विकासन्युज

भिजिविलिटी कमजोर हुँदा ८६ पटक उडान अवरुद्ध, वृद्धवृद्धा र बिरामी प्रभावित

काठमाडौं । सङ्खुवासभा जिल्लाको तुम्लिङटार विमानस्थलमा भिजिविलिटी कमजोर हुँदा एक वर्षमा ८६ पटक उडान अवरुद्ध भएका छन् । जलवायु परिर्वतनको असरले प्रतिकूल मौसमका कारण भिजिविलिटी कमजोर हवाई उडान अवरुद्ध भएका हुन् । सन् २०२४ को अवधिमा ८६ पटक हवाई उडान अवरुद्ध भएको नागरिक उड्यान प्राधिकरण कार्यालय तुम्लिङ्टारका प्रमुख नवराज दाहालले जानकारी दिए । उनका अनुसार विमानस्थलमा उडानका लागि कम्तीमा ५ किलोमिटर वरपरको डाँडा देखिनुपर्छ । प्रतिकूल मौसम र जलवायु परिर्वतनको असरले समयमा पानी नपर्दा तुवाँलो र धुलोको कणले विमानस्थल आसपासका क्षेत्र ढाकेपछि विभिन्न समयमा हवाई उडान अवरुद्ध भएको उनले बताए । पछिल्लो समय हाइड्रोपावर, सडक निर्माणमा राखिएका प्लान्ट, आगलागीलगायत कारणले धुवाँ र धुलोका कणले विमानस्थल ढाक्ने गरेको उनको भनाइ छ । विमानथलको धावनमार्ग छेउछाउका डाँडामा तुवाँलो र धुलोको कणले ढाकेपछि उडान प्रभावित भएको हो । भिजिविलिटी कमजोर हुँदा सन् २०२५ मा मात्र २३ पटक हवाई उडान अवरुद्ध भएका प्रमुख दाहालले जानकारी दिए । ‘माघ र फागुनमा मात्र लगातार तीन साता उडान ठप्प भएको थियो । उडान अवरुद्ध हुदाँ वृद्धवृद्धा र बिरामी प्रभावित हुने गरेका छन्,’ उनले भने । उनका अनुसार तुम्लिङटार विमानस्थलमा निजी कम्पनीका विमानले उडान भर्दै आएका छन् । उडान सुचारु भएपछि सङ्खुवासभा, भोजपुर, धनकुटाका बासिन्दा लाभान्वित हुँदै आएका विमानस्थल कार्यालयले जनाएको छ । तुम्लिङटार विमानस्थल पहाडी जिल्लाको सबैभन्दा बढी यात्रु भिडभाड हुने गर्दछ । तुम्लिङटार विमानस्थलमा बुद्धको एटीआर-७२ ले दैनिक उडान भर्दै आएको थियो । धावनमार्गको स्तरोन्नति भएसँगै गत वर्षदेखि बुद्ध एयरको एटीआर-७२ सिटको जहाजले दैनिक उडान भर्न थालेको थियो । विश्वको पाँचौँ अग्गो हिमाल मकालु, अरुण तेस्रो जलविद्युत् आयोजना, पर्यटकका लागि छोटो दूरीको उडानका कारण यात्रुको घुइँचो हुने गर्दछ ।

