विपत र व्यापारिक चार्टरमा सेनाका हेलिकोप्टर : ८ लाख बढी भाडा, ४७ वर्ष अघिदेखिको बक्यौता बाँकी
काठमाडौं । कुनै पनि आपतविपद् पर्दा होस् या रमाइलोको लागि घुम्न जानका लागि नै किन नहोस् प्रायः प्रयोग हुने भनेको हेलिकोप्टर हो । अझ बढी विपदमा प्रयोग हुने भनेको नेपाली सेनाको हेलिकोप्टर हो । नेपाली सेनासँग अहिले ८ वटा हेलिकोप्टर छन् । जसको भाडादर प्रतिघण्टाको फरकफरक छ । जसमा सबैभन्दा बढी भाडा एम.आई.१७ हेलिकोप्टरको पर्छ । यो हेलिकोप्टरको प्रतिघण्टा शुल्क ८ लाख ५७ हजार २ सय ९४ रुपैयाँ निर्धारण गरिएको छ । ‘एम.आइ.१७’ बलियो, भरपर्दो तथा बहुउद्देश्यीय हेलिकोप्टर हो । यो हेलिकोप्टर नेपाल, भारत, चीन, अमेरिका, अफ्रिका लगायतका देशमा प्रयोग बढी हुन्छ । यो हेलिकप्टरको मर्मत सम्भारका लागि सेनाले प्रतिघण्टा २ लाख ५९ हजार ९ सय २४ छुट्याउने गरेको छ भने प्रतिघण्टा उडानका लागि ९ हजार ४५ सय रुपैयाँको हवाई इन्धन लाग्ने गर्छ । नेपाली सेनासँग रहेको अर्को हेलिकोप्टर हो ए.एल.एच. । पहाडी भेगमा उद्धार तथा सैनिक आपूर्तिका लागि यो हेलिकोप्टरको प्रयोग गरिन्छ । योे हेलिकोप्टरको प्रतिघण्टा भाडादर ३ लाख ७० हजार २ सय ९२ रुपैयाँ निर्धारण गरिएको छ । जसको प्रतिघण्टाको मर्मतसम्भार खर्चमा १ लाख ४१ हजार ६६ रुपैयाँ खर्च छुट्याइन्छ भने प्रतिउडान ५० हजार ४ सय रुपैयाँ इन्धन खर्च लाग्छ । यस्तै, अगष्टा हेलिकोप्टरको प्रतिघण्टा ४ लाख ३८ हजार ४ सय ५४ रुपैयाँ भाडा लाग्छ । यो हेलिकोप्टरको मर्मत सम्भारमा १ लाख ५१ हजार ४७ रुपैयाँ खर्च लाग्छ भने इन्धनमा प्रतिघण्टा ६३ हजार खर्च हुन्छ । नागरिक उड्यन प्राधिकरणलाई हेलिकोप्टरले प्रति उडान १ हजार १ सय रुपैयाँ शुल्क भुक्तानी गर्नुपर्ने व्यवस्था । यी सबै खर्च काट्दा यो हेलिकोप्टरको पनि ४ लाख ३८ हजार बढी भाडा पर्न जान्छ । ईक्युरेलको प्रतिघण्टा उडान भाडा २ लाख ३५ हजार ९ सय ८३ रुपैयाँ निर्धारण गरिएको छ । यो हेलिकोप्टरको प्रतिडान मर्मत सम्भार गर्न ७४ हजार ८ सय ७० खर्च लाग्छ भने प्रति उडानमा २० हजार ७ सय ९० हवाइ इन्धन लाग्ने गर्छ । बेल हेलिकोप्टरको प्रतिघण्टा उडान शुल्क २ लाख २९ हजार ५ सय २७ निर्धारण गरिएको छ । जसको प्रतिउडान मर्मत सम्भारका लागि ७० हजार ९ सय ५० रुपैयाँ लाग्छ भने प्रतिघण्टाको उडानमा २१ हजार ५ सय ४६ इन्धन खर्च लाग्छ । नेपाली सेनासँग रहेको अर्को हेलिकोप्टर हो- स्काईट्रक जसको प्रतिघण्टा शुल्क ३ लाख ४६ हजार ५ सय १ रुपैयाँ भाडादर निर्धारण गरिएको छ । प्रतिघण्टा उडान गरेबापत् यस हेलिकोप्टरको मर्मत सम्भारका लागि ६० हजार ४ सय ७५ रुपैयाँ लाग्छ भने प्रतिघण्टा उडानमा ६० हजार ४ सय ८० बराबरको इन्धन खर्च लाग्छ । यस्तै, ट्रेनर जहाजको प्रतिघण्टा ९८ हजार ६ सय १८ रुपैयाँ भाडा लाग्छ । जसको प्रतिउडान मर्मतका लागि २ हजार ३ सय २३ रुपैयाँ खर्च लाग्छ भने १० हजार ७ सय १० रुपैयाँको इन्धन लाग्ने गरेको छ । नेपाली सेनासँग रहेको अर्को हेलिकोप्टर हो- कासा २३५ । जसको प्रतिघण्टा उडान शुल्क ७ लाख ३४ हजार ४३ निर्धारण गरिएको छ । यो हेलिकोप्टरका लागि प्रतिघण्टा उडान गरेपछि मर्मतमा ९४ हजार ९ सय २३ रुपैयाँ लाग्छ भने ७५ हजार ६ सय रुपैयाँको इन्धन लाग्छ । नेपाली सेनाका हवाइ सेवा प्रमुख आशिष नरसिंह राणाका अनुसार देशमा कुनै प्राकृतिक विपत् तथा कुनै समस्या तथा मनोरञ्जनका लागि पनि मानिसले सेनाको हेलिकोप्टर चार्टर गर्दै आएका छन् नेपाली सैनिक विमान चार्टर विकास समितिले चार्टर गरेबापतकाे आयव्ययको हिसाब राख्दै आएको छ । समितिको गत आवको मौज्दातसमेत यो वर्ष ६७ करोड १९ लाख ३१ हजार आम्दानी रहेकोमा २९ करोड ३ लाख ४६ हजार रुपैयाँ खर्च भई ३८ करोड १५ लाख ८५ हजार रुपैयाँ मौज्दात रहेको बताइएको छ । गत आर्थिक वर्ष २०८०/८१ मा विभिन्न ७ व्यक्ति, संस्था एवम् निकायबाट चार्टर भाडा ४९ लाख ६१ हजार रुपैयाँ र २०३४/३५ देखि २०७८/७९ सम्मको बक्यौता ७ करोड १७ लाख ३ हजार समेत गरी ७ करोड ६६ लाख ६४ हजार असुल हुन बाँकी रहेको देखिन्छ । बक्यौता रकम जरिवाना समेत गरी असुल गर्न महालेखा परीक्षक कार्यालयले निर्देशन दिएको छ ।
अमेरिकन एयरलाइन्सको विमान आकाशमा हेलिकप्टरसँग ठोक्कियो, विमानमा ६० यात्रु र ४ क्रु सदस्य
काठमाडौं । अमेरिकाको वाशिङ्टन डीसीमा अमेरिकन एयरलाइन्सको एक विमान आकाशमै हेलिकप्टरसँग ठोक्किएको छ । फेडरल एभिएसन एडमिनिस्ट्रेशन (एफएए) ले यसबारे जानकारी दिएको छ । दुर्घटनाबारे अनुसन्धान भइरहेको छ । यो दुर्घटना स्थानीय समयअनुसार राति ९ बजे रीगन वाशिङ्टन नेशनल एयरपोर्ट नजिकै भएको हो । हेलिकप्टरसँग ठोक्किएपछि विमान पोटोम्याक नदीमा खसेको बताइएको छ । रीगन एयरपोर्टले सोशल मिडिया प्लेटफर्म एक्स (पहिलाको ट्वीटर) मा लेख्दै हालका लागि सबै उडानहरू रोकिएको जानकारी दिएको छ । अमेरिकन एयरलाइन्सले पुष्टि गरेको छ कि विमानमा ६० यात्रु र ४ क्रु सदस्य सवार थिए । वाशिङ्टन डीसीको आपतकालीन उद्धार टोली घटनास्थलमा पुगेको छ । विमान हेलिकप्टरसँग ठोक्किएपछि पोटोम्याक नदीमा खसेको हो । घटनाबारे थप विवरण आउन बाँकी नै छ ।
ऊर्जा उत्पादनमा पुँजी परिचालन गर्न बङ्गलादेशका लगानीकर्तालाई आग्रह
काठमाडौं । ढाकास्थित नेपाली राजदूतावासले बुधबार साँझ ‘नेपाल र बङ्गलादेशबीचको व्यापार र लगानी सम्बन्ध’ विषयमा कार्यशाला आयोजना गरेको छ । साथै दूतावासले ऊर्जा उत्पादनमा पुँजी परिचालन गर्न बङ्गलादेशका लगानीकर्तालाई आग्रह पनि गरेको छ । त्यस अवसरमा राजदूत घनश्याम भण्डारीले नेपाल र बङ्गलादेश बीचको बढ्दो आर्थिक संलग्नताबारे चर्चा गर्दै व्यापार, ‘कनेक्टिभिटी’, ऊर्जा र पर्यटनलगायत क्षेत्रमा हासिल भएको प्रगति, नेपालबाट पहिलोपटक ४० मेगावाट जलविद्युत् बङ्गलादेश आयात, ऊर्जा सहयोगले