पोखरामा राष्ट्रिय वाणिज्य बैंकको भवन उद्घाटन
काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले निराशाबाट मुलुकलाई बाहिर निकाल्न सरकारले सार्थक पहल गरिरहेको बताएको छ । राष्ट्रिय वाणिज्य बैंकको गण्डकी प्रादेशीक कार्यालय पोखरा र शाखा कार्यालय पृथ्बीचोकको नवनिर्मित भवन शनिबार उद्घाटन गर्दै अर्थमन्त्री पौडेलले यस बैंकबाट सबै सेवाग्राहीहरुलाई विश्वासनीय र सहज ढङ्गले सेवा प्राप्त हुन सकोस् भनी शुभकामना व्यक्त गरेका छन् । उनले सरकारको स्वामित्वमा रहेको वाणिज्य बैँकले प्रवाह गर्ने सेवा र दिने सुविधाहरुलाई समय सापेक्ष बनाउँदै प्रत्येक सेवाग्राहीले आफ्नोपनको महसुश गर्नेगरी कार्य गर्न बैंक व्यवस्थापनलाई निर्देशन गरे । राष्ट्रिय वाणिज्य बैंक सञ्चालक समितिका सदस्य लक्ष्मण घिमिरेको सभापतित्वमा भएको कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनालले शिथिल अर्थतन्त्रलाई चलायमान बनाउन बैंकले आधार दरमा थोरै मात्र प्रिमियम जोडेर एकल अंकमा ब्याजदर कायम गरेको बताए । उनले सस्तो ब्याजदरको फाइदा उठाउँदै व्यवसायीहरुलाई कर्जा लिएर देशको आर्थिक विकासमा योगदान गर्न आव्हान गर्न गरे । प्रतिस्प्रर्धी बजारको माग अनुसार बैंकले सेवा र सुविधाहरुलाई समय सापेक्ष बनाउनुपर्ने आवश्यकतालाई महसुश गरी बैंकले आफ्नो कार्यलाई परिमार्जित रुपमा अगाडि बढाएको बताए । साझा प्रतिवद्धताले मात्र समृद्धि सम्भव रहेको स्मरण गराउँदै प्रमुख कार्यकारी अधिकृत खनालले बैंकलाई आजको अवस्थासम्म ल्याउन सहयोग गर्ने सम्पूर्णलाई धन्यावाद ज्ञापन गर्दै आगामी दिनमा पनि यस्तै साथ सहयोग भए बैंक उत्कृष्ट बन्ने विश्वास व्यक्त गरे । कार्यक्रममा गण्डकी प्रदेश सरकारका उद्योग तथा पर्यटन मन्त्री माननीय मित्रलाल बस्याल, प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डे, नेपाल राष्ट्र बैंक पोखराका प्रमुख दिपकराज लामिछाने, बैंक सञ्चालक समिति सदस्य प्रा.डा. रामप्रसाद ज्ञवाली, पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्कीले शुभकामना मन्तब्य व्यक्त गरेका थिए । कार्यक्रममा बैंकका उपकार्यकारी अधिकृतहरु पवन रेग्मी, रामकुमार थापा, विभागीय प्रमुख आनन्द सुवेदी, प्रादेशिक प्रबन्धक पुष्पचन्द्र थापा, कम्पनी सचिव प्रमोद अधिकारी, शाखा प्रबन्धकहरु लगायत कर्मचारीहरुको उपस्थिति रहेको थियो । कार्यक्रममको पूर्व संध्यामा वित्तीय साक्षरताको लागि प्रभातफेरी कार्यक्रम समेत सञ्चालन गरिएको थियो ।
घाम ताप्ने क्रममा छतबाट खसेर चन्द्रागिरि नगरपालिकामा एकजनाको निधन