उपन्यासकार घिमिरे सम्मानित

काठमाडौं । नवसर्जक साहित्य चौतारी नेपाल केन्द्रीय कार्यालय हेटौडाद्वारा आयोजित ‘दोस्रो नवसर्जक उत्सवमा’ लेखक तथा उपन्यासकार केशव घिमिरेलाई नवसर्जक प्रतिभा सम्मान प्रदान गरिएको छ । नयाँ लेखकहरुलाई हौसला र उनीहरूको साहित्यप्रतिको योगदानको कदर गर्दै दिइने यो पुरस्कार २०८१ मा बागमती प्रदेशबाट उपन्यासकार घिमिरेलाई दिएको हो । अग्रज स्रष्टाका रूपमा प्राध्यापक डाक्टर चुडामणि बन्धु, कोशी प्रदेशबाट चिन्तामणि निरौला, मधेश प्रदेशबाट सरोजप्रसाद शाह, बागमती प्रदेशबाट केशव घिमिरे, गण्डकी प्रदेशबाट रोशन तिमल्सिना, लुम्बिनी प्रदेशबाट निशा पाण्डे, कर्णाली प्रदेशबाट शिवराज शाही र सुदूरपश्चिम प्रदेशबाट सुनिल बुढा ’कछुवा’ सम्मानित भएका छन् । साहित्य क्षेत्रमा लामो समयदेखि कलम चलाउँदै आएका घिमिरे नवसर्जक प्रतिभाका उत्कृष्ट नवसर्जकका रूपमा चयन भएका छन । घिमिरे विगतका एक दशकदेखि कलम चलाउँदै आएका छन र उनको तीन वर्ष अगाडि नै ’रुपीका’ नामक उपन्यास बजारमा आइसकेको छ । प्रदेश स्तरीय छनोटमा केशव घिमिरे प्रथम स्थानमा छनोट भएको हुँदा उनलाई ’टिका ईश्वरी स्मृति नवसर्जक प्रतिभा सम्मान २०८१’ द्वारा सम्मान गरिएको हो। यस स्मृतिका संरक्षक गोकर्ण सुवेदी र जयन्ती अर्याल रहेका छन् । केशव घिमिरे विगतका लामो समयदेखि निरन्तर रूपमा लागि परेको र साहित्यलाई एक उचाइमा पु¥याउनको लागि उनले दिएको योगदानको कदर गर्दै यो सम्मान उनलाई अर्पण गरिएको हो । नेपाली साहित्यका विभिन्न विधामा कलम चलाउँदै आएका र नेपाली साहित्यका विभिन्न साहित्य संस्थाहरु, प्रज्ञा प्रतिष्ठान, वाङ्मय प्रतिष्ठान र अन्य विभिन्न साहित्यिक क्रियाकलापमा सक्रिय रूपमा अनवरत रुपमा लागि पर्दै आएका छन ।  

आइटीलाई विकासको मेरुदण्ड मान्नुपर्छ, देश समृद्ध बनाउन मानव पुँजी विकासमा सुधार आवश्यक

काठमाडौं । विज्ञहरूले देश समृद्ध बनाउन मानव पुँजी विकासमा सुधार आवश्यक रहेको बताएका छन् । ‘फ्रेन्डस् अन द क्लाउडः प्लेटफर्म अफ इन्फ्लुएन्सर्स नेपाल’ ले आयोजना गरेको ‘नेपाल चाइना पार्टनरसीपः एडभान्सिङ नेपालस् फिनान्सियल ग्रोथ’ कार्यक्रममा विभिन्न क्षेत्रका विज्ञहरूले आइटी, पूर्वाधार, शैक्षिक विकासमा जोड दिनुपर्ने र आवश्यकताअनुसार छिमेकी देश चीनसँग सहकार्य र साझेदारी गर्नुपर्ने बताएका हुन् । कार्यक्रममा लुम्बिनी प्रदेश योजना आयोगका सदस्य डा सुदनकुमार वलीले देश विकासका लागि आगामी लक्ष्य के हो भन्ने निर्धारण गर्दै अगाडि बढ्नुपर्ने धारणा राखे । उनले भने, ‘देश समृद्धितर्फ लिन मानव पुँजी विकासमा सुधार आवश्यक छ । शिक्षा र स्वास्थ्य क्षेत्रको जनशक्ति विकासमा ध्यान दिनुपर्छ । पर्यटनमा लगानी र आतिथ्य व्यवस्थापनमा ध्यान दिनुपर्छ । कृषि, यातायातमा चीन निकै अगाडि छ त्यसमा सहकार्य गर्न सकिन्छ ।’ प्रा.डा. केशव बस्यालले शिक्षा क्षेत्रको विकास र लगानीबारे सोच्नुपर्ने बेला आएको बबताए । उनले अब बन्ने नीति तथा कार्यक्रम प्रमाण तथा तथ्यका आधारमा बन्नुपर्नेमा जोड दिए । ‘पुरानै उद्देश्यले अब काम चल्दैन । दीर्घकालीन रूपमा कसरी काम गर्नुपर्छ भन्नेमा हामी गएनौँ । चीनले प्राइभेट क्षेत्रसँग सहकार्य गरेर अगाडि बढिरहेकामा रोजगारी सिर्जनामा नेपालले पनि त्यो मोडल अपनाउनुपर्छ,’ बस्यालले भने । पूर्वाधारविज्ञ लालकृष्ण केसीले पूर्वाधार समग्र देश विकाससँग जोडिएकाले यसमा प्रतिफल दिने गरी लगानी गर्नुपर्ने बताए । उनले पूर्वाधार विकास नभइ आर्थिक विकास र त्यो नभए सामाजिक विकास नहुने धारणा राखे । आइटीविज्ञ वसन्त वनले प्रविधिको गतिअनुसार काम गर्न नसके विकासको गति पछि पर्ने तर्क गरे । ‘आइटी क्षेत्रलाई विकासको मेरुदण्ड मानेर अघि बढ्नुपर्छ । यसले आर्थिक तथा सामाजिक विकासमा टेवा पुर्‍याउँछ । हामीसँग अवसर र चुनौती दुवै छन् । हाम्रा कमजोरी र सामार्थ्य के हुन् त त्यसलाई केलाएर अघि बढ्नुपर्छ । आवश्यकताअनुसार साझेदारी गर्न सकिन्छ,’ उनले भने । आयोजक संस्थाका अध्यक्ष शोभित उप्रेतीले विभिन्न क्षेत्रमा नेपाल र चीनसँगको सहकार्यले आर्थिक समृद्धिमा सहयोग पुग्ने बताए । हामीहरूसँग स्रोत भए पनि तिनको प्रयोग गर्न नजान्दा समस्या भएको धारणा राख्दै अब सीमित स्रोतसाधन उपयोग गरेर अघि बढ्नुपर्नेमा जोड दिए ।

