विकासन्युज

३ अर्ब ४ करोडको अनलाइन जुवा, २४ जना पक्राउ

काठमाडौं । ‘बेटिङ एप्लिकेसन’ मार्फत विश्वभर सञ्चालन हुने विभिन्न अवैध अनलाइन जुवा (सट्टेबाजी) लगायतमा ३ अर्ब रुपैयाँ बढी करोबारमा संलग्न २४ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा १० भारतीय र १४ नेपाली नागरिक रहेका काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी, प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिए । पक्राउ पर्ने नेपालीमा प्यूठानका टङ्कबहादुर पछाई, रवि विष्ट, लक्ष्मण विष्ट, अविनाश जिसी, हरिबहादुर जिसी, समीर खड्का, विक्रम पछाई, अशोक जिसी, सुजन जिसी र गोपाल बिष्ट, डोटीका तेज बोगटी, सुर्खेतका भीष्म वली र हेमन्त लोहनी तथा दार्चुलाका हेमन्त धामी रहेका छन् । पक्राउ पर्ने भारतीय नागरिकमा अजितकुमार, मुकेश मण्डल, मनोज कुमार, सुमित खत्री, प्रबात कुमार, ओमप्रकाश खत्री, रविप्रकाश विश्वकर्मा, रवि अभिषेक ओझा, शिवम पाण्डेय र मनोजप्रकार कुमार छन् । उनीहरुले ८ भन्दा बढी ‘बेटिङ साइट’को प्रयोग गरी भारतीय बेटिङ खेल्ने ‘एजेन्ट’हरुसँग सामाजिक सञ्जालबाट सम्पर्क गरी ‘अफ लाइन’ अवैध खेल खेलाएको पाइएको छ । यसरी हारजित भएको रकम भारतको विभिन्न बैंक खातामै जम्मा गर्ने र निकाल्ने गरी अनलाइन जुवा खेल्ने खेलाउने कार्य भइरहेको सूचनाका आधारमा पक्राउ गरिएको प्रहरी उपरीक्षक आचार्यले बताए । ललितपुरको सानेपास्थित दुई घर भाडामा लिएर व्यावसायिक तवरले अनलाइन जुवा खेल्ने र खेलाउने कार्य गरेको पाइएको छ । खोजतलासका क्रममा उनीहरुलाई शनिबार पक्राउ गरी आज सार्वजनिक गरिएको हो । लगत्तै आइतबार उनीहरुलाई थप कारबाहीका लागि जिल्ला प्रहरी परिसर ललितपुरमा बुझाइएको छ । ‘बरामद गरिएका ल्यापटप तथा मोबाइलको प्रारम्भिक अनुसन्धान गर्दा उनीहरुले ३ अर्ब ४ करोड ७३ लाख ५६ हजार रुपैयाँ बराबरको अनलाइन जुवा कारोबार गरेको देखिएको छ,’ प्रहरी उपरीक्षक आचार्यले भने । उनीहरुमाथि मुलुकी अपराधसंहिता, २०७४ को परिच्छेद–५ को दफा १२५ (जुवा खेल्न वा सट्टाबाजी गर्न नहुने र विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ बमोजिमका कसुरमा आवश्यक अनुसन्धान थालिएको छ । पक्राउ परेकाहरुका साथबाट विभिन्न मोडेलका ५७ थान मोबाइल, १३ थान ल्यापटप, ३४ थान बैंकको एटिएम कार्ड, ८८ थान सिमर्कार्ड, १२ थान चेकबुक, ८ थान भारतीय आधारकार्ड र ६ थान राहदानी बरामद गरिएको छ ।

