विकासन्युज

भूकम्पबाट प्रभावित जिल्लामा ३ अर्ब ९५ करोड निकासा भइसक्यो : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जाजरकोट भूकम्पबाट प्रभावित जिल्लाहरूमा हालसम्म ३ अर्ब ९५ करोड ६५ लाख रकम निकासा भइसकेको बताएका छन् । आइतबारको प्रतिनिधि सभाको बैठकमा सांसदहरुको प्रश्नको जवाफ दिँदै उनले यस्तो बताएका हुन् । उनले रुकुम र जाजरकोट जिल्लामा जिल्ला विपद् व्यवस्थापन समितिबाट सिफारिस भै रितपूर्वक आएका सबै भूकम्प प्रभावितका लागि प्रथम र दोस्रो किस्ताको रकम पठाइसकिएको बताए । २०८१ माघ महिनामा मात्रै भूकम्प प्रभावितहरूका लागि थप ८० करोड निकासा भएको जानकारी दिए । जाजरकोट भूकम्पको विस्तृत क्षति आँकलनका लागि इन्जिनियरहरूको पहिलो टोली यसै हप्तादेखि फिल्डमा खटिने जानकारी दिए । उनले भने, ‘जाजरकोट भूकम्पबाट प्रभावित जिल्लाहरूमा हालसम्म ३ अर्ब ९५ करोड ६५ लाख रकम निकासा भैसकेको छ। रुकुम र जाजरकोट जिल्लामा जिल्ला विपद् व्यवस्थापन समितिबाट सिफारिस भै रितपूर्वक आएका सबै भूकम्प प्रभावितका लागि प्रथम र दोस्रो किस्ताको रकम पठाइसकिएको छ ।’ प्रधानमन्त्री ओलीले मनसुनजन्य विपद् एवं भूकम्पबाट प्रभावितहरूको समस्या समाधानका लागि विपद् व्यवस्थापन राष्ट्रिय परिषद्को मिति २०८१ पौष २८ गते बसेको बैठकले १ खर्ब १ अर्बको पुनर्निर्माण तथा पुनस्र्थापना योजना स्वीकृत गरी निजी आवास र भौतिक पूर्वाधार पुनर्निर्माणको लागि स्पष्ट मार्गचित्र तयार भएको बताए । सरकारले सहकारी क्षेत्रमा देखिएका समस्या समाधानका लागि नीतिगत, संस्थागत र व्यवस्थापकीय सुधारका कार्य गरिरहेको छ र पहिले देखिएका समस्याहरू विस्तारै समाधान उन्मुख रहेको जानकारी दिए ।

निजी क्षेत्रमा पहिलो सिमेन्ट उद्योग खोलेका राठी, ८० करोडबाट १० अर्बको पोर्टफोलियो