काठमाडौं । काठमाडौंको चन्द्रागिरिमा घरको छतबाट खसेर एक जना पुरूषको निधन भएको छ । आइतबार बिहान चन्द्रागिरि नगरपालिका-५ हाइभिजनस्थित साढे दुई तले घरमाथिबाट खसेर एक जना पुरूषको निधन भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहोराले जानकारी दिए । छतमा घाम ताप्ने क्रममा दोलखा शैलुङ गाउँपालिका-३ घर भएका ५२ वर्षीय होमबहादुर श्रेष्ठ रेलिङमा अल्झिएर दुई तला माथिबाट खसेका हुन् । घाइते भएका उनको उपचारका लागि सतुङगलस्थित अस्पतालमा ल्याइएको थियो । त्यहाँ उपचारको क्रममा उनको निधन भएको एसपी बोहोराले बताए ।
क्रिप्टोको प्रचार गरेपछि अर्जेन्टिनाका राष्ट्रपतिविरुद्ध महाभियोग लगाउने विपक्षी दलको धम्की
काठमाडौं । अर्जेन्टिनाका राष्ट्रपति जेभियर मिलेईलाई विपक्षी सांसदहरूले महाभियोगको सामना गर्नुपर्ने धम्की दिएका छन् । सांसदहरूका अनुसार उनले प्रचार गरेको एक क्रिप्टोकरेन्सी केही समयमै धराशयी भएको थियो । शुक्रबार राति मिलेईले एक्स (ट्विटर) मा ‘$LIBRE’ नामक कम चिनिएको क्रिप्टोकरेन्सी सिफारिस गरेका थिए, जसको मूल्य छिट्टै ५ डलर प्रति सिक्का पुग्यो । तर केही घण्टामै उक्त क्रिप्टोकरेन्सी १ डलरभन्दा तल झर्यो । अर्जेन्टिनाको फिनटेक च्याम्बरले यसमा धोखाधडी हुनसक्ने सम्भावना व्यक्त गरेको छ । यसमा डेभलपर्सहरूले प्रारम्भमा लगानी भित्र्याएर सिक्काको मूल्य बढाउँछन्, तर पछि आफ्नो हिस्सेदारी बिक्री गरेर मूल्य गिराउँछन् । ‘यो काण्डले अन्तर्राष्ट्रिय रूपमा हामीलाई लज्जित बनाएको छ। त्यसैले राष्ट्रपतिविरुद्ध महाभियोग प्रक्रिया अघि बढाउनुपर्ने आवश्यकता छ,’ विपक्षी गठबन्धनका सांसद लिआन्ड्रो सान्तोरोले भने । मिलेईले एक्समा गरेको पोस्ट केही घण्टापछि हटाएका थिए । स्थानीय सञ्चारमाध्यमका अनुसार पोस्ट केही घण्टासम्म मात्र रहेको थियो । उनले पछि स्पष्टीकरण दिँदै भने, ‘म यो परियोजनाका विवरणहरूबारे जानकार थिइनँ । जब मलाई थाहा भयो, मैले यसलाई प्रचार नगर्ने निर्णय गरें ।’
कृषि उपकरणमा विदेशकै भर, आयातित उपकरणको प्रचार गर्दै व्यवसायी
काठमाडौं । काठमाडौंमा जारी ‘सातौँ नेपाल एग्रीटेक तथा नेपाल फुड एण्ड बेभरेज इन्टरनेशनल एक्स्पो’ आइतबार सम्पन्न हुँदैछ । शुक्रबारदेखि जारी कृषि मेलाले नेपालको कृषि क्षेत्रलाई उपयुक्त हुने नविनतम् प्रविधि तथा सेवाको पहिचान गर्न मद्दत मिल्ने र तीनको प्रयोगद्वारा कृषि उत्पादन वृद्धि भई मुलुकलाई कृषि उपजमा आत्मनिर्भर बन्न टेवा पुग्ने विश्वास गरिएको छ । मेलाले कृषिमा प्रविधिको प्रयोगलाई बढावा दिने कृषि व्यवसायीको विश्वास छ । कृषि उपकरणको प्रचार प्रसारका लागि मेलामा स्वदेशी तथा विदेशी कृषि उपकरण कम्पनीहरुले स्टल राखेका छन् । मेलाले नेपालमा भएको कृषिसम्बन्धी सेवा र