नेको इन्स्योरेन्सले फागुन ८ गतेदेखि २५ प्रतिशत हकप्रद सेयर बिक्री गर्ने

काठमाडौं । नेको इन्स्योरेन्स कम्पनीले फागुन ८ गतेदेखि हकप्रद सेयर निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले चुक्ता पुँजी २ अर्ब १ करोड २३ लाख ६० हजार रुपैयाँको २५ प्रतिशत हकप्रद सेयर बिक्री खुला गर्ने भएको हो । कम्पनीले हाल कायम ४ कित्ता सेयर बराबर नयाँ १ कित्ता अनुपातमा हकप्रद सेयर निष्काशन गर्नेछ । कम्पनीले ५० करोड ३० लाख ९० हजार १५५ रुपैयाँको प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका ५० लाख ३० हजार ९०१.५५ कित्ता सेयर जारी गर्नेछ । हकप्रद सेयर बिक्रीपश्चात् कम्पनीको चुक्ता पुँजी २ अर्ब ५१ करोड ५४ लाख ५० हजार रुपैयाँ पुग्नेछ । हकप्रद सेयर निष्काशन प्रयोजनार्थ कम्पनीले माघ १८ गते बुकक्लोज गरेको थियो । त्यसैले माघ १५ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कारोबार भइ कायम सेयरधनीहरूले मात्र कम्पनस्को हकप्रद सेयमार आवेदन दिन पाउनेछ । कम्पनीको हकप्रदमा फागुन २८ गतेसम्म आवेदन दिन सकिने कम्पनीले जनाएको छ । कम्पनीको हकप्रद सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल रहेको छ । कम्पनीको सेयरमा बिक्री प्रबन्धकसँगै नेको इन्स्योरेन्सको केन्द्रीय कार्यालय तथा क्षेत्रिय कार्यालयबाट आवेदन दिन सकिनेछ । यस्तै, नेपाल धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त गरेका सीआस्बा सदस्य बैंक तथा वित्तीय संस्था र सिडिएस एण्ड क्लियरिङ्गले सञ्चालनमा ल्याएको मेरो सेयरमार्फत् लगानीकर्ताहरूले सेयरमा आवेदन दिन सक्नेछन् । इन्फोमेरिक्स क्रेडिट रेटिङ्ग नेपालले कम्पनीलाई आईआरएन सिंगल ए प्लस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । जसले समयमा वित्तीय दायित्व बहन गर्ने क्षमता पर्याप्त सुरक्षित रहेको संकेत गर्दछ ।  

फागुन ६ गतेदेखि सानिमा फ्लेक्सी फण्ड बिक्री खुला गर्दै सानिमा क्यापिटल

काठमाडौं । सानिमा क्यापिटलले फागुन ६ गतेदेखि सानिमा फ्लेक्सी फण्ड निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले १ अर्ब रुपैयाँको १० करोड इकाई बिक्री खुला गर्ने भएको हो । कम्पनीले पहिलो चरणमा ४० प्रतिशत अर्थात् ४० करोड रुपैयाको ४ करोड इकाई बिक्री खुल्ला गर्नेछ । जसमध्ये १ करोड ३० लाख इकाई कोष प्रबद्र्धक सानिमा बैंक, २० लाख इकाई सानिमा क्यापिटल र बाँकी २ करोड ५० लाख इकाई सर्वसाधारण लगानीकर्ताहरूका लागि बिक्री खुला गरिनेछ । सानिमा म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने सानिमा फ्लेक्सी फण्ड खुलामुखी योजना हो । लगानीकर्ताहरूले कम्पनीको फण्डमा न्यूनतम १ सयदेखि ४० लाख इकाईसम्म आवेदन दिन पाउने छन् । फण्डको इकाईमा फागुन ११ गतेसम्म आवेदन दिन सकिन्छ । यदि सो अवधिमा पूर्ण आवेदन नपरेमा फागुन २० गतेसम्म आवेदन खुला रहनेछ । फण्ड निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल रहेको छ । नेपाल धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त गरेका सीआस्बा सदस्य बैंक तथा वित्तीय संस्था र सिडिएस एण्ड क्लियरिङ्गले सञ्चालनमा ल्याएको मेरो सेयरमार्फत् लगानीकर्ताहरुले फण्डको इकाईमा आवेदन दिन सक्नेछन् । इक्रा नेपालले कोष प्रबद्र्धकलाई इक्राएनपि इस्यूअर रेटिङ्ग ए माइनस एटडरेट प्रदान गरेको छ भने योजना व्यवस्थापकलाई इक्रएनपि एएमसि क्वालिटि ३ प्लस रेटिङ्ग प्रदान गरेको छ । यसले योजना व्यवस्थापकको व्यवस्थापन गुणस्तरमा पर्याप्त विश्वास रहेको संकेत गर्दछ ।

ओम मेगाश्री फर्मास्यूटिकल्सको आईपीओ बिक्री खुला, कसले आवेदन दिन पाउँछ ?

