स्वास्थ्य मन्त्री मेहताले गरिन् भारदह अस्पतालको निरीक्षण
काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले भारदह अस्पतालको निरीक्षण गगरेकी छन् । निरीक्षणका क्रममा उनले अस्पतालको सेवा प्रवाह, भौतिक पूर्वाधार तथा उपचार व्यवस्थापनबारे जानकारी लिएकी छन् । मन्त्री मेहताले अस्पतालको इमर्जेन्सी वार्ड र एक्स-रे मेसिनलाई तत्काल नयाँ भवनमा सार्न निर्देशन दिइन् । बिरामीलाई सहज, सुरक्षित र प्रभावकारी स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले आवश्यक व्यवस्थापन तत्काल मिलाउन उहाँले अस्पताल प्रशासनलाई निर्देशन दिएकी हुन् । निरीक्षणका क्रममा मन्त्री मेहताले अस्पतालको सेवा सुधार तथा आवश्यक पूर्वाधार व्यवस्थापनका लागि मन्त्रालयका तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गरिन् ।
प्रेस युनियनको महाधिवेशन काठमाडौंमा हुने, निर्वाचन समिति गठन
काठमाडौं । नेपाल प्रेस युनियनको १०औं संघीय महाधिवेशन आगामी असोज १७ र १८ गते काठमाडौंमा आयोजना हुने भएको छ । नेपाल प्रेस युनियन केन्द्रीय समितिको २०८३ साउन ३१ गते बसेको सचिवालय बैठकले महाधिवेशन काठमाडौंमा गर्ने निर्णय गरेको हो । नेपाल प्रेस युनियनका अध्यक्ष शिव लम्सालको अध्यक्षतामा बसेको सचिवालय बैठकले महाधिवेशन सम्पन्न गर्न निर्वाचन समिति समेत गठन गरेको छ । युनियनको विधान-२०४८ (सातौं संशोधन २०८३) को धारा ४६ बमोजिम वरिष्ठ पत्रकार तेज प्रकाश पण्डितको संयोजकत्वमा पाँच सदस्यीय निर्वाचन समिति गठन गरिएको प्रेस युनियनका महासचिव दिलीप पौडेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । निर्वाचन समितिको सदस्यमा अधिवक्ताहरू बाबुराम अर्याल, राजकुमार उप्रेती, प्रदीप सत्याल तथा पत्रकार बिमला तुम्खेवा रहेका छन् । बैठकले महाधिवेशनको निर्वाचन प्रक्रिया अघि बढाउन गठित समितिलाई विधानअनुसार निर्वाचन सम्पन्न गर्ने जिम्मेवारी दिएको छ । महाधिवेशन तयारीका लागि शाखाहरुको अधिवेशन सुरु गर्ने निर्णय यस अघि नै गरेको छ ।
सकियो नाइमा एक्स्पो, १ लाख ८० हजार दर्शकले गरे अवलोकन
काठमाडौं । नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा)को आयोजनामा सञ्चालित ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ आइतबार सफलताका साथ सम्पन्न भएको छ । गत साउन २६ गतेदेखि सुरु भएको उक्त एक्स्पोमा सवारी साधन पारखी तथा सर्वसाधारणको उल्लेखनीय उपस्थिति रहेको थियो । नाइमाका अनुसार यस वर्षको मोबिलिटी एक्स्पो अघिल्ला संस्करणको तुलनामा अत्यन्तै सफल र उत्साहजनक बनेको छ । नाइमाकी अध्यक्ष ऋतुसिंह वैद्यले अघिल्लो संस्करणमा करिब १ लाख दर्शकले मेला अवलोकन गरेकोमा यस पटक सो सङ्ख्या बढेर करिब १ लाख ८० हजार