दुई देशलाई मात्र नभई सम्पूर्ण दक्षिण एसिया क्षेत्रलाई त्यसबाट लाभ हुने बताए । राजदूत भण्डारीले बङ्गलादेश व्यापारिक नेताहरूलाई नेपालको व्यापार समुदायसँग समन्वयात्मक साझेदारी निर्माण गर्न र नेपालमा उपलब्ध लगानीका अवसरहरूको उपयोग गर्न पनि आग्रह गरेको उक्त राजदूतावासले जनाएको छ । कार्यशालाका विशेष अतिथि लगानी बोर्ड नेपालका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले नेपालको लगानी वातावरण, अवसर र प्राथमिकताका क्षेत्रबारेमा विस्तृत जानकारी दिँदै ऊर्जा, पर्यटन, कृषि, सूचना तथा सञ्चार प्रविधि, शहरी पूर्वाधार, स्वास्थ्य, खानी तथा खनिजलगायत प्राथमिकताका क्षेत्रमा लगानी गर्न बङ्गलादेशका लगानीकर्तालाई आग्रह गरे । दूतावासका अनुसार बङ्गलादेश लगानी विकास प्राधिकरणका कार्यकारी सदस्य डा. खान्डोकर अजिजुल इस्लामले बङ्गलादेशका लगानी प्राथमिकता बारे अवगत गराउँदै पारस्परिक लाभका क्षेत्रमा लगानी सम्बन्धलाई सुदृढ पार्न नेपालसँग मिलेर काम गर्ने प्रतिबद्धता व्यक्त गरे । नेशनल बैंक लिमिटेडका अध्यक्ष तथा बङ्गलादेश उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष अब्दुल अवल मिन्टुले नेपालसँगको व्यापारबारे आफ्ना दृष्टिकोण साझा गर्दै दुई देशीय आर्थिक सम्बन्धलाई सुदृढ बनाउनुपर्नेमा जोड दिए ।
ट्रेड टावरको व्यापार २३.३३ प्रतिशत बढ्यो
काठमाडौं । थापाथलीस्थित ट्रेड टावर लिमिटेडको व्यापार २३.३३ प्रतिशत बढेको छ । कम्पनीले २०२३/२४ मा ११ करोड १० लाख रुपैयाँ आम्दानी गरेको छ । जबकी अघिल्लो वर्ष २०२२/२३ कम्पनीले ९ करोड रुपैयाँ मात्रै आम्दानी गरेको थियो । यस्तै, कम्पनीले २०२१/२२ मा ८ करोड १० लाख रुपैयाँ, २०२०/२१ म ६ करोड ८० लाख रुपैयाँ, २०१९/२० मा ८ करोड ५० लाख रुपैयाँको व्यापार गरेको थियो । ट्रेड टावर भाडामा लिने र पूर्वाधार विकास गतिविधिहरूमा संलग्न छ । ट्रेड टावर अप्रिल २०११ देखि सञ्चालनमा रहेको व्यावसायिक भवन हो । साथै कम्पनीले हालै काठमाडौंको गौशालामा रहेको तीन–तारे होटल क्रिस्टल पशुपति (पूर्व ट्रेड टावर गौशाला) पनि सञ्चालनमा ल्याएको छ । अक्टोबर २०२४ सम्म कम्पनीमा ३५० भन्दा बढी संस्थापक सेयरधनीहरू रहेका छन् । साथै कम्पनीले सर्वसाधारणका लागि आईपीओ जारी गर्ने योजना बनाएको छ । शिवहरि दंगाल कम्पनीका मुख्य लगानीकर्ता हुन् भने उनी नै कम्पनीको अध्यक्ष छन् ।
सवारी कर्जामा पनि उच्च डिफल्ट, इन्भेष्टमेन्ट मेगा बैंकले बिक्रीमा राख्यो २५ वटा मोटरसाइकल
काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले विभिन्न कम्पनीका २५ वटा गाडी (सवारी) बिक्रीमा राखेको छ । बैंकले आफ्नो स्वामित्वमा देशभरिका विभिन्न शाखा कार्यालयमा रहेका २५ वटा २ पाङ्ग्रे मोटरसाइकल बिक्रीमा राखेको हो । उक्त सवारी साधन जहाँ जे जस्तो अवस्थामा छन् सोहि अवस्थामा बिक्री गरिने बैंकले जनाएको हो । उक्त सवारी साधन खरिद गर्न ईच्छुक व्यक्ति तथा कम्पनीले १५ दिनभित्र गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ बैंकको सम्बन्धित शाखा कार्यालयबाट गोप्य शिलवन्दी बोलपत्र फारम ५ सय रुपैयाँमा खरीद गर्न सकिनेछ । लिलामीका शर्तहरु बोलपत्र फारममा उल्लेख भए बमोजिम हुनेछन् ।