काठमाडौं । कुनैबेला नेपाली बजारमा विदेशी सिमेन्टको दबदबा थियो । व्यवसायीले भारतबाट सिमेन्ट आयात गरेर नेपाली उपभोक्ताको मागपुर्ति गर्थे । तर, अहिले अवस्था त्यस्तो छैन । बरु, नेपाली उद्योगी व्यवसायीहरुले सिमेन्ट निर्यात गरेर डलर कमाइरहेका छन् । विदेशी सिमेन्ट उद्योगीको भरमा पर्ने नेपाली उद्योगीहरु अहिले विदेशी ब्राण्डका सिमेन्टसँग प्रतिस्पर्धा गर्ने तहमा पुगेका छन् । सुरुवाती दिनहरुमा नेपाल सरकारले नै सिमेन्ट उद्योग खोलेर नेपाली उपभोक्तालाई स्वदेशी सिमेन्टको स्वाद दिलाए पनि त्यो पर्याप्त थिएन । परिणामस्वरुप २०५१ सालमा निजी क्षेत्रको पहिलो ग्रिनफिल्ड सिमेन्ट उद्योगका रुपमा मारुती सिमेन्ट उद्योग स्थापना भयो । जसको सुरुवात उद्योगी नन्द किशोर राठीले गरे । तीन दशकको अवधिमा मारुती सिमेन्टले विभिन्न आरोह–अवरोह तथा अनुभव प्राप्त गरेको छ । पुरानो सिमेन्ट उद्योग भएपनि यसले समायानुकुल आफूलाई परिमार्जित र परिस्कृत गर्दै विदेशी लगानी समेत भएका उच्चस्तरीय सिमेन्ट उद्योगसँग प्रतिस्पर्धा गरिरहेको छ । यो सिमेन्ट उद्योग सिराहाको गोलबजार नगरपालिकाको मिर्चैया छ । ५० टनको पछि ७ सय भर्टिकल सफ्ट क्लिन (भिएसके) प्लान्ट हुँदै अहिले तीन हजार टन क्षमताको छ । भिएसके भनेको एउटा प्रविधि हो, जुन साना स्तरका सिमेन्ट उद्योगहरूमा प्रयोग गरिन्छ । नन्द किशोरले मारुती सिमेन्ट सञ्चालनमा ल्याउँदा उदयपुर र हेटौंडा सिमेन्ट सञ्चालनमा थिए । यी सिमेन्टले रोटरी क्लिन प्लान्ट प्रयोग गरेका थिए । त्यो बाहेक निजी क्षेत्रको रोटरी क्लिन प्लान्ट राख्ने मारुती पहिलो सिमेन्ट उद्योग थियो । रोटरी क्लिन प्लान्ट भनेको सिमेन्ट उत्पादनमा प्रयोग गरिने एक अत्यधुनिक प्रविधि हो । जसमा ठूलो घुम्ने सिलिन्डर प्रयोग गरिन्छ । जुन नेपालमा निजी क्षेत्रको पहिलो प्लान्ट थियो । उसो त राठी सिमेन्ट उद्योगमा नयाँ अनुहार थिए । हजुरबुबा र बुबाले कपडाको व्यापार गर्थे । मोरङमा बसेर गाउँ–गाउँ पुग्दै कपडा बिक्री गर्ने उनको परिवारको व्यवसाय थियो । तर, नन्दकिशोरले व्यवसायमा पृथक किसिमको स्वाद लिने चेष्टा गरे । ‘मेरो परिवारको सिमेन्टमा कुनै विज्ञता थिएन । तर, सिमेन्ट उद्योगको सम्भावना देखेपछि मारुती सञ्चालन गर्यौं,’ उनले सुरुवाती दिनहरु स्मरण गर्दै भने, ‘सुरुमा मागअनुसारको आपुर्ति गर्न सक्थेनौं, व्यवसाय अनपेक्षित ढंगबाट फष्टायोे ।’ नन्दकिशोरसँगै मारुती सिमेन्टमा गोयल परिवार पनि समावेश भयो । योगल परिवार राठीको ग्रुपको हरेक व्यवसायमा सामेल हुने गरेको छ । उद्योगमा अनुभव पनि चाहिन्छ भन्ने किसिमले एकजना भारतीय व्यवसायीलाई पनि स्टेक होल्डर बनाइयो । उद्योगको व्यापार राम्रै हुन थाल्यो । अहिले पनि सुरुवाती दिनकै सेयरधनीहरु कम्पनीमा छन् । ‘भारतीय लगानीकर्ता (सुहिलकुमार खेन्का)जीको पहिलेदेखि नै सिमेन्ट कम्पनी थियो, हामीले तपाईं पनि आउनुहोस् भनेर आग्रह गरेपछि उहाँ पनि हामीसँग जोडिनुभयो,’ विकासन्युजसँग कुरा गर्दै उनले भने, ‘भारतीय लगानीकर्ता सामेल भइसकेपछि हामीलाई टेक्निकल पाटोमा सहयोग पुग्यो, काम गर्न सहज भयो ।’ राउत कन्स्ट्रक्सनलाई उत्खनन्को जिम्मा सिमेन्ट उद्योगका लागि चाहिने आवश्यक समाग्री हो ढुंगा गिट्टी । मारुती सिमेन्टले यसको सबै जिम्मवारी राजेन्द्र प्रसाद राउतको राउत कन्स्ट्रक्सनलाई दियो । त्यो बेला अहिलेजस्तो काम गर्न सहज अवस्था थिएन । देशभर माओवादीको आन्दोलन चर्किरहेको थियो । बाहिर निर्धक्क भएर हिँड्न सक्ने अवस्था थिएन । तर, माइनिङका लागि राउत कन्ट्रक्सनलाई जिम्मेवारी दिएपछि उद्योगलाई सहज भएको उद्योगी राठीले सुनाए । द्धन्द्धकालमा सुरु गरेको यो उद्योग अहिले नेपालकै उत्कृष्ट बन्न सफल भएको उनी दाबी गर्छन् । नन्द किशोरले विभिन्न व्यक्ति समूहसँग सहकार्य गरी सिमेन्ट उद्योग सञ्चालनमा त ल्याए । तर, सुरुवाती तीन महिनामा केही सकसपूर्ण बने । ‘एकातिर नयाँ व्यवसाय, अर्कोतिर द्धन्द्धकाल, बजार पनि बनाउनुपर्ने उत्पादन पनि गुणस्तर बनाउनु पर्ने काम धेरै थियो, बजार राम्रो थिएन,’ विगत स्मरण गर्दै उनी भन्छन्, ‘उदयपुर र हेटौंडा सिमेन्टले बजार तताइरहेको बेला हामी जन्मिनु आफैैंमा ठूलो साहस थियो ।’ विस्तारै मारुती पनि हेटौंडा र उदयपुरजस्तै राम्रो चल्न थल्यो । तर, त्यो बेला मारुतीको क्षमता सानो थियो । त्यो बेला मारुतीले प्रतिदिन ७ सय टन सिमेन्ट उत्पादन गथ्र्याे । ‘विस्तारै बजार बढ्दै गयो, माग बढ्न थाल्यो,’ उनी भन्छन्, ‘त्यो बेला माग अनुसार उत्पादन धान्न कठीन नै हुन्थ्यो, क्षमता सानो थियो त्यसपछि हामीले सिमेन्ट उत्पादनको क्षमता बढाउनुपर्यो, सुरुमा ७ सय टन उत्पादनको क्षमतालाई बढाएर १५ सय टनमा पुर्यायौं, माग बढ्दै गएपछि क्षमता बढाउँदै गयौं अहिले तीन हजार पाँच सय टन क्षमता छ ।’ ८० करोडबाट १० अर्बको यात्रा उद्योगी नन्द किशोर राठीले ८० करोड रुपैयाँ लगानी गरेर सिमेन्ट उद्योगमा प्रवेश गरेको थिए । सिमेन्टको उत्पादन र बजार विस्तारै विस्तार हुँदै गयो । अहिले यो उद्योगको पोर्टफोलियो १० अर्बको हाराहारीमा पुगेको उनी दाबी गर्छन् । यस सिमेन्ट उद्योले सन् २०२२ मा ५ अर्ब ४ करोड ४० लाख रुपैयाँको आम्दानी गरेकोमा सन् २०२३ मा ४ अर्ब ३३ करोड ९० लाख र सन् २०२४ मा पनि ४ अर्बको हाराहारीमा आम्दानी गरेको छ । सन् २०१९ ताका यस कम्पनीले ७ अर्ब बढी आम्दानी गर्ने गरेको थियो । ‘हामीले उद्योगको आम्दानी पनि रिइन्भेष्ट गर्यौं, त्यसले उद्योगको गुडविल पनि बढ्यो, सुरुवातमा बजार पनि राम्रै थियो, पछिल्लो समय प्रतिस्पर्धा बढ्दा केही समस्या सिर्जना भएको छ । तर, सस्टेन हुने अवस्था भने अझै पनि छ,’ उनले भने । अहिले क्षमताअनुसारको माग बजारमा छैन । सिमेन्ट उद्योगको संख्यासँगै माग केही घटेको छ । उनी व्यसाय सुस्ताउनुको कारण प्रतिस्पर्धा नै रहेको सुनाउँछन् । ‘आजभोलि धेरै प्लान्ट सञ्चालनमा आए, ठूलो क्षमताका प्लान्टसँग प्रतिस्पर्धा गर्न गाह्रो नै छ, त्यसमाथि विदेशी लगानीका उद्योगहरु पनि छन्, यस्तो अवस्थामा पनि पुरानो उद्योग मारुतीले प्रतिस्पर्धा गरिरहेको छ ।’ उद्योगी राठीका अनुसार अहिले १६ वटा क्लिन्कर प्लान्ट छन् । प्रायः मिसेन्ट उद्योगहरु पूर्वमा पुग्ने गर्छन् । सौर्य र होङ्सी सिमेन्टको पनि पूर्वमा राम्रै बजार छ । तर, मारुती भने पूर्वमा मात्रै सीमित छ । उनी मारुतीलाई पश्चिममा पुगाउन नसकेको सुनाउँछन् । अहिले मारुतीको ५३ ग्रेडको ओपीसी सिमेन्ट बजारमा लोकप्रिय छ । यो सिमेन्टले नेपालमा ठूल्ठूला परियोजनाहरु निर्माण भइसकेका छन् । एक समय नेपालमा निर्माण हुने कतिपय ठूला परियोजना अर्थात् विदेशी लगानीका परियोजनामा विदेशी सिमेन्ट नै प्रयोग गर्ने अभ्यास थियो । तर, त्यो अभ्यास तोड्न मारुती सिमेन्ट सफल बनेको राठी सुनाउँछन् । अहिले निर्माण हुने अधिकांश जलविद्युत परियोजनामा मारुती सिमेन्टको प्रयोग नै बढी हुने गरेको उनी बताउँछन् । सरकारले सिमेन्ट निर्यातमा अनुदान दिए पनि निर्यात गर्न भने अझै कठीन रहेको उनले सुनाए । निर्यातका लागि अनुमति पाइसके पनि निर्यात गर्न समस्या नै रहेको उनले बताए । ‘भारत सरकारबाट ब्यूरो अफ इण्डियन स्ट्याण्डर्ड (बीआईएस) पाइसक्छौं । तर, भारत सरकारले आयातका लागि अनुमति दिँदैन, यो ठूलो समस्याका रुपमा देखा परेको छ, यसमा नेपाल सरकारले सहजीकरण गरिदिनुपर्छ,’ उनले गुनासो गर्दै भने । उनले मारुती सिमेन्ट उद्योगले सर्वसाधारणका लागि सेयर निष्काशनका लागि पनि तयारी गरिरहेको जानकारी दिए । यसका लागि कम्पनी नेपाल धितोपत्र बोर्ड (सेबोन)मा पुगेको छ । राठी ग्रुपका उद्योगले हाल तीन हजार भन्दाबढीलाई रोजगारी दिएको छ । एउटा कपडा व्यापारबाट सुरु भएको यस व्यावसायिक घरानाको व्यवसाय तेल, साबुन, अक्सिजन, प्लाष्टिक, कार्पेट, स्टील, बैंक र सिमेन्ट उद्योगसम्म फैलिएको छ । यो परिवारले व्यवसायका विभिन्न पुस्ताको नेतृत्व पार गर्दै अहिले नन्दकिशोर र उनको छोरा अनुपमले यी व्यवसायको नेतृत्व गरिरहेका छन् । नेपालको पूर्वी क्षेत्रमा पृथक किसिमको पहिचान बनाएको यस व्यावसायिक समूहले उद्योग व्यापार संघ मोरङको पनि नेतृत्व गर्दै आएको छ । नन्दकिशोरका बुबा आशकरण राठी, नन्दकिशोर र अहिले उनको छ अनुपमले पनि सो संघको नेतृत्व गर्ने अवसर पाएका छन् । यो व्यावसायिक समूह जति व्यवसायमा सफल छ, व्यावसायिक संघ संस्थामा पनि नेतृत्व गरेर त्यतिकै अब्बलता देखाइरहेको छ । अहिले मारुती सिमेन्टको नेतृत्व पनि नन्दकिशोरकै छोराले गरिरहेका छन् ।