मध्य चमेलिया जलविद्युत आयोजनाको शिलान्यास, ३ वर्षमा निर्माण सम्पन्न, लागत ६.२३ अर्ब रुपैयाँ

काठमाडौं । दार्चुलामा २८ मेगावाट क्षमताको जलविद्युत् आयोजनाको शिलान्यास गरिएको छ । जिल्लाको मार्मामा २८.३०४ मेगावाट क्षमताको मध्य चमेलिया जलविद्युत् आयोजनाको शनिबार शिलान्यास गरिएको हो । दार्चुला पावर लिमिटेडले निर्माण गर्ने आयोजनाको शिलान्यास गरिएको हो । मार्मा गाउँपालिका–२ लाम्बगरमा रहेको जलविद्युतको ड्याम क्षेत्रमा प्रतिनिधि सभा सदस्य एवं पूर्वमन्त्री दिलेन्द्रप्रसाद बडूले आयोजनाको शिलान्यास गरेका हुन् । जलविद्युत आयोजनाको ड्याम लाम्बगर र विद्युत् गृह सेरीमा रहने दार्चुला पावर लिमिटेडले जनाएको छ । ३ वर्षमा निर्माण सम्पन्न हुने आयोजनाको लागत ६ अर्ब २३ करोड ६२ लाख भन्दा बढी रहेको आयोजनाका सञ्चालक गुरु न्यौपानेले बताए । उनका अनुसार सेरीदेखि साढे ८ किलोमिटर लामो प्रसारण लाइनमार्फत विद्युत् चमेलियामा जोडिनेछ ।

पियोर इनर्जीले फागुन २० गतेदेखि आईपीओ बिक्री खुला गर्ने, कसले आवेदन दिन पाउँछन् ?

