प्रमुख क्षेत्रमा चिनियाँ लगानीमाथि कडा प्रतिबन्ध लगाउन ट्रम्पको आदेश
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार एक आदेशपत्रमा हस्ताक्षर गर्दै प्रविधि र महत्वपूर्ण पूर्वाधारजस्ता रणनीतिक क्षेत्रमा चिनियाँ लगानीमाथि अङ्कुश लगाउन निर्देशन दिएका छन् । विश्वका दुई ठूला अर्थतन्त्रबीच बढ्दो व्यापार तनाव र रणनीतिक प्रतिस्पर्धाका बेला यो कदम चालिएको हो । ह्वाइट हाउसले भनेको छ, ‘यसको उद्देश्य विदेशी लगानीलाई बढावा दिनु हो र अमेरिकी राष्ट्रिय सुरक्षा हितलाई ‘विशेष गरी चीनजस्ता मुलुकबाट उत्पन्न खतराहरूबाट’ रक्षा गर्नु हो ।’ ह्वाइट हाउसका अनुसार विशेष गरी, पत्रमा चीनलाई ‘आफ्नो सैन्य, गुप्तचर र अन्य सुरक्षा उपकरणहरूको विकास र आधुनिकीकरण गर्न संयुक्त राज्य अमेरिकाको पूँजीको बढ्दो दोहन’बारे लक्षित गरिएको हो । यसले अमेरिकामा विदेशी लगानी सम्बन्धी समिति ९सीएफआईयूएस० लाई प्रविधि, महत्वपूर्ण पूर्वाधार, स्वास्थ्य सेवा र ऊर्जाजस्ता प्रमुख अमेरिकी क्षेत्रहरूमा चिनियाँ लगानीलाई प्रतिबन्धित गर्न प्रयोग गर्न आह्वान गरेको छ। सीएफआईयूएस संयुक्त राज्य अमेरिकामा विदेशी लगानीको राष्ट्रिय सुरक्षा प्रभावको तौल गर्ने एक समिति हो । ह्वाइट हाउसले भनेको छ, “राष्ट्रपति ट्रम्पले विदेशी शत्रुहरूलाई संयुक्त राज्य अमेरिकाको फाइदा लिनबाट रोक्ने आफ्नो वाचा पूरा गरिरहनुभएको छ । ट्रम्पले यस महिनाको सुरुमा चीनबाट आयात हुने सबै उत्पादनमा १० प्रतिशतको अतिरिक्त भन्सार शुल्क लगाएपछि शुक्रबारको आदेश आएको हो। बेइजिङले उक्त आरोपको विरोधगर्दै यसको खण्डन गरेको छ । गत बुधबार, अमेरिकी राष्ट्रपति ट्रम्पले चीनसँग व्यापार सम्झौता ‘सम्भव’ रहेको बताएका थिए ।
मुग्लिन-पोखरा सडकको दमौलीमा कालोपत्र गर्न थालियो, पूर्वी खण्डको ठेक्का ६ अर्ब २१ करोड
काठमाडौं । मुग्लिन-पोखरा सडक विस्तारअन्तर्गत तनहुँको सदरमुकाम दमौली बजारमा कालोपत्र सुरु भएको छ । मुग्लिन पोखरा सडक योजना ९पूर्वी खण्ड० का अधिकांश स्थानमा कालोपत्र सकिँदा लामो समयपश्चात् दमौली बजारमा कालोपत्र सुरु भएको हो । दमौलीस्थित व्यास नगरपालिका-२ बागबजारमा शुक्रबारदेखि कालोपत्र थालिएको पूर्वी खण्डका इञ्जिनियर विष्णुप्रसाद पाण्डेले जानकारी दिए । दमौली बजारमा सडक मापदण्डभित्र रहेका घरहरु भत्काउने क्रमले तीव्रता लिएसँगै बागबजारमा कालोपत्र थालिएको उनले बताए । ‘बागबजार टोलमा एकतर्फी कालोपत्र थालिएको छ । एकतर्फीको कालोपत्र सकिएसँगै अर्कोतर्फ कालोपत्र हुनेछ,’ उनले भने । बागबजार क्षेत्रमा सडक नाला निर्माणसँगै कालोपत्रलाई अगाडि बढाइएको उनको भनाइ छ । पूर्वी खण्डमा हालसम्म ७७.