाल आफ्नै ब्रान्डको ‘कोप कार्ड’ (एटिएम) इन्टरनेट बैंकिङ, एसएमएस बैकिङ, सिटिएस् सेवा र क्यु आर सेवा प्रदान गरी रहेको छ ।