विकासन्युज

कर्मचारी सञ्चय कोषले साढे ६ हजार रुपैयाँ भाडा तोक्दा शिखर इन्स्योरेन्सले १० हजार रुपैयाँ तिर्ने

काठमाडौं । कर्मचारी सञ्चय कोषको लगनखेलस्थित अफिस कम सपिङ कम्लेक्स भवनको पसल एकाईहरू भाडामा लागेका छन् । कोषको लगनखेलस्थित अफिस कम सपिङ कम्लेक्स भवनमा रहेका तीन वटा पसल इकाइ भाडामा लागेका हुन् ।  कोषले वैशाख २ गते पसल नम्बर १२३, ३०९ र २११ का लागि बोलपत्र आह्वान गरेको थियो । उक्त बोलपत्र अनुसार शिखर इन्स्योरेन्सल, निर्भाना म्युजिक प्रालि र वि सिलवाल एण्ड एसोसिएट्सले भाडामा लिएका हुन् ।  कोषले ५.४ वर्गफिट रहेको १२३ नम्बर पसलको न्यूनतम मासिक भाडा ६ हजार ७५० रुपैयाँ तोकेको थियो । शिखर इन्स्योरेन्सले मासिक १० हजार २६० रुपैयाँमा बोलपत्र पेस गरेपछि कोषले स्वीकृत गरेको जनाएको छ ।  यस्तै, २५२ वर्गफिट क्षेत्रफल रहेको ३०९ नम्बर पसलको न्यूनतम मासिक भाडा ३७ हजार ८ सय रुपैयाँ ताकेकोमा निर्भाना म्युजिकले ४५ हजार रुपैयाँमा भाडामा लिएको कोषले जनाएको छ ।  कोषका अनुसार मासिक ८ हजार १ सय रुपैयाँ न्यूनतम मूल्य तोकेर २११ नम्बर पसल बिक्रीमा राखेकोमा सिलवाल एण्ड एसोसिएट्सले ८ हजार ५ सय रुपैयाँ भाडामा लिएको छ ।   

पौने ११ करोड रुपैयाँको भन्सार छलीका सामान बरामद

काठमाडौं । झापाका विभिन्न स्थानबाट सशस्त्र प्रहरीले चालू आर्थिक वर्षको साउनदेखि जेठ ७ गतेसम्ममा १० करोड ८० लाख ६४ हजार ६६४ रुपैयाँको भन्सार छलीका सामान बरामद गरेको छ । सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गण हेड क्वार्टर झापाका गणपति सशस्त्र प्रहरी उपरीक्षक तुल बहादुर भण्डारीका अनुसार उक्त मूल्य बराबरको लत्ताकपडा, खाद्यान्न, मोटरपाट्र्स लगायत सामान बरामद गरिएको हो । बरामद सामग्री सम्बन्धित निकायमा दाखिला गरिएको उनले बताए ।  ‘सीमावासीसँग सशस्त्र प्रहरी कार्यक्रम’ अन्तर्गत चार स्थानमा खानेपानी व्यवस्थापन, सरसफाइ तथा सरसफाइजन्य सामग्री वितरण, २० युवालाई इलेक्ट्रिसियन तालिम, बुवाआमा गुमाएकी १० वर्षीया बालिका रानी ऋषि देवलाई नेपाल एपिएफ स्कूल सप्तरीमा कक्षा-१२ सम्म अध्ययन छात्रवृत्ति प्रदान, निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको गणपति भण्डारीले जानकारी दिए ।  यसैबिच सशस्त्र प्रहरी बल नेपाल नं २ गण हेडक्वार्टर झापाले आज १८औँ स्थापना दिवस मनाएको छ । सशस्त्र प्रहरी बल नेपाल नं १ बराह वाहिनी मुख्यालय सुनसरीका वाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक कुमार न्यौपानेको प्रमुख आतिथ्यमा गण परिसरमा आज स्थापना दिवस मनाएको हो । कार्यक्रममा कर्तव्य पालनको सिलसिलामा दिवङ्गत हुनुभएका स्व सोमबहादुर तामाङको परिवारलाई सम्मान गरिएको थियो । उहाँको परिवारलाई ५१ हजार रुपैयाँ नगदसमेत प्रदान गरिएको छ । कार्यक्रममा वैशाख महिनामा उत्कृष्ट हुने मासिक जवानलगायत अन्य क्रियाकलाप तथा खेल विधामा प्रथम हुने कर्मचारीलाई प्रशंसापत्र प्रदान गरिएको थियो । प्रमुख अतिथि वाहिनीपति न्यौपानेले सशस्त्र प्रहरी बल नेपालले जुनसुकै अवस्थामा आइपरेका कठिनाइ र चुनौतीपूर्ण परिस्थितिमा जिम्मेवारी निर्वाह गरिरहेको बताए । सीमा सुरक्षा र अवैध गतिविधि रोकथामका लागि सशस्त्र प्रहरी बल नेपालको विशेष योगदान रहेको उनको भनाइ छ ।