जलन विधेयक पारित गर्दै जलन उपचार केन्द्र स्थापना गर्न रास्वपाको माग

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद विन्दावासिनी कंसाकारले जलन विधेयक पारित गर्दै जलन उपचार केन्द्र स्थापना गर्न माग गरेकी छन् । आइतबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले यस्तो माग राखेकी हुन् । उनले प्रत्येक वर्ष ६० देखि ६५ हजार नेपाली नागरिक जलनमा पर्ने गरेको उल्लेख गरिन् । उनले नेपालमा जनशक्ति उत्पादन र स्वास्थ्य क्षेत्रलाई गम्भीर रूरुपमा नलिँदा उच्च पदस्थ व्यक्तिहरू समेत जलनमा पर्ने गरेको बताइन् । सांसद कंसाकारले भनिन्, ‘थिन्क सेफ्टी, डू सेफ्टी भन्ने अवधारणा केवल नारामा मात्र सीमित भएको छ । त्यसैले जलन जसलाई जहाँ जुन बेला पनि हुनसक्छ । यही आवश्यकता महसुस गर्दै मैले ७ महिना अगाडि गैरसरकारी विधेयक दर्ता गराएकी थिएँ । बर्सेनि ६० देखि ६५ हजार नेपालीहरू जलनमा पर्ने गर्छन । त्यसकारण जलन विधेयक पारित गरौं । जलन उपकेन्द्र स्थापना गरौं ।’ उनले उच्च पदस्थ व्यक्तिलाई तत्कालै हेलिकेप्टरको व्यवस्था गरिने तर आम नागरिकले एम्बुलेन्स समेत पाउन नसक्ने अवस्था रहेको बताइन् । कंसाकारले ७ महिनाअघि जनलसम्बन्धी गैरसरकार विधेयक संसदमा दर्ता गराएकी थिइन् ।