पुगेको जानकारी दिइन् । एक्स्पोमा नयाँ सवारी साधनहरूबारे जानकारी लिने, उपभोक्ताको चासो र बुकिङ गर्ने क्रमले समग्र अटोमोबाइल बजारप्रति सकारात्मक मनोविज्ञान प्रतिबिम्बित गरेको उनको भनाइ छ । साथै, नाइमाले नीति निर्माण तथा सम्बन्धित निकायहरूसँग सहकार्य गर्दै आएको उल्लेख गर्दै अध्यक्ष वैद्यले आगामी दिनमा अटो क्षेत्रको विकास र विस्तारमा संस्थागत योगदानलाई थप सुदृढ लैजाने प्रतिबद्धता व्यक्त गरिन् ।
देश दौडाहामा पूर्वाधारमन्त्री, उनकै मन्त्रालयको ओ एण्ड एम अधुरै
काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री सुनिल लम्साल देशभरका सडक तथा पूर्वाधार आयोजनाको अनुगमनमा व्यस्त भइरहँदा उनकै नेतृत्वमा रहेको मन्त्रालयको संगठन तथा व्यवस्थापन (ओ एण्ड एम) प्रक्रिया भने अझै टुंगिन सकेको छैन । सरकारले संघीय निजामती प्रशासनको संगठन संरचना पुनरावलोकन गर्दै विभिन्न मन्त्रालय तथा मातहतका निकायको ओ एण्ड एम प्रक्रिया अघि बढाइरहेको छ । यसक्रममा १३ वटा मन्त्रालयसहित ३३२ निकायको ओ एण्ड एम सम्पन्न भई निजामती किताबखानामा दर्तासमेत भइसकेको अवस्था छ । तर पूर्वाधार तथा मन्त्रालय सहित पाँच मन्त्रालयको भने अझै सम्पन्न हुन बाँकी रहेको बताइएको किताबखानाले जनाएको छ । ओ एण्ड एम मार्फत मन्त्रालय तथा मातहतका निकायको संगठन संरचना, कार्यक्षेत्र, जिम्मेवारी र आवश्यक जनशक्तिको दरबन्दी निर्धारण गरिन्छ । त्यसैले यो प्रक्रिया केवल प्रशासनिक औपचारिकता नभई मन्त्रालयको आगामी कार्यसम्पादन र जनशक्ति व्यवस्थापनसँग प्रत्यक्ष जोडिएको विषय हो । यही अवस्थामा मन्त्री लम्साल भने विभिन्न जिल्लामा पुगेर सडक, पुल तथा अन्य पूर्वाधार आयोजनाको स्थलगत निरीक्षण गरिरहेका हुन् । विकास आयोजनाको प्रगति, निर्माणको अवस्था तथा स्थानीय समस्या बुझ्न मन्त्रीको स्थलगत अनुगमन आवश्यक मानिन्छ । तर मन्त्रालयकै संगठन संरचना र जनशक्ति व्यवस्थापनको आधारभूत प्रक्रिया अझै अधुरो रहँदा मन्त्रीको प्राथमिकतामाथि प्रश्न उठ्न थालेको मन्त्रालयका एक उच्च अधिकारीले जानकारी दिए । पूर्वाधार मन्त्रालयअन्तर्गत देशभर ठूलो संख्यामा आयोजना तथा कार्यालय सञ्चालनमा छन् । ती निकायमा कति कर्मचारी आवश्यक छन्, कुन कार्यालयको भूमिका के हुने, कुन संरचना कायम राख्ने तथा कहाँ जनशक्ति थपघट गर्ने भन्ने विषय ओ एण्ड एमबाटै टुंगो लाग्ने गर्छ । त्यसैले मन्त्रालयको ओ एण्ड एम समयमै सम्पन्न नहुँदा संगठन संरचना र दरबन्दी व्यवस्थापनमा अन्यौल भएको ती अधिकारीले जानकारी दिए । नयाँ संरचनाअनुसार कर्मचारी व्यवस्थापन हुन नसक्दा मन्त्रालयको कामकारबाहीमा समेत असर पर्न सक्ने उनको दाबी छ । मन्त्रालयको नेतृत्व गरेका मन्त्रीले आफ्नो मन्त्रालयको संगठन संरचना तथा जनशक्ति व्यवस्थापनलाई प्राथमिकतामा राख्नुपर्ने प्रश्न भन्ने उठेको छ । विशेषगरी अन्य मन्त्रालयले आ एण्ड एम सम्पन्न गरी किताबखानामा दर्तासमेत गराइसकेको अवस्थामा भौतिक पूर्वाधार मन्त्रालयको प्रक्रिया किन पछि पर्यो भन्ने विषय चासोको विषय बनेको प्रधानमन्त्री कार्यालयका एक उच्च अधिकारीले बताए ।