७ प्रतिशत भौतिक प्रगति भएको छ । पूर्वी खण्डमा पर्ने ४१.४५ किलोमिटर दूरीमध्ये ३४.५ किमीमा चार लेन र ३.१ मा दुई लेन सडक कालोपत्र भइसकेको छ । यो खण्डमा १४ वटा साना पुल निर्माण सकिएका छन् । व्यास नगरपालिका-४ र ५ जोड्ने मादी नदीमा निर्माण भइरहेको पुलको काम करिब ६० प्रतिशत सकिएको छ । पूर्वी खण्डमा विसं २०७७ माघ १७ गते सम्झौता भई २०७८ वैशाख २ गतेदेखि काम सुरु भएको थियो । पूर्वी खण्डको ठेक्का चाइना कम्युनिकेशन कन्स्ट्रक्सनले पाएको छ । विसं २०२६ मा रेखाङ्कन भएको सडकमा सवारीको चाप बढ्दै गएपछि एसियाली विकास बैंक (एडिबी) को ऋण सहयोगमा सडक चार लेनको बनाउन लागिएको हो । पूर्वी खण्डको ठेक्का ६ अर्ब २१ करोड ३१ लाख १३ हजार रुपैयाँमा लागेको छ ।
सिटिजन लाइफको २८.४० प्रतिशत लाभांश घोषणा, बोनस कति ?
काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ । कम्पनीको सञ्चालक समितिको फागुन ८ गते बसेको बैठकले सेयरधनीहरूलाई २८.४० प्रतिशत लाभांश प्रस्ताव गरेको हो । कम्पनीले गत आर्थिक वर्ष २०८०/८१ को नाफाबाट सेयरधनीहरूलाई हाल कायम चुक्ता पुँजी ३ अर्ब ९३ करोड ७५ लाख रुपैयाँको २६.९८ प्रतिशतका दरले १ अर्ब ६ करोड २५ लाख रुपैयाँ बोनस सेयर र कर प्रयोजनका लागि १.४२ प्रतिशतका दरले ५ करोड ५९ लाख २१ हजार रुपैयाँ नगद गरी कुल २८.४० प्रतिशत लाभांश प्रस्ताव गरेको हो । कम्पनीले प्रस्ताव गरेको उक्त लाभांश नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई आगामी ८औँ वार्षिक साधारण सभाले पारित गरेपश्चात् सेयरधनीहरूलाई वितरण गरिनेछ ।
नेपाल बैंकले डाक्यो ६५औँ वार्षिक साधारण सभा, ३ जना सञ्चालकको निर्वाचन गर्ने
काठमाडौं । नेपाल बैंकले वार्षिक साधारण सभा बोलाएको छ । बैंक सञ्चालक समितिको फागुन ८ गते बसेको बैठकले चैत ६ गते काठमाडौंमा बिहान साढे १० बजे ६५औँ वार्षिक साधारण सभा बोलाएको हो । बैंकको सभाले आर्थिक वर्ष २०८०/८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन र लेखापरीक्षकको प्रतिवेदन सहितको २०८१ असार मसान्तको वासलात, गत वर्षको नाफा तथा नोक्सान हिसाब, नगद प्रवाह विवरण र सोही अवधिको वित्तीय विवरण छलफल गरी पारित गर्नेछ । साथै बैंकको सभाले आर्थिक वर्ष २०८१/८२ का लागि लेखापरीक्षक नियुक्त गर्ने र पारिश्रमिक निर्धारण गर्नेछ । यस्तै सर्वसाधारण सेयरधनीहरूको तर्फबाट प्रतिनिधित्व गर्ने ३ जना सञ्चालकको निर्वाचन गर्नेछ ।
प्रतिशोधात्मक कर लगाउने राष्ट्रपति ट्रम्पको चेतावनी, डिजिटल करसम्बन्धी आदेशमा हस्ताक्षर गर्ने
