आतङ्कवादी आक्रमणमा परेका नेपालीका परिवारलाई इजरायलले सधैँ सहयोग गर्ने

काठमाडौं । नेपालका लागि इजरायलका राजदूत श्मुलिक ए बासले आतङ्कवादी आक्रमणमा परेका नेपालीका परिवारलाई सधैँ सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । इजरायलको ७७औँ स्वतन्त्रता दिवस तथा नेपाल-इजरायल कूटनीतिक सम्बन्ध स्थापनाको ६५औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा उनले पीडितका परिवारलाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन् ।  

आतङ्कवादी समूह हमासले २०२३ अक्टोबर ७ मा दक्षिणी इजरायलमा आक्रमण गर्दा ‘लर्न एण्ड अर्न’ कार्यक्रम अन्तर्गत त्यहाँ अध्ययनरत १० जना नेपाली मारिएका थिए । उक्त हमलामा मारिएका नेपाली विद्यार्थीप्रति श्रद्धाञ्जली अर्पण गर्दै राजदूत बासले उनीहरुका परिवारलाई निरन्तर सहयोग हुने बताए ।

‘इजरायलले आतङ्कवादबाट प्रभावित नेपाली विद्यार्थीका परिवारलाई आर्थिक र नैतिक सहयोग प्रदान गर्दै आएको छ, त्यो निरन्तर रहने छ । नेपालीसहित हमासको आक्रमणबाट पीडित भएका सबैसँग ऐक्यबद्धताका साथ इजरायल उभिएको छ,’ उनले भने । 

बहुआयामिकमा नेपाल-इजरायल सम्बन्धबारे चर्चा गर्दै उनले नेपालको  शिक्षा, कृषि, स्वास्थ्य, पूर्वाधार, जलस्रोत, ग्रामीण विकास र सुरक्षालगायत क्षेत्रमा पारस्परिक सहकार्य हुँदै आएको बताए । 

इजरायली राजदूतले चार हजारभन्दा बढी नेपालीले इजरायलका कृषि तथा शैक्षिक केन्द्रबाट तालिम लिएका, नेपालको कृषि आधुनिकीकरण र आर्थिक विकासलाई इजरायल सरकारबाट विशेष सहयोग रहेको तथा आगामी दिनमा  सूचना तथा सञ्चार र साइबर प्रविधिका क्षेत्रमा बहुपक्षीय सहयोग विस्तार गर्न तत्पर आफ्नो देशको सरकार तत्पर रहेको बताए । 

इजरायल सधैँ शान्ति, विकास र मैत्रीको पक्षमा रहेको दोहोर्याउँदै राजदूत बासले मध्यपूर्वमा दिगो शान्ति कायम गर्नु आफ्नो मुलुकको एक मात्र लक्ष्य रहेको उनको भनाइ छ । 

Share News