निफ्राले जेठ १८ गतेदेखि ५ अर्बको ऋणपत्र बिक्री गर्ने, ७ वर्षसम्म ६ प्रतिशत ब्याज दिने

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)ले जेठ १८ गतेदेखि ऋणपत्र निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । बैंकले ७ वर्ष अवधिको वार्षिक ६ प्रतिशत ब्याजदरमा ‘निफ्रा हरित उर्जा ऋणपत्र ६ प्रतिशत २०८८÷८९’ बिक्री गर्न लागेको हो ।  बैंकले प्रतिऋणपत्र १ हजार रुपैयाँ अंकित मूल्य दरका ५ अर्ब रुपैयाँको ५० लाख कित्ता ऋणपत्र निष्काशन गर्नेछ । जसमध्ये ६० प्रतिशत अर्थात ३ अर्ब रुपैयाँको ३० लाख कित्ता ऋणपत्र व्यक्तिगत र बाँकी ४० प्रतिशत अर्थात २ अर्ब रुपैयाँको २० लाख कित्ता सर्वसाधारणलाई बिक्री गरिनेछ । सर्वसाधारणलाई छुट्याइएको ऋणपत्रमध्ये १ लाख कित्ता सामूहिक लगानी कोष र सर्वसाधारण लगानीकर्तालाई १९ लाख कित्ता बिक्री गरिनेछ । बैंकको ऋणपत्रमा लगानीकर्ताले न्यूनतम २५ कित्तादेखि अधिकतममा १० लाख कित्तासम्म आवेदन दिनुपर्नेछ । साथै बैंकको ऋणपत्रमा लगानीकर्ताहरूरूे जेठ २१ गते भित्र आवेदन दिनुपर्नेछ । यदि उक्त अवधिभित्र पूर्ण आवेदन नपरेमा असार १ गतेसम्म लम्बिनेछ ।  बैंकको ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा एनआइएमबि एस क्यापिटल रहेको छ । बैंकको ऋणपत्रमा लगानीकर्ताले सिआस्बा सेवामा सहभागी बंक तथा वित्तीय संस्थाबाट र सिडिएस एण्ड क्लियरिङ्गले निर्माण गरेको मेरो सेयरबाट पनि आवेदन दिन सक्नेछन् ।  इक्रा नेपालले बैंकलाई इक्राएनपी इस्यूअर रेटिङ्ग ट्रिपल बी प्रदान गरेको छ । यसले समयमा वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा मध्यम मात्रामा सुरक्षित रहेको संकेत गर्दछ ।     