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी प्रविधि कम्पनीहरूमाथि डिजिटल कर लगाउने देशहरूमाथि प्रतिशोधात्मक कर लगाउने बताएका छन । डिजिटल करसम्बन्धी आदेशमा हस्ताक्षर गर्ने कि नगर्ने भन्ने प्रश्नमा ट्रम्पले छिट्टै यस्तो आदेशमा हस्ताक्षर गर्ने जवाफ दिए । ‘हामी त्यो (डिजिटल) कर लगाउने घोषणा गर्दैछौँ । अन्य देशहरूमा डिजिटल करका सम्बन्धमा उनीहरूले हामीलाई जे गरिरहेका छन् त्यो डरलाग्दो अवस्था छ । त्यसैले हामी यसको घोषणा गर्न जाँदैछौं,’ उनले भने । ह्वाइट हाउसले यसै महिनाको सुरुमा जारी गरेको तथ्य पुस्तिकामा, ‘अमेरिकी फर्महरूमा कर लगाउने अनुमति दिने अमेरिकासँग त्यस्तो कुनै संयन्त्र छैन । व्यापारिक साझेदारहरूले अमेरिकी कम्पनीहरूलाई डिजिटल सेवा कर भनिने कुनै पनि कुराको लागि बिल दिन्छन् ।’ ह्वाइट हाउसले भनेको छ, ‘क्यानडा र फ्रान्सले यी करहरू प्रयोग गरेर अमेरिकी कम्पनीहरूबाट प्रतिवर्ष ५० करोड अमेरिकी डलरभन्दा बढी कर सङ्कलन गर्छन्। समग्रमा, यी गैर–पारस्परिक करहरूले अमेरिकी फर्महरूलाई प्रति वर्ष दुई अर्ब डलरभन्दा बढी अतिरिक्त रकम बराबरको खर्च लगाउँछन् ।’ हालैका वर्षहरूमा, धेरै युरोपेली देशहरूले आफ्नो देशमा गुगल, अमेजन, एप्पल र मेटाजस्ता ठूला प्रविधि कम्पनीहरूको सञ्चालनमा डिजिटल करको लागि सक्रिय रूपमा दबाब दिएका छन्, जसको संयुक्त राज्य अमेरिकाले कडा विरोध गरेको छ। ट्रम्पको पहिलो कार्यकालको दौडानमा उहाँले यी करका उपायहरूले अमेरिकी व्यवसायहरूलाई अनुचित रूपमा असर पारेको आरोप लगाउँदै धेरै व्यापार साझेदारहरूको डिजिटल सेवा करहरूमा ‘३०१ वटा अनुसन्धान’ शुरू गरेका थिए । जो बाइडनले कार्यभार सम्हालेपछि संयुक्त राज्य अमेरिकाले अक्टोबर २०२१ मा अस्ट्रिया, बेलायत, फ्रान्स, इटाली र स्पेनसँग डिजिटल सेवा कर विवादको सम्बन्धमा सम्झौता गरेको थियो र आर्थिक सहयोग र विकास सङ्गठन ९ओइसिडी० को विश्वव्यापी कर सम्झौताको ढाँचा अन्तर्गत मुद्दा समाधान गर्न सहमत भएको थियो। तर जनवरी २० मा कार्यभार सम्हालेको पहिलो दिन ट्रम्पले ओइसिडी फ्रेमवर्कअन्तर्गत भएको विश्वव्यापी कर्पोरेट संस्थाका लागि न्यूनतम कर सम्झौताको संयुक्त राज्य अमेरिकामा ‘कुनै प्रभाव’ नभएको भन्दै बाइडेन प्रशासनले लगभग १४० देशहरूसँग वार्ता गरेको सम्झौताबाट प्रभावकारी रूपमा पछि हटेको राष्ट्रपतिको आदेशमा हस्ताक्षर गरेका थिए ।
स्थानीय तहबाट समाजवादको अभ्यास गर्ने अभियानमा माओवादी केन्द्र