काठमाडौं । ओम मेगाश्री फर्मास्यूटिकल्सले आज माघ २१ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि पहिलो चरणमा आईपीओ बिक्री खुला गरेको हो । कम्पनीले जारी पुँजी ६० करोड रुपैयाँको ३० प्रतिशतले हुन आउने १८ करोड रुपैयाँको १८ लाख कित्ता सेयर सर्वसाधारणलाई छुट्याएको छ । जसमध्ये १० प्रतिशतले हुन आउने १ करोड ८० लाख रुपैयाँको १ लाख ८० हजार कित्ता सेयरमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले आवेदन दिन पाउने छन् । कम्पनीले ५ प्रतिशत अर्थात् ९० हजार कित्ता सामूहिक लगानी कोष, ३ प्रतिशत अर्थात् ५४ हजार कित्ता कम्पनीका कर्मचारी र बाँकी १४ लाख ७६ हजार कित्ता सेयर सर्वसाधारण लगानीकर्ताहरूका लागि छुट्याएको छ । कम्पनीको आईपीओमा लगानीकर्ताहरूले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले फागुन ५ गतेसम्म कम्पनीको आईपीओमा आवेदन दिन पाउने छन् । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ । वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले नेपाल धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त गरेका सीआस्बा सदस्य बैंक तथा वित्तीय संस्था र सिडिएस एण्ड क्लियरिङ्गले सञ्चालनमा ल्याएको मेरो सेयरमार्फत् आईपीओमा आवेदन दिन सक्नेछन् । केयर रेटिङ्ग नेपालले कम्पनीलाई केयरएनपी डबल बी माइनस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ ।

आजको मौसम पूर्वानुमानः सुदूरपश्चिम, कर्णाली र लुम्बिनीमा आंशिक बदली

काठमाडौं । हाल देशमा मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन । देशका पहाडी तथा हिमाली भू-भागको मौसम मुख्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाद्वारा आज जारी मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ । तराईका धेरै स्थानमा हुस्सुर कुहिरो लाग्ने छ भने दिउँसोː देशभर मौसम मुख्यतया सफा रहने छ । सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेशमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने बुलेटिनमा उल्लेख छ । मधेश प्रदेश तथा कोशी प्रदेशका तराईका धेरै स्थानमा लाग्ने हुस्सु/कुहिरो मध्याह्नपछि क्रमिक रुपमा सुधार हुने र बाँकी तराईका केही स्थानमा लाग्ने हुस्सु/कुहिरो मध्याह्न सम्ममा सुधार हुने सम्भावना रहेको छ । आगामी २४ घण्टामा देशका तराई तथा उपत्यकाका केही स्थानमा बिहानको समयमा कुहिरो लाग्ने सम्भावना रहेकाले दैनिक जनजीवन, कृषि, स्वास्थ्य, यातायात तथा हवाई उडानमा असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ ।