बैंकिङ प्रणालीबाट ४० अर्ब खिच्दै राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा अधिक तरलता भए पछि ४० अर्ब तरलता खिच्ने भएको छ । निक्षेप संकलन उपकरण बोलकबोल मार्फत आइतबार ४० अर्ब बराबर तरलता खिच्न लागेको हो । केन्द्रीय बैंकले २१ दिनका लागि निक्षेप संकलन उपकरण बोलकबोल मार्फत तरलता खिच्न लागेको हो । निक्षेप संकलन दरमा स्थायी निक्षेप सुविधा दिएको केन्द्रीय बैंकले निक्षेप संकलन उपकरण बोलकबोल मार्फत पनि तरलता खिचिरहेको छ । आइतबार बोलकबोल हुने निक्षेप संकलन उपकरणको सावाँ–ब्याज २५ फागुनमा भुक्तानी हुनेछ । निक्षेप संकलन उपकरणको ब्याजदर बोलकबोलबाट तय हुनेछ । बोल गर्न सकिने रकम न्यूनतम १० करोड र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म हुनेछ । बोलकबोलमा राष्ट्र बैंकबाट इजाजतप्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउनेछन् ।  

झापामा प्याजखेती प्रवर्द्धन गर्न ५० प्रतिशत अनुदान

झापा । प्याजमा झापा जिल्लालाई आत्मनिर्भर बनाउने उद्देश्यले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले ५० प्रतिशत अनुदान दिएर किसानलाई प्याजखेती प्रवर्द्धन सुरु गरेको छ । जिल्लाका शिवसताक्षी, अर्जुनधारा र गौरादह नगरपालिका तथा कमल, गौरीगञ्ज र झापा गाउँपालिकाका कृषक समूहले ५० प्रतिशत अनुदानमा प्याजखेती सुरु गरेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका प्रमुख रवीन्द्र सुवेदीले बताए । उनका अनुसार परियोजनामार्फत जिल्लामा साढे छ हेक्टर जमिनमा प्याजखेती सुरु गरिएको छ । महिला समूह र कृषक समूहद्वारा १० कट्ठादेखि दुई बिगाहा जमिनमा किसानले खेती गरिरहेको उनले बताए । ‘प्याजको परनिर्भरतालाई घटाउन पनि अनुदान दिएर किसानलाई खेतीतर्फ प्रोत्साहन दिइएको हो,’ उनले भने, ‘किसानलाई प्याजको उन्नत बीउबिजन, मल र सिँचाइमा अनुदानलगायत प्रोत्साहनको योजना अगाडि सारिएको हो ।’ व्यावसायिकखेती प्रवर्द्धनका लागि परियोजनाले चालु आर्थिक वर्ष २०८१/८२ मा आठ लाख ५० हजार रुपैयाँ बजेट विनियोजन गरेको छ । प्रमुख सुवेदीका अनुसार परियोजनाले प्याजखेतीका निमित्त खुल्ला रूपमा प्रस्ताव आह्वान गरेको थियो । १३ किसानले प्रस्ताव पेस गरे पनि ११ जनाले मात्र खेती गरेको उनले बताए । आयातित प्याजको दिनानुदिन भइरहने मूल्यवृद्धिलाई समेत स्वदेशी उत्पादनले कम गर्ने उनको धारणा छ । गौरीगञ्ज- २ मा आदिवासी महिला कृषक समूहको अगुवाइमा दुई बिगाहा जमिनमा प्याज रोपण कार्य भइरहेको छ । समूहकी अध्यक्ष नविना राजवंशीले परियोजनाको दुई लाख र समूहको दुई लाख गरी चार लाख रुपैयाँमा प्याजको व्यावसायिकखेती गरिएको बताइन् । उनले यसबाट आएको आम्दानीले समूहमा आबद्ध २१ कृषकहरूको हितमा खर्च गर्ने उद्देश्य लिइएको बताइन् । ‘हामीले पहिलोपटक ५० प्रतिशत अनुदान पाएपछि प्याजको व्यावसायिकखेती गरेका हौं,’ उनले भनिन्, ‘यो हाम्रो परीक्षण पनि हो, राम्रो भयो भने अर्को वर्ष थप जमिन भाडामा लिएर भए पनि खेती गर्छौं ।’