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी अब आफ्नै वर्गमा फर्केर स्थानीय तहबाट समाजवादको अभ्यास गर्ने अभियानमा अघि बढेको बताएका छन् । माओवादी केन्द्र केन्द्रीय कार्यालयले आयोजना गरेको स्थानीय तहबाट समाजवादको पूर्वाधार निर्माणसम्बन्धी अभिमुखीकरण कार्यक्रमको आज यहाँ उद्घाटन गर्दै उनले उक्त कुरा बताएका हुन् । माओवादी केन्द्रले नेतृत्व गरेका सबै पालिका नमुना बन्नुपर्ने बताउँदै स्थानीय तहबाट समाजवादी अर्थतन्त्र, संस्कृति र शैलीको थालनी गर्न आवश्यक रहेको उनको भनाइ छ । अध्यक्ष दाहालले समाजवादको सैद्धान्तिक बहसलाई व्यावहारिक रुपमा स्थानीय तहबाट निर्माण गर्दै लैजाने पार्टीले निर्णय गरेको जानकारी दिए । पार्टीले आठौँ महाधिवेशनबाट अघि सारेको नेपाली विशेषताको समाजवाद निर्माण गर्ने मर्ममा साथ माओवादी केन्द्रले नेतृत्व गरेका कयौं स्थानीय पालिकाले उत्कृष्ट नतिजा दिदै आएको उनको कथन छ । ‘अब विकास विदेशीको नक्कल गरेर होइन, आफ्नै विशेषतामा अघि बढाउनुपर्छ,’ उनले भने । अध्यक्ष दाहालले पछिल्लो केही समय आवश्यकताभन्दा बढी सहकार्य र समीकरण गर्दै जाँदा आफ्नो वर्ग र समुदायसँगको सम्बन्ध कमजोर भएको गम्भीर आत्मसमीक्षा गरेर आफ्नै वर्गमा फर्कनुपर्छ र पार्टीलाई पुरानै अवस्थामा फर्काउन सकिन्छ भन्ने निष्कर्षमा पुगेर नयाँ अभियान थालिएको जानकारी दिए ।
३२ अर्ब ४१ करोडको सोयाबिन तेल निर्यात, ८ खर्ब ६१ अर्ब घाटा
काठमाडौं । चालु आर्थिक वर्षको माघ मसान्तसम्ममा मुलुकले कुल ११ खर्ब १५ अर्ब ७९ करोड रुपैयाँको वैदेशिक व्यापार गर्दा ८ खर्ब ६१ अर्ब ३८ करोड रुपैयाँ घाटा व्यहोरेको छ । भन्सार विभागले सार्वजनिक गरेको माघ मसान्तसम्मको वैदेशिक व्यापारको अवस्था प्रतिवेदनअनुसार यो अवधिमा ९ खर्ब ८८ अर्ब ५८ करोड रुपैयाँको आयात र १ खर्ब २७ अर्ब २० करोड रुपैयाँको निर्यात भएको हो । विभागका अनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा चालु आर्थिक वर्षमा आयात १०.०९, निर्यात ४६.५० र कूल वैदेशिक व्यापार १३.३० प्रतिशतले बढेको छ । त्यस्तै, गत आर्थिक वर्षको तुलनामा समीक्षा अवधिमा कुल वैदेशिक व्यापारघाटा ६.२० प्रतिशतले बढेको छ । कूल वैदेशिक व्यापारमा आयातको हिस्सा ८८.६० र निर्यातको हिस्सा ११.४० प्रतिशत रहेको छ । सबैभन्दा ठूलो व्यापार साझेदार भारतसँग मात्र नेपालले यो अवधिमा ४ खर्ब ९८ अर्ब ३४ करोड रुपैयाँ व्यापार घाटा व्यहोरेको विभागको तथ्याङ्कबाट देखिन्छ । चालु आर्थिक वर्षको माघ मसान्तसम्ममा भारतबाट ५ खर्ब ९६ अर्ब ३५ करोड रुपैयाँको वस्तु आयात हुँदा ९८ अर्ब ७५ करोड रुपैयाँ बराबरको निर्यात भएको छ । त्यस्तै, चीनसँगको व्यापार