नेपाली अटो बजारमा उत्साहको नयाँ सञ्चार, ग्राहकको रोजाइमा ईभी
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा ६ दिनसम्म चलेको नाइमा मोबिलिटी एक्स्पो- २०२६ केवल सवारी साधनको प्रदर्शनी मात्र नरही यसले सुस्ताएको नेपाली अटोमोबाइल बजारमा प्राण भर्न महत्त्वपूर्ण भूमिका खेलेकाे छ । साथै प्रदर्शनी भविष्यको विद्युतीय मार्गचित्र कोर्नसमेत सफल भयो । यस वर्षको मेलामा ५५ वटा विभिन्न ब्राण्डका सवारीसाधन तथा अन्य उत्पादनहरू प्रदर्शनीमा राखिएका थिए । गत वर्ष ४२ वटा ब्राण्ड सहभागी भएकोमा यस पटक प्रदर्शकहरूको सङ्ख्यामा वृद्धि भएको हो । मेलाको उद्देश्य अनुरूप नै पर्याप्त प्रचार-प्रसार र सन्तोषजनक व्यापार भएको नाइमाले जनाएको छ । नाइमाकी अध्यक्ष ऋतुसिंह वैद्यले यस वर्षको नाइमा एक्स्पो विगतको तुलनामा अत्यन्तै सफल र उत्साहजनक भएको बताइन् । मेलाको अन्तिम दिन आइतबार मेलाबारे जानकारी दिँदै उनले यस पटक दर्शकको चाप र व्यावसायिक सहभागिता दुवैमा वृद्धि भएको उल्लेख गरिन् । अध्यक्ष वैद्यले गत वर्षको तुलनामा यस वर्षको प्रदर्शनी थप व्यवस्थित, प्रभावकारी र सफल भएको बताइन् । उनले गत वर्षको एक्स्पोका क्रममा देखिएका कमजोरी तथा चुनौतीलाई सुधार गर्दै यस वर्ष प्रदर्शनीलाई थप आकर्षक र व्यवस्थित बनाइएको जानकारी दिइन् । अपेक्षा र अनुमानभन्दा उत्साहजनक रूपमा अवलोकनकर्ताको उपस्थिति रहेको भन्दै उनले प्रदर्शनीमा राखिएका सवारीसाधन तथा बुकिङप्रति समेत सकारात्मक प्रतिक्रिया प्राप्त भएको बताइन् । अध्यक्ष वैद्यले नेपालको अटो बजारमा विद्युतीय सवारीसाधनको प्रभाव र माग निरन्तर बढिरहेको उल्लेख गर्दै यसले समग्र अटो बजारको भविष्य थप उज्ज्वल रहेको संकेत गरेको बताइन् । विद्युतीय सवारीसाधनप्रति उपभोक्ताको आकर्षण बढ्दै जाँदा नेपाली अटो बजार विस्तारको क्रममा रहेको उनको भनाइ छ । प्रदर्शनीमा सवारीसाधनप्रति उपभोक्ताको चासो, नयाँ सवारीसाधनबारे जानकारी लिने उत्सुकता तथा बुकिङ गर्ने क्रमले बजारप्रतिको सकारात्मक मनोविज्ञानलाई प्रतिबिम्बित गरेको उनले बताइन् । नाडाका पूर्वअध्यक्ष ध्रुव थापा पनि यसपटकको एक्स्पो विगतको तुलनामा धेरै व्यवस्थित रहेकाे बताउँछन् । ‘विगतमा केवल हेर्नका लागि मात्र मान्छे आउँथे, तर यसपालि ‘क्वालिटी भिजिटर्स’ आएका छन्,’ उनी भन्छन् । पछिल्लो केही महिनादेखि