काठमाडौं । पियोर इनर्जीले फागुन २० गतेदेखि प्राथमिक सेयर (आईपीओ) निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ बिक्री गर्ने भएको हो । कम्पनीले जारी पुँजी ८० करोड रुपैयाँको २ प्रतिशत अर्थात् १ करोड ६० लाख रुपैयाँको प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका १ लाख ६० हजार कित्ता सेयरमा आयोजना प्रभावित क्षेत्र बाँके जिल्लाका स्थानिय बासिन्दाहरूले आवेदन दिन सक्नेछन् । यस्तै, कम्पनीले जारी पुँजीको १८ प्रतिशत अर्थात् १४ लाख ४० हजार कित्ता सेयरको १० प्रतिशत अर्थात् १ लाख ४४ हजार कित्ता सेयरमा नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी वैदेशिक रोजगार रहेका नेपालीहरूले आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओमा न्यूनतम १० कित्तादेखि आयोजना प्रभावित क्षेत्रका बासिन्दाले अधिकतममा १६ हजार कित्ता र वैदेशिक रोजारीमा रहेका नेपालीले अधिकतम ७ हजार २ सय कित्ता सेयरका आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओमा चैत ५ गतेभित्र आवेदन दिनु पर्नेछ । तर, आयोजना प्रभावित क्षेत्रलाई छुट्याएको सेयरमा पूर्ण आवेदन नपरेमा चैत २० गतेसम्म आवेदन दिने समय लम्बिनेछ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग रहेको छ । स्थानिय बासिन्दाले आयोजना स्थल, नबिल बैंक र लक्ष्मी सनराइज बैंकको कोहलपुर र नेपालगञ्ज शाखा, सिद्धार्थ बैंकको खजुरा, न्युरोड नेपालगञ्ज र वि पि चोक शाखा र कुमारी बैंकको चिसापानी, खजुरा, कोहलपुर, सुर्खेत रोड नेपालगञ्ज र रिमझिम बजार शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । साथै वैदेशिक रोजगारीमा रहेका नेपालीले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयर एपमार्फत आवेदन दिन सक्नेछन् । केयर रेटिङ्ग नेपालले कम्पनीलाई केयर एनपी डबल बी प्लस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ ।  

केआइआइटी घटनाबारे उडिसा मुख्यमन्त्रीसँग टेलिफोन वार्ता, कर्मचारीलाई स्थायी रुपमा हटाउन माग

काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले भारतको उडिसास्थित केआइआइटीमा नेपाली विद्यार्थी प्रकृति लम्सालको मृत्यु र त्यसपछि विकसित घटनाक्रमबारे आज उडिसाका मुख्यमन्त्री मोहनचरण माझीसँग टेलिफोनमा कुराकानी गरेकी छिन् । परराष्ट्रमन्त्रीले उनीसँग लम्सालको मृत्युको निष्पक्ष अनुसन्धान र दोषीमाथि कारबाहीका साथै त्यहाँ अध्ययनरत नेपाली विद्यार्थीको सुरक्षित वातावरणमा पठनपाठनको व्यवस्थाका लागि आग्रह गरेको परराष्ट्रमन्त्रीको निजी सचिवालयले जनाएको छ । नेपाली विद्यार्थीमाथि दुर्व्यवहार गर्ने शिक्षक तथा कर्मचारीलाई कलेजले बर्खास्त गरेकोमा उनीहरुलाई अस्थायी नभएर स्थायी रुपमा नै हटाउन उडिसा सरकारले नै पहल गरिदिनका लागि उनले आग्रह गरेकी थिइन्। यस विषयमा कलेजमा समिति बनेको र त्यहाँ नयाँ दिल्लीस्थित नेपाली राजदूतावासका कूटनीतिक कर्मचारी खटिएकाले समन्वयका लागि मन्त्री देउवाले मुख्यमन्त्री माझीसँग आग्रह गरिन् । मुख्यमन्त्री माझीले घटनालाई उडिसा राज्यले नै गम्भीर रुपमा लिएको र लम्साललाई न्याय र दोषीमाथि कारबाहीका लागि उच्चस्तरीय छानबिन समिति गठन गरेर काम सुरु गरिएको जानकारी गराए । साथै उनले त्यहाँ अध्ययनरत नेपाली विद्यार्थीलाई सुरक्षित रुपमा पठनपाठनको व्यवस्थाका लागि उडिसा सरकारका तर्फबाट आवश्यक सबै सहयोग उपलब्ध गराउने आश्वासन दिए । परराष्ट्र मन्त्रालय र नेपाली राजदूतावास र उडिसा सरकार, केआइआइटी प्रशासन र भारतीय सुरक्षा अधिकारीको सम्पर्कमा रहेरसमन्वयका साथ काम गरिरहेका छन् ।