अहिलेकै नकारात्मक सोचले देश बन्दैनः परराष्ट्रमन्त्री

काठमाडौं । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले समाजमा अहिले व्याप्त रहेको नकारात्मक सोच र विचारले समाज र देश नबन्ने बताएकी छिन् । नेपाली जनसम्पर्क समिति जापानद्वारा टोकियोमा आयोजित स्वागत समारोहमा उनले केही पनि हुँदैन र सम्भव पनि छैन भन्ने जस्ता नकारात्मक धारणा बनाउने गरेको बताइन् ।  नकारात्मक प्रचार गर्ने गरिएको प्रसङ्ग उल्लेख गर्दै उनले यस्तो सोचले न समाज र न त देशकै विकास हुने बताइन् । यस्तो सोच देशभित्रका राजनीतिक पार्टी, नेपाली समाज र विदेशमा बस्ने नेपालीहरूमा समेत रहेकाले यस्तो प्रवृत्ति त्यागेर देश निर्माणका लागि सकारात्मक वातावरण निर्माण गर्नुपर्नेमा उनको भनाइ छ । ‘कुनै कुराको पनि राम्रो प्रस्तुति या अभिव्यक्ति देख्दिनँ । समाजमा, देशमा राम्रा काम पनि त भएका छन् नि तर तीनलाई राम्रो भनेको कतै सुनिँदैन । सबैलाई मिडियामा भाइरल नै हुनुपर्ने जस्तो छ, नराम्रो प्रचार गरेपछि चर्चामा आइन्छ भन्नेमात्र सबैको सोच देख्छु, यसरी देश बन्दैन,’ उनले भनिन् ।  मन्त्री डा राणाले गैर आवासीय नेपालीहरूलाई पनि एकताबद्ध भएर सकारात्मक सोचका साथ लाग्न आग्रह गरिन् । ‘संसारमा रहेका नेपाली डायस्पोरासँग धेरै ठूलो शक्ति छ । तपाईँहरू एकताबद्ध हुनुभयो भने आफ्ना अधिकारका लागि लड्न ठूलो तागत मिल्ने छ । त्यसैले मेरो आग्रह छ, सानातिना कुरामा नअल्झिनुहोस्, एउटै एनआरएनए बनाउन लाग्नुहोस्,’ उनले भनिन् ।  मन्त्री डा राणाले सर्वोच्च अदालतको परमादेशको पालना गरेर नै सरकारले हालै मात्र एनआरएनएको महाधिवेशन सम्पन्न गर्न सहजीकरण गरेको र त्यसमा सहमतिबाट नै नयाँ कार्यसमिति बनेको पनि स्पष्ट पारिन् । मन्त्री डा राणाले विदेशमा आर्जन गरेको सीप, ज्ञान र पुँजीलाई नेपालको विकासमा लगाउन संसारमा रहेका नेपालीहरूलाई आग्रह पनि गरिन् । आफू परराष्ट्रमन्त्री भएपछि विश्वमा रहेका नेपाली डायस्पोरालाई कन्सुलर तथा परराष्ट्रसँग सम्बन्धित अन्य आवश्यक सेवा पुगोस् भनेर नै मन्त्रालयमा यससम्बन्धी अलग्गै महाशाखा स्थापना गरी काम अघि बढाएको जानकारी दिँदै उनले यसका लागि सबै नेपालीको सहयोग आवश्यक रहेको पनि बताइन् ।  ‘हामीले नेपाली डायस्पोराका साथै आर्थिक कुटनीतिसम्बन्धी पनि अलग्गै महाशाखा स्थापना गरेर काम अघि बढाएका छौँ । यसका लागि संसारमा रहेका सबै नेपालीको महत्त्वपूर्ण भूमिका रहन्छ र नेपाल सरकारले पनि सोही प्रकारको सहयोगको अपेक्षा गरेको छ,’ उनले भनिन् । 

कोशी, मधेस, बागमती, गण्डकी  र लुम्बिनीमा वर्षा हुने, अधिकांश भागमा बदली

काठमाडौं । हाल देशमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेको छ । बङ्गालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।  आज दिउँसो कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायत देशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम  सफा रहनेछ । कोशी, मधेस, बागमती, गण्डकी  र लुम्बिनी प्रदेशका केही र बाँकी प्रदेशका पहाडी भागका एक/दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । देशका उच्च पहाडी तथा हिमाली भागका एक/दुई स्थानमा हल्का वर्षा र हिमपात हुनसक्ने  छ ।   महाशाखाका अनुसार आज राति कोशी, मधेस, बागमती, गण्डकी  र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम  सफा  रहनेछ । कोशी, मधेस, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशलगायत पहाडी भागका एक/दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै उच्च पहाडी तथा हिमाली भागका एक/दुई स्थानमा हल्का वर्षा र हिमपात हुनसक्ने छ । 