वस्तुलाई निर्यात गर्न मद्दत पुर्याउने र विदेशबाट गुणस्तरीय कृषि उपकरण आयात गर्ने उनीहरुको विश्वास छ । कृषि मेलालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा भएका विजनेसहरुलाई एक,अर्कामा आदानप्रदान गर्ने रुपमा बुझेको मुक्तिनाथ कृषि कम्पनी लिमिटेडका नायव महाप्रवन्धक रामशरण तिमल्सिनाले बताए । उनले नेपालमा रहेको वस्तु तथा सेवालाई निर्यात गर्न तथा नेपाललाई आवश्यक कृषि उपकरण आयात गर्न सकियोस् भनेर मेलामा जोडिएको बताए । कृषि उपकरण व्यवसायीहरुले गरिरहेका कामहरुबारे सरकारी तथा गैरसरकारी संस्थाहरुलाई देखाउने यो उत्तम विकल्प भएको समेत उनको भनाइ छ । कृषिसम्बन्धी कुनैपनि उपकरण र कृषि व्यवसायको योजना बनाउनका लागि मुक्तिनाथ कृषि उपयुक्त भएको उनको भनाइ छ । उनले भने, ‘सरकारी गैरसरकारी निकायहरुलाई हामीले के गरिरहेका छौं भन्ने विषयवस्तु देखाउनका लागि पनि यो प्लेटफर्म उपयुक्त हुन्छ भनेर हामी यहाँ उपस्थित भएका छौं ।’ बाँकेको नेपालगञ्जमा कृषि सोलुसन नामक कम्पनी चलाउँदै आएकी पार्वती घिमिरेले नेपालमा कृषि यन्त्रको उपकरणको प्रयोग बढ्दै गएको बताइन् । युवाहरु विदेश पलायन हुँदा गाउँ कृषि प्रयोगका उपकरणहरुको प्रयोग बढेको उनको भनाइ छ । उनले नेपालमा कृषि उपकरण उत्पादन नहुने भएका कारण विदशकै भर पर्नुपरेको बताइन् । कृषि उपकरणको माग बढेको भएपनि उत्पादन नहुँदा चीन र भारतबाट उपकरण आयात गरेर बेच्ने गरेको उनले बताइन् । चीन र भारतबाट आयातित गुणस्तरीय वस्तुको प्रचार प्रसारका लागि मेलामा सहभागि भएको उनले उल्लेख गरिन् । उनले भनिन्, ‘अहिले नेपालमा कृषि उपकरणको एकदमै बढ्दो माग छ । देशको स्थिति देखि नै रहनु भएको छ । सबै युवाहरु पलायन भइसकेको अवस्था छ । त्यसकारण गाउँमा खेतिपाती गर्ने मान्छेहरु एकदमै कम छ । प्रविधि बिना कृषिमा अगाडि बढ्न सकिदैन भन्ने धारणा सबैको भइनै सकेको अवस्था पनि छ ।’ जर्मनी स्टिल कम्पनीका नेपाली वितरक कुमार शाक्यले रुख काट्ने मेसिनको माग बढ्दो भएपनि अन्य उपकरणहरु माग सोचेजति नभएको बताए । उनले मेलाको माध्यमबाट कृषिलाई गुणस्तरीय कृषि उपकरणको व्यवस्था गरी किसानले भोग्दै आएका समस्याहरु समाधान गर्ने आफ्नो मुख्य उद्देश्य रहेको बताए । उनले पहिले चिनियाँ कम्पनीसँग सहकार्य गर्दै आएको भएपनि कम गुणस्तरको सामान पठाउने गरेको कारण जर्मनी कम्पनीसँग सहकार्य गरेको बताए । उनले भने, ‘यो हाम्रो जर्मनी कम्पनी हो । पहिले म कृषिसम्बन्धी चिनियाँ उपकरणहरु ल्याएर बेच्थेँ । त्यो अलिकति ड्यरेबल भएको जस्तो लागे मलाई बजारमा माग प्रतिष्पर्धा बढेसँगै उसले गुणस्तर घटाइदिन्छ ।’ एक्सपोमा कुखुरा पालन, माछा पालन, बाख्रा पालन, गाई भैँसी पालन, डेरी, कृषिका मेसिनरी औजार, उपकरण, भेटेरिनरी, खाद्य प्रविधिबारे जानकारी प्राप्त गर्न सकिने आयोजकले जनाएको छ । मुख्य प्रदर्शनी स्थलमा सबै विधाका अलग–अलग समूह स्टल रहने र प्रदर्शनीमा प्रवेश निःशुल्क रहेको छ ।
