काठमाडौं । कालीमाटीमा बिक्रीका लागि ल्याइएको हरियो धनियाँमा अत्यधिक मात्रामा विषादी भेटिएको छ ।
काभ्रेपलाञ्चोकबाट मंगलबार कालीमाटी तरकारी बजारमा ल्याइएको हरियो धनियाँमा ९९.३७९ प्रतिशत ‘अर्गानोफस्फेट’ नामक विषादी फेला परेको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ ।
समितिको आग्रहमा केन्द्रीय कृषि प्रयोगशालाले मंगलबार कालीमाटी बजारका १७ वटा पसलबाट संकलन गरिएको १७ थरी तरकारी तथा फलफूलको विषादी परीक्षण गरेको थियो । परीक्षणमा हरियो धनियाँमा अत्यधिक मात्रामा विषादी भेटिएको पुष्टि भएको हो ।
विषादीको मात्रा अत्यधिक भएका कारण ती धनियाँ उपभोगका लागि अयोग्य घोषित गरिएको छ ।
हालको मापदण्ड अनुसार ३५ प्रतिशतभन्दा कम विषादी भएको तरकारी उपभोगयोग्य मानिन्छ भने ३५ देखि ४५ प्रतिशतसम्म भएको खण्डमा केही दिनपछि मात्र उपभोग गर्न मिल्ने व्यवस्था छ । तर ४५ प्रतिशतभन्दा बढी विषादी भएको तरकारी वा फलफूल खान नहुने मापदण्ड सरकारले बनाएको छ ।