तेह्र लाख किशोरीलाई लगाइयो एचपीभी खोप, स्वास्थ्यमन्त्रीद्वारा आभार

काठमाडौं ।  पाठेघरको मुखको क्यान्सरबाट बचाउने उद्देश्यले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सञ्चालन गरेको एचपीभी खोप अभियानबाट १३ लाख किशोरीले खोप प्राप्त गरेका छन् । अभियानको १२औँ दिन शनिबारसम्म १३ लाख किशोरीले खोप लिएका स्वास्थ्य सेवा विभागको परिवार कल्याण महाशाखा प्रमुख डा विवेककुमार लालले जानकारी दिए । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले हालसम्म अभियानलाई सफल पार्न खट्ने सबै स्वास्थ्यकर्मीहरु, स्वयंसेवक, सहयोगी विद्यालयलगायत सबै सहयात्रीहरुलाई अनवरत मेहनतका गरेकामा धन्यवाद ज्ञापन गरेका छन् । गत माघ २२ गते सुरु भएको अभियान यही फागुन ६ गतेसम्म सञ्चालन हुनेछ । अभियानका क्रममा कक्षा ६ देखि १० का छात्रा र १० देखि १४ वर्षका किशोरीलाई स्थानीय तहमा रहेका केन्द्रहरुमार्फत खोप लगाइएको हो । मन्त्री पौडेलको सचिवालयका अनुसार अभियानका क्रममा करिब १७ लाख किशोरीलाई खोप लगाउने लक्ष्य छ । मुलुकमा पाठेघरको मुखको क्यान्सरका कारण ज्यान जाने महिलाहरुको सङ्ख्या उच्च छ । सानै उमेरमा खोप प्रदान गरेर यो समस्या कम गर्ने योजनाअनुसार निरोधात्मक विधिअन्तर्गतका कार्यक्रम सरकारले कार्यानवयन गरिरहेको छ ।

विदेशी मुद्रासहित अमेरिकी नागरिक पक्राउ

काठमाडौं । अवैध रूपमा लुकाई छिपाई बाह्य मुलुकतर्फ लैजान लागेको विदेशी मुद्रासहित अमेरिकी नागरिक ४६ वर्षीया नि यानलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । बाटिक एयरको उडानद्वारा काठमाडौंबाट मलेसिया जान लागेकी उनलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको प्रस्थान होल्ड ब्यागेज एरियामा पक्राउ गरिएको हो  । जाँचका क्रममा उनको झोलाबाट १२ हजार ७४८ अमेरिकी डलर, २४९ सिङ्गापुर डलर, १२ हजार इन्डोनेसियन रूपिया, १०० मलेसियन रिङ्गिट, विभिन्न कम्पनीका मोबाइल १९ थान, सिम कार्ड २८ थान र मेमोरी कार्ड १२२ थान फेला पारी पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनलाई आवश्यक अनुसन्धान एवम् कारवाहीको लागि प्रहरी वृत्त गौशाला पठाइएको छ ।

क्रिप्टो ठगीबाट हुने आम्दानीलाई कीर्तिमानी उच्च स्तरमा पुर्‍याउन ‘ठगी’ र ‘एआई’ को साथ