साढे ४ करोडको खरबुजा भित्रियो

काठमाडौं । पूर्वीनाका काँकडभिट्टा हुँदै चालु आर्थिक वर्ष २०८१/८२ को १० महिनामा ४ करोड ६१ लाख ३४ हजार रुपैयाँको खरबुजा भारतबाट आयात भएको छ । मेची भन्सार कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईँका अनुसार सो अवधिमा १७ लाख ६५ हजार ९० केजी खरबुजा नेपाली बजारमा भित्रिएको छ ।  गर्मीमा शीतल प्रदान गर्ने स्वादिष्ट फलका रूपमा खरबुजा बजारमा लोकप्रिय छ । स्थानीयले व्यावसायिक रूपमा खरबुजाखेती गर्दै आए पनि भारतबाट आयातित खरबुजाको ठूलो मात्राले स्वदेशी उत्पादनलाई ओझेलमा पार्दै आएको छ । विगत १० महिनामा सबैभन्दा बढी चैतमा १ करोड ३३ लाख ७ हजार रुपैयाँ मूल्य बराबरको ५ लाख १० हजार २३० केजी खरबुजा भारतबाट आयात भएको छ । भन्सारले जनाएअनुसार चालु आवको पहिलो महिना साउनमा ६० लाख ५० हजार रुपैयाँ मूल्य बराबरको २ लाख ३० हजार ८५० केजी, भदौमा ४८ लाख ९८ हजार रुपैयाँ मूल्य बराबरको १ लाख ८६ हजार १४० केजी, असोजमा ३७ लाख २९ हजार रुपैयाँ मूल्य बराबरको १ लाख ४१ हजार ४५० केजी, कात्तिकमा २१ लाख ३७ हजार रुपैयाँ मूल्य बराबरको ८१ हजार २४० केजी, मङ्सिरमा १४ लाख ६६ हजार रुपैयाँ मूल्य बराबरको ५५ हजार ७८० केजी र पुसमा १२ लाख ४२ हजार रुपैयाँ मूल्य बराबरको ४७ हजार २६० केजी खरबुजा भारतबाट काँकडभिट्टा हुँदै नेपाली बजारमा भित्रिएको छ । त्यसैगरी, माघमा २२ लाख ३२ हजार रुपैयाँ मूल्य बराबरको ८५ हजार ७१० केजी, फागुनमा ४४ लाख ८८ हजार रुपैयाँ मूल्य बराबरको १ लाख ७३ हजार ७८९ केजी, चैतमा १ करोड ३३ लाख ७ हजार रुपैयाँ मूल्य बराबरको ५ लाख १० हजार २३० केजी र वैशाखमा ६५ लाख ८६ हजार रुपैयाँ मूल्य बराबरको २ लाख ५२ हजार ६५० केजी खरबुजा आयात भएको पाइएको छ ।  विगत केही वर्षदेखि झापामा व्यावसायिक खरबुजाखेती हुने गरेको छ । तर, नेपाली उत्पादनले भारतबाट आयातित खरबुजासँग मूल्यमा प्रतिस्पर्धा गर्न नसकेर बिक्रीमा समस्या भइरहेको मेचीनगर–१५ स्थित नेपाली बाबु स्मार्ट कृषि फार्मका सञ्चालक लीला खनालले बताए । खनालले साझेदारहरूसँग मिलेर भाडामा लिएको १३ बिघा जग्गामा खरबुजाखेती गर्दै आएका छन् । गत वर्ष उक्त फार्ममा ३५० मेट्रिक टन खरबुजा उत्पादन भएको थियो ।

बैतडीमा २ पटक गयो भूकम्प, क्षतिको विवरण आउन बाँकी

काठमाडौं । बैतडी सदरमुकाम भएर भूकम्प भएको छ । सुर्खेतिस्थित भूूकम्प मापन केन्द्रका प्रमुख चिन्तन तिमल्सिनाका अनुसार सदरमुकाम केन्द्र विन्दु भएर आज बिहान १ः४८ बजे ५.१ र २ बजे ३.७ रेक्टर स्केलको भूकम्प भएको हो । लगातार दुईपटक कम्पन भएपछि यहाँका स्थानीय घर बाहिर निस्केका थिए । भूकम्पको धक्का दार्चुला, बझाङ, डडेल्धुरामा धक्का महसुस गरिएको केन्द्रका प्रमुख तिमल्सिनाले बताए । भूकम्पबाट भएको क्षतिको विवरण प्राप्त हुन बाँकी छ । 