चितवनको गाजर र चुकन्दर जर्मन निर्यात
चितवन । भरतपुर महानगरपालिका–१५ श्रीपुरमा उत्पादित गाजर र चुकन्दर जर्मन निर्यात हुन थालेको छ । १२ बिघामा लगाइएको १०० टन चुकन्दर र १५० टन गाजर जर्मन निर्यात हुन थालेको हो । जिल्ला प्राङ्गारिक सङ्घ चितवनका अध्यक्ष चन्द्रप्रसाद अधिकारीका अनुसार २ वर्षदेखि यहाँ उत्पादित गाजर र चुकन्दर ‘द अग्र्यानिक भ्याली’ संस्थाले विदेश पठाउन थालेको हो । स्थानीय उत्पादनलाई प्रवर्द्धन गरी कृषकलाई प्रोत्साहन गर्ने उद्देश्यले अन्तरराष्ट्रियस्तरबाट प्रमाणीकरण गरी कृषि उपज निर्यात गर्न थालिएको उनले बताए । उनका अनुसार यस वर्ष यही फागुन १५ गतेदेखि ती उत्पादन पठाउने तयारी गरिएको छ । यहाँको २० बिघा अग्र्यानिक क्षेत्रका रूपमा मान्यता पाएको बताउँदै उनले भने, ‘१२ बिघामध्ये ६० प्रतिशत क्षेत्रफलमा गाजर र ४० प्रतिशतमा चुकन्दर लगाइएको छ । यहाँको उत्पादनलाई विदेशी उपभोक्ताले विश्वास गरेपछि निर्यात सुरु गरिएको हो ।’ जर्मन जाने गाजरको प्रतिकिलो २० रुपैयाँ र चुकन्दर प्रतिकिलो ५० रुपैयाँमा तोकिएको सङ्घका सदस्य छविलाल न्यौपानेले जानकारी दिए । सङ्घमा आबद्ध १५ जना किसानले लगाएको गाजर र चुकन्दर जर्मन निर्यात हुने गरेको उनले बताए । उनले भने, ‘अग्र्यानिक खेती हुने क्षेत्रमा गाजर र चुकन्दर बाहेक गहुँ, मुसुरो, जौ, घाँस, आलुका साथै अन्य सागसब्जी उत्पादन गरिँदै आइएको छ ।’ यहाँ उत्पादित कृषिउपज जर्मनसँगै चितवन, पोखरा, काठमाडौँलगायत अन्य जिल्लामा बिक्री हुँदै आएको छ । गाजर र चुकन्दर नेपालको ‘अग्र्यानिक भेन्चर’ नामक संस्थाले खरिद गरी आन्तरिक बजारमा बिक्री गर्दै आएको न्यौपानेले जानकारी दिए । प्राङ्गारिक सङ्घलाई कृषि विकास कार्यालय चितवनले सुरुआती समयमा आर्थिक सहयोग गरेकामा पछिल्लो समय प्राविधिक सहयोग मात्रै गर्दै आएको उनले बताए । पहिला ‘प्याकेजिङ’, ‘ग्रेडिङ’ र बजारीकरणमा सहयोग गर्दै आएको थियो । रासस
सर्वसाधारणलाई प्राधिकरणको ६० अर्ब सेयर, प्रतिकित्ता ३ सय रुपैयाँ