कुम्भमेलाबाट फर्किएका ४ नेपाली तीर्थयात्रीको सवारी दुर्घटनामा मृत्यु, ६ जना घाइते

काठमाडौं । भारतको उत्तर प्रदेशस्थित प्रयागराजमा जारी कुम्भमेलाबाट घर फर्किएका यहाँका ४ जनाको सवारी दुर्घटना मृत्यु भएको छ भने अन्य ६ जना घाइते भएका छन् । उत्तर प्रदेशका गोरखपुर लिङ्क रोडमा गए राति भएको दुर्घटनामा कञ्चनरूप नगरपालिका-७ का ६५ वर्षीय परशुराम चौधरी, ६४ वर्षीया लिलावती चौधरी, वडा नम्बर-५ की ५५ वर्षीया हरिहर वती यादव र उनकी भाउजू सुनसरीको कुशहा गाउँपालिका-१ की समतोलियादेवी यादवको मृत्यु भएको कञ्चनरुप नगरपालिका- ७ का वडाध्यक्ष समानन्द चौधरीले बताए । सोही गाडीमा सवार लिलावतीका श्रीमान् कञ्चनरुप नगरपालिका १ स्थित लक्ष्मीनारायण माधयमिक विद्यालय वैरवाका शिक्षक उपेन्द्र नारायण चौधरी, वडा नम्बर ७ कै लालुदेबी यादव, वडा नम्बर ५ का जीतु यादव, मुकेश यादव, उदयपुर निवासी उपेन्द्रका बहिनीज्वाई र चालकसहित ६ जना घाइते भएका छन् । उनीहरुको गोरखपुर अस्पतालमा उपचार भइरहेको छ । तीन जना मृतकका छोरा शव लिन तीन वटा एम्बुलेन्स लिएर गोरखपुरतर्फ आज प्रस्थान गरेका वडा अध्यक्ष चौधरीले जानकारी दिए ।

प्रथम महिला राधिका शाक्यको आत्मकथा ‘करुणा’ लोकार्पण

काठमाडौं । प्रथम महिला राधिका शाक्यको आत्मकथा ‘करुणा’ लोकार्पण भएको छ । आज यहाँ आयोजित एक समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यमा लेखक शाक्य, नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपमहासचिव प्रदीप ज्ञवाली, साहित्यकार अमर न्यौपाने र गायिका आनी छोइङ डोल्माले उक्त पुस्तक लोकार्पण गरेका हुन् । प्रधानमन्त्री ओली र प्रथम महिला शाक्य दाम्पत्य जीवनमा बाँधिएको ३७औँ वार्षिकोत्सवका अवसरमा पाणिनी बुक्स प्रालिद्वारा प्रकाशित उक्त पुस्तकको लोकार्पण समारोहमा मन्त्रिपरिषद् सदस्यका साथै समाजका प्रतिष्ठित व्यक्तिहरु सहभागी थिए । लेखक शाक्यले आत्मकथामा आफ्नो दृष्टि, भोगाई र अनुभूतिसँगै प्रधानमन्त्री ओलीको सङ्घर्ष, कठिनाई, सफलता र समाजसेवाका विषय समेटिएको बताए । पुस्तकमा शाक्यको बाल्यकाल, पढाइ, जागिर र जीवनका उकालीओराली तथा नेता ओलीसँग विवाह बन्धनमा बाँधिएपछिका अनेक प्रसङ्ग उल्लेख छन् । ‘न म साहित्यकार, न लेखिका तर मनमा लागेका कुरा लेख्ने गर्थे । त्यही सङ्कलन आज पुस्तकाकारमा आएको छ,’ लेखिका शाक्यले भनिन्, म बाल्यकालदेखि नै गरिब, दुःखी, रोगी असहायलाई देखेपछि चिन्तित हुन्थे । मैले केपी ओलीसँग करुणाले बिहे गरेँ ।’