सुस्ताएको अटो व्यवसायमा यस मेलाले एक प्रकारको नयाँ भाइब्रेसन सिर्जना गरेको छ । उनले आगामी नाडा अटो सोका लागि पनि यसले बलियो जग बसालेको विश्वास व्यक्त गरे । एक्स्पोको केन्द्रविन्दुमा विद्युतीय सवारीसाधन (ईभी) नै रहे। बीवाइडीका सीईओ साहिल श्रेष्ठका अनुसार नेपालमा विद्युतीय सवारीको युग पूर्णतः सुरु भइसकेको छ । बीवाइडीको स्टलमा देखिएको अत्यधिक भीडले पनि नेपाली ग्राहकहरू अब इन्धनबाट ब्याट्रीतर्फ मोडिएको प्रस्ट पार्छ । यस्तै बुझाइ जिओ अटोमोबाइलका प्रबन्ध निर्देशक आकाश गोल्छाको पनि छ । एमजी कोमेट र विन्ड्सर जस्ता ईभी मोडेलहरूमा ग्राहकको सोधपुछ र बुकिङ उत्साहजनक रह्यो । लिपमोटरका लागि पनि यो मेला कोसेढुङ्गा सावित भयो । सांगिला मोटर्सका जीएम किरण श्रेष्ठका अनुसार ६ दिनको अवधिमा लिपमोटरले २०० भन्दा बढी बुकिङ प्राप्त गर्यो । सेलिब्रिटीहरूमा पनि ईभीको क्रेज उत्तिकै देखियो । नायिका करुणा पाण्डेले टाटा पन्च ईभी बुक गर्दै भनिन्, ‘नेपालको बाटो र वातावरणका लागि ईभी नै उत्तम छ ।’ यस्तै, नाइमाका सदस्य निराकार श्रेष्ठले नाइमा मोबिलिटी एक्स्पो-२०२६ मा अवलोकनकर्ताको सहभागिता र सवारीसाधनको बुकिङ सकारात्मक रहेको बताए । श्रेष्ठले अवलोकनकर्ताहरूको उपस्थिति र विभिन्न ब्रान्डका सवारीसाधनमा भएको बुकिङले एक्स्पोप्रति ग्राहकको आकर्षण बढेको देखाएको बताए । उनले विभिन्न ब्रान्डका प्रतिनिधिहरूसँगको कुराकानीमा पनि बुकिङ तथा अवलोकनकर्ताको अवस्था उत्साहजनक रहेको जानकारी पाएको बताए । हुण्डाईका आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलका महाप्रबन्धक दीपक थपलियाले मेलामा गाडी मात्र होइन, भिजन पनि प्रस्तुत गरिएको बताए । उनका अनुसार हुण्डाईले नेपालमै एसेम्ब्ली प्लान्ट सञ्चालन गरेर आत्मनिर्भरताको मेसेज दिन खोजेको छ । ‘हाम्रो स्टलमा कुनै बाहिरी मोडेल थिएनन् । यो गाडी बेच्ने मात्र होइन, बुझाउने मेला पनि हो,’ थपलियाको भनाइ थियो । हुण्डाईसँग अहिले ५० हजारभन्दा बढी सन्तुष्ट नेपाली ग्राहक रहेकाे उनकाे भनाइ छ । मेलामा दुईपाङ्ग्रे सवारी साधनको पनि उत्तिकै आकर्षण थियो । टिभिएसको आधिकारिक जगदम्बा मोटर्सका भाइस प्रेसिडेन्ट दीपक रौनियारले नसोचेको भीड र बुकिङ भएको बताए । अपाचे १६० ४भी युएसडी प्रोजेक्टर जस्ता नयाँ प्रविधि र तत्कालै फाइनान्स तथा एक्सचेन्ज सुविधाले ग्राहकलाई आकर्षित गर्यो । यस्तै, महिन्द्राका क्याविनेट श्रेष्ठले पनि ग्राहकको प्रतिक्रियाबाट आफूहरू उत्साहित भएको बताए । मेला सफल भए पनि पूर्वाधारको समस्या भने टड्कारो देखियो । पार्किङको समस्या र भृकुटीमण्डपको अस्थायी संरचनामा सुधार हुनुपर्ने आवाज व्यवसायीहरूले उठाएका छन । नाइमाका कार्यकारी निर्देशक राजकुमार दुलाल भन्छन्, ‘सरकारले एउटा अन्तर्राष्ट्रिय स्तरको व्यवस्थित प्रदर्शनी स्थल बनाइदिनुपर्छ ।’ उनका अनुसार नाइमाको उद्देश्य केवल गाडी बेच्नु मात्र थिएन। मेलाको दौरानमा भएका मोबिलिटी संवाद र लर्निङ सेसन मार्फत लगानी, उद्यमशीलता र प्रविधिको बारेमा युवा र विद्यार्थीहरूलाई शिक्षित गराउने प्रयास गरिएको थियो ।