मुस्ताङ हेलिकप्टरलले माग्यो २ जना पाइलट
काठमाडौं । मुस्ताङ हेलिकप्टरलले २ जना पाइलट मागेको छ । मुस्ताङले एएस३५० सिरिजको हेलिकप्टर उडानका लागि पाइलट मागेको हो । इन्स्ट्रक्टर पाइलट र १ हजार २ सय घन्टाभन्दा बढी समयको उडान अनुभव चाहिने कम्पनीले जनाएको छ । मुस्ताङले दुई दशकभन्दा बढी समयदेखि सार्वजनिक र निजी क्षेत्रलाइ हेलिकप्टर सेवाहरू प्रदान गर्दै आएको छ । फ्लीटमा मध्यवर्ती, मध्यम, भारी लिफ्टिङ र जुम्ल्याहा इन्जिनहरू क्याट ए र क्लास १ प्रदर्शन समावेश छन् । मुस्ताङ क्यानडाको अग्रणी हेलिकप्टर सेवा प्रदायकहरू मध्ये एक हो ।
घट्यो अमेरिकी डलरको भाउ, यस्तो छ विदेशी मुद्राको विनिमय दर
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज अमेरिकी डलरको मूल्य एकको खरिदर १३८.१७ रुपैयाँ र बिक्रीदर १३८.७७ रुपैयाँ तोकेको छ । आज युरोपियन यूरोको एकको खरिदर १४३.७८ रुपैयाँ र बिक्रीदर १४४.४० रुपैयाँ, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १७१.६३ रुपैयाँ र बिक्रीदर १७२.३७ रुपैयाँ, स्वीस फ्रयाङ्क एकको खरिददर १५२.५१ रुपैयाँ र बिक्रीदर १५३.१७ रुपैयाँ, अष्ट्रेलियन डलर एकको खरिददर ८६.०६ रुपैयाँ र बिक्रीदर ८६.४३ रुपैयाँ तोकेको छ । यस्तै, क्यानेडियन डलर एकको खरिददर ९५.८१ रुपैयाँ र बिक्रीदर ९६.२३ रुपैयाँ, सिङ्गापुर डलर एकको खरिददर १०२.२९ रुपैयाँ र बिक्रीदर १०२.७३ रुपैयाँ, जापानी येन १० को खरिददर ८.८९ रुपैयाँ र बिक्रीदर ८.९३ रुपैयाँ र चिनियाँ युआन एकको खरिददर १९.०५ रुपैयाँ र बिक्रीदर १९.१४ रुपैयाँ तोकेको छ । राष्ट्र बैंककाअनुसार साउदी अरेबियन रियाल एकको खरिददर ३६.८४ रुपैयाँ र बिक्रीदर ३७.०० रुपैयाँ, कतारी रियाल एकको खरिददर ३७.९० रुपैयाँ र बिक्रीदर ३८.०६ रुपैयाँ, थाई भाट एकको खरिददर ४.१० रुपैयाँ र बिक्रीदर ४.११ रुपैयाँ, युएई दिराम एकको खरिददर ३७.६२ रुपैयाँ र बिक्रीदर ३७.७८ रुपैयाँ, मलेसियन रिङ्गेट एकको खरिददर ३१.४५ रुपैयाँ र बिक्रीदर ३१.५९ रुपैयाँ तोकेको छ । यस्तै, साउथ कोरियन वन एक सयको खरिदद ९.५६ रुपैयाँ र बिक्रीदर ९.६० रुपैयाँ, स्वीडिस क्रोनर एकको खरिददर १२.५५ रुपैयाँ र बिक्रीदर १२.६१ रुपैयाँ, डेनिस क्रोनर एकको खरिददर १९.२७ रुपैयाँ र बिक्रीदर १९.३५ रुपैयाँ, हङ्कङ डलर एकको खरिददर १७.७४ रुपैयाँ र बिक्रीदर १७.८१ रुपैयाँ तोकेको छ । यस्तै, कुवेती दिनार एकको खरिददर ४४७.८८ रुपैयाँ र बिक्रीदर ४४९.८२ रुपैयाँ, बहराइन दिनार एकको खरिददर ३६६.५० रुपैयाँ र बिक्रीदर ३६८.०९ रुपैयाँ, ओमानी रियाल एकको खरिददर ३५८.८८ रुपैयाँ र बिक्रीदर ३६०.४४ रुपैयाँ कायम रहेको राष्ट्र बैंकले जनाएको छ ।