वसन्तपञ्चमी बहुआयामिक पर्व, आज पहिलो अक्षर ‘क’ लेख्न सिकाइने

काठमाडौं । आज माघ शुक्ल पञ्चमी अर्थात् हिन्दू वैदिक परम्पराको वसन्तपञ्चमी पर्व । मधेशको प्राचीन मिथिलाक्षेत्रमा श्रीपञ्चमी पनि भनिने यस पर्वमा कैयौं परम्परा जोडिने हुँदा यो यहाँ बहुआयामिक महत्वको रुपमा रहँदै आएको छ । मिथिलामा मुख्यतः विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजन परम्परासँग जोडिएको यो पर्वमा ससाना नानीहरुलाई अक्षरारम्भ गराइने मैथिल परम्परा छ । ‘यो सरस्वती पूजनोत्सव र विद्यारम्भसँग सम्बद्ध पर्व हो,’ मैथिल लोकपरम्पराका ज्ञाता जलेश्वर–४ सुगाभवानीपट्टीका बासिन्दा ८७ वर्षीय कृष्णचन्द्र झा भन्छन्, ‘यसै परम्पराअनुसार यो पर्वका दिन ससाना नानीलाई खरीपाटी समाउन लगाउने चलन छ ।’ पहिलेको खरीपाटीको ठाउँ भने अब कापी, कलम र पेन्सिलले लिएको उनले स्पष्ट पारे । माघ शुक्लपञ्चमीका दिन अक्षरारम्भ गराइएका बालबालिकाले पढे लेखेको कुरा सहजै टिप्छन् भन्ने मान्यताले वसन्तपञ्चमी पर्व लेखपढको राम्रो मुहूर्त मानिँदै आइएको हो । अक्षराम्भ गराइने बालबालिकालाई व्यञ्जन वर्णमालाको पहिलो अक्षर ‘क’ लेख्न सिकाइन्छ । ‘क’ पूर्वीय दर्शन परम्परामा व्यञ्जन वर्णमालाको पहिलो अक्षरमात्र नभई ब्रह्मस्वरुप भएको हुँदा यसको लेखन र वाचन अभ्यासले परंब्रह्मको आराधना पनि हुने पूर्वीय दर्शन तथा मैथिल परम्पराका ज्ञाता बलवा नगरपालिका–१० धमौराका ७० वर्षीय कामेश्वर झा बताउँछन् । पर्वका दिन विद्याकी अधिष्ठात्रीदेवी सरस्वतीको पूजाअर्चना उत्सवका रुपमा मनाइने मैथिल चलन छ । मिथिलामा यो मुख्य कृषि पर्वका रुपमा पनि स्थापित छ । यस दिनलाई कृषि वर्षको प्रारम्भका रुपमा मानिने पुरानो चलन छ । यस चलनअनुसार मिथिलामा श्रीपञ्चमीकै दिन किसानले वर्षभरि कृषि कार्यका लागि श्रमिकको निधो गर्ने र उनलाई पुज्ने परम्परा छ । किसान र श्रमिकबीच कामको र पारिश्रमिकको टुङ्गो लागेपछि श्रमिकलाई घरमा डाकेर भोजन गराइ वस्त्र र दक्षिणा दिने चलन रहेको गौशाला-४ का ७० वर्षीय रामऔतार महासेठ बताउँछन् । मिथिलामा यसै दिन किसानले बाँझो खेतमा गोरु नारेर दुई/तीन फन्को भएपनि जोत्छन् । यस दिन किसानले वर्षभरि कृषि हराभरा होस् भन्ने कामना गर्छन् । श्रीपञ्चमीका दिन खेत जोतिँदा गोरु, श्रमिक र खेत तीनै कुराबाट फलिफाप हुने जनविश्वास छ । यसै दिन कृषिज्यावल (कुटो, कोदालो, बञ्चरो, हँसिया, कँचिया, खुर्पी, हलो, फाली) उध्याउने,मर्मत गर्ने र नयाँ बनाउने कामका लागि लोहार (यससम्बन्धी काम गर्ने मिथिलाको जातिविशेष) तय तमन्ना (कुरा पक्का गर्ने) परम्परा छ । श्रीपञ्चमी मिथिलामा ऋृतु परिवर्तनको पर्व समेत मानिन्छ । श्रीपञ्चमीसँगै वसन्त ऋतु सुरु हुने मान्यताले यस दिन मान्यजनबाट अबिर लगाएर आशिर्वाद लिने मैथिल परम्परा छ । यसलाई वसन्त उत्सवको प्रतीक मानिन्छ । मिथिलामा वसन्त उत्सवको परम्पराअनुसार श्रीपञ्चमीकै दिनदेखि बस्तीबस्तीमा ‘जोगिरा’ (फागुगीत) गाउन थालिन्छ । फागुन पूर्णिमाका दिन रङ् र अबिर खेलेपछि यो उत्सव समापन हुने चलन छ । यद्यपि पछिल्ला केही वर्षयता पुराना ‘जोगिरा’ गाउने ‘गवैया’ (गीत गाउने समूह) लोप हुँदै गएको छ । मिथिलामा श्रीपञ्चमीका दिन देवी सरस्वतीको मात्र नभएर शिव आराधना पनि सुखदायक मानिन्छ । यसै विश्वासले श्रीपञ्चमीका दिन शिवालयमा जल, फूल र गाईको दूध चढाउने मैथिल परम्परा छ । साउनको सोमबार र महाशिवरात्री झैं श्रीपञ्चमी पर्वमा मैथिल टाढाटाढाका शिवालयमा तीर्थाटनका लागि जाने चलन रहेको मटिहानी-७ स्थित याज्ञवल्क्य लक्ष्मीनारायण विद्यापिठ (संस्कृत क्याम्पस) का मैथिली भाषा साहित्यका उपप्राध्यापक मनोज झा मुक्ति बताउँछन् ।