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले यस वर्ष पनि ‘डबल ए प्लस ’ रेटिङ पाएको छ । इक्रा नेपालले प्राधिकरणको रेटिङ गरी ‘इक्रा एनपी डबल ए प्लस’ स्तरको रेटिङ प्रदान गरेको हो । योसँगै प्राधिकरणले लगातार तेस्रोपटक ‘डबल ए प्लस’ रेटिङ पाएको छ । प्राधिकरणको वित्तीय अवस्था, सम्पत्ति, व्यवसायिक तथा वित्तीय जोखिमहरूको विश्लेषण, व्यवस्थापकीय क्षमता, सञ्चालन प्रभावकारितामा प्रभाव पार्ने आन्तरिक तथा वाह्य वातावरणीय तत्वहरूलगायतको विश्लेषण गरी रेटिङ गरिएको हो । डबल ए प्लस रेटिङ प्राप्त गर्ने संस्थाको आफ्नो वित्तीय तथा आर्थिक दायित्व समयमै वहन गर्न सक्ने उच्च क्षमता सुरक्षित रहन्छ । डबल ए प्लस रेटिङ पाउने संस्थासँगको वित्तीय कारोबारमा ज्यादै न्यून ऋण भुक्तानी जोखिम हुन्छ । क्रेडिट रेटिङमार्फत कुनै व्यक्ति वा संगठित संस्थाको साखको गुणस्तर सम्बन्धमा मूल्याङ्कन गर्ने तथा राय प्रकट गर्ने काम गरिन्छ । यसमा संस्थाको ऋण दायित्व भुक्तान गर्ने क्षमता सम्बन्धमा निहित जोखिमबारे सरल र बुझ्न सकिने साङ्केतिक सूचकका रूपमा राय दिइन्छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले रेडिङमा विगत तीन वर्षदेखि निरन्तर डबल ए प्लस रेटिङ प्राप्त गर्न सफल भएको र यसबाट संस्थाको वित्तीय स्वास्थ्य राम्रो एवम् ऋण तिर्न सक्ने क्षमतामा सक्षमता देखिएको बताए । साथै प्राधिकरण आफ्नो वित्तीय तथा आर्थिक दायित्व ढुक्कसँग बहन गर्न सक्ने क्षमतामा देखिएको घिसिङले उल्लेख गरे । घिसिङले भने, ‘सर्वसाधारणलाई सेयर निष्कासनका लागि महत्त्वपूर्ण मापदण्डको रूपमा रहेको संस्थाको रेटिङ सम्पन्न भइसकेको छ, संस्थाको वास्तविक सम्पत्ति मूल्याङ्कन गरिसकेका छौं । सरकारबाट स्वीकृति पाउनसाथ सेयर निष्कासनकाे प्रक्रिया अगाडि बढाउन सकिनेछ, सेयर निष्कासनबाट सङ्कलन गरिएको रकमलाई ठूला विद्युत् जलविद्युत आयोजनाको निर्माणमा लगानी गर्ने योजना बनाएका छौं ।’ उनले विद्युत् उत्पादनतर्फका आयोजनाहरू निर्माण र विद्युत् आपूर्तिलाई थप भरपर्दो, गुणस्तरीय तथा सुरक्षित बनाउन प्रणाली सुधार तथा विस्तारका लागि आवश्यक ठूलो पूँजी संस्थाले कमाएको नाफा र सेयर निष्कासनबाट प्राप्त हुने रकमबाट पूरा गर्ने योजना रहेको उल्लेख गरे । प्राधिकरणको चुक्ता पूँजी करिब ३ खर्ब रुपैयाँ कायम गरी त्यसको बढीमा २० प्रतिशतले हुन आउने रकममा प्रिमियम थप गरीे प्राथमिक सेयर सर्वसाधारणलाई निष्कासन प्रस्ताव गरिएको छ । प्रिमियमसहित प्रतिकित्ता मूल्य करिब ३ सय रुपैयाँ कायम गरी सेयर निश्कासनको प्रस्ताव गरिएको हो । प्राधिकरणको वार्षिक आम्दानी १ खर्ब १६ अर्ब र सम्पत्ति ७ खर्ब रुपैयाँभन्दा बढीको छ । विद्युत् उत्पादन, प्रसारण र वितरणलाई सक्षम, भरपदो र सर्वसुलभ गरी विद्युत् आपूर्तिको समुचित व्यवस्था गर्न सरकारको पूर्ण स्वामित्वमा प्राधिकरण स्थापना गरिएको हो । प्राधिकरणले देशभित्र विद्युत् उत्पादन, प्रसारण र वितरणका अतिरिक्त आन्तरिक तथा सीमापार विद्युत् व्यापार पनि गरिरहेको