उत्पादन बढेपछि अलैँची बेचेर भित्र्याए ६ करोड रुपैयाँ, प्रतिकेजी १ हजार २५० रुपैयाँ
काठमाडौं । बागलुङमा अलैँची उत्पादनमा वृद्धि भएको छ । क्षेत्र विस्तारका कारण गत वर्ष बागलुङका किसानले ४८ मेट्रिक टन अलैँची उत्पादन गर्न सफल भएका छन् । कृषि ज्ञानकेन्द्रको तथ्याङ्कअनुसार यहाँ किसानले अलैँची बिक्रीबाट एक आर्थिक वर्षमा ६ करोड रुपैयाँ भित्र्याउन सफल भएका छन् । राम्रो मूल्य पाउने आशामा प्रत्येक वर्ष अलैँचीखेती विस्तार भइरहेको जैमिनी नगरपालिका वडा नं २ का कृषक बलिभद्र सापकोटाले बताए । उनका अनुसार अन्य जिल्लाको तुलनामा बागलुङका कृषकले अलैँचीको मूल्य कम पाएका छन् । यहाँ प्रतिकेजी १ हजार २५० रुपैयाँका दरले अलैँची बिक्री भएको छ । उत्पादनबाट राम्रो आम्दानी हुने भएकाले यहाँ हरेक वर्ष किसानको आकर्षण बढिरहेको छ । अलैँचीखेतीको विस्तारले यसलाई पुष्टि गरेको छ । यहाँ आर्थिक वर्ष २०७८/७९ मा १२८ हेक्टर जमिनमा अलैँचीखेती गरिन्थ्यो । जसमा ४२ मेट्रिक टन उत्पादन भएको थियो । प्रतिकेजी ९५० रुपैयाँका दरले बेच्दा कृषकले ३ करोड ९९ रुपैयाँ लाखको कारोबार गरेका थिए । आर्थिक वर्ष २०७९/८० मा १३१ हेक्टर जमिनमा खेती विस्तार भयो तर उत्पादन भने घट्यो । त्यस वर्ष ३८ मेट्रिक टन उत्पादन भएको थियो । अलैँचीको फेद कुहिने, पात-डाँठ सुक्ने रोगको सङ्क्रमण भएपछि उत्पादन घटेको कृषक सापकोटाले बताए । चालु आर्थिक वर्षमा पनि कृषकले कात्तिक महिनामै अलैँची बेचिसकेका पनि कतिको कारोबार भयो भनेर यकिन तथ्याङ्क सङ्कलनको काम भइरहेको कृषि ज्ञान केन्द्रले जनाएको छ । बाली संरक्षण अधिकृत तथा ज्ञान केन्द्रका सूचना अधिकारी सन्तोष अधिकारीले हाल जिल्लाको १४० हेक्टर जमिनमा अलैँचीखेती विस्तार भएको र जसमध्ये ९६ हेक्टरमा लगाएको अलैँचीले उत्पादन दिन थालेको जानकारी दिए । बागलुङका १० स्थानीय तहमध्ये ८ स्थानीय तहलाई समेटेर ‘अलैँचीजोन’ निर्माण गरिएको छ । चालु आर्थिक वर्षमा जोन स्थापनाको कार्यक्रम स्वीकृत भएर कार्यान्वयन प्रारम्भ भएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाइ बागलुङका निमित्त वरिष्ठ कृषि अधिकृत नारायण पौडेलले बताए । १२ अलैँची पकेट क्षेत्र र दुईवटा अलैँची ब्लकलाई समेटेर जोन स्थापना गरिएको उनले जानकारी दिए । यहाँको ताराखोला काठेखोला, बडिगाड गाउँपालिका, बरेङ र निसीखोला गाउँपालिका तथा बागलुङ, जैमिनी र गलकोट नगरपालिकाका विभिन्न स्थानमा अलैँची उत्पादन हुँदै आएको सूचना अधिकारी पौडेलले बताए । अलैँचीखेतीको राम्रो व्यवस्थापन गर्न सके एकपटक रोपेपछि १० वर्षसम्म पनि उत्पादन दिने गरेको छ । कृषकले उत्पादन गरेको अलैँची गुणस्तर विभाजन गरेर फरक फरक मूल्यमा बिक्री गर्ने गरिएको छ ।