कुलिङ पिरियडले हंगामा : राजनीतिक भेटघाटमा कर्मचारी, अवकास हुँदा अपमान गरेको आरोप

काठमाडौं । निजामती सेवा विधेयकमा राखिएको कुलिङ पिरियडकाे विषयले अहिले सामाजिक सञ्जाल तातेको छ । विधेयकमा कुलिङ पिरियड राख्न नहुने माग गर्दै संघीय संसद सचिवालयका महासचिवसहितको टोलीले राष्ट्रिय सभा अध्यक्षसँग बिहीबार भेटघाट गरेसँगै सामाजिक सञ्जाल तातेको हो । टोलीले अध्यक्ष नारायणप्रसाद दाहालसँग भेटघाट गरी निजामती विधेयबाट कुलिङ पिरियड हटाउन आग्रह गरेका छन् । निजामती कर्मचारी रिटायर्ट भएपछि दुई वर्षसम्म कुनै सरकारी वा संवैधानिक निकायमा नियुक्ति हुन नपाउने विषयले रिटायर्ड हुने बेलामा वा भइसकेपछि डिस्क्वालिफाईड गराएर रिटायर्ड गराउन उपयुक्त नहुने उनीहरूको भनाइ छ । महासचिव पद्यप्रसाद पाण्डेयले नियुक्ति गर्ने कि नगर्ने भन्ने कुरा सम्बन्धित निकाय, सरकारले आफै गर्नसक्ने भएकाले रिटायर्ट हुँदै गर्दा कर्मचारीको अपमान गर्न नहुने बताए । कुलिङ पिरियड राख्नु भनेको आफैमा संवैधानिक विषय नभएको र कुन संवैधानिक निकायमा कुन पदाधिकारी वा कस्तो योग्यता भएको व्यक्ति नियुक्ति गर्नुपर्छ भन्ने कुरा संविधान आफैले बोलेको उनको दावी छ । कुलिङ पिरियडको बारेमा कर्मचारीको विरोध नरहेको भन्दै राख्ने नै भए संविधानमा वा संवैधानिक निकायका पदाधिकारी नियुक्ति सम्बन्धी सेवा शर्त सम्बन्धी ऐनमा राख्नुपर्ने प्रस्ताव उनको छ ।  जुन पदमा नियुक्ति गरिने हो त्यही सम्बन्धी कानुनमा नराख्ने हो भने संविधान विपरीत हुने उनले बताए । महासचिव पाण्डेयले अहिलेको कुलिङ पिरियडको कुरा समानताको हक विपरीत रहेको जिकिरसमेत गरे । यता प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले फ्रेस हुनका लागि कुलिङ पिरियडको व्यवस्था राखिएको बताएका छन् । ‘कुलिङ पिरियड भारत, बंगलादेश, अमेरिकामा पनि छ । हामीले कोही कर्मचारीलाई अविश्वास गरेका होइनौं । उहाँहरू ३० वर्षसम्म सेवा गर्नुभएको छ, त्यसपछि दुई वर्ष रिचार्ज गर्नुहोस्, फ्रेस हुनूस् भनेको हो,’ उनले भने । कुलिङ पिरियडको विषयमा मुख्यसचिव लगायतका सचिवहरूको चासो अस्वाभाविक रहेका उनी बताउँछन् । ‘निजामती विधेयक भनेको कर्मचारीको संविधान हो । अब यो विधेयक बनाउने काम संवैधानिक असंवैधानिक के हो भन्ने जिम्मा तपाईंको र मेरो होइन । त्यसको अर्कै निकाय छ । हामीले एउटा निर्णय गरिसकेका छौं, त्यो पनि सर्वसम्मत,’ उनले भने ।  सभापति खतिवडाले ‘कुलिङ पिरियड’को प्रावधानबाट समिति पछि नहट्ने पनि स्पष्ट पारेका छन् । लामो छलफल र विज्ञहरूसँगको परामर्शपछि विधेयक पारित भएको उनको भनाइ छ । अहिले नै त्यसमा रहेको कुलिङ पिरियडको प्रावधानबाट पछि हट्न वा संशोधन गर्न नसकिने उनले स्पष्ट पारे ।