छ । सरकारले विद्युत् विकासका आफ्ना कार्यक्रमहरु कार्यान्वयन गर्न वार्षिक रूपमा बजेट विनियोजन, सेयरमा लगानी (नगद वा ब्याज/साँवा पूँजीकरण) र अन्य आवश्यक रकम/सञ्चालनमार्फत प्राधिकरणमा लगानी गर्दै आएको छ । प्राधिकरण सरकारको पूर्ण स्वामित्वमा रहेको, विद्युत प्रसारण, वितरण र मुलुकभित्र तथा बाहिरी मुलुकसँग विद्युत खरिद बिक्रीको एकाधिकार प्राप्त तथा सरकारको रणनीतिक संस्था हो । प्राधिकरणले स्वदेशी तथा विदेशी लगाीकर्ताहरुले निर्माण गर्ने जलविद्युत आयोजनाहरूसँग झण्डै ११ हजार मेगावाटको दीर्घकालीन विद्युत खरिद सम्झौता (पिपिए) गरेको छ । रेटिङको नतिजाले त्यस्ता आयोजनाको रकम भुक्तानी गर्न प्राधिकरणसँग उच्चस्तरको वित्तीय क्षमता रहेकाले लगानी जोखिम नरहेको देखाएको छ । प्राविधिक र गैरप्राविधिक विद्युत चुहावट घटाउन, अधिकतम ग्राहकसम्म पहुँच बढाउन, वित्तीय खर्च घटाउन, राजस्व बढाउन, प्रसारण तथा वितरण लाइन र सबस्टेसन विस्तार गर्न संस्थागत सुशासनमा सुधार गर्दै नाफा कमाउनमा प्राधिकरणलाई ठूलो सफलता हात परेको छ । आर्थिक वर्ष (आव) २०७२/७३ मा ८ अर्ब ८९ करोड रुपैयाँ खुद नोक्सानीमा रहेकोमा ०७३/७४ मा १ अर्ब ५० करोड रुपैयाँ खुद नाफा कमाउंदै प्राधिरणले नाफाको इतिहास सुरु गरेको थियो । प्राधिकरणले गत आव २०८०/८१मा १४ अर्ब ४६ करोड रुपैयाँ नाफा कमाएको थियो । आव २०७२/७३मा ३४ अर्ब ६१ करोड रुपैयाँ सञ्चित घाटामा रहेको प्राधिकरण अहिले ४७ अर्ब ४१ करोड रुपैयाँ सञ्चित नाफामा पुगेको छ । प्राधिकरणले गत आवमा प्रणालीको विद्युत् चुहावट करिव १२ दशमलव ७३ प्रतिशतमा झारेको थियो । आव २०७२/७३मा प्रणालीबाट २५ दशमलव ७८ प्रतिशत विद्युत चुहावट भइरहेको थियो ।
भृकुटीमण्डपमा जारी कृषि प्रदर्शनी : अवसर पाएपछि कृषि उद्यमी खुशी
काठमाडौं । भृकुटीमण्डपमा जारी नेपाल एग्रीटेक तथा नेपाल फुड एण्ड बेभरेज इन्टरनेशन एक्स्पोमा कृषि उद्यमीहरू खुशी देखिएका छन् । शुक्रबारदेखि जारी एक्स्पोमा विभिन्न स्टलमार्फत आफ्ना उत्पादनले बजार पाएपछि कृषि उद्यमीहरू उत्साहित भएका हुन् । सोलुखुम्बुका कृषक तिलकबहादुर राईले आफ्ना कृषि उत्पादन बिक्री गर्न प्रधानमन्त्री कृषि आधुनिक परियोजनाले सहजीकरण गरेको बताए । उनका अनुसार, किसान आफैँ उपभोक्तासँग साक्षात्कार गरी वस्तु बिक्री गर्दा नाफा सीधै किसानलाई पुगेको छ । उनले भने, ‘सोलुखुम्बुमा अन्तको व्यापारी आएर किनेर लग्थेँ, तर अहिले प्रधानमन्त्री परियोजनाले सहजीकरण गरेको छ र हामी आफैँ बेच्न आउँदा नाफा सीधै किसानलाई जान्छ ।’ तामाकोशी एण्ड रिसर्च प्रालिका हिरालाल श्रेष्ठले मेलामा रामेछापको जुनारले राम्रो बजार पाएको बताए । उनले जुनार टिप्दा सावधानी अपनाउन नसक्दा चोट लाग्ने र नेपालको जुनार कमजोर छ भन्ने गलत सन्देश बजारमा गइरहेको पनि उल्लेख गरेका छन् । श्रेष्ठले उत्पादित वस्तुको गुणस्तर कायम राख्न राज्यले प्रविधिमा जोड दिनुपर्ने बताए । उनले भने, ‘रामेछापमा उत्पादित जुनारको बजार राम्रै छ । सिन्धुली र रामेछाप जुनारका लागि हब भएका छन् । किसानलाई प्रविधि दिनु आवश्यक छ ताकि गुणस्तर कायम गर्न सकियोस् ।’ प्रधानमन्त्री कृषि आधुनिक परियोजनाका बरिष्ठ कृषि इन्जिनियर डा. जित चन्दले परियोजनाकै कारण नेपालमा कृषि यान्त्रिकीकरणको बहस गाउँसम्म पुगेको दाबी गरे । उनले परियोजनाको नौ वटा रणनीतिअनुसार काम भइरहेको र कृषि यान्त्रिकीकरण मुख्य रणनीति रहेको सुनाए । च्याउ उत्पादन किसान संघका सहअध्यक्ष तथा गोकर्णेश्वर च्याउ समूहका अध्यक्ष सिताराम तिम्सिनाले नेपालमा ३५ हजार व्यक्ति प्रत्यक्ष रुपमा च्याउ उत्पादनको रोजगारमा जोडिएको बताएका छन् । उनले घरमै पनि च्याउ उत्पादन गरेर खान सकिने उल्लेख गर्दै भने, ‘यस्तो मेलाले कृषि उत्पादनहरूलाई बजारीकरण गर्न राम्रो फाइदा पुग्छ र हामी सीप तथा प्रविधि हस्तान्तरण पनि गर्छौं ।’ मिडिया स्पेस सोलुसन प्रालिका प्रबन्ध निर्देशक सिर्जल भट्टराईले मेलाले नेपालमा उत्पादित कृषि उपजलाई विदेश पठाउन योग्य कसरी बनाउन सकिन्छ भनेर अभ्यास गरिरहेको भनेका छन् । यस्ता मेला आयोजना गर्दा कृषि उद्यमीलाई फाइदा पुग्नुका साथै उत्पादनलाई अन्तर्राष्ट्रिय बजारमा चिनाउन बाटो खुल्ने उनको तर्क छ । भृकुटीमण्डपमा जारी सातौँ नेपाल एग्रीटेक तथा नेपाल फुड एण्ड बेभरेज इन्टरनेशन एक्स्पोले उत्पादित वस्तुको बजारीकरण गर्नुका साथै सीप तथा प्रविधिसमेत हस्तान्तरण गर्ने भएकाले किसान तथा कृषि उद्यमीका लागि राम्रो अवसर हुने देखिएको छ । मेला आज साँझसम्म मात्रै सञ्चालन हुनेछ ।
तोलामा २७ सयले घट्यो सुनको मूल्य
काठमाडौं । अन्तरराष्ट्रिय बजारमा सुनको मूल्य घटेसँगै त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको छ । गत शुक्रबारको तुलनामा शुक्रबार सुन प्रतितोला दुई हजार ७०० रुपैयाँ र चाँदी १५ रुपैयाँले घटेको हो । गत शुक्रबार प्रतितोला सुन एक लाख ७० हजार २०० रुपैयाँमा कारोबार भएकामा शुक्रबार सोही परिमाणको सुनको मूल्य एक लाख ६७ हजार ५०० रुपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । यसैगरी, चाँदी प्रतितोला १५ रुपैयाँले घटेको छ । आजका लागि प्रतितोला चाँदीको मूल्य एक हजार नौ सय ५५ रुपैयाँ निर्धारण गरिएको छ । अन्तरराष्ट्रिय बजारमा आज सुन प्रतिऔंस दुई हजार आठ सय ८२ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।