पाथीभरामा केवलकार निर्माण विवाद समाधान गर्न वार्ता टोली गठन

काठमाडौं । सरकारले ताप्लेजुङको पाथीभरा (मुक्कुम्लुङ) क्षेत्रमा केवलकार निर्माणको क्रममा उत्पन्न विवाद समाधानका लागि सम्बद्ध पक्षहरूसँग वार्ता गर्न गृह मन्त्रालयका सहसचिव प्रेमप्रसाद भट्टराईको संयोजकत्वमा वार्ता टोली गठन गरेको छ । गृह मन्त्रालयले आइतबार अबेर जारी गरेको विज्ञप्तिमा वार्ता र संवादको माध्यमबाट समस्या समाधान गर्न सहसचिव भट्टराईको संयोजकत्वमा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र सहरी विकास मन्त्रालयका प्रतिनिधि समेत रहेको वार्ता टोली गठन गरिएको जनाएको छ । वार्ता टोलीले तत्काल कार्य प्रारम्भ गर्ने र आन्दोलनरत पक्षलाईसमेत आन्दोलनका कार्यक्रमहरू फिर्ता लिई संवादमार्फत् समस्या समाधानमा सहयोग गर्न गृह मन्त्रालयले अपिल गरेको सहसचिव एवम् प्रवक्ता रामचन्द्र तिवारीले जानकारी दिए । मन्त्रालयद्वारा जारी विज्ञप्तिमा गृहमन्त्री रमेश लेखकले आवश्यक पहलकदमी लिई ताप्लेजुङ र छिमेकी जिल्लाबाट प्रतिनिधित्व गर्ने प्रतिनिधिसभा सदस्यलगायतसँग नियमित संवाद तथा समस्या समाधानका लागि पहल गरेको स्पष्ट पारेको छ । सरकारको कार्यविभाजन नियमावली, २०७४ बमोजिम रज्जुमार्ग, केवलकार सम्बन्धी नीति, कानून र मापदण्डको विषय सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयसँग सम्बन्धित देखिएकाले केवलकार निर्माणको विषयमा स्थानीय रुपमा उठेका सवाल र सरोकारका विषयलाई समेत ध्यान दिँदै सबै सरोकारवालासँग समन्वय र सहजीकरण गरिएको मन्त्रालयले जनाएको छ । समस्या समाधानका लागि पहल अगाडि बढाइदिन यस मन्त्रालयबाट सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई अनुरोध गरिएको समेत मन्त्रालयले जनाएको छ । सो समस्या बहुपक्षीय सरोकार रहेको तथा शान्ति सुरक्षा व्यवस्थापन समेत गर्नुपर्ने भएकाले अन्य सरोकारवाला निकायसहितको समन्वय र सहजीकरण गृह मन्त्रालयबाटै गर्न उपयुक्त हुने व्यहोराको पत्र सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट प्राप्त भएको गृह मन्त्रालयले विज्ञप्तिमा उल्लेख छ ।

विद्याकी देवी सरस्वतीको पूजा गरेर श्रीपञ्चमी पर्व मनाइँदै, हनुमानढोकामा वसन्त श्रवणको कार्यक्रम