इमाडोलमा भायानेटको नयाँ सुविधासम्पन्न शाखा सञ्चालनमा
काठमाडौं । इन्टरनेट तथा टेलिभिजन सेवा प्रदायक भायानेट कम्युनिकेसनले ललितपुरको इमाडोलमा नयाँ तथा सुविधासम्पन्न शाखा सञ्चालनमा ल्याएको छ । ग्राहकको बढ्दो संख्या र सेवा आवश्यकतालाई ध्यानमा राख्दै भायानेटले इमाडोलस्थित रातोमकै चोकमा नयाँ शाखा विस्तार गरेको हो । कम्पनीका अनुसार शाखा २०८३ भदौ १ गतेदेखि औपचारिक रूपमा सञ्चालनमा आउनेछ । नयाँ शाखाबाट ग्राहकले इन्टरनेट तथा भायाटिभी जडान, महसुल भुक्तानी र ग्राहक सहायता सेवासँगै प्राविधिक सहायता, फिल्ड सपोर्ट तथा फाइबर मर्मतसम्भार सेवा समेत स्थानीयस्तरमै प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ । यसअघि इमाडोल तथा आसपासका क्षेत्रमा सेवा दिँदै आएको भायानेटले ग्राहकको सेवा पहुँचलाई थप सहज र प्रभावकारी बनाउन शाखा विस्तार गरेको जनाएको छ । नयाँ शाखाबाटै प्राविधिक टोली परिचालन हुने भएकाले इन्टरनेटसम्बन्धी समस्या समाधान तथा फाइबर मर्मतसम्भारमा लाग्ने समयसमेत घट्ने कम्पनीको अपेक्षा छ । भायानेटका कमर्सियल तथा मार्केटिङ विभागका सहायक उपाध्यक्ष शहिन श्रेष्ठले इमाडोलवासीसँग लामो समयदेखि जोडिँदै आएको भायानेटले ग्राहकको आवश्यकतालाई ध्यानमा राखेर शाखा विस्तार गरेको बताए । उनका अनुसार नयाँ शाखाबाट फिल्ड सपोर्ट तथा फाइबर मर्मतसम्भारका प्राविधिक टोलीसमेत परिचालन हुने भएकाले ग्राहकले पहिलेभन्दा छिटो र सहज सेवा पाउनेछन् । शाखा विस्तारले इमाडोल क्षेत्रका ग्राहकप्रतिको कम्पनीको प्रतिबद्धतालाई थप मजबुत बनाएको उनको भनाइ छ । डिजिटल प्रविधिको बढ्दो प्रयोगसँगै उच्च गतिको भरपर्दो इन्टरनेट दैनिक जीवनको महत्वपूर्ण आवश्यकता बन्दै गएको छ । शिक्षा, अनलाइन अध्ययन, घरबाटै गरिने काम, व्यावसायिक गतिविधि, डिजिटल भुक्तानी तथा मनोरञ्जनलगायत क्षेत्रमा इन्टरनेटको निर्भरता बढिरहेको छ । यही आवश्यकतालाई ध्यानमा राख्दै ग्राहकलाई निर्बाध तथा गुणस्तरीय इन्टरनेट सेवा उपलब्ध गराउने लक्ष्यसहित शाखा विस्तार गरिएको भायानेटले जनाएको छ । कम्पनीका अनुसार नयाँ शाखाले इमाडोल तथा आसपासका क्षेत्रमा ग्राहक सेवाको पहुँच थप बलियो बनाउनुका साथै ग्राहकसँगको सम्बन्धलाई अझ प्रगाढ बनाउन सहयोग पुग्नेछ।
सभापति थापा भन्छन्– पछिल्लो तीन दिनमा सबैभन्दा बढी गाली खाएको छु