काठमाडौं । ब्लकचेन विश्लेषण कम्पनी ‘चेनएनालिसिस’ले ‘पिग बुचरिङ’ ठगी र ‘जेनेरेटिभ आर्टिफिसियल इन्टेलिजेन्स’ (जेनएआई) को बढ्दो प्रयोगले २०२४ मा क्रिप्टो ठगीबाट हुने आम्दानीलाई कीर्तिमानी उच्च स्तरमा पुर्‍याएको जनाएको छ । पिग बुचरिङ एक प्रकारको वित्तीय ठगी हो जसमा ठगहरूले पीडितहरूसँग लामो समयसम्म सम्बन्ध बनाउँछन्, उनीहरूलाई विश्वासमा लिन्छन् अनि विस्तारै ठग्ने योजना कार्यान्वयन गर्छन् । यसबाट २०२४ मा मात्र ४० प्रतिशत आम्दानी वृद्धि भएको चेनएनालिसिसले बिहीबार प्रकाशित रिपोर्टमा जनाएको छ । २०२४ मा क्रिप्टो घोटालाबाट आम्दानी कम्तिमा ९.९ बिलियन रहेको छ, तर यो आँकडा १२.४ बिलियनसम्म पुग्न सक्छ, जुन एक रेकर्ड उचाइ हो । यदि थप डाटा उपलब्ध भयो भने यो आँकडा बढ्न सक्छ । क्रिप्टो ठगी झन् परिष्कृत बन्दै चेनएनालिसिसका अनुसार, ‘क्रिप्टो धोखाधडी र घोटालाहरू बढ्दै गएका छन् ।’ कम्पनीले पिग बुचरिङ अपरेसनहरूलाई समर्थन गर्ने बजारहरू र जेनएआईको प्रयोगलाई घोटाला गर्नेहरूका लागि आफ्नो अपरेसन विस्तार गर्न सजिलो र सस्तो बनाउने कारकको रूपमा उल्लेख गरेको छ । चेनएनालिसिसले भनेको छ कि जेनएआई प्रविधिले ‘क्रिप्टो घोटालाहरूलाई घातक रूपमा विस्तार गर्न सक्छ ।’ कम्पनीले ब्लकचेनमा सार्वजनिक रूपमा उपलब्ध लेनदेन डाटा ट्र्याक गरी घोटाला आम्दानी पहिचान गर्छ । कम्पनीका अनुसार २०२० देखि क्रिप्टो धोखाधडी गतिविधि प्रति वर्ष औसत २४ प्रतिशतले बढेको छ । क्रिप्टो करेन्सीहरू विशेष गरी बिटकोइन विगत केही वर्षमा मूल्य र लोकप्रियतामा उचाइमा पुगेको छ । किनभने लगानीकर्ताहरूले उच्च प्रतिफल र ब्लकचेन प्रविधिमा रुचि बढाएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नोभेम्बर निर्वाचनमा जितपछि यो क्षेत्रमा ठूलो उछाल आएको थियो किनभने नियामक वातावरण सजिलो हुने आशामा लगानीकर्ताहरूले क्रिप्टोमा धेरै लगानी गरेका थिए । चेनएनालिसिसका अनुसार अन्य फाइदाजनक घोटालाहरूमा क्रिप्टो ड्रेनर्स पनि हो । यसमा घोटाला गर्नेहरूले ब्लकचेन परियोजनाको रूपमा आफूलाई प्रस्तुत गरी पीडितहरूको क्रिप्टो वालेटको नियन्त्रण लिन्छन् । यसैगरी, उच्च प्रतिफल दिने ठगी लगानीकर्ताहरूलाई ठूलो नाफाको आश्वासन दिँदै ठग्ने प्रविधि हो । जनवरी २०२४ मा एक क्रिप्टो ड्रेनर ठगी गर्ने समूहले अमेरिका सुरक्षा नियामक (एसईसी) को नक्कली पहिचान प्रयोग गरेको घटना सार्वजनिक भएको थियो । चेनएनालिसिसका अनुसार क्रिप्टो करेन्सी एटीएमहरू पनि घोटालाका प्रमुख ठगीका केन्द्र हुन् जसमा अपराधीहरूले प्रायः सरकारी अधिकारी वा ग्राहक सेवा प्रतिनिधिको रूपमा आफूलाई प्रस्तुत गरी पीडितहरूलाई मेशिनमा नगद जम्मा गर्न प्रेरित गर्छन् । (एजेन्सीहरूको सहयोगमा) क्रिप्टोको प्रचार गरेपछि अर्जेन्टिनाका राष्ट्रपतिविरुद्ध महाभियोग लगाउने विपक्षी दलको धम्की