काठमाडौं । प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने वसन्त पञ्चमी पर्व विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा आराधनासहित वसन्त श्रवण गरेर मनाइँदै छ । यस अवसरमा आज बिहान ७ः५५ बजे नासल चोकमा वसन्त श्रवण गरी मनाइँदै छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले दिएको साइतअनुसार बिहान ७ः५५ बजे हनुमानढोकाको नासलचोकमा वसन्त श्रवणको कार्यक्रम राखिएको हो । वसन्त श्रवणमा राष्ट्रपति रामचन्द्र पौडेल सहभागी हुने हनुमानढोका दरबार हेरचाह अड्डाका प्रमुख सन्दीप खनालले जानकारी दिए । वसन्त श्रवणमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधानमन्त्रीद्वय प्रकाशमान सिंह र विष्णुप्रसाद पौडेल, मन्त्रीहरु, सांसदहरु, संवैधानिक अङ्गका प्रमुख एवं सदस्य, प्रदेशसभा सदस्यलगायतको उपस्थिति रहने उनले बताए । वसन्त श्रवणको सबै तयारी पूरा भएको कार्यालयले जनाएको छ । देशभर विद्याकी देवी सरस्वतीको पूजा आराधना गरिँदै यसैगरी प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीकै दिन मनाइने ‘श्रीपञ्चमी’ पर्व आज विद्याकी अधिष्ठात्री देवी सरस्वतीको देशभर निष्ठापूर्वक पूजा–आराधना गरी मनाइँदैछ । चन्द्रमाजस्तो गोरो वर्ण भएकी तथा हातमा वीणा र पुस्तक लिएकी विद्याकी देवी सरस्वतीलाई भक्तजनहरूले भारती, शारदा, हंसवाहिनी, जगन्माता, वागीश्वरी, कौमारी, वरदायिनी, बुद्धिदात्री, ब्रह्मचारिणी, चन्द्रघण्टा र भुवनेश्वरीजस्ता नामले पुकार्छन् । विद्या र सिर्जनाकी देवी भएकाले विशेष गरी साहित्यकार, कलाकार, पत्रकार, शिक्षक र विद्यार्थी आआफ्ना कला–साधनाका वस्तु कलम, कापी, कुची र वाद्ययन्त्रलाई सरस्वतीका रूपमा पूजा–आराधना गर्छन् । सरस्वतीलाई तान्त्रिकहरूले तन्त्र सिद्धिका लागि तारादेवीका रूपमा मान्छन् । सूर्य उत्तरतिर लागी दिन लामो हुने र वसन्त ऋतु प्रारम्भ हुने विश्वासका साथ आजको दिनलाई ‘वसन्त पञ्चमी’ पनि भनिन्छ । ऋग्वेदमा वाग्देवीका नामले प्रसिद्धि पाएकी ब्रह्माकी अर्धाङ्गिनी ब्रह्मायणीको पूजा उपासनाले सबै प्रकारको ज्ञान, सिद्धि र सद्बुद्धि प्राप्त हुने उल्लेख छ । यसैकारणले सरस्वती पूजालाई ठूलो महत्व दिइन्छ । आजका दिन सरस्वतीको पूजा गरी विद्यारम्भ गरेमा सर्वसिद्धि प्राप्त हुन्छ भन्ने विश्वास छ । आजका दिन विवाह, व्रतबन्ध, गुफा राख्ने र बेलविवाह ९इही० जस्ता सामाजिक तथा धार्मिक कार्य गर्न साइत हेर्नुपर्दैन भन्ने मान्यता छ । यस दिन बालबालिकालाई शिक्षारम्भ गराउने र नाक–कान छेड्न पनि शुभ मानिन्छ । उपत्यकाका डिल्लीबजार, स्वयम्भू, मैतीदेवी र गैरीधारास्थित नीलसरस्वती, ललितपुरको लेलेलगायत अन्य जिल्लामा रहेका सरस्वतीका मन्दिरमा आज बिहानैदेखि पूजाआजा गर्न भक्तजन, खासगरी छात्रछात्राको घुइँचो लाग्ने गर्छ । सरस्वतीलाई चढाइएको सात गेडा अक्षता निलेमा विद्या र वुद्धि स्फुरण भई विद्यादेवीबाट चेतनाको ज्योति पाइन्छ भन्ने धार्मिक विश्वास छ ।