घाटा १ खर्ब ९० अर्ब ४४ करोड रुपैयाँ बराबर छ । पछिल्लो सात महिना अवधिमा चीनबाट १ खर्ब ९२ अर्ब ४५ करोड रुपैयाँको वस्तु आयात हुँदा २ अर्ब रुपैयाँको मात्रै निर्यात भएको छ । अर्जेन्टिना, युक्रेन, संयुक्त अरब ईमिरेट्स, अस्ट्रेलियालगायत मुलुकसँगको व्यापार घाटा उच्च छ । नेपालले ३५ वटा मुलुकसँगको वैदेशिक व्यापारमा नाफा गरिरहेको छ । चालु आर्थिक वर्षको माघ मसान्तसम्ममा सबैभन्दा धेरै व्यापार नाफा अफगानस्तानसँग छ । अफगानस्तानसँग सात महिनामा १ करोड २४ लाख रुपैयाँको आयात र ५९ करोड ४५ लाख रुपैयाँको निर्यात भएको छ । डेनमार्क, रसियन फेडेरेसन, अस्ट्रिया, नर्वे, माल्दिभ्सलगायत देशहरुसँग व्यापार नाफा बढी रहेको छ । विभागको तथ्याङ्कअनुसार माघ मसान्तसम्म सबैभन्दा धेरै पेट्रोलियम पदार्थको आयात भएको छ । यो अवधिमा २९ अर्ब ४५ करोड १६ लाख रुपैयाँको डिजेल, २४ अर्ब ५८ करोड ३२ लाख रुपैयाँको पेट्रोल र ६ अर्ब ६१ करोड ६५ लाख रुपैयाँको एलपि ग्यास आयात भएको छ । त्यस्तै, ५ अर्ब ५० करोड ९० लाख रुपैयाँ बराबरको विद्युतीय सवारीसाधन र ५ अर्ब ४३ करोड ४१ लाख रुपैयाँको अन्य सवारीसाधन आयात भएको छ । सात महिनामा ३ अर्ब ५३ करोड ९७ लाख रुपैयाँ बराबरको स्मार्टफोन आयात भएको पनि विभागले जनाएको छ । नेपालले बढी निर्यात गरेका वस्तुहरुमा भटमास तेल पहिलो स्थानमा छ । माघ मसान्तसम्ममा ३२ अर्ब ४१ करोड ५७ लाख रुपैयाँ बराबरको सोयाबिन तेल निर्यात भएको छ । त्यस्तै, ६ अर्ब ५७ करोड ६७ लाख रुपैयाँको सूर्यमुखी तेल, ५ अर्ब ३८ करोड ८० लाख रुपैयाँको अलैँची, ३ अर्ब ८९ करोड ५२ लाख रुपैयाँको कार्पेट, ३ अर्ब १० करोड रुपैयाँको धागो र ३ अर्ब बराबर रुपैयाँको चिया निर्यात भएको छ ।
एभरेष्ट ग्यासले नष्ट गर्याे पुराना ५३६ सिलिण्डर
काठमाडौं । एभरेष्ट ग्यासले पुराना र असुरक्षित सिलिण्डरहरू नष्ट गरेको छ । फागुन ९ गते एसजि ग्रुपका अध्यक्ष शिव प्रसाद घिमिरेको अध्यक्षतामा पुराना काम नलाग्ने ग्यास सिलिन्डरहरू नष्ट गरिएको हो । सुरक्षाको पक्षलाइ विशेष महत्व दिँदै त्यस्ता सिलिण्डरहरू नष्ट गरिएको कम्पनीले जनाएको छ । एभरेष्ट ब्राण्डको लोगो भएका ५३६ सिलिण्डर ग्यास नष्ट गरिएको हो । जसको बजार मूल्य करिब १४ लाख रुपैयाँ बरावरको हुन आउने कम्पनीले जनाएको छ । गुणस्तर तथा नापतौल कार्यालयका जय प्रकाश चौधरी, जिल्ला प्रशासन कार्यालयका भरत पाण्डे, प्रहरी प्रभाग चल्नाखेलका हरक सिंह कुवँर र कृष्णबहादुर खत्री । दक्षिणकाली नगरपालिका वडा नम्बर १ का अध्यक्ष जय थापा मगर लगायतको उपस्थितिमा पुराना ग्यास नष्ट गरिएको हो ।