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले पछिल्ला तीन दिनमा आफूले सबैभन्दा बढी गाली खाएको बताएका छन् । आइतबार धर्म गौतमद्वारा प्रकाशित पुस्तक विमोचन कार्यक्रममा उनले आफूले जीवनमा अहिलेसम्म नभोगेको निन्दा पछिल्ला तीन दिनमा भोगेको बताएका हुन् । नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहले आयोजना गरेको राष्ट्रिय भेलामा सभापति थापाको आलोचना भएको थियो । सोही सन्दर्भलाई थापाले जन्मेदेखि आजसम्म भएको निन्दामध्ये सबैभन्दा ठूलो निन्दा पछिल्लो तीन दिनमा भोगेको बताएका हुन् । उनले भने, ‘मैले यो धर्तीमा जन्मिएदेखि आजसम्म जति मेरो निन्दा भएको थियो होला, त्योभन्दा धेरै निन्दा यो गएको तीन दिनमा भएको छ, मेरो ।’ उनले सञ्चारमाध्यमका हेडलाइन नै आफ्नो निन्दाले भरिएको पनि बताए ।
नयाँ टाटा पन्च इभीको विशेष अफरको आज अन्तिम दिन
काठमाडौं । टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङले काठमाडौंको भृकुटीमण्डपमा जारी ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ को अवसर पारेर नयाँ ‘पन्च इभी’ विशेष अफरसहित सार्वजनिक गरेको छ । नयाँ पन्च इभीको सुरुवाती मूल्य ३३ लाख ९९ हजार रुपैयाँ निर्धारण गरिएको छ । तर, नाइमा नेपाल मोबिलिटी एक्स्पोको अवधिभर बुकिङ गर्ने ग्राहकहरूले विशेष अफरअन्तर्गत नयाँ पन्च इभी ३२ लाख ९९ हजार रुपैयाँमै खरिद गर्न सक्नेछन् । आज नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ को अन्तिम दिन भएकाले विशेष अफरको पनि आज नै अन्तिम दिन रहेको कम्पनीले जनाएको छ । आजसम्म बुकिङ गर्ने ग्राहकहरूले १ लाख रुपैयाँको विशेष मूल्य लाभ प्राप्त गर्न सक्नेछन् । भोलिबाट भने विशेष अफर समाप्त भई नयाँ पन्च इभीको सुरुवाती मूल्य ३३ लाख ९९ हजार रुपैयाँ कायम हुने कम्पनीले जनाएको छ । साथै एक्स्पोमा बुकिङ गर्ने ग्राहकलाई कम्पनीले ११ वर्ष वा २ लाख २० हजार किलोमिटरसम्मको विस्तारित वारेन्टी समेत उपलब्ध गराएको छ । अत्याधुनिक ‘एक्टि.इभी’ प्लेटफर्ममा आधारित नयाँ पञ्च ईभी ३२ किलोवाट आवर्स र ४० किलोवाट आवर्स क्षमताका दुई ब्याट्री विकल्पमा उपलब्ध छ । नेपालको सडकमा गरिएको परीक्षणअनुसार यसले एकपटकको फुल चार्जमा ३०० देखि ३२५ किलोमिटरसम्मको रेन्ज प्रदान गर्ने कम्पनीको दाबी छ । सुरक्षाका हिसाबले नयाँ पञ्च ईभीमा बीएनक्याप ५–स्टार सुरक्षा रेटिङ, ६ वटा एयरब्याग, ३६० डिग्री क्यामेरा र १९५ एमएम ग्राउन्ड क्लियरेन्स जस्ता विशेषता समावेश छन्। त्यसैगरी, गाडीमा १.५ सी डीसी फास्ट चार्जिङ, भ्वाइस–एक्टिभेटेड सनरुफ, २६.०३ सेन्टिमिटरको हर्मन इन्फोटेनमेन्ट तथा डिजिटल ककपिट, भेन्टिलेटेड सिट र ३६६ लिटरको बुट स्पेस जस्ता प्रिमियम फिचरहरू पनि उपलब्ध छन् ।